सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनले परमेश्‍वरको अनुमोदन पाउन सक्थे

तिनले परमेश्‍वरको अनुमोदन पाउन सक्थे

हामी यहोवाको सेवा गर्छौँ र उहाँको अनुमोदन पाउन चाहन्छौँ नि, होइन र? तर परमेश्‍वरले कसलाई आफ्नो अनुमोदन र आशिष्‌ दिनुहुन्छ? बाइबलकालीन समयमा कसै-कसैले पहिला गम्भीर पाप गरे पनि पछि परमेश्‍वरको अनुमोदन पाएका थिए। केहीले भने आफूसँग राम्रा गुणहरू भए पनि परमेश्‍वरको अनुमोदन गुमाए। त्यसकारण हाम्रो मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ: “यहोवा हामीबाट खासगरि के चाहनुहुन्छ?” यहूदाका राजा रहबामको उदाहरणले हामीलाई यो प्रश्‍नको जवाफ पाउन मदत गर्छ।

नराम्रो सुरुवात

रहबामका बुबा सुलेमान थिए, जसले इस्राएलमाथि ४० वर्ष शासन गरे। (१ राजा ११:४२) ईसापूर्व ९९७ मा सुलेमानको मृत्यु भयो। त्यसपछि रहबाम राजा नियुक्‍त हुन उत्तरतर्फ यरूशलेमदेखि शेकेम गए। (२ इति. १०:१) सुलेमान अत्यन्तै बुद्धिमान्‌ राजा भनेर चिनिन्थे। त्यसकारण तिनको पाइला पछ्याउन रहबामलाई कत्ति अप्ठ्यारो महसुस भएको थियो होला, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? चाँडै, कठिन परिस्थितिहरू सुल्झाउन सक्छन्‌ कि सक्दैनन्‌ भनेर रहबामको बुद्धिको जाँच हुनेथियो।

रहबामले इस्राएलको परिस्थिति तनावग्रस्त भएको महसुस गरे होलान्‌। केही समयपछि सारा इस्राएलको प्रतिनिधित्व गर्दै केही मानिसहरू तिनीकहाँ आए र यसरी आफ्नो दुखेसो पोखे: “तपाईंका पिताले हामीमाथि गह्रौं जूवा बोकाइदिनुभएको थियो, तर उहाँले हामीमाथि लाउनुभएको यो कठोर दासत्व र गह्रौं जूवा तपाईंले हलुङ्‌ग गरिदिनुभयो भने हामी तपाईंको सेवा गर्नेछौं।”—२ इति. १०:३, ४.

आफू फन्दामा परेको जस्तो रहबामलाई लागेको हुनुपर्छ। यदि मानिसहरूको माग पूरा गऱ्‍यो भने तिनी, तिनको परिवार र भारादारहरूले ऐसआरामको जिन्दगीमा केही कटौती गर्नुपर्ने हुन्थ्यो अनि मानिसहरूसित पहिले जस्तो माग गर्न पाउँदैन थिए। अर्कोतर्फ, यदि मानिसहरूको कुरा इन्कार गऱ्‍यो भने उनीहरू तिनको विरुद्धमा उठ्‌न सक्थे। तिनले के गरे? ती नयाँ राजाले बूढा-प्रधानहरूसित सल्लाह मागे, जो सुलेमानका सल्लाहकार थिए। त्यसपछि रहबामले आफ्नै उमेरका जवान पुरुषहरूसित पनि सल्लाह मागे। ती जवानहरूकै सल्लाह सुनेर रहबामले मानिसहरूसित कठोर व्यवहार गरे। तिनले यस्तो जवाफ दिए: “मेरा पिताले ता तिमीहरूका जूवा गह्रौं बनाइदिनुभएको थियो, तर म त्यो अझै गह्रौं बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेंत लगाउनुहुन्थ्यो, तर म तिमीहरूलाई कोर्रा लाउनेछु।”—२ इति. १०:६-१४.

यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? स्पष्ट छ, पाका र आध्यात्मिक तवरमा परिपक्व व्यक्‍तिहरूको कुरा सुन्‍नु बुद्धिमानी हुन्छ। उनीहरू अनुभवी भएकोले कुनै निर्णय गर्दा परिणाम कस्तो हुन सक्छ भनेर बुझेका हुन्छन्‌। त्यसैले उनीहरूले हामीलाई राम्रो सल्लाह दिन सक्छन्‌।—अय्यू. १२:१२.

“तिनीहरूले परमेश्‍वरको वचन माने”

मानिसहरूले विरोध गरेकोले रहबामले आफ्नो सेनालाई भेला गराए। तर यहोवाले भविष्यवक्‍ता शमायाहमार्फत यसो भन्‍नुभयो: “तिमीहरू आफ्ना दाजुभाइ इस्राएलको विरुद्धमा युद्ध गर्न उक्लेर नजाऊ, तिमीहरू आफ्नो आफ्नो घर फर्केर जाऊ, किनभने मेरो इच्छा यही हो।”—१ राजा १२:२१-२४. *

के रहबामलाई यहोवाको कुरा सुन्‍न सजिलो थियो? मानिसहरूलाई “कोर्रा लाउनेछु” भनेर धम्की दिएको राजाले आफ्नो शिर झुकाउँदा मानिसहरूले के सोच्ने थिए होलान्‌? (२ इतिहास १३:७ तुलना गर्नुहोस्‌) तैपनि राजा र तिनका सेना “परमप्रभुले तिनीहरूलाई भन्‍नुभएझैं . . . परमप्रभुको वचन मानेर आफ्नो-आफ्नो घर गए।”

यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? मानिसहरूले हाम्रो जतिसुकै खिल्ली उडाए पनि परमेश्‍वरप्रति आज्ञाकारी हुनु बुद्धिमानी हो। यसरी आज्ञाकारी हुँदा हामीले परमेश्‍वरको अनुमोदन र आशिष्‌ पाउँछौँ।—व्यव. २८:२.

आज्ञाकारी हुँदा रहबामलाई कस्तो फाइदा भयो? तिनले आज्ञाकारी हुँदै भर्खरै स्थापना भएको राज्यविरुद्ध युद्ध गर्ने आफ्नो निर्णय बदले। बरु तिनले आफ्नो शासनमा बाँकी रहेको दुइटा कुल अर्थात्‌ यहूदा र बिन्यामीनको इलाकामा सहरहरू निर्माण गर्ने निर्णय गरे। तिनले थुप्रै सहरहरूका “गढीहरू सुदृढ पारे।” (२ इति. ११:५-१२) अझ महत्त्वपूर्ण कुरा के हो भने, तिनले केही समयका लागि यहोवाको वचन पालन गरे। यारोबामले शासन गरेको इस्राएलका १० कुल मूर्तिपूजामा चुर्लुम्मै डुब्दा त्यहाँका थुप्रै मानिसहरूले साँचो उपासनाको लागि दृढ अडान लिए र ‘रहबामलाई समर्थन गर्न’ यरूशलेम आए। (२ इति. ११:१६, १७, NRV) यसरी रहबामको आज्ञाकारीताले तिनको शासनलाई बलियो बनायो।

रहबामको पाप र पश्‍चात्ताप

तर जब रहबामको शासन बलियो भयो, तब तिनले यहोवाको वचन पालन गर्न छोडेर मूर्तिपूजा गर्न थाले। तिनले त्यसो गर्लान्‌ भनेर कसैले सोचेको थिएन। तिनले किन त्यसो गरे? तिनले आफ्नी आमाको प्रभावमा परेर त्यस्तो निर्णय गरेका थिए कि? किनभने तिनकी आमा अम्मोनी थिइन्‌। (१ राजा १४:२१) कारण जेसुकै होस्‌, पूरै राज्यले तिनको सिको गऱ्‍यो। त्यसकारण रहबामले यहूदाका थुप्रै सहरहरूलाई बलियो बनाए पनि यहोवाले मिश्र देशका राजा शीशकलाई ती सहरहरू कब्जा गर्न दिनुभयो।—१ राजा १४:२२-२४; २ इति. १२:१-४.

हुँदा-हुँदा शीशक र तिनको सेना यरूशलेमसम्मै पुगे, जहाँ रहबामले शासन गरिरहेका थिए। त्यतिबेला भविष्यवक्‍ता शमायाहले रहबाम र तिनका कुलनायकहरूलाई परमेश्‍वरबाट आएको यस्तो सन्देश सुनाए: “तिमीहरूले मलाई त्यागेका छौ, यसैकारण अब म तिमीहरूलाई शीशकको हातमा सुम्पिदिनेछु।” यस्तो कडा सन्देशप्रति रहबामले कस्तो प्रतिक्रिया देखाए? सकारात्मक प्रतिक्रिया देखाए! बाइबल भन्छ: “इस्राएलका कुलनायकहरू र राजाले विनम्र भएर भने, ‘परमप्रभु न्यायी हुनुहुन्छ।’” त्यसकारण यहोवाले रहबामलाई बचाउनुभयो र यरूशलेमलाई विनाश हुनबाट जोगाउनुभयो।—२ इति. १२:५-७, १२.

त्यसपछि रहबामले दक्षिणी राज्यमाथि शासन गरिरहे। मृत्यु हुनुभन्दा अघि तिनले आफ्ना सबै छोराहरूलाई प्रशस्तै उपहार दिए। आफ्नो छोरा अबियाह आफूपछिको राजा हुँदा अरू छोराहरूले विद्रोह नगरून्‌ भनेर तिनले यसो गरेका हुन सक्छन्‌। (२ इति. ११:२१-२३) यसरी रहबामले पहिलेभन्दा बुद्धिमानी कदम चाले।

आखिर असल कि खराब?

रहबामले केही राम्रो काम गर्ने कोसिस गरे तापनि तिनी परमेश्‍वरको अनुमोदन पाउन सफल हुन सकेनन्‌। तिनको शासनकालबारे बाइबल यसो भन्छ: “तिनले जे खराब थियो त्यही गरे।” किन? “किनभने तिनले परमप्रभुको अगुवाइ खोज्न कोशिष गरेनन्‌।”—२ इति. १२:१४.

राजा दाऊदले परमेश्‍वरसित घनिष्ठ सम्बन्ध विकास गरे तर रहबाम त्यसो गर्नदेखि चुके

रहबामको यो उदाहरणबाट हामी के सिक्न सक्छौँ? तिनी कहिलेकाहीँ परमेश्‍वरप्रति आज्ञाकारी भए। अनि यहोवाको जनहरूका निम्ति केही असल कामहरू गरे। तर तिनी यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्नदेखि चुके अनि उहाँलाई खुसी तुल्याउने तीव्र चाहना तिनमा थिएन। त्यसैले तिनी गलत काम र झूटो उपासनामा फसे। तपाईँलाई लाग्ला: ‘के रहबामले अरूले भनेकोले मात्रै परमेश्‍वरको सल्लाह स्विकारेका थिए? वा तिनले साँच्चै यहोवालाई खुसी बनाउन मनैदेखि पश्‍चात्ताप गरेका थिए?’ (२ इति. ११:३, ४; १२:६) पछि तिनले जे खराब थियो, त्यही गरे। आफ्नो हजुरबुबा दाऊदभन्दा तिनी कत्ति फरक! हो, दाऊदले पनि गल्ती गरेका थिए। तर तिनले आफ्नो गल्तीको साँचो पश्‍चात्ताप गरे। अनि तिनी यहोवालाई साँचो प्रेम गर्थे र अन्तसम्मै साँचो उपासनामा समर्पित भए।—१ राजा १४:८; भज. ५१:१, १७; ६३:१.

रहबामको उदाहरणबाट हामी पक्कै पाठ सिक्न सक्छौँ। हुनत मानिसहरू आफ्नो परिवारको लागि अनि अर्थपूर्ण लक्ष्यहरू हासिल गर्नको लागि निकै मेहनत गर्छन्‌। तर परमेश्‍वरको अनुमोदन पाउन हामीले सर्वप्रथम साँचो उपासनालाई समर्थन गर्नुपर्छ र उहाँसितको सम्बन्धलाई बलियो बनाइराख्नुपर्छ।

यसो गर्न हामीले यहोवाप्रतिको गहिरो प्रेम विकास गर्दै लैजानुपर्छ। जसरी हामी आगोलाई निभ्न नदिन दाउरा थपिरहन्छौँ, त्यसरी नै परमेश्‍वरप्रतिको प्रेम सेलाउन नदिन हामीले उहाँको वचन नियमित अध्ययन गर्नुपर्छ, पढेको कुरा मनन गर्नुपर्छ र निरन्तर प्रार्थना गर्नुपर्छ। (भज. १:२; रोमी १२:१२) यहोवाप्रति गहिरो प्रेम विकास गर्दा उहाँलाई खुसी बनाइराख्ने उत्प्रेरणा पाउँछौँ। अनि यसले हामीलाई आवश्‍यक पर्दा साँचो पश्‍चात्ताप गर्न झकझक्याउँछ। यसो गऱ्‍यौँ भने हामी रहबामजस्तो नभई साँचो उपासनामा सधैँ अटल भइरहनेछौँ।—यहू. २०, २१.

^ अनु. 9 सुलेमानको अवफादारीका कारण तिनको राज्य टुक्रिनेछ भनेर परमेश्‍वरले पहिल्यै भन्‍नुभएको थियो।—१ राजा ११:३१.