सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वृद्ध ख्रिष्टियनहरू हो, यहोवा तपाईँहरूको वफादारीको मोल गर्नुहुन्छ

वृद्ध ख्रिष्टियनहरू हो, यहोवा तपाईँहरूको वफादारीको मोल गर्नुहुन्छ

संसारभरि नै एल्डरहरू परमेश्‍वरका जनहरूमाझ आफूले पाएको सेवाको सुअवसरको मोल गर्छन्‌। तिनीहरू हाम्रो लागि साँच्चै ठूलो आशिष्‌ हुन्‌! तर केही समयअघि केही छाँटकाँट गरिएको थियो। वृद्ध एल्डरहरूलाई आफूले वहन गरिरहेका केही गहन जिम्मेवारीहरू आफूभन्दा कम उमेरका एल्डरहरूलाई हस्तान्तरण गर्न आग्रह गरियो। कस्ता जिम्मेवारीहरू?

यस नयाँ प्रबन्धअनुसार ७० वर्ष पुगेपछि क्षेत्रीय निरीक्षक र विभिन्‍न स्कुलका प्रशिक्षकहरूले आफूले निर्वाह गरिरहेको जिम्मेवारी छोड्‌छन्‌। साथै ८० वर्ष पुगेपछि एल्डरहरूले आफ्ना विभिन्‍न जिम्मेवारीहरू आफूभन्दा कम उमेरका एल्डरहरूलाई हस्तान्तरण गर्छन्‌। जस्तै: शाखा समितिको संयोजक वा एल्डरहरूको निकायको संयोजकको जिम्मेवारी। यस्तो छाँटकाँट हुँदा हाम्रा यी प्यारा वृद्ध एल्डरहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌? तिनीहरूले यहोवा र उहाँको सङ्‌गठनप्रति वफादारी देखाएका छन्‌।

शाखा समितिको संयोजकको रूपमा झन्डै ४९ वर्ष सेवा गरिसकेका केन यसो भन्छन्‌, “यस्तो छाँटकाँट गर्ने निर्णयमा म पूरै सहमत थिएँ। वास्तवमा भन्‍ने हो भने, जुन दिन बिहान मैले यो निर्णयबारे थाह पाएँ, त्यसअघि मैले यहोवालाई प्रार्थना गरेर संयोजकको रूपमा मभन्दा कम उमेरको भाइ चाहिएको कुरा व्यक्‍त गरेको थिएँ।” केनको प्रतिक्रिया संसारभरिका वफादार वृद्ध एल्डरहरूको भावनासित मिल्दोजुल्दो छ। हुनत सुरुमा तिनीहरू अलि निराश भए होलान्‌ किनभने तिनीहरू आफ्ना भाइबहिनीको सेवा गर्न पाउँदा रमाउँथे।

मण्डलीमा एल्डरहरूको निकायको संयोजकको जिम्मेवारी सँभालेका एस्परान्डो यसो भन्छन्‌, “मलाई अलि-अलि दुःख लागेको थियो।” तर तिनी यो कुरा मानिलिन्छन्‌, “मेरो स्वास्थ्य कमजोर हुँदै गइरहेकोले आफ्नो ख्याल राख्न अलि समय चाहिरहेको थियो।” जिम्मेवारी अरूलाई सुम्पिसकेपछि पनि एस्परान्डो वफादार भई यहोवाको सेवा गरिरहेका छन्‌ र मण्डलीको लागि आशिष्‌ साबित भइरहेका छन्‌।

लामो समयसम्म परिभ्रमण कार्य गरेर अहिले अर्कै प्रकारको सेवामा लागेका एल्डरहरूबारे हामी के भन्‍न सक्छौँ? परिभ्रमण निरीक्षकको रूपमा ३८ वर्ष सेवा गरेका एलन यसो भन्छन्‌, “सुरुमा यो खबर सुन्दा म स्तब्ध भएँ।” तर तिनले आफूभन्दा कम उमेरका एल्डरहरूलाई तालिम दिनुको फाइदा बुझे। तिनी अहिले पनि वफादार भई सेवा गरिरहेका छन्‌।

रसलले परिभ्रमण निरीक्षक र विभिन्‍न स्कुलका प्रशिक्षकको रूपमा जम्मा ४० वर्ष सेवा गरिसकेका छन्‌। यो छाँटकाँटबारे सुन्दा सुरुमा तिनी र तिनकी पत्नी पनि निराश भएका रहेछन्‌। तिनी भन्छन्‌: “आफूले पाएको सुअवसरको हामी असाध्यै कदर गर्थ्यौँ अनि अझै सेवा गरिरहन सक्ने जाँगर हामीसित छ जस्तो लाग्थ्यो।” रसल र तिनकी पत्नीले आफूले पाएको तालिम र आफूले बटुलेको अनुभव मण्डलीमा अरू भाइबहिनीलाई बाँडिरहेका छन्‌। यसले गर्दा अरू प्रकाशकहरू पनि तिनीहरूसँगसँगै रमाइरहेका छन्‌।

यहाँ उल्लेख गरिएका एल्डरहरूले जस्तो अनुभव तपाईँले गर्नुभएको छैन भने पनि दोस्रो समुएलमा पाइने एउटा विवरणले तपाईँलाई त्यस्तो छाँटकाँट अनुभव गरेका व्यक्‍तिहरूलाई अझ राम्ररी बुझ्न मदत गर्नेछ।

आफ्नो सीमितता स्विकार्ने व्यावहारिक पुरुष

राजा दाउदका छोरा अब्सालोमले विद्रोह गरेको समयलाई विचार गर्नुहोस्‌। दाउद यरुसलेमबाट भाग्दै यर्दन नदीको पूर्वपट्टि महनैम गए। त्यहाँ पुग्दा दाउद र तिनीसँगै भएकाहरूलाई केही आधारभूत कुराहरूको खाँचो पऱ्‍यो। त्यतिबेला भएको घटना के तपाईँलाई याद छ?

त्यस इलाकाका तीन जना पुरुषले उदारचित्तले ओछ्यान, विभिन्‍न किसिमका खानेकुरा र भाँडाकुँडा ल्याइदिए। ती तीन जनामध्ये एक बार्जिलै थिए। (२ समु. १७:२७-२९) अब्सालोमको विद्रोह असफल भएपछि दाउद यरुसलेम फर्कन सम्भव भयो। बार्जिलै दाउदसँगै यर्दनसम्म गए। अनि दाउदले उनलाई यरुसलेम आउन आग्रह गरे। आफूलाई मदत गरेको हुँदा राजा दाउदले बार्जिलैलाई खानेकुराको प्रबन्ध गरिदिने प्रस्ताव राखे। बार्जिलै “असाध्यै धनी” थिए र उनलाई ती खानेकुराको आवश्‍यक पर्ने थिएन। (२ समु. १९:३१-३३) तर दाउदले बार्जिलैका गुणहरूको कदर गरेको हुनुपर्छ र अमूल्य सुझावहरू दिन सक्ने व्यक्‍तिको रूपमा उनको मोल गरेको हुनुपर्छ। राजाको दरबारमा बस्नु र राजासँगै काम गर्न पाउनु साँच्चै ठूलो सुअवसर हुने थियो!

आफ्नो सीमितता स्विकार्दै र व्यावहारिक हुँदै बार्जिलैले आफू ८० वर्ष पुगिसकेको कुरा बताए। त्यसपछि उनले यसो भने: “अब म असल र खराब छुट्ट्याउन सक्दिनँ।” यसको अर्थ के थियो? बार्जिलैले आफ्नो लामो जीवनकालमा पक्कै बुद्धि हासिल गरेको हुनुपर्छ। उनी अझै पनि राम्रो सल्लाह दिन सक्थे, जसरी पछि “बूढापाकाहरू”-ले राजा रहबामलाई सल्लाह दिएका थिए। (१ राजा १२:६, ७; भज. ९२:१२-१४; हितो. १६:३१) त्यसकारण बार्जिलैले असल र खराब छुट्ट्याउनेबारे बताउँदा सायद उनले शारीरिक अवस्था वा उमेरको कारणले हुने सीमितताबारे भन्‍न खोज्दै थिए। वृद्धावस्थाले गर्दा स्वाद लिने र सुन्‍ने क्षमता कमजोर भएको कुरा उनले स्विकारे। (उप. १२:४, ५) त्यसैले बार्जिलैले नै कम उमेरका किमहामलाई यरुसलेम लैजान दाउदलाई आग्रह गरे। सायद किमहाम बार्जिलैका छोरा थिए।—२ समु. १९:३५-४०.

भविष्यको लागि तयारी

अहिले उमेरको आधारमा छाँटकाँट गर्नुको पछाडि के-कस्ता कारण थिए भनेर बुझ्न बार्जिलैले देखाएको मनोवृत्तिले मदत गर्छ। बार्जिलैको सन्दर्भमा एक जनाको उमेर र परिस्थिति मात्र विचार गरे पुग्थ्यो। तर अहिले हाम्रो समयमा छाँटकाँट गर्दा धेरै जनाको उमेर र परिस्थिति विचार गर्नु परेको थियो। संसारभरि वफादार भई सेवा गरिरहेका एल्डरहरूको लागि सबैभन्दा उपयुक्‍त र व्यावहारिक के हुनेछ भनेर विचार गर्नुपरेको थियो।

आफ्नो सीमितता स्विकार्ने यी वृद्ध एल्डरहरूले एउटा कुरा राम्ररी बुझेका थिए: लामो समयदेखि आफूले सम्हालिरहेका जिम्मेवारीहरू कम उमेरका एल्डरहरूलाई हस्तान्तरण गर्दा भविष्यमा हुने वृद्धिको लागि यहोवाको सङ्‌गठन अझ सुदृढ हुनेछ। बार्जिलैले आफ्नो छोरालाई तालिम दिएका हुन सक्छन्‌ अनि प्रेषित पावलले पनि तिमोथीलाई तालिम दिए। त्यसैगरि प्रायजसो अवस्थामा पाका एल्डरहरूले नै कम उमेरका एल्डरहरूलाई तालिम दिएका छन्‌। (१ कोरि. ४:१७; फिलि. २:२०-२२) यी कम उमेरका एल्डरहरूले अहिले आफूलाई “वरदानको रूपमा पुरुषहरू” साबित गरेका छन्‌, जसले ‘ख्रिष्टको शरीरलाई बढाउँदै’ लैजान मदत गर्न सक्छन्‌।—एफि. ४:८-१२; गन्ती ११:१६, १७, २९ तुलना गर्नुहोस्‌।

सेवा गर्ने विभिन्‍न मौका

परमेश्‍वरका जनहरूको विश्‍वव्यापी मण्डलीमा थुप्रैले आफ्ना केही जिम्मेवारी अरूलाई हस्तान्तरण गरेका छन्‌। तर तिनीहरूले यहोवाको सेवामा नयाँ वा थप मौकाको सदुपयोग गरिरहेका छन्‌।

परिभ्रमण निरीक्षकको रूपमा १९ वर्ष सेवा गरेका मार्को भन्छन्‌, “मेरो मण्डलीमा बेग्लै धर्म मान्‍ने पति भएका बहिनीहरू छन्‌। मेरो नयाँ परिस्थितिले गर्दा मैले ती पतिहरूलाई मदत गर्न सकेको छु।”

परिभ्रमण निरीक्षकको रूपमा २८ वर्ष सेवा गरेका जेराल्डो भन्छन्‌, “हाम्रो एउटा नयाँ लक्ष्य निष्क्रिय भएकाहरूलाई मदत गर्ने र अझ धेरै बाइबल अध्ययन सञ्चालन गर्ने हो।” तिनी र तिनकी पत्नी मिलेर अहिले १५ वटा बाइबल अध्ययन सञ्चालन गर्दै छन्‌ र निष्क्रिय भएकाहरू थुप्रै अहिले सभा आउन थालेका छन्‌।

अगाडि उल्लेख गरिएका एलन यसो भन्छन्‌: “अहिले हामीले प्रचारकार्यमा अझ धेरै भाग लिने मौका पाएका छौँ। हामीले सार्वजनिक साक्षीकार्यमा भाग लिने, व्यापारिक इलाकामा प्रचार गर्ने र छिमेकीहरूलाई साक्षी दिने मौका पाएका छौँ। हामीले प्रचार गरेकामध्ये दुई जना छिमेकी राज्यभवनमा पनि आउनुभयो।”

तपाईँ योग्य तथा वफादार भाइ हुनुहुन्छ र परमेश्‍वरका जनमाझ नयाँ असाइनमेन्ट पाउनुभएको छ भने तपाईँले अर्को एउटा विशेष तरिकामा पनि मदत गर्न सक्नुहुन्छ। आफूले बटुल्नुभएका बहुमूल्य अनुभव आफूभन्दा कम उमेरका भाइहरूसित बाँडेर तपाईँ यहोवाको कामलाई सघाउन सक्नुहुन्छ। माथि उल्लेख गरिएका रसल यसो भन्छन्‌, “यहोवाले हाम्रा प्यारा र होनहार जवान भाइहरूलाई तालिम दिँदै हुनुहुन्छ र तिनीहरूलाई प्रयोग गर्दै हुनुहुन्छ। तिनीहरू जाँगरिलो तरिकामा सिकाउँछन्‌ र गोठालो भेट गर्छन्‌। यसबाट हाम्रा सबै भाइबहिनीले लाभ उठाइरहेका छन्‌।”—“ जवान भाइहरूलाई आफ्नो क्षमताको पूर्ण सदुपयोग गर्न मदत गर्नुहोस्‌” भन्‍ने पेटी हेर्नुहोस्‌।

यहोवा तपाईँको वफादारीको मोल गर्नुहुन्छ

हालै तपाईँले नयाँ किसिमको सेवा सुरु गर्नुभएको छ भने त्यसप्रति सकारात्मक हुनुहोस्‌। तनमनले सेवा गरेर तपाईँले थुप्रै मानिसहरूको मनमा गहिरो छाप पार्नुभएको छ अनि अझै पनि त्यसो गरिरहन सक्नुहुन्छ। धेरैले तपाईँलाई माया गर्छन्‌ र अबउप्रान्त पनि गरिरहनेछन्‌।

सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले यहोवाको मनमा अमेट छाप पार्नुभएको छ। बाइबल यसो भन्छ: “तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।” (हिब्रू ६:१०) परमेश्‍वरको प्रेरणा पाएर लेखिएको यस पदले हामीले विगतमा र अहिले गरेको मेहनतलाई उहाँले कहिल्यै बिर्सनुहुनेछैन भन्‍ने आश्‍वासन दिन्छ। तपाईँ अत्यन्तै बहुमूल्य हुनुहुन्छ; त्यसैले उहाँलाई खुसी बनाउन तपाईँले विगतमा गर्नुभएको र अहिले निरन्तर गरिरहनुभएको प्रयासलाई उहाँले कहिल्यै बिर्सनुहुनेछैन!

यस लेखमा छलफल गरिएजस्तै छाँटकाँटहरू तपाईँले अनुभव गर्नुभएको छैन भने नि? त्यसो हो भने पनि यस विषयले तपाईँलाई प्रत्यक्ष असर गर्न सक्छ। कसरी?

हालै फरक असाइनमेन्ट पाएका वफादार वृद्ध एल्डरसित यदि तपाईँको नियमित रूपमा कुराकानी वा भेटघाट भइरहन्छ भने तिनको परिपक्वता र वर्षौँको अनुभवबाट लाभ उठाउन सक्नुहुन्छ। तिनीसित सल्लाह र सुझाव माग्नुहोस्‌। अनि अहिले आफ्नो असाइनमेन्ट पूरा गर्न तिनले कसरी वफादार भई आफ्नो अनुभवको सदुपयोग गरिरहेका छन्‌, राम्ररी नियाल्नुहोस्‌।

के तपाईँ पहिलेभन्दा फरक तरिकामा यहोवाको सेवा गरिरहनुभएको वृद्ध व्यक्‍ति हुनुहुन्छ? वा तिनको अनुभवबाट लाभ उठाउन सक्ने भाइ वा बहिनी हुनुहुन्छ? तपाईँको अवस्था जस्तोसुकै होस्‌, यहोवाको सेवामा लामो समय बिताइसकेका र अहिले पनि उहाँको सेवा गरिरहेका वफादार सेवकहरूको उहाँ असाध्यै कदर गर्नुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌!