सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेम देखाइरहनुहोस्‌—यसले उन्‍नति गराउँछ

प्रेम देखाइरहनुहोस्‌—यसले उन्‍नति गराउँछ

“प्रेमले उन्‍नति गराउँछ।”—१ कोरि. ८:१.

गीत: १०९, १२१

१. येसुले आफ्नो मृत्यु हुनुअघिको अन्तिम रात चेलाहरूसित कुन महत्त्वपूर्ण विषयबारे कुरा गर्नुभयो?

पृथ्वीमा आफ्ना चेलाहरूसित बिताउनुभएको अन्तिम रात येसुले प्रेमबारे झन्डै ३० पटक कुरा गर्नुभयो। आफ्ना चेलाहरूले “आपसमा प्रेम” गर्नुपर्छ भनेर उहाँले स्पष्टसित बताउनुभयो। (युह. १५:१२, १७) तिनीहरूले एक-अर्कालाई गर्ने प्रेम संसारका मानिसहरूले गर्ने प्रेमभन्दा एकदमै फरक हुने थियो। किनभने यही प्रेमको कारण तिनीहरू येसुका साँचो चेलाहरू भनेर चिनिने थिए। (युह. १३:३४, ३५) त्यो प्रेम केवल भावनामा मात्र सीमित छैन। यहाँ येसुले सर्वोत्तम किसिमको प्रेम अर्थात्‌ आत्मत्यागी प्रेमबारे कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले यसो भन्‍नुभयो: “आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन। मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ।”—युह. १५:१३, १४.

२. (क) आज परमेश्‍वरका सेवकहरूमाझ हामी के पाउँछौँ? (ख) यस लेखमा हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

आज यहोवाका सेवकहरूबीचको साँचो र आत्मत्यागी प्रेम अनि तिनीहरूको बलियो एकताले तिनीहरू परमेश्‍वरका जन हुन्‌ भनेर स्पष्टसित देखाउँछ। (१ युह. ३:१०, ११) यहोवाका सेवकहरू जुनसुकै देश, जाति, भाषा वा पृष्ठभूमिको भए तापनि तिनीहरू एक-अर्कालाई येसुले देखाउनुभएको जस्तै प्रेम देखाउँछन्‌। कत्ति खुसीको कुरा! तर हाम्रो मनमा यस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌: अहिले एकअर्कालाई प्रेम देखाउनु किन अत्यन्तै महत्त्वपूर्ण छ? यहोवा र येसुले हामीलाई प्रेम देखाएर कसरी हाम्रो उन्‍नति गराउनुहुन्छ अर्थात्‌ हामीलाई बलियो पार्नुहुन्छ? येसुले जस्तै हामी पनि कसरी अरूको ‘उन्‍नति गराउने’ प्रेम देखाउन सक्छौँ?—१ कोरि. ८:१.

अहिले प्रेम देखाउनु किन अत्यन्तै महत्त्वपूर्ण छ?

३. अहिलेको “कठिन समय”-ले मानिसहरूलाई कस्तो असर गरेको छ?

मानिसहरूको जीवन “दुःख र पीडाले” भरिएको छ। त्यसैले यस “कठिन समय”-मा बाँचिरहेका थुप्रै मानिसहरूले अनेक किसिमका भावनात्मक चोटहरू सहिरहेका छन्‌। (भज. ९०:१०; २ तिमो. ३:१-५) जीवनदेखि हार खाने मानिसहरू असङ्‌ख्य छन्‌। तथ्याङ्‌कले देखाएअनुसार प्रत्येक वर्ष ८ लाखभन्दा धेरै मानिसहरूले आत्महत्या गर्छन्‌ अर्थात्‌ प्रत्येक ४० सेकेन्डमा एक जनाको मृत्यु हुने गर्छ। दुःखको कुरा, केही ख्रिष्टियनहरूले समेत जीवनदेखि हार खाएर आत्महत्या गरेका छन्‌।

४. मर्ने इच्छा व्यक्‍त गरेका केही बाइबल पात्रहरू को-को हुन्‌?

प्राचीन समयका परमेश्‍वरका केही वफादार सेवकहरूले पनि आफू वरपरको परिस्थिति अत्यन्तै नराम्रो भएकोले हार मानेर मर्ने इच्छा व्यक्‍त गरेका थिए। उदाहरणको लागि, पीडाले थलिएका अय्युबले यसो भने: “म आफ्नो जीवनदेखि वाक्क भइसकेँ, अब म बाँच्न चाहन्‍नँ।” (अय्यु. ७:१६; १४:१३) योनाले परमेश्‍वरबाट पाएको जिम्मेवारी पूरा गरेपछि नतिजा आफूले सोचेजस्तो नहुँदा तिनी यति निराश भए कि तिनले यसो भने: “हे यहोवा, बिन्ती छ, मेरो ज्यान लिनुहोस्‌ किनकि म बाँच्नुभन्दा त मर्नु नै बेस हो।” (योना ४:३) वफादार भविष्यवक्‍ता एलिया आफ्नो अवस्था देखेर कुनै समय अत्यन्तै निराश भए र मर्न पाए हुन्थ्यो भने। तिनले परमेश्‍वरलाई यस्तो बिन्ती गरे: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्‌।” (१ राजा १९:४) तर यहोवाले ती वफादार सेवकहरूलाई अनमोल ठान्‍नुहुन्थ्यो र तिनीहरू बाँचेको चाहनुहुन्थ्यो। तिनीहरूले मर्ने इच्छा गरेकोमा उहाँले तिनीहरूलाई हप्काउनुभएन। बरु त्यस्तो नकारात्मक भावनालाई जित्न उहाँले तिनीहरूलाईमदत गर्नुभयो र वफादार भई उहाँको सेवा गरिरहन सकून्‌ भनेर प्रेम देखाउनुभयो अनि बलियो पार्नुभयो।

५. हाम्रा भाइबहिनीहरूलाई किन खासगरि अहिले हाम्रो प्रेमको खाँचो छ?

हुनत हाम्रा दाजुभाइ दिदीबहिनीले जीवनदेखि हार खाएका छैनन्‌ होला, तैपनि तिनीहरूमध्ये धेरैले निकै तनावपूर्ण परिस्थितिहरूको सामना गरिरहनुपरेको छ। अनि तिनीहरूलाई बलियो बनाउन प्रेमको खाँचो छ। केहीले सतावट र गिल्लाको सामना गर्नुपरेको छ। अरू केहीलाई भने काम गर्ने ठाउँमा मानिसहरूले आलोचना गर्ने वा तिनीहरूको कुरा काट्‌ने गर्छन्‌। अथवा ओभरटाइम गर्नुपरेकोले वा कामको साह्रै चापाचाप भएकोले कोही-कोही लखतरान भएका छन्‌। अरू केही भने घरायसी समस्याहरूले गर्दा आजित भएका छन्‌। सायद बेग्लै धर्म मान्‍ने जीवनसाथीबाट तिनीहरूले निकै विरोधको सामना गरिरहनुपरेको छ। यी र अन्य गाह्रा परिस्थितिले गर्दा मण्डलीका थुप्रै भाइबहिनीहरू शारीरिक र भावनात्मक रूपमा लखतरान भएका छन्‌। यसरी निरुत्साहित भएकाहरूलाई हार नमानी अघि बढिरहन कसले मदत गर्न सक्छ?

यहोवाको प्रेमले हामीलाई बलियो बनाउँछ

६. यहोवा आफ्ना सेवकहरूलाई प्रेम देखाएर कसरी बलियो पार्नुहुन्छ?

यहोवा आफ्ना उपासकहरूलाई सधैँ प्रेम गरिरहने आश्‍वासन दिएर तिनीहरूलाई बलियो बनाउनुहुन्छ। विश्‍वासी इस्राएलीहरूले यहोवाका यी शब्दहरू सुन्दा कति धेरै प्रोत्साहन पाए होलान्‌: .“मेरो नजरमा तिमी अनमोल छौ, तिमी आदर गर्न लायकको छौ, म तिमीलाई माया गर्छु। . . . नडराऊ किनकि म तिमीसित छु।” (यसै. ४३:४, ५) तपाईँ यहोवाको सेवक हुनुभएकोले यहोवा तपाईँलाई असाध्यै माया गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। * शुद्ध उपासना गर्न प्रयत्न गरिरहेकाहरूलाई परमेश्‍वरको वचनमा यस्तो प्रतिज्ञा गरिएको छ: “शक्‍तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ। तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।”—सप. ३:१६, १७.

७. यहोवाले देखाउनुहुने मायालाई कुन अर्थमा एउटी आमाले दूधे बालकलाई देखाउने मायासित तुलना गर्न सकिन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

आफ्ना जनहरूले जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि यहोवाले तिनीहरूलाई सम्हाल्ने र सान्त्वना दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँ यसो भन्‍नुहुन्छ: “तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछ अनि काखमा खेलाइनेछ। आमाले छोरालाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिइरहनेछु।” (यसै. ६६:१२, १३) कस्तो मर्मस्पर्शी दृश्‍य—मायालु आमाले बच्चालाई कम्मरमा बोकिरहेको वा काखमा खेलाइरहेको! आफ्ना साँचो उपासकहरूप्रति उहाँको प्रेम र कोमलताबारे यहोवाले यसरी मन छुने दृष्टान्तद्वारा बताउनुभएको छ। तपाईँ यहोवाको लागि असाध्यै बहुमूल्य र प्यारो हुनुहुन्छ भन्‍ने कुरामा कहिल्यै शङ्‌का नगर्नुहोस्‌।—यर्मि. ३१:३.

८, ९. येसुको प्रेमले हामीलाई कसरी बलियो बनाउन सक्छ?

साँचो ख्रिष्टियनहरू परमेश्‍वरको प्रेमतर्फ आकर्षित हुनुको अर्को कारण पनि छ। “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युह. ३:१६) हाम्रो लागि आफ्नो जीवन दिनुभएर येसुले पनि कत्ति धेरै प्रेम देखाउनुभयो! येसुको त्यो प्रेमले हामीलाई अघि बढिरहन ठूलो उत्प्रेरणा दिन्छ! “सङ्‌कष्टले” वा “वेदनाले” समेत “ख्रिष्टको प्रेमबाट हामीलाई . . . अलग पार्न” सक्दैन।—रोमी ८:३५, ३८, ३९.

हामीले शारीरिक, भावनात्मक वा आध्यात्मिक रूपमा थकित तुल्याउने परीक्षाहरूको सामना गर्नुपर्दा येसुले देखाउनुभएको महान्‌ प्रेमले हामीलाई ती सहने बल दिन्छ। (२ कोरिन्थी ५:१४, १५ पढ्‌नुहोस्‌) येसुको प्रेममा हामीलाई अघि बढिरहन र हार नमान्‍न उत्प्रेरणा दिन सक्ने तागत छ। विपत्ति, सतावट, आफूलाई निराश बनाउने कुराहरू वा भोक-निद्रा नै हराउने किसिमको चिन्ताको सामना गर्नुपर्दा समेत येसुको प्रेमले हामीलाई सम्हाल्छ र अघि बढिरहने बल दिन्छ।

भाइबहिनीहरूलाई हाम्रो प्रेमको खाँचो छ

येसुको उदाहरणबारे अध्ययन गर्दा तपाईँ अरूलाई प्रेम देखाउन उत्प्रेरित हुनुहुनेछ (अनुच्छेद १०, ११ हेर्नुहोस्‌)

१०, ११. निराश भएका भाइबहिनीलाई बलियो पार्ने जिम्मेवारी कसको हो? व्याख्या गर्नुहोस्‌।

१० यहोवाले हामीलाई प्रेम देखाएर बलियो पार्नुहुने एउटा माध्यम ख्रिष्टियन मण्डली हो। आफ्ना ख्रिष्टियन भाइबहिनीहरूलाई प्रेम गरेर अनि तिनीहरूलाई आध्यात्मिक तवरमा मात्र होइन, भावनात्मक तवरमा पनि बलियो बनाएर हामी प्रत्येकले यहोवाको प्रेम झल्काउन सक्छौँ। (१ युह. ४:१९-२१) प्रेषित पावलले ख्रिष्टियनहरूलाई यस्तो आग्रह गरे: “एकअर्कालाई प्रोत्साहन दिइरहो अनि एकअर्काको उत्थान गरिरहो; भनौँ भने तिमीहरूले त्यसै गरिरहेका पनि छौ।” (१ थिस्स. ५:११) हो, भाइबहिनीहरूलाई सान्त्वना दिने र तिनीहरूलाई बलियो पार्ने सन्दर्भमा मण्डलीका एल्डरहरूले मात्र होइन, सबैले नै यहोवा र येसुको अनुकरण गर्न सक्छन्‌।रोमी १५:१, २ पढ्‌नुहोस्‌।

११ भावनात्मक सन्तुलन गुमाएका केही भाइबहिनीले डाक्टरको परामर्श लिनुपर्ने र औषधी सेवन गर्नुपर्ने हुन सक्छ। (लुका ५:३१) त्यस्तो अवस्थामा आफू मानसिक उपचार गर्ने तालिमप्राप्त स्वास्थ्यकर्मी होइनँ भन्‍ने कुरा मण्डलीका एल्डरहरू र अरूले नम्र हुँदै स्विकार्छन्‌। तैपनि ‘जो निराश छन्‌, तिनीहरूसित सान्त्वनादायी कुरा गरेर, जो कमजोर छन्‌, तिनीहरूलाई मदत गरेर अनि सबैसित धीरजी भएर’ एल्डरहरू र अरूले ठूलो भूमिका खेल्छन्‌। (१ थिस्स. ५:१४) निराश भएकाहरूलाई बलियो पार्न सबै ख्रिष्टियनले तिनीहरूलाई माया र समानुभूति देखाउनुपर्छ अनि तिनीहरूप्रति धीरजी हुनुपर्छ। के तपाईँ अरूको लागि सान्त्वना र प्रोत्साहनको स्रोत हुनुहुन्छ? तपाईँ कसरी अझ प्रभावकारी ढङ्‌गमा अरूलाई सान्त्वना र प्रोत्साहन दिन सक्नुहुन्छ?

१२. मण्डलीको मायाले गर्दा बलियो हुन मदत पाएकी एउटी बहिनीको अनुभव बताउनुहोस्‌।

१२ भावनात्मक उथलपुथलले गर्दा पीडा भोगिरहेकाहरूलाई हाम्रो प्रेमले कसरी बलियो बनाउन सक्छ? युरोपकी एक ख्रिष्टियन बहिनी भन्छिन्‌, “कहिलेकाहीँ मेरो मनमा आत्महत्या गर्ने विचार आउँछ। तर मलाई सम्हाल्ने व्यक्‍तिहरू थुप्रै हुनुहुन्छ। मैले सङ्‌गत गर्ने मण्डलीको मदतले गर्दा नै म अहिलेसम्म जीवित छु। त्यहाँका भाइबहिनीहरू मलाई सधैँ प्रोत्साहन दिनुहुन्छ र माया देखाउनुहुन्छ। हुनत मलाई डिप्रेसन छ भनेर कोही-कोहीलाई मात्रै थाह छ, तैपनि मण्डलीका सबै भाइबहिनी सधैँ मेरो साथमा हुनुहुन्छ। एउटा दम्पती मेरो आध्यात्मिक आमाबुबाजस्तै हुनुभएको छ। उहाँहरू मेरो असाध्यै ख्याल राख्नुहुन्छ। भन्‍ने हो भने, उहाँहरू चौबीसै घण्टा मलाई मदत गर्न तयार हुनुहुन्छ।” हुनत हामी सबै जना यो हदसम्म मदत गर्न सक्ने अवस्थामा छैनौँ होला तर भावनात्मक पीडा भोगिरहेकाहरूलाई हामी साँच्चै नै उनीहरूको साथमा छौँ भनेर देखाउँदा उनीहरूले ठूलो मदत पाउँछन्‌। *

अरूलाई प्रेम देखाएर कसरी बलियो बनाउन सक्छौँ?

१३. अरूलाई बलियो बनाउन चाहन्छौँ भने के गर्नै पर्छ?

१३ ध्यान दिएर सुन्‍नुहोस्‌। (याकु. १:१९) अरूको भावना बुझेर सुन्‍नु भनेको तिनीप्रति प्रेम देखाउनु हो। निराश व्यक्‍तिको भावना बुझ्ने प्रयास गर्दै तिनको चित्त नदुख्ने किसिमका प्रश्‍नहरू सोध्न सक्नुहुन्छ। त्यसो गर्नुभयो भने तिनको भावना बुझेर प्रेम देखाउन अनि तिनलाई बलियो बनाउन सक्नुहुन्छ। तपाईँको अनुहारको हावभावमा निष्कपट र मायालु चासो देखियोस्‌। यदि ती निराश भएका व्यक्‍तिले आफ्नो कुरा लम्बेतान बताउँछन्‌ भने पनि धीरजी हुनुहोस्‌ अनि तिनको कुरा बीचैमा नकाट्‌नुहोस्‌। धीरजी भई तिनको कुरा सुन्‍नुभयो भने तिनको मनमा के-कस्ता भावनाहरू खेलिरहेका छन्‌ भनेर अझ राम्ररी बुझ्नुहुनेछ। यसले गर्दा ती भाइ वा बहिनीले ढुक्क भएर तपाईँलाई आफ्नो कुरा बताउन सक्नेछन्‌। साथै तिनलाई बलियो पार्ने प्रयास गर्नुहुँदा तिनले तपाईँको कुरा अझ ध्यान दिएर सुन्‍नेछन्‌। तपाईँले साँच्चै तिनको ख्याल राखेको देखाउनुभयो भने तपाईँको मायालु चासोबाट तिनले सान्त्वना पाउनेछन्‌।

१४. हामी किन अरूको आलोचना गर्न चाहँदैनौँ?

१४ आलोचना नगर्नुहोस्‌। निराश व्यक्‍तिलाई हामी तिनको आलोचना गर्दै छौँ जस्तो लाग्यो भने तिनको पीडा झनै बढ्‌न सक्छ। अनि तिनलाई प्रेम देखाएर बलियो बनाउन हामीले गरेको सबै प्रयास खेर जानेछ। “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ तर बुद्धिमान्‌ मानिसको बोलीले निको पार्छ।” (हितो. १२:१८) हुनत हामी निराश भएका व्यक्‍तिहरूलाई चित्त दुख्ने शब्दहरू बोलेर तिनीहरूलाई जानाजानी ‘घोच्ने’ काम गर्दैनौँ। यदि कसैलाई अनजानमै ‘घोच्यौँ’ भने पनि त्यसले पुऱ्‍याउने चोट असाध्यै पीडादायी हुन्छ। अरूलाई प्रोत्साहन दिँदै प्रेम देखाएर बलियो बनाउन हामीले तिनीहरूको भावना बुझ्नुपर्छ; आफूलाई तिनीहरूको ठाउँमा राखेर हेर्न सक्दो प्रयास गर्नुपर्छ।—मत्ति ७:१२.

१५. अरूलाई प्रेम देखाएर बलियो बनाउन हामीले प्रयोग गर्न सक्ने मुख्य साधन के हो?

१५ परमेश्‍वरको वचन प्रयोग गरेर अरूलाई ढाडस दिनुहोस्‌। (रोमी १५:४, ५ पढ्‌नुहोस्‌) पवित्र धर्मशास्त्र एउटा यस्तो खजाना हो, जसबाट हामी प्रचुर मात्रामा सान्त्वना र ढाडस पाउन सक्छौँ। बाइबल “सहनशीलता र सान्त्वना दिनुहुने परमेश्‍वर”-को किताब हो। यसमा हामी थुप्रै सान्त्वनादायी शास्त्रपदहरू पाउँछौँ। त्यसको अलावा हामीसित बाइबल अध्ययन सहायकहरूको पनि छेलोखेलो छ। हामी वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) र यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी प्रयोग गर्न सक्छौँ। यी प्रकाशनहरूले हामीलाई विभिन्‍न किसिमका समस्याहरूसित जुझ्न उपयोगी शास्त्रपद तथा प्रकाशनहरू भेट्टाउन मदत गर्छन्‌। निराश भएका व्यक्‍तिहरूलाई मदत गर्न यी प्रकाशनहरू प्रयोग गऱ्‍यौँ भने हाम्रो मायालु प्रयास झनै प्रभावकारी हुनेछ।

१६. निराश भएका भाइबहिनीलाई प्रोत्साहन दिन हामीसित कस्ता गुणहरू हुनुपर्छ?

१६ कोमल स्नेह देखाउनुहोस्‌ र कोमल व्यवहार गर्नुहोस्‌। यी गुणहरू अरूलाई प्रोत्साहन दिन र बलियो बनाउन हामीले देखाउने नि:स्वार्थ प्रेमको अनमोल पक्ष हुन्‌। यहोवा “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ” अनि आफ्ना सेवकहरूलाई उहाँ “कोमल करुणा” देखाउनुहुन्छ। (२ कोरिन्थी १:३-६ पढ्‌नुहोस्‌; लुका १:७८; रोमी १५:१३) पावलले यस सन्दर्भमा राम्रो उदाहरण बसाले। तिनले यस्तो लेखे: “जसरी दूध खुवाउने आमाले आफ्नो नवजात शिशुको स्याहारसुसार गर्छिन्‌, त्यसरी नै हामीले पनि तिमीहरूसित कोमल व्यवहार गऱ्‍यौँ। तिमीहरूको निम्ति हामी यत्ति धेरै कोमल स्नेहले भरिएका थियौँ कि तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार थियौँ किनकि तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका थियौ।” (१ थिस्स. २:७, ८) परमेश्‍वरले जस्तै कोमल व्यवहार देखायौँ भने निराश व्यक्‍तिले गरेको प्रार्थनाको जवाफ दिन परमेश्‍वरले हामीलाई चलाउन सक्नुहुन्छ।

१७. भाइबहिनीलाई प्रेम देखाएर बलियो बनाउन हामीले तिनीहरूप्रति कस्तो सन्तुलित दृष्टिकोण राख्नुपर्छ?

१७ भाइबहिनीहरूबाट बढ्‌तै माग नगर्नुहोस्‌। आफ्ना भाइबहिनीहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌। भाइबहिनीबाट कुनै गल्ती नै हुँदैन भनेर आशा गर्नु व्यावहारिक होइन; त्यस्तो आशा गर्ने व्यक्‍ति निराश हुनेछ। (उप. ७:२१, २२) यहोवा आफ्ना सेवकहरूबाट व्यावहारिक माग मात्र गर्नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। यहोवाको अनुकरण गरेका छौँ भने हामी अरूको कमी-कमजोरी सहन तयार हुनेछौँ। (एफि. ४:२, ३२) अरूलाई ‘यसो गर्न पुगेन’, ‘उसो गर्न पुगेन’ भन्‍नुको सट्टा तिनीहरूले जे-जति गरिरहेका छन्‌, त्यसको लागि तिनीहरूको प्रशंसा गर्ने कोसिस गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तिनीहरूले प्रोत्साहन पाउनेछन्‌। मनैदेखि अरूको प्रशंसा गर्दा हामीले तिनीहरूलाई प्रेम देखाएर बलियो बनाइरहेका हुन्छौँ। साथै आफूले चढाएको पवित्र सेवामा “रमाउने कारण” पनि तिनीहरूले पाउनेछन्‌। भाइबहिनीको कामलाई अरूसित तुलना गरेर तिनीहरूलाई निराश तुल्याउनुको साटो तिनीहरूले जे-जति गरिरहेका छन्‌ त्यसको प्रशंसा गर्नु साँच्चै राम्रो कुरा हो!—गला. ६:४.

१८. प्रेम देखाएर अरूलाई बलियो बनाउनुपर्ने कस्तो कारण हामीसित छ?

१८ यहोवा आफ्ना प्रत्येक भेडा लाई अत्यन्तै अनमोल ठान्‍नुहुन्छ। अनि तिनीहरूको लागि फिरौतीको बलिदान दिनुहुने येसु पनि तिनीहरूलाई उत्तिकै अनमोल ठान्‍नुहुन्छ। (गला. २:२०) हामी आफ्ना भाइबहिनीलाई एकदमै माया गर्छौँ। अनि तिनीहरूसित कोमल र मायालु व्यवहार गरेर तिनीहरूको ख्याल राख्न चाहन्छौँ। अरूलाई स्फूर्ति दिन “आपसमा शान्ति कायम हुने अनि एकअर्काको उत्थान हुने कुराहरूको पछि लागौँ।” (रोमी १४:१९) हामी सबै नयाँ संसारको उत्कट प्रतीक्षा गरिरहेका छौँ। त्यतिबेला हामीले हरेस खानुपर्ने कुनै कारण हुनेछैन! रोगबिमार, युद्ध, जन्मजात पापले ल्याउने मृत्यु, सतावट, घरायसी समस्या अनि हामीलाई निराश बनाउने कुनै कुरा हुनेछैन। येसुको एक हजार वर्षको शासनको अन्तमा मानिसजाति त्रुटिरहित अवस्थामा पुग्नेछ। अन्तिम जाँच हुँदा वफादार साबित हुनेहरूलाई परमेश्‍वरले आफ्ना पार्थिव छोराछोरीको रूपमा स्विकार्नुहुनेछ र तिनीहरूले “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउनेछन्‌। (रोमी ८:२१) त्यतिन्जेल हामी सबैले एक अर्कालाई प्रेम देखाएर बलियो बनाइरहौँ अनि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको उत्तम जीवन पाउने लक्ष्यसम्म पुग्न मदत गरिरहौँ।

^ अनु. 6 यहोवासित नजिक हुनुहोस्‌ (अङ्‌ग्रेजी) किताबको अध्याय २४ हेर्नुहोस्‌।

^ अनु. 12 आत्महत्या गर्ने सोचाइविरुद्ध लड्‌न मदत गर्ने व्यावहारिक सल्लाहहरूको लागि ब्यूँझनुहोस्‌ पत्रिकामा छापिएका यी लेखहरू हेर्नुहोस्‌: “हार नमान्‍नुहोस्‌!—जिउने कारण छ” (जुलाई-सेप्टेम्बर २०१४); “आत्महत्या गरूँ जस्तो लाग्दा” (जनवरी २०१२, अङ्‌ग्रेजी); “जीवन बाँच्न लायकको छ” (नोभेम्बर ८, २००१)।