सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १८

येसुको पछि लाग्नदेखि के तपाईँलाई कुनै कुराले रोकिरहेको छ?

येसुको पछि लाग्नदेखि के तपाईँलाई कुनै कुराले रोकिरहेको छ?

“त्यो मानिस आनन्दित हो, जसले मेरो विषयमा कुनै शङ्‌का गर्दैन।”—मत्ति ११:६.

गीत ५४ ‘यही हो बाटो’

परिचय *

१. पहिलो चोटि अरूलाई बाइबलको सत्य बताउँदा धेरैले कस्तो अनुभव गरेका छन्‌?

पहिलो चोटि बाइबलको सत्य सुन्‍नुभएको क्षण के तपाईँलाई याद छ? तपाईँले बाइबलबाट सिकिरहनुभएका कुराहरू सुस्पष्ट थिए। तपाईँले विश्‍वास गर्न थाल्नुभएका कुराहरू सबैले स्विकार्नेछन्‌ भनेर सोच्नुभएको थियो होला। बाइबलले तिनीहरूलाई अहिले अर्थपूर्ण जीवन र भविष्यको लागि अद्‌भुत आशा दिनेछ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुहुन्थ्यो। (भज. ११९:१०५) त्यसैले उत्साहित हुँदै तपाईँले आफूले सिकेका कुराहरू साथीभाइ र नातेदारहरूलाई पनि बताउनुभयो। तर नतिजा कस्तो भयो? छक्कलाग्दो कुरा, धेरैले बाइबलको सत्य सुन्‍न चाहेनन्‌।

२-३. येसुको समयका धेरैजसो मानिसले उहाँ र उहाँको सन्देशप्रति कस्तो प्रतिक्रिया देखाए?

हामीले सुनाएको सन्देशलाई अरूले तिरस्कार गर्दा हामी छक्क पर्नु पर्दैन। येसुलाई पनि धेरै मानिसले तिरस्कार गरे जबकि उहाँले गर्नुभएका चमत्कारहरूबाट उहाँसित परमेश्‍वरको साथ छ भन्‍ने कुरा प्रस्टै देखिन्थ्यो। उदाहरणको लागि, येसुले लाजरसलाई फेरि जीवित पार्नुभएको कुरालाई उहाँका विरोधीहरूले समेत नकार्न सकेनन्‌। तैपनि यहुदी नेताहरूले येसुलाई मसीहको रूपमा स्विकारेनन्‌। तिनीहरूले येसु र लाजरसलाई मार्न समेत खोजे।—युह. ११:४७, ४८, ५३; १२:९-११.

धेरैजसो मानिसले उहाँलाई मसीहको रूपमा स्विकार्नेछैनन्‌ भन्‍ने कुरा येसुलाई थाह थियो। (युह. ५:३९-४४) उहाँले बप्तिस्मा गराउने युहन्‍नाका चेलाहरूलाई यसो भन्‍नुभयो: “त्यो मानिस आनन्दित हो, जसले मेरो विषयमा कुनै शङ्‌का गर्दैन।” (मत्ति ११:२, ३, ६) किन यत्ति धेरै मानिसले येसुलाई तिरस्कार गरे?

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यो र यसपछिको लेखमा प्रथम शताब्दीका धेरै मानिसले येसुमाथि विश्‍वास नगर्नुका केही कारण हामी जाँच्नेछौँ। आज पनि धेरै मानिसले हाम्रो सन्देशलाई किन तिरस्कार गर्छन्‌, त्यो पनि बुझ्नेछौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी किन येसुमाथि विश्‍वास गर्न सक्छौँ र उहाँको पछि लागिरहन सक्छौँ, त्यो पनि बुझ्नेछौँ।

(१) येसुको पृष्ठभूमि

येसुको पृष्ठभूमिले गर्दा धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद ५ हेर्नुहोस्‌) *

५. केही मानिसहरू येसु मसीह हुनुहुन्‍न भन्‍ने निष्कर्षमा किन पुगेका हुन सक्छन्‌?

येसुको पृष्ठभूमिको कारण धेरैले उहाँलाई तिरस्कार गरे। येसु उत्कृष्ट शिक्षक हुनुहुन्छ र उहाँले चमत्कारहरू गर्नुभएको छ भन्‍ने कुरा मानिसहरूलाई थाह थियो। तर तिनीहरू उहाँलाई एक जना गरिब सिकर्मीको छोराको रूपमा मात्र हेर्थे। अनि उहाँ नासरतमा बस्नुहुन्थ्यो, जुन सहरलाई सायद मानिसहरू त्यत्ति महत्त्व दिँदैनथे। पछि येसुको चेला बनेका नथनेलले समेत यसो भनेका थिए: “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” (युह. १:४६) सायद नथनेललाई येसु हुर्कनुभएको सहर मन पर्दैनथ्यो। अथवा तिनले मिका ५:२ मा गरिएको भविष्यवाणी याद गरेका हुन सक्छन्‌, जहाँ मसीह नासरतमा नभई बेतलेहेममा जन्मनेछन्‌ भनेर बताइएको थियो।

६. येसु नै मसीह हुनुहुन्छ भनेर चिन्‍न मानिसहरूलाई कुन कुराले मदत गर्न सक्थ्यो?

धर्मशास्त्रले के भन्छ? येसुका शत्रुहरूले “[मसीह] को हो, कहाँबाट आयो” भनेर विचारै गर्नेछैनन्‌ भनी यसैयाले भविष्यवाणी गरेका थिए। (यसै. ५३:८) धर्मशास्त्रमा मसीहबारे यस्ता थुप्रै भविष्यवाणी गरिएका थिए। यदि तिनीहरूले येसुबारे सबै सत्यतथ्य राम्ररी जाँचेका भए उहाँको जन्म बेतलेहेममा भएको हो र उहाँ राजा दाउदको वंशबाट आउनुभएको हो भनेर थाह पाउने थिए। (लुका २:४-७) येसुको जन्म मिका ५:२ मा भविष्यवाणी गरिएकै ठाउँमा भएको थियो। त्यसोभए समस्या के थियो? मानिसहरूले सोचविचारै नगरी येसुबारे गलत निष्कर्ष निकाले। तिनीहरूले मसीहबारे गरिएका सबै भविष्यवाणी राम्ररी केलाएका थिएनन्‌। त्यसैले तिनीहरूले येसुलाई तिरस्कार गरे।

७. आज धेरैले यहोवाका साक्षीहरूलाई किन तिरस्कार गर्छन्‌?

के आज पनि त्यस्तै समस्या छ? छ। प्रायजसो यहोवाका जनहरू सम्पन्‍न र प्रतिष्ठित छैनन्‌; धेरैको नजरमा तिनीहरू “अशिक्षित अनि साधारण मानिस” हुन्‌। (प्रेषि. ४:१३) तिनीहरूको विचारमा परमेश्‍वरका जनहरूले नाम चलेका धार्मिक स्कुलहरूबाट शिक्षा नलिएको हुनाले उनीहरूले अरूलाई बाइबलको कुरा सिकाउन सक्दैनन्‌। अरूले भने यहोवाका साक्षीहरूलाई “अमेरिकी धर्म” भन्‍ने संज्ञा दिएका छन्‌। तर वास्तवमा प्रत्येक ७ जना यहोवाको साक्षीमध्ये १ जना मात्र अमेरिकामा बस्छन्‌। कोही-कोही भने यहोवाका साक्षीहरू येसुमाथि विश्‍वास गर्दैनन्‌ भन्‍ने आरोप लगाउँछन्‌। थुप्रै मानिसले यहोवाका साक्षीहरूलाई “परिवार भाँड्‌नेहरू,” “अतिवादी” र “विदेशी धर्म” भन्‍ने गर्छन्‌। यस्ता अफवाह सुन्‍ने मानिसहरूलाई वास्तविकता थाह छैन र वास्तविकता थाह भए पनि तिनीहरू त्यसलाई स्विकार्दैनन्‌। त्यसैले तिनीहरू यहोवाका साक्षीहरूलाई तिरस्कार गर्छन्‌।

८. प्रेषित १७:११ अनुसार आज परमेश्‍वरका जनहरूलाई चिन्‍न मानिसहरूले के गर्नुपर्छ?

विश्‍वास नगुमाउन के गर्नुपर्छ? सत्यतथ्य जाँच्नुपर्छ। सुसमाचारका लेखक लुका त्यसै गर्न कटिबद्ध थिए। “सुरुदेखिका सबै घटना” ठीक-ठीक पत्ता लगाउन तिनले कडा मेहनत गरे। आफ्ना पाठकहरूले येसुबारे सुनेका कुराहरू “भरपर्दा छन्‌” भनेर थाह पाएको तिनी चाहन्थे। (लुका १:१-४) प्राचीन बिरियाका यहुदीहरू लुकाजस्तै थिए। पहिलो चोटि येसुबारे सुसमाचार सुनेपछि तिनीहरूले ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न हिब्रू धर्मशास्त्र जाँचे। (प्रेषित १७:११ पढ्‌नुहोस्‌।) त्यसरी नै आज पनि मानिसहरूले सत्यतथ्य जाँच्नुपर्छ। तिनीहरूले परमेश्‍वरका जनहरूबाट सुनेका कुराहरूलाई धर्मशास्त्रसित तुलना गरेर हेर्नुपर्छ। साथै आधुनिक समयका यहोवाका जनहरूले के-कस्ता काम गरेका छन्‌ भनेर पनि जाँच्नुपर्छ। सबै सत्यतथ्य राम्ररी केलाउँदा तिनीहरू पूर्वाग्रही हुनदेखि जोगिनेछन्‌ वा अफवाहको पछि लाग्नेछैनन्‌।

(२) येसुले चिन्ह देखाउन इन्कार गर्नुभयो

येसुले चिन्ह देखाउन इन्कार गर्नुभएकोले धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद ९-१० हेर्नुहोस्‌) *

९. येसुले स्वर्गबाट चिन्ह देखाउन इन्कार गर्नुहुँदा विरोधीहरूले के गरे?

येसुको समयका केही मानिस उहाँले सिकाउनुभएका कुराहरूसित सन्तुष्ट थिएनन्‌। तिनीहरूले अर्कै कुराको आस गरिरहेका थिए। येसुले “स्वर्गबाट एउटा चिन्ह” देखाएर आफू मसीह हुँ भन्‍ने कुरा प्रमाणित गरेको तिनीहरू चाहन्थे। (मत्ति १६:१) तिनीहरूले दानिएल ७:१३, १४ लाई गलत तरिकाले बुझेको हुनाले त्यस्तो माग राखेका हुन सक्छन्‌। तर त्यो भविष्यवाणी पूरा हुने यहोवाको समय आएको थिएन। येसु मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्न उहाँले सिकाइरहनुभएका कुराहरू नै काफी थियो। त्यसैले तिनीहरूले खोजेको चिन्ह देखाउन येसुले इन्कार गर्नुहुँदा तिनीहरूले उहाँलाई तिरस्कार गरे।—मत्ति १६:४.

१०. मसीहबारे यसैयाले गरेको भविष्यवाणी येसुले कसरी पूरा गर्नुभयो?

१० धर्मशास्त्रले के भन्छ? यसैयाले मसीहबारे यस्तो भविष्यवाणी गरेका थिए: “तिनी चिच्याउनेछैनन्‌ वा ठूलो आवाज निकाल्नेछैनन्‌, तिनले सडकमा गएर आफ्नो स्वर सुनाउनेछैनन्‌।” (यसै. ४२:१, २) येसुले मानिसहरूको ध्यान आफूतर्फ खिच्नुभएन। उहाँले भव्य मन्दिरहरू बनाउनुभएन, अरूभन्दा फरक देखिने धार्मिक पोसाक लगाउनुभएन र धार्मिक पदवीको आस पनि गर्नुभएन। येसुलाई पुर्पक्षको लागि उभ्याइएको बेला राजा हेरोदले उहाँबाट चमत्कार हेर्ने आस गरेका थिए। तर उहाँले तिनलाई खुसी तुल्याउन कुनै चमत्कार गर्नुभएन। (लुका २३:८-११) हुनत येसुले केही चमत्कारहरू गर्नुभयो तर उहाँको मुख्य उद्देश्‍य राज्यको सुसमाचार घोषणा गर्नु थियो। उहाँले चेलाहरूलाई यसो भन्‍नुभयो: “म यसैको लागि आएको हुँ।”—मर्कु. १:३८.

११. हामीबारे कसै-कसैले कस्ता गलत धारणा राखेका छन्‌?

११ के आज पनि त्यस्तै समस्या छ? छ। आज धेरै मानिस बहुमूल्य कलाकृतिले सजिएका धार्मिक भवनहरू, उच्च धार्मिक पदवी पाएका धर्मगुरुहरू र बाइबलको शिक्षासित मेल नखाने चाडपर्वहरूद्वारा प्रभावित भएका छन्‌। तिनीहरू धार्मिक सभाहरूमा उपस्थित त हुन्छन्‌ तर परमेश्‍वर र उहाँको उद्देश्‍यबारे खासै सिकेका हुँदैनन्‌। तर यसको विपरीत हाम्रा ख्रिष्टियन सभाहरूमा उपस्थित हुनेहरूले यहोवा हामीबाट के चाहनुहुन्छ र उहाँको इच्छाअनुसार कसरी जीवन बिताउन सकिन्छ भनेर सिक्न सक्छन्‌। हाम्रा सभाभवनहरू अन्य धार्मिक भवनहरूजस्तो भव्य छैनन्‌ तर सफा र उपयोगी छन्‌। नेतृत्व लिनेहरूले न अरूले भन्दा फरक पोसाक लगाउँछन्‌ न त अरूबाट कुनै धार्मिक पदवीको आस नै गर्छन्‌। हामीले सिकाउने कुराहरू र हाम्रो विश्‍वास परमेश्‍वरको वचनमा आधारित छन्‌। तैपनि आज धेरै मानिस हाम्रो सन्देश सुन्‍न इन्कार गर्छन्‌ किनकि तिनीहरूलाई हाम्रो उपासना गर्ने शैली अति नै साधारण लाग्छ। साथै हामीले सिकाउने कुरा तिनीहरूले सुन्‍न चाहेको कुराभन्दा फरक छ।

१२. हिब्रू ११:१, ६ अनुसार हामी आफ्नो विश्‍वास कसरी बलियो बनाउन सक्छौँ?

१२ विश्‍वास नगुमाउन हामी के गर्न सक्छौँ? प्रेषित पावलले रोमका ख्रिष्टियनहरूलाई यसो भनेका थिए: “सन्देश सुनेपछि विश्‍वास पलाउँछ। अनि सन्देश तब सुन्‍न पाइन्छ, जब कसैले ख्रिष्टबारे बताउँछ।” (रोमी १०:१७) त्यसैले हामी बाइबलको अध्ययन गरेर आफ्नो विश्‍वास बलियो बनाउँछौँ, बाइबलको शिक्षासित मेल नखाने चाडपर्वहरूमा भाग लिएर होइन, चाहे ती चाडपर्वहरू जति नै आकर्षक किन नदेखियोस्‌। हामीले बाइबलको सही ज्ञान लिएर विश्‍वास बलियो बनाउनुपर्छ किनकि “विनाविश्‍वास परमेश्‍वरलाई खुसी पार्न असम्भव छ।” (हिब्रू ११:१,  पढ्‌नुहोस्‌।) आफूले सिकेको कुरा सत्य हो भनेर विश्‍वस्त हुन हामीलाई स्वर्गबाट कुनै चिन्हको आवश्‍यकता छैन। विश्‍वास बलियो बनाउने बाइबलका शिक्षाहरू राम्ररी अध्ययन गऱ्‍यौँ भने हामीले आफ्नो मनबाट शङ्‌का हटाउन र आफूले सिकिरहेको कुरा सत्य हो भनेर विश्‍वस्त हुन सक्नेछौँ।

(३) येसु यहुदी परम्पराअनुसार चल्नुभएन

येसुले यहुदी परम्पराअनुसार नचल्नुभएकोले धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद १३ हेर्नुहोस्‌) *

१३. धेरैले येसुलाई किन तिरस्कार गरे?

१३ एकचोटि येसुका चेलाहरू उपवास नबसेकोले बप्तिस्मा गराउने युहन्‍नाका चेलाहरू छक्क परेका थिए। आफू जीवितै भएकोले चेलाहरू उपवास बस्नु आवश्‍यक छैन भनेर येसुले बताउनुभयो। (मत्ति ९:१४-१७) तर येसु यहुदी परम्पराअनुसार नचलेको हुनाले उहाँका विरोधीहरूले उहाँको निन्दा गरे। उहाँले विश्रामदिनमा बिरामीलाई निको पार्नुहुँदा तिनीहरू रिसाए। (मर्कु. ३:१-६; युह. ९:१६) एकातर्फ तिनीहरू विश्रामदिन मान्छु भनेर धाक लगाउँथे, अर्कोतर्फ मानिसहरूले विश्रामदिनमै मन्दिरमा व्यापार गर्दा तिनीहरू कुनै आपत्ति जनाउँदैनथे। येसुले तिनीहरूको यस्तो कर्तुतको पर्दाफास गर्नुहुँदा तिनीहरू क्रोधित भए। (मत्ति २१:१२, १३, १५) नासरतको सभाघरमा येसुले त्यहाँ उपस्थित यहुदीहरू स्वार्थी छन्‌ र तिनीहरूमा विश्‍वासको कमी छ भनेर देखाउन पुरातन इस्राएलीहरूको केही उदाहरण चलाउनुहुँदा तिनीहरू रिसले चूर भए। (लुका ४:१६, २५-३०) येसुले तिनीहरूले आस गरेजस्तो केही पनि नगर्नुभएकोले तिनीहरूले उहाँलाई तिरस्कार गरे।—मत्ति ११:१६-१९.

१४. येसुले धर्मशास्त्रसित मेल नखाने मानव परम्पराको किन निन्दा गर्नुभयो?

१४ धर्मशास्त्रले के भन्छ? यहोवाले यसैयामार्फत यस्तो भविष्यवाणी गर्नुभएको थियो: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्‌ अनि ओठले त मलाई आदर गर्छन्‌ तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ। भन्‍न त तिनीहरू ‘म परमेश्‍वरको डर मान्छु’ भन्छन्‌ तर मानिसहरूले बनाएको नियममा चल्छन्‌।” (यसै. २९:१३) येसुले धर्मशास्त्रसित मेल नखाने मानव परम्पराको निन्दा गर्नु जायज थियो। धर्मशास्त्रलाई भन्दा मानिसले बनाएका नियम र परम्परालाई महत्त्व दिनेहरूले यहोवा र उहाँले पठाउनुभएको मसीहलाई तिरस्कार गरे।

१५. आज धेरै मानिसले यहोवाका साक्षीहरूलाई किन मन पराउँदैनन्‌?

१५ के आज पनि त्यस्तै समस्या छ? छ। यहोवाका साक्षीहरू जन्मदिन र धर्मशास्त्रसित मेल नखाने अन्य चाडपर्वमा सामेल नहुँदा धेरै जनाले चित्त दुखाउँछन्‌। अरू भने यहोवाका साक्षीहरू राष्ट्रिय उत्सवहरूमा र अन्त्येष्टिसित सम्बन्धित रीतिथितिमा सहभागी नहुँदा उनीहरूसित रिसाउने गर्छन्‌। तिनीहरूलाई आफूले सही तरिकामा परमेश्‍वरको उपासना गरिरहेको छु जस्तो लाग्न सक्छ। तर तिनीहरूले मानिसले बनाएको परम्पराको पछि लागेर बाइबलको सुस्पष्ट शिक्षालाई बेवास्ता गरे भने परमेश्‍वरलाई खुसी बनाउन सक्दैनन्‌।—मर्कु. ७:७-९.

१६. भजन ११९:९७, ११३, १६३-१६५ अनुसार हामीले के गर्नुपर्छ र के गर्नु हुँदैन?

१६ विश्‍वास नगुमाउन हामी के गर्न सक्छौँ? हामीले यहोवाका नियम तथा सिद्धान्तहरूलाई हृदयदेखि प्रेम गर्नुपर्छ। (भजन ११९:९७, ११३, १६३-१६५ पढ्‌नुहोस्‌।) हामी यहोवालाई प्रेम गर्छौँ भने उहाँलाई मन नपर्ने रीतिथितिलाई तिरस्कार गर्नेछौँ। हाम्रो लागि यहोवाप्रतिको प्रेमभन्दा ठूलो अरू कुनै पनि कुरा हुनु हुँदैन।

(४) येसुले तुरुन्तै राजनैतिक परिवर्तन ल्याउनुभएन

येसुले राजनैतिक मामिलामा कुनै चासो नराख्नुभएकोले धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद १७ हेर्नुहोस्‌) *

१७. येसुको समयका थुप्रै मानिसले मसीहबाट कस्तो आशा गरेका थिए?

१७ येसुको समयका कोही-कोही मानिस राजनैतिक परिवर्तन भएको चाहन्थे। मसीहले तिनीहरूलाई रोमीहरूको दमनबाट मुक्‍त गर्नेछन्‌ भनेर तिनीहरूले आशा गरेका थिए। तर तिनीहरूले उहाँलाई राजा बनाउन खोज्दा उहाँले इन्कार गर्नुभयो। (युह. ६:१४, १५) येसुले कुनै राजनैतिक परिवर्तन ल्याउनुभयो भने रोमीहरू रिसाउलान्‌ र तिनीहरूबाट पाइरहेको शक्‍ति र अख्तियार गुमाउनुपर्ला भनेर पुजारीहरू र अरू केही व्यक्‍तिहरू डराएका थिए। यस्ता कुराहरूले गर्दा थुप्रै यहुदीले उहाँलाई तिरस्कार गरे।

१८. बाइबलमा मसीहबारे गरिएका कस्ता भविष्यवाणीहरूलाई धेरैले बेवास्ता गरे?

१८ धर्मशास्त्रले के भन्छ? थुप्रै भविष्यवाणीमा मसीह अन्ततः विजयी योद्धा हुनुहुनेछ भनेर बताइएको थियो तर अरू भविष्यवाणीहरूले पहिला उहाँ हाम्रो पापको लागि मर्नु आवश्‍यक छ भनेर देखाउँथ्यो। (यसै. ५३:९, १२) त्यसोभए मसीहबारे यहुदीहरूले त्यस्तो गलत आशा किन राखेका थिए? किनकि तिनीहरू आफूले भोगिरहेका समस्याहरूको तुरुन्तै हल हुने प्रतिज्ञा नगरिएका जुनसुकै भविष्यवाणीलाई बेवास्ता गर्थे।—युह. ६:२६, २७.

१९. हामीबाट कस्तो गलत आशा राखेकोले आज धेरैले हाम्रो सन्देशलाई तिरस्कार गर्छन्‌?

१९ के आज पनि त्यस्तै समस्या छ? छ। आज पनि धेरै मानिसहरू हामी राजनैतिक मामिलामा तटस्थ रहेकोले हामीलाई मन पराउँदैनन्‌। तिनीहरू हामीले चुनावमा भोट खसालेको चाहन्छन्‌। तर यदि हामी आफ्नो शासकको रूपमा कुनै मानव नेतालाई छान्छौँ भने यहोवालाई तिरस्कार गरिरहेका हुन्छौँ। (१ समु. ८:४-७) मानिसहरू हामीले स्कुल र अस्पताल बनाइदिएको अनि समाजसेवा गरेको चाहन्छन्‌। तर हामी आफ्नो समय र शक्‍ति संसारका समस्याहरू समाधान गर्न नभई प्रचारकार्यमा लगाउँछौँ। त्यसैले तिनीहरू हाम्रो सन्देशलाई तिरस्कार गर्छन्‌।

२०. मत्ति ७:२१-२३ मा येसुले जोड दिनुभएझैँ हामीले कुन कुरामा ध्यान केन्द्रित गर्नुपर्छ?

२० विश्‍वास नगुमाउन हामी के गर्न सक्छौँ? (मत्ति ७:२१-२३ पढ्‌नुहोस्‌।) येसुले सुम्पनुभएको काममा हामीले ध्यान केन्द्रित गर्नुपर्छ। (मत्ति २८:१९, २०) हामी यस संसारको राजनैतिक र सामाजिक मामिलाहरूमा अलमलिनु हुँदैन। हामी मानिसहरूलाई प्रेम गर्छौँ र उनीहरूको समस्याबारे चिन्ता गर्छौँ तर छिमेकीहरूलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई परमेश्‍वरको राज्यबारे सिकाउनु र उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न मदत गर्नु हो।

२१. हामी सबैले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

२१ यस लेखमा हामीले प्रथम शताब्दीका मानिसहरूले येसुलाई किन तिरस्कार गरे र आज पनि धेरै मानिसले येसुका अनुयायीहरूलाई किन तिरस्कार गर्छन्‌, त्यसका चार वटा कारण छलफल गऱ्‍यौँ। के त्यसका अरू कारण पनि छन्‌? छन्‌। अर्को लेखमा हामी थप चार वटा कारणबारे छलफल गर्नेछौँ। येसुलाई तिरस्कार नगर्न र आफ्नो विश्‍वास बलियो बनाइरहन हामी सबैले सङ्‌कल्प गरौँ।

गीत ५६ सत्यमै जिउनू

^ अनु. 5 येसु आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ शिक्षक हुनुभए तापनि उहाँको समयका धेरै मानिसले उहाँलाई तिरस्कार गरे। किन? यसका चार वटा कारण हामी यस लेखमा छलफल गर्नेछौँ। आज पनि थुप्रै मानिस येसुका साँचो अनुयायीहरूले भन्‍ने र गर्ने कुरालाई किन बेवास्ता गर्छन्‌, त्यो पनि छलफल गर्नेछौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी किन येसुमाथि विश्‍वास गर्न सक्छौँ र उहाँको पछि लागिरहन सक्छौँ, त्यो पनि छलफल गर्नेछौँ।

^ अनु. 60 चित्रको व्याख्या: येसुलाई भेट्‌न फिलिपले नथनेललाई प्रोत्साहन दिन्छन्‌।

^ अनु. 62 चित्रको व्याख्या: येसु सुसमाचार सुनाउनुहुन्छ।

^ अनु. 64 चित्रको व्याख्या: येसुका विरोधीहरू उहाँले हात सुकेको मानिसलाई निको पार्नुभएको हेरिरहेका छन्‌।

^ अनु. 66 चित्रको व्याख्या: येसु एक्लै डाँडातिर लाग्नुहुन्छ।