सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २२

हाम्रो जीवनलाई डोऱ्‍याइ दिने बुद्धि

हाम्रो जीवनलाई डोऱ्‍याइ दिने बुद्धि

“बुद्धि दिने यहोवा नै हुनुहुन्छ।”—हितो. २:६.

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

परिचय *

१. हामी सबैलाई किन परमेश्‍वरले दिनुहुने बुद्धि चाहिन्छ? (हितोपदेश ४:७)

 तपाईँले कुनै महत्त्वपूर्ण निर्णय गर्नुअघि पक्कै पनि बुद्धिको लागि यहोवालाई प्रार्थना गर्नुभएको थियो होला। (याकु. १:५) राजा सुलेमानले यस्तो लेखे: “बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” (हितोपदेश ४:७ पढ्‌नुहोस्‌।) यहाँ सुलेमानले मानव बुद्धिबारे कुरा गरिरहेका थिएनन्‌। तिनले यहोवाले दिनुहुने बुद्धिबारे बताइरहेका थिए। (हितो. २:६) तर के परमेश्‍वरले दिनुहुने बुद्धिले आज हामीलाई समस्याहरूसित जुझ्न मदत गर्छ? पक्कै गर्छ। तर कसरी? यो कुरा हामी यस लेखबाट बुझ्नेछौँ।

२. हामी बुद्धिमान्‌ हुन सक्ने एउटा तरिका के हो?

हामी बुद्धिमान्‌ हुन सक्ने एउटा तरिका भनेको एकदमै बुद्धिमान्‌ भनेर चिनिएका दुई पुरुषले दिएको शिक्षा अध्ययन गर्नु र त्यसलाई लागू गर्नु हो। सबैभन्दा पहिला हामी सुलेमानलाई विचार गर्नेछौँ। तिनीबारे बाइबल यसो भन्छ: “परमेश्‍वरले सुलेमानलाई अपार बुद्धि र समझशक्‍ति दिनुभयो।” (१ राजा ४:२९) त्यसपछि हामी येसुबारे विचार गर्नेछौँ, जससित अतुलनीय बुद्धि थियो। (मत्ति १२:४२) येसुबारे बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “यहोवाको शक्‍ति तिनमा बास गर्नेछ। त्यसैले तिनी बुद्धिमान्‌ र समझदार हुनेछन्‌।”—यसै. ११:२.

३. यस लेखमा हामी कुन कुरा विचार गर्नेछौँ?

परमेश्‍वरले सुलेमान र येसुलाई धेरै बुद्धि दिनुभएको थियो। त्यसैले उहाँहरूले हामीलाई महत्त्वपूर्ण विषयहरूमा व्यावहारिक सल्लाहहरू दिन सक्नुभयो। यस लेखमा हामी तीमध्ये तीन क्षेत्र—पैसा, काम र आफूप्रति सन्तुलित दृष्टिकोण राख्नेबारे विचार गर्नेछौँ।

पैसाप्रति सन्तुलित दृष्टिकोण

४. सुलेमान र येसुको आर्थिक अवस्था कस्तो थियो?

सुलेमान असाध्यै धनी थिए र तिनको जीवन ऐसआरामले भरिएको थियो। (१ राजा १०:७, १४, १५) अर्कोतर्फ येसुसित भने खासै केही थिएन; यहाँसम्म कि उहाँको आफ्नै घरसमेत थिएन। (मत्ति ८:२०) तर यी दुवै पुरुषले भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राखेका थिए किनभने यी दुवैको बुद्धिको स्रोत यहोवा परमेश्‍वर हुनुहुन्थ्यो।

५. पैसाप्रति सुलेमानको दृष्टिकोण कस्तो थियो?

सुलेमानले “रुपैयाँ-पैसाले सुरक्षा दिन्छ” भनेर बताए। (उप. ७:१२) हामीसित पैसा छ भने जीवनका आवश्‍यकताहरू र सायद केही चाहना पनि पूरा गर्न सक्छौँ। तर असाध्यै धनी सुलेमानले पनि पैसाभन्दा अझ महत्त्वपूर्ण कुराहरू छन्‌ भनेर बुझे। उदाहरणको लागि, तिनले यस्तो लेखे: “प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो।” (हितो. २२:१) साथै सुलेमानले धनसम्पत्तिलाई माया गर्ने मानिस कहिल्यै सन्तुष्ट हुँदैन भनेर याद गरे। (उप. ५:१०, १२) तिनले पैसा नै सबथोक हो भन्‍ने सोचाइ नराख्न पनि सजग गराए किनभने हामीसित जति नै धेरै धनसम्पत्ति भए तापनि त्यो कुनै पनि बेला गुम्न सक्छ।—हितो. २३:४, ५.

के हामीलाई भौतिक कुराप्रतिको हाम्रो दृष्टिकोणले परमेश्‍वरको राज्यलाई पहिलो स्थानमा राख्नदेखि बाधा पुऱ्‍याउँछ? (अनुच्छेद ६-७ हेर्नुहोस्‌) *

६. येसु भौतिक कुराहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्थ्यो? (मत्ति ६:३१-३३)

येसु भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहुन्थ्यो। उहाँलाई साथीभाइसित खानपिन गर्न रमाइलो लाग्थ्यो। (लुका १९:२, ६, ७) एकचोटि उहाँले चमत्कार गरेर असल दाखमद्य बनाउनुभयो; यो उहाँको पहिलो चमत्कार थियो। (युह. २:१०, ११) अनि उहाँको मृत्यु भएको दिनमा उहाँले असाध्यै महँगो लुगा लगाउनुभएको थियो। (युह. १९:२३, २४) तर येसुले भौतिक कुराहरूलाई जीवनमा पहिलो स्थानमा राख्नुभएन। उहाँले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन . . . तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।” (मत्ति ६:२४) परमेश्‍वरको राज्यलाई पहिलो स्थान दियौँ भने उहाँले हाम्रा आवश्‍यकताहरू पूरा गरिदिनुहुनेछ भनेर येसुले सिकाउनुभयो।मत्ति ६:३१-३३ पढ्‌नुहोस्‌।

७. पैसाप्रति सन्तुलित दृष्टिकोण राख्दा एक भाइले कस्तो लाभ उठाए?

पैसाको सन्दर्भमा परमेश्‍वरले दिनुभएको सल्लाह लागू गर्दा हाम्रा थुप्रै भाइबहिनीले लाभ उठाएका छन्‌। एक अविवाहित भाइ ड्यानिएलको उदाहरण विचार गरौँ। तिनी यसो भन्छन्‌: “मैले किशोर छँदा नै आध्यात्मिक कुराहरूलाई पहिलो स्थान दिने निर्णय गरेँ।” जीवन सरल बनाएकोले तिनले राहतकार्य अनि बेथेल सेवामा आफ्नो समय र सीप प्रयोग गर्न सकेका छन्‌। तिनी अझै यसो भन्छन्‌: “मलाई आफ्नो निर्णयमा कुनै पछुतो छैन। मैले पैसालाई प्राथमिकता दिएको भए पक्कै पनि धेरै पैसा कमाउन सक्थेँ होला। तर त्यसो गरेको भए मैले यत्ति राम्रा साथीहरू बनाउन सक्दिनथेँ होला। परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिएकोले मैले जुन सन्तुष्टि पाएको छु, त्यो पनि पाउँदिनथेँ होला। यहोवाले मलाई दिनुभएका आशिष्‌हरूलाई पैसासित दाँज्न मिल्दैन।” हो, पैसामा नभई आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गर्दा हामीले थुप्रै आशिष्‌ पाउँछौँ।

कामप्रति सन्तुलित दृष्टिकोण

८. सुलेमान कामप्रति सन्तुलित दृष्टिकोण राख्थे भनेर हामी किन भन्‍न सक्छौँ? (उपदेशक ५:१८, १९)

सुलेमानले परिश्रम गर्दा पाइने सन्तुष्टिलाई “परमेश्‍वरले दिनुहुने वरदान” भने। (उपदेशक ५:१८, १९ पढ्‌नुहोस्‌।) तिनले यस्तो लेखे: “मेहनतको फल मीठो हुन्छ।” (हितो. १४:२३) सुलेमानले यो कुरा आफ्नै अनुभवबाट बताइरहेका थिए। किनकि तिनी आफै पनि परिश्रमी कामदार थिए। तिनले महल, बगैँचा, पोखरी र सहरहरू बनाए अनि अङ्‌गुरका बगानहरू लगाए। (१ राजा ९:१९; उप. २:४-६) यस्तो कडा परिश्रमले तिनलाई केही हदसम्म सन्तुष्टि त दियो। तर यस्ता कामहरूले मात्र आनन्द दिन सक्दैन भनेर तिनलाई थाह थियो। तिनले आध्यात्मिक गतिविधिमा पनि भाग लिए। जस्तै: तिनले यहोवाको मन्दिर बनाउने कामको निरीक्षण गरे, जुन परियोजना सात वर्ष लामो थियो! (१ राजा ६:३८; ९:१) यी दुवै किसिमको काम गरेपछि सुलेमानले आध्यात्मिक गतिविधि नै सबैभन्दा महत्त्वपूर्ण हो भनेर बुझे। तिनले यस्तो लेखे: “त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्‍वरको भय मान र उहाँको आज्ञा पालन गर।”—उप. १२:१३.

९. येसुले आफ्नो कामलाई बढ्‌दै महत्त्व दिनुभएन भनेर हामी किन भन्‍न सक्छौँ?

येसु परिश्रमी कामदार हुनुहुन्थ्यो। जवान छँदा उहाँले सिकर्मीको काम गर्नुभयो। (मर्कु. ६:३) उहाँका आमाबुबाले पक्कै पनि उहाँको यस्तो मदतको मोल गर्थे किनकि तिनीहरूले आफ्नो ठूलो परिवारलाई पाल्न सङ्‌घर्ष गरिरहेका थिए। येसु त्रुटिरहित हुनुभएकोले उहाँको काम गुणस्तरीय हुन्थ्यो। त्यसैले मानिसहरूले उहाँलाई नै काम दिन खोज्थे होलान्‌। येसुलाई पक्कै पनि सिकर्मीको काम रमाइलो लाग्थ्यो। तर काममा व्यस्त हुनुभए तापनि उहाँले आध्यात्मिक कुराहरूको लागि समय छुट्ट्याउनुभयो। (युह. ७:१५) पूरै समय यहोवाको सेवामा लागेपछि उहाँले आफ्ना श्रोताहरूलाई यस्तो सल्लाह दिनुभयो: “नाश भएर जाने खानेकुराका लागि होइन तर सधैँभरि रहिरहने र तिमीहरूलाई अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर।” (युह. ६:२७) अनि डाँडाको उपदेशमा उहाँले यसो भन्‍नुभयो: “आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार।”—मत्ति ६:२०.

हामी काम र आध्यात्मिक गतिविधिबीच कसरी सन्तुलन कायम राख्न सक्छौँ? (अनुच्छेद १०-११ हेर्नुहोस्‌) *

१०. कसै-कसैले काममा कस्तो चुनौतीको सामना गर्न सक्छन्‌?

१० परमेश्‍वरले दिनुहुने बुद्धिले हामीलाई कामप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गर्छ। हामी ख्रिष्टियनहरूलाई ‘परिश्रम र असल काम’ गर्न सिकाइएको छ। (एफि. ४:२८) हाम्रा हाकिमहरूले हामी इमानदार र परिश्रमी भएको अक्सर याद गर्छन्‌ र हाम्रो काम गर्ने तरिकाको कदर गर्न सक्छन्‌। अनि हामी पनि हाकिममा यहोवाका साक्षीहरू असल मानिसहरू हुन्‌ भन्‍ने छाप परोस्‌ भनेर ओभरटाइम गर्न थाल्न सक्छौँ। तर हामीले चाँडै आफ्नो पारिवारिक जिम्मेवारी र आध्यात्मिक गतिविधिलाई बेवास्ता गर्न थालेको याद गर्न सक्छौँ। त्यसैले सन्तुलित हुन हामीले केही छाँटकाँट गर्नुपर्ने हुन्छ।

११. एक भाइले कामप्रति सन्तुलित दृष्टिकोण राख्ने सन्दर्भमा के सिके?

११ एक जवान भाइ विलियमले कामप्रति सन्तुलित दृष्टिकोण राख्नुको महत्त्व एक जना एल्डरको उदाहरणबाट सिके। विलियम ती एल्डरकहाँ काम गर्थे। तिनी यसो भन्छन्‌: “[उहाँ] सन्तुलित हुने सन्दर्भमा एउटा राम्रो उदाहरण हुनुहुन्छ। उहाँ निकै मेहनत गर्नुहुन्छ अनि काम राम्रो गर्ने भएकोले ग्राहकहरूसित पनि उहाँको राम्रो सम्बन्ध छ। तर दिनभरि काममा व्यस्त भए तापनि साँझपख भने परिवार र उपासनाको लागि उहाँ समय निकाल्नुहुन्छ। उहाँ निकै आनन्दित व्यक्‍ति हुनुहुन्छ!” *

आफूप्रति सन्तुलित दृष्टिकोण

१२. सुलेमानले आफूप्रति सन्तुलित दृष्टिकोण राखेको कसरी देखाए तर पछि के भयो?

१२ सुलेमान यहोवाको वफादार सेवक हुँदा तिनले आफूप्रति सन्तुलित दृष्टिकोण राखे। जवान छँदा तिनले नम्र भई आफ्ना सीमितताहरू स्विकारे र यहोवाको डोऱ्‍याइ खोजे। (१ राजा ३:७-९) आफ्नो शासनकालको सुरु-सुरुतिर तिनी घमन्डी हुनुका खतराहरूबारे सचेत थिए। तिनले यस्तो लेखे: “नाशको अघि घमन्ड अनि पतनको अघि अहङ्‌कार आउँछ।” (हितो. १६:१८) तर दुःखको कुरा, सुलेमान आफ्नै सल्लाह लागू गर्नदेखि चुके। राजा भएको केही समयपछि तिनले घमन्डी हुँदै यहोवाका आज्ञाहरूलाई बेवास्ता गर्न थाले। उदाहरणको लागि, व्यवस्थामा हिब्रू राजाले “धेरै पत्नी नल्याऊन्‌ नत्र त तिनको मन बरालिनेछ” भनेर बताइएको थियो। (व्यव. १७:१७) सुलेमानले त्यस आज्ञालाई बेवास्ता गर्दै ७०० पत्नी र ३०० उपपत्नी ल्याए, जसमध्ये थुप्रै मूर्तिपूजक थिए। (१ राजा ११:१-३) सायद सुलेमानलाई ‘तिनीहरूले मलाई केही असर गर्न सक्दैन’ भन्‍ने लागेको हुन सक्छ। तर कारण जेसुकै होस्‌, यहोवाको आज्ञा उल्लङ्‌घन गर्दा तिनले त्यसको नतिजा भोग्नुपऱ्‍यो।—१ राजा ११:९-१३.

१३. येसुले देखाउनुभएको नम्रताबाट हामी के सिक्न सक्छौँ?

१३ येसुले आफूप्रति सन्तुलित दृष्टिकोण कायम राख्नुभयो र आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍नुभएन। पृथ्वीमा आउनुअघि उहाँले ठूलठूला कामहरू गर्नुभएको थियो। “उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए।” (कल. १:१६) उहाँले बप्तिस्माको बेला आफ्नो बुबासँगै हुँदा गरेका कामहरू सम्झनुभएको हुनुपर्छ। (मत्ति ३:१६; युह. १७:५) तैपनि उहाँ घमन्डले फुल्नुभएन अनि आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍नुभएन। उहाँले चेलाहरूलाई आफू “सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” आएको हुँ भनेर बताउनुभयो। (मत्ति २०:२८) साथै उहाँले आफूखुसी केही पनि गर्न सक्दिनँ भन्‍नुभयो। (युह. ५:१९) साँच्चै येसु कत्ति नम्र हुनुहुन्थ्यो! उहाँले हाम्रो निम्ति उत्कृष्ट उदाहरण बसाल्नुभयो।

१४. आफूप्रति उचित दृष्टिकोण राख्नेबारे हामी येसुबाट के सिक्न सक्छौँ?

१४ येसुले आफ्ना अनुयायीहरूलाई आफूप्रति उचित दृष्टिकोण राख्न सिकाउनुभयो। एकचोटि उहाँले तिनीहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्‌।” (मत्ति १०:३०) येसुले यहाँ स्वर्गमा हुनुहुने बुबा हाम्रो गहिरो चासो राख्नुहुन्छ र हामीलाई अनमोल ठान्‍नुहुन्छ भन्‍न खोज्दै हुनुहुन्थ्यो। हामी आफैप्रति नकारात्मक दृष्टिकोण राख्ने झुकाव छ भने येसुको यो कुराबाट सान्त्वना पाउन सक्छौँ। यहोवा हामीलाई उहाँको उपासना गर्न र अनन्त जीवन पाउन योग्य ठान्‍नुहुन्छ। तर हामी आफूलाई अयोग्य ठान्छौँ भने यहोवालाई नै गलत ठहराउन खोजिरहेका हुन्छौँ।

आफूलाई बढ्‌तै महत्त्व दिँदा हामी कस्ता सुअवसर र आशिष्‌हरूबाट वञ्चित हुन सक्छौँ? (अनुच्छेद १५ हेर्नुहोस्‌) *

१५. (क) आफूप्रति सन्तुलित दृष्टिकोण राख्ने सन्दर्भमा प्रहरीधरहरा-ले कस्तो सल्लाह दिएको थियो? (ख) माथिको तस्बिरमा देखाइएझैँ आफूमा बढ्‌तै ध्यान दिँदा हामी कस्ता आशिष्‌हरूबाट वञ्चित हुन सक्छौँ?

१५ आफूप्रति सन्तुलित दृष्टिकोण राख्ने सन्दर्भमा १५ वर्षअघिको एउटा प्रहरीधरहरा-मा यसो भनिएको थियो: “हो, हामी आफूलाई उच्च ठान्दै न घमन्डी बन्छौँ न त निकम्मा नै ठान्छौँ। हाम्रो लक्ष्य आफ्नो बल र सीमिततालाई चिनेर व्यावहारिक दृष्टिकोण खेती गर्ने हुनुपर्छ। यसबारे एक जना मसीही स्त्रीले यसो भनिन्‌: ‘न म संसारकै सबैभन्दा खराब व्यक्‍ति हुँ न त विशेष खालको व्यक्‍ति नै हुँ। मसित अरू सबैसित भए जस्तै असल र खराब दुवै गुणहरू छन्‌।’” * आफूप्रति किन सन्तुलित दृष्टिकोण राख्नुपर्छ भनेर हामीले यसबाट राम्ररी बुझ्न सक्छौँ।

१६. यहोवा हामीलाई किन बुद्धिमानी डोऱ्‍याइ दिनुहुन्छ?

१६ यहोवा आफ्नो वचनमार्फत हामीलाई बुद्धिमानी डोऱ्‍याइ दिनुहुन्छ। उहाँ हामीलाई माया गर्नुहुन्छ र हामी आनन्दित भएको चाहनुहुन्छ। (यसै. ४८:१७, १८) यहोवालाई जीवनमा पहिलो स्थान दिनु नै बुद्धिमानी मार्ग हो। यसो गर्दा हामीले अपार आनन्द पाउन सक्छौँ अनि पैसा, काम र आफूप्रति बढ्‌तै ध्यान दिँदा आइपर्न सक्ने समस्याहरूबाट जोगिन सक्छौँ। त्यसैले बुद्धिमान्‌ हुने र यहोवाको हृदयलाई खुसी बनाउने सङ्‌कल्प गरौँ!—हितो. २३:१५.

गीत ९४ परमेश्‍वरको वचनप्रति कृतज्ञ

^ सुलेमान र येसु दुवै जना बुद्धिमान्‌ हुनुहुन्थ्यो। उहाँहरूको बुद्धिको स्रोत यहोवा परमेश्‍वर हुनुहुन्थ्यो। यस लेखमा पैसा, काम र आफूप्रति सन्तुलित दृष्टिकोण राख्न सुलेमान र येसुले दिनुभएको सल्लाहले हामीलाई कसरी मदत गर्न सक्छ भनेर बुझ्नेछौँ। यी क्षेत्रहरूमा बाइबलआधारित सल्लाह लागू गर्दा हाम्रा केही भाइबहिनीले कसरी लाभ उठाएका छन्‌ भनेर पनि विचार गर्नेछौँ।

^ फेब्रुअरी १, २०१५ अङ्‌कको प्रहरीधरहरा-को “तपाईँ आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अगस्त १, २००५ अङ्‌कको प्रहरीधरहरा-को “आनन्द भेट्टाउन बाइबलले तपाईँलाई मदत गर्न सक्छ” भन्‍ने लेख हेर्नुहोस्‌।

^ तस्बिरको व्याख्या: जोन र टम दुवै जना एउटै मण्डलीमा सेवा गर्छन्‌। जोन आफ्नो गाडीलाई ठीक अवस्थामा राख्नमै बढ्‌ता समय बिताउँछन्‌। टम अरूलाई क्षेत्र सेवा र सभामा लैजान आफ्नो गाडी प्रयोग गर्छन्‌।

^ तस्बिरको व्याख्या: जोन ओभरटाइम गर्दै छन्‌। तिनी आफ्नो हाकिमलाई खुसी बनाउन चाहन्छन्‌। त्यसैले हाकिमले ओभरटाइम गर्न भन्दा तिनी सधैँ राजी हुन्छन्‌। सोही साँझ टम (सहायक सेवक) मण्डलीका एल्डरसँग गोठालो भेटमा जान्छन्‌। टमले पहिल्यै आफ्नो हाकिमलाई हप्ताको केही साँझ आध्यात्मिक गतिविधिको लागि छुट्ट्याएको कुरा बताइसकेका छन्‌।

^ तस्बिरको व्याख्या: जोन आफूलाई बढ्‌तै ध्यान दिन्छन्‌। टम भने आध्यात्मिक गतिविधिलाई प्रथम स्थानमा राख्छन्‌। सम्मेलनभवनको मर्मतसम्भारमा भाग लिँदा उनले असल साथीहरू बनाउन सकेका छन्‌।