यहोवाको अनुकरण गर्दै विचारशील र दयालु हुनुहोस्
“आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ।”—भज. ४१:१.
१. परमेश्वरका जनहरू एकअर्कालाई प्रेम गरेको कुरा कसरी देखाउँछन्?
परमेश्वरका जनहरू आध्यात्मिक परिवारको भाग हुन्। तिनीहरूको चिनारी प्रेम हो। (१ युह. ४:१६, २१) तिनीहरू एकअर्काको लागि आकलझुकल ठूलठूला काम वा त्यागहरू गरेर होइन बरु अनगिन्ती ससाना कामहरू गरेर अक्सर त्यस्तो प्रेम देखाउँछन्। जस्तै, अरूको अवस्था विचार गर्दै बोलेर अनि दयालु भई मदत गरेर। अरूप्रति दयालु अनि विचारशील हुँदा हामी “परमेश्वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्नेहरू” भइरहेका हुन्छौँ।—एफि. ५:१.
२. येसुले कसरी परमेश्वरले जस्तै प्रेम देखाउनुभयो?
२ येसुले आफ्नो बुबाको दुरुस्त अनुकरण गर्नुभयो। येसुले यसो भन्नुभयो: “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। . . . किनकि म कोमल स्वभावको र नम्र हृदयको छु।” (मत्ति ११:२८, २९) हामीले येसुको अनुकरण गर्दै ‘दीनदुःखीहरूको ख्याल राख्यौँ’ भने स्वर्गमा हुनुहुने बुबाको अनुमोदन र अपार आनन्द पाउनेछौँ। (भज. ४१:१) त्यसोभए हामी कसरी परिवारमा, मण्डलीमा अनि प्रचारकार्यमा अरूप्रति विचारशील हुन सक्छौँ, हेरौँ।
परिवारका सदस्यहरूप्रति विचारशील हुनुहोस्
३. पति विचारशील हुने हो भने तिनले पत्नीको अवस्था बुझेको हुनै पर्छ, किन? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
३ परिवारका सदस्यहरूप्रति विचारशील हुने सन्दर्भमा पतिले उदाहरण बसाल्नु आवश्यक छ। (एफि. ५:२५; ६:४) उदाहरणको लागि, पतिहरूलाई “पत्नीको मनको कुरा राम्ररी बुझेर” तिनीहरूसित जीवन बिताउन सल्लाह दिइएको छ। यस अभिव्यक्तिलाई यसरी पनि अनुवाद गर्न सकिन्छ: “पत्नीको अवस्था बुझेर।” (१ पत्रु. ३:७; फुटनोट) विचारशील हुन अरूको अवस्था बुझेको हुनै पर्छ। जस्तै, आफ्नी पत्नीको अवस्था बुझ्ने पतिले तिनी आफ्नो सहयोगी हुन् र तिनी विभिन्न तरिकामा आफूभन्दा फरक छिन् तर कुनै पनि हालतमा आफूभन्दा तुच्छ छैनन् भन्ने कुरा बुझेका हुन्छन्। (उत्प. २:१८) त्यस्तो पतिले आफ्नी पत्नीको कुरा बुझेर तिनको भावनाको कदर गर्छन् र तिनीसित मर्यादित ढङ्गले अनि आदरपूर्वक व्यवहार गर्छन्। क्यानाडामा बस्ने एउटी बहिनीले आफ्नो पतिबारे यसो भनिन्: “उहाँले कहिल्यै मेरो भावनालाई बेवास्ता गर्नुहुन्न अनि कहिल्यै पनि यसो भन्नुहुन्न, ‘बेकारमा तिमीलाई त्यस्तो लागिरहेको छ।’ साथै, उहाँ मेरो कुरा ध्यान दिएर सुन्नुहुन्छ। कुनै विषयबारे मेरो दृष्टिकोण सच्याउनुपर्दा पनि उहाँ दयालु हुँदै सच्याउनुहुन्छ।”
४. अरू स्त्रीहरूसित व्यवहार गर्दा आफ्नी पत्नीप्रति विचारशील भएको कुरा पतिले कसरी देखाउन सक्छन्?
४ पत्नीको अवस्था विचार गर्ने पतिले आफू अरू स्त्रीहरूसित व्यवहार गर्दा पत्नीलाई कस्तो लाग्छ भन्ने कुराको पनि ख्याल राख्छन्। तिनी कहिल्यै पनि अरू स्त्रीहरूसित जिस्किने वा तिनीहरूलाई अनुचित चासो देखाउने गर्दैनन्। कुनै सामाजिक सञ्जाल वा इन्टरनेट वेबसाइट चलाउँदा पनि तिनी त्यस्तो अनुचित चासो देखाउँदैनन्। (अय्यु. ३१:१) हो, तिनी आफ्नी पत्नीप्रति वफादार रहन्छन्। पत्नीलाई प्रेम गरेकोले मात्र होइन, परमेश्वरलाई प्रेम गरेकोले अनि खराब कुरालाई घृणा गरेकोले पनि तिनी पत्नीप्रति वफादार रहन्छन्।—भजन १९:१४; ९७:१० पढ्नुहोस्।
५. पत्नी कसरी आफ्नो पतिप्रति विचारशील हुन सक्छिन्?
५ पतिले आफ्नो शिर अर्थात् येसु ख्रिष्टको अनुकरण गर्दा पत्नीलाई तिनीप्रति “गहिरो आदर” विकास गर्न सजिलो लाग्नेछ। (एफि. ५:२२-२५, ३३) अर्कोतर्फ, पति ईश्वरतान्त्रिक जिम्मेवारीको कारण व्यस्त हुँदा वा कुनै समस्याको कारण तनावमा हुँदा पतिप्रतिको आदरले गर्दा नै पत्नी विचारशील हुन उत्प्रेरित हुनेछिन्। बेलायतमा बस्ने एक जना भाइ यसो भन्छन्: “कहिलेकाहीँ मेरो हावभावमा परिवर्तन आउँदा मलाई केही कुराले चिन्तित बनाइरहेको छ भनेर मेरी पत्नीले बुझ्छिन्। अनि तिनी हितोपदेश २०:५ को सिद्धान्त लागू गर्छिन्। यदि कुराकानी गर्न मिल्ने विषय हो भने मेरो मनको विचार ‘तानेर निकाल्न’ सही समय कुर्न समेत उनी तयार हुन्छिन्।”
६. केटाकेटीहरूलाई विचारशील हुन हामी सबैले कसरी मदत गर्न सक्छौँ? त्यसो गर्दा केटाकेटीलाई कस्तो फाइदा हुन्छ?
६ आमाबुबा एकअर्काप्रति विचारशील हुँदा तिनीहरूले आफ्ना छोराछोरीको लागि राम्रो उदाहरण बसालिरहेका हुन्छन्। छोराछोरीलाई अरूप्रति विचारशील हुन सिकाउने मुख्य जिम्मेवारी आमाबुबाको नै हो। उदाहरणको लागि, आमाबुबाले आफ्ना छोराछोरीलाई राज्यभवनमा यताउता दौडिनु हुँदैन भनेर सिकाउन सक्छन्। कुनै जमघटमा खाना खान लाइन बस्दा आफूभन्दा ठूलोलाई पहिला जान दिनुपर्छ भनेर पनि तिनीहरूले छोराछोरीलाई सिकाउन सक्छन्। हो, छोराछोरीलाई सिकाउने सन्दर्भमा मण्डलीका सबैले आमाबुबालाई मदत गर्न सक्छन्। जस्तै, केटाकेटीले अरूको लागि ढोका खोलिदिने जस्ता दयालु कामहरू गर्दा हामीले तिनीहरूको प्रशंसा गर्नुपर्छ। त्यसो गर्दा केटाकेटीमा राम्रो प्रभाव पर्छ र “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ” भन्ने कुरा तिनीहरूको मनमा ठप्प बस्छ।—प्रेषि. २०:३५.
मण्डलीमा “आपसमा गहिरो चासो” राख्नुहोस्
७. येसु बहिरो मानिसप्रति कसरी विचारशील हुनुभयो? येसुको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
७ एक पटक येसु डेकापोलिसको इलाकामा हुनुहुँदा मानिसहरूले “उहाँकहाँ एक जना बहिरो अनि भकभके मानिस ल्याए।” (मर्कु. ७:३१-३५) त्यस मानिसलाई सबैको अगाडि निको पार्नुको साटो येसुले “उसलाई भीडबाट पर” लगेर निको पार्नुभयो। किन? त्यस मानिसलाई आफू अशक्त भएकोले भीडको अगाडि पर्दा अप्ठेरो लागेको हुन सक्थ्यो। सायद यही कुरा विचार गरेर येसुले उसलाई एकान्त ठाउँमा लैजानुभयो। हुनत हामी चमत्कार गरेर कसैलाई निको पार्न सक्दैनौँ। तर हामी आफ्ना सङ्गी उपासकहरूको अवस्थाबारे सोच्न र तिनीहरूको भावना र आवश्यकताको कदर गर्न पक्कै सक्छौँ। अनि हामीले त्यसो गर्नु पनि पर्छ। प्रेषित पावलले यस्तो लेखे: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ।” (हिब्रू १०:२४) त्यस बहिरो मानिसलाई कस्तो महसुस भइरहेको थियो भनेर येसुले बुझ्नुभयो अनि ऊसित दयालु व्यवहार गर्नुभयो। हाम्रो लागि कत्ति राम्रो उदाहरण!
८, ९. वृद्ध र कमजोरहरूप्रति विचारशील भएको कुरा हामी कसरी देखाउन सक्छौँ? (उदाहरणहरू दिनुहोस्)
८ वृद्ध र कमजोरहरूप्रति विचारशील हुनुहोस्। ख्रिष्टियन मण्डलीको चिनारी ख्रिष्टियनहरूबीचको प्रेम हो, थोरै समयमा धेरै कुरा गर्न सक्नु तिनीहरूको चिनारी होइन। (युह. १३:३४, ३५) त्यही प्रेमले उत्प्रेरित भएर हामी वृद्ध र अशक्तहरूलाई सभामा उपस्थित हुन र सुसमाचार सुनाउन मदत गर्छौँ, चाहे त्यसो गर्दा हामीलाई केही असुविधा नै किन नहोस्। तिनीहरूले गर्न सक्ने कुरा सीमित छ भने पनि हामी तिनीहरूलाई मदत गर्न अघि सर्छौँ। (मत्ति १३:२३) माइकल व्हिलचेयरको मदतबिना यताउता गर्न सक्दैनन्। तिनी आफ्नो परिवार र क्षेत्र सेवा समूहका भाइबहिनीबाट पाएको मदतप्रति मनैदेखि आभारी छन्। तिनी भन्छन्, “उहाँहरूले मदत गर्नुभएकोले म धेरैजसो सभामा उपस्थित हुन सकेको छु अनि प्रचारमा पनि नियमित भाग लिन सकेको छु। मलाई सार्वजनिक साक्षीकार्य एकदमै मनपर्छ।”
९ थुप्रै बेथेलहरूमा वृद्ध र कमजोर सदस्यहरू छन्। मायालु निरीक्षकहरूले ती वफादार सेवकहरूको ख्याल राख्दै उहाँहरूको लागि भनेर चिठी लेख्ने अनि फोनद्वारा साक्षी दिने प्रबन्ध मिलाइदिनुहुन्छ। बिल नाम गरेका ८६ वर्षका भाइ दुर्गम ठाउँका मानिसहरूलाई चिठी लेख्छन्। तिनी भन्छन्: “चिठी लेखेर साक्षी दिने सुअवसर पाएकोमा हामी कृतज्ञ छौँ।” झन्डै ९० वर्ष पुगेकी नान्सी यसो भन्छिन्: “चिठी लेख्नु भनेको खाम भर्ने काम मात्र होइन। यो प्रचारको काम हो। मानिसहरूले सत्य थाह पाउनु जरुरी छ!” सन् १९२१ मा जन्मिएकी एथेल भन्छिन्: “मेरो शरीर नदुखेको दिन नै हुँदैन। कहिलेकाहीँ त लुगा लगाउन मात्र पनि मुस्किल पर्छ।” तैपनि तिनी फोनबाट साक्षी दिन पाउँदा रमाउँछिन् र तिनका केही राम्रा-राम्रा पुनःभेटहरू पनि छन्। अहिले ८५ वर्ष पुगेकी बार्बरा भन्छिन्: “मेरो स्वास्थ्य कमजोर भएकोले प्रचारमा नियमित भाग लिन एकदमै गाह्रो छ। तर म फोनबाट अरूसित कुराकानी गर्न सक्छु। यसको लागि यहोवालाई धेरै धन्यवाद छ!” वृद्धहरू यहोवाको नजरमा साँच्चै अमूल्य छन्। वृद्धहरूको एउटा समूहले एक वर्षभन्दा कम समयमा १,२२८ घण्टा प्रचार गरे, ६,२६५ वटा चिठी लेखे, २,००० भन्दा धेरै पटक फोन गरे अनि ६,३१५ वटा प्रकाशन वितरण गरे! तिनीहरूको प्रयास देखेर यहोवाको मन कत्ति खुसी भयो होला!—हितो. २७:११.
१०. हामी कसरी आफ्ना भाइबहिनीलाई सभाबाट पूरापूर लाभ उठाउन मदत गर्न सक्छौँ?
१० ख्रिष्टियन सभाहरूमा विचारशील हुनुहोस्। हामी आफ्ना भाइबहिनीहरूले सभाबाट पूरापूर लाभ उठाएको चाहन्छौँ। हामी विचारशील भयौँ भने तिनीहरूले सभाबाट अझ धेरै लाभ उठाउन सक्नेछन्। हामी कसरी विचारशील हुन सक्छौँ? एउटा तरिका भनेको समयमै सभामा उपस्थित भएर हो। त्यसो गर्दा अरूको ध्यान अनावश्यक रूपमा खलबलिन पाउँदैन। हुनत कहिलेकाहीँ अपर्झट आइपरेको कुराले गर्दा ढिलो हुन सक्छ। तर ढिलो आइपुग्ने हाम्रो बानी नै बसिसकेको छ भने चाहिँ कसरी अझ विचारशील हुन सक्छौँ भनेर सोच्नु आवश्यक छ। साथै हामीलाई सभामा निम्तो दिने यहोवा र उहाँको छोरा हुनुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। (मत्ति १८:२०) उहाँहरू साँच्चै हाम्रो गहिरो आदरको योग्य हुनुहुन्छ!
११. सभामा भाग प्रस्तुत गर्नेहरूले १ कोरिन्थी १४:४० को निर्देशन पालन गर्नु किन जरुरी छ?
११ भाइबहिनीहरूप्रति विचारशील हुनुमा यो निर्देशन लागू गर्नु पनि समावेश छ: “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्गले होस्।” (१ कोरि. १४:४०) सभामा भाग प्रस्तुत गर्ने भाइहरूले तोकिएको समयभित्र आफ्नो भाग सिद्ध्याएर यो निर्देशन पालन गर्न सक्छन्। तिनीहरूले त्यसो गर्दा आफूपछि भाग पाएको भाइप्रति मात्र होइन, पूरै मण्डलीप्रति विचारशील भइरहेका हुन्छन्। कोही-कोही भाइबहिनी लामो यात्रा गरेर घर फर्किनुपर्ने हुन सक्छ। कोही चाहिँ सार्वजनिक गाडी चढेर फर्किनुपर्ने हुन सक्छ। अनि कसै-कसैको भने घरमा बेग्लै धर्म मान्ने पति वा पत्नीले कहिले आउला भनेर तिनलाई पर्खिरहेका हुन सक्छन्।
१२. कडा मेहनत गर्ने एल्डरहरूलाई हामीले किन ‘प्रेमले ओतप्रोत भई झन् धेरै आदर’ गर्नुपर्छ? (“ नेतृत्व लिइरहेकाहरूप्रति विचारशील हुनुहोस्” भन्ने पेटी हेर्नुहोस्।)
१२ मण्डलीमा कडा मेहनत गर्ने अनि प्रचारमा जोसिलो भई नेतृत्व लिने आध्यात्मिक गोठालाहरूप्रति हामी झन् धेरै विचारशील हुनु जरुरी छ। (१ थिस्सलोनिकी ५:१२, १३ पढ्नुहोस्) एल्डरहरूले तपाईँको खातिर गरेको मेहनतको लागि तपाईँ पक्कै कृतज्ञ हुनुहुन्छ। त्यसो हो भने एल्डरहरूसित मिलेर काम गरेर अनि तिनीहरूलाई साथ दिएर आफू कृतज्ञ भएको देखाउन कहिल्यै नबिर्सनुहोस्। किनकि “परमेश्वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले [तपाईँको] हेरचाह गरिरहेका छन्।”—हिब्रू १३:७, १७.
प्रचारकार्यमा विचारशील हुनुहोस्
१३. येसुले मानिसहरूसित गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौँ?
१३ यसैयाले येसुबारे यस्तो भविष्यवाणी गरे: “तिनले फुटेको नर्कट भाँच्नेछैनन्, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्।” (यसै. ४२:३) मानिसहरूप्रतिको प्रेमले गर्दा उहाँले तिनीहरूलाई सहानुभूति देखाउनुभयो। उहाँले ती मानिसहरूको भावना बुझ्नुभयो, जो एक अर्थमा फुटेको नर्कट वा निभ्नै लागेको सलेदोजस्तै थिए। त्यसैले उहाँ तिनीहरूप्रति विचारशील, दयालु र धीरजी हुनुभयो। केटाकेटीहरूसमेत उहाँप्रति आकर्षित भए। (मर्कु. १०:१४) हुनत हामीसित येसुको जस्तो अन्तर्दृष्टि र सिकाउने क्षमता छैन। तर हामी आफ्नो इलाकाका मानिसहरूप्रति विचारशील हुन सक्छौँ अनि हामीले त्यसो गर्नु पनि पर्छ। इलाकाका मानिसहरूप्रति विचारशील हुनुमा तिनीहरूसित कसरी बोल्ने, तिनीहरूलाई कहिले भेट्ने अनि कतिबेर कुरा गर्ने भनेर विचार पुऱ्याउनु समावेश छ।
१४. मानिसहरूसित कसरी कुरा गर्दै छौँ भनेर हामीले किन विशेष ध्यान दिनुपर्छ?
मत्ति ९:३६) त्यसकारण थुप्रै मानिसहरूलाई अरूमाथि भरोसा गर्न गाह्रो लाग्छ अनि तिनीहरूसित भविष्यको कुनै आशा छैन। त्यसैले मानिसहरूप्रति हाम्रो मायालु चासो र दया झल्किनेगरि कुराकानी गर्न हामी कस्ता शब्द चलाउँछौँ अनि हाम्रो बोली कस्तो सुनिन्छ भनेर विचार गर्नु निकै महत्त्वपूर्ण छ! हुन पनि थुप्रै मानिसहरू हामीसित भएको बाइबलको ज्ञान वा हाम्रो तर्क गर्ने क्षमताले गर्दा मात्र होइन, हामीले मनैदेखि देखाएको चासो अनि विचार पुऱ्याएर गरेको व्यवहारले गर्दा हाम्रो सन्देशप्रति आकर्षित हुन्छन्।
१४ हामीले मानिसहरूसित कसरी बोल्नुपर्छ? अहिलेका भ्रष्ट र निर्दयी व्यापारी, राजनीतिज्ञ अनि धर्मगुरुहरूले गर्दा करोडौँ मानिसहरू “छाला काढिएका अनि . . . तितरबितर भएका भेडाहरूजस्ता” छन्। (१५. आफूले प्रचार गर्ने मानिसहरूप्रति विचारशील हुन हामी कस्ता व्यावहारिक तरिकाहरू अपनाउन सक्छौँ?
१५ आफूले प्रचार गर्ने मानिसहरूप्रति विचारशील हुन हामी थुप्रै व्यावहारिक तरिकाहरू अपनाउन सक्छौँ। उदाहरणको लागि, अरूलाई सिकाउने एउटा प्रभावकारी तरिका प्रश्न सोध्नु हो। हामीले प्रश्न सोध्दा हाम्रो बोली अनि शब्दमा दया र आदर झल्किनुपर्छ। एक जना अग्रगामीले आफ्नो इलाकामा बस्ने मानिसहरू खुलेर कुरा गर्न नरुचाउने अनि लजालु स्वभावका छन् भनेर याद गरे। त्यसैले मानिसहरूलाई अप्ठेरो लाग्ने खालका प्रश्नहरू नसोध्न तिनले विचार पुऱ्याए। मानिसहरूलाई जवाफ थाह नभएका प्रश्नहरू वा गलत जवाफ आउन सक्ने प्रश्नहरू तिनले सोधेनन्। जस्तै, ‘तपाईँलाई परमेश्वरको नाम थाह छ?’ अथवा ‘परमेश्वरको राज्य के हो भनेर तपाईँलाई थाह छ?’ त्यसरी सोध्नुको साटो तिनी यसो भन्थे: “परमेश्वरको व्यक्तिगत नाम छ भनेर मैले बाइबल पढेर थाह पाएँ। त्यो नाम के हो भनेर म तपाईँलाई देखाऊँ कि?” हुनत ठाउँअनुसार मानिसहरू र उनीहरूको संस्कृति फरक-फरक हुन्छ। त्यसैले हामीलाई कुनै खास नियम चाहिँदैन। तैपनि हामी सधैँ विचारशील हुनुपर्छ र आदरपूर्वक कुरा गर्नुपर्छ। त्यसको लागि हामीले आफ्नो इलाकाका मानिसहरूलाई राम्ररी चिन्नु आवश्यक छ।
१६, १७. यी सन्दर्भमा हामी कसरी विचारशील हुन सक्छौँ: (क) मानिसहरूलाई कहिले प्रचार गर्न जाने? (ख) मानिसहरूसित कतिबेर कुराकानी गर्ने?
१६ हामीले मानिसहरूलाई कहिले प्रचार गर्न जानुपर्छ? घर-घरको प्रचारमा जाँदा वास्तवमा हामी खबरै नगरी आउने पाहुनाहरूजस्ता भइरहेका हुन्छौँ। त्यसैले मानिसहरूले कुराकानी गर्न चाहने समयमा हामीले उनीहरूलाई भेट्नु एकदमै महत्त्वपूर्ण छ। (मत्ति ७:१२) उदाहरणको लागि, तपाईँको इलाकाका मानिसहरू सप्ताहन्तमा बिहान अबेरसम्म सुत्न मन पराउँछन् कि? त्यसो हो भने तपाईँ सडक साक्षी वा सार्वजनिक साक्षीमा भाग लिएर प्रचारकार्य सुरु गर्न सक्नुहुन्छ। अथवा तपाईँको कुनै पुनःभेट बिहानै उठ्छन् र कुरा गर्न इच्छुक हुन्छन् भने तिनलाई भेट्न जान सक्नुहुन्छ।
१७ हामीले मानिसहरूसित कतिबेर कुराकानी गर्नुपर्छ? धेरैजसो मानिसहरू एकदमै व्यस्त हुन्छन्। त्यसैले सुरु-सुरुमा छोटो कुराकानी गर्नु राम्रो हुन्छ। लामो समय बसिरहनुको साटो छिटै कुराकानी टुङ्ग्याउनु राम्रो हुन्छ। (१ कोरि. ९:२०-२३) हामीले मानिसहरूको परिस्थितिलाई बुझेको वा तिनीहरू व्यस्त छन् भन्ने कुरा विचार गरेको स्पष्ट देखिएको छ भने तिनीहरू हामीसित फेरि भेट्न अझ इच्छुक हुन सक्छन्। हो, हामीले प्रचारकार्यमा परमेश्वरको पवित्र शक्तिको फलका विभिन्न पक्षहरू देखाउनुपर्छ। त्यसो गऱ्यौँ भने हामी साँचो अर्थमा “परमेश्वरका सहकर्मीहरू” भइरहेका हुन्छौँ। अनि हामीलाई प्रयोग गरेर परमेश्वरले कसैलाई सत्यतर्फ खिच्न पनि सक्नुहुन्छ।—१ कोरि. ३:६, ७, ९.
१८. अरूप्रति विचारशील भयौँ भने हामीले कस्ता आशिष् पाउनेछौँ?
१८ त्यसैले परिवारमा, मण्डलीमा अनि प्रचारकार्यमा अरूप्रति विचारशील हुन सकेजति प्रयास गरौँ। यदि त्यसो गऱ्यौँ भने हामीले अहिले अनि भविष्यमा थुप्रै आशिष् पाउनेछौँ। भजन ४१:१, २ यसो भन्छ: “आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ; यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ। . . . ऊ पृथ्वीमा आनन्दित मानिस भनेर चिनिनेछ।”