सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १९

प्रकाशको किताबले तपाईँको लागि कस्तो अर्थ राख्छ?

प्रकाशको किताबले तपाईँको लागि कस्तो अर्थ राख्छ?

‘आनन्दित हो त्यो मानिस, जसले यस भविष्यवाणीका वचनहरू ठूलो स्वरमा पढ्‌छ।’—प्रका. १:३.

गीत १५ यहोवाको पुत्रको जय होस्‌!

परिचय *

१-२. प्रकाशको किताबमा हामीले चासो राख्नुपर्ने एउटा कारण के हो?

 के तपाईँले कसैको फोटो एल्बम हेर्नुभएको छ? त्यो एल्बम हेर्दै जाँदा तपाईँले प्रायः नचिनेका मानिसहरूको फोटो देख्नुहुन्छ। तर एउटा फोटोले तपाईँको ध्यान खिच्छ। किन? किनभने त्यस फोटोमा तपाईँ पनि हुनुहुन्छ। तपाईँ त्यो फोटो कहाँ र कहिले खिचिएको थियो भनेर सम्झन प्रयास गर्नुहुन्छ अनि अरूलाई पनि चिन्‍न कोसिस गर्नुहुन्छ। त्यो फोटो साँच्चै तपाईँको लागि अर्थपूर्ण छ।

प्रकाशको किताबलाई त्यस फोटोसित तुलना गर्न सकिन्छ। हामी किन यसो भन्‍न सक्छौँ? यसको कम्तीमा पनि दुई वटा कारण छन्‌। पहिलो कारण, प्रकाशको किताब हाम्रो लागि लेखिएको थियो। यस किताबको सुरुकै पदमा यसो भनिएको छ: “येसु ख्रिष्टबाट भएको प्रकाश, जो छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न परमेश्‍वरले उहाँलाई दिनुभयो।” (प्रका. १:१) प्रकाशको किताब जोसुकैको लागि नभई परमेश्‍वरका समर्पित सेवकहरूको लागि लेखिएको थियो। त्यसैले यस रोचक किताबमा भएका भविष्यवाणीहरूको पूर्तिमा हामीले पनि भाग लिइरहेका छौँ भनेर थाह पाउँदा छक्क मान्‍नुपर्दैन। अर्को शब्दमा भन्‍नुपर्दा, हामी पनि “त्यस फोटोमा” छौँ।

३-४. प्रकाशको किताबका भविष्यवाणीहरू कहिले पूरा हुने थिए र यो कुरा बुझेपछि हामी प्रत्येकले के गर्नुपर्छ?

दोस्रो कारण यी भविष्यवाणीहरू पूरा हुने समयसित सम्बन्धित छ। वृद्ध भइसकेका प्रेषित युहन्‍नाले त्यस समयबारे सङ्‌केत गर्दै यसो भने: “पवित्र शक्‍तिको प्रेरणाद्वारा म प्रभुको दिनमा पुगेँ।” (प्रका. १:१०) युहन्‍नाले इस्वी संवत्‌ ९६ मा “प्रभुको दिन”-बारे लेख्दा त्यो समय आउन अझ धेरै समय बाँकी थियो। (मत्ति २५:१४, १९; लुका १९:१२) बाइबल भविष्यवाणीअनुसार त्यो समय सन्‌ १९१४ मा येसु राजा नियुक्‍त हुनुहुँदा सुरु भयो। त्यसैले हामी अहिले “प्रभुको दिनमा” बाँचिरहेका छौँ। सन्‌ १९१४ देखि यता प्रकाशको किताबका भविष्यवाणीहरू पूरा भइरहेका छन्‌ र यसको पूर्तिमा परमेश्‍वरका सेवकहरूले पनि भाग लिइरहेका छन्‌।

हामी यस रोमाञ्चकारी समयमा बाँचिरहेकोले हामीले प्रकाश १:३ मा पाइने मायालु सल्लाहमा विशेष ध्यान दिनु आवश्‍यक छ, जहाँ यसो भनिएको छ: “आनन्दित हो त्यो मानिस, जसले यस भविष्यवाणीका वचनहरू ठूलो स्वरमा पढेर सुनाउँछ अनि आनन्दित हुन्‌ ती मानिसहरू, जसले ती सुन्छन्‌ र जसले ती पालन गर्छन्‌ किनकि तोकिएको समय नजिकै छ।” हो, हामीले ‘यस भविष्यवाणीका वचनहरू ठूलो स्वरमा पढ्‌नुपर्छ,’ ‘सुन्‍नुपर्छ’ अनि ‘पालन गर्नुपर्छ।’ हामीले पालन गर्नुपर्ने केही वचन के-के हुन्‌?

तपाईँको उपासना यहोवाको लागि ग्रहणयोग्य बनाउनुहोस्‌

५. हाम्रो उपासना यहोवाको लागि ग्रहणयोग्य हुनुपर्छ भनेर प्रकाशको किताबले कसरी जोड दिन्छ?

प्रकाशको किताबको पहिलो अध्यायबाटै येसुलाई मण्डलीहरूको अवस्था राम्ररी थाह छ भनेर बुझ्न सक्छौँ। (प्रका. १:१२-१६, २०; २:१) यो कुरा उहाँले एसिया माइनरको सात वटा मण्डलीलाई दिनुभएको सन्देशबाट स्पष्ट हुन्छ। उहाँले ती मण्डलीका ख्रिष्टियनहरूलाई तिनीहरूको उपासना यहोवाको लागि ग्रहणयोग्य हुन के गर्नुपर्छ भनेर खास निर्देशनहरू दिनुभयो। ती निर्देशनहरू परमेश्‍वरका सेवकहरूलाई आज पनि लागू हुन्छ। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हाम्रा अगुवा येसु ख्रिष्टलाई हाम्रो आध्यात्मिक अवस्था राम्रोसँग थाह छ। उहाँ सबै कुरा देख्नुहुन्छ; हामी उहाँको निगरानीमा भएकोले सुरक्षित छौँ। यहोवाको अनुमोदन पाइरहन हामीले के गर्नुपर्छ भनेर पनि उहाँलाई थाह छ। येसुले दिनुभएका कस्ता निर्देशनहरू हामीले पालन गर्नुपर्छ?

६. (क) प्रकाश २:३, ४ अनुसार एफिससको मण्डलीमा कस्तो समस्या थियो? (ख) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

प्रकाश २:३, ४ पढ्‌नुहोस्‌। हामीमा यहोवाको लागि पहिले जुन प्रेम थियो, त्यो गुमाउनु हुँदैन। येसुले एफिससको मण्डलीलाई दिनुभएको सन्देशमा तिनीहरूले सहनशीलता देखाएको अनि विभिन्‍न समस्याको बाबजुद हरेस नखाई यहोवाको सेवा गरिरहेको कुरा बताउनुभएको छ। तर तिनीहरूमा यहोवाको लागि पहिले जुन प्रेम थियो, त्यो गुमिसकेको थियो। तिनीहरूले त्यो प्रेम फेरि जगाउनुपर्थ्यो नत्र त तिनीहरूले चढाएको उपासना ग्रहणयोग्य हुने थिएन। आज हामी पनि सहनशीलता देखाउँछौँ होला तर त्यसरी सहनुको मनसाय सही हुनुपर्छ। परमेश्‍वर हामीले के गर्छौँ भन्‍ने कुरामा मात्र होइन तर किन गर्छौँ, त्यसमा पनि चासो राख्नुहुन्छ। परमेश्‍वरको लागि हाम्रो मनसाय महत्त्वपूर्ण छ किनभने उहाँ हामीले गहिरो प्रेम अनि कृतज्ञ मनोभावले उपासना गरेको चाहनुहुन्छ।—हितो. १६:२; मर्कु. १२:२९, ३०.

७. (क) प्रकाश ३:१-३ अनुसार सार्डिसको मण्डलीमा कस्तो समस्या थियो? (ख) हामीले के गर्नुपर्छ?

प्रकाश ३:१-३ पढ्‌नुहोस्‌। हामी जागा रहिरहनुपर्छ। सार्डिसको मण्डलीको समस्या भने फरक थियो। पहिला त्यहाँका ख्रिष्टियनहरू आध्यात्मिक रूपमा सक्रिय थिए तर पछि सुस्ताउन थाले। त्यसैले येसुले तिनीहरूलाई “जागा बस” भन्‍नुभयो। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हुनत यहोवाले हामीले उहाँको निम्ति गरेका कामहरू बिर्सनुहुन्‍न। (हिब्रू ६:१०) तर त्यसो भन्दैमा हामीले विगतमा उहाँको सेवामा गरेका कामहरू नै पर्याप्त छ भन्‍ने सोचाइ राख्नु हुँदैन। हुनत विभिन्‍न सीमितताले गर्दा हामी पहिलाको जति गर्न सक्दैनौँ होला तर अन्तसम्म जागा रहँदै “प्रभुको काममा” सधैँ व्यस्त रहनुपर्छ।—१ कोरि. १५:५८; मत्ति २४:१३; मर्कु. १३:३३.

८. प्रकाश ३:१५-१७ मा येसुले लाओडिसियाको मण्डलीलाई दिनुभएको सन्देशबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

प्रकाश ३:१५-१७ पढ्‌नुहोस्‌। हामीले जोसका साथ र तनमनले यहोवाको सेवा गर्नुपर्छ। लाओडिसियाको मण्डलीको समस्या पनि फरक थियो। तिनीहरू यहोवाको उपासनामा “मनतातो” भएका थिए। त्यसैले तिनीहरू “गएगुज्रेको र दयनीय अवस्थामा” छन्‌ भनेर येसुले बताउनुभयो। तिनीहरू यहोवाको उपासनामा जोसिलो हुनुपर्ने थियो। (प्रका. ३:१९) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हाम्रो जोस सेलाउँदै गइरहेको छ भने हामीले यहोवाले दिनुभएका असल कुराहरूप्रतिको कृतज्ञता अझ बढाउनुपर्छ। (प्रका. ३:१८) जीवन आरामदायी बनाउन भौतिक कुराहरूको पछि लागेर हामी यहोवाको सेवालाई कहिल्यै पनि दोस्रो स्थानमा राख्न चाहँदैनौँ।

९. येसुले पर्गामम र थिआटिराको मण्डलीलाई दिनुभएको सन्देशबाट हामी के सिक्न सक्छौँ?

हामीले धर्मत्यागीहरूको शिक्षालाई तिरस्कार गर्नुपर्छ। पर्गाममको मण्डलीका कोही-कोहीले मण्डलीमा फुट गराउन खोजेकोले येसुले तिनीहरूलाई हप्काउनुभयो। (प्रका. २:१४-१६) तर “सैतानका गहिरा कुराहरू”-देखि अलग रहेका थिआटिराको मण्डलीका ख्रिष्टियनहरूको भने येसुले प्रशंसा गर्नुभयो र तिनीहरूलाई सत्यलाई ‘पक्रिराख्न’ आग्रह गर्नुभयो। (प्रका. २:२४-२६) ती मण्डलीहरूका केही ख्रिष्टियन झूटा शिक्षाहरूको पछि लागेका थिए र तिनीहरूले पश्‍चात्ताप गर्नुपर्ने थियो। आज हामीले पनि यहोवाको सोचाइसित मेल नखाने शिक्षाहरूलाई तिरस्कार गर्नुपर्छ। धर्मत्यागीहरू ‘परमेश्‍वरको भक्‍ति गरेको ढोँग गर्छन्‌ तर त्यसअनुसार चल्दैनन्‌।’ (२ तिमो. ३:५) हामी लगनशील भई परमेश्‍वरको वचन अध्ययन गर्छौँ भने त्यस्ता झूटा शिक्षाहरूलाई चिन्‍न र त्यसलाई तिरस्कार गर्न सक्नेछौँ।—२ तिमो. ३:१४-१७; यहु. ३, ४.

१०. येसुले पर्गामम र थिआटिराको मण्डलीलाई दिनुभएको सन्देशबाट हामी थप के सिक्न सक्छौँ?

१० हामी सबै किसिमको अनैतिक क्रियाकलापबाट अलग रहनुपर्छ। पर्गामम र थिआटिराको मण्डलीमा अर्को एउटा समस्या पनि थियो। ती मण्डलीहरूका कसै-कसैले अवैध यौनसम्बन्धलाई तिरस्कार नगरेकोले येसुले तिनीहरूको निन्दा गर्नुभयो। (प्रका. २:१४, २०) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले यहोवाको सेवा गर्न थालेको लामो समय भइसक्यो होला अनि थुप्रै जिम्मेवारी सम्हालिरहेका छौँ होला। तर यसैलाई आड बनाएर कुनै किसिमको अनैतिक क्रियाकलापमा भाग लिन्छौँ भने यहोवाले त्यो पटक्कै सहनुहुन्‍न! (१ समु. १५:२२; १ पत्रु. २:१६) संसारको नैतिक स्तर जति नै खस्किरहेको भए तापनि हामीले उहाँको उच्च नैतिक स्तर कायम राखेको यहोवा चाहनुहुन्छ।—एफि. ६:११-१३.

११. यहाँसम्मको छलफलबाट हामीले के सिक्यौँ? (“ हाम्रो लागि पाठ” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

११ यहाँसम्मको छलफलबाट हामीले के सिक्यौँ? हामीले चढाइरहेको उपासना यहोवाको लागि ग्रहणयोग्य हुनुपर्छ। यदि हामीले हाम्रो उपासनालाई अस्वीकार्य बनाउने केही काम गरिरहेका छौँ भने त्यसलाई सच्याउन तुरुन्तै कदम चाल्नुपर्छ। (प्रका. २:५, १६; ३:३, १६) तर येसुले मण्डलीहरूलाई दिनुभएको सन्देशमा अर्को कुरालाई पनि जोड दिनुभयो। त्यो के थियो?

खेदो सहन तयार हुनुहोस्‌

स्वर्गबाट पृथ्वीमा फ्याँकिएपछि सैतानले परमेश्‍वरका सेवकहरूमाथि कसरी आक्रमण गरेको छ? (अनुच्छेद १२-१६ हेर्नुहोस्‌)

१२. येसुले स्मर्ना र फिलाडेल्फियाको मण्डलीलाई दिनुभएको सन्देशबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (प्रकाश २:१०)

१२ येसुले स्मर्ना र फिलाडेल्फियाको मण्डलीलाई दिनुभएको सन्देश विचार गरौँ। उहाँले ती मण्डलीहरूका ख्रिष्टियनहरूलाई खेदोहरूदेखि नडराओ भन्‍नुभयो किनभने तिनीहरूले आफ्नो वफादारीको इनाम पाउने थिए। (प्रकाश २:१० पढ्‌नुहोस्‌; ३:१०) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीमाथि खेदो आइपर्नेछ भनेर हामीलाई थाह छ; त्यसैले हामी त्यो सहन तयार हुनुपर्छ। (मत्ति २४:९, १३; २ कोरि. १२:१०) यो सम्झौटो हाम्रो लागि किन महत्त्वपूर्ण छ?

१३-१४. प्रकाश अध्याय १२ मा बताइएका घटनाहरूले परमेश्‍वरका सेवकहरूलाई कस्तो असर गरेको छ?

१३ प्रकाशको किताबमा “प्रभुको दिनमा” अर्थात्‌ अहिले हाम्रो समयमा परमेश्‍वरका सेवकहरूले खेदो भोग्नेछन्‌ भनेर बताइएको छ। साथै प्रकाश अध्याय १२ मा परमेश्‍वरको राज्य स्थापना भएलगत्तै स्वर्गमा भएको एउटा युद्धबारे पनि बताइएको छ। त्यो युद्ध माइकल र उहाँको सेना अनि सैतान र त्यसका प्रेतहरूबीच हुन्छ। (प्रका. १२:७, ८) त्यस युद्धमा परमेश्‍वरका शत्रुहरूको हार हुन्छ र तिनीहरूलाई पृथ्वीमा फ्याँकिन्छ। त्यसपछि पृथ्वीमा दुःखकष्ट सुरु हुन्छ। (प्रका. १२:९, १२) यस घटनाले परमेश्‍वरका सेवकहरूलाई कस्तो असर गरेको छ?

१४ त्यसपछि सैतानले के गर्छ भनेर प्रकाशको किताबमा बताइएको छ। स्वर्गमा प्रवेश गर्न नपाएपछि त्यसले आफ्नो रिस पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूमाथि पोख्छ, जो परमेश्‍वरको राज्यका प्रतिनिधिहरू हुन्‌ र जसले “येसुको विषयमा साक्षी दिने काम” गरिरहेका छन्‌। (प्रका. १२:१७; २ कोरि. ५:२०; एफि. ६:१९, २०) यो भविष्यवाणी कसरी पूरा भइरहेको छ?

१५. प्रकाश अध्याय ११ मा बताइएको “दुई जना साक्षी”-ले कसलाई बुझाउँछ र उहाँहरूलाई के भयो?

१५ सैतानले परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने काममा नेतृत्व लिइरहेका अभिषिक्‍त भाइहरूमाथि आक्रमण गऱ्‍यो। ती भाइहरूलाई प्रकाशको किताबमा “दुई जना साक्षी” भनिएको छ, जसलाई मारिन्छ। * (प्रका. ११:३, ७-११) ती दुई जना साक्षीलाई ‘मारिनुले’ केलाई बुझाउँछ? सन्‌ १९१८ मा आठ जना जिम्मेवार भाइलाई झूटो आरोपमा पक्राउ गरियो र उहाँहरूलाई लामो जेल सजाय सुनाइयो। मानिसको नजरबाट हेर्दा ती अभिषिक्‍त जनहरूको काम पूरै ठप्प भएको जस्तो देखियो।

१६. सन्‌ १९१९ मा कस्तो अचम्मलाग्दो घटना घट्यो र त्यतिबेलादेखि सैतानले के गर्न छोडेको छैन?

१६ प्रकाश अध्याय ११ मा ती “दुई जना साक्षी”-लाई छोटो समयमा फेरि जीवित पारिने कुरा बताइएको छ। यसै भविष्यवाणीको पूर्तिस्वरूप ती अभिषिक्‍त भाइहरू जेलमा परेको अर्को वर्ष नै एउटा अचम्मलाग्दो घटना घट्यो। सन्‌ १९१९ को सुरुतिर उहाँहरूलाई जेलबाट मुक्‍त गरियो र उहाँहरूमाथि लगाइएको अभियोग पनि फिर्ता लिइयो। जेलबाट मुक्‍त भएलगत्तै ती भाइहरू परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने काममा व्यस्त हुनुभयो। तर सैतानले परमेश्‍वरका सेवकहरूलाई आक्रमण गर्न छोडेको छैन। त्यसले त्यतिबेलादेखि परमेश्‍वरका सेवकहरूविरुद्ध खेदोको “नदी” नै बगाइरहेको छ। (प्रका. १२:१५) हामी प्रत्येकले “सहनशीलता र विश्‍वास देखाउनुपर्ने यस्तै बेला हो।”—प्रका. १३:१०.

यहोवाले सुम्पनुभएको काममा व्यस्त हुनुहोस्‌

१७. सैतानले परमेश्‍वरका सेवकहरूलाई आक्रमण गरे तापनि तिनीहरूले कस्तो मदत पाएका छन्‌?

१७ प्रकाश अध्याय १२ मा परमेश्‍वरका सेवकहरूले आसै नगरेको स्रोतबाट मदत पाउने कुरा सङ्‌केत गरिएको छ। यस अध्यायमा खेदोको “नदीलाई पृथ्वीले आफ्नो मुख खोलेर निल्यो” भनेर बताइएको थियो। (प्रका. १२:१६) हुन पनि त्यस्तै भएको छ। कहिलेकाहीँ सैतानको संसारका केही स्थिर तत्त्व, जस्तै: न्यायिक प्रणाली परमेश्‍वरका सेवकहरूको पक्षमा खडा भएको छ। तिनीहरूले थुप्रै मुद्दा जितेका छन्‌ र केही हदसम्म स्वतन्त्रता पाएका छन्‌। त्यो स्वतन्त्रता तिनीहरूले परमेश्‍वरले सुम्पनुभएको काम पूरा गर्न प्रयोग गरेका छन्‌। (१ कोरि. १६:९) यस काममा के-के समावेश छ?

परमेश्‍वरका सेवकहरूले कुन दुई वटा सन्देश सुनाइरहेका छन्‌? (अनुच्छेद १८-१९ हेर्नुहोस्‌)

१८. यस अन्तको दिनमा हाम्रो मुख्य काम के हो?

१८ अन्त आउनुअघि “[परमेश्‍वरको] राज्यको . . . सुसमाचार” उहाँका सेवकहरूले सारा पृथ्वीभरि सुनाउनेछन्‌ भनेर येसुले भविष्यवाणी गर्नुभयो। (मत्ति २४:१४) यस काममा तिनीहरूलाई स्वर्गदूतहरूले सघाइरहेका छन्‌। बाइबलमा हेर्ने हो भने एक जना स्वर्गदूतसित “हरेक राष्ट्र, कुल, भाषा र जातिलाई घोषणा गर्न . . . सदासर्वदा रहने सुसमाचार थियो” भनेर बताइएको छ।—प्रका. १४:६.

१९. परमेश्‍वरका सेवकहरूले अर्को कुन सन्देश सुनाउनुपर्छ?

१९ परमेश्‍वरका सेवकहरूले सुनाउने सन्देश परमेश्‍वरको राज्यको सुसमाचार मात्र होइन। तिनीहरूले प्रकाश अध्याय ८ देखि १० मा बताइएको स्वर्गदूतहरूको काममा पनि सघाउनुपर्छ। यी स्वर्गदूतहरू परमेश्‍वरको राज्यलाई इन्कार गर्ने मानिसहरूमाथि विपत्तिको घोषणा गर्छन्‌। बाइबलमा यस विपत्तिको सन्देशलाई “असिना र आगो”-सित तुलना गरिएको छ र यहोवाका साक्षीहरूले सैतानको संसारको विभिन्‍न भागमाथि परमेश्‍वरले ल्याउनुहुने न्यायदण्डबारे घोषणा गरिरहेका छन्‌। (प्रका. ८:७, १३) मानिसहरूले अन्त नजिकै छ भनेर थाह पाउनु महत्त्वपूर्ण छ। तब मात्र तिनीहरूले जीवनमा परिवर्तनहरू गर्न सक्छन्‌ र यहोवाको रिसको दिनमा जोगिन सक्छन्‌। (सप. २:२, ३) तर मानिसहरूलाई यो सन्देश मन पर्दैन। त्यसैकारण यो सन्देश सुनाउन हामीलाई साहस चाहिन्छ। महासङ्‌कष्टको बेला सुनाउने अन्तिम न्यायको सन्देश अझै कडा हुनेछ।—प्रका. १६:२१.

भविष्यवाणीका वचनहरू पालन गर्नुहोस्‌

२०. यसपछिका दुई वटा लेखमा हामी के छलफल गर्नेछौँ?

२० हामीले “भविष्यवाणीका वचनहरू” पालन गर्नु एकदमै जरुरी छ किनभने प्रकाशको किताबका भविष्यवाणीहरूको पूर्तिमा हामीले पनि भाग लिइरहेका छौँ। (प्रका. १:३) तर हामी कसरी वफादार भई खेदो सहन सक्छौँ र यी सन्देशहरू कसरी निडर भई घोषणा गरिरहन सक्छौँ? यसो गर्न हामीलाई यी दुई वटा कुराले बल दिनेछ: प्रकाशको किताबमा परमेश्‍वरका शत्रुहरूबारे प्रकट गरिएको कुराले र वफादार भइरह्‍यौँ भने भविष्यमा आशिष्‌हरू पाउनेछौँ भन्‍ने कुराले। यसबारे हामी यसपछिका दुई वटा लेखमा छलफल गर्नेछौँ।

गीत ३२ यहोवाको पक्ष लेऔँ!

^ आज हामी एकदमै रोमाञ्चकारी समयमा बाँचिरहेका छौँ। प्रकाशको किताबका भविष्यवाणीहरू अहिले हाम्रो समयमा पूरा भइरहेका छन्‌। ती भविष्यवाणीहरूले हामीलाई कसरी असर गर्छ? यो लेख र यसपछिका दुई वटा लेखमा हामी प्रकाशको किताबमा भएका केही कुरा बुझ्नेछौँ। यस किताबमा लेखिएका कुराहरू पालन गरेर यहोवा परमेश्‍वरलाई कसरी ग्रहणयोग्य तरिकामा उपासना चढाउन सक्छौँ भनेर यी लेखहरूबाट बुझ्नेछौँ।

^ नोभेम्बर १५, २०१४ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ ३० मा भएको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।