सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २३

आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌

आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌

“तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” —मत्ति २२:३७.

गीत १३४ छोराछोरी—यहोवाको नासो

परिचय *

१-२. परिस्थिति परिवर्तन हुँदा कुनै-कुनै बाइबल सिद्धान्त हामीलाई किन अझ अर्थपूर्ण लाग्छ?

 सुन्दर पोसाकमा सजिएका दुलहा-दुलही ध्यान दिएर बाइबलआधारित विवाह भाषण सुन्दै छन्‌। भाषणमा बताइएका बाइबल सिद्धान्तहरू तिनीहरूको लागि बिलकुलै नयाँ कुरा त होइन। तर आउँदा दिनहरूमा ती सिद्धान्तहरूले तिनीहरूको लागि ठूलो अर्थ राख्नेछ। किन? किनभने तिनीहरूले विवाहित दम्पतीको रूपमा ती सिद्धान्तहरू लागू गर्नेछन्‌।

आमाबुबा बन्‍न लागेका ख्रिष्टियन दम्पतीबारे पनि यस्तै भन्‍न सकिन्छ। तिनीहरूले छोराछोरी हुर्काउने सन्दर्भमा थुप्रै भाषण सुनेका हुन सक्छन्‌। तर अब भने ती सिद्धान्तहरू तिनीहरूलाई अझ अर्थपूर्ण लाग्नेछ। किन? किनकि तिनीहरू आफै आमाबुबा बन्‍न लागेका छन्‌। कत्ति ठूलो जिम्मेवारी! परिस्थिति परिवर्तन हुँदा पहिलेदेखि सुन्दै आएका चिरपरिचित बाइबल सिद्धान्तहरू हामीलाई अझ अर्थपूर्ण लाग्छ। यहोवाका उपासकहरूले दिनदिनै बाइबल पढ्‌नुपर्ने र इस्राएलका राजाहरूले जस्तै “जीवनभर” त्यसमा मनन गर्नुपर्ने एउटा कारण यही हो।—व्यव. १७:१९.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

आमाबुबा हो, तपाईँहरूले ख्रिष्टियनहरूले पाउन सक्ने सबैभन्दा ठूलो सुअवसरहरूमध्ये एउटा पाउनुभएको छ। त्यो हो, छोराछोरीलाई यहोवाबारे सिकाउने। तर तपाईँ छोराछोरीलाई यहोवा को हुनुहुन्छ, उहाँ कस्तो हुनुहुन्छ भन्‍ने ज्ञान मात्र दिन चाहनुहुन्‍न। बरु उहाँलाई मनैदेखि प्रेम गर्न सिकाउन चाहनुहुन्छ। तपाईँ छोराछोरीलाई कसरी यहोवालाई प्रेम गर्न सिकाउन सक्नुहुन्छ? यस लेखमा तपाईँ आमाबुबालाई मदत गर्ने चार वटा बाइबल सिद्धान्त छलफल गर्नेछौँ। (२ तिमो. ३:१६) साथै बाइबलको सल्लाह लागू गर्दा केही आमाबुबाले कस्ता लाभ उठाएका छन्‌, त्यो पनि विचार गर्नेछौँ।

आमाबुबालाई मदत गर्ने चार वटा सिद्धान्त

तपाईँ सधैँ यहोवाको डोऱ्‍याइ खोज्नुहुन्छ र असल उदाहरण बसाल्नुहुन्छ भने छोराछोरीमा कस्तो प्रभाव पर्छ? (अनुच्छेद ४, ८ हेर्नुहोस्‌)

४. छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउने सन्दर्भमा आमाबुबालाई कुन सिद्धान्तले मदत गर्छ? (याकुब १:५)

सिद्धान्त १: यहोवाको डोऱ्‍याइ खोज्नुहोस्‌। छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउन बुद्धि दिनुहोस्‌ भनेर प्रार्थना गर्नुहोस्‌। (याकुब १:५ पढ्‌नुहोस्‌।) सल्लाह दिने सन्दर्भमा यहोवा सबैभन्दा योग्य व्यक्‍ति हुनुहुन्छ। यसो भन्‍न सक्नुका थुप्रै कारणमध्ये दुइटा विचार गरौँ। पहिलो, यहोवा जीवनको मूल हुनुभएकोले छोराछोरी हुर्काउने सन्दर्भमा उहाँलाई जतिको राम्ररी अरू कसैलाई थाह छैन। (भज. ३६:९) दोस्रो, उहाँको बुद्धिमानी सल्लाह पालन गर्दा सधैँ हाम्रै भलाइ हुन्छ।—यसै. ४८:१७.

५. (क) यहोवाको सङ्‌गठनले आमाबुबालाई मदत गर्न कस्तो प्रबन्ध गरेको छ? (ख) फुटनोटमा उल्लेख गरिएको भिडियोमा भाइ र बहिनी आमोरिमले आफ्ना छोराछोरीलाई हुर्काएको तरिकाबाट तपाईँले के सिक्नुभयो?

यहोवाले आफ्नो वचन र सङ्‌गठनमार्फत छोराछोरी हुर्काउने सन्दर्भमा प्रशस्तै आध्यात्मिक भोजन दिनुभएको छ। (मत्ति २४:४५) उदाहरणको लागि, ब्यूँझनुहोस्‌! पत्रिकामा प्रकाशित र अहिले हाम्रो वेबसाइटमा उपलब्ध “परिवारका लागि” भन्‍ने शृङ्‌खलाबद्ध लेखमा थुप्रै व्यावहारिक सल्लाह पाउन सकिन्छ। साथै jw.org मा उपलब्ध थुप्रै अन्तर्वार्ता र अभिनय गरिएका भिडियोहरूले छोराछोरी हुर्काउने सन्दर्भमा यहोवाले दिनुभएको सल्लाह लागू गर्न आमाबुबालाई मदत गर्छ। *हितो. २:४-६.

६. यहोवाको सङ्‌गठनले दिएको डोऱ्‍याइबाट एक जना बुबाले कस्तो लाभ उठाएका छन्‌?

यहोवाले आफ्नो सङ्‌गठनमार्फत दिनुभएको मदतको लागि थुप्रै आमाबुबाले कृतज्ञता व्यक्‍त गरेका छन्‌। जो नाम गरेका बुबा यसो भन्छन्‌: “तीन-तीन जना छोराछोरी सत्यमा हुर्काउनु सजिलो छैन। म र मेरी श्रीमती मदतको लागि सधैँ यहोवालाई प्रार्थना गर्छौँ। कुनै-कुनै लेख अनि भिडियो हामीलाई चाहिएकै समयमा आएको हामीले थुप्रै चोटि महसुस गरेका छौँ। हामी सधैँ यहोवाको डोऱ्‍याइ खोज्छौँ।” यस्ता लेख तथा भिडियोहरूले छोराछोरीलाई यहोवासित घनिष्ठ हुन मदत गरेको जो र तिनकी श्रीमतीले अनुभव गरेका छन्‌।

७. आमाबुबाले छोराछोरीको लागि राम्रो उदाहरण बसाल्नु किन महत्त्वपूर्ण छ? (रोमी २:२१)

सिद्धान्त २: आफ्नो उदाहरणद्वारा सिकाउनुहोस्‌। छोराछोरीले आफ्ना आमाबुबालाई नजिकबाट नियाल्छन्‌ र उनीहरूको नकल गर्छन्‌। हुनत आमाबुबा त्रुटिपूर्ण छन्‌। (रोमी ३:२३) तैपनि बुद्धिमान्‌ आमाबुबाहरू छोराछोरीको लागि राम्रो उदाहरण बसाल्न सक्दो कोसिस गर्छन्‌। (रोमी २:२१ पढ्‌नुहोस्‌।) छोराछोरीको विषयमा एक जना बुबाले यसो भने: “तिनीहरूले स्पन्जले जस्तै आफू वरपरको सबै कुरा सोस्छन्‌। यदि हामी मुखले एउटा कुरा सिकाउँछौँ र काममा अर्कै कुरा गर्छौँ भने त्यो कुरा तिनीहरूले याद गरिहाल्छन्‌।” त्यसैले छोराछोरीले यहोवालाई प्रेम गरेको चाहन्छौँ भने सुरुमा यहोवाप्रतिको हाम्रो आफ्नै प्रेम बलियो हुनुपर्छ र त्यो कुरा आफ्नो बोली र कामबाट देखाउनुपर्छ।

८-९. एन्ड्रु र एमाको भनाइबाट तपाईँले के सिक्नुभयो?

आमाबुबाले छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउने थुप्रै तरिका छन्‌। सत्र वर्षका एन्ड्रु यसो भन्छन्‌: “मेरो आमाबुबाले प्रार्थना गर्नु धेरै महत्त्वपूर्ण छ भनेर सधैँ सिकाउनुहुन्थ्यो। मैले सुत्नुअघि प्रार्थना गरिसकेको भए तापनि बुबाले फेरि मसँगै प्रार्थना गर्नुहुन्थ्यो। आमाबुबाले हामीलाई ‘तिमीहरू यहोवासित जतिबेला पनि कुरा गर्न सक्छौ’ भनेर सम्झाउनुहुन्थ्यो। यो कुराले ममा गहिरो छाप पाऱ्‍यो र अहिले यहोवासित कुराकानी गर्न धेरै सजिलो लाग्छ। मैले उहाँलाई मायालु बुबाको रूपमा हेर्न सिकेको छु।” तपाईँ यहोवालाई प्रेम गर्नुहुन्छ भने छोराछोरीले पनि यहोवालाई प्रेम गर्न सिक्न सक्छन्‌ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌।

एमाको उदाहरण पनि विचार गरौँ। तिनको बुबाले परिवारलाई छोडेर जाँदा बुबाले लिएको ठूलो ऋणको भार तिनकी आमाले बोक्नुपऱ्‍यो। एमा भन्छिन्‌: “आमा हामीलाई आर्थिक रूपमा धेरै गाह्रो हुँदा पनि यहोवाले आफ्ना सेवकहरूको कसरी ख्याल राख्नुहुन्छ भनेर बताउनुहुन्थ्यो। यो कुरामा उहाँ साँच्चै विश्‍वास गर्नुहुन्थ्यो भन्‍ने कुरा उहाँको जीवनशैलीबाट स्पष्टै देखिन्थ्यो। आमाले जे सिकाउनुहुन्थ्यो, त्यो आफैले पनि गर्नुहुन्थ्यो।” हाम्रो लागि पाठ? गाह्रो अवस्थामा समेत आमाबुबाले आफ्नो उदाहरणद्वारा सिकाउन सक्छन्‌।—गला. ६:९.

१०. इस्राएली आमाबुबाले छोराछोरीसित कस्तो बेला कुराकानी गर्ने मौका पाउँथे? (व्यवस्था ६:६, ७)

१० सिद्धान्त ३: छोराछोरीसित नियमित रूपमा कुराकानी गर्नुहोस्‌। यहोवाले पुरातन समयका इस्राएलीहरूलाई छोराछोरीलाई नियमित रूपमा उहाँबारे सिकाउन निर्देशन दिनुभएको थियो। (व्यवस्था ६:६, ७ पढ्‌नुहोस्‌।) ती आमाबुबाहरूले छोराछोरीसित कुराकानी गर्ने र तिनीहरूलाई यहोवालाई प्रेम गर्न सिकाउने थुप्रै मौका पाउँथे। उदाहरणको लागि, एक जना इस्राएली केटोले बाली लगाउन वा बाली भित्र्याउन मदत गर्दा बुबासँग घण्टौँ समय बिताउन सक्थे। तिनकी बहिनीले पनि सिलाइ-बुनाइ र घरायसी काममा सघाउँदा आमासँगै समय बिताउन सक्थिन्‌। यसरी सँगै मिलेर काम गर्दा तिनीहरूले थुप्रै महत्त्वपूर्ण विषयमा कुराकानी गर्ने मौका पाउँथे। जस्तै, तिनीहरूले यहोवाको भलाइबारे र उहाँले तिनीहरूको परिवारलाई कसरी मदत गर्दै हुनुहुन्छ भन्‍नेबारे कुराकानी गर्न सक्थे।

११. आमाबुबाले छोराछोरीसित कुराकानी गर्ने एउटा राम्रो समय कुन हो?

११ तर अहिले परिस्थिति परिवर्तन भएको छ। थुप्रै देशमा छोराछोरी र आमाबुबाले सँगै समय बिताउने त्यति मौका पाउँदैनन्‌। आमाबुबा दिनभरि काममा व्यस्त हुन्छन्‌ भने छोराछोरी स्कुलमा हुन्छन्‌। त्यसैले छोराछोरीसित कुराकानी गर्न आमाबुबाले समय निकाल्नै पर्छ। (एफि. ५:१५, १६; फिलि. १:१०) यसो गर्ने एउटा राम्रो समय पारिवारिक उपासना हो। जवान भाइ अलेक्जेन्डर यसो भन्छन्‌: “बुबा सधैँ हामीसित पारिवारिक उपासना गर्नुहुन्छ अनि कुनै पनि कुराले पारिवारिक उपासना छुट्‌न दिनुहुन्‍न। हामी उपासना सकेपछि पनि विभिन्‍न विषयमा कुराकानी गर्छौँ।”

१२. परिवारको शिरले पारिवारिक उपासनालाई कस्तो मौकाको रूपमा हेर्नुपर्छ?

१२ तपाईँ परिवारको शिर हुनुहुन्छ भने पारिवारिक उपासनालाई रमाइलो बनाउन के गर्न सक्नुहुन्छ? छोराछोरीसित भर्खरै प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबबाट अध्ययन गर्नुभए कसो होला? यस अध्ययनले तपाईँलाई छोराछोरीसित दोहोरो कुराकानी गर्न राम्रो मौका दिनेछ। छोराछोरीले आफ्नो भावना अनि चिन्ताको कुरा खुलस्त रूपमा बताएको तपाईँ चाहनुहुन्छ। त्यसैले पारिवारिक उपासनालाई भाषण छाँट्‌ने वा गाली गर्ने मौकाको रूपमा नहेर्नुहोस्‌। छोराछोरीले बाइबलको सिद्धान्तसित नमिल्ने विचार व्यक्‍त गर्दा तुरुन्तै नरिसाउनुहोस्‌। बरु इमानदार भएर आफ्नो भावना व्यक्‍त गरेकोमा खुसी हुनुहोस्‌ र तिनीहरूलाई नहिचकिचाई आफ्नो कुरा बताउन प्रोत्साहन दिनुहोस्‌। तपाईँले तिनीहरूको भावना बुझ्नुभयो भने मात्र तिनीहरूलाई सबैभन्दा राम्रो तरिकामा मदत गर्न सक्नुहुन्छ।

सृष्टिका कुराहरू देखाउँदै आमाबुबाले छोराछोरीलाई कसरी यहोवाका गुणहरूबारे सिकाउन सक्छन्‌? (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. आमाबुबाले छोराछोरीलाई यहोवासित घनिष्ठ हुन अरू कस्ता मौकाहरूमा मदत गर्न सक्छन्‌?

१३ आमाबुबा हो, मौका मिल्नेबित्तिकै छोराछोरीलाई यहोवासित घनिष्ठ हुन मदत गर्नुहोस्‌। तिनीहरूलाई मायालु परमेश्‍वरबारे सिकाउन बाइबल अध्ययन गर्ने समय नै पर्खनुपर्छ भन्‍ने छैन। लिसा नाम गरेकी आमा यसो भन्छिन्‌: “हामी छोराछोरीलाई सृष्टिका कुराहरू देखाएर यहोवाबारे सिकाउँथ्यौँ। जस्तै, हाम्रो कुकुरले उनीहरूलाई हँसाउने केही कुरा गर्दा हाम्रो सृष्टिकर्ता पनि हामीजस्तै हँसीमजाक गर्न मन पराउनुहुन्छ अनि हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ भनेर बताउँथ्यौँ।”

आमाबुबा हो, के तपाईँ आफ्ना छोराछोरीका साथीहरू चिन्‍नुहुन्छ? (अनुच्छेद १४ हेर्नुहोस्‌) *

१४. आमाबुबाले छोराछोरीलाई असल साथीहरू बनाउन मदत गर्नु किन महत्त्वपूर्ण छ? (हितोपदेश १३:२०)

१४ सिद्धान्त ४: छोराछोरीलाई असल साथीहरू बनाउन मदत गर्नुहोस्‌। साथीहरूले हामीमा राम्रो अथवा नराम्रो प्रभाव पार्न सक्छ भनी बाइबल बताउँछ। (हितोपदेश १३:२० पढ्‌नुहोस्‌।) आमाबुबा हो, के तपाईँ आफ्ना छोराछोरीका साथीहरू चिन्‍नुहुन्छ? तपाईँले तिनीहरूलाई भेट्‌नुभएको छ? तिनीहरूसित समय बिताउनुभएको छ? छोराछोरीलाई यहोवालाई प्रेम गर्ने साथीहरू बनाउन कसरी मदत गर्न सक्नुहुन्छ? (१ कोरि. १५:३३) आध्यात्मिक रूपमा प्रगति गरिरहेका भाइबहिनीलाई सरसङ्‌गत गर्न घरमा बोलाएर तपाईँ छोराछोरीलाई असल साथीहरू बनाउन मदत गर्न सक्नुहुन्छ।—भज. ११९:६३.

१५. आमाबुबाले छोराछोरीलाई असल साथीहरू बनाउन कसरी मदत गर्न सक्छन्‌?

१५ टोनी नाम गरेका एक बुबाको उदाहरण विचार गरौँ। छोराछोरीलाई असल साथीहरू बनाउन तिनी र तिनकी श्रीमतीले के गरे भन्‍ने सन्दर्भमा तिनी यसो भन्छन्‌: “हामी विभिन्‍न उमेर र पृष्ठभूमिका भाइबहिनीलाई घरमा बोलाउँथ्यौँ, सँगै खाना खान्थ्यौँ अनि पारिवारिक उपासना पनि गर्थ्यौँ। यसरी हामीले यहोवा परमेश्‍वरलाई प्रेम गर्ने र आनन्दित भई उहाँको सेवा गर्नेहरूलाई चिन्‍ने मौका पायौँ। हामी क्षेत्रीय निरीक्षक, मिसनरी र अरू भाइबहिनीलाई पनि घरमा बस्न बोलाउँथ्यौँ। उहाँहरूको अनुभव, जोस र आत्मत्यागी मनोभावले छोराछोरीमा गहिरो प्रभाव पाऱ्‍यो र तिनीहरू यहोवासित घनिष्ठ हुन सके।” आमाबुबा हो, छोराछोरीलाई असल साथीहरू बनाउन मदत गरिरहनुहोस्‌।

आशा नमार्नुहोस्‌!

१६. तपाईँको छोरा वा छोरीले यहोवाको सेवा नगर्ने छनौट गऱ्‍यो भने तपाईँले कुन कुरा मनमा राख्नुपर्छ?

१६ तपाईँले जति नै प्रयास गरे तापनि तपाईँको छोरा वा छोरीले यहोवाको सेवा नगर्ने छनौट गऱ्‍यो भने नि? ‘मैले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न सकिनँ’ भनेर नसोच्नुहोस्‌। यहोवाले तपाईँको छोराछोरीलगायत हामी सबैलाई स्वतन्त्र इच्छा दिनुभएकोले उहाँको सेवा गर्ने कि नगर्ने भनेर हामी आफै छनौट गर्न सक्छौँ। यदि तपाईँको छोरा वा छोरीले यहोवालाई त्याग्ने निर्णय गऱ्‍यो भने आशा नमार्नुहोस्‌ किनकि ऊ एक दिन फर्किन पनि सक्छ। हराएको छोराको उदाहरण सम्झनुहोस्‌। (लुका १५:११-१९, २२-२४) त्यो छोराले थुप्रै खराब काम गऱ्‍यो तर अन्तमा ऊ फर्क्यो। कसै-कसैले यसो भन्लान्‌: “त्यो त एउटा कथा मात्र हो नि! यस्तो कहाँ साँच्चै हुन्छ र?” तर यो साँच्चै हुन सक्छ। यो कुरा जवान भाइ एलीको अनुभवबाट थाह पाउन सक्छौँ।

१७. एलीको अनुभवबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो?

१७ आफ्ना आमाबुबाको विषयमा एली यसो भन्छन्‌: “सानो छँदा उहाँहरूले मेरो मनमा यहोवा परमेश्‍वरप्रतिको प्रेम विकास गर्न अनि बाइबलबाट सिकाउन यथासक्दो प्रयास गर्नुभयो। तर ठूलो हुँदै जाँदा म बरालिन थालेँ।” एलीले दोहोरो जीवन बिताउन थाले र तिनको आमाबुबाले तिनलाई आध्यात्मिक रूपमा मदत गर्न जति नै प्रयास गरे पनि तिनले वास्तै गरेनन्‌। घर छोडेर हिँडेपछि तिनी खराब काममा फसे। तैपनि तिनी एक जना साथीसित बाइबलबारे कुरा गर्ने गर्थे। एली भन्छन्‌: “उसलाई यहोवाबारे बताउँदै जाँदा मैले पो उहाँबारे झन्‌ गहिरिएर सोच्न थालेँ। मेरा आमाबुबाले मेरो मनमा बाइबलका कुराहरू ठप्प बसाल्न निकै प्रयास गर्नुभएको थियो तर मैले वास्तै गरिनँ। समय बित्दै जाँदा बिस्तारै मैले ती कुराहरू सम्झन थालेँ।” पछि एली सत्यमा फर्के। * छोरालाई सानो उमेरदेखि यहोवाबारे सिकाउन सक्दो प्रयास गरेकोमा तिनको आमाबुबा कत्ति खुसी भए होलान्‌!—२ तिमो. ३:१४, १५.

१८. छोराछोरीलाई यहोवाबारे सिकाउन सक्दो कोसिस गरिरहेका आमाबुबा देख्दा तपाईँलाई कस्तो लाग्छ?

१८ आमाबुबा हो, तपाईँले यहोवा परमेश्‍वरका उपासकहरूको नयाँ पुस्तालाई हुर्काउने ठूलो सुअवसर पाउनुभएको छ। (भज. ७८:४-६) यो जिम्मेवारी पूरा गर्न सजिलो छैन। तपाईँले छोराछोरीलाई हुर्काउन अथक प्रयास गर्नुभएकोमा हामी तपाईँहरूको प्रशंसा गर्छौँ। तपाईँले छोराछोरीलाई यहोवालाई प्रेम गर्न र “[उहाँको] डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउन सक्दो कोसिस गरिरहनुभयो भने उहाँ खुसी हुनुहुनेछ।—एफि. ६:४.

गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान्‌ होऊ”

^ ख्रिष्टियन आमाबुबा आफ्ना छोराछोरीलाई धेरै माया गर्छन्‌। तिनीहरू छोराछोरीको भौतिक अनि भावनात्मक आवश्‍यकता पूरा गर्न कडा मेहनत गर्छन्‌। अझ महत्त्वपूर्ण कुरा, छोराछोरीलाई यहोवालाई गहिरो प्रेम गर्न सिकाउन सक्दो प्रयास गर्छन्‌। यस लेखमा त्यो लक्ष्य हासिल गर्न आमाबुबालाई मदत गर्ने चार वटा बाइबल सिद्धान्त छलफल गरिनेछ।

^ jw.org मा परिवार हुर्काउन यहोवाको डोऱ्‍याइ भिडियो हेर्नुहोस्‌।

^ जुलाई १, २०१२ अङ्‌कको प्रहरीधरहरा-मा “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” लेख हेर्नुहोस्‌।

^ तस्बिरको व्याख्या: छोराको साथीलाई चिन्‍न एक जना बुबा उनीहरूसित बास्केटबल खेल्दै छन्‌।