सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १९

धर्मीहरूलाई यहोवाको सेवा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन

धर्मीहरूलाई यहोवाको सेवा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन

“तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्‌। कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्‍याउँदैन।”—भज. ११९:१६५.

गीत १२२ स्थिर र अटल बस!

परिचय *

१-२. एक जना लेखकले के भने र यस लेखमा हामी के छलफल गर्नेछौँ?

आज लाखौँ मानिस येसुमाथि विश्‍वास गरेको दाबी त गर्छन्‌ तर उहाँले सिकाउनुभएको कुराहरूअनुसार चल्दैनन्‌। (२ तिमो. ४:३, ४) एक जना लेखकले त यस्तो समेत भने: “यदि आज हामीमाझ येसुजस्तै कुनै व्यक्‍ति भएको भए र विगतमा येसुले जे-जे भन्‍नुभयो, तिनले पनि हामीलाई त्यही कुराहरू भनेको भए दुई हजार वर्षअघि मानिसहरूले जसरी येसुलाई तिरस्कार गरे, के हामी पनि ती व्यक्‍तिलाई त्यसरी नै तिरस्कार गर्ने थियौँ?” प्रायजसो मानिसहरूले आफ्नो व्यवहार र मनोवृत्तिद्वारा एक अर्थमा यस्तो जवाफ दिइरहेका छन्‌: “गर्ने थियौँ।”

प्रथम शताब्दीका थुप्रै मानिसले येसुको शिक्षा सुने र उहाँका चमत्कारहरू पनि देखे। तैपनि तिनीहरूले उहाँमाथि विश्‍वास गरेनन्‌। किन? अघिल्लो लेखमा मानिसहरूले येसुले भन्‍नुभएका र गर्नुभएका कुराहरूलाई बेवास्ता गर्नुको चार वटा कारण छलफल गरेका थियौँ। अब हामी थप चार वटा कारण छलफल गर्नेछौँ। आज मानिसहरू येसुका अनुयायीहरूलाई किन तिरस्कार गर्छन्‌ र यहोवाको सेवा गर्नदेखि रोक्ने कुराहरूबाट हामी कसरी जोगिन सक्छौँ, त्यसबारे पनि छलफल गर्नेछौँ।

(१) येसु निष्पक्ष हुनुहुन्थ्यो

येसुले पापीहरूसित सङ्‌गत गर्नुभएकोले धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद ३ हेर्नुहोस्‌) *

३. येसुको कस्तो कामले गर्दा मानिसहरूले उहाँलाई तिरस्कार गरे?

पृथ्वीमा छँदा येसुले विभिन्‍न पृष्ठभूमिका मानिसहरूसित सरसङ्‌गत गर्नुभयो। उहाँले धनी र प्रतिष्ठित मानिसहरूसित बसेर खानुभयो। तर उहाँले गरिब र थिचोमिचोमा परेका मानिसहरूसित पनि धेरै समय बिताउनुभयो। साथै उहाँले समाजमा “पापी” भनेर चिनिएका मानिसहरूसित दयालु व्यवहार गर्नुभयो। यो देखेर केही आत्मधर्मी मानिसहरूले उहाँलाई तिरस्कार गरे। तिनीहरूले येसुका चेलाहरूलाई यस्तो प्रश्‍न सोधे: “तिमीहरू किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छौ?” येसुले यसो भन्‍नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको खाँचो पर्छ। म धर्मीहरूलाई बोलाउन आएको होइनँ तर पापीहरूले पश्‍चात्ताप गरून्‌ भनी उनीहरूलाई बोलाउन आएको हुँ।”—लुका ५:२९-३२.

४. यसैयाको भविष्यवाणीअनुसार यहुदीहरूले मसीहबारे कुन कुरा बुझ्नुपर्थ्यो?

धर्मशास्त्रले के भन्छ? मसीह आउनुभन्दा धेरै वर्षअघि यसैयाले उहाँलाई संसारले स्विकार्नेछैन भनेर भविष्यवाणी गरेका थिए। तिनले यसो भनेका थिए: “मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्‌। . . . हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ। हामीले उसलाई हेला गऱ्‍यौँ, उसको कदरै गरेनौँ।” (यसै. ५३:३) “मानिसहरूले” मसीहलाई स्विकार्नेछैनन्‌ भन्‍ने कुरा धर्मशास्त्रमा पहिल्यै बताइएको थियो। त्यसैले प्रथम शताब्दीका ती यहुदीहरूले येसु मानिसहरूबाट तिरस्कृत हुनुपर्नेछ भन्‍ने कुरा बुझ्नुपर्थ्यो।

५. आज थुप्रैले येसुका अनुयायीहरूलाई कस्तो दृष्टिकोणले हेर्छन्‌?

के आज पनि त्यस्तै समस्या छ? छ। आज थुप्रै धर्मगुरु प्रतिष्ठित, धनी र बुद्धिमान्‌ कहलिएका मानिसहरूलाई आफ्नो धर्मको सदस्य बनाउन पाउँदा खुसी हुन्छन्‌। ती मानिसहरूको नैतिक स्तर र जीवनशैली परमेश्‍वरको स्तरअनुरूप नभए तापनि ती धर्मगुरुहरूले तिनीहरूलाई आफ्नो धर्मको सदस्यको रूपमा स्विकार्छन्‌। अर्कोतर्फ ती धर्मगुरुहरू परमेश्‍वरका जोसिला र नैतिक तवरमा स्वच्छ सेवकहरूलाई तुच्छ ठान्छन्‌ किनकि संसारको नजरमा उनीहरूको कुनै महत्त्व छैन। पावलले बताएझैँ परमेश्‍वरले “तुच्छ ठानिएका” मानिसहरूलाई आफ्नो सेवक हुन रोज्नुभयो। (१ कोरि. १:२६-२९) तर यहोवाको नजरमा उहाँका सबै वफादार सेवक अनमोल छन्‌।

६. मत्ति ११:२५, २६ मा येसुले के भन्‍नुभयो र हामी कसरी उहाँको जस्तै मनोवृत्ति राख्न सक्छौँ?

विश्‍वास नगुमाउन हामी के गर्न सक्छौँ? (मत्ति ११:२५, २६ पढ्‌नुहोस्‌।) परमेश्‍वरका सेवकहरूप्रति संसारले राख्ने दृष्टिकोणले तपाईँको सोचाइलाई असर गर्न नदिनुहोस्‌। बरु यहोवाले आफ्नो इच्छा पूरा गर्न नम्र मानिसहरूलाई चलाउनुहुन्छ भन्‍ने कुरा स्विकार्नुहोस्‌। (भज. १३८:६) अनि संसारले बुद्धिमान्‌ र बुद्धिजीवी नठानेका मानिसहरूलाई चलाएर यहोवाले कत्ति धेरै उपलब्धि हासिल गर्नुभएको छ, त्यसबारे पनि मनन गर्नुहोस्‌।

(२) येसुले गलत धारणाहरूको पर्दाफास गर्नुभयो

७. येसुले किन फरिसीहरूलाई कपटी भन्‍नुभयो र तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?

येसुले फरिसीहरूको कपटपूर्ण धार्मिक रीतिथितिको पर्दाफास गर्नुभयो। उदाहरणको लागि, ती कपटी फरिसीहरू खाना खानुअघि हात धुनुपर्ने जस्ता सानातिना नियमहरूलाई बढ्‌तै महत्त्व दिन्थे। तर आमाबुबाको हेरविचार गर्नुपर्ने जस्ता महत्त्वपूर्ण नियमलाई भने बेवास्ता गर्थे। (मत्ति १५:१-११) येसुका चेलाहरू उहाँले फरिसीहरूलाई भन्‍नुभएको कुरा सुनेर छक्क परेको हुनुपर्छ। त्यसैले तिनीहरूले उहाँलाई यसरी सोधे: “तपाईँको कुरा सुनेर फरिसीहरू रिसले मुरमुरिएको के तपाईँले याद गर्नुभयो?” येसुले यस्तो जवाफ दिनुभयो: “स्वर्गमा बस्नुहुने मेरा बुबाले नरोप्नुभएको हरेक बोट जरैसमेत उखेलिनेछ। तिनीहरूलाई त्यस्तै रहन देओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्‌। यदि अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्‌।” (मत्ति १५:१२-१४) धर्मगुरुहरूले जति नै नकारात्मक प्रतिक्रिया देखाए तापनि येसुले सत्य बोल्न छोड्‌नुभएन।

८. परमेश्‍वरको लागि सबै धार्मिक विश्‍वास स्वीकार्य छैन भनेर येसुले कसरी देखाउनुभयो?

येसुले झूटा धार्मिक शिक्षाहरूको पनि पर्दाफास गर्नुभयो। उहाँले परमेश्‍वरको लागि सबै धार्मिक विश्‍वास स्वीकार्य छ भनेर सिकाउनुभएन। बरु उहाँले थुप्रै मानिस विनाशतर्फ लैजाने बाटोमा हिँड्‌नेछन्‌ तर जीवनतर्फ लैजाने साँघुरो बाटोमा भने थोरै मात्र हिँड्‌नेछन्‌ भनेर बताउनुभयो। (मत्ति ७:१३, १४) कसै-कसैले परमेश्‍वरको सेवा गरेको दाबी गर्नेछन्‌ तर वास्तवमा तिनीहरूले त्यसो गरिरहेका हुनेछैनन्‌ भनेर उहाँले स्पष्ट पार्नुभयो। उहाँले यस्तो चेतावनी दिनुभयो: “भेडाको भेषमा तिमीहरूकहाँ आउने झूटा भविष्यवक्‍ताहरूदेखि होसियार रहो किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्‌। तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।”—मत्ति ७:१५-२०.

येसुले झूटो विश्‍वास र रीतिथितिको निन्दा गर्नुभएकोले धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद ९ हेर्नुहोस्‌) *

९. येसुले के-कस्ता झूटा धार्मिक शिक्षाहरूको पर्दाफास गर्नुभयो?

धर्मशास्त्रले के भन्छ? मसीहलाई यहोवाको घरको जोसले खानेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (भज. ६९:९; युह. २:१४-१७) त्यही जोसले गर्दा येसुले झूटा धार्मिक विश्‍वास र रीतिथितिको पर्दाफास गर्नुभयो। उदाहरणको लागि, फरिसीहरू आत्मा अमर हुन्छ भन्‍ने कुरामा विश्‍वास गर्थे तर येसुले भने मृत्युलाई निद्रासित तुलना गर्नुभयो। (युह. ११:११) सदुकीहरू मरेको मानिस फेरि जीवित हुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनथे तर येसुले आफ्नो मित्र लाजरसलाई फेरि जीवित पार्नुभयो। (युह. ११:४३, ४४; प्रेषि. २३:८) फरिसीहरूले हाम्रो जीवन भाग्य र परमेश्‍वरको नियन्त्रणमा हुन्छ भनेर सिकाउँथे तर येसुले भने परमेश्‍वरको सेवा गर्ने कि नगर्ने, त्यो हामी आफैले छनौट गर्न सक्छौँ भनेर सिकाउनुभयो।—मत्ति ११:२८.

१०. हामीले सिकाउने कुराहरूले गर्दा आज मानिसहरू हामीलाई किन तिरस्कार गर्छन्‌?

१० के आज पनि त्यस्तै समस्या छ? छ। हामीले सिकाउने बाइबलआधारित शिक्षाहरूले झूटा धार्मिक शिक्षाहरूको पर्दाफास गरेकोले मानिसहरू हामीलाई तिरस्कार गर्छन्‌। धर्मगुरुहरू आफ्ना अनुयायीहरूलाई परमेश्‍वरले दुष्टहरूलाई नरकमा सजाय दिनुहुन्छ भनेर सिकाउँछन्‌। यस्तो झूटो कुरा सिकाएर तिनीहरू मानिसहरूलाई आफ्नो मुठीमा राख्छन्‌। तर प्रेमका परमेश्‍वर यहोवाको सेवकको रूपमा हामी यस्तो झूटो शिक्षाको पर्दाफास गर्छौँ। धर्मगुरुहरूले आत्मा अमर हुन्छ भनेर पनि सिकाउँछन्‌। यदि यो शिक्षा साँचो हो भने परमेश्‍वरले हामीलाई फेरि जीवित हुने आशा किन दिनुहुने थियो र? त्यसैले हामी अमर आत्माको शिक्षा बाइबलसँग मेल खाँदैन भनेर प्रमाणित गर्छौँ। अनि थुप्रै धर्मले हाम्रो जीवन भाग्य र परमेश्‍वरको नियन्त्रणमा छ भनेर सिकाए पनि हामी भने मानिससित स्वतन्त्र इच्छा छ अनि परमेश्‍वरको सेवा गर्ने कि नगर्ने, त्यो आफैले छनौट गर्न सक्छ भनेर सिकाउँछौँ। हामीले यस्ता कुराहरू सिकाउँदा धर्मगुरुहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌? अक्सर तिनीहरू हामीसित रिसाउँछन्‌।

११. युहन्‍ना ८:४५-४७ अनुसार परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?

११ विश्‍वास नगुमाउन हामी के गर्न सक्छौँ? यदि हामी सत्यलाई प्रेम गर्छौँ भने परमेश्‍वरले भन्‍नुभएको कुरा मान्‍नुपर्छ। (युहन्‍ना ८:४५-४७ पढ्‌नुहोस्‌।) हामी सैतानजस्तो नभई सत्यको पक्षमा खडा हुन चाहन्छौँ। हामी आफ्नो विश्‍वासमा कहिल्यै सम्झौता गर्दैनौँ। (युह. ८:४४) हामीले येसुको अनुकरण गर्दै ‘जे कुरा दुष्ट छ, त्यसलाई घृणा गरेको; जे कुरा असल छ, त्यससित टाँसिरहेको’ परमेश्‍वर चाहनुहुन्छ।—रोमी १२:९; हिब्रू १:९.

(३) येसुलाई खेदो गरियो

येसुलाई यातनाको खम्बामा मृत्युदण्ड दिइएकोले धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद १२ हेर्नुहोस्‌) *

१२. येसुलाई मृत्युदण्ड दिइएको तरिकाले गर्दा थुप्रै यहुदीले उहाँलाई किन तिरस्कार गरे?

१२ येसुको समयका यहुदीहरूले उहाँलाई तिरस्कार गर्नुको अर्को कारण के हो? पावलले यसो भने: “हामी भने ख्रिष्ट खम्बामा मारिनुभएको विषयमा प्रचार गर्छौँ, जुन यहुदीहरूका लागि ठक्करको कारण . . . हो।” (१ कोरि. १:२३) येसुलाई यातनाको खम्बामा मृत्युदण्ड दिइएकोले थुप्रै यहुदीले उहाँलाई तिरस्कार गरे। यसरी मारिएकोले तिनीहरूले उहाँलाई अपराधी र पापीको रूपमा हेरे, मसीहको रूपमा होइन।—व्यव. २१:२२, २३.

१३. येसुलाई तिरस्कार गर्नेहरूले कुन कुरा स्विकार्न चाहेनन्‌?

१३ येसुलाई तिरस्कार गर्ने यहुदीहरूले उहाँ निर्दोष हुनुहुन्छ, उहाँमाथि झूटो आरोप लगाइएको छ र उहाँ अन्यायको सिकार हुनुभएको छ भन्‍ने कुरा स्विकार्न चाहेनन्‌। यहुदी न्यायपरिषद्‌का सदस्यहरू येसुको पुर्पक्षको लागि रातारात भेला भए अनि कानुनविपरीत कारबाही अघि बढाए। (लुका २२:५४; युह. १८:२४) येसुमाथि लगाइएको आरोप र उहाँविरुद्ध पेस गरिएका प्रमाणहरूलाई निष्पक्ष भई केलाउनुको साटो न्यायपरिषद्‌ले “उहाँको विरुद्धमा झूटो गवाही दिने मानिस” खोज्न थाले। तिनीहरूको षड्यन्त्र विफल भएपछि प्रधानपुजारीले येसुको मुखबाट उहाँलाई दोषी ठहराउने केही कुरा निकाल्न खोजे। तर यसो गर्नु त्यतिबेलाको कानुनविपरीत थियो। (मत्ति २६:५९; मर्कु. १४:५५-६४) अनि येसु मृत्युबाट जीवित हुनुभएपछि ती अधर्मी न्यायाधीशहरूले रोमी सिपाहीहरूलाई “चाँदीका टुक्राहरू प्रशस्त मात्रामा दिए” अनि येसुका चेलाहरूले उहाँको लास चोरेर लगेछन्‌ भन्‍ने झूटो हल्ला फैलाउन लगाए।—मत्ति २८:११-१५.

१४. मसीहको मृत्युबारे धर्मशास्त्रमा कस्तो भविष्यवाणी गरिएको थियो?

१४ धर्मशास्त्रले के भन्छ? हुनत येसुको समयका थुप्रै यहुदीले मसीहले मृत्यु भोग्नुपर्नेछ भनेर आशा गरेका थिएनन्‌। तर धर्मशास्त्रमा कस्तो भविष्यवाणी गरिएको थियो, याद गर्नुहोस्‌: “उसले आफ्नो जीवनै अर्पण गऱ्‍यो, अपराधीहरूसँगै उसको गन्ती भयो। उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्‍यो।” (यसै. ५३:१२) त्यसैले येसुलाई एक जना पापीको रूपमा मृत्युदण्ड दिइँदा यहुदीहरूले उहाँलाई तिरस्कार गर्नुपर्ने कुनै कारण थिएन।

१५. यहोवाका साक्षीहरूमाथि लगाइएको के-कस्ता आरोपले गर्दा केही मानिसहरू तिनीहरूलाई तिरस्कार गर्छन्‌?

१५ के आज पनि त्यस्तै समस्या छ? पक्कै छ! येसुलाई गलत आरोप लगाएर दोषी ठहर गरियो र आज पनि यहोवाका साक्षीहरूले त्यस्तै अन्याय भोगिरहेका छन्‌। केही उदाहरण विचार गरौँ। सन्‌ १९३० र १९४० को दशकमा अमेरिकामा यहोवाका साक्षीहरूले स्वतन्त्र भएर परमेश्‍वरको उपासना गर्ने हाम्रो अधिकारको लागि पटक-पटक थुप्रै मुद्दा लड्‌नुपरेको थियो। त्यतिबेला केही न्यायाधीशहरू हामीप्रति पूर्वाग्रही भएको प्रस्टै देखिन्थ्यो। क्यानाडाको क्युबेकमा पनि चर्च र त्यहाँको सरकार मिलेर हाम्रो गतिविधिमाथि रोक लगाउन खोज्यो। छिमेकीहरूलाई परमेश्‍वरको राज्यबारे बताएकोले थुप्रै प्रकाशकले जेल सजाय भोग्नुपऱ्‍यो। जर्मनीमा नाजी शासनको बेला हाम्रा थुप्रै दाजुभाइहरूले विश्‍वासको खातिर आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। अनि हालैका वर्षहरूको कुरा गर्ने हो भने, रूसमा हाम्रो प्रचारकार्यलाई “अतिवादी गतिविधि” भन्‍ने संज्ञा दिइएको छ अनि हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनीलाई अरूसित बाइबलबारे कुरा गरेकोले झ्यालखानामा हालिएको छ। रूसी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-माथि प्रतिबन्धसमेत लगाइयो र यसलाई “अतिवादी सामग्री” भनेर संज्ञा दिइयो। किनकि यसमा यहोवाको नाम प्रयोग गरिएको छ।

१६. पहिलो युहन्‍ना ४:१ मा जोड दिइएझैँ परमेश्‍वरका सेवकहरूविरुद्ध फैलाइएका झूटा अफवाहहरू हामीले किन पत्याउनु हुँदैन?

१६ विश्‍वास नगुमाउन हामी के गर्न सक्छौँ? सत्यतथ्य बुझ्ने प्रयास गर्नुहोस्‌। डाँडाको उपदेशमा येसुले आफ्ना श्रोताहरूलाई मानिसहरूले तिनीहरूविरुद्ध “झूट बोलेर नानाथरीका खराब कुरा” भन्‍नेछन्‌ भनेर बताउनुभएको थियो। (मत्ति ५:११) यस्ता झूटहरूको स्रोत सैतान हो। त्यसले हाम्रा विरोधीहरूलाई चलाएर सत्यलाई प्रेम गर्नेहरूबारे झूटा अफवाहहरू फैलाउँछ। (प्रका. १२:९, १०) तर हामीले त्यस्ता झूटहरू पत्याउनु हुँदैन अनि त्यस्ता झूटहरू सुनेर परमेश्‍वरको सेवा गर्न डराउनु हुँदैन वा आफ्नो विश्‍वास कमजोर हुन दिनु हुँदैन।१ युहन्‍ना ४:१ पढ्‌नुहोस्‌।

(४) येसुलाई धोका दिइयो र उहाँलाई त्यागियो

यहुदाले येसुलाई धोका दिएकोले धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद १७-१८ हेर्नुहोस्‌) *

१७. येसुको मृत्युअघि घटेका के-कस्ता घटनाहरूले गर्दा केही मानिसहरूले उहाँलाई तिरस्कार गरेका हुन सक्छन्‌?

१७ येसुको मृत्यु हुनुभन्दा केही बेरअघि उहाँका १२ प्रेषितमध्ये एक जनाले उहाँलाई धोका दिए। अर्का प्रेषितले उहाँलाई तीन पटक इन्कार गरे अनि उहाँको मृत्यु हुनुभन्दा अघिल्लो साँझ उहाँका सबै प्रेषितहरू उहाँलाई छोडेर भागे। (मत्ति २६:१४-१६, ४७, ५६, ७५) तर येसुले अचम्म मान्‍नुभएन। किनकि यस्तै हुनेछ भनेर उहाँले पहिल्यै बताइसक्नुभएको थियो। (युह. ६:६४; १३:२१, २६, ३८; १६:३२) यी सब देख्दा केहीले यस्तो तर्क गरेका हुन सक्छन्‌, ‘येसुका प्रेषितहरूले नै उहाँलाई यस्तो व्यवहार गरे भने म कसरी त्यस्तो समूहको भाग बन्‍न सक्छु र?’

१८. येसुको मृत्यु हुनुभन्दा केही समयअघि के-कस्ता भविष्यवाणीहरू पूरा भए?

१८ धर्मशास्त्रले के भन्छ? मसीहलाई ३० टुक्रा चाँदीको लागि धोका दिइनेछ भनेर यहोवाले सयौँ वर्षअघि बताउनुभएको थियो। (जक. ११:१२, १३) येसुका घनिष्ठ साथीहरूमध्ये एक जनाले उहाँलाई धोका दिने थिए। (भज. ४१:९) जकरियाले यस्तो भविष्यवाणी पनि गरेका थिए: “गोठालोलाई प्रहार गर्‌ र भेडाहरू तितरबितर होऊन्‌।” (जक. १३:७) नम्र हृदय भएका मानिसहरूले पक्कै पनि यस्ता घटनाहरू देखेर येसुलाई तिरस्कार गरेनन्‌। बरु उहाँमा बाइबलका भविष्यवाणीहरू पूरा भएको देखेर उनीहरूको विश्‍वास बलियो भएको हुनुपर्छ।

१९. नम्र हृदय भएका मानिसहरूले कुन कुरा बुझेका छन्‌?

१९ के आज पनि त्यस्तै समस्या छ? छ। अहिले हाम्रो समयमा पनि सङ्‌गठनमा ठूलो जिम्मेवारी पाएका केही साक्षीहरूले सत्यलाई त्यागेका छन्‌, धर्मत्यागी भएका छन्‌ र अरूलाई पनि सत्यबाट तर्काउन खोजेका छन्‌। तिनीहरूले सञ्चार माध्यम र इन्टरनेटमार्फत यहोवाका साक्षीहरूको विषयमा नकारात्मक रिपोर्ट, अर्धसत्य र झूट फैलाएका छन्‌। तर नम्र हृदय भएका मानिसहरू यस्ता अफवाहहरू सुनेर परमेश्‍वरको सेवा गर्नदेखि पछि हट्‌दैनन्‌। यस्ता कुराहरू हुनेछन्‌ भनेर बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो भन्‍ने कुरा तिनीहरूले बुझेका छन्‌।—मत्ति २४:२४; २ पत्रु. २:१८-२२.

२०. सत्यलाई त्यागेर गएकाहरूको बहकाउमा नपर्न हामी के गर्न सक्छौँ? (२ तिमोथि ४:४, ५)

२० विश्‍वास नगुमाउन हामी के गर्न सक्छौँ? परमेश्‍वरको वचन नियमित रूपमा अध्ययन गरेर, निरन्तर प्रार्थना गरेर अनि परमेश्‍वरले सुम्पनुभएको काममा व्यस्त भएर हामी आफ्नो विश्‍वास बलियो बनाइराख्न सक्छौँ। (२ तिमोथि ४:४, ५ पढ्‌नुहोस्‌।) हाम्रो विश्‍वास बलियो छ भने यहोवाका साक्षीहरूको विषयमा नकारात्मक रिपोर्ट सुन्दा हामी आत्तिनेछैनौँ। (यसै. २८:१६) यदि हामी यहोवा, उहाँको वचन र हाम्रा दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्छौँ भने हामी सत्यलाई त्यागेर गएकाहरूको बहकाउमा पर्नेछैनौँ।

२१. आज धेरैजसो मानिसले हाम्रो सन्देश सुन्‍न इन्कार गरे पनि हामी कुन कुरामा विश्‍वस्त छौँ?

२१ प्रथम शताब्दीमा थुप्रै मानिसले येसुलाई तिरस्कार गरे। तर थुप्रैले उहाँको चेला बन्‍ने छनौट पनि गरे। तिनीहरूमध्ये एक जना यहुदी न्यायपरिषद्‌का सदस्य पनि थिए अनि “पुजारीहरूको ठूलो जमातले” पनि येसुमा विश्‍वास गर्न थाले। (प्रेषि. ६:७; मत्ति २७:५७-६०; मर्कु. १५:४३) त्यसैगरि आज लाखौँ मानिसले परमेश्‍वरको सेवा गर्ने छनौट गरेका छन्‌। किन? किनकि तिनीहरूले परमेश्‍वरको वचनमा पाइने सत्य बुझेका छन्‌ र ती सत्यहरूलाई प्रेम गर्छन्‌। परमेश्‍वरको वचन यसो भन्छ: “तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्‌। कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्‍याउँदैन।”—भज. ११९:१६५.

गीत १२४ सधैँ वफादार रहौँ!

^ अनु. 5 अघिल्लो लेखमा मानिसहरूले येसुलाई किन तिरस्कार गरे र आज पनि मानिसहरू उहाँका अनुयायीहरूलाई किन तिरस्कार गर्छन्‌, त्यसको चार वटा कारण छलफल गरेका थियौँ। यस लेखमा हामी थप चार वटा कारण छलफल गर्नेछौँ। यहोवालाई प्रेम गर्ने नम्र हृदय भएका मानिसहरू येसुलाई तिरस्कार गर्न लगाउने जुनसुकै कुराबाट किन होसियार हुन्छन्‌, त्यसबारे पनि छलफल गर्नेछौँ।

^ अनु. 60 चित्रको व्याख्या: येसु मत्ति र कर उठाउनेहरूसँग खाना खानुहुन्छ।

^ अनु. 62 चित्रको व्याख्या: येसु मन्दिरबाट व्यापारीहरूलाई लघार्नुहुन्छ।

^ अनु. 64 चित्रको व्याख्या: येसुलाई यातनाको खम्बा बोक्न लगाइन्छ।

^ अनु. 66 चित्रको व्याख्या: यहुदाले येसुलाई चुम्बन गरेर धोका दिन्छन्‌।