सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको नियम र सिद्धान्तले तपाईँको अन्तस्करणलाई तालिम देओस्‌

परमेश्‍वरको नियम र सिद्धान्तले तपाईँको अन्तस्करणलाई तालिम देओस्‌

“मेरो ध्यान तपाईंका साक्षी-वचनमा छ।”—भज. ११९:९९.

गीत: १२७, ८८

१. हामी जनावरभन्दा उत्कृष्ट हुनुको एउटा कारण के हो?

मानिस जनावरभन्दा उत्कृष्ट छ। किन? एउटा कारण, मानिससित अन्तस्करण छ। परमेश्‍वरले पहिलो मानवलाई अन्तस्करणसहित सृष्टि गर्नुभएको थियो। आदम र हव्वाले यहोवाको नियम तोडेपछि तिनीहरू लुके। यसबाट तिनीहरूलाई अन्तस्करणले सताएको थियो भनेर थाह हुन्छ।

२. हाम्रो अन्तस्करणलाई कुन अर्थमा कम्पाससित तुलना गर्न सकिन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

राम्ररी तालिम नपाएको अन्तस्करण हुने मानिसलाई बिग्रेको कम्पास * भएको पानीजहाजसित तुलना गर्न सकिन्छ। कम्पास बिग्रिएको छ भने जहाज सजिलै गलत दिशातर्फ जान सक्छ। अनि समुद्री बतास र छालहरूले जहाजलाई सजिलै यताउता हुऱ्‍याउन सक्छ। तर कम्पासले ठीकसित काम गरेको छ भने नाविकले जहाजलाई सही दिशामा लैजान सक्छन्‌। हाम्रो अन्तस्करणले पनि एक अर्थमा कम्पासले जस्तै काम गर्छ। अन्तस्करण भनेको हामीमा भएको आन्तरिक चेतना हो, जसले हामीलाई के सही र के गलत हो भनेर बताउँछ अनि सही बाटोतर्फ डोऱ्‍याउँछ। तर हाम्रो अन्तस्करणले हामीलाई सही बाटोतर्फ डोऱ्‍याएको चाहन्छौँ भने त्यसले राम्रो तालिम पाएको हुनुपर्छ।

३. अन्तस्करणले राम्ररी तालिम पाएको छैन भने के हुन सक्छ?

यदि हाम्रो अन्तस्करणले राम्ररी तालिम पाएको छैन भने त्यसले हामीलाई गलत काम गर्नदेखि रोक्दैन। (१ तिमो. ४:१, २) त्यस्तो अन्तस्करणले “खराबलाई असल” हो भन्‍ने भानसमेत पार्न सक्छ। (यशै. ५:२०) येशूले आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: “यस्तो समय आउँदैछ, जब तिमीहरूलाई मार्नेजति हरेकले परमेश्‍वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठान्‍नेछ।” (यूह. १६:२) चेला स्तिफनसलाई मार्ने मानिसहरूले पनि त्यस्तै सोचाइ राखेका थिए। (प्रेषि. ६:८, १२; ७:५४-६०) इतिहासलाई केलाएर हेर्ने हो भने धार्मिक कट्टरपन्थीहरूले ‘परमेश्‍वरको नाममा’ भन्दै थुप्रै नराम्रा कामहरू गरेका छन्‌, तिनीहरू हत्या गर्नसमेत पछि परेका छैनन्‌। उहाँको नाम लिएर उहाँकै आज्ञा उल्लङ्‌घन गर्नु कत्ति नमिल्दो कुरा! (प्रस्थ. २०:१३) कुरा स्पष्ट छ, तिनीहरूको अन्तस्करणले तिनीहरूलाई सही बाटोतर्फ डोऱ्‍याएको छैन।

४. हामी आफ्नो अन्तस्करणलाई बोधो हुन नदिन के गर्न सक्छौँ?

हामी आफ्नो अन्तस्करणलाई बोधो हुन नदिन के गर्न सक्छौँ? परमेश्‍वरको वचनमा पाइने नियम र सिद्धान्तहरू “सिकाउन, सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि उपयोगी छ।” (२ तिमो. ३:१६) त्यसैले लगनशील भई बाइबल अध्ययन गर्दा, त्यसमा लेखिएको कुरा मनन गर्दा अनि त्यसलाई आफ्नो जीवनमा लागू गर्दा हामीले आफ्नो अन्तस्करणलाई परमेश्‍वरको सोचाइअनुरूप चल्न तालिम दिइरहेका हुन्छौँ। यस्तो अन्तस्करणले भरपर्दो गाइडले जस्तै काम गर्छ। आउनुहोस्‌, यहोवाको नियम र सिद्धान्तले हाम्रो अन्तस्करणलाई कसरी तालिम दिन सक्छ, विचार गरौँ।

परमेश्‍वरको नियमले तपाईँलाई तालिम देओस्‌

५, ६. परमेश्‍वरका नियमहरू पालन गर्दा हामीलाई कस्तो फाइदा हुन्छ?

परमेश्‍वरको नियमबाट लाभ उठाउन हामीले ती नियमहरू पढ्‌नु वा त्यसबारे थाह पाउनु मात्र पर्याप्त छैन। हामीले त्यसलाई प्रेम र आदर गर्न सिक्नुपर्छ। परमेश्‍वरको वचन यसो भन्छ: “खराबीलाई घृणा, भलाइलाई प्रेम गर।” (आमो. ५:१५, NRV) तर हामी कसरी त्यसो गर्न सक्छौँ? हामीले हरेक कुरालाई यहोवाको दृष्टिकोणबाट हेर्न सिक्नुपर्छ। मानौँ, तपाईँ राम्ररी निदाउन सकिरहनुभएको छैन। त्यसैले डाक्टरले तपाईँलाई पोसिलो खाना खान, व्यायाम गर्न अनि जीवनशैलीमा केही छाँटकाँट गर्न सुझाव दिए। अनि डाक्टरले भनेझैँ गर्दा तपाईँ राम्ररी निदाउन सक्नुभयो। तपाईँको स्वास्थ्यमा सुधार भएको देख्दा तपाईँ तिनीप्रति पक्कै कृतज्ञ महसुस गर्नुहुन्छ।

त्यसरी नै, हाम्रो सृष्टिकर्ताले हामीलाई पापको नराम्रो परिणामबाट जोगाउन र हाम्रो जीवन सुधार्न नियमहरू दिनुभएको छ। बाइबलले दिने नियम पालन गर्दा हामीलाई कस्ता फाइदाहरू हुन्छन्‌, विचार गर्नुहोस्‌ त। जस्तै: झूट नबोल्ने, खराबी नचिताउने, चोरी नगर्ने, अवैध यौनसम्बन्ध नराख्ने, हिंसा नगर्ने अनि तन्त्रमन्त्र नगर्ने। (हितोपदेश ६:१६-१९ पढ्‌नुहोस्‌; प्रका. २१:८) यहोवाको तौरतरिकाअनुसार चलेर प्रचुर मात्रामा आशिष्‌ पाउँदा यहोवा र उहाँका नियमहरूप्रति हाम्रो प्रेम र कदर स्वत: बढ्‌नेछ।

७. बाइबल पात्रहरूको जीवनी पढ्‌दा र मनन गर्दा हामी के गर्ने बल पाउँछौँ?

खुसीको कुरा, के सही हो र के गलत हो भनेर बुझ्न हामीले परमेश्‍वरका नियमहरू उल्लङ्‌घन गरेर त्यसको दुःखद परिणाम भोग्नुपर्छ भन्‍ने छैन। अरूले गरेका गल्तीहरूबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। गल्ती गर्ने व्यक्‍तिहरूको उदाहरण हामी बाइबलमा पाउँछौँ। हितोपदेश १:५ (TBS) यसो भन्छ: “बुद्धिमान्‌ मानिसले ध्यानसित सुन्‍नेछ र ज्ञान बढाउनेछ।” यस्तो ज्ञान हामी परमेश्‍वरबाट पाउँछौँ र यो हाम्रो लागि सबैभन्दा उत्तम निर्देशन हो। बाइबल पात्रहरूको जीवनी पढ्‌दा र मनन गर्दा हामी त्यस्तो उत्तम निर्देशन पाउँछौँ। उदाहरणको लागि, राजा दाऊदले यहोवाको आज्ञा उल्लङ्‌घन गरेर बेतशेबासित अवैध यौनसम्बन्ध राखेपछि तिनले कस्तो पीडा महसुस गरे, सोच्नुहोस्‌ त। (२ शमू. १२:७-१४) यो विवरण पढ्‌दा र मनन गर्दा हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘त्यस्तो दुःखद नतिजा भोग्नदेखि राजा दाऊद कसरी जोगिन सक्थे? मैले पनि त्यस्तै प्रलोभन सामना गर्नुपऱ्‍यो भने के मसित त्यसलाई तिरस्कार गर्ने आँट हुनेछ? म यूसुफजस्तै भाग्नेछु कि दाऊदजस्तै प्रलोभनमा फस्नेछु?’ (उत्प. ३९:११-१५) पापको नराम्रो परिणामबारे सोच्यौँ भने ‘खराबीलाई घृणा गर्ने’ दृढ अठोट गर्न सक्नेछौँ।

८, ९. (क) अन्तस्करणले हामीलाई कस्तो मदत दिन्छ? (ख) यहोवाका सिद्धान्तहरूले हाम्रो अन्तस्करणलाई कसरी डोऱ्‍याउँछ?

परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूबाट हामी टाढै बस्छौँ। तर बाइबलले तोकेरै कुनै आज्ञा नदिएको विषयमा नि? त्यस्तो अवस्थामा परमेश्‍वरलाई स्वीकार्य र मन पर्ने कुरा के हो भनेर कसरी थाह पाउन सक्छौँ? बाइबलको स्तरअनुसार तालिम पाएको अन्तस्करणले हामीलाई यस्ता अवस्थाहरूमा सही निर्णय गर्न मदत गर्छ।

यहोवा हामीलाई माया गर्नुहुन्छ। त्यसैले उहाँले हामीलाई सिद्धान्तहरू दिनुभएको छ, जसले बाइबलको स्तरअनुसार तालिम पाएको हाम्रो अन्तस्करणलाई डोऱ्‍याउँछ। उहाँ आफैले यसो भन्‍नुभएको छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” (यशै. ४८:१७, १८) हामीले आफ्नो मन र दिमाग प्रयोग गरेर बाइबल सिद्धान्तहरूबारे गहिरो चिन्तन गर्नुपर्छ। यसो गर्दा हामीले अन्तस्करणलाई सच्याइरहेका हुन्छौँ, ठीक बाटो देखाइरहेका हुन्छौँ र परमेश्‍वरको सोचाइअनुसार त्यसलाई ढालिरहेका हुन्छौँ। परिणामस्वरूप हामीले सही निर्णय गर्न सक्नेछौँ।

परमेश्‍वरका सिद्धान्तहरूले तपाईँलाई डोऱ्‍याओस्‌

१०. सिद्धान्त भनेको के हो? येशूले चेलाहरूलाई सिद्धान्तहरूबारे कसरी सिकाउनुभयो?

१० सिद्धान्त भनेको “हामीलाई सोच्न वा कुनै कदम चाल्न मदत गर्ने आधारभूत सत्य हो।” कुनै नियमको पछाडि लुकेको सिद्धान्त बुझ्न हामीलाई नियमहरू दिनुहुने यहोवाको सोचाइ बुझ्नुपर्छ र उहाँले ती नियमहरू दिनुको कारण बुझ्नुपर्छ। पृथ्वीमा सेवा गरुन्जेल येशूले आफ्ना चेलाहरूलाई आधारभूत सत्य अर्थात्‌ सिद्धान्तहरू सिकाउनुभयो। ती बुझेको खण्डमा चेलाहरूले आफ्नो मनोवृत्ति वा कामको परिणाम कस्तो हुन सक्छ भनेर बुझ्न सक्ने थिए। उदाहरणको लागि, उहाँले मनमा रिस-इबी राख्दा त्यसले हिंसासमेत गराउन सक्छ अनि कामवासनाले अवैध यौनसम्बन्धसम्म पुऱ्‍याउन सक्छ भनेर सिकाउनुभयो। (मत्ती ५:२१, २२, २७, २८) आफ्नो अन्तस्करणलाई राम्ररी तालिम दिन हामी परमेश्‍वरका सिद्धान्तहरूअनुसार चल्नुपर्छ। यसो गऱ्‍यौँ भने परमेश्‍वरको महिमा हुने निर्णयहरू गर्न सक्नेछौँ।—१ कोरि. १०:३१.

परिपक्व ख्रीष्टियनले अरूको अन्तस्करणको आदर गर्छन्‌ (अनुच्छेद ११, १२ हेर्नुहोस्‌)

११. अन्तस्करणले गर्ने निर्णय कसरी फरक हुन सक्छ?

११ आफ्नो अन्तस्करणले बाइबलको स्तरअनुसार तालिम पाएको भए पनि कुनै-कुनै मामिलामा ख्रीष्टियनहरूले फरक-फरक निर्णय गर्न सक्छन्‌। उदाहरणको लागि, मादक पेय पदार्थको प्रयोगबारे विचार गर्नुहोस्‌। बाइबलले ठिक्क मात्रामा रक्सी पिउन निषेध गरेको छैन। तर असाध्यै रक्सी पिउने अनि मात्तिने गरी पिउनेबारे भने चेताउनी दिन्छ। (हितो. २०:१; १ तिमो. ३:८) के यसको मतलब आफूले ठिक्क मात्रामा रक्सी पिउँदै छु भन्दैमा ख्रीष्टियनहरूले अरू कुनै पनि कुरामा विचार पुऱ्‍याउनु पर्दैन भनेको हो? त्यसो त पटक्कै होइन! रक्सी पिउन कसैलाई आफ्नो अन्तस्करणले अनुमति दिन्छ होला तर तिनले अरूको अन्तस्करणलाई पनि विचार गर्नुपर्छ।

१२. रोमी १४:२१ का शब्दहरूले हामीलाई अरूको अन्तस्करणको आदर गर्न कसरी मदत गर्छ?

१२ ख्रीष्टियनहरूले अरूको अन्तस्करणको आदर गर्नुपर्छ भनेर देखाउन पावलले यस्तो लेखे: “तिमीले मासु खाँदा, मद्य पिउँदा वा अरू केही गर्दा तिम्रो भाइलाई ठक्कर पुग्छ भने त्यसो नगर्नु नै बेस हो।” (रोमी १४:२१) तपाईँको कुनै छनौटले तपाईँको भन्दा बेग्लै अन्तस्करण हुने भाइलाई ठक्कर पुग्छ भने के तपाईँ आफ्नो अधिकारको कुरा त्याग्नसमेत इच्छुक हुनुहुनेछ? पक्कै हुनुहुनेछ। यहोवाका साक्षी बन्‍नुअघि हाम्रा कोही-कोही भाइबहिनीको रक्सी धेरै पिउने बानी थियो होला। तर अब भने तिनीहरूले रक्सी नपिउने सङ्‌कल्प गरेका छन्‌। त्यसैले त्यस्तो भाइ वा बहिनीलाई तिनले त्यागिसकेको नराम्रो बानीतर्फ धकेलेर तिनलाई हानि हुने कुनै पनि कदम हामी चाल्न चाहँदैनौँ। (१ कोरि. ६:९, १०) त्यसकारण भाइबहिनीलाई आफ्नो घरमा खाना खान बोलाउँदा यदि कसैले रक्सी पिउन इन्कार गर्छ भने रक्सी पिउन जबरजस्ती गर्नु पक्कै पनि मायालु कुरा हुनेछैन।

१३. परमेश्‍वरको राज्यसम्बन्धी कुरालाई अघि बढाउने सन्दर्भमा तिमोथीले कसरी राम्रो उदाहरण बसाले?

१३ तिमोथी १८/१९ वर्ष पुगेको वा भर्खरै २० वर्ष नाघेको बेलाको एउटा अवस्थालाई विचार गरौँ। तिनले अब यहूदीहरूलाई प्रचार गर्नुपर्ने थियो। त्यसैले ती यहूदीहरूलाई ठक्कर नपुगोस्‌ भनेर तिनी खतना गर्न राजी भए, जुन अत्यन्तै पीडादायी हुन्थ्यो। तिनले प्रेषित पावलको जस्तै मनोवृत्ति देखाए। (प्रेषि. १६:३; १ कोरि. ९:१९-२३) तिमोथीले जस्तै के तपाईँ पनि अरूको हितको लागि त्यागहरू गर्न इच्छुक हुनुहुन्छ?

“परिपक्वतातर्फ अघि बढौं”

१४, १५. (क) परिपक्व हुँदै जानु भनेको के हो? (ख) अरूप्रति प्रेम देखाउनु र परिपक्व ख्रीष्टियन बन्‍नुबीच कस्तो सम्बन्ध छ?

१४ सबै ख्रीष्टियनहरू ‘ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्तलाई पछाडि छोडेर परिपक्वतातर्फ अघि बढ्‌न’ अग्रसर हुनुपर्छ। (हिब्रू ६:१) यो आफसेआफ हुने कुरा होइन। हामी ‘अघि बढ्‌नुपर्छ’ अर्थात्‌ प्रयास गरिरहनुपर्छ। परिपक्व हुन हामीले आफ्नो ज्ञान र अन्तरदृष्टिलाई बढाउँदै लैजानुपर्छ। त्यसकारण हामीलाई दिनहुँ बाइबलको केही भाग पढ्‌न बारम्बार प्रोत्साहन दिइएको छ। (भज. १:१-३) के तपाईँले त्यसो गर्ने लक्ष्य बनाउनुभएको छ? दिनहुँ बाइबल पढ्यौँ भने यहोवाका नियम र सिद्धान्तहरू अझ राम्ररी बुझ्नेछौँ अनि परमेश्‍वरको वचनको गहिरो ज्ञान हासिल गर्नेछौँ।

१५ ख्रीष्टियनहरूले पालन गर्नुपर्ने प्रमुख व्यवस्था प्रेमको व्यवस्था हो। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूह. १३:३५) येशूका सौतेनी भाइ याकूबले प्रेमलाई “शाही व्यवस्था” भने। (याकू. २:८) अनि पावलले यसो भने: “प्रेमले व्यवस्था पूरा गर्छ।” (रोमी १३:१०) प्रेमलाई यत्ति धेरै जोड दिइएकोमा हामी छक्क पर्दैनौँ किनभने “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनी बाइबल बताउँछ। (१ यूह. ४:८) परमेश्‍वरको लागि प्रेम भनेको कुनै भावना मात्र होइन। किनभने यूहन्‍नाले यस्तो लेखे: “हाम्रो सन्दर्भमा परमेश्‍वरको प्रेम यसरी प्रकट भएको छ, कि उहाँले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौं।” (१ यूह. ४:९) हो, परमेश्‍वरको प्रेमले उहाँलाई कदम चाल्न उत्प्रेरित गऱ्‍यो। हामी यहोवा र उहाँको छोराप्रति, हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीप्रति अनि अरू मानिसहरूप्रति कत्तिको प्रेम देखाउँछौँ, त्यसले ख्रीष्टियनको रूपमा हामी कत्तिको परिपक्व भयौँ भनेर देखाउँछ।—मत्ती २२:३७-३९.

परमेश्‍वरका सिद्धान्तहरूबारे राम्ररी सोचविचार गर्दा हाम्रो अन्तस्करण अझै भरपर्दो मार्गनिर्देशक बन्छ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. हामी आध्यात्मिक तवरमा परिपक्व हुँदै जाँदा बाइबलका सिद्धान्तहरूको कसरी अझै मोल गर्न थाल्छौँ?

१६ ख्रीष्टियन परिपक्वतातर्फ अघि बढ्‌दै जाँदा तपाईँले बाइबलका सिद्धान्तहरूको अझै मोल गर्न थाल्नुहुनेछ। किनकि नियम भनेको अक्सर कुनै खास अवस्थामा मात्र लागू हुन्छ तर सिद्धान्त भने विभिन्‍न अवस्थामा लागू हुन्छ। उदाहरणको लागि, साना केटाकेटीले खराब सङ्‌गतको खतराबारे राम्ररी बुझ्दैनन्‌। त्यसैले बुद्धिमान्‌ आमाबुबाले आफ्नो बच्चाको सुरक्षाको लागि नियमहरू तोकिदिन्छन्‌। (१ कोरि. १५:३३) तर बच्चा परिपक्व हुँदै जाँदा उसको सोच्ने क्षमता विकास हुँदै जान्छ र उसले बाइबलआधारित सिद्धान्तहरू कसरी लागू गर्ने भनेर बुझ्न थाल्छ। त्यसपछि उसले सरसङ्‌गत छान्‍ने विषयमा बुद्धिमानी निर्णयहरू गर्न थाल्छ। (१ कोरिन्थी १३:११; १४:२० पढ्‌नुहोस्‌) परमेश्‍वरका सिद्धान्तहरूबारे राम्ररी सोचविचार गर्दा हाम्रो अन्तस्करण परमेश्‍वरको सोचाइसित मेल खाने र अझै भरपर्दो मार्गनिर्देशक बन्छ।

१७. बुद्धिमानी निर्णय गर्न चाहिने कुरा हामीसित छ भनेर किन भन्‍न सक्छौँ?

१७ यहोवालाई मन पर्ने र बुद्धिमानी निर्णय गर्न चाहिने सबै कुरा के हामीसित छ? अवश्‍य छ। परमेश्‍वरको वचनमा दिइएका नियम र सिद्धान्तहरू चलाउन सिपालु भयौँ भने हामी “पूर्णतया योग्य र हरेक असल कामका लागि तयार” हुनेछौँ। (२ तिमो. ३:१६, १७) त्यसैले ‘यहोवाको इच्छा के हो, सो बुझ्न’ बाइबलमा दिइएका सिद्धान्तहरू खोजौँ। (एफि. ५:१७) ख्रीष्टियन मण्डलीमार्फत हामीलाई उपलब्ध गराइएका अध्ययन सामग्रीहरूको पुरापुर सदुपयोग गरौँ। जस्तै: यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी, प्रहरीधरहरा अनलाइन पुस्तकालय, JW लाइब्रेरी एप। यी सामग्रीहरूले हाम्रो व्यक्‍तिगत र पारिवारिक अध्ययनलाई अझ प्रभावकारी बनाउन मदत गर्छ।

बाइबलको स्तरअनुसार तालिम पाएको अन्तस्करण चलाउँदा आशिष्‌ पाउँछौँ

१८. यहोवाका नियम र सिद्धान्तअनुसार चल्दा हामी कस्ता आशिष्‌हरू पाउँछौँ?

१८ यहोवाका नियम र सिद्धान्तहरू पालन गर्दा हामी आशिष्‌ पाउँछौँ। भजन ११९:९७-१०० यसो भन्छ: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ। तपाईंका आज्ञाहरूले मलाई मेरा शत्रुहरूभन्दा बढ्‌ता बुद्धिमान्‌ तुल्याउँछ। किनकि ती सधैं मसँगै छन्‌। मेरा सबै गुरुभन्दा मेरो समझ ज्यादा छ। किनकि मेरो ध्यान तपाईंका साक्षी-वचनमा छ। बूढापाकाहरूले भन्दा म ज्यादै बुझ्दछु, किनभने मैले तपाईंका आदेशहरू पालन गरेको छु।” हामीले परमेश्‍वरका नियम र सिद्धान्तहरूमा “ध्यान” दिनुपर्छ। त्यसो गऱ्‍यौँ भने अझ धेरै समझशक्‍ति र अन्तर्दृष्टि पाउनेछौँ अनि बुद्धिमानी निर्णयहरू गर्न सक्नेछौँ। परमेश्‍वरका नियम र सिद्धान्तअनुसार आफ्नो अन्तस्करणलाई तालिम दिन लगनशील भई प्रयास गरिरहौँ। त्यसो गऱ्‍यौँ भने हामी ‘पूरै हुर्किसकेको मानिस हुनेछौँ अनि ख्रीष्टको पूर्णताको नापसम्म पुग्नेछौँ।’—एफि. ४:१३.

^ अनु. 2 कम्पास भनेको दिशा छुट्ट्याउने यन्त्र हो।