सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २०

साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्‌

साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्‌

“बिहान सबेरै बिउ छर्न थाल र साँझसम्मै छरिरह।”—उप. ११:६.

गीत ७० योग्य व्यक्‍तिहरू खोजौँ!

परिचय *

येसु स्वर्ग फर्कनुभएपछि उहाँका चेलाहरूले यरुसलेम र अरू थुप्रै ठाउँमा जोसका साथ साक्षी दिन्छन्‌ (अनुच्छेद १ हेर्नुहोस्‌)

१. येसुले आफ्ना अनुयायीहरूको लागि कस्तो उदाहरण बसाल्नुभयो र तिनीहरूले के गरे? (आवरण चित्र हेर्नुहोस्‌।)

यस पृथ्वीमा हुनुहुँदा येसुले साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण कायम राख्नुभयो र उहाँ आफ्ना अनुयायीहरूले पनि त्यसै गरेको चाहनुहुन्छ। (युह. ४:३५, ३६) येसु पृथ्वीमा हुनुहुँदा उहाँका चेलाहरूले जोसिलो भएर साक्षीकार्यमा भाग लिए। (लुका १०:१, ५-११, १७) तर उहाँलाई पक्रेर मृत्युदण्ड दिइएपछि केही समयको लागि साक्षीकार्यप्रति चेलाहरूको जोस घट्यो। (युह. १६:३२) येसु मृत्युबाट जीवित हुनुभएपछि उहाँले तिनीहरूलाई साक्षीकार्यमा ध्यान केन्द्रित गर्न प्रोत्साहन दिनुभयो। अनि येसु स्वर्ग जानुभएपछि पनि चेलाहरूले जोसका साथ साक्षीकार्यमा भाग लिएकोले तिनीहरूका शत्रुहरूले समेत यसो भने: “हेर, तिमीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसक्यौ।”—प्रेषि. ५:२८.

२. यहोवाले साक्षीकार्यमा कसरी आशिष्‌ दिनुभएको छ?

येसुले प्रथम शताब्दीका ख्रिष्टियनहरूको साक्षीकार्यमा डोऱ्‍याइ दिनुभयो अनि यहोवाको आशिष्‌ले गर्दा चेलाहरूको सङ्‌ख्या बढ्‌दै गयो। उदाहरणको लागि, इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिनमा लगभग तीन हजार जनाले बप्तिस्मा गरे। (प्रेषि. २:४१) त्यसपछि चेलाहरूको सङ्‌ख्या झन्‌झन्‌ बढ्‌दै गयो। (प्रेषि. ६:७) तर अन्तको दिनमा साक्षीकार्य अझ व्यापक रूपमा गरिनेछ भनेर येसुले भविष्यवाणी गर्नुभयो।—युह. १४:१२; प्रेषि. १:८.

३-४. कसै-कसैलाई साक्षीकार्यमा भाग लिन किन चुनौतीपूर्ण लाग्न सक्छ र यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामी सबै जना साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण कायम राख्न प्रयास गर्छौँ। केही देशहरूमा त्यसो गर्न सजिलो छ। किन? किनकि बाइबल अध्ययन गर्न चाहनेहरू यति धेरै छन्‌ कि कसै-कसैले त कुनै साक्षी उपलब्ध नहोउन्जेल अध्ययन गर्न पर्खनुपर्ने हुन्छ। तर अरू देशहरूमा भने प्रकाशकहरूलाई साक्षीकार्यमा भाग लिन चुनौतीपूर्ण छ। मानिसहरू प्रायः घरमा हुँदैनन्‌ अनि घरमै भएकाहरूले पनि बाइबलको सन्देशप्रति खासै चासो देखाउँदैनन्‌।

यदि तपाईँ साक्षीकार्यमा भाग लिन चुनौतीपूर्ण इलाकामा बस्नुहुन्छ भने यस लेखमा छलफल गरिने सुझावहरूले तपाईँलाई पक्कै मदत गर्नेछ। अझ धेरै मानिसहरूलाई सुसमाचार सुनाउन केहीले के गरेका छन्‌, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ। मानिसहरूले हाम्रो सन्देशप्रति जस्तोसुकै प्रतिक्रिया देखाए पनि हामी किन सकारात्मक मनोवृत्ति कायम राख्न सक्छौँ, त्यसबारे पनि छलफल गर्नेछौँ।

मानिसहरू भेट्‌न गाह्रो छ भने पनि सकारात्मक मनोवृत्ति राख्नुहोस्‌

५. थुप्रै साक्षीहरूले कस्ता चुनौतीहरूको सामना गरिरहेका छन्‌?

मानिसहरूलाई घरमा भेट्‌न पहिलाभन्दा झन्‌झनै गाह्रो हुँदै छ। केही प्रकाशकहरू कडा सुरक्षा-व्यवस्था भएका अपार्टमेन्ट र हाउजिङहरू भएको इलाकामा बसोबास गर्छन्‌। त्यस्ता भवनहरूमा सुरक्षा गार्डहरूले घरधनीको अनुमतिविना भित्र छिर्न दिँदैनन्‌। अन्य ठाउँहरूमा भने प्रकाशकहरू घरघरमै गएर प्रचार गर्न सक्छन्‌ तर घरमा खासै मानिसहरू भेटिँदैनन्‌। अरू प्रकाशकहरूचाहिँ थोरै मानिसहरू मात्र बसोबास गर्ने विकट इलाकामा सेवा गर्छन्‌। ती प्रकाशकहरू एक जनालाई भेट्टाउन पनि घण्टौँ यात्रा गर्छन्‌ र कुनै-कुनै अवस्थामा त घरधनी घरमै नहुन पनि सक्छ। यस्ता चुनौतीहरूको सामना गर्दै छौँ भने हामीले हार मान्‍नु हुँदैन। यस्ता अवरोधहरूलाई जित्न र साक्षीकार्यमा फलदायी हुन हामी के गर्न सक्छौँ?

६. प्रचारकहरू कुन अर्थमा जलारीजस्तै हुन्‌?

येसुले साक्षीकार्यलाई जलारीले गर्ने कामसित तुलना गर्नुभयो। (मर्कु. १:१७) केही जलारीहरूले कैयौँ दिनसम्म एउटै माछा पनि पक्रन सक्दैनन्‌। तर तिनीहरू हार मान्दैनन्‌ बरु केही छाँटकाँट गर्छन्‌। तिनीहरू माछा मार्ने समय, ठाउँ वा तरिका परिवर्तन गर्छन्‌। साक्षीकार्यलाई फलदायी बनाउन हामी पनि त्यस्तै छाँटकाँट गर्न सक्छौँ। आउनुहोस्‌, केही सुझावहरू छलफल गरौँ।

घरमा नभेटिने मानिसहरूलाई साक्षी दिन फरक समयमा वा फरक ठाउँमा जानुहोस्‌ अथवा फरक तरिका अपनाउनुहोस्‌ (अनुच्छेद ७-१० हेर्नुहोस्‌) *

७. मानिसहरूलाई फरक-फरक समयमा भेट्‌न जाँदा नतिजा कस्तो हुन सक्छ?

मानिसहरूलाई फरक समयमा भेट्‌ने कोसिस गर्नुहोस्‌। मानिसहरू घरमै हुने समयमा प्रचारमा गयौँ भने धेरैलाई भेट्‌न सक्नेछौँ। किनकि मानिसहरू जहाँसुकै गए पनि आखिरमा फर्कने त घरमै हो! हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनीले दिउँसो वा साँझको समयमा प्रचारमा जानु व्यावहारिक पाएका छन्‌ किनकि त्यो समयमा तिनीहरूले धेरै मानिसलाई घरमै भेट्‌न सकेका छन्‌। साथै त्यो समयमा घरधनीहरू फुर्सतमै भएकोले हाम्रो कुरा सुन्‍न तयार हुन्छन्‌। अथवा डेभिड नाम गरेका एल्डरले दिएको सुझाव पनि सायद तपाईँको लागि मदतकारी हुनेछ। इलाकामा केही समय प्रचार गरिसकेपछि तिनी र तिनीसँगै गएको साथी सुरुमा मान्छे नभेटेको घरमा फेरि फर्कन्छन्‌। तिनी यसो भन्छन्‌: “सुरुमा मान्छे नभेटेको घरमा फेरि फर्केर जाँदा हामीले थुप्रै घरधनीलाई भेटेका छौँ।” *

घरमा नभेटिने मानिसहरूलाई साक्षी दिन फरक समयमा जानुहोस्‌ (अनुच्छेद ७-८ हेर्नुहोस्‌)

८. हामी साक्षीकार्यमा उपदेशक ११:६ कसरी लागू गर्न सक्छौँ?

हामीले हार मान्‍नु हुँदैन। यस लेखको मूल शास्त्रपदले हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ भनेर बताउँछ। (उपदेशक ११:६ पढ्‌नुहोस्‌।) अगाडि उल्लेख गरिएका डेभिडले पनि हार मानेनन्‌। एउटा घरमा तिनले पटक-पटकको प्रयासपछि मात्र घरधनीलाई घरमै भेट्‌न सके। ती मानिसलाई बाइबलको कुरामा चासो थियो। तिनले हाम्रो भाइलाई यसो भने: “म यो घरमा बस्न थालेको आठ वर्ष भइसक्यो तर मैले अहिलेसम्म एक जना पनि यहोवाको साक्षीलाई भेटेको छैनँ।” डेभिड भन्छन्‌: “धेरै चोटिको प्रयासपछि कुनै मानिसलाई घरमै भेट्‌दा तिनले बाइबलको सन्देश राम्ररी सुनेको मैले पाएको छु।”

घरमा नभेटिने मानिसहरूलाई साक्षी दिन फरक ठाउँमा जानुहोस्‌ (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. केही प्रकाशकहरूले घरमा भेट्‌न नसकिने मानिसहरूलाई साक्षी दिन के गरेका छन्‌?

मानिसहरूलाई फरक ठाउँमा भेट्‌ने कोसिस गर्नुहोस्‌। केही प्रकाशकहरूले घरमा भेट्‌न नसकिने मानिसहरूलाई अर्कै ठाउँमा भेट्‌ने प्रयास गरेका छन्‌। उदाहरणको लागि, घरघरको साक्षीकार्य गर्न अनुमति नपाएको ठूलठूला अपार्टमेन्टमा बस्ने मानिसहरूलाई भेट्‌न सडक साक्षी र ट्रली साक्षी प्रभावकारी साबित भएको छ। साक्षीकार्यका यस्ता पक्षहरूले गर्दा ती मानिसहरूसित भेटेरै कुराकानी गर्न सम्भव भएको छ। साथै थुप्रै प्रकाशकले पार्क, बजार र व्यापारिक क्षेत्रहरूमा मानिसहरू हाम्रो कुरा सुन्‍न वा हाम्रो साहित्य स्विकार्न इच्छुक भएको पाएका छन्‌। बोलिभियाका एक क्षेत्रीय निरीक्षक फ्लोरान यसो भन्छन्‌: “हामी बजार र व्यापारिक क्षेत्रहरूमा दिउँसो १ बजेदेखि ३ बजेभित्र जाने गर्छौँ किनकि त्यतिबेला व्यापारीहरू त्यति व्यस्त हुँदैनन्‌। त्यो समयमा जाँदा हामीले व्यापारीहरूसित राम्ररी कुरा गर्न सकेका छौँ र बाइबल अध्ययनसमेत सुरु भएको छ।”

घरमा नभेटिने मानिसहरूलाई साक्षी दिन फरक तरिका अपनाउनुहोस्‌ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. मानिसहरूलाई भेट्‌न तपाईँ के-कस्ता तरिका अपनाउन सक्नुहुन्छ?

१० फरक तरिका अपनाउनुहोस्‌। मानौँ, तपाईँले कुनै मानिसलाई भेटेरै कुराकानी गर्न थुप्रै चोटि प्रयास गर्नुभयो। तपाईँ तिनलाई भेट्‌न अर्कै समयमा जानुभयो तर अझै पनि तपाईँले तिनलाई घरमा भेट्‌न सक्नुभएन। त्यस्तो व्यक्‍तिलाई भेट्‌ने के अरू कुनै तरिका छ? केट्रिना यसो भन्छिन्‌: “जति प्रयास गरे पनि घरमै भेट्‌न नसकेका मानिसहरूलाई म पत्र पठाउने गर्छु अनि आफूले बताउन चाहेको कुरा पत्रमै लेख्ने गर्छु।” हामी के सिक्न सक्छौँ? हामीले आफ्नो इलाकामा भएका सबैलाई भेटेरै साक्षी दिन फरक-फरक तरिका अपनाउनुपर्छ।

मानिसहरूले चासो नदेखाउँदा सकारात्मक मनोवृत्ति राख्नुहोस्‌

११. केही मानिसहरू हाम्रो सन्देशमा किन चासो देखाउँदैनन्‌?

११ केही मानिसहरू हाम्रो सन्देशमा चासो देखाउँदैनन्‌। तिनीहरूलाई परमेश्‍वर वा बाइबलबारे थाह पाउनु आवश्‍यक छ जस्तो लाग्दैन। मानिसहरूले यतिबिघ्न दुःखकष्ट भोगिरहेकोले तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्‌। बाइबलअनुसार जीवन बिताइरहेको दाबी गर्ने धर्मगुरुहरूको कपट देखेकोले पनि तिनीहरू बाइबललाई तिरस्कार गर्छन्‌। अरू भने आफ्नो जागिर, परिवार वा व्यक्‍तिगत समस्याहरूबारे मात्र सोच्ने गर्छन्‌ र बाइबलले तिनीहरूलाई कसरी मदत गर्न सक्छ भन्‍ने कुरा बुझ्नै खोज्दैनन्‌। मानिसहरूले हाम्रो सन्देशको मोल नगरे पनि हामी आफ्नो आनन्द कसरी कायम राख्न सक्छौँ?

१२. साक्षीकार्यमा फिलिप्पी २:४ लागू गर्दा नतिजा कस्तो हुन सक्छ?

१२ व्यक्‍तिगत चासो देखाउनुहोस्‌। सुरुमा धेरैले हाम्रो सन्देश सुनेनन्‌ भने पनि हामीले तिनीहरूप्रति निष्कपट चासो देखायौँ भने तिनीहरूले सुसमाचार स्विकार्न सक्छन्‌। (फिलिप्पी २:४ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, अगाडि उल्लेख गरिएका डेभिड यसो भन्छन्‌: “कसैले मलाई चासो छैन भन्दा हामी बाइबलको कुनै पद देखाउन वा प्रकाशन दिन हतार गर्दैनौँ बरु ‘तपाईँलाई चासो नहुनुको केही कारण छ कि?’ भनेर सोध्छौँ।” कसैले आफूप्रति चासो देखाउँदा मानिसहरूले त्यो महसुस गरिहाल्छन्‌। तिनीहरूले हामीले भनेको कुरा नसम्झे पनि हामीले तिनीहरूसित गरेको व्यवहार भने सम्झिरहन सक्छन्‌। घरधनीले हामीलाई बोल्नै नदिए पनि हामी आफ्नो व्यवहार र अनुहारको हाउभाउबाट तिनीप्रति निष्कपट चासो राखेको देखाउन सक्छौँ।

१३. घरधनीको आवश्‍यकताअनुसार हामी आफ्नो सन्देशमा कसरी छाँटकाँट गर्न सक्छौँ?

१३ घरधनीको आवश्‍यकता र चासोअनुसार आफ्नो सन्देशमा छाँटकाँट गरेर हामी व्यक्‍तिगत चासो देखाउँछौँ। उदाहरणको लागि, घरमा बालबच्चा छन्‌ भन्‍ने केही सङ्‌केत देखिन्छ कि? त्यसो हो भने घरधनीलाई छोराछोरी कसरी हुर्काउने वा पारिवारिक जीवन कसरी सुखी बनाउने भन्‍नेबारे बाइबलले दिने सुझावहरूमा चासो लाग्न सक्छ। अथवा ढोकामा धेरै ताल्चाहरू देख्नुहुन्छ कि? त्यसो हो भने हामी संसारमा व्याप्त अपराध र डरत्रासबारे कुरा गर्ने विचार गर्न सक्छौँ। अपराधै नहुने समय आउनेछ भनेर थाह पाउँदा घरधनीलाई हाम्रो सन्देशप्रति चासो लाग्न सक्छ। हाम्रो कुरा सुन्‍न चाहने मानिसहरू भेट्‌दा बाइबलको सल्लाहले तिनीहरूलाई कसरी मदत गर्छ भनेर बुझाउने प्रयास गर्नुहोस्‌। अगाडि उल्लेख गरिएकी केट्रिना यसो भन्छिन्‌: “सत्यले मेरो जीवनमा कस्तो प्रभाव पाऱ्‍यो भन्‍ने कुरा म सधैँ सम्झिरहने प्रयास गर्छु।” यसो गर्दा केट्रिनाले मानिसहरूलाई आफ्नो विश्‍वासबारे निर्धक्क भएर बताउन सकेकी छिन्‌ र तिनको सन्देश सुन्‍ने मानिसहरूले पनि यो कुरा महसुस गरेका छन्‌।

१४. हितोपदेश २७:१७ अनुसार साक्षीकार्यमा भाग लिँदा हामी एकअर्कालाई कसरी मदत गर्न सक्छौँ?

१४ अरूको मदत लिनुहोस्‌। प्रथम शताब्दीमा पावलले तिमोथिलाई साक्षी दिने र सिकाउने विभिन्‍न तरिकाबारे सिकाए अनि ती तरिकाहरू अरूलाई पनि सिकाउन प्रोत्साहन दिए। (१ कोरि. ४:१७) तिमोथिले जस्तै हामीले पनि मण्डलीका अनुभवी प्रकाशकहरूबाट धेरै कुरा सिक्न सक्छौँ। (हितोपदेश २७:१७ पढ्‌नुहोस्‌।) सन नाम गरेका एक जना भाइको उदाहरण विचार गरौँ। तिनले केही समय एउटा विकट इलाकामा अग्रगामी सेवा गरे। त्यहाँका प्रायजसो मानिसहरू आफ्नै धर्ममा सन्तुष्ट थिए। तिनले आफ्नो आनन्द कसरी कायम राखे? तिनी भन्छन्‌: “सम्भव भएसम्म म साक्षीकार्यमा साथी लिएर जाने गर्थेँ। एउटा घरबाट अर्को घरतर्फ जाँदै गर्दा हामी एकअर्कालाई आफ्नो शिक्षणकला अझ तिखार्न मदत गर्थ्यौँ। उदाहरणको लागि, हामीले भर्खरै भेटेको घरधनीसित कसरी कुराकानी गऱ्‍यौँ भनेर छलफल गर्ने गर्थ्यौँ। त्यसपछि त्यस्तै घरधनी भेट्यौँ भने कसरी अझै राम्रोसित कुराकानी गर्न सकिन्छ भनेर सँगै विचार गर्थ्यौँ।”

१५. प्रार्थनाले साक्षीकार्यमा कस्तो भूमिका खेल्छ?

१५ मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। हरेक चोटि साक्षीकार्यमा भाग लिँदा डोऱ्‍याइको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। पवित्र शक्‍तिको मदत नपाउने हो भने हामी कुनै पनि काममा सफल हुन सक्दैनौँ। (भज. १२७:१; लुका ११:१३) यहोवालाई तोकेरै प्रार्थना गर्नुहोस्‌। उदाहरणको लागि, उचित मनसाय भएको र बाइबलको सन्देश सुन्‍न चाहने व्यक्‍ति भेट्टाउन सकूँ भनेर यहोवालाई बिन्ती गर्नुहोस्‌। त्यसपछि आफूले भेटेको सबैलाई सुसमाचार सुनाएर प्रार्थनाअनुरूप काम पनि गर्नुहोस्‌।

१६. साक्षीकार्यमा प्रभावकारी हुन हामीले किन व्यक्‍तिगत अध्ययन गर्नुपर्छ?

१६ व्यक्‍तिगत अध्ययनको लागि समय निकाल्नुहोस्‌। परमेश्‍वरको वचन यसो भन्छ: “तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन” सक। (रोमी १२:२) आफूले परमेश्‍वरबारे सत्य कुरा थाह पाएको छु भन्‍ने कुरामा हामी आफै विश्‍वस्त छौँ भने अरूलाई पनि त्यसबारे त्यसरी नै विश्‍वस्त भएर बताउन सक्नेछौँ। अगाडि उल्लेख गरिएकी केट्रिना यसो भन्छिन्‌: “केही समयअगाडि मैले बाइबलका आधारभूत शिक्षाहरूमाथिको आफ्नो विश्‍वास अझ बलियो बनाउनुपर्ने आवश्‍यकता महसुस गरेँ। त्यसैले मैले सृष्टिकर्ता हुनुहुन्छ, बाइबल परमेश्‍वरको वचन हो अनि आज पनि पृथ्वीमा परमेश्‍वरको एउटा सङ्‌गठन छ भन्‍ने कुराका प्रमाणहरू अझ राम्ररी केलाएँ।” व्यक्‍तिगत अध्ययन गर्दा आफ्नो विश्‍वास अझ बलियो भएको र साक्षीकार्यमा अझ रमाउन सकेको कुरा केट्रिना बताउँछिन्‌।

साक्षीकार्यप्रति हामी किन सकारात्मक दृष्टिकोण राख्छौँ?

१७. येसुले साक्षीकार्यप्रति किन सकारात्मक दृष्टिकोण कायम राख्नुभयो?

१७ केही मानिसहरूले उहाँको सन्देशमा चासो नदेखाए तापनि येसुले सकारात्मक मनोवृत्ति कायम राख्नुभयो र साक्षीकार्यमा लागिरहनुभयो। किन? मानिसहरूले सत्य थाह पाउनु कत्ति आवश्‍यक छ भनेर येसुलाई थाह थियो र उहाँ धेरैभन्दा धेरै मानिसलाई राज्यको सन्देश सुन्‍ने मौका दिन चाहनुहुन्थ्यो। पहिला चासो नदेखाएका केहीले पछि राज्यको सन्देश स्विकार्नेछन्‌ भनेर पनि उहाँलाई थाह थियो। येसुको आफ्नै परिवारबारे पनि विचार गर्नुहोस्‌। उहाँको साढे तीन वर्ष लामो सेवाको दौडान उहाँका भाइहरू उहाँको चेला भएनन्‌। (युह. ७:५) तर उहाँ मृत्युबाट जीवित हुनुभएपछि भने तिनीहरू ख्रिष्टियन बने।—प्रेषि. १:१४.

१८. हामी किन साक्षीकार्यमा लागिरहन्छौँ?

१८ को यहोवाको सेवक बन्छ, को बन्दैन भन्‍ने कुरा हामीलाई सुरुमै थाह हुँदैन। सत्य सिक्न कसै-कसैलाई लामो समय लाग्न सक्छ। हाम्रो कुरा सुन्‍न नचाहेका मानिसहरूले पनि हाम्रो असल आचरण र सकारात्मक मनोवृत्ति याद गर्न सक्छन्‌ अनि पछि गएर परमेश्‍वरको “महिमा” गर्न सक्छन्‌।—१ पत्रु. २:१२.

१९. पहिलो कोरिन्थी ३:६, ७ अनुसार हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१९ रोप्ने र पानी हाल्ने काम हामीले गरे पनि त्यसलाई हुर्काउने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा हामीले स्विकार्नै पर्छ। (१ कोरिन्थी ३:६, ७ पढ्‌नुहोस्‌।) इथियोपियाका गाटोहुन नाम गरेका एक भाइ यसो भन्छन्‌: “म बस्ने ठाउँमा २० वर्षभन्दा लामो समयसम्म म एक जना मात्र यहोवाको साक्षी थिएँ तर अहिले यहाँ १४ जना प्रकाशक छन्‌। तीमध्ये १३ जनाले बप्तिस्मा गरिसके, जसमा मेरी श्रीमती र तीन जना छोराछोरी पनि पर्छन्‌। अहिले हाम्रो सभामा औसतमा ३२ जना उपस्थित हुन्छन्‌।” यहोवाले नम्र हृदय भएकाहरूलाई आफ्नो सङ्‌गठनतर्फ खिच्नुहुन्छ भन्‍ने कुरा मनमा राख्दै धैर्य गरेर साक्षीकार्यमा लागिरहेकोमा गाटोहुन अहिले निकै खुसी छन्‌।—युह. ६:४४.

२०. हामी कुन अर्थमा उद्धार टोलीजस्तै हौँ?

२० यहोवा सबै मानिसको जीवनलाई अमूल्य ठान्‍नुहुन्छ। उहाँले हामीलाई उहाँको छोरासँगै मिलेर यस संसारको अन्त हुनुअघि नै सबै जातिका मानिसहरूलाई जम्मा गर्ने काममा भाग लिने सुअवसर दिनुभएको छ। (हाग्गै २:७) हाम्रो साक्षीकार्यलाई उद्धारकार्यसित तुलना गर्न सकिन्छ। अनि हामी पहिरोमा पुरिएका मानिसहरूलाई उद्धार गर्न खटाइएको उद्धार टोलीको सदस्यजस्तै हौँ। हुनत पहिरोमा पुरिएकाहरूमध्ये थोरैलाई मात्र बचाउन सकिएला तर उद्धार टोलीका सबैले गरेको प्रयास सराहनीय छ। हाम्रो साक्षीकार्य पनि त्यस्तै हो। सैतानको यस संसारबाट कति जना मानिसले उद्धार पाउनेछन्‌, त्यो त हामीलाई थाह छैन तर तिनीहरूलाई मदत गर्न यहोवा हामीमध्ये जो-कोहीलाई पनि चलाउन सक्नुहुन्छ। बोलिभियामा बस्ने आन्ड्रेस यसो भन्छन्‌: “कसैले बाइबलको सत्य सिकेर बप्तिस्मा गर्छ भने त्यो हामी सबैको सामूहिक प्रयासले सम्भव भएको हो।” हामी पनि साक्षीकार्यप्रति त्यस्तै सकारात्मक मनोवृत्ति कायम राखौँ। यसो गऱ्‍यौँ भने यहोवाले हामीलाई आशिष्‌ दिनुहुनेछ र हामीले साक्षीकार्यबाट साँचो आनन्द पाउन सक्नेछौँ।

गीत ६६ सुसमाचार घोषणा गरौँ!

^ अनु. 5 मानिसहरूलाई घरमा नभेट्‌दा वा थुप्रैले हाम्रो सन्देश नसुन्दा हामी साक्षीकार्यप्रति कसरी सकारात्मक दृष्टिकोण कायम राख्न सक्छौँ? यस लेखमा हामीलाई सकारात्मक दृष्टिकोण कायम राख्न मदत गर्ने केही सुझावहरू छलफल गर्नेछौँ।

^ अनु. 7 प्रकाशकहरूले यस लेखमा छलफल गरिएका साक्षीकार्यका विभिन्‍न पक्षहरूमा भाग लिँदा आफ्नो देशमा लागू हुने जानकारीको सुरक्षासम्बन्धी नियमकानुन पालन गर्नुपर्छ।

^ अनु. 60 तस्बिरको व्याख्या (माथिदेखि तल): एक दम्पती मानिसहरू घरमा त्यति नभेटिने इलाकामा साक्षी दिँदै छन्‌। पहिलो घरधनी आफ्नो काममा छन्‌, दोस्रो घरधनी क्लिनिकमा छिन्‌ अनि तेस्रो घरधनीचाहिँ किनमेल गर्न गएकी छिन्‌। साँझतिर जाँदा तिनीहरूले पहिलो घरधनीलाई घरमै भेट्टाउँछन्‌, दोस्रो घरधनीलाई क्लिनिकनजिकै ट्रली साक्षीमा भेट्टाउँछन्‌ अनि तेस्रो घरधनीलाई चाहिँ टेलिफोन साक्षीमा भेट्टाउँछन्‌।