सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २२

हाम्रो आँखाले नदेख्ने धनप्रति कृतज्ञ भएको देखाउनुहोस्‌

हाम्रो आँखाले नदेख्ने धनप्रति कृतज्ञ भएको देखाउनुहोस्‌

“हामी आफ्नो नजर . . . नदेखिने कुराहरूमा राख्छौँ किनकि देखिने कुराहरू अस्थायी हुन्छन्‌ तर नदेखिने कुराहरू चिरस्थायी हुन्छन्‌।”—२ कोरि. ४:१८.

गीत ४५ मेरो चिन्तन

परिचय *

१. स्वर्गमा थुपार्ने धनबारे येसुले कस्तो कुरा बताउनुभयो?

सबै किसिमको धन हाम्रो आँखाले देख्न सक्दैन। वास्तवमा असाध्यै अनमोल धनहरू हाम्रो आँखाले देख्न सक्दैन। डाँडाको उपदेशमा येसुले स्वर्गमा थुपार्ने धनबारे बताउनुभयो, जुन भौतिक धनसम्पत्तिभन्दा कता हो कता उत्कृष्ट छ। त्यसपछि उहाँले यो सत्य बताउनुभयो: “जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।” (मत्ति ६:१९-२१) हामी जुन कुराको असाध्यै मोल गर्छौँ, त्यही कुरा हासिल गर्न लागिपर्छौँ। परमेश्‍वरसामु असल नाम कमाएर अर्थात्‌ उहाँको पक्षमा खडा भएर हामी “स्वर्गमा धनसम्पत्ति” थुपार्न सक्छौँ। त्यस्तो धनसम्पत्ति कहिल्यै नाश हुँदैन वा चोरले फोरेर लैजाँदैन भनेर येसुले बताउनुभयो।

२. (क) दोस्रो कोरिन्थी ४:१७, १८ मा पावलले हामीलाई के गर्न आग्रह गरेका छन्‌? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

प्रेषित पावलले हामीलाई “आफ्नो नजर . . . नदेखिने कुराहरूमा” राख्न आग्रह गरेका छन्‌। (२ कोरिन्थी ४:१७, १८ पढ्‌नुहोस्‌) यी नदेखिने कुराहरूमा परमेश्‍वरले नयाँ संसारमा हामीलाई दिनुहुने असल कुराहरू पनि पर्छन्‌। यस लेखमा हामीले अहिल्यै पाउन सक्ने चार वटा नदेखिने धनबारे विचार गर्नेछौँ। ती हुन्‌: परमेश्‍वरसितको मित्रता, प्रार्थना गर्ने सुअवसर, परमेश्‍वरको पवित्र शक्‍तिको मदत र हाम्रो प्रचारकार्यमाथि यहोवा, येसु अनि स्वर्गदूतहरूको साथ। यी नदेखिने धनहरूप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ भनेर पनि हामी छलफल गर्नेछौँ।

यहोवासितको मित्रता

३. हाम्रो आँखाले देख्न नसक्ने सबैभन्दा अनमोल धन के हो र त्यो पाउन कसरी सम्भव भएको छ?

हाम्रो आँखाले देख्न नसक्ने सबैभन्दा अनमोल धन यहोवा परमेश्‍वरसितको मित्रता हो। (भज. २५:१४) त्रुटिपूर्ण मानिसहरूसित मित्रता गाँसेर पनि परमेश्‍वर पवित्र रहिरहन कसरी सम्भव छ? येसुको फिरौतीको बलिदानले गर्दा। किनभने यसले “संसारको पाप” हटाउँछ। (युह. १:२९) मानिसजातिलाई बचाउन एक जना उद्धारक पठाउने आफ्नो उद्देश्‍य फेल खानेछैन भनेर यहोवालाई पहिल्यै थाह थियो। त्यसैले ख्रिष्टको मृत्यु हुनुभन्दा अघिका मानिसहरूलाई परमेश्‍वरले आफ्नो मित्र बनाउन सक्नुभयो।—रोमी ३:२५.

४. येसुको समयभन्दा अघि परमेश्‍वरको मित्र बनेका केही पुरुषको उदाहरण दिनुहोस्‌।

परमेश्‍वरको मित्र बनेका केही पुरुषबारे विचार गरौँ, जो येसुको समयभन्दा अघिका थिए। अब्राहाम उल्लेखनीय विश्‍वास भएका व्यक्‍ति थिए। अब्राहामको मृत्यु भएको एक हजार वर्षभन्दा केही समय बितिसकेपछि यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो। (यसै. ४१:८) त्यसकारण मृत्युले पनि यहोवासितको घनिष्ठ मित्रता तोड्‌न सक्दैन। अब्राहाम यहोवाको सम्झनामा जीवितै छन्‌। (लुका २०:३७, ३८) अर्का उदाहरण हुन्‌, अय्युब। स्वर्गमा स्वर्गदूतहरू भेला हुँदा अय्युबबारे विश्‍वस्त हुँदै यहोवाले यसो भन्‍नुभयो: “ऊ निर्दोष र सत्यनिष्ठ छ; मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।” (अय्यु. १:६-८) अनि यहोवाले दानिएल-बारे कस्तो महसुस गर्नुभयो, जसले मूर्तिपूजकहरूको देशमा लगभग ८० वर्ष बिताउनुपर्दा पनि वफादार भई परमेश्‍वरको सेवा गरे? स्वर्गदूतले तीन-तीन पटक यी वृद्ध व्यक्‍ति परमेश्‍वरको लागि “अतिप्रिय” छन्‌ भनेर तिनलाई आश्‍वस्त पारे। (दानि. ९:२३; १०:११, १९) यहोवा मरिसकेका आफ्ना प्यारा मित्रहरूलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ।—अय्यु. १४:१५.

आफ्नो आँखाले देख्न नसक्ने धनहरूप्रति कृतज्ञ भएको देखाउन सक्ने केही तरिका के-के हुन्‌? (अनुच्छेद ५ हेर्नुहोस्‌) *

५. यहोवासित घनिष्ठ मित्रता गाँस्न के गर्नुपर्छ?

आज कति जना त्रुटिपूर्ण मानिसले यहोवासित घनिष्ठ मित्रता गाँस्न सकेका छन्‌? लाखौँले। किनकि अहिले विश्‍वभरिका थुप्रै पुरुष, स्त्री अनि केटाकेटीले परमेश्‍वरको मित्र बन्‍न चाहेको कुरा आफ्नो व्यवहारद्वारा देखाइरहेका छन्‌। यहोवा “सोझो मानिसलाई . . . आफ्नो मित्र बनाउनुहुन्छ।” (हितो. ३:३२) येसुको फिरौतीको बलिदानमाथि विश्‍वास गरेकोले तिनीहरू परमेश्‍वरको मित्र बन्‍न सकेका हुन्‌। त्यही बलिदानको आधारमा हामी आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गरेर बप्तिस्मा गर्न सक्छौँ। हामीले यी महत्त्वपूर्ण कदमहरू चाल्दा आफ्नो जीवन समर्पण गरेका र बप्तिस्मा गरेका लाखौँ ख्रिष्टियनको समूहमा सामेल भइरहेका हुन्छौँ, जो ब्रह्‍माण्डकै महान्‌ व्यक्‍तिको “मित्र” बनेका छन्‌।

६. परमेश्‍वरसितको मित्रतालाई मोल गरेको हामी कसरी देखाउन सक्छौँ?

परमेश्‍वरसितको मित्रतालाई मोल गरेको हामी कसरी देखाउन सक्छौँ? सय वर्षभन्दा लामो समयसम्म परमेश्‍वरप्रति विश्‍वासी रहेका अब्राहाम र अय्युबजस्तै हामी पनि विश्‍वासी रहनुपर्छ। यस दुष्ट युगमा यहोवाको सेवा गरेको जतिसुकै लामो समय किन नहोस्‌, हामी विश्‍वासी भइरहनुपर्छ। दानिएलले जस्तै हामीले आफ्नो जीवनलाई भन्दा परमेश्‍वरसितको मित्रतालाई मोल गर्नुपर्छ। (दानि. ६:७, १०, १६, २२) यहोवाको मदत पाउँदा हामी आफूले भोग्नुपर्ने जुनसुकै परीक्षा सहन बल पाउँछौँ अनि उहाँसित घनिष्ठ भइरहन सक्छौँ।—फिलि. ४:१३.

प्रार्थना गर्ने सुअवसर

७. (क) हितोपदेश १५:८ अनुसार यहोवालाई हाम्रा प्रार्थनाहरू कस्तो लाग्छ? (ख) यहोवा कसरी हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ?

हाम्रो आँखाले देख्न नसक्ने अर्को धन हो, प्रार्थना। घनिष्ठ मित्रहरू एकअर्कासित आफ्नो सोचाइ अनि भावना साटासाट गर्न मन पराउँछन्‌। के यहोवासितको हाम्रो मित्रता पनि त्यस्तै हो? हो! यहोवा आफ्नो वचनमार्फत हामीसित बोल्नुहुन्छ अनि त्यसमार्फत उहाँ हामीलाई आफ्नो सोचाइ अनि भावना प्रकट गर्नुहुन्छ। प्रार्थनामार्फत हामी उहाँसित कुराकानी गर्छौँ र हामी उहाँलाई आफ्नो भित्री सोचाइ अनि भावना पोख्न सक्छौँ। यहोवा हाम्रो प्रार्थना सुन्‍न मन पराउनुहुन्छ। (हितोपदेश १५:८ पढ्‌नुहोस्‌) यहोवा हाम्रो मायालु साथी हुनुभएकोले उहाँ हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र त्यसको जवाफ पनि दिनुहुन्छ। कहिलेकाहीँ उहाँ तुरुन्तै हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भने कहिलेकाहीँ हामीले कुनै विषयमा प्रार्थना गरिरहनुपर्ने हुन सक्छ। तैपनि परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ उचित समयमा अनि उत्तम तरिकामा दिनुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। हो, परमेश्‍वरले दिनुहुने जवाफ हामीले सोचेभन्दा फरक पनि हुन सक्छ। उदाहरणको लागि, हामीले भोगिरहेको परीक्षा हटाउनुको साटो उहाँ त्यो परीक्षा “सहन” हामीलाई बुद्धि र बल दिन सक्नुहुन्छ।—१ कोरि. १०:१३.

(अनुच्छेद ८ हेर्नुहोस्‌) *

८. प्रार्थना गर्ने उपहारप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

प्रार्थना गर्ने अनमोल उपहारप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ? एउटा तरिका भनेको “निरन्तर प्रार्थना गर” भन्‍ने परमेश्‍वरको सल्लाह लागू गरेर हो। (१ थिस्स. ५:१७) यहोवा हामीलाई प्रार्थना गर्न जबरजस्ती गर्नुहुन्‍न। बरु छनौट गर्ने हाम्रो स्वतन्त्रताको उहाँ कदर गर्नुहुन्छ र हामीलाई ‘प्रार्थनामा लागिरहन’ आग्रह गर्नुहुन्छ। (रोमी १२:१२) त्यसकारण यस उपहारप्रति कृतज्ञता देखाउन हामी हरेक दिन धेरै चोटि प्रार्थना गर्न सक्छौँ। साथै हामीले आफ्नो प्रार्थनामा यहोवालाई धन्यवाद अनि प्रशंसाका अभिव्यक्‍तिहरू पनि व्यक्‍त गर्नुपर्छ।—भज. १४५:२, ३.

९. प्रार्थनाबारे एक भाइ कस्तो महसुस गर्छन्‌? तपाईँ नि?

हामी जति लामो समय यहोवाको सेवामा बिताउँछौँ र उहाँले विभिन्‍न तरिकामा हाम्रो प्रार्थनाको जवाफ दिनुभएको महसुस गर्छौँ, प्रार्थनाप्रतिको हाम्रो कृतज्ञता त्यति नै बढ्‌छ। उदाहरणको लागि, पूर्ण-समय सेवामा ४७ वर्ष बिताएका भाइ क्रिसलाई विचार गरौँ। तिनी यसो भन्छन्‌, “बिहान सबेरै उठेर प्रार्थनामा यहोवा परमेश्‍वरसित समय बिताउन पाउँदा मलाई एकदमै खुसी लाग्छ। घामको पहिलो किरणले शीतका थोपाहरू टल्कने समयमा यहोवासित कुरा गर्न पाउनु साँच्चै स्फूर्तिदायी हुन्छ! यसले गर्दा यहोवालाई प्रार्थना गर्ने सुअवसरका साथै अरू सबै उपहारको लागि धन्यवाद दिन जुरमुरिन्छु। अनि दिनको अन्तमा प्रार्थना गरेपछि सफा अन्तस्करण राखेर सुत्न पाउँदा कत्ति मजा लाग्छ!”

पवित्र शक्‍तिको उपहार

१०. हामीले किन परमेश्‍वरको पवित्र शक्‍तिको मोल गर्नुपर्छ?

१० हाम्रो आँखाले देख्न नसक्ने अर्को बहुमूल्य उपहार परमेश्‍वरको सक्रिय शक्‍ति हो। येसुले हामीलाई पवित्र शक्‍तिको लागि प्रार्थना गरिरहन आग्रह गर्नुभयो। (लुका ११:९, १३) आफ्नो पवित्र शक्‍तिमार्फत यहोवा हामीलाई बल दिनुहुन्छ, उहाँ हामीलाई “असाधारण शक्‍ति” पनि दिनुहुन्छ। (२ कोरि. ४:७; प्रेषि. १:८) परमेश्‍वरको पवित्र शक्‍तिको मदत पाएर हामी आफूले सामना गरिरहेको जुनसुकै परीक्षा सहन सक्छौँ।

(अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. पवित्र शक्‍तिले हामीलाई कुन-कुन तरिकामा मदत गर्न सक्छ?

११ पवित्र शक्‍तिले हामीलाई आफूले परमेश्‍वरको सेवामा पाएका विभिन्‍न असाइनमेन्टहरू पूरा गर्न मदत गर्छ। यसको मदत पाएर हामी आफ्नो सीप अनि क्षमता तिखार्न सक्छौँ। यसले हामीलाई ख्रिष्टियन जिम्मेवारीहरू सम्हाल्न सक्षम बनाउँछ। साँच्चै भन्‍ने हो भने, हामीले हासिल गरेका राम्रा नतिजाहरू आफ्नै क्षमताले नभई परमेश्‍वरको पवित्र शक्‍तिको मदतले गर्दा मात्र सम्भव भएको हो।

१२. भजन १३९:२३, २४ अनुसार हामी के गर्न पवित्र शक्‍तिको मदत माग्न सक्छौँ?

१२ परमेश्‍वरको पवित्र शक्‍तिको मोल गरेको देखाउने अर्को तरिका, हाम्रो हृदयमा खराब सोचाइ वा कुइच्छा छ कि भनेर पत्ता लगाउन मदत दिनुहोस्‌ भनी यहोवालाई प्रार्थना गरेर हो। (भजन १३९:२३, २४ पढ्‌नुहोस्‌) त्यसरी प्रार्थना गऱ्‍यौँ भने यहोवाले आफ्नो पवित्र शक्‍ति चलाएर हामीमा भएको खराब सोचाइ वा कुइच्छाबारे हामीलाई सजग गराउन सक्नुहुन्छ। आफूमा भएको खराब सोचाइ वा कुइच्छाबारे सजग भएपछि त्यसको वशमा नपर्न बल दिनुहोस्‌ भनेर पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ। यसो गर्दा परमेश्‍वरको पवित्र शक्‍तिको मदत पाउनदेखि रोक्ने कुनै पनि काम नगर्न कटिबद्ध छौँ भनेर देखाइरहेका हुन्छौँ।—एफि. ४:३०.

१३. पवित्र शक्‍तिप्रति आफ्नो कृतज्ञता कसरी बढाउँदै लैजान सक्छौँ?

१३ पवित्र शक्‍तिले अहिले हाम्रो समयमा के-के गर्दै छ भनेर मनन गऱ्‍यौँ भने त्यसप्रतिको हाम्रो कृतज्ञता बढाउँदै लैजान सक्छौँ। स्वर्ग फर्कनुअघि येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि . . . पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) यी शब्दहरू अहिले साँच्चै पूरा भइरहेका छन्‌। पवित्र शक्‍तिको मदत पाएर पृथ्वीको कुना-कुनाबाट लगभग ८५ लाख मानिस यहोवाको उपासना गर्न जम्मा भएका छन्‌। साथै हामी आध्यात्मिक प्रमोदवनमा पनि रहन पाएका छौँ किनभने परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वास, नम्रता अनि आत्मसंयमजस्ता सुन्दर गुणहरू विकास गर्न मदत गर्छ। यी गुणहरू “पवित्र शक्‍तिको फल”-का विभिन्‍न पक्ष हुन्‌। (गला. ५:२२, २३) पवित्र शक्‍ति साँच्चै बहुमूल्य उपहार हो!

हाम्रो प्रचारकार्यमाथि यहोवा, येसु अनि स्वर्गदूतहरूको साथ

१४. प्रचारकार्यमा भाग लिँदा हामीले आफ्नो आँखाले देख्न नसक्ने कस्तो साथ पाइरहेका हुन्छौँ?

१४ हाम्रो आँखाले देख्न नसक्ने अर्को एउटा धन हो, हामीले यहोवा, येसु अनि स्वर्गदूतहरूको “सहकर्मी” हुने अमूल्य सुअवसर पाएका छौँ। (२ कोरि. ६:१) चेला बनाउने काममा भाग लिँदा हामीले यहोवा र उहाँको सङ्‌गठनको स्वर्गमा रहेको भागसँगसँगै काम गरिरहेका हुन्छौँ। पावलले आफूलगायत यस काममा भाग लिनेहरूबारे यसो भने: “हामी परमेश्‍वरका सहकर्मीहरू हौँ।” (१ कोरि. ३:९) प्रचारकार्यमा भाग लिँदा हामी येसुको पनि सहकर्मी भइरहेका हुन्छौँ। “सबै जातिका मानिसहरूलाई चेला बनाओ” भनेर आफ्ना चेलाहरूलाई आज्ञा दिनुभएपछि येसुले के भन्‍नुभयो, सम्झनुहोस्‌ त। उहाँले यसो भन्‍नुभयो: “म . . . तिमीहरूसितै छु।” (मत्ति २८:१९, २०) स्वर्गदूतहरूबारे चाहिँ के भन्‍न सकिन्छ? “पृथ्वीमा बास गर्नेहरू[लाई] . . . सदासर्वदा रहने सुसमाचार” सुनाउने काममा स्वर्गदूतहरूको डोऱ्‍याइ पाउँदा हामी साँच्चै कृतज्ञ छौँ!—प्रका. १४:६.

१५. हाम्रो प्रचारकार्यमा यहोवाले खेल्नुहुने महत्त्वपूर्ण भूमिकालाई प्रस्ट पार्ने बाइबलकालीन उदाहरण बताउनुहोस्‌।

१५ यहोवा, येसु अनि स्वर्गदूतहरूको साथ पाएर हामीले के गर्न सकेका छौँ? हामीले राज्यको बिउ छर्दा कुनै-कुनै बिउ हाम्रो सन्देश सुन्‍न चाहने मानिसहरूको मनमा पर्छ र त्यो बढ्‌छ। (मत्ति १३:१८, २३) सत्यका ती बिउहरू कसले गर्दा बढ्‌छन्‌ र फल फलाउँछन्‌? “बुबाले नखिचेसम्म” कुनै पनि मानिस चेला बन्‍न सक्दैन भनेर येसुले बताउनुभयो। (युह. ६:४४) बाइबलमा यसको राम्रो उदाहरण पाउन सक्छौँ। फिलिप्पि सहरबाहिर स्त्रीहरूको एउटा समूहलाई पावलले साक्षी दिएको घटना सम्झनुहोस्‌। तिनीहरूमध्ये लिडिया नाम गरेकी स्त्रीबारे बाइबल के भन्छ, विचार गर्नुहोस्‌: “पावलले भनिरहेका कुराहरू उनले ध्यान दिएर सुनून्‌ भनेर यहोवा परमेश्‍वरले उनको हृदय खोलिदिनुभयो।” (प्रेषि. १६:१३-१५) यहोवाले लिडियालाई जस्तै लाखौँलाई खिचिरहनुभएको छ।

१६. प्रचारकार्यमा राम्रो नतिजा हासिल गर्दा हामीले त्यसको श्रेय कसलाई दिनुपर्छ?

१६ प्रचारकार्यमा हामीले राम्रो नतिजा हासिल गर्नुपछाडि कसको हात छ? त्यस प्रश्‍नको जवाफ पावलले कोरिन्थको मण्डलीबारे लेखेका यी शब्दहरूमा पाइन्छ: “मैले रोपेँ, अपोल्लसले पानी हाले तर परमेश्‍वरले त्यसलाई हुर्काइरहनुभयो। त्यसैले न रोप्ने महत्त्वपूर्ण हो न त पानी हाल्ने तर परमेश्‍वर, जसले त्यसलाई हुर्काउनुहुन्छ।” (१ कोरि. ३:६, ७) प्रचारकार्यमा राम्रो नतिजा हासिल गर्दा पावलले जस्तै हामीले पनि त्यसको श्रेय सधैँ यहोवालाई दिनुपर्छ।

१७. परमेश्‍वर, ख्रिष्ट अनि स्वर्गदूतहरूको “सहकर्मी” हुने सुअवसरप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

१७ परमेश्‍वर, ख्रिष्ट अनि स्वर्गदूतहरूको “सहकर्मी” हुने सुअवसरप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ? अरूलाई सुसमाचार सुनाउने मौका खोज्न जोडतोडका साथ लागेर। त्यसो गर्न सकिने थुप्रै तरिका छन्‌, जस्तै “जनसमक्ष र घरघरमा” साक्षी दिएर। (प्रेषि. २०:२०) यहोवाका थुप्रै सेवकलाई अनौपचारिक साक्षी दिन पनि मन पर्छ। अपरिचित व्यक्‍तिलाई भेट्‌दा उनीहरू मित्रैलो तरिकामा अभिवादन गर्छन्‌ र कुराकानी सुरु गर्ने कोसिस गर्छन्‌। यदि ती व्यक्‍ति कुरा गर्न चाहन्छन्‌ भने उनीहरू कौशलतापूर्वक राज्य सन्देश सुनाउँछन्‌।

(अनुच्छेद १८ हेर्नुहोस्‌) *

१८-१९. (क) हामी कसरी सत्यको बिउमा पानी हाल्छौँ? (ख) यहोवाले एक जना बाइबल विद्यार्थीलाई मदत गर्नुभएको अनुभव बताउनुहोस्‌।

१८ “परमेश्‍वरका सहकर्मीहरू” भएकोले हामीले सत्यको बिउ रोप्नुका साथै त्यसमा पानी हाल्नुपर्छ। कसैले सत्यप्रति चासो देखाउँदा हामी तिनलाई फेरि भेट्‌न सक्दो कोसिस गर्न चाहन्छौँ वा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर कसैलाई तिनीसित भेट्‌ने प्रबन्ध मिलाउन सक्छौँ। यहोवाले ती बाइबल विद्यार्थीको सोचाइ अनि भावना परिवर्तन गर्न मदत गर्नुभएको देख्दा हामी आनन्दित हुनेछौँ।

१९ दक्षिण अफ्रिकाका रापालालानिको अनुभव विचार गर्नुहोस्‌। तिनी पहिला झाँक्री थिए। बाइबल अध्ययन गर्दै जाँदा तिनलाई आफूले सिकेको कुरा मन पऱ्‍यो। तर मरेका मानिसहरूसित कुरा गर्ने विषयमा परमेश्‍वरको वचनमा लेखिएको कुरा स्विकार्न भने तिनलाई गाह्रो भयो। (व्यव. १८:१०-१२) बिस्तारै तिनले आफ्नो सोचाइलाई परमेश्‍वरको सोचाइअनुरूप ढाल्ने कोसिस गरे। अनि समयको अन्तरालमा तिनले झाँक्रीको काम गर्न छोडे। तर त्यसो गर्दा जीविकोपार्जन गर्ने तिनको बाटो नै बन्द भयो। अहिले ६० वर्ष पुगेका रापालालानि यसो भन्छन्‌: “म यहोवाका साक्षीहरूप्रति निकै कृतज्ञ छु किनभने उहाँहरूले मलाई विभिन्‍न तरिकामा मदत गर्नुभयो। जस्तै, काम खोज्न। म यहोवाप्रति सबैभन्दा धेरै कृतज्ञ छु किनकि मेरो जीवन परिवर्तन गर्न उहाँले मलाई मदत दिनुभयो। त्यसैले मैले बप्तिस्मा गर्न सकेँ र अहिले उहाँको साक्षीको रूपमा प्रचारकार्यमा भाग लिन सक्छु।”

२०. तपाईँ के गर्न कटिबद्ध हुनुहुन्छ?

२० यस लेखमा हामीले आफ्नो आँखाले देख्न नसक्ने चार वटा धनबारे विचार गऱ्‍यौँ। तीमध्ये सबैभन्दा अनमोल धन यहोवासित घनिष्ठ मित्रता गाँस्ने सुअवसर हो। यसले नदेखिने अरू धनबाट पनि लाभ उठाउन मदत गर्छ। ती हुन्‌: उहाँलाई प्रार्थना गर्ने, उहाँको पवित्र शक्‍तिको मदत अनुभव गर्ने अनि हाम्रो प्रचारकार्यमाथि यहोवा, येसु अनि स्वर्गदूतहरूको साथ पाउने। हाम्रो आँखाले देख्न नसक्ने यी धनहरूप्रति आफ्नो कृतज्ञता बढाउन कटिबद्ध होऔँ। अनि हाम्रो असल मित्र हुनुभएकोमा यहोवालाई सधैँ धन्यवाद दिइरहौँ।

गीत १४५ वाचा नयाँ संसारको

^ अनु. 5 यसअघिको लेखमा हामीले परमेश्‍वरबाट पाएका विभिन्‍न उपहारहरूबारे छलफल गऱ्‍यौँ, जुन हामी आफ्नो आँखाले देख्न सक्छौँ। यस लेखमा हाम्रो आँखाले नदेख्ने धनबारे चर्चा गर्नेछौँ र ती कुराहरूप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ भनेर विचार गर्नेछौँ। यसले ती धनहरूको स्रोत यहोवा परमेश्‍वरप्रतिको हाम्रो कृतज्ञता पनि बढाउनेछ।

^ अनु. 58 चित्रको व्याख्या: (१) यहोवाले सृष्टि गर्नुभएका कुराहरूलाई नियाल्दै एक बहिनी यहोवासितको आफ्नो मित्रताबारे मनन गर्छिन्‌।

^ अनु. 60 चित्रको व्याख्या: (२) त्यही बहिनी साक्षी दिन यहोवासित बल माग्छिन्‌।

^ अनु. 62 चित्रको व्याख्या: (३) पवित्र शक्‍तिको मदतले ती बहिनी अनौपचारिक साक्षी दिन साहस पाउँछिन्‌।

^ अनु. 64 चित्रको व्याख्या: (४) आफूले अनौपचारिक साक्षी दिएको व्यक्‍तिलाई तिनी बाइबल अध्ययन गराउँछिन्‌। स्वर्गदूतहरूको साथ पाएकोले ती बहिनी प्रचार गर्ने र चेला बनाउने काम गर्न सक्छिन्‌।