सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कति बज्यो?

कति बज्यो?

अहिले कति बज्यो भनेर थाह पाउन तपाईँ के गर्नुहुन्छ? तपाईँ घडी हेर्नुहुन्छ होला। तपाईँको साथीले कति बज्यो भनेर सोध्यो भने तपाईँ के भन्‍नुहुन्छ? यसको जवाफ विभिन्‍न तरिकामा दिन सकिन्छ।

मानौँ अहिले दिउँसो एक बजेर ३० मिनेट गयो। तपाईँ १:३० भयो वा साढे एक भयो भनेर जवाफ दिनुहुन्छ होला। अथवा तपाईँ बस्ने ठाउँ र त्यहाँको चलनअनुसार १३:३० भयो भन्‍नुहोला। समय बताउने यो तरिकाचाहिँ २४ घण्टे प्रणालीमा आधारित छ। कुनै-कुनै ठाउँमा एक बजेर ३० मिनेट गएको समयलाई दुई बज्न आधा घण्टा बाँकी छ पनि भन्‍ने गरिन्छ।

तपाईँ बाइबल पढ्‌ने व्यक्‍ति भएकोले बाइबलकालीन समयका मानिसहरूले कसरी समय बताउँथे जस्तो तपाईँलाई लाग्छ होला। त्यतिबेला समय बताउने थुप्रै तरिका थियो। बाइबलका हिब्रू किताबहरूमा समयलाई बुझाउन “बिहान,” “दिउँसो,” “मध्यदिन” र “साँझ” शब्द प्रयोग गरिएको छ। (उत्प. ८:११; १९:२७; ४३:१६; व्यव. २८:२९; १ राजा १८:२६) तर कुनै-कुनै घटनामा भने अझ तोकेरै समय बताइएको छ।

येसुको जन्म हुनुभन्दा शताब्दीयौँअघि इस्राएलीहरूले रातलाई तीन वटा भागमा विभाजन गरेका थिए, जसलाई प्रहर भनिन्थ्यो। (भज. ६३:६) न्यायकर्ता ७:१९ मा “मध्यरात” अर्थात्‌ रातको दोस्रो प्रहरबारे उल्लेख गरिएको छ। येसुको समयसम्म आइपुग्दा यहुदीहरूले रातलाई चार प्रहरमा विभाजन गर्ने ग्रीक र रोमी प्रणाली अपनाइसकेका थिए।

सुसमाचारका पुस्तकहरूमा रातको प्रहरबारे थुप्रै पटक उल्लेख गरिएको छ। उदाहरणको लागि, येसु पानीमाथि हिँड्‌दै आफ्ना चेलाहरू भएको डुङ्‌गातिर जानुहुँदा “रातको चौथो प्रहर” भएको थियो। (मत्ति १४:२५) येसुले एउटा दृष्टान्तमा यसो भन्‍नुभयो: “यदि घरमालिकलाई चोर कुन प्रहरमा आउँदै छ भनेर थाह भएको भए ऊ जागै बस्नेथियो र त्यसलाई आफ्नो घर फोर्न दिने थिएन।”—मत्ति २४:४३.

येसुले आफ्ना चेलाहरूलाई चारै वटा प्रहरबारे उल्लेख गर्दै यसो भन्‍नुभयो: “त्यसकारण जागा रहो किनकि घरमालिक साँझमा वा मध्यरातमा वा भाले बास्ने बेलामा वा बिहान, कुन बेला आउँछ, तिमीहरूलाई थाह छैन।” (मर्कु. १३:३५; फुटनोट) पहिलो प्रहर अर्थात्‌ “साँझ” भनेको सूर्यास्तदेखि बेलुकी नौ बजेसम्मको समय थियो। दोस्रो प्रहर अर्थात्‌ “मध्यरात” भनेको बेलुकी नौ बजेदेखि मध्यरातसम्मको समय थियो। तेस्रो प्रहर अर्थात्‌ “भाले बास्ने बेला” वा “मिरमिरे उज्यालो हुनुअघि” भनेको मध्यरातदेखि बिहान तीन बजेसम्मको समय थियो। येसुलाई पक्रेर हिरासतमा लगिएको रात यही प्रहरमा भाले बासेको हुनुपर्छ। (मर्कु. १४:७२) चौथो प्रहर अर्थात्‌ “बिहान” भनेको बिहान तीन बजेदेखि सूर्योदयसम्मको समय थियो।

हुनत बाइबलकालीन समयमा घडीजस्ता समय बताउने उपकरणहरू थिएनन्‌ तर दिउँसो अथवा रातको कुन समय हो भनेर बताउने प्रणालीचाहिँ थियो।