अध्ययन लेख २०
प्रकाशको किताबले परमेश्वरका शत्रुहरूबारे के बताउँछ?
“तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन भन्ने ठाउँमा जम्मा गरे।”—प्रका. १६:१६.
गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!
परिचय *
१. प्रकाशको किताबअनुसार सैतानले परमेश्वरका सेवकहरूलाई के गर्छ?
प्रकाशको किताबले परमेश्वरको स्वर्गीय राज्य स्थापना भइसक्यो र सैतान स्वर्गबाट फ्याँकिएको छ भनेर प्रकट गर्छ। (प्रका. १२:१-९) त्यसपछि स्वर्गमा रमाहट भयो तर हामीमाथि भने समस्या निम्तियो। किन? किनभने पृथ्वीमा वफादार भई यहोवाको सेवा गर्नेहरूसित सैतान असाध्यै रिसाएको छ र तिनीहरूलाई आक्रमण गर्छ।—प्रका. १२:१२, १५, १७.
२. वफादार रहिरहन हामीलाई केले मदत गर्छ?
२ सैतानले आक्रमण गर्दा वफादार रहिरहन हामीलाई केले मदत गर्छ? (प्रका. १३:१०) भविष्यमा के हुनेछ भनेर थाह पाउँदा हामी वफादार रहिरहन सक्छौँ। उदाहरणको लागि, प्रकाशको किताबमा प्रेषित युहन्नाले हामीले भविष्यमा पाउने केही आशिष्बारे बताएका छन्। तीमध्ये एउटा परमेश्वरका शत्रुहरूको विनाश हो। त्यसोभए प्रकाशको किताबले ती शत्रुहरूबारे र तिनीहरूलाई के हुनेछ भन्नेबारे के बताउँछ, जाँचौँ।
परमेश्वरका शत्रुहरूलाई “चिन्हहरूद्वारा” प्रकट गरिन्छ
३. प्रकाशको किताबमा परमेश्वरका शत्रुहरूलाई बुझाउन कस्ता चिन्हहरूबारे बताइएको छ?
३ प्रकाशको किताबमा लेखिएका कुराहरू “चिन्हहरूद्वारा” प्रकट गरिएका छन् भनेर यस किताबको सुरुकै पदमा बताइएको छ। (प्रका. १:१) यस किताबमा केही जङ्गली जनावरबारे बताइएको छ, जसले परमेश्वरका शत्रुहरूलाई बुझाउँछ। उदाहरणको लागि, “एउटा जङ्गली जनावर समुद्रबाट निस्केर” आउँछ र यसका “१० वटा सिङ र सात वटा टाउका” छन्। (प्रका. १३:१) ‘त्यसपछि अर्को एउटा जङ्गली जनावर पृथ्वीबाट निस्केर आउँछ।’ त्यसले अजिङ्गरले झैँ बोल्छ र “आकाशबाट पृथ्वीमा आगो झार्छ।” (प्रका. ) अनि “चहकिलो रातो रङ्गको जङ्गली जनावर” देखा पर्छ, जसमाथि एउटी वेश्या सवार छे। यी तीन वटा जङ्गली जनावरले यहोवा परमेश्वर र उहाँको राज्यविरुद्ध लामो समयदेखि युद्ध गरिरहेका शत्रुहरूलाई बुझाउँछ। त्यसैले हामीले ती शत्रुहरूलाई चिन्नु महत्त्वपूर्ण छ।— १३:११-१३प्रका. १७:१, ३.
४-५. दानिएल ७:१५-१७ ले प्रकाशको किताबका चिन्हहरूको अर्थ बुझ्न कसरी मदत गर्छ?
४ ती शत्रुहरू को हुन् भनेर थाह पाउनुअघि हामीले ती जङ्गली जनावरहरू र वेश्याले कसलाई चित्रण गर्छ भनेर बुझ्नु आवश्यक छ। यो कुरा बुझ्न हामीलाई बाइबलले मदत गर्छ। प्रकाशको किताबमा पाइने धेरैजसो चिन्हको अर्थ बाइबलका अरू किताबहरूमा पहिल्यै बताइएको छ। जस्तै, भविष्यवक्ता दानिएलले ‘समुद्रबाट चार वटा बडेमाका जनावर बाहिर निस्केको’ सपना देखे। (दानि. ७:१-३) यी बडेमाका जनावरहरूले चार “राजा” अर्थात् सरकारहरूलाई बुझाउँछ भनेर दानिएलले लेखे। (दानिएल ७:१५-१७ पढ्नुहोस्।) यस स्पष्ट व्याख्याले प्रकाशको किताबमा बताइएका जनावरहरूले पनि राजनैतिक शक्तिहरूलाई नै चित्रण गरेको हुनुपर्छ भनेर बुझ्न मदत गर्छ।
५ अब हामी प्रकाशको किताबका केही चिन्हबारे छलफल गरौँ। छलफलको क्रममा यी चिन्हहरूको अर्थ के हो भनेर बुझ्न बाइबलले कसरी मदत गर्छ, त्यो पनि हेर्नेछौँ। हामी ती जङ्गली जनावरहरूबारे एक-एक गरी विचार गर्नेछौँ। सुरुमा ती जङ्गली जनावरहरूले केलाई चित्रण गर्छ भनेर थाह पाउनेछौँ। त्यसपछि ती जङ्गली जनावरहरूलाई के हुनेछ भनेर बुझ्नेछौँ। अन्तमा यी घटनाहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ भनेर विचार गर्नेछौँ।
परमेश्वरका शत्रुहरू को हुन्?
६. प्रकाश १३:१-४ मा बताइएको सात वटा टाउको भएको जङ्गली जनावरले केलाई चित्रण गर्छ?
६ सात वटा टाउको भएको जङ्गली जनावरले केलाई चित्रण गर्छ? (प्रकाश १३:१-४ पढ्नुहोस्।) यस जनावरको शरीर चितुवाको जस्तो, खुट्टा भालुको जस्तो र मुखचाहिँ सिंहको जस्तो छ अनि यसका १० वटा सिङ छन्। यो जङ्गली जनावर दानिएल अध्याय ७ मा बताइएको चार वटा जङ्गली जनावरसित मिल्दोजुल्दो छ। प्रकाशको किताबको यो जनावर ती चार वटा जनावरका विभिन्न अङ्ग मिलेर बनेको छ। यस जनावरले एउटा मात्र सरकार वा एउटा मात्र विश्व साम्राज्यलाई चित्रण गर्दैन। यसले “हरेक कुल, जाति, भाषा र राष्ट्रमाथि” शासन गरिरहेको छ भनेर युहन्नाले बताएका छन्। त्यसैले यस जङ्गली जनावरले कुनै एउटा राष्ट्रको सरकारभन्दा अझ ठूलो शक्तिलाई बुझाएको हुनुपर्छ। (प्रका. १३:७) यसले मानव इतिहासको सुरुदेखि अहिलेसम्म मानिसजातिमाथि शासन गरेको सम्पूर्ण राजनैतिक शक्तिलाई बुझाएको हुनुपर्छ। *—उप. ८:९.
७. जङ्गली जनावरको प्रत्येक सात वटा टाउकोले केलाई चित्रण गर्छ?
७ जङ्गली जनावरको प्रत्येक सात वटा टाउकोले केलाई चित्रण गर्छ? यसको अर्थ बुझ्न मदत गर्ने एउटा सङ्केत प्रकाश अध्याय १७ मा पाउँछौँ, जहाँ प्रकाश अध्याय १३ मा बताइएको जङ्गली जनावरको मूर्तिबारे उल्लेख गरिएको छ। प्रकाश १७:१० मा यस्तो लेखिएको छ: “त्यसको अर्थ सात जना राजा हो: पाँच जनाको पतन भइसक्यो, एक जना अहिले अस्तित्वमा छ अनि अर्को एक जनाचाहिँ अस्तित्वमै आएको छैन तर त्यो आएपछि केही समय रहनै पर्छ।” सैतानले प्रयोग गरेको सम्पूर्ण राजनैतिक शक्तिमध्ये सात वटालाई “टाउको” भनिएको छ किनभने तिनीहरू धेरै शक्तिशाली थिए। ती राजनैतिक शक्तिहरू परमेश्वरका सेवकहरूमाथि ठूलो प्रभाव पारेका विश्वशक्तिहरू हुन्। तीमध्ये पाँच वटा प्रेषित युहन्ना जीवितै छँदा अस्तित्वमा आइसकेका थिए। ती हुन्: मिश्र, अस्सेरिया, बेबिलोन, मादी-फारस र ग्रीस। युहन्नाले दर्शन पाउँदा छैटौँ विश्वशक्ति रोमले शासन गर्दै थियो। त्यसोभए सातौँ टाउको अर्थात् अन्तिम विश्वशक्ति को हुने थियो?
८. जङ्गली जनावरको सातौँ टाउकोले केलाई चित्रण गर्छ?
८ दानिएलको किताबका भविष्यवाणीहरूले जङ्गली जनावरको सातौँ र अन्तिम टाउकोले केलाई चित्रण गर्छ भनेर बुझ्न मदत गर्छ। “प्रभुको दिनमा” अर्थात् हाम्रो समयमा कुन विश्वशक्तिले शासन गरिरहेको छ? (प्रका. १:१०) यो विश्वशक्ति बेलायत र अमेरिका मिलेर बनेको छ। यसलाई एङ्ग्लो-अमेरिकी विश्वशक्ति भनिन्छ। त्यसैले प्रकाश १३:१-४ मा उल्लेख गरिएको जङ्गली जनावरको सातौँ टाउकोले यही विश्वशक्तिलाई बुझाउँछ भन्ने निष्कर्षमा हामी पुग्न सक्छौँ।
९. ‘पाठोको जस्तै दुई वटा सिङ भएको’ जनावरले केलाई चित्रण गर्छ?
९ प्रकाश अध्याय १३ मा यस सातौँ टाउको अर्थात् एङ्ग्लो-अमेरिकी विश्वशक्तिले पनि ‘पाठोको जस्तै दुई वटा सिङ भएको तर अजिङ्गरले झैँ बोल्ने’ जङ्गली जनावरले जस्तै व्यवहार गर्छ। यस जनावरले “ठूलठूला चिन्हहरू देखाउँछ, यहाँसम्म कि सबै मानिसले देख्नेगरि त्यसले आकाशबाट पृथ्वीमा आगो झार्छ।” (प्रका. १३:११-१५) प्रकाश अध्याय १६ र १९ मा यस जङ्गली जनावरलाई “झूटो भविष्यवक्ता” भनिएको छ। (प्रका. १६:१३; १९:२०) दानिएलले पनि उस्तै कुरा बताएका छन्। तिनले बताएअनुसार एङ्ग्लो-अमेरिकी विश्वशक्तिले ‘घोर विध्वंस मच्चाउने थियो।’ (दानि. ८:१९, २३, २४) हुन पनि दोस्रो विश्वयुद्धमा यस्तै भयो। बेलायत र अमेरिकाका वैज्ञानिकहरू मिलेर बनाएको दुई वटा आणविक बम जापानमा खसालियो। यसरी ती बमहरूले विश्वयुद्ध अन्त गर्नमा निर्णायक भूमिका खेल्यो। यस अर्थमा एङ्ग्लो-अमेरिकी विश्वशक्तिले ‘आकाशबाट पृथ्वीमा आगो झाऱ्यो।’
१०. “जङ्गली जनावरको मूर्ति”-ले केलाई चित्रण गर्छ? (प्रकाश १३:१४, १५; १७:३, ८, ११)
१० त्यसपछि अर्को जङ्गली जनावर देखा पर्छ। यो हेर्दा सात वटा टाउको भएको जङ्गली जनावरजस्तै देखिन्छ तर यो चहकिलो रातो रङ्गको छ। यसलाई “जङ्गली जनावरको मूर्ति” र “आठौँ राजा” भनिएको छ। * (प्रकाश १३:१४, १५; १७:३, ८, ११ पढ्नुहोस्।) पहिला यो “राजा” अस्तित्वमा थियो, पछि हरायो अनि पुनः देखा पऱ्यो। यस व्याख्याबाट आठौँ राजाले संयुक्त राष्ट्र सङ्घलाई बुझाउँछ भन्न सक्छौँ, जसले विश्वव्यापी राजनैतिक प्रणालीको हितको लागि काम गर्छ। यो सुरुमा राष्ट्र सङ्घको रूपमा अस्तित्वमा थियो। तर दोस्रो विश्वयुद्धको दौडान हरायो र अहिले यो संयुक्त राष्ट्र सङ्घको रूपमा पुनः देखा परेको छ।
११. जङ्गली जनावरहरूले के गर्छन् तर हामी किन डराउनुपर्दैन?
११ ती जङ्गली जनावरहरूले अर्थात् राजनैतिक शक्तिहरूले झूटो अफवाह फैलाएर यहोवा र उहाँका जनहरूको विरोध गर्न मानिसहरूलाई उक्साउँछ। तिनीहरूले ‘पृथ्वीभरिका राजाहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनको लडाइँको निम्ति अर्थात् आरमागेडोनको युद्धको निम्ति जम्मा गर्छन्।’ (प्रका. १६:१३, १४, १६) तर हामी डराउनुपर्दैन। हाम्रो महान् परमेश्वर यहोवाले उहाँको शासनलाई समर्थन गर्नेहरूलाई जोगाउन तुरुन्तै कदम चाल्नुहुनेछ।—इज. ३८:२१-२३.
१२. सबै जङ्गली जनावरलाई के हुनेछ?
१२ सबै जङ्गली जनावरलाई के हुनेछ? प्रकाश १९:२० ले यस्तो जवाफ दिन्छ: “त्यो जङ्गली जनावर पक्राउ पऱ्यो र त्यसको अगाडि चिन्हहरू देखाउने झूटो भविष्यवक्ता पनि पक्राउ पऱ्यो। यो त्यही झूटो भविष्यवक्ता हो, जसले चिन्हहरू देखाएर जङ्गली जनावरको चिन्ह लिने अनि त्यसको मूर्तिको उपासना गर्ने मानिसहरूलाई बहकाउँथ्यो। अनि ती दुवैलाई गन्धकको अग्निकुण्डमा जिउँदै हुर्ऱ्याइयो।” त्यसैले परमेश्वरका यी राजनैतिक शत्रुहरूले शासन गरिरहेकै समयमा तिनीहरूलाई सदाका लागि नाश गरिनेछ।
१३. सरकारहरूले ख्रिष्टियनहरूलाई के गर्न दबाब दिन्छन्?
१३ यसले हाम्रो लागि कस्तो अर्थ राख्छ? हामी ख्रिष्टियनहरू परमेश्वर र उहाँको राज्यप्रति वफादार हुनुपर्छ। (युह. १८:३६) यसको लागि हामी संसारका राजनैतिक मामिलाहरूमा तटस्थ रहनुपर्छ। तर यसरी तटस्थ रहन पक्कै सजिलो छैन। किनभने संसारका सरकारहरू हामीले आफ्नो बोली र कामबाट तिनीहरूलाई पूर्णतया समर्थन गरेको चाहन्छन्। तिनीहरूको दबाबमा परेर त्यसो गर्नेहरूले त्यस जङ्गली जनावरको चिन्ह पाउँछन्। (प्रका. १३:१६, १७) तर यस्तो चिन्ह पाउनेहरूले यहोवाको अनुमोदन र अनन्त जीवनको आशा गुमाउँछन्। (प्रका. १४:९, १०; २०:४) त्यसैले सरकारहरूले जस्तोसुकै दबाब दिए तापनि हामी पूर्णतया तटस्थ रहनु एकदमै महत्त्वपूर्ण छ!
महावेश्याको अपमानजनक अन्त
१४. प्रकाश १७:३-५ अनुसार प्रेषित युहन्नाले कस्तो अचम्मको कुरा देख्छन्?
१४ प्रेषित युहन्ना आफूले देखेको अर्को कुराले गर्दा “असाध्यै आश्चर्यचकित” भएको बताउँछन्। तिनले के देख्छन्? तिनले एउटी स्त्री ती डरलाग्दा जनावरहरूमध्ये एउटामा सवार भएको देख्छन्। (प्रका. १७:१, २, ६) त्यस स्त्रीलाई “महावेश्या”-को रूपमा चित्रण गरिएको छ र “महान् बेबिलोन” पनि भनिएको छ। त्यसले ‘पृथ्वीका राजाहरूसित अवैध यौनसम्बन्ध राख्छे।’—प्रकाश १७:३-५ पढ्नुहोस्।
१५-१६. “महान् बेबिलोन” के हो र हामी किन यस्तो निष्कर्षमा पुग्न सक्छौँ?
१५ “महान् बेबिलोन” के हो? त्यस स्त्रीले राजनैतिक सङ्गठनलाई बुझाएको हुन सक्दैन किनभने त्यसले संसारका राजनैतिक नेताहरूसित अवैध यौनसम्बन्ध राख्छे भनेर बाइबलमा बताइएको छ। (प्रका. १८:९) त्यो स्त्री जङ्गली जनावरमाथि सवार भएको कुराले त्यसले संसारका शासकहरूमाथि अधिकार जमाउन खोज्ने कुरालाई बुझाउँछ। साथै त्यस स्त्रीले सैतानको संसारको लोभी व्यापारजगत्लाई पनि बुझाएको हुन सक्दैन। किनभने प्रकाशको अर्को विवरणमा व्यापारजगत्लाई “पृथ्वीका व्यापारीहरू”-को रूपमा वर्णन गरिएको छ।—प्रका. १८:११, १५, १६.
१६ बाइबलमा “वेश्या” शब्दले परमेश्वरको सेवा गरेको दाबी गर्ने तर कुनै किसिमको मूर्तिपूजामा भाग लिने वा संसारसित कुनै तरिकामा मित्रता गाँस्ने व्यक्तिहरूलाई बुझाउँछ। (१ इति. ५:२५; याकु. ४:४) अर्कोतर्फ, वफादार भएर परमेश्वरको उपासना गर्नेहरूलाई “चोखो कुमारी केटीको” रूपमा चित्रण गरिएको छ। (२ कोरि. ११:२; प्रका. १४:४) पुरातन बेबिलोन झूटो उपासनाको केन्द्र थियो। त्यसैले महान् बेबिलोनले सबै किसिमको झूटो उपासनालाई बुझाउँछ। वास्तवमा त्यो वेश्या झूटा धर्महरूको विश्व साम्राज्य हो।—प्रका. १७:५, १८; jw.org मा भएको “महान् बेबिलोन के हो?” भन्ने अङ्ग्रेजी लेख हेर्नुहोस्।
१७. महान् बेबिलोनलाई के हुनेछ?
१७ महान् बेबिलोनलाई के हुनेछ? प्रकाश १७:१६, १७ यसो भन्छ: “तिमीले देखेका ती दस वटा सिङ र त्यस जङ्गली जनावरले त्यस वेश्यालाई घृणा गर्नेछन् र त्यसलाई उजाड र नाङ्गो पार्नेछन् अनि त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पार्नेछन्। किनकि परमेश्वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ।” हो, झूटो धर्मको विश्व साम्राज्यलाई आक्रमण गरेर पूर्णतया नाश गर्नको लागि चहकिलो रातो रङ्गको जनावर अर्थात् संयुक्त राष्ट्र सङ्घलाई प्रयोग गर्न यहोवाले राष्ट्रहरूलाई उत्प्रेरित गर्नुहुनेछ।—प्रका. १८:२१-२४.
१८. हामी कसरी महान् बेबिलोनदेखि अलग रहन सक्छौँ?
१८ यसले हाम्रो लागि कस्तो अर्थ राख्छ? हामीले “हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना” गरिरहनुपर्छ। (याकु. १:२७) हामी झूटो धार्मिक शिक्षा, झूटो धर्मसित सम्बन्धित चाडपर्व, खस्केको नैतिक स्तर र प्रेतवाददेखि सधैँ अलग रहन्छौँ। साथै मानिसहरूलाई तिनीहरू महान् बेबिलोनको पापको भागीदार नहोऊन् भनेर ‘त्यसबाट निस्केर आउन’ चेतावनी पनि दिइरहन्छौँ।—प्रका. १८:४.
परमेश्वरको मुख्य शत्रुको विनाश
१९. ‘चहकिलो रातो रङ्गको ठूलो अजिङ्गर’ को हो?
१९ प्रकाशको किताबमा “चहकिलो रातो रङ्गको एउटा ठूलो अजिङ्गर”-बारे पनि बताइएको छ। (प्रका. १२:३) यसले येसु र उहाँका स्वर्गदूतहरूसित लडाइँ गर्छ। (प्रका. १२:७-९) यसले परमेश्वरका सेवकहरूलाई आक्रमण गर्छ र राजनैतिक शक्तिहरूलाई चित्रण गर्ने सात वटा टाउको भएको जनावरलाई अख्तियार दिन्छ। (प्रका. १२:१७; १३:४) यो अजिङ्गर को हो? यो ‘दियाबल अनि सैतान भनिने पुरानो सर्प’ हो। (प्रका. १२:९; २०:२) परमेश्वरका अरू सबै शत्रुलाई आफ्नो इसारामा नचाउने यही नै हो।
२०. अजिङ्गरलाई के हुनेछ?
२० अजिङ्गरलाई के हुनेछ? प्रकाश २०:१-३ मा एक जना स्वर्गदूतले सैतानलाई अगाध खाडलमा हुर्ऱ्याउनेछ भनेर बताइएको छ। त्यहाँ सैतान निष्क्रिय अवस्थामा रहनेछ; त्यसले ‘१ हजार वर्ष नबितेसम्म राष्ट्रहरूलाई बहकाउन पाउनेछैन।’ अन्तमा सैतान र त्यसका प्रेतहरूलाई ‘आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइनेछ।’ यसले तिनीहरू सदाका लागि नाश हुने कुरालाई बुझाउँछ। (प्रका. २०:१०) सैतान र त्यसका प्रेतहरूको कुनै प्रभाव नभएको संसारमा हामीलाई कत्ति हाइसन्चो होला!
२१. प्रकाशको किताबमा लेखिएका कुराहरू बुझेपछि हामी किन आनन्दित हुन सक्छौँ?
२१ प्रकाशको किताबमा लेखिएका यी चिन्हहरूको अर्थ बुझ्न पाउनु कत्ति प्रोत्साहनदायी कुरा! हामीले परमेश्वरका शत्रुहरू को हुन् र तिनीहरूलाई के हुनेछ भनेर थाह पायौँ। साँच्चै, “आनन्दित हो त्यो मानिस, जसले यस भविष्यवाणीका वचनहरू ठूलो स्वरमा पढेर सुनाउँछ अनि आनन्दित हुन् ती मानिसहरू, जसले ती सुन्छन्”! (प्रका. १:३) तर परमेश्वरका शत्रुहरू नाश भइसकेपछि वफादार मानिसहरूले कस्ता आशिष्हरू पाउनेछन्? यसबारे हामी यस शृङ्खलाको अन्तिम लेखमा छलफल गर्नेछौँ।
गीत २३ यहोवाको शासन सुरु
^ प्रकाशको किताबले परमेश्वरका शत्रुहरूलाई चिनाउन चिन्हहरूको प्रयोग गरेको छ। ती चिन्हहरूको अर्थ बुझ्न दानिएलको किताबले मदत गर्छ। यस लेखमा दानिएल र प्रकाशको किताबमा भएका केही मिल्दाजुल्दा भविष्यवाणी तुलना गरेर हेर्नेछौँ। यसबाट हामीले परमेश्वरका शत्रुहरू को हुन् र तिनीहरूलाई के हुनेछ भनेर थाह पाउनेछौँ।
^ सात वटा टाउको भएको जनावरले सम्पूर्ण राजनैतिक शक्तिलाई बुझाउँछ भनेर सङ्केत गर्ने अर्को आधार यसका “१० वटा सिङ” हुन्। बाइबलमा १० सङ्ख्याले अक्सर पूर्णतालाई बुझाउँछ।
^ सुरुको जङ्गली जनावरको जस्तै यस मूर्तिका सिङहरूमा मुकुट अथवा “ताज” छैन। (प्रका. १३:१) किनभने त्यो मूर्ति अरू “सात राजाबाट निस्कन्छ” र आफ्नो अख्तियारको लागि तिनीहरूमै निर्भर हुन्छ।—jw.org मा भएको “प्रकाश अध्याय १७ को चहकिलो रातो रङ्गको जङ्गली जनावरले केलाई बुझाउँछ?” भन्ने अङ्ग्रेजी लेख हेर्नुहोस्।