सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २०

आफ्नो प्रार्थनाको गुणस्तर बढाउनुहोस्‌

आफ्नो प्रार्थनाको गुणस्तर बढाउनुहोस्‌

“तिमीहरूको मनको बह उहाँलाई पोखाओ।”—भज. ६२:८.

गीत ४५ मेरो चिन्तन

परिचय a

हामी नियमित रूपमा यहोवालाई प्रार्थना गर्न सक्छौँ र जीवनको हरेक क्षेत्रमा उहाँको डोऱ्‍याइ खोज्न सक्छौँ (अनुच्छेद १ हेर्नुहोस्‌)

१. यहोवा आफ्ना उपासकहरूलाई के गर्न आग्रह गर्नुहुन्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

 सान्त्वना र डोऱ्‍याइ चाहिँदा हामी कसको मदत खोज्छौँ? हामीलाई यस प्रश्‍नको जवाफ थाह छ। हो, हामी प्रार्थनामार्फत यहोवाको मदत खोज्छौँ। अनि उहाँ हामीलाई प्रार्थना गर्न आग्रह पनि गर्नुहुन्छ। उहाँ हामीले “निरन्तर प्रार्थना” गरेको चाहनुहुन्छ। (१ थिस्स. ५:१७) हामी प्रार्थनामा उहाँसित खुलस्त कुरा गर्न सक्छौँ र जीवनको हरेक क्षेत्रमा उहाँको डोऱ्‍याइ खोज्न सक्छौँ। (हितो. ३:५, ६) यहोवा उदार परमेश्‍वर हुनुहुन्छ, त्यसैले हामी उहाँलाई जुनसुकै बेला अनि जति पटक पनि प्रार्थना गर्न सक्छौँ।

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामी प्रार्थना गर्ने सुअवसरलाई अनमोल ठान्छौँ। तर दैनिक कामकुरामा व्यस्त भएकोले हामीलाई प्रार्थना गर्ने समय निकाल्न गाह्रो लाग्न सक्छ। साथै हामीले प्रार्थनाको गुणस्तर बढाउनुपर्ने महसुस गरेका छौँ होला। खुसीको कुरा, यस सन्दर्भमा हामी आवश्‍यक प्रोत्साहन र डोऱ्‍याइ बाइबलमा पाउन सक्छौँ। यस लेखमा प्रार्थनाको लागि समय निकाल्ने सन्दर्भमा येसुबाट के सिक्न सक्छौँ भनेर विचार गर्नेछौँ। साथै प्रार्थनामा पाँच वटा महत्त्वपूर्ण विषय समावेश गर्दा यसको गुणस्तर कसरी बढाउन सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

येसुले प्रार्थनाको लागि समय छुट्ट्याउनुभयो

३. येसुलाई प्रार्थनाबारे कुन कुरा थाह थियो?

यहोवा आफ्ना उपासकहरूको प्रार्थनाको मोल गर्नुहुन्छ भनेर येसुलाई थाह थियो। येसु स्वर्गमा हुनुहुँदा आफ्नो बुबाले वफादार पुरुष तथा स्त्रीहरूको प्रार्थनाको जवाफ दिनुभएको येसुले देख्नुभएको थियो। जस्तै: हन्‍ना, दाउद, एलिया र अन्य थुप्रै वफादार सेवकले मनदेखि गरेको प्रार्थनाको जवाफ दिनुहुँदा उहाँ बुबासँगै हुनुहुन्थ्यो। (१ समु. १:१०, ११, २०; १ राजा १९:४-६; भज. ३२:५) त्यसैले येसुले चेलाहरूलाई निरन्तर अनि विश्‍वस्त हुँदै प्रार्थना गर्न सिकाउनुभयो।—मत्ति ७:७-११.

४. येसुका प्रार्थनाहरूबाट हामी के सिक्न सक्छौँ?

येसुका प्रार्थनाहरूबाट उहाँका चेलाहरूले सिक्न सक्थे। उहाँले सेवाको कामको अवधिभरि थुप्रै पटक प्रार्थना गर्नुभयो। उहाँ धेरैजसो व्यस्त हुनुहुन्थ्यो र उहाँको वरिपरि धेरै मानिस झुम्मिरहेका हुन्थे। त्यसैले उहाँले प्रार्थनाको लागि समय छुट्ट्याउनुभयो। (मर्कु. ६:३१, ४५, ४६) जस्तै: एकान्तमा प्रार्थना गर्न उहाँ बिहान झिसमिसेमै उठ्‌नुभयो। (मर्कु. १:३५) एकचोटि त उहाँले एउटा महत्त्वपूर्ण निर्णय गर्नुअघि पूरै रात प्रार्थना गर्नुभयो। (लुका ६:१२, १३) उहाँले आफ्नो मृत्युको अघिल्लो रात बारम्बार प्रार्थना गर्नुभयो किनभने उहाँ आफूले पाएको सबैभन्दा कठिन जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुहुन्थ्यो।—मत्ति २६:३९, ४२, ४४.

५. प्रार्थनाको सन्दर्भमा हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

जति नै व्यस्त भए पनि प्रार्थना गर्न समय निकाल्नुपर्छ भनेर येसुको उदाहरणबाट सिक्न सक्छौँ। येसुले जस्तै हामीले पनि प्रार्थनाको लागि निश्‍चित समय छुट्ट्याउनुपर्ने हुन सक्छ। त्यसको लागि बिहान सबेरै उठ्‌न सक्छौँ वा राती प्रार्थना गरेपछि मात्र सुत्न सक्छौँ। यसो गर्दा हामीले यस अमूल्य उपहारको मोल गरेको यहोवालाई देखाइरहेका हुन्छौँ। प्रार्थना गर्ने सुअवसरबारे पहिलो पटक थाह पाउँदा लिन्‌ बहिनी एकदमै कृतज्ञ भएकी थिइन्‌। तिनी यसो भन्छिन्‌: “म यहोवासित जुनसुकै बेला पनि कुरा गर्न सक्छु भनेर थाह पाउँदा उहाँ मलाई एकदमै मिल्ने साथीजस्तो लाग्यो। साथै आफ्नो प्रार्थनाको गुणस्तर बढाउनुपर्छ भनेर पनि महसुस भयो।” हामीमध्ये धेरैले यस्तै महसुस गरेका छौँ। त्यसोभए आउनुहोस्‌, प्रार्थनामा समावेश गर्न सकिने पाँच महत्त्वपूर्ण विषयबारे विचार गरौँ।

पाँच महत्त्वपूर्ण विषय

६. प्रकाश ४:१०, ११ अनुसार यहोवा के पाउन योग्य हुनुहुन्छ?

यहोवाको प्रशंसा गर्नुहोस्‌। एउटा आश्‍चर्यलाग्दो दर्शनमा प्रेषित युहन्‍नाले स्वर्गमा २४ जना एल्डरले यहोवाको उपासना गरिरहेको देखे। तिनीहरूले यहोवा “महिमा, आदर अनि शक्‍ति” पाउन योग्य हुनुहुन्छ भन्‍ने कुरा स्विकार्दै उहाँको प्रशंसा गरे। (प्रकाश ४:१०, ११ पढ्‌नुहोस्‌।) वफादार स्वर्गदूतहरूसित पनि उहाँको प्रशंसा र आदर गर्ने थुप्रै कारण छन्‌। तिनीहरू स्वर्गमा परमेश्‍वरसँगै भएकोले तिनीहरूले उहाँलाई राम्ररी चिन्‍ने मौका पाएका छन्‌। उहाँले गर्नुहुने कामहरूमा उहाँका गुणहरू प्रकट भएको तिनीहरूले देख्न सक्छन्‌। यसरी उहाँका कामहरू देख्दा तिनीहरू उहाँको प्रशंसा गर्न उत्प्रेरित हुन्छन्‌।—अय्यु. ३८:४-७.

७. हामी कुन कुराको लागि यहोवाको प्रशंसा गर्न सक्छौँ?

हामीले पनि प्रार्थनामा यहोवाको प्रशंसा गर्नुपर्छ। हामीले प्रार्थनामा यहोवाबारे कुन कुरा मन पर्छ र हामी किन उहाँको आदर गर्छौँ भनेर बताउन सक्छौँ। कुनै बाइबल विवरण पढ्‌दा तपाईँलाई यहोवाको कुन गुण सबैभन्दा मन पऱ्‍यो, पत्ता लगाउने कोसिस गर्नुहोस्‌। (अय्यु. ३७:२३; रोमी ११:३३) त्यसपछि ती गुणहरूबारे थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो, बताउनुहोस्‌। यहोवाले हामी र हाम्रा दाजुभाइ दिदीबहिनीलाई गरिरहनुभएको मदतको लागि पनि उहाँको प्रशंसा गर्न सक्छौँ। उहाँ निरन्तर हाम्रो ख्याल राख्नुहुन्छ र हाम्रो रक्षा गर्नुहुन्छ।—१ समु. १:२७; २:१, २.

८. हामी कस्ता कुराहरूको लागि यहोवालाई धन्यवाद चढाउन सक्छौँ? (१ थिस्सलोनिकी ५:१८)

यहोवालाई धन्यवाद चढाउनुहोस्‌। हामीसित यहोवालाई धन्यवाद चढाउन सक्ने थुप्रै कारण छन्‌। (१ थिस्सलोनिकी ५:१८ पढ्‌नुहोस्‌।) हामीसँग भएको जुनसुकै असल कुराको लागि हामी उहाँलाई धन्यवाद चढाउन सक्छौँ किनकि हरेक असल वरदान उहाँबाट नै आएको हो। (याकु. १:१७) जस्तै: हामी सुन्दर पृथ्वी र यसमा भएका अचम्मका कुराहरूको लागि कृतज्ञता व्यक्‍त गर्न सक्छौँ। साथै हामीले पाएको जीवन, परिवार, साथीभाइ र भविष्यको आशाको लागि धन्यवाद दिन सक्छौँ। परमेश्‍वरसित अनमोल मित्रता गाँस्न पाएकोमा पनि हामी आभार व्यक्‍त गर्न सक्छौँ।

९. यहोवाप्रति कृतज्ञ हुन किन सिकिरहनुपर्छ?

यहोवाप्रति कृतज्ञ हुन सक्ने कारणहरूबारे सोच्न हामीले अझ धेरै प्रयास गर्नुपर्ने हुन सक्छ। किनकि हामी बैगुनी संसारमा बाँचिरहेका छौँ। मानिसहरू प्रायजसो आफूसँग भएका कुराहरूप्रति कृतज्ञ हुनुको साटो आफ्ना चाहनाहरू पूरा गर्ने कुरामा केन्द्रित छन्‌। यस्तो मनोभावले हामीलाई पनि असर गर्न सक्छ, जसले गर्दा हामी हरेक चोटि प्रार्थना गर्दा आफूलाई चाहिएको कुरा मात्र मागिरहेका हुन सक्छौँ। यस्तो मनोभावदेखि जोगिन यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूप्रति कृतज्ञ हुन सिकिरहनुपर्छ र त्यसलाई व्यक्‍त गरिरहनुपर्छ।—लुका ६:४५.

यहोवाले दिनुभएका कुराहरूको लागि धन्यवाद चढाउँदा हामीले सहने बल पाउँछौँ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. धन्यवादी मनोभावले एक बहिनीलाई कठिनाइ सहन कसरी मदत गऱ्‍यो? (तस्बिर पनि हेर्नुहोस्‌।)

१० धन्यवादी मनोभावले हामीलाई कठिनाइहरू सहन पनि मदत गर्न सक्छ। जनवरी १५, २०१५ अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित क्युङ-सुकको अनुभव विचार गरौँ। तिनको फोक्सोमा क्यान्सर भएको पत्ता लाग्यो। तिनी भन्छिन्‌: “मलाई क्यान्सर भएको थाह पाउँदा छाँगाबाट खसेको जस्तै भएँ। अब सबै कुरा सिद्धियो जस्तो लाग्यो। मलाई के गरूँ कसो गरूँ भयो।” क्युङ-सुकलाई यस्तो परिस्थितिको सामना गर्न केले मदत गऱ्‍यो? हरेक रात सुत्नुअघि तिनी कौसीमा जान्थिन्‌ र ठूलो स्वरले प्रार्थना गर्थिन्‌। तिनी त्यो दिन यहोवाप्रति कृतज्ञ हुन सकेका पाँच वटा कुराको लागि उहाँलाई धन्यवाद चढाउँथिन्‌। यसले गर्दा तिनको मन हलुका हुन्थ्यो र तिनी यहोवाप्रतिको आफ्नो प्रेम व्यक्‍त गर्न उत्प्रेरित हुन्थिन्‌। साथै तिनले यहोवा आफ्ना वफादार सेवकहरूलाई गाह्रो परिस्थितिमा कसरी सम्हाल्नुहुन्छ भनेर बुझिन्‌। हामीले भोग्नुपरेका दुःखहरूभन्दा हामीले पाएका आशिष्‌हरू कता हो कता धेरै छन्‌ भनेर पनि तिनले थाह पाइन्‌। क्युङ-सुकसित जस्तै हामीसित पनि परीक्षाहरूको बाबजुद यहोवाप्रति कृतज्ञ हुन सक्ने थुप्रै कारण छन्‌। प्रार्थनामा कृतज्ञता व्यक्‍त गर्दा हामीले परीक्षा सहन र मनोशान्ति कायम राख्न मदत पाउन सक्छौँ।

११. येसु स्वर्गमा फर्कनुभएपछि चेलाहरूलाई किन साहस चाहिन्थ्यो?

११ साक्षीकार्यमा लागिरहन यहोवासित साहस माग्नुहोस्‌। स्वर्गमा फर्कनुअघि येसुले चेलाहरूलाई “यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” उहाँबारे साक्षी दिने जिम्मेवारी सुम्पनुभयो। (प्रेषि. १:८; लुका २४:४६-४८) त्यसको केही समयपछि यहुदी धर्मगुरुहरूले प्रेषित पत्रुस र युहन्‍नालाई पक्रे अनि यहुदी न्यायपरिषद्‌सामु ल्याए। अनि यी वफादार पुरुषहरूलाई साक्षीकार्य बन्द गर्नू भनी आज्ञा दिए र धम्की दिएर छोडिदिए। (प्रेषि. ४:१८, २१) यस्तो बेला पत्रुस र युहन्‍नाले के गरे?

१२. प्रेषित ४:२९, ३१ अनुसार चेलाहरूले के गरे?

१२ पत्रुस र युहन्‍नाले यहुदी धर्मगुरुहरूलाई यस्तो जवाफ दिए: “परमेश्‍वरको नजरमा कुन ठीक हो, तपाईँहरूको कुरा सुन्‍नु कि परमेश्‍वरको, तपाईँहरू आफै निर्णय गर्नुहोस्‌। तर जहाँसम्म हाम्रो कुरा छ, हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।” (प्रेषि. ४:१९, २०) पत्रुस र युहन्‍ना कैदबाट छुटेपछि चेलाहरूले यहोवाको इच्छाअनुसार गर्न सकौँ भनेर उत्कट बिन्ती चढाए। तिनीहरूले यस्तो प्रार्थना गरे: “आफ्ना सेवकहरूलाई अझ निर्भयी भएर तपाईँको वचन बोलिरहन मदत गर्नुहोस्‌।” यहोवाले पनि तिनीहरूले मनदेखि गरेको प्रार्थनाको जवाफ दिनुभयो।—प्रेषित ४:२९, ३१ पढ्‌नुहोस्‌।

१३. जिन ह्‍युकको अनुभवबाट हामी के सिक्न सक्छौँ?

१३ अख्तियारवालाहरूले साक्षीकार्य बन्द गर्ने आदेश दिँदा समेत त्यसमा लागिरहेर हामी चेलाहरूको अनुकरण गर्न सक्छौँ। सेनामा भर्ती हुन इन्कार गरेकोले झ्यालखानामा परेका भाइ जिन ह्‍युकको अनुभव विचार गरौँ। त्यहाँ तिनलाई एकल कारावासमा राखिएका कैदीहरूलाई खानेकुरा र अन्य आवश्‍यक कुरा लगिदिने काम दिइएको थियो। तिनले ती कैदीहरूसित तिनीहरूलाई के-कस्ता कुराहरू चाहिन्छ भन्‍नेबारे मात्र कुरा गर्न सक्थे। तिनलाई बाइबलबारे कुरा गर्न निषेध गरिएको थियो। तिनले मौका पाउनेबित्तिकै साहसी भई र कुशलतासाथ सुसमाचार सुनाउन सकूँ भनेर प्रार्थना गरे। (प्रेषि. ५:२९) तिनी भन्छन्‌: “झ्यालखानाभित्र मैले थुप्रैसित बाइबल अध्ययन सुरु गर्न सकेँ। म तिनीहरूलाई ढोकैमा पाँच मिनेट अध्ययन गराउँथेँ। यस्तो साहस र बुद्धि दिनुभएर यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभयो। अनि राती-रातीचाहिँ म चिठीहरू लेख्थेँ र भोलिपल्ट अरू कैदीहरूलाई दिन्थेँ।” सेवाको काम पूरा गर्न यहोवाले मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी पनि विश्‍वस्त हुन सक्छौँ। अनि जिन ह्‍युकले जस्तै साहस र बुद्धिको लागि प्रार्थना गर्न सक्छौँ।

१४. समस्याहरूको सामना गर्न केले मदत गर्न सक्छ? (भजन ३७:३, ५)

१४ समस्याहरूको सामना गर्न यहोवासित मदत माग्नुहोस्‌। हामीमध्ये थुप्रैले स्वास्थ्य वा भावनात्मक समस्या, प्रियजनको मृत्यु, पारिवारिक समस्या, खेदो वा अन्य कठिनाइहरूको सामना गरिरहेका छौँ। अझ महामारी र युद्धजस्ता कुराहरूले जीवनलाई अझै कष्टकर बनाइदिएको छ। यस्तो बेला यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌। मन मिल्ने साथीलाई जस्तै यहोवालाई आफ्नो अवस्थाबारे बताउनुहोस्‌। उहाँले “[हाम्रो] निम्ति कदम चाल्नुहुनेछ” भनेर ढुक्क हुनुहोस्‌।—भजन ३७:३,  पढ्‌नुहोस्‌।

१५. प्रार्थनाले कसरी ‘सङ्‌कष्ट आइपर्दा सहन’ मदत गर्छ? एउटा उदाहरण बताउनुहोस्‌।

१५ प्रार्थनामा लागिरह्‍यौँ भने हामीले ‘सङ्‌कष्ट आइपर्दा सहने’ बल पाउनेछौँ। (रोमी १२:१२) यहोवा आफ्ना सेवकहरूले कस्ता अवस्थाहरूको सामना गर्दै छन्‌ भनेर जान्‍नुहुन्छ र “उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ।” (भज. १४५:१८, १९) उनन्तीस वर्षीया अग्रगामी बहिनी कृष्टीले यो कुरा अनुभव गरिन्‌। तिनमा अचानक एउटा गम्भीर स्वास्थ्य समस्या देखा पऱ्‍यो। यसले गर्दा तिनी धेरै निराश भइन्‌। पछि तिनकी आमालाई पनि एउटा प्राणघातक रोग लाग्यो। कृष्टी भन्छिन्‌: “त्यतिबेला म हरेक दिन यहोवालाई बलको लागि व्यग्र प्रार्थना गर्थेँ। नियमित रूपमा सभाहरूमा उपस्थित भएर र व्यक्‍तिगत अध्ययन गरेर मैले आफ्नो आध्यात्मिक तालिका कायम राख्ने कोसिस गरेँ।” तिनी अझै यसो भन्छिन्‌: “ती दुःखका दिनहरू सहन मलाई प्रार्थनाले मदत गऱ्‍यो। यहोवा सधैँ मेरो साथमा हुनुहुन्छ भन्‍ने कुराले मलाई धेरै सान्त्वना दियो। मेरो स्वास्थ्य समस्या तुरुन्तै नहटे पनि मलाई मनोशान्ति दिनुभएर यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभयो।” हामी सधैँ यो कुरा मनमा राखौँ: “परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने . . . , सो यहोवा परमेश्‍वर जान्‍नुहुन्छ।”—२ पत्रु. २:९.

प्रलोभनहरूको प्रतिरोध गर्न (१) यहोवासित मदत माग्नुहोस्‌, (२) प्रार्थनाअनुसार कदम चाल्नुहोस्‌ र (३) यहोवासितको सम्बन्धलाई बलियो बनाउनुहोस्‌ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६. प्रलोभनहरूको प्रतिरोध गर्न हामीलाई किन यहोवाको मदत चाहिन्छ?

१६ प्रलोभनहरूको प्रतिरोध गर्न यहोवासित मदत माग्नुहोस्‌। त्रुटिपूर्ण भएकोले हामीले गलत कामहरू गर्ने प्रलोभनसित निरन्तर सङ्‌घर्ष गर्नुपर्छ। यस्तो सङ्‌घर्षलाई अझ गाह्रो बनाइदिन सैतान लागिपरेको छ। त्यसले हाम्रो सोचाइलाई भ्रष्ट पार्न चलाउने एउटा तरिका भनेको अनैतिकताले भरिएको मनोरञ्जन हो। यस्तो मनोरञ्जनले आफ्नो मनमस्तिष्क भऱ्‍यौँ भने हामी गम्भीर पाप गर्नतर्फ धकेलिन सक्छौँ।—मर्कु. ७:२१-२३; याकु. १:१४, १५.

१७. मदतको लागि प्रार्थना गरेपछि हामीले के गर्नुपर्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१७ गलत काम गर्ने प्रलोभनको प्रतिरोध गर्न हामीलाई यहोवाको मदत चाहिन्छ। येसुले नमुना प्रार्थनामा यस्तो बिन्ती गर्नुभयो: “हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्‌ तर त्यस दुष्टबाट छुटाउनुहोस्‌।” (मत्ति ६:१३) यहोवा हामीलाई मदत गर्न चाहनुहुन्छ तर हामीले पनि उहाँसित मदत माग्नुपर्छ। साथै हामीले आफ्नो प्रार्थनाअनुसार कदम पनि चाल्नुपर्छ। सैतानको संसारमा गलत सोचाइले भरिएका कुराहरू लोकप्रिय छन्‌। त्यस्ता कुराहरूको प्रभावमा पर्नदेखि जोगिन हामीले सक्दो प्रयास गर्नुपर्छ। (भज. ९७:१०) हामीले बाइबल पढेर अनि अध्ययन गरेर आफ्नो दिमाग असल कुराहरूले भर्न सक्छौँ। सभाहरूमा उपस्थित भएर अनि साक्षीकार्यमा भाग लिएर पनि हामी आफ्नो सोचाइलाई सुरक्षित राख्न सक्छौँ। अनि यहोवाले पनि हामीलाई हामीले सहन सक्नेभन्दा बाहिरको परीक्षामा पर्न दिनेछैनँ भनेर प्रतिज्ञा गर्नुभएको छ।—१ कोरि. १०:१२, १३.

१८. प्रार्थनाको सन्दर्भमा हामी सबैले के गर्नुपर्छ?

१८ यस कठिन समयमा यहोवाप्रति वफादार रहिरहन हामी प्रत्येकले प्रार्थना गर्नु झन्‌ धेरै महत्त्वपूर्ण छ। प्रार्थना गर्न प्रत्येक दिन समय छुट्ट्याउनुहोस्‌। हामीले प्रार्थनामा ‘मनको बह पोखाएको’ यहोवा चाहनुहुन्छ। (भज. ६२:८) यहोवाले गर्नुभएका सबै कुराको लागि उहाँको प्रशंसा गर्नुहोस्‌ र धन्यवाद चढाउनुहोस्‌। साक्षीकार्यमा साहसी हुन उहाँसित मदत माग्नुहोस्‌। समस्याहरूको सामना गर्न र प्रलोभनहरूको प्रतिरोध गर्न उहाँलाई बिन्ती गर्नुहोस्‌। यहोवालाई नियमित रूपमा प्रार्थना गर्न कुनै कुराले बाधा पुऱ्‍याउन नदिनुहोस्‌। तर यहोवा कसरी हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्छ? यस महत्त्वपूर्ण प्रश्‍नबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।

गीत ४२ परमेश्‍वरको सेवकको प्रार्थना

a हामी आफ्नो प्रार्थना एकदमै मन मिल्ने साथीलाई लेखेको चिठीजस्तै होस्‌ भन्‍ने चाहन्छौँ। तर प्रार्थना गर्न समय निकाल्नु सधैँ सजिलो हुँदैन। साथै कहिलेकाहीँ हामीलाई कुन विषयमा प्रार्थना गर्ने भन्‍नेजस्तो पनि लाग्न सक्छ। यस लेखमा हामी यी महत्त्वपूर्ण विषयहरूबारे छलफल गर्नेछौँ।