सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

गाह्रो अवस्थामा यहोवाले सधैँ मलाई सँभाल्नुभयो

गाह्रो अवस्थामा यहोवाले सधैँ मलाई सँभाल्नुभयो

मेरो जन्म इस्वी संवत्‌ १९२९, नोभेम्बर ९ मा पाकिस्तानको सुक्कुर भन्‍ने सहरमा भएको थियो। यो पुरानो सहर सिन्धु नदीको पश्‍चिमी किनारामा पर्छ। म जन्मिएको समयतिर मेरो आमाबुबाले एक जना बेलायती मिसनरीबाट केही रङ्‌गीन किताबहरू पाउनुभएको थियो। ती बाइबलआधारित किताबहरूले मेरो जीवनमा ठूलो भूमिका खेल्यो। ती किताबहरूले मलाई यहोवाको साक्षी बन्‍न मदत गऱ्‍यो।

ती किताबहरू रङ्‌गीचङ्‌गी भएकोले इन्द्रेनी सङ्‌ग्रह भनिन्थ्यो। म त्यसमा भएका चित्रहरू हेर्थेँ र विभिन्‍न कुरा कल्पना गर्न थाल्थेँ। ती किताबहरूमा लेखिएका कुराहरूले गर्दा मेरो मनमा सानै उमेरदेखि बाइबलको कुरा सिक्ने भोक जाग्यो।

दोस्रो विश्‍वयुद्धको बेला भारतलाई पनि युद्धले गाँज्दै लगेको थियो। त्यही समयतिर मैले एउटा ठूलो चोट सहनु पऱ्‍यो। मेरो आमा र बुबा छुट्टिएर बस्न थाल्नुभयो अनि पछि सम्बन्धविच्छेद गर्नुभयो। मैले सबैभन्दा माया गर्ने दुई जना व्यक्‍ति किन छुट्टिनुभएको होला भनेर मैले बुझ्नै सकिनँ। मेरो मुटु छियाछिया भयो अनि मलाई कसैले माया गर्दैन जस्तो लाग्यो। मेरो कोही दाजुभाइ दिदीबहिनी थिएन अनि मैले कसैबाट सान्त्वना र सहारा पाउन सकिनँ।

त्यतिबेला म र आमा पाकिस्तानको राजधानी कराचीमा बस्थ्यौँ। एक दिन फ्रेड हार्डेकर हाम्रो घरमा आउनुभयो। उहाँ डाक्टर हुनुहुन्थ्यो र पाको उमेरको यहोवाको साक्षी हुनुहुन्थ्यो। हाम्रो परिवारलाई ती रङ्‌गीचङ्‌गी किताब दिने मिसनरी र उहाँको धर्म एउटै रहेछ। उहाँले आमालाई बाइबल अध्ययन गर्न आग्रह गर्नुभयो। आमाले मान्‍नुभएन तर मैले ‘हुन्छ, गरौँला’ भनेँ। त्यसको अर्को हप्तादेखि नै मैले भाइ हार्डेकरसँग बाइबल अध्ययन गर्न थालेँ।

केही हप्तापछि म भाइ हार्डेकरको क्लिनिकमा हुने साक्षीहरूको सभामा जान थालेँ। लगभग १२ जना पाको उमेरका साक्षीहरू उपासनाको लागि त्यहाँ भेला हुन्थे। उहाँहरूले मलाई छोरालाई जस्तै माया र हेरचाह गर्नुहुन्थ्यो। उहाँहरूसित कुराकानी गरेको मीठो सम्झना मेरो दिमागमा ताजै छ। मलाई कुरा गर्न सजिलो होस्‌ भनेर उहाँहरू निहुरिएर मजत्रै भइदिनु हुन्थ्यो र मिल्ने साथीजस्तै व्यवहार गर्नुहुन्थ्यो। त्यतिबेला मलाई चाहिएको पनि त्यही थियो।

केही समय नबित्दै भाइ हार्डेकरले मलाई प्रचारकार्यमा उहाँसँगै जाने निम्तो दिनुभयो। उहाँले मलाई फोनोग्राफ चलाउन सिकाउनुभयो। यो साधन सानो भएकोले बोकेर यताउता लैजान मिल्थ्यो। त्यसैले हामी घरघरमा गएर बाइबलआधारित छोटो भाषण यसैबाट बजाएर सुनाउँथ्यौँ। कुनै-कुनै भाषणमा बाइबलको कडा सन्देश सिधै बताएइएको हुन्थ्यो। त्यसैले कोही-कोही घरधनीलाई त्यो कुरा चित्त बुझ्दैनथ्यो। तर मलाई भने अरूलाई साक्षी दिन निकै रमाइलो लाग्थ्यो। बाइबल सत्यप्रतिको मेरो जोसले गर्दा अरूलाई बाइबलको कुरा सुनाउन मलाई धेरै मन पर्थ्यो।

जापानी सेना भारतलाई आक्रमण गर्न अघि बढिरहेको बेला बेलायती अख्तियारवालाहरूले यहोवाका साक्षीहरूलाई झन्‌झन्‌ दबाब दिन थाले। अनि १९४३ जुलाईमा मैले पनि त्यस दबाबको सामना गर्नुपऱ्‍यो। मेरो स्कुलको प्राध्यापक एङ्‌ग्लिकन चर्चका पादरी हुनुहुन्थ्यो। उहाँले मलाई “खराब चरित्र” भएको आरोपमा स्कुलबाट निकालिदिनुभयो। यहोवाका साक्षीहरूसित सङ्‌गत गर्ने भएकोले मैले अरू विद्यार्थीलाई नराम्रो असर पार्दै छु भनेर उहाँले आमालाई भन्‍नुभयो। यो सुनेर आमा तर्सिनुभयो अनि मलाई यहोवाका साक्षीहरूसित सङ्‌गत गर्न रोक लगाउनुभयो। त्यसपछि उहाँले मलाई बुबाकहाँ पठाउनुभयो। बुबा लगभग १,३७० किलोमिटर उत्तरमा पर्ने पेशावर सहरमा बस्नुहुन्थ्यो। आध्यात्मिक भोजन र साक्षीहरूसँगको सङ्‌गत छुटेकोले म आध्यात्मिक तवरमा सेलाएँ।

आध्यात्मिक तवरमा फेरि बलियो भएँ

म काम खोज्न १९४७ मा कराची फर्किएँ। त्यहाँ हुँदा म डाक्टर हार्डेकरको क्लिनिकमा गएँ। उहाँले मलाई न्यानो र हार्दिक स्वागत गर्नुभयो।

म उपचारको लागि आएको होला भन्ठानेर उहाँले मलाई यस्तो प्रश्‍न सोध्नुभयो: “तपाईँलाई के भयो?”

मैले यस्तो जवाफ दिएँ: “डाक्टर, म शारीरिक तवरमा बिरामी होइन आध्यात्मिक तवरमा बिरामी छु। मलाई बाइबल अध्ययनको खाँचो छ।”

उहाँले मलाई सोध्नुभयो: “कहिलेदेखि सुरु गर्न चाहनुहुन्छ?”

मैले भनेँ: “सम्भव भए अहिले नै।”

हामीले त्यही साँझ बाइबल अध्ययन गऱ्‍यौँ र एकदमै रमाइलो भयो। मैले आध्यात्मिक तवरमा फेरि अघि बढ्‌न थालेको महसुस गरेँ। आमाले मलाई यहोवाका साक्षीहरूसित सङ्‌गत गर्न रोक लगाउन कुनै कसर छोड्‌नुभएन। तर यस पटक भने मैले सत्यमा अडिग रहने दृढ सङ्‌कल्प गरिसकेको थिएँ। मैले १९४७ अगस्त ३१ मा बप्तिस्मा गरेर यहोवालाई आफ्नो जीवन समर्पण गरेको कुरा देखाएँ। त्यसको लगत्तै १७ वर्षको उमेरमा मैले नियमित अग्रगामी सेवा सुरु गरेँ।

अग्रगामी सेवाको आनन्द

मैले अग्रगामी सेवा सुरु गरेको पहिलो सहर क्वेटा थियो। यहाँ पहिला बेलायती सेनाको क्याम्प थियो। भारत र पाकिस्तान १९४७ मा छुट्टियो। * यस घटनाले मानिसहरूमाझ धार्मिक हिंसा चर्कियो, जसले गर्दा मानिसहरू बसाइँ सर्न थाले। इतिहासमा सबैभन्दा धेरै बसाइँसराइ भएको घटनाहरूमध्ये यो एक थियो। करिब १ करोड ४० लाख मानिसहरू शरणार्थी भएर बसाइँ सर्न बाध्य भए। भारतमा भएका मुस्लिमहरू पाकिस्तानमा सरे अनि पाकिस्तानमा भएका हिन्दू र सिखहरू भारतमा सरे। यस्तो गञ्जागोल अवस्थामा मानिसहरूले खचाखच भरिएको रेल चढेर म कराचीबाट क्वेटा गएँ। म लगभग पूरै यात्राभरि ढोकाको डन्डीमा झुण्डिएर गएँ।

१९४८ मा भारतमा आयोजित क्षेत्रीय सम्मेलनमा उपस्थित हुँदा

क्वेटामा मैले २५/२६ वर्षका विशेष अग्रगामी भाइ जर्ज सिंहलाई भेटेँ। तिनले दिएको एउटा पुरानो साइकल चढ्‌दै अनि कहिलेकाहीँ ठेल्दै म पहाडी इलाकामा प्रचार गर्थेँ। धेरैजसो प्रचारमा म एक्लै जान्थेँ। त्यहाँ गएको छ महिनाभित्र मैले १७ वटा बाइबल अध्ययन सञ्चालन गर्न थालेँ, जसमध्ये केही विद्यार्थीहरू साक्षी बने। तीमध्ये एक जना सदिक मसि नाम गरेका सैनिक अफिसर थिए। तिनले जर्ज र मलाई केही बाइबलआधारित प्रकाशनहरू पाकिस्तानको राष्ट्रिय भाषा उर्दूमा अनुवाद गर्न मदत गरे। पछि सदिकले जोसिलो भई सुसमाचार प्रचार गर्न थाले।

क्विन एलिजावेथ जहाजमा गिलियड स्कुल जाँदै

त्यसपछि म कराची फर्किएँ अनि भर्खरै गिलियड स्कूल गएर आएका मिसनरी भाइहरू हेन्री फिन्च र ह्‍यारी फरेस्टसँगै सेवा गरेँ। उहाँहरूले मलाई दिनुभएको बाइबलआधारित तालिम बहुमूल्य थियो। एक चोटि म भाइ फिन्चसँगै उत्तरी पाकिस्तानमा प्रचारको लागि गएको थिएँ। त्यहाँ अग्ला हिमालहरूको फेदमा उर्दू भाषा बोल्ने थुप्रै नम्र मानिसहरू बस्थे। तिनीहरू बाइबल सत्यको लागि भोका थिए। दुई वर्षपछि मैले पनि गिलियड स्कूलमा जाने मौका पाएँ। पाकिस्तान फर्केपछि मैले बेला-बेलामा क्षेत्रीय निरीक्षकको रूपमा पनि सेवा गरेँ। म अरू तीन जना मिसनरी भाइहरूसँगै लाहोरको मिसनरी घरमा बस्थेँ।

फेरि बलियो हुन मदत पाएँ

दुःखको कुरा, १९५४ मा लाहोरका मिसनरीहरूबीच मनमुटाव भयो। जसको कारण शाखा कार्यालयले केही मिसनरीहरूको असाइनमेन्ट परिवर्तन गर्नुपऱ्‍यो। यसरी मनमुटाव हुँदा मैले विचारै नगरी कसैको पक्ष लिएकोले कडा सल्लाह पाएँ। म धेरै निराश भएँ अनि साह्रै अयोग्य महसुस गरेँ। त्यसपछि आध्यात्मिक तवरमा फेरि अघि बढ्‌ने आशामा म कराची फर्किएँ अनि पछि लन्डन गएँ।

लन्डनमा म जाने गरेको मण्डलीमा लन्डन बेथेल परिवारका थुप्रै सदस्यहरू हुनुहुन्थ्यो। शाखा निरीक्षक भाइ प्राइस ह्‍युजले मलाई निकै मायालुपूर्वक विभिन्‍न कुराहरू सिकाउनुभयो। एक चोटि उहाँले भाइ जोसेफ एफ. रदरफोर्डबाट कडा सल्लाह पाएको अनुभव मलाई सुनाउनुभयो। भाइ रदरफोर्ड त्यतिबेला विश्‍वव्यापी प्रचारकार्यको निरीक्षण गर्नुहुन्थ्यो। भाइ ह्‍युजले आफ्नो सफाइ दिन खोज्नुहुँदा भाइ रदरफोर्डले बेसरी हप्काउनुभएको रहेछ। भाइ ह्‍युजले मुस्कुराउँदै यो कुरा सुनाउनु भएको देखेर मलाई छक्क लाग्यो। उहाँले भन्‍नुभएअनुसार यो घटना हुँदा सुरुमा उहाँ निराश हुनुभयो। तर उहाँलाई त्यस्तो सल्लाह चाहिएको थियो अनि त्यो यहोवाको प्रेमको प्रमाण थियो भनेर पछि उहाँले बुझ्नुभयो। (हिब्रू १२:६) उहाँको कुराले मेरो मन छोयो अनि आध्यात्मिक तवरमा फेरि बलियो हुन मदत पाएँ।

त्यसै बेलातिर आमा लन्डन सर्नुभयो अनि भाइ जोन इ. बारसँग बाइबल अध्ययन सुरु गर्नुभयो। भाइ बारले पछि परिचालक निकायको सदस्यको रूपमा सेवा गर्नुभयो। आमाले राम्रो आध्यात्मिक प्रगति गर्नुभयो र १९५७ मा बप्तिस्मा गर्नुभयो। बुबा बित्नुअघि उहाँले पनि यहोवाका साक्षीहरूसँग अध्ययन गर्नुभयो भनेर मैले पछि थाह पाएँ।

मैले १९५८ मा डेनमार्ककी बहिनी लेनीसँग विवाह गरेँ। उनी लन्डनमै बस्थिन्‌। विवाह गरेको एक वर्षपछि हाम्री छोरी जेन जन्मिइन्‌। पाँच जना छोराछोरीमध्ये जेन जेठी थिइन्‌। मैले फुलहाम मण्डलीमा सेवा गर्दै जाँदा अरू थप सुअवसरहरू पनि पाएँ। पछि लेनीको स्वास्थ्य बिग्रँदै गएकोले हामी न्यानो मौसम भएको ठाउँमा सर्नुपर्ने भयो। त्यसैले १९६७ मा हामी अस्ट्रेलियाको एडिलेडमा बसाइँ सऱ्‍यौँ।

पीडादायी चोट

एडिलेडको मण्डलीमा १२ जना वृद्ध अभिषिक्‍त भाइबहिनीहरू हुनुहुन्थ्यो। उहाँहरू प्रचारमा जोसिलो भई अगुवाइ लिनुहुन्थ्यो। त्यसैले चाँडै हामीले राम्रो आध्यात्मिक तालिका कायम राख्न सक्यौँ।

हाम्रो पाँचौं सन्तान ड्यानियल १९७९ मा जन्मियो। उसलाई डाउन सिन्ड्रोम * भन्‍ने रोग लागेको थियो अनि धेरै समय नबाँच्ने अनुमान लगाइएको थियो। त्यसबेलाको पीडा व्याख्या गर्न मलाई अहिले पनि गाह्रो लाग्छ। अरू चार जना छोराछोरीको पनि ख्याल राख्दै हामी उसको हेरविचार गर्न लागिपरेका थियौँ। ड्यानियल कहिलेकाहीँ अक्सिजनको कमीले गर्दा निलो हुन्थ्यो किनकि उसको मुटुमा दुइटा प्वाल थियो। त्यस्तो अवस्थामा हामी उसलाई तुरुन्तै अस्पताल लैजान्थ्यौँ। स्वास्थ्य कमजोर भए पनि उसको सोच्ने बुझ्ने क्षमता राम्रो थियो। ऊ मायालु स्वभावको थियो र यहोवालाई निकै प्रेम गर्थ्यो। खाना खानुअघि परिवार मिलेर प्रार्थना गर्दा ऊ आफ्ना साना हातहरू जोड्‌दै, टाउको हल्लाउँदै मनैदेखि “आमिन!” भन्थ्यो अनि बल्ल खाना खान्थ्यो।

चार वर्षको हुँदा ड्यानियललाई ल्युकेमिया भन्‍ने रोगले च्याप्यो। लेनी र म शारीरिक र भावनात्मक रूपमा लखतरान भयौँ। मेलै आफू मानसिक सन्तुलन गुमाउने स्थितिमा पुग्न लागेको जस्तै महसुस गरेँ। एकदिन हामी निकै निराश भएको बेला क्षेत्रीय निरीक्षक भाइ नेभिल ब्रोमविच हाम्रो घरमा आउनुभयो। त्यस रात आँखाभरी आँसु लिएर उहाँले हामीलाई अङ्‌गालो हाल्नुभयो। हामी सबै जना रोयौँ। उहाँको दयालु शब्दहरूद्वारा हामीले सोचेभन्दा पनि धेरै सान्त्वना पायौँ। त्यसपछि उहाँ बिहान १ बजे फर्कनुभयो। त्यसको केही दिनपछि ड्यानियलको मृत्यु भयो। उसलाई गुमाउनु हाम्रो जीवनको सबैभन्दा पीडादायी क्षण थियो। तर मृत्युले समेत ड्यानियललाई यहोवाको प्रेमबाट अलग गर्न सक्दैन भन्‍ने कुरामा हामी ढुक्क भएकोले हामीले त्यो चोट सहन सक्यौँ। (रोमी ८:३८, ३९) नयाँ संसारमा ड्यानियललाई फेरि भेट्‌न पाउँदा हाम्रो खुसीको सीमा रहनेछैन!—यूह. ५:२८, २९.

अरूलाई मदत गर्दाको आनन्द

मलाई दुई पटक मस्तिष्कघात भयो। तैपनि आज म मण्डलीको एल्डरको रूपमा सेवा गर्दै छु। मेरा अनुभवहरूले मलाई अरूप्रति र विशेष गरी दुःखमा परेकाहरूप्रति दयालु हुन मदत गरेको छ। म अरूको न्याय गर्नतिर लाग्दिनँ। बरु म आफैलाई यस्तो प्रश्‍न सोध्छु: ‘उनीहरूको जीवनमा घटेका घटनाहरूले उनीहरूको भावना र सोचाइमा कस्तो असर गरेको छ? म उनीहरूको चासो राख्छु भनेर कसरी देखाउन सक्छु? म उनीहरूलाई कसरी यहोवाको मार्गमा हिँड्‌न प्रोत्साहन दिन सक्छु?’ भाइबहिनीहरूलाई भेटेर प्रोत्साहन दिन मलाई साँच्चै मन पर्छ। उनीहरूलाई आध्यात्मिक रूपमा सान्त्वना र स्फूर्ति दिँदा म आफैले पनि सान्त्वना र स्फूर्ति पाएको महसुस गर्छु।

गोठालो भेट गर्दा म साँचो सन्तुष्टि पाउँछु

म भजनरचयिताले जस्तै महसुस गर्छु। तिनले यसो भने: “मेरो मनमा ज्यादा फिक्री हुँदा [यहोवाका] सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।” (भज. ९४:१९) यहोवाले मलाई पारिवारिक चुनौती, धार्मिक विरोध, निराशा र डिप्रेसनजस्ता समस्याहरूको सामना गर्न मदत गर्नुभएको छ। साँच्चै, उहाँ मेरो बुबा हुनुभएको छ!

^ अनु. 19 अहिलेको पाकिस्तानलाई पहिला पश्‍चिमी पाकिस्तान र अहिलेको बंगलादेशलाई पहिला पूर्वी पाकिस्तान भनिन्थ्यो।

^ अनु. 29 जुन २०११ को ब्यूँझनुहोस्‌-मा (अङ्‌ग्रेजी) प्रकाशित “डाउन सिन्ड्रोम भएको बच्चालाई हुर्काउँदाका चुनौती र आशिष्‌हरू” भन्‍ने लेख हेर्नुहोस्‌।