जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ
‘म बिन्ती गर्छु, हे बुबा, तिनीहरू सबै एक होऊन्, जसरी तपाईं मसित एकतामा हुनुहुन्छ।’—यूह. १७:२०, २१.
१, २. (क) आफ्ना चेलाहरूसँगै अन्तिम पटक प्रार्थना गर्नुहुँदा येशूले कस्तो बिन्ती गर्नुभयो? (ख) एकतामा रहनुपर्ने कुरालाई येशूले किन जोड दिनुभएको हुन सक्छ?
आफ्ना प्रेषितहरूसित खाना खान बस्नुभएको अन्तिम रात येशूले एकतामा रहनुपर्ने कुरालाई जोड दिनुभयो। जसरी उहाँ र उहाँको बुबा एकतामा हुनुहुन्छ, त्यसैगरि उहाँका चेलाहरू पनि एकतामा होऊन् भनेर उहाँले तिनीहरूसँगै प्रार्थना गर्दा भन्नुभयो। (यूहन्ना १७:२०, २१ पढ्नुहोस्) यहोवाले नै आफ्नो इच्छा पूरा गर्न येशूलाई पृथ्वीमा पठाउनुभएको हो भन्ने कुराको बलियो प्रमाण चेलाहरूबीचको एकताले दिने थियो। येशूका साँचो चेलाहरूको मुख्य चिनारी प्रेम हुने थियो र यसले तिनीहरूबीचको एकतालाई बलियो पार्ने थियो।—यूह. १३:३४, ३५.
२ येशूले एकतालाई निकै जोड दिनुभयो किनभने प्रेषितहरूबीच एकताको कमी भएको कुरा उहाँले याद गर्नुभएको थियो। चेलाहरूसित खाना खान बस्नुभएको अन्तिम रात पनि उहाँले त्यो कुरा याद गर्नुभएको थियो। “सबैभन्दा ठूलो कसलाई मान्ने भनेर” पहिलेजस्तै तिनीहरूबीच बहस चल्यो। (लूका २२:२४-२७; मर्कू. ९:३३, ३४) अर्को एक पटक भने याकूब र यूहन्नाले येशूको राज्यमा उच्च ओहदामा उहाँसँगै बस्न पाऊँ भनी उहाँलाई बिन्ती गरे।—मर्कू. १०:३५-४०.
३. चेलाहरूबीचको एकता खलबलिनुको कारण के हुन सक्थ्यो? हामी कस्ता प्रश्नहरू विचार गर्नेछौँ?
३ अरूभन्दा ठूलो हुने चाहनाबाहेक अन्य कुराले गर्दा पनि चेलाहरूबीच एकता खलबलिएको हुन सक्थ्यो। त्यतिबेलाका मानिसहरूको मनमा घृणा र पूर्वाग्रहले जरा गाडेको थियो। येशूका चेलाहरू त्यस्ता भावनाहरूको वशमा पर्नु हुँदैनथ्यो। यस लेखमा हामी यी प्रश्नहरूको जवाफ पाउनेछौँ: मानिसहरूबीच पूर्वाग्रह व्याप्त हुँदा येशूले के गर्नुभयो? कसैलाई पनि पक्षपात नगर्न अनि साँचो एकता कायम गर्न येशूले आफ्ना चेलाहरूलाई कसरी सिकाउनुभयो? येशूले सिकाउनुभएको कुराले आज हामीलाई एकतामा रहन कसरी मदत गर्छ?
मानिसहरूले येशू र उहाँका चेलाहरूलाई भेदभाव गरे
४. येशूले कस्तो भेदभाव सहनुपऱ्यो?
४ येशू स्वयम् पनि भेदभावको सिकार हुनुभयो। फिलिपले नथनेललाई मसीह फेला परेको कुरा सुनाउँदा नथनेलले यसो भने: “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” (यूह. १:४६) नथनेललाई मीका ५:२ मा गरिएको भविष्यवाणी थाह भएको हुन सक्छ। त्यसैले नासरतजस्तो सानो सहरबाट मसीह आउन सम्भव छैन जस्तो तिनलाई लागेको हुनुपर्छ। त्यसैगरि, यहूदियाका गण्यमान्य मानिसहरू येशूलाई तुच्छ सम्झन्थे किनकि उहाँ गालीली हुनुहुन्थ्यो। (यूह. ७:५२) यहूदियाका थुप्रै मानिसहरू गालीलका मानिसहरूलाई हेय दृष्टिले हेर्थे। केही यहूदीहरूले भने येशूलाई सामरी भनेर उहाँको अपमान गर्न खोजे। (यूह. ८:४८) सामरीहरूको जात र धर्म यहूदीहरूको भन्दा फरक थियो। गालील र यहूदियाका मानिसहरू सामरीहरूलाई हेला गर्थे र तिनीहरूसित कुनै सम्बन्ध राख्दैनथे।—यूह. ४:९.
५. येशूका चेलाहरूले कस्तो भेदभाव सहनुपऱ्यो?
५ यहूदी धर्मगुरुहरूले येशूका चेलाहरूको पनि निकै धज्जी उडाए। फरिसीहरूले तिनीहरूलाई “श्रापित” मानिसहरू भने। (यूह. ७:४७-४९) रब्बीहरूको पाठशालामा नपढेका वा तिनीहरूको रीतिथिति नमान्ने जो कोहीलाई पनि तिनीहरू तुच्छ अनि साधारण मानिस ठान्थे। (प्रेषि. ४:१३) त्यतिबेलाका मानिसहरूको मनमा धार्मिक, सामाजिक अनि जातीय विभेदले जरा गाडेको थियो। त्यसैले तिनीहरूले येशू र उहाँका चेलाहरूलाई भेदभाव गरे। तर येशूका चेलाहरूलाई पनि त्यस्तो झुकावले प्रभाव पारेको थियो। एकतामा रहिरहन तिनीहरूले आफ्नो सोचाइ परिवर्तन गर्नुपर्ने थियो।
६. पूर्वाग्रहले हामीलाई कसरी असर गर्न सक्छ? केही उदाहरण दिनुहोस्।
६ आज पनि धेरैजसो मानिसको मनमा पूर्वाग्रहले जरा गाडेको छ। हामी पूर्वाग्रहको सिकार भएका हुन सक्छौँ वा हाम्रै मनमा पनि पूर्वाग्रही सोचाइ हुन सक्छ। अस्ट्रेलियामा अग्रगामी सेवा गरिरहेकी एउटी बहिनी भन्छिन्: “विगतमा अनि अहिले यहाँका आदिवासीहरूमाथि गरिएको अन्याय देख्दा मेरो मनमा गोरा जातिका मानिसप्रति घृणा जाग्यो। म आफैले भोगेको दुर्व्यवहारले गर्दा पनि मेरो मन झनै घृणाले भरियो।” क्यानाडाका एक जना भाइ आफ्नो भन्दा फरक भाषा बोल्नेहरूलाई भेदभाव गर्थे। तिनले भने: “फ्रान्सेली भाषा बोल्ने मानिसहरू अरूभन्दा श्रेष्ठ छन् भनेर म सोच्थेँ अनि अङ्ग्रेजी भाषा बोल्नेहरूलाई घृणा गर्थेँ।”
७. मानिसहरूको मनमा पूर्वाग्रहले जरा गाड्दा येशूले के गर्नुभयो?
७ येशूको समयमा जस्तै आज पनि पूर्वाग्रही भावनाले मानिसहरूको मनमा गहिरो जरा गाड्न सक्छ। त्यस्तो परिस्थितिमा येशूले के गर्नुभयो? सर्वप्रथम उहाँले आफ्नो मनमा कुनै किसिमको पूर्वाग्रही भावना राख्नुभएन अनि कसैलाई भेदभाव गर्नुभएन। उहाँले धनी र गरिब, फरिसीहरू र सामरीहरू अनि कर उठाउने र पापीहरूलाई समेत प्रचार गर्नुभयो। दोस्रो कुरा, अरूलाई शङ्कालु नजरले नहेर्न अनि अरूप्रति पूर्वाग्रही नहुन उहाँले आफ्नो शिक्षा अनि उदाहरणद्वारा चेलाहरूलाई सिकाउनुभयो।
पूर्वाग्रहलाई प्रेम र नम्रताले जित्ने
८. ख्रीष्टियन एकताको आधार के हो? व्याख्या गर्नुहोस्।
८ येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, ‘तिमीहरू सबै दाजुभाइ हौ।’ (मत्ती २३:८, ९ पढ्नुहोस्) उहाँले बताउनुभएको यो सिद्धान्त नै हाम्रो एकताको आधार हो। हुनत हामी सबै आदमका सन्तान भएकोले एक अर्थमा “दाजुभाइ” हौँ। (प्रेषि. १७:२६) तर येशूले भन्न खोज्नुभएको त्यति मात्र थिएन। येशूका चेलाहरूले यहोवालाई स्वर्गमा हुनुहुने आफ्नो बुबा भनी स्विकारेकोले तिनीहरू दाजुभाइ दिदीबहिनी हुन् भनेर उहाँले बताउनुभएको थियो। (मत्ती १२:५०) त्यसका साथै, तिनीहरू एउटा ठूलो आध्यात्मिक परिवारको भाग बनेका थिए, जुन प्रेम र विश्वासले गर्दा एकतामा बाँधिएको थियो। त्यसैले येशूका प्रेषितहरूले अरू ख्रीष्टियनहरूलाई पत्र लेख्दा अक्सर भाइहरू र बहिनीहरू दुवैलाई सम्बोधन गर्दै लेखे।—रोमी १:१३; १ पत्रु. २:१७; १ यूह. ३:१३. *
९, १०. (क) यहूदीहरूले आफ्नो जातको घमन्ड गर्ने ठाउँ थिएन, किन? (ख) जातीय पूर्वाग्रहलाई हटाउन येशूले कस्तो पाठ सिकाउनुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
९ हामीले एक-अर्कालाई भाइबहिनी ठान्नुपर्छ भन्ने कुरा प्रस्ट पारेपछि येशूले नम्र हुनुपर्ने आवश्यकतालाई जोड दिनुभयो। (मत्ती २३:११, १२ पढ्नुहोस्) लेखको सुरुमा विचार गरेजस्तै येशूका प्रेषितहरूले आफूलाई बढ्तै ठूलो ठानेकोले उनीहरूको एकता खलबलिएको थियो। अनि जातीय घमन्डले पनि उनीहरूको एकतामा बाधा पुऱ्याएको हुन सक्थ्यो। के यहूदीहरूले आफू अब्राहामको सन्तान भएकोमा घमन्ड गर्ने ठाउँ थियो? थुप्रै यहूदीहरूको मनमा यस्तै सोचाइले जरा गाडेको थियो। तर बप्तिस्मा गराउने यूहन्नाले तिनीहरूलाई यसो भने: “परमेश्वरसित यी ढुङ्गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्ने शक्ति छ।”—लूका ३:८.
१० जातीय घमन्ड गलत हो भनेर येशूले सिकाउनुभयो। एक जना शास्त्रीले येशूलाई “वास्तवमा मेरो छिमेकी को हो?” भनेर सोध्दा उहाँले दिनुभएको जवाफबाट त्यो कुरा स्पष्ट भयो। त्यस प्रश्नको जवाफ दिन उहाँले एक जना सामरीको दृष्टान्त बताउनुभयो। बाटोमा यात्रा गर्दा डाँकाहरूको फेला परेर कुटाइ खाएको एक जना यहूदीलाई त्यस सामरीले हेरविचार गरेको थियो। त्यही बाटो भएर गएका अरू यहूदीहरूले त्यो घाइते मानिसलाई नदेखेझैँ गरेका थिए। तर उसलाई देखेर त्यस सामरीको मनमा दया जाग्यो। उहाँलाई प्रश्न सोध्ने शास्त्रीलाई पनि त्यस सामरीजस्तै हुनू भनेर येशूले कथाको अन्तमा भन्नुभयो। (लूका १०:२५-३७) छिमेकीप्रतिको साँचो प्रेम कस्तो हुन्छ भन्ने कुरा एउटा सामरीले यहूदीहरूलाई सिकाउन सक्छ भनेर येशूले यस दृष्टान्तमार्फत बुझाउनुभयो।
११. येशूका चेलाहरूले विदेशीहरूलाई किन भेदभाव गर्नु हुँदैनथ्यो? यो कुरा येशूले तिनीहरूलाई कसरी बुझाउनुभयो?
११ येशूले दिनुभएको जिम्मेवारी पूरा गर्न चेलाहरूले आफूमा भएको घमन्ड र पूर्वाग्रहलाई त्याग्नुपर्थ्यो। स्वर्ग फर्कनुअघि येशूले तिनीहरूलाई “सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिनू भन्नुभएको थियो। (प्रेषि. १:८) यो ठूलो जिम्मेवारी पूरा गर्न येशूले आफ्ना चेलाहरूलाई पहिल्यैदेखि तालिम दिँदै आउनुभएको थियो। येशूले विदेशीहरूका राम्रा गुणहरूबारे धेरै चोटि आफ्ना चेलाहरूलाई बताउनुभएको थियो। एक जना विदेशी सैनिक अफिसरले ठूलो विश्वास देखाएकोमा उहाँले तिनको प्रशंसा गर्नुभयो। (मत्ती ८:५-१०) यहोवाले विदेशीहरूलाई देखाउनुभएको कृपाबारे येशूले आफ्नो गृहनगर नासरतमा छँदा बताउनुभयो। जस्तै, सीदोनको सारपतमा बस्ने विधवा अनि सिरियाको कुष्ठरोगी नामान। (लूका ४:२५-२७) साथै येशूले एक जना सामरी स्त्रीलाई प्रचार मात्र गर्नुभएन बरु सामरियाको एउटा सहरमा दुई दिन बस्नुभयो किनकि त्यहाँका मानिसहरूले उहाँको सन्देशमा चासो देखाए।—यूह. ४:२१-२४, ४०.
येशूका चेलाहरूले पूर्वाग्रह हटाउन सङ्घर्ष गरे
१२, १३. (क) येशूले सामरी स्त्रीलाई सिकाउनुहुँदा उहाँका प्रेषितहरूले कस्तो प्रतिक्रिया देखाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) याकूब र यूहन्नाले त्यस घटनाबाट पाठ सिकेका थिएनन् भनेर केले देखाउँछ?
१२ येशूका प्रेषितहरूलाई आफ्नो मनमा भएको पूर्वाग्रह हटाउन त्यति सजिलो थिएन। येशू सामरी स्त्रीलाई समेत सिकाउन इच्छुक हुनुभएको देखेर तिनीहरू छक्क यूह. ४:९, २७) यहूदी धर्मगुरुहरू सार्वजनिक ठाउँमा स्त्रीहरूसित कुरा गर्दैनथे। झन् नराम्रो नाम कमाएकी सामरी स्त्रीसित कुरा गर्नु त परै जाओस्। प्रेषितहरूले उहाँलाई खानेकुरा खान आग्रह गरे। तर उहाँको जवाफबाट के देखिन्थ्यो भने, उहाँ आध्यात्मिक कुराकानीमा मग्न हुनुभएकोले आफूलाई भोक लागेको भए तापनि त्यसको वास्ता गर्नुभएन। प्रचार गर्नु येशूको लागि भोजनसरह थियो, चाहे त्यो सामरी स्त्रीलाई नै किन नहोस्। अनि उहाँको बुबाको इच्छा पनि त्यही थियो।—यूह. ४:३१-३४.
परे। (१३ तर याकूब र यूहन्नाले यस घटनाबाट पाठ सिकेनन्। येशूसित सामरिया हुँदै यात्रा गर्दा चेलाहरूले त्यहाँको एउटा गाउँमा एक रातको लागि बास खोजे तर सामरीहरूले बास दिएनन्। तब सामरीहरूदेखि रिसाउँदै याकूब र यूहन्नाले स्वर्गबाट आगो बर्साएर पूरै गाउँलाई भस्म गर्न येशूलाई भने। तर येशूले तिनीहरूलाई हप्काउनुभयो। (लूका ९:५१-५६) यदि त्यो गाउँ गालीलको आफ्नै इलाकामा भएको भए के याकूब र यूहन्नाले त्यस्तै प्रतिक्रिया देखाउँथे होलान् र? सामरीहरूप्रतिको पूर्वाग्रहले गर्दा तिनीहरू रिसाएका थिए जस्तो देखिन्छ। पछि प्रेषित यूहन्नाले सामरियामा प्रचार गर्दा थुप्रैले राम्रो प्रतिक्रिया देखाए। त्यो देख्दा पहिला आफू रिसाएको कुरा सम्झेर तिनले लज्जित महसुस गरे होलान्।—प्रेषि. ८:१४, २५.
१४. ग्रीकभाषी र हिब्रूभाषीबीच खडा भएको समस्याको कसरी समाधान गरियो?
१४ इस्वी संवत् ३३ पेन्तिकोसपछि केही समय नबित्दै भेदभावको एउटा मामिला खडा भयो। विधवाहरूलाई खाना बाँड्ने क्रममा ग्रीकभाषी विधवाहरूको बेवास्ता भइरहेको थियो। (प्रेषि. ६:१) आफ्नो भाषालाई ठूलो ठानेकोले यस्तो भेदभाव भएको हुन सक्छ। यो मामिला तुरुन्तै समाधान गर्न प्रेषितहरूले केही योग्य आध्यात्मिक भाइहरूलाई नियुक्त गरे र खाना बाँड्ने जिम्मेवारी दिए। यी सबै योग्य भाइहरूको ग्रीक नाम थियो। त्यसैले भेदभाव सहनुपरेका विधवाहरूले ढुक्क महसुस गरेको हुनुपर्छ।
१५. भेदभाव नगर्न पत्रुसले कसरी सिके? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
१५ इस्वी संवत् ३६ देखि येशूका चेलाहरूले हरेक जातिका मानिसहरूलाई प्रचार गर्न थाले। प्रेषित पत्रुसको यहूदीहरूसित मात्रै सङ्गत गर्ने बानी थियो। तर ख्रीष्टियनहरूले भेदभाव गर्नु हुँदैन भनेर परमेश्वरले तिनलाई स्पष्टसित बुझाउनुभएपछि तिनले कर्नीलियस नाम गरेका रोमी सैनिकलाई प्रचार गरे। (प्रेषित १०:२८, ३४, ३५ पढ्नुहोस्) त्यसपछि पत्रुसले गैर-यहूदीहरूसित बसेर खाना खाए र तिनीहरूसित सङ्गत गरे। तर फेरि केही वर्षपछि एन्टिओक सहरमा छँदा तिनले गैर-यहूदी ख्रीष्टियनहरूसँग खान छोडे। (गला. २:११-१४) त्यसबेला पावलले पत्रुसलाई सच्याए अनि पत्रुसले त्यो स्विकारे। हामी किन त्यसो भन्न सक्छौँ? पत्रुसले एसिया माइनरमा भएका यहूदी र गैर-यहूदी ख्रीष्टियनहरूलाई पहिलो पत्र लेख्दा सबै भाइहरूलाई प्रेम गर्न न्यानो आग्रह गरे।—१ पत्रु. १:१; २:१७.
१६. सुरु-सुरुका ख्रीष्टियनहरूले कस्तो नाम कमाएका थिए?
१६ येशूको उदाहरणबाट प्रेषितहरूले “हर किसिमका मानिसहरूलाई” प्रेम गर्न सिके। (यूह. १२:३२; १ तिमो. ४:१०) तिनीहरूलाई आफ्नो सोचाइ सच्याउन समय लाग्यो, तैपनि अन्ततः तिनीहरूले त्यसो गरे। सुरु-सुरुका ख्रीष्टियनहरू आपसमा प्रेम गर्ने मानिसहरू भनेर चिनिन्थे। दोस्रो शताब्दीका लेखक टर्टुलियनका अनुसार त्यतिबेलाका गैर-ख्रीष्टियनहरूले ख्रीष्टियनहरूबारे यसो भन्ने गर्थे: “तिनीहरू आपसमा प्रेम गर्छन् . . . तिनीहरू एक-अर्काको लागि मर्नसमेत तयार हुन्छन्।” हो, सुरु-सुरुका ती ख्रीष्टियनहरूले “नयाँ व्यक्तित्व” धारण गरे र सबै मानिसलाई परमेश्वरले जस्तै एउटै नजरले हेर्न सिके।—कल. ३:१०, ११.
१७. हामी कसरी पूर्वाग्रहलाई आफ्नो मनबाट जरैदेखि उखेल्न सक्छौँ? उदाहरण दिनुहोस्।
१७ आज हामीलाई पनि आफ्नो मनमा जरा गाडेको पूर्वाग्रह हटाउन समय लाग्न सक्छ। फ्रान्सकी एउटी बहिनी आफ्नो सङ्घर्षबारे यसो भन्छिन्: “यहोवाले मलाई प्रेमको अर्थ बुझ्न, बाँडचुँड गर्न अनि सबै किसिमका मानिसलाई प्रेम गर्न सिकाउनुभएको छ। तर म अझै पनि अरूप्रतिको पूर्वाग्रह हटाउन सिक्दै छु अनि त्यसो गर्न सधैँ सजिलो छैन। त्यसैले म यसको लागि निरन्तर यहोवासित मदत मागिरहन्छु।” स्पेनमा बस्ने एउटी बहिनीले पनि यस्तै सङ्घर्ष गरिरहेकी
छिन्। तिनी भन्छिन्: “एउटा खास जातिविरुद्ध मेरो मनमा कहिलेकाहीँ घृणा जाग्छ अनि त्यसलाई नियन्त्रण गर्न मैले सङ्घर्ष गर्नुपर्ने हुन्छ। तर धेरैजसो म सफल हुन्छु। मलाई थाह छ, मैले यस्तो सङ्घर्ष गरिरहनुपर्छ। एकताबद्ध परिवारको भाग हुन पाएकोमा म यहोवाप्रति आभारी छु।” हामी सबैले पनि इमानदार भई आफूलाई जाँच्न सक्छौँ। कतै हामीले पनि आफ्नो मनमा भएको कुनै पूर्वाग्रही भावनाविरुद्ध यी दुई बहिनीहरूले जस्तै सङ्घर्ष गर्नुपर्ने छ कि?प्रेम बढ्दै जाँदा पूर्वाग्रह सेलाउँछ
१८, १९. (क) हामीले किन सबैलाई स्वागत गर्नुपर्छ? (ख) अरूलाई स्वागत गरेको कुरा हामी कसरी देखाउन सक्छौँ?
१८ कुनै समय हामी सबै “अपरिचित जाति” अर्थात् परदेशी थियौँ र परमेश्वरदेखि टाढा थियौँ भनेर हामीले बिर्सनु हुँदैन। (एफि. २:१२) तर यहोवाले हामीलाई “प्रेमको बन्धनले” उहाँतर्फ खिच्नुभयो। (होशे ११:४; यूह. ६:४४) अनि ख्रीष्टले हामीलाई स्वागत गर्नुभयो। हामी परमेश्वरको परिवारको भाग हुन सकौँ भनेर एक अर्थमा येशूले हाम्रो लागि ढोका खोलिदिनुभयो। (रोमी १५:७ पढ्नुहोस्) हामी त्रुटिपूर्ण भए पनि येशूले दयालु हुँदै हामीलाई स्वागत गर्नुभएको छ, त्यसैले कसैलाई तिरस्कार गर्ने कुरा हामी सोच्न पनि सक्दैनौँ।
१९ यस संसारको अन्त नजिकिँदै जाँदा मानिसहरूबीच विभेद, पूर्वाग्रह र शत्रुता बढ्दै जानेछ भनेर हामीलाई थाह छ। (गला. ५:१९-२१; २ तिमो. ३:१३) तर हामी यहोवाका सेवकहरू भने माथिबाट आउने बुद्धिअनुसार चल्छौँ, जसले भेदभाव गर्दैन अनि शान्ति बढाउँछ। (याकू. ३:१७, १८) अरू देशका मानिसहरूलाई साथी बनाउन पाउँदा हामीलाई खुसी लाग्छ, हामी उनीहरूको संस्कृतिको कदर गर्छौँ अनि सम्भव भए उनीहरूको भाषा पनि सिक्छौँ। त्यसो गर्दा हामीमाझ छाएको शान्ति “नदीझैँ” अनि न्याय “समुद्रका छालहरूझैँ” हुन्छ।—यशै. ४८:१७, १८.
२०. प्रेमले उत्प्रेरित भएर आफ्नो मन र सोचाइ परिवर्तन गऱ्यौँ भने नतिजा कस्तो हुन्छ?
२० अगाडि उल्लेख गरिएकी अस्ट्रेलियाकी बहिनी भन्छिन्: “परमेश्वरले मेरो लागि साँचो ज्ञानको ठूलो बाँध खोलिदिनुभयो!” बाइबल अध्ययनले आफूमा पारेको प्रभावबारे तिनी यसो भन्छिन्: “मेरो मन र सोचाइ परिवर्तन भयो। ममा जरा गाडेको पूर्वाग्रह र घृणाको भावना मेरो आँखाकै सामने बिलाएर गयो।” अनि क्यानाडाका भाइले पनि यस्तो महसुस गरे: “धेरैजसो अवस्थामा अरूबारे केही थाह नभएकोले हामी अरू जातका मानिसहरूलाई घृणा गर्न पुग्छौँ। तर जुनसुकै ठाउँमा जन्मेको भए तापनि सबै मानिसमा राम्रा गुणहरू छन्।” ती भाइले अङ्ग्रेजी भाषा बोल्ने बहिनीसितै विवाह गरे! मानिसहरूको मनोवृत्तिमा आएका यस्ता परिवर्तनहरूले यो कुरा प्रमाणित गर्छ: ख्रीष्टियन प्रेमले पूर्वाग्रहलाई हटाउन सक्छ अनि हटाएको पनि छ। यसले हामीलाई एकताको अटुट बन्धनमा बाँध्छ।—कल. ३:१४.
^ अनु. 8 बाइबलमा प्रयोग गरिएको “भाइहरू” भन्ने शब्दले मण्डलीका स्त्रीहरूलाई पनि समावेश गर्न सक्छ। पावलले रोमीहरूलाई लेखेको पत्र “भाइहरू”-लाई सम्बोधन गरेर लेखेको भए तापनि त्यसमा बहिनीहरू पनि समावेश थिए भन्ने कुरा स्पष्ट छ किनकि तिनले केही बहिनीहरूको नाम पनि उल्लेख गरे। (रोमी १६: ३, ६, १२) प्रहरीधरहरा पत्रिकाले पनि वर्षौँदेखि सङ्गी ख्रीष्टियनहरूलाई ‘भाइबहिनी’ भनेर सम्बोधन गर्दै आएको छ।