अध्ययन लेख १८
गीत १ यहोवाका गुणहरू
“सारा पृथ्वीका” कृपालु ‘न्यायकर्तामा’ भरोसा गर्नुहोस्!
“सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”—उत्प. १८:२५.
सिक्न सकिने कुरा
यस लेखमा यहोवाले अधर्मीहरूलाई फेरि जीवित पार्नुहुँदा कसरी कृपा र न्याय देखाउनुहुनेछ भनेर छलफल गर्नेछौँ।
१. यहोवाले अब्राहामलाई कस्तो महत्त्वपूर्ण पाठ सिकाउनुभयो?
धेरै वर्षअघिको कुरा हो, यहोवाले सदोम र गमोरालाई नाश गर्न लागेको कुरा एक जना स्वर्गदूतमार्फत अब्राहामलाई बताउनुभयो। तर तिनलाई त्यो कुरा चित्तै बुझेन। तिनले यस्तो प्रश्न सोधे: “के तपाईँ धर्मी मानिसलाई पनि दुष्टसँगसँगै नाश गर्नुहुन्छ? . . . सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?” (उत्प. १८:२३-३३) यहोवाले आफ्नो मिल्ने साथी अब्राहामलाई धीरज देखाउँदै एउटा महत्त्वपूर्ण पाठ सिकाउनुभयो। त्यो थियो: यहोवा धर्मी मानिसहरूलाई कहिल्यै नाश गर्नुहुन्न। यस महत्त्वपूर्ण पाठबाट आज हामी पनि लाभ उठाउन र सान्त्वना पाउन सक्छौँ।
२. यहोवाको न्याय सधैँ सही र कृपाले भरिएको हुन्छ भनेर किन भन्न सक्छौँ?
२ यहोवाको न्याय सधैँ सही र कृपाले भरिएको हुन्छ भनेर किन भन्न सक्छौँ? किनभने हामीलाई थाह छ, “यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।” (१ समु. १६:७) वास्तवमा भन्ने हो भने “हरेक मानिसको हृदयमा के छ” भनी उहाँ जान्नुहुन्छ। (१ राजा ८:३९; १ इति. २८:९) उहाँको यस्तो अद्भुत क्षमता साँच्चै अचम्मलाग्दो छ! यहोवाको न्याय हाम्रो समझभन्दा बाहिरको छ। त्यसैले प्रेषित पावलले यहोवाबारे यसो भन्नु उपयुक्त छ: ‘उहाँका फैसलाहरू कत्ति अगम छन्!’—रोमी ११:३३.
३-४. कहिलेकाहीँ हाम्रो मनमा कस्ता प्रश्नहरू उठ्न सक्छन्? यस लेखमा हामी के छलफल गर्नेछौँ? (युहन्ना ५:२८, २९)
३ तर कहिलेकाहीँ हाम्रो मनमा अब्राहामको जस्तै प्रश्नहरू उठ्न सक्छन्। हामीलाई यस्तो लाग्न सक्छ: ‘के यहोवाले नाश गर्नुभएका मानिसहरू जस्तै, सदोम र गमोराका मानिसहरू फेरि जीवित हुनेछन्? के तिनीहरूमध्ये कोही “फेरि जीवित हुने अधर्मीहरूमा” पर्न सक्छन्?’—प्रेषि. २४:१५.
४ फेरि जीवित हुने सन्दर्भमा हामीले कस्ता कुराहरू बुझेका छौँ? ‘जीवन पाउनको लागि फेरि जीवित हुने’ र ‘न्याय गरिनको लागि फेरि जीवित हुनेबारे’ हालै हाम्रो बुझाइमा छाँटकाँट गरिएको थियो। a (युहन्ना ५:२८, २९ पढ्नुहोस्।) यस छाँटकाँटले गर्दा अरू थप छाँटकाँट गर्नुपरेको छ। ती छाँटकाँटहरूबारे हामी यो र यसपछिको लेखमा छलफल गर्नेछौँ। सुरुमा हामी यहोवाको न्यायको सन्दर्भमा हामीलाई थाह नभएका कुराहरूबारे छलफल गरौँ। त्यसपछि हामीलाई थाह भएका कुराहरूबारे विचार गर्नेछौँ।
हामीलाई के थाह छैन?
५. सदोम र गमोरामा नाश भएका मानिसहरूबारे विगतमा हाम्रा प्रकाशनहरूमा के बताइएको थियो?
५ विगतमा हाम्रा प्रकाशनहरूमा यहोवाले अधर्मी भनेर नाश गर्नुभएका मानिसहरू फेरि जीवित हुनेछैनन् भनेर बताइएको थियो। जस्तै: सदोम र गमोराका मानिसहरू। तर यस विषयमा अझ गहिरिएर अध्ययन र प्रार्थना गरेपछि एउटा प्रश्न खडा भएको छ: तिनीहरू फेरि जीवित हुनेछैनन् भनेर के हामी ठोकुवा गरेर भन्न सक्छौँ?
६. (क) यहोवाले अधर्मीहरूलाई नाश गर्नुभएका केही उदाहरण बताउनुहोस्। (ख) यसबारे हामीलाई के थाह छैन?
६ बाइबलमा पाइने केही उदाहरण विचार गरौँ। जस्तै: यहोवाले जलप्रलयमा नुह र तिनको परिवारबाहेक अरू सबैलाई नाश गर्नुभयो। साथै उहाँले इस्राएलीहरूलाई चलाएर प्रतिज्ञा गरिएको देशमा बसोबास गरिरहेका सात जातिलाई नाश गर्नुभयो। अनि एक जना स्वर्गदूतलाई चलाएर उहाँले एकै रातमा १ लाख ८५ हजार अस्सेरियाली सिपाहीलाई नाश गर्नुभयो। (उत्प. ७:२३; व्यव. ७:१-३; यसै. ३७:३६, ३७) के यहोवाले ती प्रत्येक मानिसलाई सदाको लागि नाश गर्नुभएको हो? के तिनीहरूसित फेरि जीवित हुने आशै छैन? यसको स्पष्ट जवाफ हामीसित छैन। किनकि यसबारे पर्याप्त जानकारी बाइबलमा पाइँदैन।
७. जलप्रलय र कनानमा नाश भएका मानिसहरूबारे हामीलाई के थाह छैन? ( चित्र हेर्नुहोस्।)
७ यहोवाले ती प्रत्येक व्यक्तिको न्याय कसरी गर्नुभयो, हामीलाई थाह छैन। साथै ती मारिएका व्यक्तिहरूले यहोवाबारे सिक्ने र पश्चात्ताप गर्ने मौका पाए कि पाएनन्, त्यो पनि हामीलाई थाह छैन। बाइबलमा नुहलाई “धार्मिकताबारे प्रचार गर्ने” व्यक्ति भनिएको छ। (२ पत्रु. २:५) तिनले जलप्रलय आउनुअघि एउटा विशाल जहाज बनाइरहेका थिए। तर त्यो काम सँगसँगै तिनले प्रत्येक व्यक्तिसम्म विनाशको सन्देश पुऱ्याउन सके कि सकेनन्, त्यसबारे बाइबलमा केही बताइएको छैन। त्यसैगरि कनानको सन्दर्भमा पनि सबै दुष्ट व्यक्तिले यहोवाबारे सिक्ने र त्यसअनुसार जीवनमा परिवर्तन गर्ने मौका पाए कि पाएनन्, त्यो पनि हामीलाई थाह छैन।
८. सदोम र गमोराका मानिसहरूबारे हामीलाई के थाह छैन?
८ सदोम र गमोरामा नाश भएका मानिसहरूबारे हामी के भन्न सक्छौँ? धर्मी लुत तिनीहरूमाझ नै बसोबास गर्थे। तर के लुतले तिनीहरू सबैलाई यहोवाको सन्देश सुनाए? हामीलाई थाह छैन। हो, तिनीहरू दुष्ट थिए तर के तिनीहरू प्रत्येकसित नैतिक स्तरबारे राम्रो ज्ञान थियो? थिएन जस्तो देखिन्छ। याद गर्नुहोस्, त्यस सहरका लोग्नेमान्छेहरू हुल बाँधेर लुतका पाहुनाहरूलाई बलात्कार गर्न आएका थिए। बाइबलमा त्यस हुलमा “जवानदेखि बूढा” सबै थिए भनेर बताइएको छ। (उत्प. १९:४; २ पत्रु. २:७) ती मानिसहरूमा साना केटाहरू पनि थिए, जसलाई आफूले गरिरहेको काम कत्ति गलत छ भनेर पनि थाह थिएन होला। तर कृपालु परमेश्वरले तिनीहरू प्रत्येकलाई पुनर्जीवित हुने आशै नहुनेगरि नाश गर्नुभयो भनेर के हामी भन्न सक्छौँ? अहँ, सक्दैनौँ। यहोवाले अब्राहामलाई त्यस सहरमा दस जना पनि धर्मी मानिस छैनन् भनेर बताउनुभयो। (उत्प. १८:३२) तिनीहरू अधर्मी थिए र यहोवाले तिनीहरूको दुष्ट कामको लागि तिनीहरूलाई नाश गर्नु जायज थियो। के त्यसोभए तिनीहरूमध्ये कोही पनि ‘फेरि जीवित हुने अधर्मीहरूमा’ पर्दैनन्? हामी ठोकुवा गरेर भन्न सक्दैनौँ!
९. सुलेमानबारे हामीलाई के थाह छैन?
९ अर्कोतर्फ बाइबलमा धर्मी मानिस पछि गएर अधर्मी भएका विवरणहरू पनि पाउँछौँ। त्यस्तै एक जना व्यक्ति राजा सुलेमान थिए। तिनलाई यहोवाका स्तरहरूबारे राम्रो ज्ञान थियो र उहाँले तिनलाई प्रशस्त आशिष् पनि दिनुभएको थियो। तर तिनले पछि झूटा देवीदेवतालाई पुज्न थाले। यहोवा तिनीसित क्रोधित हुनुभयो र तिनका पापहरूको नतिजा पूरै इस्राएल राष्ट्रले सयौँ वर्षसम्म भोग्नुपऱ्यो। बाइबलमा “सुलेमान आफ्ना पितृहरूसितै सुते” भनेर बताइएको छ। यही कारणले गर्दा सुलेमान फेरि जीवित हुनेछन् भनेर हामीले भन्दै आएका थियौँ। अनि ती पितृहरूमा राजा दाउदजस्ता वफादार पुरुषहरू पनि पर्छन्। (१ राजा ११:५-९, ४३; २ राजा २३:१३) तर के “पितृहरूसितै सुते” भन्ने अभिव्यक्तिले तिनी फेरि जीवित हुनेछन् भन्ने कुराको ग्यारेन्टी दिन्छ? त्यसबारे बाइबलमा केही बताइएको छैन। तर कसै-कसैले “जो मर्छ, ऊ आफ्नो पापबाट मुक्त हुन्छ” भन्ने पदको आधारमा सुलेमान फेरि जीवित हुनेछन् भनेर तर्क गर्छन्। (रोमी ६:७) तर यस पदको अर्थ मरेकाहरूजति सबै फेरि जीवित हुन्छन् भन्ने होइन। कुनै व्यक्तिको मृत्यु हुँदैमा तिनले फेरि जीवित हुने अधिकार पाउँदैनन्। किनकि पुनर्जीवन मायालु परमेश्वरले दिनुहुने उपहार हो। उहाँ जसलाई सधैँभरि उहाँको सेवा गर्ने मौका दिन चाहनुहुन्छ, तिनीहरूलाई मात्र यो उपहार दिनुहुन्छ। (अय्यु. १४:१३, १४; युह. ६:४४) के सुलेमानले यो उपहार पाउनेछन्? यसको जवाफ यहोवालाई मात्र थाह छ, हामीलाई थाह छैन। हामीलाई बस यति थाह छ, यहोवा सधैँ सही तरिकामा न्याय गर्नुहुन्छ।
हामीलाई के थाह छ?
१०. मानिसहरूलाई नाश गर्नुपर्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ? (इजकिएल ३३:११) (चित्र पनि हेर्नुहोस्।)
१० इजकिएल ३३:११ पढ्नुहोस्। मानिसहरूलाई नाश गर्नुपर्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ, उहाँले हामीलाई बताउनुभएको छ। प्रेषित पत्रुसले भविष्यवक्ता इजकिएलले जस्तै यसो भने: “उहाँ कोही पनि नाश नहोस् . . . भन्ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) यस सान्त्वनादायी सत्यको आधारमा हामीलाई यो कुरा थाह छ: यहोवा कसैलाई पनि कुनै ठोस कारणविना सदाको निम्ति नाश गरिहाल्नुहुन्न। उहाँ कृपाले भरिपूर्ण हुनुहुन्छ र सम्भव भएसम्म मानिसहरूलाई कृपा देखाउनुहुन्छ।
११. फेरि जीवित नहुने केही मानिस को-को हुन् र किन?
११ फेरि जीवित नहुने मानिसहरूबारे हामीलाई के थाह छ? बाइबलमा त्यस्ता थोरै मानिसबारे मात्र बताइएको छ। b येसुले यहुदा इस्करियोत फेरि जीवित हुनेछैनन् भनेर सङ्केत गर्नुभयो। (मर्कु. १४:२१; युहन्ना १७:१२) c तिनले जानाजानी यहोवा र उहाँको छोराको विद्रोह गरेका थिए। (मर्कु. ३:२९) d त्यसैगरि येसुको विरोध गरेका केही धर्मगुरुले अनन्त विनाश भोग्नेछन् भनेर उहाँले बताउनुभयो। (मत्ति २३:३३) साथै प्रेषित पावलले पनि अपश्चात्तापी धर्मत्यागीहरू फेरि जीवित हुनेछैनन् भनेर बताए।—हिब्रू ६:४-८; १०:२९.
१२. हामीलाई यहोवाको कृपाबारे के थाह छ? केही उदाहरण दिनुहोस्।
१२ तर हामीलाई यहोवाको कृपाबारे के थाह छ? उहाँले “कोही पनि नाश नहोस्” भन्ने चाहेको कुरा कसरी देखाउनुभएको छ? गम्भीर पाप गरेका केही व्यक्तिलाई उहाँले कसरी कृपा देखाउनुभयो, विचार गरौँ। राजा दाउदले एकपछि अर्को गम्भीर पाप गरे। जस्तै: व्यभिचार र हत्या। तर पश्चात्ताप गरेकोले यहोवाले तिनलाई कृपा देखाउँदै क्षमा दिनुभयो। (२ समु. १२:१-१३) राजा मनस्सेले पनि आफ्नो जीवनकालमा थुप्रै गम्भीर गल्ती गरे। तर पश्चात्ताप गरेकोले यहोवाले उनलाई कृपा देखाउँदै क्षमा दिनुभयो। (२ इति. ३३:९-१६) यी उदाहरणहरूबाट कृपा देखाउने कुनै आधार छ भने यहोवा कृपा देखाउन पछि हट्नुहुन्न भनेर बुझ्न सक्छौँ। आफूले गम्भीर गल्ती गरेको कुरा स्विकारेका र पश्चात्ताप गरेका ती व्यक्तिहरूलाई उहाँले पक्कै फेरि जीवित पार्नुहुनेछ।
१३. (क) यहोवाले निनवेका मानिसहरूलाई किन कृपा देखाउनुभयो? (ख) येसुले निनवेका मानिसहरूबारे के भन्नुभयो?
१३ निनवेका मानिसहरूलाई यहोवाले देखाउनुभएको कृपाबारे पनि हामीलाई थाह छ। यहोवाले योनालाई यसो भन्नुभयो: “त्यहाँका मानिसहरू कत्ति दुष्ट भएका छन्, मैले देखेको छु।” तर निनवेका मानिसहरूले पश्चात्ताप गरेपछि यहोवाले कृपा देखाउँदै तिनीहरूलाई क्षमा दिनुभयो। तर योना भने रिसाए। त्यसैले यहोवाले निनवेका मानिसहरूलाई “सही र गलतको फरकसमेत थाह छैन” भनेर योनालाई सम्झाउनुभयो। (योना १:१, २; ३:१०; ४:९-११) पछि येसुले यहोवाको न्याय र कृपाबारे सिकाउन निनवेका मानिसहरूको उदाहरण प्रयोग गर्नुभयो। येसुले निनवेका पश्चात्तापी मानिसहरू ‘न्यायको बेला खडा हुनेछन्’ भनेर बताउनुभयो।—मत्ति १२:४१.
१४. “न्याय गरिनको लागि फेरि जीवित” हुने निनवेका मानिसहरूले कस्तो मौका पाउनेछन्?
१४ निनवेका मानिसहरू ‘न्यायको बेला खडा हुनेछन्’ भन्नुको अर्थ के हो? येसुले भविष्यमा मानिसहरू “न्याय गरिनको लागि फेरि जीवित” हुनेछन् भनेर बताउनुभयो। (युह. ५:२९) उहाँले यहाँ हजार वर्षीय शासनको बेला हुने कुरालाई सङ्केत गर्दै हुनुहुन्थ्यो, जतिबेला “धर्मी र अधर्मी दुवै फेरि जीवित” हुनेछन्। (प्रेषि. २४:१५) अधर्मीहरू “न्याय गरिनको लागि फेरि जीवित हुनेछन्।” भन्नुको मतलब फेरि जीवित भएकाहरूले यहोवाको शिक्षा लागू गर्छन् कि गर्दैनन् भन्ने कुरा यहोवा र येसुले जाँच्नुहुनेछ। यदि फेरि जीवित भएका कुनै निनवेवासीले शुद्ध उपासनामा भाग लिन इन्कार गरे भने तिनलाई नाश गरिनेछ। (यसै. ६५:२०) तर वफादार भई यहोवाको उपासना गर्ने छनौट गर्नेहरूले भने अनन्त जीवनको आशा पाउनेछन्!—दानि. १२:२.
१५. (क) सदोम र गमोरामा नाश भएकाहरूमध्ये कोही पनि फेरि जीवित हुनेछैनन् भनेर हामी किन ठोकुवा गर्न सक्दैनौँ? (ख) यहुदा ७ मा लेखिएका शब्दहरूको अर्थ के हो? (“ यहुदा के भन्न खोज्दै थिए?” भन्ने पेटी पनि हेर्नुहोस्।)
१५ येसुले उहाँ र उहाँको शिक्षा तिरस्कार गरेकाहरूलाई भन्दा सदोम र गमोराका मानिसहरूलाई “न्यायको दिनमा” सजिलो हुनेछ भनेर बताउनुभयो। (मत्ति १०:१४, १५; ११:२३, २४; लुका १०:१२) उहाँ के भन्न खोज्दै हुनुहुन्थ्यो? उहाँले त्यो कुरा शाब्दिक अर्थमा होइन बरु आफ्नो कुरा बुझाउन बढाइचढाइ भनिरहनुभएको थियो जस्तो हामीलाई लाग्न सक्छ। तर उहाँले त्यो कुरा शाब्दिक अर्थमै भनिरहनुभएको थियो जस्तो देखिन्छ। उहाँले निनवेका मानिसहरू ‘न्यायको बेला खडा हुनेछन्’ भन्नुभएको कुरा शाब्दिक रूपमै पूरा हुनेछ। त्यसैले येसुले सदोम र गमोराको सन्दर्भमा भन्नुभएको “न्यायको दिन” र निनवेका मानिसहरूबारे भन्नुभएको “न्यायको बेला”-ले पक्कै पनि एउटै कुरालाई सङ्केत गर्छ। येसुले बताउनुभएअनुसार ‘न्याय गरिनको लागि फेरि जीवित हुनेहरूमा’ “खराब काम” गर्ने मानिसहरू पनि पर्छन्। (युह. ५:२९) निनवेका मानिसहरूले जस्तै सदोम र गमोराका मानिसहरूले पनि खराब कामहरू गरेका थिए। तर फरक यति हो, निनवेका मानिसहरूले पश्चात्ताप गर्ने मौका पाए। त्यो हेर्दा सदोम र गमोराका मानिसहरूसित पनि केही आशा छ जस्तो देखिन्छ। त्यसैले सदोम र गमोराका कोही-कोही मानिस फेरि जीवित हुन सक्छन्। हामीले तिनीहरूलाई यहोवा र येसु ख्रिष्टबारे सिकाउने मौका पाउन सक्छौँ।
१६. यहोवाले केको आधारमा फेरि जीवित पार्नुहुन्छ भन्नेबारे हामीलाई के थाह छ? (यर्मिया १७:१०)
१६ यर्मिया १७:१० पढ्नुहोस्। यस पदबाट यहोवाको कृपाबारे के थाह पाउन सक्छौँ? यहोवाले सधैँ ‘मानिसको हृदय केलाउनुहुन्छ; मानिसको भित्री विचारसमेत जाँच्नुहुन्छ।’ भविष्यमा फेरि जीवित पार्ने सन्दर्भमा पनि यहोवाले मानिसलाई ‘उसको कामअनुसारको फल दिनुहुन्छ।’ आवश्यक परेको बेला यहोवा दृढ भई कदम चाल्नुहुन्छ तर सम्भव भएसम्म कृपा पनि देखाउनुहुन्छ। त्यसैले बाइबलमा तोकेरै बताइएको छैन भने कुनै व्यक्तिसित फेरि जीवित हुने आशा छैन भनेर हामीले अड्कल काट्नु हुँदैन!
“सारा पृथ्वीका न्यायकर्ताले” सही ‘न्याय गर्नुहुनेछ’
१७. मरेका मानिसहरूलाई के हुनेछ?
१७ सैतानको पछि लागेर आदम र हव्वाले यहोवाको विद्रोह गरेदेखि यता अरबौँ मानिसले आफ्नो ज्यान गुमाइसकेका छन्। “मृत्यु” साँच्चै एउटा क्रूर “शत्रु” साबित भएको छ। (१ कोरि. १५:२६) मरिसकेका सबै मानिसलाई के हुनेछ? ख्रिष्टका वफादार चेलाहरूमध्ये १ लाख ४४ हजारले स्वर्गमा अमर जीवन पाउनेछन्। (प्रका. १४:१) अनि यहोवालाई प्रेम गर्ने थुप्रै “धर्मी” मानिस “फेरि जीवित हुनेछन्।” ख्रिष्टको हजार वर्षीय शासन अनि अन्तिम जाँचको बेला धर्मी रहिरहेको खण्डमा तिनीहरूले पृथ्वीमा अनन्त जीवन पाउनेछन्। (दानि. १२:१३; हिब्रू १२:१) साथै हजार वर्षीय शासनको दौडान ‘अधर्मीहरू,’ जसले कहिल्यै यहोवाको सेवा गरेका थिएनन् वा “खराब काम”-समेत गरेका थिए, तिनीहरूलाई पनि फेरि जीवित पारिनेछ। तिनीहरूले आफ्नो खराब मार्ग परिवर्तन गर्ने र यहोवाको वफादार सेवक बन्ने मौका पाउनेछन्। (लुका २३:४२, ४३) तर यहोवाको विरोध गरेका अनि उहाँका उद्देश्यहरूलाई विफल पार्न लागिपरेका केही दुष्ट मानिसलाई भने यहोवाले फेरि जीवित नपार्ने निश्चय गरिसक्नुभएको छ।—लुका १२:४, ५.
१८-१९. (क) यहोवाले मरिसकेका मानिसहरूको सही न्याय गर्नुहुन्छ भनेर हामी किन ढुक्क हुन सक्छौँ? (यसैया ५५:८, ९) (ख) हामी अर्को लेखमा के छलफल गर्नेछौँ?
१८ यहोवाले सधैँ सही तरिकामा न्याय गर्नुहुन्छ भनेर के हामी ढुक्क हुन सक्छौँ? पक्कै सक्छौँ! यहोवा बुद्धिमान्, निष्खोट अनि “सारा पृथ्वीका” कृपालु “न्यायकर्ता” हुनुहुन्छ भनेर अब्राहामलाई थाह थियो। उहाँले आफ्नो छोरालाई प्रशिक्षण दिनुभएको छ र मानिसहरूको न्याय गर्ने काम सुम्पनुभएको छ। (युह. ५:२२) प्रत्येक मानिसको हृदयमा के छ भनेर बुबा र छोराले पढ्न सक्नुहुन्छ। (मत्ति ९:४) उहाँहरूले सधैँ सही “न्याय गर्नुहुनेछ!”
१९ हामी यहोवाले गर्नुहुने फैसलाहरू सधैँ सही हुन्छन् भन्ने कुरामा विश्वस्त भइरहौँ। हामीसित अरूको न्याय गर्ने क्षमता र अधिकार छैन तर यहोवासित भने छ! (यसैया ५५:८, ९ पढ्नुहोस्।) त्यसैले न्याय गर्ने सबै काम यहोवा र उहाँको छोरालाई छोडिदेऔँ। किनभने हाम्रो राजा येसुले आफ्नो बुबाको न्याय र कृपा हुबहु अनुकरण गर्नुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ। (यसै. ११:३, ४) त्यसोभए महासङ्कष्टको दौडान उहाँहरूले गर्नुहुने न्यायबारे के भन्न सक्छौँ? त्यसबारे हामीलाई थाह नभएका र थाह भएका कुराहरूबारे अर्को लेखमा छलफल गर्नेछौँ।
गीत ५७ सबै किसिमका मानिसलाई प्रचार गरौँ!
a प्रहरीधरहरा, सेप्टेम्बर २०२२, पृ. १४-१९ हेर्नुहोस्।
b आदम, हव्वा र कयिनबारे थाह पाउन प्रहरीधरहरा, जनवरी १, २०१३, पृ. १२ को फुटनोट पढ्नुहोस्।
c युहन्ना १७:१२ मा प्रयोग गरिएको “विनाशको छोरा” भन्ने अभिव्यक्तिले यहुदा सदाका लागि नाश हुने थिए र फेरि कहिल्यै जीवित हुने थिएनन् भन्ने कुरालाई सङ्केत गर्छ।
d प्रहरीधरहरा, अगस्त १, २००७, पृ. १३ हेर्नुहोस्।