सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

केटाकेटी हो, आफ्नो विश्वास बलियो बनाउनुहोस्!

केटाकेटी हो, आफ्नो विश्वास बलियो बनाउनुहोस्!

“विश्वास भनेको. . .अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो।”—हिब्रू ११:१.

गीत: ४१, ६९

१, २. केटाकेटीहरूले आजकल कस्तो दबाब महसुस गर्न सक्छन्‌? अनि यस्तो दबाबको सामना गर्न तिनीहरूले के गर्न सक्छन्‌?

“ओहो! तिमी त भगवान्‌मा विश्वास गर्दी रहेछ्यौ, कस्तो अचम्म!” बेलायतमा बस्ने एउटी साक्षी केटीलाई उनको सहपाठीले त्यसो भनिन्‌। जर्मनीमा बस्ने एक जना भाइले यसो भने: “मेरा शिक्षकहरू बाइबलमा बताइएको सृष्टिको विवरण मिथ्या हो भन्नुहुन्छ। उहाँहरूको सोचाइमा विद्यार्थीहरूले पनि क्रमविकासमा विश्वास गर्नु कुनै अनौठो कुरा होइन।” फ्रान्समा बस्ने एउटी साक्षी केटीले यसो भनिन्‌: “अहिलेको जमानामा पनि बाइबलमा विश्वास गर्ने विद्यार्थीहरू छन्‌ भन्ने सुन्दा मेरो स्कुलका शिक्षकहरू छक्कै पर्नुहुन्छ।”

तपाईं यहोवाको उपासना गर्ने केटा वा केटी हुनुहुन्छ होला। अथवा भर्खरै मात्र यहोवाबारे सिक्न थाल्नुभएको होला। के तपाईं सृष्टिकर्तामा विश्वास गर्नुभन्दा मानिसहरूमाझ लोकप्रिय क्रमविकासजस्ता कुराहरूमा विश्वास गर्ने दबाब महसुस गर्नुहुन्छ? त्यसो हो भने आफ्नो विश्वास बलियो बनाउन र त्यसलाई कमजोर हुन नदिन तपाईं केही कदम चाल्न सक्नुहुन्छ। एउटा हो, आफ्नो विवेक अर्थात्‌ परमेश्वरले दिनुभएको सोच्ने क्षमता चलाउनु, जसले तपाईंको “हेरचाह गर्नेछ।” संसारमा चलिआएका मानव दर्शनहरूले तपाईंको विश्वास तहसनहस पार्न सक्छ। तर परमेश्वरले दिनुभएको सोच्ने क्षमता चलाउनुभयो भने त्यसले तपाईंलाई जोगाउनेछ।हितोपदेश २:१०-१२ पढ्‌नुहोस्।

३. यस लेखमा हामी कुन विषय छलफल गर्नेछौं?

साँचो विश्वास परमेश्वरको सही ज्ञानमा आधारित हुन्छ। (१ तिमो. २:४) त्यसैले परमेश्वरको वचन र हाम्रा प्रकाशनहरूको अध्ययन गर्दा सरसर्ती हेर्ने मात्र नगर्नुहोस्। आफूले पढेको कुराको ‘अर्थ बुझ्न’ आफ्नो सोच्ने क्षमता प्रयोग गर्नुहोस्। (मत्ती १३:२३) यसो गर्दा परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा र बाइबलमा बताइएका कुराहरूमाथि तपाईं कसरी आफ्नो विश्वास बलियो बनाउन सक्नुहुन्छ, आउनुहोस् त्यो हेरौं। यी विषयहरूमा “स्पष्ट प्रमाण”-को कुनै अभाव छैन भनेर तपाईंले बुझ्नुहुनेछ।—हिब्रू ११:१.

तपाईं आफ्नो विश्वास कसरी बलियो बनाउन सक्नुहुन्छ?

४. परमेश्वर र जीवनको सुरुवातबारे हामी जे कुरा मान्छौं, त्यसमा कुनै न कुनै तरिकामा किन सधैं विश्वास मुछिएको हुन्छ? सही निष्कर्षमा पुग्न हामीले के गर्नुपर्छ?

के तपाईंलाई मानिसहरूले यसो भनेका छन्‌, ‘म क्रमविकासमा विश्वास गर्छु किनभने यसलाई विज्ञानले समर्थन गर्छ, तर भगवान्‌ मान्नु या नमान्नु भनेको त विश्वासको कुरा हो।’ धेरै जना यस्तो धारणा राख्छन्‌। तर हामीले यो कुरा सम्झनु बेस हो: मानिसहरूले चाहे भगवान्‌लाई मानुन्‌ वा क्रमविकासलाई, यसमा कुनै न कुनै तरिकामा विश्वास मुछिएको हुन्छ। कसरी? हामी कसैले भगवान्‌लाई देखेका छैनौं अनि उहाँले कसरी सृष्टि गर्नुभयो, त्यो पनि देखेका छैनौं। (यूह. १:१८) चाहे वैज्ञानिक होस् या नहोस्, कसैले पनि एक प्रकारको जीव परिवर्तन भएर अर्को जीव बनेको देखेको छैन। जस्तै, कसैले पनि सर्प वा छेपारो परिवर्तन भएर सिंह वा हात्ती बनेको देखेको छैन। (अय्यू. ३८:१, ४) यसकारण सही निष्कर्षमा पुग्न हामी सबैले प्रमाण जाँच्नुपर्छ अनि आफ्नो सोच्ने क्षमता चलाउनुपर्छ। सृष्टिको विषयमा प्रेषित पावलले यस्तो लेखे: “[परमेश्वरको] अदृश्य गुण, अर्थात्‌ उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन।”—रोमी १:२०.

अरूसित तर्क गर्दा आफ्नो भाषामा उपलब्ध अध्ययन सामग्रीहरूको पूरापूर सदुपयोग गर्नुहोस् (अनुच्छेद ५ हेर्नुहोस्)

५. हामी परमेश्वरका जनहरूले आफ्नो सोच्नेबुझ्ने क्षमता चलाउन कस्तो मदत पाएका छौं?

कुनै कुरा ‘बुझ्नु’ भनेको झट्टै नदेखिने वा सरसर्ती हेर्दा थाह नपाइने कुरालाई पनि याद गर्नु हो। (हिब्रू ११:३) त्यसकारण सोच्नेबुझ्ने क्षमता चलाउने मानिसहरूले आफ्नो आँखा र कान मात्र होइन, आफ्नो दिमाग चलाउँछन्‌। हामीलाई मदत गर्न यहोवाको सङ्‌गठनले विस्तृत अनुसन्धान गरिएका थुप्रै सामग्री प्रबन्ध गरिदिएको छ। यस्ता सामग्रीहरू प्रयोग गर्दा विश्वासको आँखाले हामी सृष्टिकर्तालाई ‘देख्न’ सक्छौं। (हिब्रू ११:२७) अङ्‌ग्रेजीमा उपलब्ध केही सामग्रीहरू हुन्‌: सृष्टिका आश्चर्यजनक कुराले परमेश्वरको महिमा प्रकट गर्छ भन्ने भिडियो। के जीवन सृष्टि गरिएको थियो?जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्न भन्ने शीर्षक भएका पुस्तिकाहरू। के तपाईंको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? भन्ने शीर्षक भएको किताब। [१] हाम्रा पत्रिकाहरूमा पनि निकै राम्रा-राम्रा जानकारी पाउन सक्छौं। ब्यूँझनुहोस्! पत्रिकामा परमेश्वरमाथि विश्वास गर्न थालेका वैज्ञानिकहरू र अरू व्यक्तिहरूको अन्तरवार्ताहरू अक्सर छापिन्छन्‌। “सृष्टि या संयोग?” भन्ने लेखहरूको शृङ्‌खलामा प्रकृतिका अद्‌भुत डिजाइनहरूबारे बताइएको हुन्छ। वैज्ञानिकहरू अक्सर यस्तै अद्‌भुत डिजाइनहरू नक्कल गर्न खोज्छन्‌।

६. अहिले उपलब्ध अध्ययन सामग्रीहरू प्रयोग गर्दा कस्ता फाइदाहरू हुन्छन्‌? अनि तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

अनुच्छेद ५ मा उल्लेख गरिएका दुई वटा पुस्तिकाबारे अमेरिकामा बस्ने १९ वर्षीय भाइले यसो भने: “यी पुस्तिकाहरूबाट मैले ठूलो मदत पाएको छु। यी पुस्तिकाहरू मैले धेरै चोटि पढिसकें।” फ्रान्सकी एउटी बहिनीले भनिन्‌: “‘सृष्टि या संयोग?’ भन्ने लेखहरू पढ्‌दा म दङ्‌गै पर्छु! ती लेखहरूमा बताइएअनुसार ठूलठूला इन्जिनियरहरूले प्रकृतिका डिजाइनहरूको नक्कल त गर्लान्‌ तर ती जटिल डिजाइनहरू जस्ताको तस्तै नक्कल गर्न भने कहिल्यै सक्दैनन्‌।” आफ्नी १५ वर्षीया छोरीबारे दक्षिण अफ्रिकामा बस्ने आमाबाबुले यसो भने: “ब्यूँझनुहोस्! पत्रिका पाउनेबित्तिकै उनले सबैभन्दा पहिला ‘अन्तरवार्ता’ भएको लेख पढ्छिन्‌।” तपाईं नि? के तपाईं यी सबै सामग्रीको पूरापूर सदुपयोग गर्दै हुनुहुन्छ? यी सामग्रीहरूले तपाईंको विश्वासलाई गहिरो जरा गाडेको रूखजस्तै बन्न मदत गर्न सक्छ। त्यस्तो विश्वास भयो भने झूटा शिक्षाहरूको बतासलाई थेग्न सक्नुहुनेछ।—यर्मि. १७:५-८.

बाइबलमाथि तपाईंको विश्वास

७. तपाईंले आफ्नो सोचविचार गर्ने क्षमता चलाएको परमेश्वर किन चाहनुहुन्छ?

बाइबलमा बताइएका कुराहरूबारे साँच्चै बुझ्न चाहेर प्रश्न सोध्नु के गलत हो? पटक्कै होइन! सही कुरा के हो भनेर पक्का हुन तपाईंले “आफ्नो सोचविचार गर्ने क्षमता” चलाएको यहोवा चाहनुहुन्छ। अरूले विश्वास गरेको भरमा तपाईंले पनि विश्वास गरेको उहाँ चाहनुहुन्न। त्यसैले सही ज्ञान लिन आफ्नो सोच्ने क्षमता प्रयोग गर्नुहोस्। सही ज्ञान लिंदै जानुभयो भने तपाईंको विश्वासको जग बलियो हुनेछ। (रोमी १२:१, २; १ तिमोथी २:४ पढ्‌नुहोस्) यस्तो ज्ञान हासिल गर्ने एउटा तरिका खास-खास विषय छानेर अध्ययन गर्नु हो।

८, ९. (क) कसै-कसैलाई कस्ता विषयहरू अध्ययन गर्न रमाइलो लाग्न सक्छ? (ख) आफूले अध्ययन गरिरहेको विषयमा मनन गर्दा कसै-कसैले कस्तो फाइदा उठाएका छन्‌?

कसै-कसैले अध्ययन गर्न बाइबलका भविष्यवाणी, ऐतिहासिक, पुरातात्त्विक विवरण वा बाइबल विज्ञानसित मेल खान्छ कि खाँदैन जस्ता विषयहरू रोजेका छन्‌। अध्ययन गर्न सकिने एउटा रोचक भविष्यवाणी उत्पत्ति ३:१५ हो। यस पदमा बाइबलको मूल विषय बताइएको छ। त्यो हो, परमेश्वरको राज्यद्वारा उहाँको सार्वभौमिकता उच्च पार्ने अनि उहाँको नाम पवित्र पार्ने। अदनको बगैंचाबाट निकालिएदेखि मानिसहरूले भोगिरहेका सबै दुःखकष्ट यहोवाले कसरी हटाउनुहुनेछ भनेर त्यही पदमा प्रतीकात्मक भाषामा बताएको छ। तपाईं उत्पत्ति ३:१५ लाई कसरी अध्ययन गर्न सक्नुहुन्छ? एउटा तरिका कालक्रम तयार पारेर हो। यस पदमा सङ्‌केत गरिएका व्यक्तिहरू र परमेश्वरले गर्नुभएको प्रबन्धबारे उहाँले कसरी अलि-अलि गर्दै प्रकट गर्नुभयो अनि यो भविष्यवाणी कसरी पक्कै पूरा हुनेछ भनेर बुझाउने पदहरूको सूची बनाउन सक्नुहुन्छ। यी विभिन्न पदहरूले त्यो सुरुको भविष्यवाणीलाई अझ स्पष्ट पार्दै गएको देख्नुभएपछि तपाईं पक्कै यो निष्कर्षमा पुग्नुहुनेछ, बाइबलका भविष्यवक्ताहरू अनि लेखकहरू “पवित्र शक्ति पाएर . . . परमेश्वरको तर्फबाट बोल्थे।”—२ पत्रु. १:२१.

जर्मनीका एक जना साक्षीले यसो भने: “बाइबलका प्रत्येक पुस्तकमा परमेश्वरको राज्यबारे केही न केही कुरा बताइएको छ। जम्मा ४० जना व्यक्तिले बाइबल लेखेको भए तापनि सबैले परमेश्वरको राज्यबारे लेखेका छन्‌। अनि तीमध्ये धेरैजसो बेग्लाबेग्लै समयमा बाँचेका थिए अनि तिनीहरूले एकअर्कालाई भेटेका थिएनन्‌।” डिसेम्बर १५, २०१३ को प्रहरीधरहरा-मा निस्तार-चाडको अर्थबारे बताइएको लेखले अस्ट्रेलियाकी एउटी बहिनीको मन छोयो। निस्तार-चाड कसरी उत्पत्ति ३:१५ र मसीह आउने कुरासित सम्बन्धित छन्‌ भनेर त्यस लेखमा बताइएको थियो। ती बहिनीले यस्तो लेखिन्‌: “त्यो लेख पढेपछि यहोवा कत्तिको महान्‌ हुनुहुन्छ भनेर मैले बल्ल बुझें। उहाँले इस्राएलीहरूको लागि यो चाड मनाउने प्रबन्ध मिलाउनु अनि त्यही कुरा पछि येशूमा गएर पूरा हुनु साधारण कुरा होइन। यसले मेरो मनमा ठूलो प्रभाव पाऱ्यो। हो, निस्तार-चाडको भविष्यसूचक अर्थ कत्तिको गहन रहेछ भनेर एकछिन घोरिन बाध्य भएँ!” ती बहिनीले किन त्यस्तो महसुस गरिन्‌? आफूले पढिरहेको विषयबारे उनले गहिरिएर सोचिन्‌ र ‘त्यसको अर्थ बुझिन्‌।’ यसरी अध्ययन गर्दा त्यस बहिनीको विश्वास बलियो भयो र तिनी यहोवासित अझ नजिक हुन सकिन्‌।—मत्ती १३:२३.

१०. बाइबल लेखकहरूको इमानदारीलाई विचार गर्दा तिनीहरूले लेखेका कुराहरूलाई हामी किन अझ विश्वास गर्न सक्छौं?

१० आफ्नो विश्वास बलियो बनाउने अर्को कुरा बाइबल लेखकहरूको साहस र इमानदारी विचार गर्नु हो। पहिले-पहिलेका धेरैजसो लेखकहरूले आफ्ना नेताहरूबारे बढाइचढाइ लेखे अनि तिनीहरूको राज्यको जयजयकार गरे। तर यहोवाका भविष्यवक्ताहरूले सधैं सत्य बोले। तिनीहरू आफ्नै जनताको मात्र होइन, राजाहरूको समेत कमीकमजोरी औंल्याउन पछि हटेनन्‌। (२ इति. १६:९, १०; २४:१८-२२) तिनीहरूले आफ्नै अनि परमेश्वरका अरू सेवकहरूको कमीकमजोरी खुलस्त लेखिदिए। (२ शमू. १२:१-१४; मर्कू. १४:५०) बेलायतका एक जना जवान भाइले भने: “यस्तो इमानदारी हतपती पाइँदैन। यो देख्दा बाइबल साँच्चै यहोवाबाट आएको हो भनेर झनै विश्वास लाग्छ।”

११. बाइबलका सिद्धान्तहरू उपयोगी छन्‌ भनेर धेरै जना कसरी विश्वस्त भएका छन्‌?

११ हाम्रो जीवनलाई सही डोऱ्याइ दिने सिद्धान्तहरू पनि बाइबलमा पाइन्छन्‌। यसले गर्दा पनि धेरै जना बाइबल साँच्चै परमेश्वरको प्रेरणाद्वारा लेखिएको किताब हो भनेर विश्वस्त भएका छन्‌। (भजन १९:७-११ पढ्‌नुहोस्) जापानकी एउटी साक्षी केटीले यस्तो लेखिन्‌: “बाइबलमा दिइएका शिक्षाअनुसार चल्दा हाम्रो परिवार साँच्चै खुसी हुन सक्यो। हामीले आपसमा शान्ति, एकता र प्रेम अनुभव गऱ्यौं।” बाइबलका सिद्धान्तहरूले हामीलाई झूटो उपासनामा भाग लिनदेखि जोगाउँछ अनि धेरै जसो मानिसलाई आफ्नो दास बनाइराखेको अन्धविश्वासबाट मुक्त गर्छ। (भज. ११५:३-८) ईश्वर छैन भन्ने मानव दर्शनहरूले के मानिसहरूलाई असर गर्छ? क्रमविकासजस्ता शिक्षाले यहोवालाई नभई प्रकृतिलाई नै एक प्रकारको भगवान्‌ ठान्छ र उहाँलाई दिनुपर्ने श्रेय ती सृजिएका चिजहरूलाई दिन्छ। ईश्वर छैन भन्ने मानिसहरूले हाम्रो भविष्य हाम्रै हातमा छ भन्छन्‌। तर तिनीहरू उज्ज्वल भविष्यको लागि कुनै ठोस आशा दिंदैनन्‌।—भज. १४६:३, ४.

अरूसित तर्क गर्ने

१२, १३. स्कुलका साथी, शिक्षक वा अरू व्यक्तिहरूसित सृष्टि वा बाइबलबारे छलफल गर्दा कस्तो तरिका अपनाउनु प्रभावकारी हुन्छ?

१२ सृष्टि र बाइबलको कुराबारे अरूसित तपाईं कसरी प्रभावकारी ढङ्‌गमा तर्क गर्न सक्नुहुन्छ? सर्वप्रथम, अरूले के विश्वास गर्छन्‌, त्यो ‘मलाई थाह छ!’ भन्ने अड्‌कल नकाट्‌नुहोस्। कोही-कोही क्रमविकासमा विश्वास गर्छु भन्छन्‌ तर तिनीहरूलाई भगवान्‌ छ जस्तो पनि लाग्छ। क्रमविकासद्वारा भगवान्‌ले विभिन्न प्रकारका जीवजीवात्‌हरू सृष्टि गर्नुभयो भन्ने तिनीहरू सोचाइ राख्छन्‌। अरू भने क्रमविकास गलत हुँदो हो त स्कुलहरूमा पढाइने थिएन, त्यसैले क्रमविकासमा विश्वास राख्छु भन्छन्‌। कोही-कोही भने धर्म देखेर वाक्कब्याक्क भएर भगवान्‌लाई मान्न छोड्‌छन्‌। त्यसैले जीवनको सुरुवातबारे कसैसित छलफल थाल्नुअघि सुरुमा उनीहरूलाई प्रश्न सोध्नु अक्सर बेस हो। त्यस व्यक्ति कुन कुरामा विश्वास गर्छन्‌, पत्ता लगाउनुहोस्। तपाईं व्यावहारिक र कुरा सुन्न तयार हुनुहुन्छ भने तिनले तपाईंको कुरा सुन्ने सम्भावना पनि प्रबल हुन्छ।—ती. ३:२.

१३ सृष्टिमा विश्वास गर्छु’ भन्दा यदि कसैले तपाईंको विश्वासमाथि प्रश्न उठायो भने कौशलतापूर्वक त्यसबारे उसैलाई बताउन लगाउनुहोस्। सृष्टिकर्ता नै छैन भने जीवन कसरी सुरु भयो भनेर तपाईं उसलाई सोध्न सक्नुहुन्छ। क्रमविकासबाट जीवन आएको हो भने सबैभन्दा सुरुको जीवले आफूजस्तै सन्तानहरू जन्माउन सक्नुपर्थ्यो। त्यसो हो भने रसायनशास्त्रका एक जना प्राध्यापकको भनाइअनुसार यी कुराहरू हुनु आवश्यक छ: (१) सुरक्षा गर्ने झिल्ली हुनुपर्छ। (२) बाह्य स्रोतबाट शक्ति लिएर त्यसलाई प्रयोग गर्न सक्नुपर्छ। (३) कोषको अति सूक्ष्म तत्त्व अर्थात्‌ जिनमा जानकारी सञ्चय हुनुपर्छ। (४) त्यस जानकारीका अरू प्रतिहरू बनाउन सक्नुपर्छ। ती प्राध्यापकले अझ यसो भने: “सबैभन्दा सरल प्रकारको जीव पनि कत्ति जटिल छ भनेर बुझ्दा म त दङ्‌गै पर्छु।”

१४. क्रमविकास वा सृष्टिबारे अरूसित कुरा गर्न गाह्रो लाग्छ भने के गर्न सक्नुहुन्छ?

१४ क्रमविकास वा सृष्टिबारे अरूसित कुरा गर्न गाह्रो लाग्छ भने पावलले प्रयोग गरेको सरल तर्क तपाईं पनि चलाउन सक्नुहुन्छ। पावलले लेखे: “हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्वर नै हुनुहुन्छ।” (हिब्रू ३:४) यस्तो तर्क व्यावहारिक र प्रभावकारी छ! हो, जटिल डिजाइनहरू बनाउन तेजिलो दिमाग चाहिन्छ। त्यसपछि यही विषयसित मिल्ने कुनै प्रकाशन चलाउन सक्नुहुन्छ। भगवान्‌लाई नमान्ने अनि क्रमविकास मान्छु भन्ने युवकसित कुरा गर्न एउटी बहिनीले अनुच्छेद ५ मा उल्लेख गरिएका दुई वटा पुस्तिका चलाइन्‌। लगभग एक हप्तापछि त्यस युवकले यसरी मानिलिए: “अबचाहिं म भगवान्‌मा विश्वास गर्छु।” त्यस युवकसित बाइबल अध्ययन सुरु भयो र पछि तिनी यहोवाका साक्षी भए।

१५, १६. बाइबलबारे अरूसित छलफल गर्नुअघि तपाईंले के गर्नुपर्छ? कस्तो लक्ष्य राखेर कुराकानी गर्नुपर्छ?

१५ बाइबलको कुरामा शङ्‌का गर्ने मानिससित कुरा गर्दा पनि यही तरिका अपनाउन सक्नुहुन्छ। पहिला तिनी वास्तवमा के विश्वास गर्छन्‌ अनि तिनलाई कस्ता विषयमा चासो छ, सो पत्ता लगाउनुहोस्। (हितो. १८:१३) तिनलाई विज्ञानसम्बन्धी कुराहरूमा चासो छ भने बाइबल कसरी विज्ञानसित मेल खान्छ भन्ने बुँदाहरू तिनलाई रोचक लाग्न सक्छ। अरू कतिपयलाई भने बाइबलका भविष्यवाणीहरू अनि इतिहास सही छ भन्ने कुरा चित्त बुझ्न सक्छ। अथवा मानिसको जीवनलाई सही बाटोमा डोऱ्याउन येशूले डाँडाको उपदेशमा दिनुभएका सल्लाहहरूबारे बताउन सक्नुहुन्छ।

१६ कहिल्यै नबिर्सनुहोस्, तपाईंको लक्ष्य भनेको आफ्नो कुरा माथि पार्नु होइन, तर उसको मन छुनु हो। त्यसैले ध्यान दिएर सुन्नुहोस्। साँचो मनसायले प्रश्न सोध्नुहोस्। खासगरि आफूभन्दा पाका व्यक्तिहरूसित नम्र हुँदै अनि आदर देखाउँदै कुरा गर्नुहोस्। यसो गर्नुभयो भने तिनीहरूले तपाईंको धारणाप्रति पनि आदर देखाउन सक्छन्‌। तपाईंको विश्वासको बलियो आधार रहेछ भनेर पनि तिनीहरूले बुझ्नेछन्‌। किनभने धेरैजसो युवायुवतीले आफूले विश्वास गर्नुको कारण के हो भनेर जाँचेका हुँदैनन्‌। यो कुरा पनि याद गर्नुहोस्, यदि कोही व्यावहारिक छैन अनि तपाईंले विश्वास गर्नुभएको कुरालाई खिल्ली उडाउन मात्र प्रश्न सोध्दै छन्‌ भने त्यस्ता व्यक्तिहरूले सोध्ने प्रश्नहरूको जवाफ दिनै पर्छ भन्ने छैन।—हितो. २६:४.

सत्यलाई आफ्नो बनाउनुहोस्

१७, १८. (क) सत्यलाई आफ्नो बनाउन तपाईं के गर्न सक्नुहुन्छ? (ख) अर्को लेखमा हामी कुन प्रश्नको जवाफ पाउनेछौं?

१७ विश्वास बलियो बनाउन बाइबलको आधारभूत ज्ञान मात्र भएर पुग्दैन। त्यसैले जमिनमुनि लुकाइराखेको धन खोजेजस्तै गहिराइसम्म पुगेर परमेश्वरको वचन खोतल्नुहोस्। (हितो. २:३-६) आफ्नो भाषामा उपलब्ध अध्ययन सामग्रीहरूको पूरापूर सदुपयोग गर्नुहोस्। जस्तै: डि भी डी-मा उपलब्ध वाचटावर लाइब्रेरी (अङ्‌ग्रेजी), प्रहरीधरहरा अनलाइन पुस्तकालय, वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) वा यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी। साथै, पूरै बाइबल पढ्‌ने लक्ष्य राख्नुहोस्। एक वर्षभित्रमा पूरै बाइबल पढिसिध्याउने कोसिस गर्न सक्नुहुन्छ। आफ्नो विश्वास बढाउन परमेश्वरको वचन पढ्‌नुजस्तो प्रभावकारी तरिका अरू छैन होला। आफ्नो युवावस्थालाई सम्झँदै एक जना परिभ्रमण निरीक्षकले यसो भने: “बाइबल परमेश्वरको वचन हो भनेर पक्का हुन मलाई मदत गरेको एउटा कुराचाहिं बाइबल पूरै पढ्‌नु थियो। त्यसरी पढ्‌दा सानो छँदादेखि मैले सुनेका बाइबलका कथाहरूको अर्थ बल्ल बुझें। त्यसपछि मेरो आध्यात्मिक जीवनले नयाँ मोड लियो।”

१८ आमाबाबु हो, आफ्ना छोराछोरीको आध्यात्मिक प्रगतिमा तपाईंहरूको महत्त्वपूर्ण भूमिका छ! तिनीहरूको विश्वास बलियो बनाउन तपाईं कसरी मदत गर्न सक्नुहुन्छ? अर्को लेखले यस प्रश्नको जवाफ दिनेछ।

^ [१] (अनुच्छेद ५) The Wonders of Creation Reveal God’s Glory, Was Life Created?, The Origin of Life—Five Questions Worth Asking; Is There a Creator Who Cares About You?