सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको महिमा गर्न आफ्नो ज्योति चम्काउनुहोस्‌

यहोवाको महिमा गर्न आफ्नो ज्योति चम्काउनुहोस्‌

“मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र . . . तिनीहरूले . . . तिमीहरूका बुबाको महिमा गरून्‌।”—मत्ती ५:१६

गीत: ७७, ५९

१. हामीसित आनन्दित हुने कस्तो विशेष कारण छ?

यहोवाका जनहरूमाझ आश्‍चर्यजनक तरिकाले वृद्धि भइरहेको छ! गएको वर्ष हामीले नियमित रूपमा १ करोडभन्दा धेरै बाइबल अध्ययनहरू सञ्चालन गऱ्‍यौँ। यसले परमेश्‍वरका जनहरूको ज्योति साँच्चै चम्किरहेको छ भनेर देखाउँछ। त्यसका साथै लाखौँ मानिसहरू हाम्रो निम्तो स्विकारेर स्मरणार्थ उत्सवमा उपस्थित भए। अनि परमेश्‍वरले फिरौतीको बलिदानको प्रबन्ध गरेर मानिसजातिलाई देखाउनुभएको प्रेमबारे सिक्ने मौका तिनीहरूले पाए।—१ यूह. ४:९.

२, ३. (क) ‘ज्योतिझैं चम्किरहन’ हामीलाई कुन कुराले रोकेको छैन? (ख) मत्ती ५:१४-१६ मा येशूले भन्‍नुभएको कुरालाई मनमा राख्दै हामी कुन प्रश्‍नको जवाफ विचार गर्नेछौँ?

संसारभरि रहेका यहोवाका साक्षीहरू फरक-फरक भाषा बोल्छन्‌। तैपनि एकताबद्ध भएर हाम्रा बुबा यहोवाको उपासना गर्नदेखि यसले हामीलाई रोकेको छैन। (प्रका. ७:९) हाम्रो मातृभाषा जुनसुकै भए तापनि अथवा हामी जहाँसुकै बसे तापनि हामी ‘यस संसारमा ज्योतिझैं चम्किरहन’ सक्छौँ।—फिलि. २:१५.

हामीमाझ भइरहेको वृद्धि, हामीबीचको एकता अनि जागा रहने मनोभाव कायम गर्न हामीले गरेको अथक प्रयासले कसरी यहोवाको महिमा गर्छ? यस लेखमा हामी यस प्रश्‍नको जवाफ पाउनेछौँ।मत्ती ५:१४-१६ पढ्‌नुहोस्‌।

अरूलाई पनि निम्तो दिनुहोस्‌

४, ५. (क) प्रचारकार्यको अलावा हामी कसरी आफ्नो ज्योति चम्काउन सक्छौँ? (ख) हामीले नम्र व्यवहार गर्दा नतिजा कस्तो हुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

प्रहरीधरहरा (अङ्‌ग्रेजी) जून १, १९२५ को “अन्धकारमा ज्योति” शीर्षकको लेखमा यसो भनिएको थियो: “ज्योति चम्काउन आफूले पाएको सुअवसरको मोल गरेनौँ भने यी आखिरी दिनहरूमा कसैले पनि आफूलाई प्रभुसामु वफादार र साँचो साबित गर्न सक्दैन।” त्यसमा थप यस्तो लेखिएको थियो: “त्यसको लागि तिनले संसारका मानिसहरूलाई सुसमाचार सुनाउनुपर्छ अनि ज्योतिको मार्गअनुसार जीवन बिताउनुपर्छ।” हो, हामीले ज्योति चम्काउने एउटा तरिका सुसमाचार प्रचार गरेर अनि चेला बनाएर हो। (मत्ती २८:१९, २०) त्यसको अलावा हामी आफ्नो असल आचरणद्वारा पनि यहोवाको महिमा गर्न सक्छौँ। घरधनीहरू र अरू मानिसहरूले हाम्रो व्यवहार याद गरिरहेका हुन्छन्‌। हाम्रो मीठो मुस्कान र न्यानो अभिवादनले हामी कस्ता मानिसहरू हौँ अनि कस्तो परमेश्‍वरको उपासना गर्छौँ भन्‍ने कुराको चिनारी दिन्छ।

‘जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब त्यस घरमा भएकाहरूलाई अभिवादन गर’ भनेर येशूले चेलाहरूलाई भन्‍नुभयो। (मत्ती १०:१२) येशू र उहाँका चेलाहरूले प्रचार गर्ने इलाकाका मानिसहरू अक्सर अपरिचित व्यक्‍तिलाई आफ्नो घरमा स्वागत गर्थे। हुनत आज थुप्रै ठाउँमा यस्तो चलन छैन। तैपनि तपाईँले असल अनि मित्रैलो व्यवहार देखाउँदै आफू आउनुको कारण बताउँदा घरधनीको शङ्‌का हट्‌न सक्छ वा तिनको रिस शान्त हुन सक्छ। कुराकानी सुरु गर्ने सबैभन्दा राम्रो तरिका मीठो मुस्कान दिएर हो। भाइबहिनीहरू ट्रली लिएर सार्वजनिक साक्षीकार्यमा भाग लिँदा पनि यो तरिका निकै प्रभावकारी भएको छ। तपाईँको मीठो मुस्कान र न्यानो अभिवादनप्रति मानिसहरूले अक्सर राम्रो प्रतिक्रिया देखाउँछन्‌ भनेर तपाईँले पनि महसुस गर्नुभएको होला। त्यसो गर्दा तिनीहरूलाई हाम्रो ट्रलीसम्म आएर कुनै प्रकाशन लैजाऊँ जस्तो लाग्न सक्छ। अनि तपाईँको नम्र व्यवहारले राम्रो कुराकानी सुरु हुन सक्छ।

६. एक वृद्ध दम्पतीले ज्योति चम्काउन कस्तो प्रयास गरे?

इङ्‌गल्यान्डमा बस्ने एक वृद्ध दम्पती स्वास्थ्य समस्याको कारण घर-घरको प्रचारकार्यमा पटक्कै भाग लिन सक्दैनन्‌। तर तिनीहरूले आफ्नै घरअगाडि बसेर ज्योति चम्काउने निर्णय गरे। नजिकैको स्कुल छुट्टी हुने समयमा त्यस दम्पती एउटा टेबुलमा बाइबलआधारित साहित्यहरू राख्छन्‌। आफ्ना छोराछोरीलाई लिन आउने थुप्रै जिज्ञासु आमाबुबाले युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (अङ्‌ग्रेजी) किताबको खण्ड १ र खण्ड २ अनि अरू पुस्तिकाहरू लगेका छन्‌। प्रचार गर्न यस वृद्ध दम्पतीले गरेको प्रयासमा साथ दिन तिनीहरूकै मण्डलीको अर्को एक जना अग्रगामी बहिनी पनि आइन्‌। ती बहिनीको मित्रैलो व्यवहार अनि त्यस दम्पतीले मनैदेखि गरेको प्रयासले गर्दा एक जना बुबा बाइबल अध्ययन गर्न राजी भए।

७. तपाईँको इलाकामा भएका शरणार्थीहरूलाई तपाईँ कसरी मदत गर्न सक्नुहुन्छ?

हालैका वर्षहरूमा थुप्रै देशमा शरणार्थीहरूको ओइरो लागिरहेको छ। त्यस्ता मानिसहरूलाई यहोवा र उहाँको उद्देश्‍यबारे सिकाउन तपाईँ के गर्न सक्नुहुन्छ? सुरुमा ती मानिसहरूको भाषामा अभिवादन गर्न सिक्नुभए कसो होला? JW ल्याङ्‌ग्वेज एपले तपाईँलाई त्यसो गर्न मदत गर्न सक्छ। साथै तिनीहरूको चासो जगाउन सक्ने दुई-चार वटा वाक्यहरू पनि सिक्न सक्नुहुन्छ कि? त्यसपछि तिनीहरूलाई jw.org बाट तिनीहरूकै भाषामा उपलब्ध विभिन्‍न भिडियो र साहित्यहरू देखाउन सक्नुहुन्छ।—व्यव. १०:१९.

८, ९. (क) मध्यहप्ताको सभामा हामी कस्ता व्यावहारिक सुझावहरू पाउँछौँ? (ख) आमाबुबाले आफ्ना छोराछोरीलाई सभामा भाग लिन कसरी मदत गर्न सक्छन्‌?

यहोवाले हाम्रो लागि जीवन र प्रचारकार्य सभाको मायालु प्रबन्ध गरिदिनुभएको छ। यसले हामीलाई प्रचारकार्यमा अझ प्रभावकारी हुन मदत गर्छ। यस सभामा पाइने व्यावहारिक सुझावहरूले हामीलाई अझ ढुक्क भएर पुनःभेट गर्न र बाइबल अध्ययन सञ्चालन गर्न मदत गर्छ।

हाम्रा साना केटाकेटीहरूले पनि सभाको कार्यक्रममा भाग लिएको नयाँ व्यक्‍तिहरूले याद गरेका हुन्छन्‌। आमाबुबा हो, छोराछोरीलाई आफ्नै शब्दमा टिप्पणी दिन सिकाएर तिनीहरूलाई ज्योति चम्काउन मदत गर्नुहोस्‌। तिनीहरूले मनैदेखि दिएको सरल टिप्पणीले गर्दा कहिलेकाहीँ नयाँ व्यक्‍तिहरूले सत्य यही हो भनेर चिन्‍न मदत पाएका छन्‌।—१ कोरि. १४:२५.

एकता बढाउँदै लैजानुहोस्‌

१०. पारिवारिक उपासनाले कसरी एकतालाई अझ बलियो बनाउँछ?

१० ज्योति चम्काउने अर्को तरिका आफ्नो परिवारमा र मण्डलीमा एकतालाई बढाएर हो। आमाबुबाले नियमित रूपमा पारिवारिक उपासनाको प्रबन्ध गरेर परिवारको एकतालाई अझ बलियो बनाउन सक्छन्‌। थुप्रैले हरेक महिना परिवारसँगै बसेर JW ब्रोडकास्टिङको मासिक कार्यक्रम हेर्ने तालिका बनाएका छन्‌। कार्यक्रम हेरिसकेपछि त्यसमा जोड दिइएका कुराहरू कसरी लागू गर्न सकिन्छ भनेर एकछिन छलफल गर्न सक्नुहुन्छ कि? साना केटाकेटीलाई सिकाउने तरिका र किशोरकिशोरीलाई सिकाउने तरिका फरक हुन्छ भन्‍ने कुरा पारिवारिक अध्ययन सञ्चालन गर्दा आमाबुबाले विचार गर्नुपर्छ। त्यसैले परिवारका सबैले लाभ उठाउन सक्ने तरिकाले छलफल गर्नुहोस्‌।—भज. १४८:१२, १३.

वृद्ध भाइबहिनीलाई चासो देखाउँदा तपाईँले निकै हौसला पाउनुहुनेछ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११-१३. मण्डलीमा सबै जनाले कसरी एकतालाई अझ बढाउँदै लैजान र ज्योति चम्काउन अरूलाई मदत गर्न सक्छन्‌?

११ जवानहरूले कसरी मण्डलीको एकतालाई बलियो बनाउँदै लैजान र ज्योति चम्काउन अरूलाई पनि मदत गर्न सक्छन्‌? यदि तपाईँ जवान ख्रीष्टियन हुनुहुन्छ भने मण्डलीका वृद्धहरूप्रति अझ चासो देखाउने लक्ष्य राख्नुभए कसो होला? उहाँहरूले वर्षौँ गरेको सेवाबारे कुनै अनुभव सुनाउन आदरपूर्वक अनुरोध गर्नुहोस्‌। यसो गर्दा तपाईँले निकै हौसला पाउनुहुनेछ अनि तपाईँका साथै उहाँहरू पनि आफ्नो ज्योति चम्काउन अझ उत्प्रेरित हुनुहुनेछ। अनि हामी सबैले राज्यभवनमा आउनेहरूलाई स्वागत गर्ने लक्ष्य राख्न सक्छौँ। तपाईँले त्यसो गर्नुभयो भने मण्डलीको एकता बढ्‌दै जानेछ र राज्यभवनमा आउनेहरू पनि आफ्नो ज्योति चम्काउन उत्प्रेरित हुन सक्छन्‌। हामी राज्यभवनमा आउनेहरूलाई मीठो मुस्कान दिएर स्वागत गर्न सक्छौँ अनि नयाँ व्यक्‍तिहरूलाई बस्ने ठाउँ देखाइदिन सक्छौँ। तिनीहरूलाई अरूसित परिचय गराइदियौँ भने तिनीहरूलाई अझ सजिलो महसुस हुनेछ।

१२ क्षेत्र सेवाको सभा सञ्चालन गर्ने जिम्मेवारी पाएकाहरूले वृद्धहरूलाई क्षेत्र सेवामा भाग लिन मदत गर्न सक्छन्‌। के वृद्धहरूको लागि उपयुक्‍त इलाका छुट्ट्याइएको छ? कहिलेकाहीँ वृद्ध भाइबहिनीहरू र उहाँहरूलाई मदत गर्न सक्ने जवानहरूलाई सँगसँगै इलाकामा पठाउन पनि सक्नुहुन्छ। स्वास्थ्य अवस्था वा विभिन्‍न परिस्थितिले गर्दा आफूले चाहेजति गर्न नसकेकाहरूबारे पनि विचार गर्नुहोस्‌। हो, तपाईं विवेकी र विचारशील हुनुभयो भने मण्डलीका जवान-वृद्ध, नयाँ-पुराना सबैले जोसका साथ सुसमाचार प्रचार गर्ने बल पाउनेछन्‌।—लेवी १९:३२.

१३ भजनहार यसो भन्‍न उत्प्रेरित भए: “समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!” (भजन १३३:१, २ पढ्‌नुहोस्‌) एकसाथ मिलेर यहोवाको उपासना गर्दा इस्राएलीहरूले एक-अर्कालाई निकै सकारात्मक प्रभाव पार्न सके। अभिषेक गर्ने तेलले जस्तै त्यसले तिनीहरूलाई आनन्द र स्फूर्ति दिन्थ्यो। तपाईँ पनि आफ्ना भाइबहिनीहरूमा सकारात्मक प्रभाव पारेर एकतालाई अझ बढाउँदै लैजाने सङ्‌कल्प गर्न सक्नुहुन्छ कि? यदि तपाईँ त्यसो गर्दै हुनुहुन्छ भने त्यो साँच्चै प्रशंसनीय कुरा हो। अझ जोडतोडका साथ अनि निरन्तर त्यसो गरेर तपाईँ अझै ‘ठूलो मनको’ हुन सक्नुहुन्छ कि?—२ कोरि. ६:११-१३.

१४. तपाईँ आफ्नो छिमेकमा कसरी ज्योति चम्काउन सक्नुहुन्छ?

१४ तपाईँ आफ्नो छिमेकमा पनि बाइबलको सत्यको ज्योति चम्काउन थप प्रयास गर्न सक्नुहुन्छ कि? तपाईँको दयालु वचन र नम्र व्यवहारले तपाईँको छिमेकीलाई सत्यतर्फ आकर्षित गर्न सक्छ। आफैलाई सोध्नुहोस्‌: ‘मेरा छिमेकीहरूको नजरमा म कस्तो छु? के मैले आफ्नो घर-आँगन सफा-सुग्घर राखेर छिमेकीहरूमा राम्रो प्रभाव पारिरहेको छु? के म अरूलाई मदत गर्न अघि सर्ने गर्छु?’ अरू साक्षीहरूसित कुराकानी गर्दा उनीहरूले देखाएको दयालु व्यवहार र असल आचरणले उनीहरूका आफन्त, छिमेकी, सहकर्मी र सहपाठीहरूमा कस्तो प्रभाव पारेको छ भनेर सोध्नुभए कसो होला? तपाईँले पक्कै थुप्रै प्रोत्साहनजनक अनुभवहरू सुन्‍न पाउनुहुनेछ।—एफि. ५:९.

जागा रहनुहोस्‌

१५. जागा रहनु किन अत्यन्तै जरुरी छ?

१५ हामीले राख्ने मनोवृत्तिले हामीलाई आफ्नो ज्योति झन्‌झनै चहकिलो बनाउन मदत गर्छ। येशूले आफ्ना चेलाहरूलाई पटक-पटक यसो भन्‍नुभयो: “जागा रहो।” (मत्ती २४:४२; २५:१३; २६:४१) हुन पनि यदि हामीले “महासङ्‌कष्ट” आउने कहिले हो कहिले, आए पनि आफू बाँचुन्जेल आउँदैन भन्‍ने सोचाइ राख्यौँ भने हामी प्रचारकार्यमा भाग लिन तत्पर हुन सक्दैनौँ। (मत्ती २४:२१) त्यसो भयो भने हाम्रो ज्योति चम्किनुको साटो धमिलो हुन वा निभ्नसमेत सक्छ।

१६, १७. जागा रहने मनोवृत्ति कायम राख्न तपाईँ के गर्न सक्नुहुन्छ?

१६ अहिलेको कठिन समय झन्‌झनै खराब हुँदै जाँदा हामी सबै जागा रहनु जरुरी छ। यहोवाले सही समयमा कदम चाल्नुहुनेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (मत्ती २४:४२-४४) त्यतिन्जेल धैर्य धारण गर्दै जागा रहनुहोस्‌। हरेक दिन परमेश्‍वरको वचन पढ्‌नुहोस्‌ र प्रार्थना गर्ने विषयमा सजग हुनुहोस्‌। (१ पत्रु. ४:७) आनन्दित हुँदै जागा रहेका अनि आफ्नो ज्योति चम्काएका उदाहरणीय भाइबहिनीहरूको अनुभव विचार गर्नुहोस्‌। एउटा त्यस्तै अनुभव प्रहरीधरहरा अप्रिल १५, २०१२ को पृष्ठ १८-२१ मा छापिएको “सत्तरी वर्षसम्म एउटा यहूदीको लुगा समात्दै” भन्‍ने लेखमा पाउँछौँ।

१७ उत्थानदायी सरसङ्‌गत र गतिविधिमा व्यस्त रहनुहोस्‌। त्यसले तपाईँलाई भरपुर आनन्द दिनेछ र समय बितेको पनि पत्तै हुनेछैन। (एफि. ५:१६) आजभन्दा सय वर्षअघिका हाम्रा भाइहरू व्यस्त रहे र थुप्रै काम पूरा गरे। तर यहोवाको मदत पाएर आज हामीले त्योभन्दा पनि धेरै गर्न सकेका छौँ। हामी यो हदसम्म ज्योति चम्काउन सफल हुनेछौँ भनेर पहिला कहिल्यै सोचेका थिएनौँ।

गोठालो भेटबाट हामी परमेश्‍वरको वचनमा भएका बुद्धिका कुराहरू सिक्ने मौका पाउँछौँ (अनुच्छेद १८, १९ हेर्नुहोस्‌)

१८, १९. मण्डलीका एल्डरहरूले हामीलाई आध्यात्मिक रूपमा सचेत अनि सक्रिय रहन कसरी मदत गर्छन्‌? उदाहरण दिनुहोस्‌।

१८ हाम्रो त्रुटिपूर्ण अवस्थाले यहोवालाई स्विकार्य उपासना चढाउनदेखि हामीलाई रोक्दैन। यो कुरा विचार गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ। यहोवाले मण्डलीमा “वरदानको रूपमा पुरुषहरू” अर्थात्‌ एल्डरहरूको प्रबन्ध गरिदिनुभएको छ। (एफिसी ४:८, ११, १२ पढ्‌नुहोस्‌) अर्को पटक कुनै एल्डर तपाईँलाई भेट्‌न आउँदा तिनले दिने बुद्धिमानी सल्लाह ध्यान दिएर सुन्‍नुहोस्‌ र त्यसबाट लाभ उठाउनुहोस्‌।

१९ इङ्‌गल्यान्डमा बस्ने एक दम्पतीको वैवाहिक जीवनमा समस्या आउँदा तिनीहरूले दुई जना एल्डरसित मदत मागे। आफ्नो श्रीमान्‌ आध्यात्मिक रूपमा त्यति सक्रिय नभएको श्रीमतीले महसुस गरिन्‌। तिनको श्रीमान्‌ले पनि आफूले परिवारलाई राम्ररी सिकाउन नसकेको र नियमित पारिवारिक उपासनाको प्रबन्ध मिलाउन नसकेको कुरा मानिलिए। ती एल्डरहरूले त्यस दम्पतीलाई येशूको उदाहरण विचार गर्न लगाए। येशूले आफ्ना चेलाहरूको ख्याल राख्नुभयो र तिनीहरूको आवश्‍यकतामा ध्यान दिनुभयो। एल्डरहरूले ती भाइलाई येशूको अनुकरण गर्न प्रोत्साहन दिए अनि बहिनीलाई चाहिँ धीरजी हुन प्रोत्साहन दिए। श्रीमान्‌-श्रीमती दुवै मिलेर आफ्ना दुई छोराछोरीसित कसरी पारिवारिक उपासना गर्न सकिन्छ भनेर ती एल्डरहरूले केही व्यावहारिक सुझाव पनि दिए। (एफि. ५:२१-२९) पछि ती एल्डरहरूले ती भाइले गरेको प्रयासको प्रशंसा गरे। एल्डरहरूले तिनलाई परिवारको असल शिर बन्‍नको लागि हार नमानी कोसिस गरिरहन र पवित्र शक्‍तिको मदतमा भर परिरहन प्रोत्साहन दिए। ती एल्डरहरूले देखाएको मायालु चासोले त्यस परिवारलाई आफ्नो ज्योति चम्काउन मदत गऱ्‍यो।

२०. तपाईँले आफ्नो ज्योति चम्काउँदै लैजानुभयो भने नतिजा कस्तो हुनेछ?

२० भजनहारले यसरी गाए: “हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिंड्‌छ, त्यो धन्यको हो।” (भज. १२८:१) अरूलाई यहोवाको सेवा गर्ने निम्तो दिएर, एकतालाई अझ बढाउँदै लैजाने कामहरू गरेर अनि जागा रहने मनोवृत्ति कायम राखेर तपाईँ आफ्नो ज्योति चम्काउन सक्नुहुन्छ। त्यसो गर्नुभयो भने तपाईँ अझ धेरै आनन्दित हुन सक्नुहुनेछ। थुप्रैले तपाईँका असल कामहरू देख्नेछन्‌ अनि हाम्रा बुबाको महिमा गर्न उत्प्रेरित हुनेछन्‌।—मत्ती ५:१६.