सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २१

प्रकाशको किताबले तपाईँको भविष्यबारे के बताउँछ?

प्रकाशको किताबले तपाईँको भविष्यबारे के बताउँछ?

“आमिन! हे प्रभु येसु, आउनुहोस्‌।”—प्रका. २२:२०.

गीत १४२ आशालाई पक्रिराखौँ!

परिचय *

१. आज सबै मानिसले कुन महत्त्वपूर्ण निर्णय गर्नुपर्छ?

 आज मानिसहरूले एउटा महत्त्वपूर्ण निर्णय गर्नुपर्छ। त्यो हो, यहोवालाई यस ब्रह्‍माण्डको शासकको रूपमा स्विकारेर उहाँको पक्ष लिने कि उहाँको शत्रु सैतानको पक्ष लिने? ‘म कसैको पनि पक्ष लिन्‍नँ’ भन्‍न मिल्दैन। हामीले गर्ने निर्णयमा नै हाम्रो भविष्य निर्भर छ। (मत्ति २५:३१-३३, ४६) “महासङ्‌कष्ट”-को दौडान हामीलाई या त बचाउको लागि या विनाशको लागि चिन्ह लगाइनेछ।—प्रका. ७:१४; १४:९-११; इज. ९:४, ६.

२. (क) हिब्रू १०:३५-३९ ले हामीलाई के गर्न प्रोत्साहन दिन्छ? (ख) प्रकाशको किताब अध्ययन गर्दा हामी कस्तो लाभ उठाउन सक्छौँ?

हिब्रू १०:३५-३९ पढ्‌नुहोस्‌। तपाईँले यहोवाको शासनलाई समर्थन गर्ने निर्णय गरेर एकदमै सही निर्णय गर्नुभएको छ र अब तपाईँ अरूलाई पनि यस्तो निर्णय गर्न मदत दिन उत्सुक हुनुहुन्छ होला। तिनीहरूलाई मदत गर्न तपाईँ प्रकाशको किताबमा भएका जानकारीहरू प्रयोग गर्न सक्नुहुन्छ। यस किताबमा परमेश्‍वरका शत्रुहरूलाई भविष्यमा के हुनेछ तर उहाँको शासनलाई समर्थन गर्नेहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌ भनेर बताइएको छ। हामीले यी महत्त्वपूर्ण सत्यहरू अध्ययन गर्नुपर्छ। यसो गऱ्‍यौँ भने यहोवाको सेवा गरिरहने हाम्रो सङ्‌कल्प बलियो हुन्छ। साथै आफूले पढेका कुराहरू प्रयोग गरेर अरूलाई पनि सही निर्णय गर्न र त्यसैअनुसार चलिरहन मदत गर्न सक्छौँ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यस लेखमा हामी यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ: परमेश्‍वरको शासनलाई समर्थन गर्नेहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌? अनि प्रकाशको किताबमा चर्चा गरिएको चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावरलाई समर्थन गर्नेहरूलाई के हुनेछ?

वफादार जनहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌?

४. प्रेषित युहन्‍नाले स्वर्गमा येसुसँगै कुन समूहलाई देख्छन्‌?

दर्शनमा प्रेषित युहन्‍नाले यहोवाको शासनलाई समर्थन गर्ने र अनन्त जीवन पाउने दुई वटा समूह देख्छन्‌। पहिलो समूहमा १ लाख ४४ हजार जना छन्‌। (प्रका. ७:४) तिनीहरू स्वर्गमा येसुसँगै शासन गर्न पृथ्वीबाट लगिएकाहरू हुन्‌। तिनीहरूले येसुसँगै मिलेर पृथ्वीमा शासन गर्नेछन्‌। (प्रका. ५:९, १०; १४:३, ४) युहन्‍नाले तिनीहरू येसुसँगै सियोन डाँडा अर्थात्‌ स्वर्गमा उभिरहेको देख्छन्‌।—प्रका. १४:१.

५. बाँकी रहेका अभिषिक्‍त जनहरूलाई अब चाँडै के हुनेछ?

प्रेषितहरूको समयदेखि अहिलेसम्म १ लाख ४४ हजारको भाग हुन हजारौँ मानिसलाई छानिएको छ। (लुका १२:३२; रोमी ८:१७) तर अन्तको दिनको दौडान पृथ्वीमा अभिषिक्‍त जनहरू थोरै मात्र बाँकी रहनेछन्‌ भनेर युहन्‍नालाई बताइयो। “बाँकी रहेका” अभिषिक्‍त जनहरूलाई महासङ्‌कष्ट सुरु हुनुअघि यहोवाको अनुमोदनस्वरूप अन्तिम “छाप” लगाइनेछ। (प्रका. ७:२, ३; १२:१७) अनि तिनीहरूलाई महासङ्‌कष्टको दौडान स्वर्ग लगिनेछ। त्यहाँ तिनीहरूले १ लाख ४४ हजारमध्येका अरू सदस्यहरू र येसुसँगै मिलेर शासन गर्नेछन्‌।—मत्ति २४:३१; प्रका. ५:९, १०.

६-७. (क) युहन्‍नाले अर्को कुन समूह देखे र यस समूहबारे के भने? (ख) प्रकाश अध्याय ७ मा लेखिएका कुराहरूमा बाँकी रहेका अभिषिक्‍त जनहरू र “ठूलो भीड” दुवैले किन चासो राख्नुपर्छ?

स्वर्ग जाने समूहलाई देखेपछि युहन्‍नाले “एउटा ठूलो भीड” पनि देख्छन्‌ र त्यस भीडलाई कसैले पनि गन्‍न सक्दैन। (प्रका. ७:९, १०) यस समूहबारे युहन्‍नाले यस्तो लेखे: “यिनीहरू महासङ्‌कष्ट पार गरेर आएका मानिसहरू हुन्‌ अनि यिनीहरूले आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाएका छन्‌।” (प्रका. ७:१४) महासङ्‌कष्टबाट बचेपछि यो “ठूलो भीड”-ले पृथ्वीमै जीवन बिताउनेछन्‌ र तिनीहरूले यहोवाबाट थुप्रै आशिष्‌ पाउनेछन्‌।—भज. ३७:९-११, २७-२९; हितो. २:२१, २२; प्रका. ७:१६, १७.

तपाईँको आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने, प्रकाश अध्याय ७ मा वर्णन गरिएको दृश्‍यमा के तपाईँ आफैलाई पनि देख्नुहुन्छ? हामीले आफू पनि त्यो दृश्‍यमा भएको कल्पना गर्न सक्नुपर्छ। त्यो समय पक्कै पनि यी दुवै समूहको लागि रोमाञ्चकारी समय हुनेछ। यहोवाको शासनलाई समर्थन गर्ने छनौट गरेकोमा त्यतिबेला हामी पक्कै पनि खुसी हुनेछौँ। महासङ्‌कष्टबारे प्रकाशको किताबले अरू के बताउँछ?—मत्ति २४:२१.

परमेश्‍वरका विरोधीहरूलाई के हुनेछ?

८. महासङ्‌कष्ट सुरु भएको सङ्‌केत के हुनेछ र धेरैजसो मानिसले के गर्नेछन्‌?

अघिल्लो लेखमा उल्लेख गरिएझैँ यस संसारको राजनैतिक प्रणालीले झूटो धर्मको विश्‍व साम्राज्यलाई आक्रमण गर्नेछ। (प्रका. १७:१६, १७) यो घटना महासङ्‌कष्ट सुरु भएको सङ्‌केत हुनेछ। के त्यतिबेला मानिसहरूले यहोवाको सेवा गर्ने निर्णय गर्नेछन्‌? गर्नेछैनन्‌। बरु प्रकाश अध्याय ६ अनुसार तिनीहरूले संसारको राजनैतिक र व्यापारिक प्रणालीबाट सुरक्षा खोज्नेछन्‌, जसलाई डाँडाहरू भनिएको छ। त्यतिबेला तिनीहरू परमेश्‍वरको राज्यको पक्षमा खडा नहुने भएकोले यहोवाले तिनीहरूलाई आफ्नो विरोधीको रूपमा हेर्नुहुनेछ।—लुका ११:२३; प्रका. ६:१५-१७.

९. महासङ्‌कष्टको दौडान यहोवाका सेवकहरू कसरी अरूभन्दा भिन्‍न देखिनेछन्‌ र नतिजा कस्तो हुनेछ?

त्यस कठिन घडीमा यहोवाका वफादार सेवकहरू अरूभन्दा बिलकुलै फरक देखिनेछन्‌। त्यतिबेला यहोवा परमेश्‍वरको सेवा गर्ने र त्यस “जङ्‌गली जनावर”-लाई समर्थन गर्न इन्कार गर्नेहरू यहोवाका साक्षीहरू मात्र हुनेछन्‌। (प्रका. १३:१४-१७) तिनीहरूले यस्तो अडान लिएकोले यहोवाका विरोधीहरू तिनीहरूसित क्रोधित हुनेछन्‌ र नतिजास्वरूप राष्ट्रहरूको गठबन्धनले पृथ्वीभरिका यहोवाका सेवकहरूलाई आक्रमण गर्नेछ। यस भीषण आक्रमणलाई बाइबलमा मागोगको गोगको आक्रमण भनिएको छ।—इज. ३८:१४-१६.

१०. प्रकाश १९:१९-२१ अनुसार आफ्ना सेवकहरूमाथि आक्रमण हुँदा यहोवाले के गर्नुहुनेछ?

१० आफ्ना सेवकहरूमाथि आक्रमण हुँदा यहोवाले के गर्नुहुनेछ? उहाँ यसो भन्‍नुहुन्छ: “मेरो क्रोध दन्कनेछ।” (इज. ३८:१८, २१-२३) यसपछि के हुनेछ भनेर प्रकाश अध्याय १९ ले बताउँछ। यहोवाले आफ्ना मानिसहरूलाई जोगाउन र शत्रुहरूलाई नाश गर्न आफ्नो छोरा पठाउनुहुनेछ। वफादार स्वर्गदूतहरू र १ लाख ४४ हजार मिलेर बनेको “स्वर्गका सेनाहरू”-ले येसुलाई यस युद्धमा साथ दिनेछन्‌। (प्रका. १७:१४; १९:११-१५) यस युद्धको अन्तिम परिणाम के हुनेछ? यहोवाको विरोध गर्ने सबै मानिस र सङ्‌गठन सदाका लागि नाश हुनेछन्‌।प्रकाश १९:१९-२१ पढ्‌नुहोस्‌।

युद्धपछि विवाह

११. प्रकाशको किताबमा चर्चा गरिएको सबैभन्दा महत्त्वपूर्ण घटना कुन हो?

११ परमेश्‍वरका शत्रुहरू पूर्ण रूपमा विनाश हुँदा उहाँका वफादार सेवकहरूले कस्तो महसुस गर्नेछन्‌, कल्पना गर्नुहोस्‌! त्यतिबेला पृथ्वीमा खुसीयाली छाउनेछ! साथै महान्‌ बेबिलोनको विनाश हुँदा स्वर्गमा पनि रमाहट हुनेछ तर स्वर्गमा रमाहट हुनुको अर्को कारण पनि छ। (प्रका. १९:१-३) त्यो हो, “पाठोको विवाह।” वास्तवमा यो नै प्रकाशको किताबमा चर्चा गरिएको सबैभन्दा महत्त्वपूर्ण घटना हो।—प्रका. १९:६-९.

१२. प्रकाश २१:१, २ मा सङ्‌केत गरिएअनुसार पाठोको विवाह कहिले हुनेछ?

१२ त्यो विवाह कहिले हुनेछ? आरमागेडोनको लडाइँ सुरु हुनुभन्दा ठीकअघि १ लाख ४४ हजारमध्येका सबै जना स्वर्ग गइसकेका हुनेछन्‌। तर पाठोको विवाह त्यतिबेला त हुनेछैन। (प्रकाश २१:१, २ पढ्‌नुहोस्‌।) बरु पाठोको विवाह आरमागेडोनको लडाइँपछि र परमेश्‍वरका सबै शत्रुलाई हटाइएपछि हुनेछ।—भज. ४५:३, ४, १३-१७.

१३. पाठोको विवाहमा के हुनेछ?

१३ पाठोको विवाहमा के हुनेछ? कुनै पुरुष र स्त्रीको विवाह हुँदा उनीहरू एक भएजस्तै यस प्रतीकात्मक विवाहले राजा येसु ख्रिष्ट र उहाँकी “दुलही” अर्थात्‌ १ लाख ४४ हजार अभिषिक्‍त जनलाई एकतामा बाँध्नेछ। यसरी नयाँ सरकार स्थापना हुनेछ र यस सरकारले पृथ्वीमा १ हजार वर्षसम्म शासन गर्नेछ।—प्रका. २०:६.

महिमित सहर र तपाईँको भविष्य

प्रकाश अध्याय २१ मा प्रतीकात्मक नयाँ यरुसलेम “स्वर्गबाट अर्थात्‌ परमेश्‍वरकहाँबाट तल झर्दै गरेको” छ भनी बताइएको छ। ख्रिष्टको हजार वर्षीय शासनको दौडान यसमार्फत आज्ञाकारी मानिसहरूले थुप्रै आशिष्‌ पाउनेछन्‌ (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)

१४-१५. प्रकाश अध्याय २१ मा १ लाख ४४ हजारलाई केसित तुलना गरिएको छ? (आवरण चित्र हेर्नुहोस्‌।)

१४ प्रकाश अध्याय २१ मा १ लाख ४४ हजारलाई एउटा सुन्दर सहरसित तुलना गरिएको छ, जसलाई “नयाँ यरुसलेम” भनिएको छ। (प्रका. २१:२, ९) यस सहरको जगमा भएको १२ वटा ढुङ्‌गामा “पाठोका १२ जना प्रेषितको १२ नाम लेखिएका” छन्‌। यसले किन युहन्‍नाको ध्यान खिच्छ? किनकि एउटा ढुङ्‌गामा तिनको पनि नाम छ। तिनको लागि कत्ति ठूलो सम्मान!—प्रका. २१:१०-१४; एफि. २:२०.

१५ यो प्रतीकात्मक सहर अरूभन्दा बिलकुलै फरक छ। यस सहरको मूलबाटो निखुर सुनको छ, यसका १२ वटा ढोका मोतीका छन्‌ अनि यसका पर्खाल र जगहरू बहुमूल्य रत्नहरूले सजिएका छन्‌। यस सहरको लम्बाइ, चौडाइ र उचाइ बराबर छ। (प्रका. २१:१५-२१) तर यस सहरमा एउटा कुरा भने अपुग देखिन्छ। यसबारे युहन्‍नाले यसो भने: “त्यस सहरमा मैले मन्दिर भने देखिनँ किनकि सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा नै त्यसको मन्दिर हुनुहुन्छ, त्यसैगरि पाठो पनि त्यसको मन्दिर हुनुहुन्छ। त्यस सहरलाई सूर्य वा चन्द्रमाको उज्यालोको आवश्‍यकता पर्दैन किनकि परमेश्‍वरको महिमाले त्यस सहरलाई उज्यालो बनाउँछ अनि पाठो नै त्यसको बत्ती हुनुहुन्छ।” (प्रका. २१:२२, २३) नयाँ यरुसलेमको भाग भएकाहरूलाई यहोवासामु जान कुनै माध्यमको आवश्‍यकता पर्नेछैन। (हिब्रू ७:२७; प्रका. २२:३, ४) किनकि यहोवा र येसु नै यस सहरको मन्दिर हुनुहुन्छ।

“नदी” र “रूखहरू”-ले चित्रण गर्ने प्रबन्धहरूबाट क-कसले लाभ उठाउनेछन्‌? (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६. हजार वर्षीय शासनको दौडान मानिसहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌?

१६ यस सहरबारे सोच्दा अभिषिक्‍त जनहरू रोमाञ्चित हुन्छन्‌। तर पृथ्वीमै जीवन बिताउने आशा भएकाहरूले पनि यस सहरमा चासो राख्नुपर्छ। किन? किनकि हजार वर्षीय शासनको दौडान यस नयाँ यरुसलेमले पृथ्वीका मानिसहरूको लागि अनगिन्ती आशिष्‌ ल्याउनेछ। प्रेषित युहन्‍नाले यी आशिष्‌हरू “जीवन दिने पानीको नदी”-जस्तै बगिरहेको देख्छन्‌। यस नदीको दुवै किनारामा जीवनका रूखहरू छन्‌ र ती रूखका पातहरूले “जातिजातिका मानिसहरूलाई निको” पार्छ। (प्रका. २२:१, २) यस्तो प्रबन्धबाट पृथ्वीका सबै मानिसले लाभ उठाउनेछन्‌। सबै आज्ञाकारी मानिस बिस्तारै त्रुटिरहित अवस्थामा पुग्नेछन्‌ अनि शोक, रुवाइ, पीडा केही हुनेछैन।—प्रका. २१:३-५.

१७. प्रकाश २०:११-१३ अनुसार हजार वर्षीय शासनबाट क-कसले लाभ उठाउनेछन्‌?

१७ यस्ता प्रबन्धहरूबाट क-कसले लाभ उठाउनेछन्‌? सबैभन्दा पहिला, आरमागेडोन पार गरेर आएका ठूलो भीड अनि नयाँ संसारमा जन्मन सक्ने बच्चाहरूले यस प्रबन्धबाट लाभ उठाउनेछन्‌। तर प्रकाश अध्याय २० मा मरेकाहरू जीवित हुने विषयमा पनि बताइएको छ। (प्रकाश २०:११-१३ पढ्‌नुहोस्‌।) त्यसैले मरिसकेका “धर्मी”-हरू अनि यहोवाबारे सिक्ने पर्याप्त मौका नपाएका “अधर्मी”-हरू पनि नयाँ संसारमा फेरि जीवित पारिनेछन्‌। (प्रेषि. २४:१५; युह. ५:२८, २९) तर के यसको अर्थ हजार वर्षीय शासनको दौडान सबै मानिसलाई जीवित पारिनेछ भन्‍ने हो? त्यसो त होइन। अहिले यहोवाको सेवा नगर्ने छनौट गरेकाहरूलाई जीवित पारिनेछैन। किन? किनकि तिनीहरूले यहोवालाई चिन्‍ने र आफू अनन्त जीवन पाउन लायकको छु भनेर प्रमाणित गर्ने मौका पाइसकेका थिए।—मत्ति २५:४६; २ थिस्स. १:९; प्रका. १७:८; २०:१५.

अन्तिम जाँच

१८. हजार वर्षको अन्तसम्ममा मानिसहरूको अवस्था कस्तो हुनेछ?

१८ हजार वर्षको अन्तसम्ममा सबै मानिस त्रुटिरहित अवस्थामा पुगिसकेका हुनेछन्‌। त्यसपछि आदमबाट पाएको पापले तिनीहरूलाई कुनै असर गर्नेछैन। (रोमी ५:१२) आदमको पापले गर्दा मानिसजातिमाथि आएको श्राप पूर्ण रूपमा हटाइनेछ र मानिसहरू त्रुटिरहित हुनेछन्‌। यसरी हजार वर्ष बितेपछि मानिसहरू साँचो अर्थमा “जीवित” हुनेछन्‌।—प्रका. २०:५.

१९. किन अन्तिम जाँच लिइनेछ?

१९ सैतानले येसुको निष्ठा तोड्‌न हरप्रयास गऱ्‍यो तर उहाँ यहोवाप्रति वफादार रहनुभयो भनेर हामीलाई थाह छ। हजार वर्षीय शासनको अन्तमा सैतानलाई अगाध खाडलबाट मुक्‍त गरिनेछ र प्रत्येक त्रुटिरहित मानिसले यहोवाप्रतिको आफ्नो वफादारी प्रमाणित गर्ने मौका पाउनेछन्‌। (प्रका. २०:७) के मानिसहरू त्यतिबेला यहोवाप्रति वफादार रहन सक्नेछन्‌? अन्तिम जाँचमा यहोवाप्रति वफादार रहनेहरूले अनन्त जीवन र साँचो स्वतन्त्रता पाउनेछन्‌। (रोमी ८:२१) तर परमेश्‍वरको विद्रोह गर्नेहरूलाई सैतान र त्यसका प्रेतहरूसँगै सदाका लागि नाश गरिनेछ।—प्रका. २०:८-१०.

२०. प्रकाशको किताबका भविष्यवाणीहरूबारे अध्ययन गरेपछि तपाईँले कस्तो महसुस गर्नुभयो?

२० प्रकाशको किताबमा चर्चा गरिएका घटनाहरूबारे सरसरती अध्ययन गरेपछि तपाईँले कस्तो महसुस गर्नुभयो? ती रोचक भविष्यवाणीहरूको पूर्तिमा आफूलाई पनि देख्न पाउँदा तपाईँ पक्कै हर्षित हुनुभयो। अनि तपाईँ मानिसहरूलाई शुद्ध उपासनामा भाग लिनको लागि निम्तो दिन पनि उत्प्रेरित हुनुभयो। (प्रका. २२:१७) भविष्यमा हुने यस्ता रोमाञ्चकारी घटनाहरूबारे अध्ययन गरेपछि हामी पनि प्रेषित युहन्‍नाजस्तै यसो भन्‍न उत्प्रेरित भएका छौँ: “आमिन! हे प्रभु येसु, आउनुहोस्‌।”—प्रका. २२:२०.

गीत २७ यहोवाका छोराहरू प्रकट हुनेछन्‌

[फुटनोट]

^ प्रकाशको किताबसम्बन्धी शृङ्‌खलाको यो अन्तिम लेख हो। यस लेखमा यहोवाप्रति वफादार रहनेहरूको भविष्य उज्ज्वल छ तर उहाँको शासनको विरोध गर्नेहरूले भने अपमानजनक अन्त भोग्नेछन्‌ भनेर हामी बुझ्नेछौँ।