सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मेरो राज्य यस संसारको होइन”

“मेरो राज्य यस संसारको होइन”

“सत्यको साक्षी दिन म जन्मिएको हुँ र यसैको लागि म यस संसारमा आएको हुँ।”—यूह. १८:३७.

गीत: १५, ७४

१, २. (क) संसार झन्‌झनै विभाजित हुँदै छ भनेर किन भन्‍न सक्छौँ? (ख) यस लेखमा हामी कुन-कुन प्रश्‍नको जवाफ पाउनेछौँ?

युरोपको दक्षिणी भागमा बस्ने एउटी बहिनी आफ्नो विगत सम्झँदै भन्छिन्‌: “सानैदेखि मैले अन्याय नै अन्याय मात्र देखेँ। त्यसैले मैले आफ्नो देशको राजनैतिक प्रणालीको विरोध गर्न थालेँ अनि क्रान्तिकारी विचारधाराको पछि लागेँ। त्यतिमात्र होइन, म वर्षौँसम्म एक जना आतङ्‌ककारीकी प्रेमीका थिएँ।” अफ्रिकाको दक्षिणी भागमा बस्ने एक जना भाइ पनि हिंसात्मक गतिविधिमा भाग लिन्थे। तिनी भन्छन्‌: “मेरो जाति सबैभन्दा उत्कृष्ट छ भनेर म विश्‍वास गर्थेँ। म एउटा राजनैतिक पार्टीको सदस्य बनेँ। अनि हाम्रो पार्टीले आफ्ना प्रतिद्वन्दीहरूलाई भालाले रोपेर मार्ने तालिम दिन्थ्यो। हाम्रो जातिका मानिसहरूले अरू पार्टीलाई समर्थन गरे भने हामी उनीहरूलाई पनि बाँकी छोड्‌दैन थियौँ।” मध्य युरोपमा बस्ने एउटी बहिनी भन्छिन्‌: “म निकै पूर्वाग्रही भएकी थिएँ अनि अर्कै देशको मान्छे वा बेग्लै धर्म मान्‍ने मान्छेलाई घृणा गर्थेँ।”

यी तीन जनाले कुनै समय राख्ने गरेको जस्तै विचार आज मानिसहरूमा झनै व्याप्त भएको छ। स्वतन्त्रताको नाममा जताततै हिंसात्मक आन्दोलनहरू हुन्छन्‌, राजनैतिक विवादहरू झन्‌झनै चर्किरहेका छन्‌ अनि थुप्रै देशमा विदेशीहरूलाई शत्रुझैँ व्यवहार गर्ने क्रम पनि बढ्‌दो छ। बाइबलले भविष्यवाणी गरेझैँ यस अन्तको समयमा हरेक जातिका मानिसहरू “कुनै पनि कुरामा सहमत नहुने” किसिमका छन्‌। (२ तिमो. ३:१, ३) संसार यसरी दिनप्रतिदिन विभाजित हुँदै जाँदा ख्रीष्टियनहरूले कसरी आफ्नो एकतालाई जोगाइराख्न सक्छन्‌? प्रथम शताब्दीमा राजनैतिक विवादको आगो सल्किँदा येशूले कस्तो व्यवहार गर्नुभयो भनेर विचार गऱ्‍यौँ भने हामी थुप्रै कुरा सिक्न सक्छौँ। आउनुहोस्‌, तीनवटा मुख्य बुँदा विचार गरौँ: येशूले किन पृथक्‍तावादी समूहको अभियानमा भाग लिन इन्कार गर्नुभयो? राजनैतिक विवादहरूमा परमेश्‍वरका सेवकहरूले कसैको पनि पक्ष लिनु हुँदैन भनेर येशूले कसरी देखाउनुभयो? अनि हिंसा गर्नु कुनै पनि हालतमा ठीक होइन भनेर येशूले कसरी सिकाउनुभयो?

स्वतन्त्रताका अभियानहरूबारे येशूले कस्तो दृष्टिकोण राख्नुभयो?

३, ४. (क) येशूको समयका यहूदीहरूले के आशा गरिरहेका थिए? (ख) त्यस्तो विचारधाराले येशूका चेलाहरूमा कस्तो प्रभाव पारेको थियो?

येशूले सुसमाचार प्रचार गर्नुभएका थुप्रै यहूदीहरू रोमी शासनबाट स्वतन्त्र हुन चाहन्थे। यस्तो सोचाइ राख्न यहूदी उग्रपन्थीहरू अर्थात्‌ राष्ट्रवादीहरूले मानिसहरूलाई उक्साएका थिए। ती उग्रपन्थीहरूमध्ये थुप्रैले यहूदा भनिने एक जना गालीलीको विचारधारालाई पछ्याएका थिए। प्रथम शताब्दीका ती झूटा उद्धारक यहूदाले थुप्रैलाई बहकाएका थिए। यहूदी इतिहासकार जोसेफसका अनुसार गालीलका ती यहूदाले “देशवासीहरूलाई विद्रोह गर्न उक्साए। रोमीहरूलाई तिरो तिर्न राजी हुनु भनेको यहूदीहरूको कायरता हो भने।” पछि रोमीहरूले यहूदालाई मृत्युदण्ड दिए। (प्रेषि. ५:३७) केही उग्रवादीहरूले आफ्नो उद्देश्‍य पूरा गर्न हिंसासमेत मच्चाए।

ती उग्रवादीहरूको अलावा यहूदी जनसाधारणले पनि राजनैतिक स्वतन्त्रता दिने मसीहको तीव्र प्रतीक्षा गरिरहेका थिए। मतलब, मसीह आएपछि तिनले इस्राएल राष्ट्रको मान बढाउनेछन्‌ र रोमको दमनबाट छुटकारा दिनेछन्‌ भनेर मानिसहरूले आशा गरेका थिए। (लूका २:३८; ३:१५) मसीहले इस्राएलमै आफ्नो राज्य स्थापना गर्नेछन्‌ अनि यत्रतत्र छरिएका लाखौँ यहूदीहरू आफ्नै देशमा फर्किनेछन्‌ भनेर थुप्रैले विश्‍वास गर्थे। बप्तिस्मा दिने यूहन्‍नाले समेत एक पटक येशूलाई यस्तो प्रश्‍न गरेका थिए: “आउनेवाला तपाईं नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौं?” (मत्ती ११:२, ३) यहूदीहरूको सबै आशा अरू कसैले नै पूरा गर्ने हुन्‌ कि भनेर सायद यूहन्‍ना जान्‍न चाहन्थे। पुनर्जीवित हुनुभएका येशूलाई इम्माउस जाँदै गर्दा बाटोमा भेटेका दुई जना चेलाहरू पनि मसीहबारे आफूले राखेका केही आशाहरू अधुरै रह्‍यो भनी कुरा गरिरहेका थिए। (लूका २४:२१ पढ्‌नुहोस्‌) त्यसको केही समय नबित्दै येशूका प्रेषितहरूले उहाँलाई यसो भनेर सोधे: “प्रभु, के तपाईंले इस्राएलमा परमेश्‍वरको राज्य अहिले पुनर्स्थापित गर्न लाग्नुभएको हो?”—प्रेषि. १:६.

५. (क) गालीलका मानिसहरू किन येशूलाई आफ्नो राजा बनाउन चाहन्थे? (ख) येशूले तिनीहरूको सोचाइलाई कसरी सच्याउनुभयो?

मसीहले सबै समस्याहरूको समाधान गर्नेछन्‌ भनेर यहूदीहरूले आशा गरेका थिए। त्यसैले गालीलका मानिसहरूले येशूलाई आफ्नो राजा बनाउन चाहनु कुनै नौलो कुरा थिएन। येशू बोल्न एकदमै सिपालु हुनुहुन्थ्यो, बिरामीलाई निको पार्न सक्नुहुन्थ्यो अनि भोकाहरूलाई खुवाउनसमेत सक्नुहुन्थ्यो। त्यसैले येशूलाई राजा बनायो भने आफ्नो सबै आशा पूरा हुनेछ भनेर मानिसहरूले सोचेको हुनुपर्छ। येशूले एक पटक ५ हजारजति मानिसलाई खुवाउनुभएपछि मानिसहरूले उहाँबारे के सोच्न थालेका छन्‌ भनेर उहाँले थाह पाउनुभयो। “तिनीहरू आएर आफूलाई जबरजस्ती राजा बनाउन आँटेका छन्‌ भन्‍ने थाह पाएर येशू एक्लै फेरि डाँडातिर लाग्नुभयो।” (यूह. ६:१०-१५) त्यसको भोलिपल्ट मानिसहरूले उहाँलाई गालील समुद्रको पारिपट्टि भेट्टाए। त्यतिबेलासम्ममा उहाँलाई राजा बनाउने तिनीहरूको जोस सायद सेलाइसकेको हुनुपर्छ। त्यसपछि उहाँले आफू खास कुन कामको लागि आएको हुँ भनेर भीडलाई बताउनुभयो। उहाँ मानिसहरूलाई आध्यात्मिक मदत दिन आउनुभएको थियो, तिनीहरूका भौतिक चाहनाहरू पूरा गर्न होइन। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “नाश भएर जाने खानेकुराका लागि होइन तर सधैंभरि रहिरहने र तिमीहरूलाई अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर।”—यूह. ६:२५-२७.

६. राजनीतिमा लागेर सत्ता हासिल गर्न आफू पृथ्वीमा आएको होइन भनेर येशूले कसरी प्रस्ट पार्नुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

येशूले यरूशलेममै आफ्नो राज्य खडा गर्नुहुनेछ र पृथ्वीमा शासन गर्न थाल्नुहुनेछ भनी उहाँका केही चेलाहरूले आशा गरिरहेका थिए। येशूले यो कुरा आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि थाह पाउनुभयो। उहाँले चाँदीको टुक्राको दृष्टान्त बताएर तिनीहरूको त्यो सोचाइलाई सच्याउनुभयो। त्यस दृष्टान्तअनुसार ‘कुलीन घरानाको मानिस’ अर्थात्‌ येशू परदेश जानुहुने थियो र उहाँ फर्कन लामो समय लाग्ने थियो। (लूका १९:११-१३, १५) साथै रोमको राजनैतिक मामिलामा आफू तटस्थ रहेको कुरा पनि उहाँले प्रस्ट पार्नुभयो। पन्तियस पिलातसले येशूलाई सोधे: “के तिमी यहूदीहरूका राजा हौ?” (यूह. १८:३३) येशूले राजनैतिक उथलपुथल मच्चाउनुहोला भनेर पिलातसलाई चिन्ता लागेको हुनुपर्छ। आफ्नो शासनकालभरि पिलातसलाई यही कुराको डर थियो। येशूले जवाफ दिनुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूह. १८:३६) उहाँ राजनीतिमा मुछिनुहुने थिएन किनकि उहाँको राज्य स्वर्गीय राज्य थियो। “सत्यको साक्षी दिन” आफू पृथ्वीमा आएको कुरा उहाँले पिलातसलाई बताउनुभयो।यूहन्‍ना १८:३७ पढ्‌नुहोस्‌।

तपाईँको ध्यान कुन कुरामा केन्द्रित छ, संसारका समस्याहरूमा कि परमेश्‍वरको राज्यमा? (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. स्वतन्त्रताका लागि गरिएका अभियानहरूलाई मनमनै पनि समर्थन नगर्नु किन सजिलो कुरा होइन?

येशूले आफ्नो जिम्मेवारी के हो भनेर स्पष्टसित बुझ्नुभएको थियो। हामीले पनि आफ्नो जिम्मेवारी स्पष्टसित बुझ्यौँ भने राजनैतिक स्वतन्त्रताका लागि संसारमा भइरहेका अभियानहरूलाई कुनै पनि तरिकामा समर्थन गरेको छनक दिनेछैनौँ। मनमनै पनि समर्थन गर्नेछैनौँ। यसो गर्न त्यति सजिलो नहुन सक्छ। एक जना परिभ्रमण निरीक्षक यसो भन्छन्‌: “हाम्रो ठाउँका मानिसहरूलाई क्रान्तिकारी विचारधाराले झन्‌झनै असर गरिरहेको देखिन्छ। मानिसहरू झन्‌झनै देशभक्‍त हुन थालेका छन्‌ अनि राजनैतिक स्वतन्त्रता पाएमा जीवन पक्कै सुध्रिन्छ भनेर उनीहरू आशा गर्छन्‌। तर खुसीको कुरा, हाम्रा ख्रीष्टियन भाइबहिनीहरूले भने राज्यको सुसमाचार प्रचार गर्ने कुरामा ध्यान केन्द्रित गरेर आफ्नो एकतालाई जोगाइराखेका छन्‌। अन्याय-अत्याचारलगायत सबै समस्याको समाधानको लागि उनीहरू परमेश्‍वरमा भर पर्छन्‌।”

फूट ल्याउने राजनैतिक मामिलाहरूबारे येशूले कस्तो दृष्टिकोण राख्नुभयो?

८. येशूको समयका यहूदीहरूले कस्तो भार बोक्नुपरेको थियो?

अन्याय-अत्याचारले मानिसहरूलाई राजनैतिक विवाद खडा गर्न जुरमुऱ्‍याउँछ। रोमी सरकारलाई कर तिर्ने कुरा येशूको समयमा ठूलो विवादको विषय थियो। यस लेखको सुरुमा चर्चा गरिएको गालीलका यहूदाले विद्रोह सुरु गर्नुको मुख्य कारण रोमी सरकारले मानिसहरूबाट तिरो उठाउन सबैको नाम दर्ता गर्ने आदेश दिएकोले थियो। त्यतिबेला येशूको कुरा सुन्‍ने मानिसहरूलगायत रोमको अधीनमा भएका सबै मानिसहरूले थुप्रै कुराको कर तिर्नु पर्थ्यो। जस्तै, सरसामान, घरजग्गा आदि। अनि कर उठाउनेहरूले गरेको भ्रष्टाचारले गर्दा मानिसहरूको भारमाथि भार थपिएको थियो। केही कर उठाउनेहरूले सरकारी अधिकारीहरूलाई पैसा तिरेर ठूलठूलो ओहदा किन्थे अनि आफ्नो अख्तियारको दुरुपयोग गरेर पैसा कमाउँथे। जक्कै यरिहो सहरको कर उठाउने मानिसहरूका हाकिम थिए र तिनी मानिसहरूलाई लुटेर धनी भएका थिए। (लूका १९:२, ८) कर उठाउनेहरूमध्ये धेरैजसोले त्यसै गरेको हुनुपर्छ।

९, १०. (क) येशूका शत्रुहरूले कसरी उहाँलाई राजनैतिक विवादमा मुछ्‌न खोजे? (ख) येशूले देखाउनुभएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

येशूका शत्रुहरूले कर तिर्ने विषयमा अप्ठेरो प्रश्‍न सोधेर उहाँलाई फसाउन खोजे। रोमको अधीनमा भएकाहरूले रोमी सरकारलाई करस्वरूप तिर्नुपर्ने एक दिनारको विषयमा तिनीहरूले उहाँलाई प्रश्‍न सोधेका थिए। (मत्ती २२:१६-१८ पढ्‌नुहोस्‌) यहूदीहरूलाई यो कर तिर्न पटक्कै मन पर्दैनथ्यो। त्यो कर तिर्दा तिनीहरू रोमको अधीनमा छन्‌ भनेर देखिन्थ्यो। यो विवाद खडा गर्ने “हेरोदवादीहरू” थिए। येशूले कर तिर्ने नियमविरुद्ध केही बोल्नुहोला र उहाँलाई राजद्रोहको आरोप लगाउन सकिएला भनेर तिनीहरूले मौका खोजिरहेका थिए। अर्कोतर्फ यदि कर तिर्नु जायज हो भनेर उहाँले बताउनुभएको भए मानिसहरू उहाँदेखि तर्केर जान पनि सक्थे।

१० कर तिर्ने सन्दर्भमा कसैको पक्ष नलिन येशू होसियार हुनुहुन्थ्यो। “जे-जे सम्राट्‌का हुन्‌, सम्राट्‌लाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ” भनेर उहाँले बताउनुभयो। (मत्ती २२:२१) कर उठाउनेहरूले भ्रष्टाचार गरिरहेका थिए भनेर येशूलाई पक्कै थाह थियो। तर त्यो कुरामा अलमलिनुको साटो उहाँले त्योभन्दा पनि महत्त्वपूर्ण कुरामा अर्थात्‌ परमेश्‍वरको राज्यमा ध्यान दिनुभयो किनकि त्यसले मात्र साँचो समाधान दिन सक्थ्यो। यसरी उहाँले आफ्ना सबै चेलाहरूको लागि उदाहरण बसाल्नुभयो। राजनैतिक मामिलाहरूमा कसैको पक्ष लिनु जति नै जायजजस्तो देखिए पनि येशूका चेलाहरू त्यस्ता विवादहरूमा मुछिनदेखि होसियार रहनुपर्छ। अन्याय-अत्याचारबारे कडा धारणा राख्नु वा त्यसको विरुद्धमा आवाज उठाउनुको साटो ख्रीष्टियनहरू परमेश्‍वरको राज्य र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिन्छन्‌।—मत्ती ६:३३.

११. अन्यायविरुद्ध लड्‌ने सबैभन्दा राम्रो तरिका के हो?

११ थुप्रै यहोवाका साक्षीहरू आफूले पहिला राखेको कट्टर राजनैतिक विचारधारालाई त्याग्न सफल भएका छन्‌। बेलायतकी एउटी बहिनी भन्छिन्‌: “विश्‍वविद्यालयमा सामाजिक शिक्षा विषय अध्ययन गरेपछि मेरो मनमा क्रान्तिकारी विचारधारा पलायो। म काला जातिका मानिसहरूको अधिकारको लागि लड्‌न चाहन्थेँ किनकि हामी काला जातिकाहरूले थुप्रै अन्याय भोगेका थियौँ। हुनत म विवादहरू जित्न सिपालु थिएँ, तैपनि कहिल्यै सन्तुष्ट महसुस गर्न सकिनँ। मानिसहरूको मनमा जरा गाडेर बसेको जातीय भेदभावको मूल कारणलाई नै उखेल्नुपर्छ भनेर मैले बुझेकी थिइनँ। तर बाइबल अध्ययन गर्न थालेपछि बल्ल बुझेँ, सबैभन्दा पहिला त मेरै मनमा जरा गाडेको कुरालाई हटाउनुपर्ने रहेछ। अनि यसो गर्न मलाई गोरा जातिकी एक जना बहिनीले धीरजी हुँदै मदत गर्नुभयो। अहिले म साङ्‌केतिक भाषाको एउटा मण्डलीमा नियमित अग्रगामीको रूपमा सेवा गरिरहेकी छु अनि सबै जातिका मानिसहरूलाई प्रचार गर्ने कोसिस गर्दै छु।”

“तिम्रो तरबार म्यानमै राख”

१२. येशूले आफ्ना चेलाहरूलाई कस्तो प्रकारको “खमिर”-देखि होसियार रहनू भन्‍नुभयो?

१२ येशूको समयमा धर्मगुरुहरू र राजनैतिक अख्तियारवालाबीच साँठगाँठ थियो। ख्रीष्टको समयमा प्यालेस्टाइनको दैनिक जीवन (अङ्‌ग्रेजी) नामक किताब यसो भन्छ: “यहूदीहरूको विभिन्‍न धार्मिक गुट अहिलेको राजनैतिक पार्टीहरूसित मिल्दोजुल्दो थियो।” त्यसैले येशूले आफ्ना चेलाहरूलाई “यसो भन्दै कडा चेतावनी दिनुभयो: ‘तिमीहरूको आँखा खुल्ला राख अनि फरिसीहरू र हेरोदको खमिरदेखि होसियार रहो।’ (मर्कू. ८:१५) यहाँ उल्लेख गरिएको “हेरोद” शब्दले हेरोदवादीहरूलाई जनाएको हुन सक्छ। अर्को समूह अर्थात्‌ फरिसीहरूको चाहना यहूदीहरू रोमी शासनबाट स्वतन्त्र होऊन्‌ भन्‍ने थियो। यो कुराकानीमा येशूले सदुकीहरूको कुरा पनि उल्लेख गर्नुभयो भनेर मत्तीको विवरणबाट थाह पाउँछौँ। सदुकीहरूचाहिँ रोमकै शासनको अधीनमा बस्न चाहन्थे किनकि रोमी शासनअन्तर्गत तिनीहरूमध्ये थुप्रैले उच्च ओहदा पाएका थिए। यी तीन वटा समूहको खमिर अर्थात्‌ यिनीहरूले फैलाउने शिक्षादेखि होसियार रहनू भनेर येशूले आफ्ना चेलाहरूलाई स्पष्ट चेतावनी दिनुभयो। (मत्ती १६:६, १२) रोचक कुरा, मानिसहरूले उहाँलाई राजा बनाउन खोजेको केही समय नबित्दै उहाँले आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुभएको थियो।

१३, १४. (क) राजनैतिक र धार्मिक विवादले गर्दा कसरी हिंसा र अन्याय हुन पुग्यो? (ख) अन्यायविरुद्ध लड्‌न हिंसा गर्नु ठीक होइन, किन? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१३ राजनैतिक विवादहरूमा धर्मको कुरा मुछियो भने हुलदङ्‌गा मच्चिन कत्ति पनि बेर लाग्दैन। यस्ता परिस्थितिहरूमा चेलाहरू तटस्थ रहनुपर्छ भनेर येशूले बताउनुभयो। प्रधान पुजारीहरू र फरिसीहरूले येशूलाई मार्न चाहनुको एउटा कारण यही थियो। तिनीहरूले उहाँलाई राजनैतिक र धार्मिक प्रतिद्वन्द्वीको रूपमा हेरे। किनभने उहाँले गर्दा तिनीहरूको ओहदा खतरामा पर्ला भन्‍ने डर तिनीहरूलाई थियो। तिनीहरूले येशूबारे आपसमा यसो भने: “यदि हामीले त्यसलाई त्यत्तिकै छोडिदियौं भने तिनीहरू सबैले त्यसमाथि विश्‍वास गर्नेछन्‌ र रोमीहरू आएर हाम्रो ठाउँ र हाम्रो जाति दुवै कब्जा गर्नेछन्‌।” (यूह. ११:४८) यसकारण प्रधान पुजारी कैयाफाले येशूलाई मार्ने षड्यन्त्रमा मुख्य भूमिका खेले।—यूह. ११:४९-५३; १८:१४.

१४ कैयाफाले रातको समय पारेर येशूलाई पक्रन सिपाहीहरू पठाए। आफूविरुद्ध यस्तो दुष्ट षड्यन्त्र भइरहेको छ भनेर येशूलाई थाह थियो, त्यसैले चेलाहरूसित अन्तिम पटक खाना खान बस्दा उहाँले तिनीहरूलाई तरबारहरू लिनू भन्‍नुभयो। चेलाहरूलाई महत्त्वपूर्ण पाठ सिकाउन दुई वटा तरबार भए पुग्ने थियो। (लूका २२:३६-३८) पछि त्यही रात येशूलाई पक्रिन आउनेहरूमध्ये एक जनालाई पत्रुसले आक्रमण गरे। सिपाहीहरू त्यसरी रातको समयमा येशूलाई पक्रन आउनु अन्यायपूर्ण भएकोले पत्रुसलाई निकै रिस उठेको हुनुपर्छ। (यूह. १८:१०) तर येशूले पत्रुसलाई भन्‍नुभयो: “तिम्रो तरबार म्यानमै राख, किनकि तरबार चलाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।” (मत्ती २६:५२, ५३) त्यसबेला चेलाहरूले एउटा महत्त्वपूर्ण पाठ सिके, जुन उहाँले त्यस रात केहीबेर अघि गर्नुभएको प्रार्थनाअनुरूप थियो। त्यो पाठ थियो, उहाँका चेलाहरू यस संसारको हुनु हुँदैन। (यूहन्‍ना १७:१६ पढ्‌नुहोस्‌) अन्यायविरुद्ध लड्‌ने काम परमेश्‍वरको हो भनेर चेलाहरूले बुझ्नुपर्थ्यो।

१५, १६. (क) परमेश्‍वरको वचनले ख्रीष्टियनहरूलाई राजनैतिक विवादमा नमुछिन कसरी मदत गरेको छ? (ख) यहोवाले आफ्ना जनहरू र संसारका मानिसहरूबीच कस्तो भिन्‍नता देख्नुहुन्छ?

१५ सुरुमा उल्लेख गरिएको युरोपको दक्षिणी भागमा बस्ने बहिनीले यस्तै पाठ सिकिन्‌। तिनी यसो भन्छिन्‌ “हिंसाले कहिल्यै अन्यायको अन्त गर्न सक्दैन भनेर मैले बुझेँ। हिंसाको सहारा लिनेहरूले अक्सर ज्यान गुमाउनुपर्ने हुन्छ। अरू थुप्रैको मन तीतोपनाले भरिन्छ। परमेश्‍वरले मात्रै पृथ्वीमा भएको सबै अन्यायको अन्त गर्न सक्नुहुन्छ भनेर बाइबलबाट थाह पाउँदा म एकदमै खुसी भएँ। बितेको २५ वर्षदेखि म मानिसहरूलाई यही सन्देश सुनाइरहेकी छु।” अफ्रिकाको दक्षिणी भागमा बस्ने भाइले चाहिँ आफ्नो भाला छोडेर “पवित्र शक्‍तिको तरबार” अर्थात्‌ परमेश्‍वरको वचन लिएका छन्‌। अनि हरेक जातिका मानिसहरूलाई शान्तिको सन्देश सुनाउँछन्‌। (एफि. ६:१७) अनि मध्य युरोपकी बहिनीले चाहिँ यहोवाको साक्षी भइसकेपछि पहिला आफूले घृणा गरेको जातिकै एक जना भाइसित विवाह गरिन्‌। यी तीनै जना भाइबहिनीले येशूजस्तै हुन चाहेकोले यस्ता परिवर्तनहरू गरे।

१६ यस्ता परिवर्तनहरू गर्नु साँच्चै महत्त्वपूर्ण छ! बाइबलले मानव समाजलाई सधैँ उर्लिरहने अनि कहिल्यै शान्त नहुने समुद्रसित तुलना गरेको छ। (यशै. १७:१२; ५७:२०, २१; प्रका. १३:१) राजनैतिक विवादले मानिसहरूलाई उत्तेजित गराउँछ, फाटो ल्याउँछ अनि अन्धाधुन्ध हिंसा मच्चाउँछ तर हामी भने शान्ति र एकता कायम राख्छौँ। अहिलेको विभाजित संसारमा आफ्ना जनहरूबीचको एकता देख्दा यहोवाको मन कत्ति आनन्दित हुन्छ होला!सपन्याह ३:१७ पढ्‌नुहोस्‌।

१७. (क) एकता कायम राख्ने तीन वटा तरिका के-के हुन्‌? (ख) अर्को लेखमा हामी कुन कुरा विचार गर्नेछौँ?

१७ ख्रीष्टियन एकतालाई कायम राख्ने तीन वटा तरिका हामीले विचार गऱ्‍यौँ: (१) परमेश्‍वरको राज्यले मात्र अन्यायको अन्त गर्छ भनेर हामी विश्‍वास गर्छौँ, (२) हामी राजनैतिक विवादहरूमा कसैको पक्ष लिँदैनौँ र (३) हामी कहिल्यै हिंसा गर्दैनौँ। तर कहिलेकाहीँ पूर्वाग्रहले गर्दा हाम्रो एकता खतरामा पर्न सक्छ। प्रथम शताब्दीका ख्रीष्टियनहरूले जस्तै हामी कसरी पूर्वाग्रहको सामना गर्न सक्छौँ भनेर यसपछिको लेखमा विचार गर्नेछौँ।