सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २४

तपाईँ आफ्नो आध्यात्मिक लक्ष्यसम्म पुग्न सक्नुहुन्छ

तपाईँ आफ्नो आध्यात्मिक लक्ष्यसम्म पुग्न सक्नुहुन्छ

“आओ, हामी असल काम गर्नमा हरेस नखाऔँ किनकि थाकेनौँ भने हामीले ठीक समयमा कटनी गर्नेछौँ।”—गला. ६:९.

गीत ८४ खाँचो जहाँ, पुग्छौँ त्यहाँ

परिचय a

१. हामीमध्ये धेरैलाई के गर्न गाह्रो भइरहेको छ?

 के तपाईँले कुनै आध्यात्मिक लक्ष्य राख्नुभएको थियो? तपाईँलाई त्यो लक्ष्य हासिल गर्न गाह्रो भएको थियो? b थुप्रै भाइबहिनीले यस्तै महसुस गरेका छन्‌। जस्तै: फिलिप अझ धेरै चोटि प्रार्थना गर्न र त्यसको गुणस्तर बढाउन चाहन्थे। तर तिनलाई समय निकाल्न गाह्रो भइरहेको थियो। एरिका बहिनीले क्षेत्र सेवाको सभामा समयमै पुग्ने लक्ष्य राखेकी थिइन्‌। तर अझै पनि तिनी प्रायजसो ढिलै पुग्छिन्‌। टोमासले थुप्रै पटक पूरै बाइबल पढ्‌ने कोसिस गरे। तिनी भन्छन्‌: “मलाई बाइबल पढ्‌न रमाइलो लाग्दैन। मैले तीन चोटि बाइबल पढ्‌ने कोसिस गरेँ तर हरेक पटक लेवीको किताबसम्म पुगेर रोकिन्थेँ।” 

२. कुनै लक्ष्य हासिल गर्न सकिरहेका छैनौँ भने हामी किन निराश हुनुपर्दैन?

तपाईँले हालै कुनै लक्ष्य राख्नुभएको छ तर त्यो हासिल गर्न सकिरहनुभएको छैन भने निराश नहुनुहोस्‌। लक्ष्य सानो नै किन नहोस्‌, त्यो हासिल गर्न पनि अक्सर समय र मेहनत चाहिन्छ। आफ्नो लक्ष्यसम्म पुग्न हार नमानेको कुराबाट तपाईँ यहोवासितको सम्बन्धलाई अनमोल ठान्‍नुहुन्छ र उहाँलाई सबैभन्दा उत्कृष्ट सेवा चढाउन चाहनुहुन्छ भन्‍ने देखिन्छ। तपाईँले गर्नुभएको प्रयासको यहोवा कदर गर्नुहुन्छ। उहाँ तपाईँले दिन सक्नेभन्दा धेरै कुराको आशा गर्नुहुन्‍न। (भज. १०३:१४; मिका ६:८) त्यसैले आफ्नो परिस्थितिले दिएअनुसार व्यावहारिक लक्ष्य राख्नुहोस्‌। त्यो हासिल गर्न तपाईँ के गर्न सक्नुहुन्छ? आउनुहोस्‌, केही सुझाव विचार गरौँ।

बलियो इच्छा हुनु महत्त्वपूर्ण छ

इच्छा बढाइदिन प्रार्थना गर्नुहोस्‌ (अनुच्छेद ३-४ हेर्नुहोस्‌)

३. हामीसित किन बलियो इच्छा हुनुपर्छ?

आफ्नो लक्ष्यसम्म पुग्न हामीसित बलियो इच्छा हुनुपर्छ। यस्तो इच्छाले हामीलाई कडा मेहनत गर्न उत्प्रेरित गर्छ। हाम्रो इच्छालाई हावासित तुलना गर्न सक्छौँ, जसले मस्तुल भएको डुङ्‌गालाई गन्तव्यसम्म पुग्न मदत गर्छ। हावा चलिरह्‍यो भने नाविक गन्तव्यसम्म पुग्न सक्छ। अझ त्यसमाथि हावाको बहाब बढ्यो भने ऊ अझै छिटो गन्तव्यमा पुग्न सक्छ। त्यसैगरि लक्ष्यसम्म पुग्ने हाम्रो इच्छा जत्ति बलियो हुन्छ, त्यो हासिल गर्ने सम्भावना त्यत्ति नै धेरै हुन्छ। एल साल्भाडोरका डेभिड यसो भन्छन्‌: “बलियो इच्छाले हामीलाई कडा मेहनत गर्न उत्प्रेरित गर्छ। अनि लक्ष्यसम्म पुग्न कुनै कुराले बाधा पुऱ्‍याउन नदिन हामी सक्दो प्रयास गर्छौँ।” त्यसोभए आफ्नो इच्छालाई अझ बलियो बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

४. हामी केको लागि प्रार्थना गर्न सक्छौँ? (फिलिप्पी २:१३) (चित्र पनि हेर्नुहोस्‌।)

इच्छा बढाइदिन प्रार्थना गर्नुहोस्‌। यहोवाको पवित्र शक्‍तिले तपाईँमा लक्ष्यसम्म पुग्ने इच्छा पैदा गर्न सक्छ। (फिलिप्पी २:१३ पढ्‌नुहोस्‌।) लक्ष्य राख्नुपर्छ भनेर थाह भएकोले हामी लक्ष्य राख्छौँ होला अनि यो राम्रो कुरा पनि हो। तर हामीसित त्यो हासिल गर्ने इच्छा भने नहुन सक्छ। युगाण्डाकी नोरिना बहिनीले पनि यस्तै अनुभव गरेकी थिइन्‌। तिनले बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य राखिन्‌। तर तिनीसित त्यो हासिल गर्ने बलियो इच्छा भने थिएन। किनभने तिनलाई आफूसित राम्ररी सिकाउने क्षमता छैन जस्तो लाग्थ्यो। तिनलाई कुन कुराले मदत गऱ्‍यो? तिनी भन्छिन्‌: “मैले यहोवालाई हरेक दिन बाइबल अध्ययन सञ्चालन गर्ने इच्छा बढाइदिनुहोस्‌ भनेर प्रार्थना गर्न थालेँ। अनि प्रार्थनाअनुसारै आफ्नो शिक्षणकला तिखार्न कोसिस गरेँ। त्यसको केही महिनापछि मैले आफ्नो इच्छा बढेको याद गरेँ। त्यही वर्ष मैले दुइटा बाइबल अध्ययन सुरु गरेँ।” 

५. लक्ष्य हासिल गर्ने इच्छा बलियो बनाउन हामी कस्तो कुरामा मनन गर्न सक्छौँ?

यहोवाले तपाईँको लागि गरिदिनुभएका कुराहरूमा मनन गर्नुहोस्‌। (भज. १४३:५) प्रेषित पावलले आफूलाई यहोवाले देखाउनुभएको असीम अनुग्रहमा मनन गरे। यसले तिनलाई यहोवाको सेवामा कडा मेहनत गर्न उत्प्रेरित गऱ्‍यो। (१ कोरि. १५:९, १०; १ तिमो. १:१२-१४) त्यसैगरि यहोवाले तपाईँको लागि गरिदिनुभएको कुरामा जत्ति धेरै मनन गर्नुहुन्छ, लक्ष्यसम्म पुग्ने तपाईँको इच्छा त्यत्ति नै बलियो हुनेछ। (भज. ११६:१२) होण्डुरसकी एक बहिनीलाई नियमित अग्रगामी बन्‍ने लक्ष्य हासिल गर्न केले मदत गऱ्‍यो, विचार गरौँ। तिनी भन्छिन्‌: “यहोवा मलाई कत्ति धेरै माया गर्नुहुन्छ भन्‍ने कुरामा मैले मनन गरेँ। यहोवाले मलाई उहाँका मानिसहरू भेट्टाउन मदत गर्नुभयो। उहाँ मेरो ख्याल राख्नुहुन्छ र मलाई सुरक्षा दिनुहुन्छ। यस्ता कुराहरूमा मनन गर्दा उहाँप्रतिको मेरो प्रेम बलियो भयो। अनि अग्रगामी गर्ने इच्छा पनि बढ्यो।”

६. अर्को कुन कुराले हाम्रो इच्छा बढाउन मदत गर्न सक्छ?

लक्ष्य हासिल गर्दा पाइने लाभहरूमा ध्यान दिनुहोस्‌। पहिलो अनुच्छेदमा उल्लेख गरिएकी एरिका बहिनीलाई समयनिष्ठ हुन केले मदत गऱ्‍यो, याद गर्नुहोस्‌। तिनी भन्छिन्‌: “क्षेत्र सेवाको सभामा ढिलो पुग्दा धेरै कुरा छुटाइरहेको महसुस गरेँ। तर छिटो पुग्दा भने भाइबहिनीलाई अभिवादन गर्न र उहाँहरूसित कुराकानी गर्न पाउँथेँ। अनि साक्षीकार्यमा रमाउन र उन्‍नति गर्न मदत दिने सुझावहरू सुन्‍न पाउँथेँ।” एरिकाले समयनिष्ठ हुनुका लाभहरू विचार गरिन्‌। यसले तिनलाई आफ्नो लक्ष्य हासिल गर्न मदत गऱ्‍यो। तपाईँ कस्ता लाभहरूमा ध्यान दिन सक्नुहुन्छ? यदि तपाईँले बाइबल पढाइ वा प्रार्थनासित सम्बन्धित लक्ष्य राख्नुभएको छ भने त्यसले यहोवासितको तपाईँको मित्रतालाई कसरी बलियो बनाउँछ भन्‍ने कुरा विचार गर्नुहोस्‌। (भज. १४५:१८, १९) तपाईँले कुनै ख्रिष्टियन गुण विकास गर्ने लक्ष्य राख्नुभएको छ भने त्यसले अरूसितको तपाईँको सम्बन्धलाई कसरी अझ राम्रो बनाउँछ भन्‍ने कुरा विचार गर्नुहोस्‌। (कल. ३:१४) तपाईँले लक्ष्य हासिल गर्न चाहनुका कारणहरूको सूची बनाउनुभए कसो होला? बेलाबेलामा त्यो सूची हेर्नुहोस्‌। माथि उल्लेख गरिएका टोमास यसो भन्छन्‌: “कुनै लक्ष्य हासिल गर्न चाहनुका कारणहरू धेरै छन्‌ भने त्यसको लागि अझ धेरै मेहनत गर्न म उत्प्रेरित हुन्छु।”

७. हुलियो र तिनकी पत्नीलाई लक्ष्यसम्म पुग्न केले मदत गऱ्‍यो?

लक्ष्यसम्म पुग्न प्रोत्साहन दिनेहरूसित समय बिताउनुहोस्‌। (हितो. १३:२०) हुलियो र तिनकी पत्नीलाई आफ्नो सेवा विस्तार गर्न कुन कुराले मदत गऱ्‍यो, विचार गरौँ। तिनी भन्छन्‌: “हामीले लक्ष्यसम्म पुग्न प्रोत्साहन दिने साथीहरूसित समय बितायौँ। हामी उहाँहरूसित आफ्ना लक्ष्यहरूबारे कुराकानी गर्थ्यौँ। उहाँहरूमध्ये थुप्रैले हामीले राखेको जस्तै लक्ष्यहरू हासिल गरिसक्नुभएको थियो। हामीले उहाँहरूबाट थुप्रै उपयोगी सुझाव पायौँ। साथीहरूले हाम्रो योजना कस्तो भइरहेको छ भनेर पनि सोध्नुहुन्थ्यो र आवश्‍यक परेको बेला हामीलाई प्रोत्साहन दिनुहुन्थ्यो।”

इच्छाको कमी हुँदा

लक्ष्य हासिल गर्न प्रयास गर्नुहोस्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. हामी इच्छा भएको बेला मात्रै लक्ष्य हासिल गर्न प्रयास गर्छौँ भने के हुन सक्छ? (चित्र पनि हेर्नुहोस्‌।)

तर हामी सबैले कहिलेकाहीँ लक्ष्य हासिल गर्ने इच्छा नै नभएको अनुभव गरेका छौँ। के यसको मतलब लक्ष्य हासिल गर्न हामी कुनै प्रयास नै गर्न सक्दैनौँ भन्‍ने हो? होइन। डुङ्‌गाको उदाहरण फेरि विचार गरौँ। मस्तुल भएको डुङ्‌गालाई हावाले गन्तव्यसम्म पुग्न मदत गर्छ। तर हावाको बहाब सधैँ एकैनासको हुँदैन। कुनै दिन त हावा नै नचल्न सक्छ। के यसको अर्थ नाविक अगाडि बढ्‌नै सक्दैन भन्‍ने हो? पक्कै होइन। कुनै नाविकको डुङ्‌गामा मोटर हुन्छ भने कुनैको डुङ्‌गामा बहना हुन्छ। यी साधनहरूले नाविकलाई गन्तव्यतर्फ अघि बढिरहन मदत गर्छ। हाम्रो इच्छा पनि हावाजस्तै हो। कुनै दिन हाम्रो इच्छा धेरै हुन्छ भने कुनै दिन थोरै। अनि कुनै दिन त पटक्कै इच्छा नहुन सक्छ। त्यसैले हामी इच्छा भएको बेला मात्र लक्ष्य हासिल गर्न प्रयास गर्छौँ भने हामीले त्यो कहिल्यै हासिल गर्न सक्दैनौँ। तर नाविकले आफ्नो गन्तव्यसम्म पुग्न अरू तरिकाहरू अपनाएजस्तै हामी पनि कुनै इच्छा नभएको बेला लक्ष्यसम्म पुग्न प्रयास गर्न सक्छौँ। हुनत त्यसो गर्न आफूलाई अनुशासनमा राख्नुपर्छ तर लक्ष्य हासिल गर्दा हामी आनन्दित हुन्छौँ। अब आउनुहोस्‌, इच्छा नभएको बेला के गर्न सक्छौँ भनेर छलफल गर्नुअघि एउटा प्रश्‍नबारे विचार गरौँ।

९. लक्ष्य हासिल गर्ने इच्छा छैन भने पनि त्यसको लागि प्रयास गरिरहनु किन गलत होइन?

यहोवा हामीले आनन्दित हुँदै राजीखुसीले उहाँको सेवा गरेको चाहनुहुन्छ। (भज. १००:२; २ कोरि. ९:७) तर लक्ष्य हासिल गर्ने इच्छा नै छैन भने पनि के हामीले प्रयास गरिरहनुपर्छ? प्रेषित पावलको उदाहरण विचार गरौँ। तिनले यसो भने: “म आफ्नो शरीरलाई कडा अनुशासनमा राख्छु र त्यसलाई दास बनाएर राख्छु।” (१ कोरि. ९:२५-२७, फुटनोट) c कहिलेकाहीँ पावललाई यहोवाको स्तरअनुसार गरूँ जस्तो नलागे तापनि तिनले सही कुरा गर्न आफूलाई बाध्य तुल्याए। के यहोवाले पावलको सेवा स्विकार्नुभयो? पक्कै पनि! उहाँले पावललाई तिनले गरेको प्रयासको लागि इनाम दिनुभयो।—२ तिमो. ४:७, ८.

१०. लक्ष्य हासिल गर्ने इच्छा नभए पनि प्रयास गरिरहँदा कस्ता आशिष्‌हरू पाउन सक्छौँ?

१० कहिलेकाहीँ हामीलाई कुनै आध्यात्मिक गतिविधिमा भाग लिन मन लाग्दैन होला तर यहोवाप्रतिको प्रेमले गर्दा हामी त्यसमा भाग लिने प्रयास गर्छौँ। यसरी इच्छा नभए पनि लक्ष्य हासिल गर्न अघि बढेको देख्दा यहोवा खुसी हुनुहुन्छ। प्रेषित पावललाई जस्तै यहोवाले हाम्रो प्रयासमाथि पनि आशिष्‌ दिनुहुनेछ। (भज. १२६:५) उहाँको आशिष्‌ पाएको महसुस गर्दा हामीमा लक्ष्यसम्म पुग्ने इच्छा जाग्न सक्छ। पोल्याण्डकी लुसियाना बहिनी यसो भन्छिन्‌: “कहिलेकाहीँ मलाई साक्षीकार्यमा भाग लिन मनै लाग्दैन, विशेषगरि एकदमै थाकेको बेला। तर त्यसमा भाग लिइसकेपछि म छुट्टै किसिमको आनन्द महसुस गर्छु।” कहिलेकाहीँ हामीमा इच्छाको कमी हुँदा के गर्न सक्छौँ, विचार गरौँ।

११. यहोवा हामीलाई आत्मसंयम बढाउन कसरी मदत गर्नुहुन्छ?

११ आत्मसंयमको लागि प्रार्थना गर्नुहोस्‌। आत्मसंयम भनेको आफ्नो भावना र कामलाई नियन्त्रणमा राख्न सक्ने क्षमता हो। यस गुणले हामीलाई अक्सर खराब कामहरूदेखि टाढै रहन मदत गर्छ। तर असल काम गर्ने इच्छा जगाउन पनि आत्मसंयम चाहिन्छ, विशेषगरि कुनै काम गाह्रो छ अथवा त्यो काम गर्न मन लाग्दैन भने। नबिर्सनुहोस्‌, आत्मसंयम पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। त्यसैले यो महत्त्वपूर्ण गुण विकास गर्न यहोवासित पवित्र शक्‍ति माग्नुहोस्‌। (लुका ११:१३; गला. ५:२२, २३) माथि उल्लेख गरिएका डेभिड अझै नियमित रूपमा व्यक्‍तिगत अध्ययन गर्न चाहन्थे। तिनलाई त्यो लक्ष्य हासिल गर्न प्रार्थनाले कसरी मदत गऱ्‍यो? तिनी भन्छन्‌: “मैले आत्मसंयम विकास गर्न यहोवासित मदत मागेँ। उहाँको मदतले गर्दा मैले अध्ययन गर्ने राम्रो तालिका बनाउन र त्यसलाई नियमितता दिन सकेँ।”

१२. उपदेशक ११:४ ले लक्ष्य हासिल गर्न कसरी मदत गर्छ?

१२ सबै कुरा मिलेपछि गरूँला भनेर नबस्नुहोस्‌। यस संसारमा सबै कुरा सधैँ हामीले सोचेजस्तो हुँदैन। त्यसैले सबै कुरा मिलेपछि गरूँला भनेर पर्खेर बस्यौँ भने सायद हामी कहिल्यै लक्ष्यसम्म पुग्न सक्दैनौँ। (उपदेशक ११:४ पढ्‌नुहोस्‌।) ड्यानयल भाइ यसो भन्छन्‌: “परिस्थिति सधैँ हामीले सोचेजस्तो हुँदैन। त्यसैले पर्खेर बस्नुभन्दा कदम चालिहाल्नु बेस हो।” ढिलासुस्ती गर्न नहुनुको अर्को कारणबारे युगाण्डाका पल भाइ यसो भन्छन्‌: “चुनौतीहरूको बाबजुद कदम चाल्यौँ भने यहोवाले हामीलाई मदत गर्नुहुनेछ।”—मला. ३:१०.

१३. ससाना लक्ष्यहरूबाट सुरु गर्नुका कस्ता फाइदाहरू छन्‌?

१३ ससानो लक्ष्यबाट सुरु गर्नुहोस्‌। आफूले राखेको लक्ष्य एकदमै गाह्रोजस्तो लाग्छ भने हामीमा त्यो लक्ष्य हासिल गर्ने इच्छा कम हुन सक्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ भने छोटो समयमा हासिल गर्न सकिने ससानो लक्ष्य राख्न सक्नुहुन्छ कि? कुनै गुण विकास गर्ने लक्ष्य राख्नुभएको छ भने सुरुमा त्यो गुण ससानो तरिकामा देखाउने कोसिस गर्नुभए कसो होला? यदि तपाईँले पूरै बाइबल पढिसिध्याउने लक्ष्य राख्नुभएको छ भने सुरुमा थोरै समय पढ्‌ने तालिका बनाउनुभए कसो होला? एक वर्षमा बाइबल पढिसिध्याउने लक्ष्य हासिल गर्न गाह्रो भइरहेको टोमास यसो भन्छन्‌: “मैले पढिसिध्याउने धुनमा छिटो-छिटो पढिरहेको महसुस गरेँ। त्यसैले मैले फेरि कोसिस गर्ने निर्णय गरेँ। तर यसपालि भने हरेक दिन केही अनुच्छेद मात्र पढ्‌ने अनि त्यसमा मनन गर्ने योजना बनाएँ। यसो गर्दा पढ्‌न रमाइलो लाग्न थाल्यो।” त्यसपछि टोमासको पढ्‌ने समय पनि बढ्‌न थाल्यो। अन्ततः तिनले पूरै बाइबल पढिसिध्याए। d

लक्ष्यमा बाधा आइपर्दा निराश नहुनुहोस्‌

१४. हाम्रो लक्ष्यमा कस्ता कुराहरूले बाधा पुऱ्‍याउन सक्छ?

१४ तर हाम्रो इच्छा जति नै बलियो भए पनि वा हामी अनुशासित भए पनि हाम्रो लक्ष्यमा बाधा आइपर्न सक्छ। जस्तै: “चिताउँदै नचिताएको घटना”-ले गर्दा हाम्रो समय र शक्‍ति खाइदिन सक्छ। यसले गर्दा आफ्नो लक्ष्य हासिल गर्न समय नै नहुन सक्छ। (उप. ९:११) कुनै कठिनाइको सामना गर्नुपर्दा हामी निराश हुन सक्छौँ र हामीमा कुनै बल नै बाँकी नहुन सक्छ। (हितो. २४:१०) त्रुटिपूर्ण भएकोले हामीबाट गल्तीहरू हुन्छन्‌। यसले गर्दा पनि हामीलाई लक्ष्यसम्म पुग्न अझै गाह्रो हुन सक्छ। (रोमी ७:२३) अथवा हामी एकदमै थकित हुन सक्छौँ। (मत्ति २६:४३) हामी यस्ता बाधाहरूलाई कसरी पन्छ्याउन सक्छौँ?

१५. लक्ष्यमा बाधा आइपर्दैमा तपाईँ असफल हुनुभयो भन्‍ने हो? व्याख्या गर्नुहोस्‌। (भजन १४५:१४)

१५ लक्ष्यमा बाधा आइपर्दैमा तपाईँ असफल हुनुभयो भन्‍ने होइन। हामीलाई विभिन्‍न समस्या वा कठिनाइले लडाउन सक्छ भनी बाइबल बताउँछ। तर विशेषगरि यहोवाको मदत पाएर हामी फेरि उठ्‌न सक्छौँ भनेर पनि बाइबल बताउँछ। (भजन १४५:१४ पढ्‌नुहोस्‌।) सुरुमा उल्लेख गरिएका फिलिप भाइ यसो भन्छन्‌: “मेरो सफलता म कति चोटि लडेँ भन्‍ने कुरामा होइन बरु म कति पटक उठ्‌न सकेँ भन्‍ने कुरामा निर्भर छ।” माथि उल्लेख गरिएका डेभिड यसो भन्छन्‌: “म आफ्नो लक्ष्यमा आइपर्ने बाधाहरूलाई समस्याको रूपमा होइन बरु यहोवालाई कत्ति प्रेम गर्छु भनेर देखाउने मौकाको रूपमा हेर्छु।” हो, बाधाहरूको बाबजुद अघि बढ्‌दा तपाईँ यहोवालाई खुसी बनाउन चाहनुहुन्छ भनेर प्रस्ट हुन्छ। यसरी तपाईँ अघि बढिरहेको देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला!

१६. लक्ष्यमा आइपर्ने बाधाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१६ लक्ष्यमा आइपर्ने बाधाबाट पाठ सिक्नुहोस्‌। कुनै बाधा किन आइपऱ्‍यो भनेर सोच्नुहोस्‌ र आफैलाई सोध्नुहोस्‌: ‘फेरि त्यस्तो बाधा आइपर्न नदिन मैले कुनै छाँटकाँट गर्नुपर्ने हो कि?’ (हितो. २७:१२) कहिलेकाहीँ त्यस्ता बाधाहरूले हाम्रो लक्ष्य व्यावहारिक नभएको सङ्‌केत दिइरहेको हुन सक्छ। तपाईँलाई पनि यस्तै लागेको छ भने तपाईँको लक्ष्य साँच्चिकै व्यावहारिक छ कि छैन भनेर फेरि विचार गर्नुहोस्‌। e तपाईँले गाह्रो लक्ष्य राख्नुभएकोले त्यो हासिल गर्न सक्नुभएन भने यहोवाले तपाईँलाई असफल व्यक्‍तिको रूपमा हेर्नुहुन्‍न।—२ कोरि. ८:१२.

१७. आफूले हासिल गरेका लक्ष्यहरू किन बिर्सनु हुँदैन?

१७ आफूले हासिल गरेका लक्ष्यहरू नबिर्सनुहोस्‌। बाइबल भन्छ: ‘तिमीहरूको कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।’ (हिब्रू ६:१०) त्यसैले तपाईँले पनि आफूले हासिल गरेका लक्ष्यहरू बिर्सनु हुँदैन। बरु ती लक्ष्यहरूमा मनन गर्नुहोस्‌, जस्तै: यहोवासित मित्रता विकास गरेको, उहाँबारे अरूसित कुरा गरेको वा बप्तिस्मा गरेको। विगतमा जस्तै अहिलेको लक्ष्य हासिल गर्न पनि निरन्तर प्रगति गर्नुहोस्‌।—फिलि. ३:१६.

यात्राको आनन्द उठाउनुहोस्‌ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. लक्ष्य हासिल गर्ने प्रयास गर्दा कुन कुरा बिर्सनु हुँदैन? (चित्र पनि हेर्नुहोस्‌।)

१८ नाविक आफ्नो गन्तव्यमा पुगेजस्तै यहोवाको मदतले तपाईँ पनि आफ्नो लक्ष्यसम्म पुग्न सक्नुहुन्छ। याद गर्नुहोस्‌, नाविकहरू आफ्नो यात्राको आनन्द पनि उठाउँछन्‌। त्यस्तैगरि आध्यात्मिक लक्ष्य हासिल गर्न निरन्तर प्रयास गर्दा यहोवाले तपाईँलाई कसरी मदत गर्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (२ कोरि. ४:७) तपाईँले हरेस खानुभएन भने अझ ठूला आशिष्‌हरू पाउनुहुनेछ।—गला. ६:९.

गीत १२६ जागा रहौँ, दह्रो होऔँ र पराक्रमी हुँदै जाऔँ!

a यहोवाको सङ्‌गठनले हामीलाई आध्यात्मिक लक्ष्यहरू राख्न प्रोत्साहन दिँदै आएको छ। तर आफूले राखेको लक्ष्य हासिल गर्न गाह्रो भइरहेको छ भने नि? यस लेखमा लक्ष्यहरू हासिल गर्न मदत दिने विभिन्‍न सुझाव विचार गर्नेछौँ।

b थप व्याख्या: आध्यात्मिक लक्ष्यमा तनमनले यहोवाको सेवा गर्न र उहाँलाई खुसी बनाउन हामीले गर्ने सबै कुरा समावेश छ। जस्तै: बाइबल पढाइ, व्यक्‍तिगत अध्ययन, साक्षीकार्यजस्ता उपासनासित सम्बन्धित कुनै क्षेत्रमा उन्‍नति गर्ने वा कुनै गुण विकास गर्ने लक्ष्य राख्न सक्छौँ।

c नोभेम्बर १, १९९२ अङ्‌कको प्रहरीधरहरा, पृ. १८, अनु. १९ हेर्नुहोस्‌।

d ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌ किताब, पृ. १०-११, अनु. ४ हेर्नुहोस्‌।

e थप जानकारीको लागि जुलाई १, २००८ अङ्‌कको प्रहरीधरहरा-मा “आफूसँग व्यावहारिक माग मात्र गर्नुहोस्‌ र आनन्दित हुनुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।