सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सर्वशक्‍तिमान्‌ तैपनि विचारशील

सर्वशक्‍तिमान्‌ तैपनि विचारशील

“हामी कसरी बनिएका हौँ, [यहोवा] राम्ररी जान्‍नुहुन्छ; हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।”—भज. १०३:१४.

गीत: ३०, १०

१, २. (क) अख्तियार पाएका व्यक्‍तिहरूले जस्तो नभई यहोवाले मानिसहरूसित कसरी व्यवहार गर्नुहुन्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

अख्तियार पाएका अनि प्रभावशाली मानिसहरू अक्सर अरूमाथि “हैकम चलाउँछन्‌।” केहीले त अरूलाई दबाउने समेत गर्छन्‌। (मत्ति २०:२५; उप. ८:९) तर यहोवा त्यस्ता मानिसहरूभन्दा कत्ति फरक हुनुहुन्छ! उहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ तैपनि त्रुटिपूर्ण मानिसहरूप्रति उहाँजति विचारशील अरू कोही पनि छैन। उहाँ मानिसहरूलाई दया देखाउनुहुन्छ र तिनीहरूको अवस्था राम्ररी विचार गर्नुहुन्छ। उहाँ हाम्रो भावनाको कदर गर्नुहुन्छ र हाम्रा आवश्‍यकताहरूप्रति सजग हुनुहुन्छ। “हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ” र हामीले गर्न सक्नेभन्दा बढ्‌ता हामीबाट कहिल्यै माग गर्नुहुन्‍न।—भज. १०३:१३, १४.

यहोवाले विचारशील हुँदै आफ्ना जनहरूसित व्यवहार गर्नुभएको थुप्रै उदाहरण हामी बाइबलमा पाउँछौँ। तीमध्ये तीन वटा उदाहरण केलाएर हेरौँ। पहिलो, परमेश्‍वरले ठिटो समुएललाई प्रधान पुजारी एलीकहाँ गएर न्यायको सन्देश सुनाउने आज्ञा दिनुहुँदा उहाँले समुएलको अवस्था कसरी विचार गर्नुभयो भनेर बुझ्नेछौँ। दोस्रो, इस्राएलीहरूको नाइके हुन मोशाले इन्कार गर्दा परमेश्‍वरले कसरी तिनीप्रति धीरजी हुँदै व्यवहार गर्नुभयो भनेर विचार गर्नेछौँ। तेस्रो, परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुहुँदा कसरी तिनीहरूप्रति विचारशील हुनुभयो भनेर बुझ्नेछौँ। यी उदाहरणहरू केलाउँदा त्यसले यहोवाबारे हामीलाई के सिकाउँछ अनि त्यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ, ध्यान देऔँ।

एक जना ठिटोप्रति विचारशील

३. एक चोटि समुएलले कस्तो अनौठो कुरा अनुभव गरे? अनि यस घटनाले गर्दा कस्तो प्रश्‍न उठ्‌छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

समुएलले एकदमै कलिलो उमेरदेखि बासस्थानमा “यहोवा परमेश्‍वरको सेवा” गर्न थाले। (१ समु. ३:१) एक चोटिको कुरा हो, समुएल राती सुतिसकेपछि एउटा अनौठो घटना घट्यो। * (१ समुएल ३:२-१० पढ्‌नुहोस्‌) कसैले आफूलाई नामै लिएर बोलाइरहेको तिनले सुने। वृद्ध भइसकेका प्रधान पुजारी एलिले बोलाएको होला भन्ठानेर तिनी दौडँदै गए र भने: “तपाईँले मलाई बोलाउनुभएको हो?” एलिले होइन भने। यस्तै घटना अर्को दुई चोटि पनि दोहोरिएपछि समुएललाई परमेश्‍वरले नै बोलाउनुभएको हुनुपर्छ भनेर एलिले थाह पाए। त्यसैले तिनले समुएललाई के जवाफ दिने भनेर सिकाए अनि समुएलले त्यसै गरे। यहोवाले समुएललाई पहिलो पटक बोलाउनुहुँदा नै स्वर्गदूतमार्फत आफ्नो चिनारी किन प्रकट गर्नुभएन? बाइबलले यसको जवाफ दिएको छैन। तर घटनाक्रमले देखाएअनुसार समुएल सानै भएकोले यहोवा तिनीप्रति विचारशील हुनुभएको हुन सक्छ। आफू विचारशील भएको उहाँले कसरी देखाउनुभयो?

४, ५. (क) परमेश्‍वरले समुएललाई एलिकहाँ गएर सन्देश सुनाउनू भन्‍नुहुँदा तिनलाई कस्तो लाग्यो? भोलिपल्ट बिहान के भयो? (ख) यस विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

पहिलो समुएल ३:११-१८ पढ्‌नुहोस्‌। यहोवाको व्यवस्थाले केटाकेटीहरूलाई बुढापाकाको र अझ विशेषगरि कुलनायकको आदर गर्नू भन्‍ने आज्ञा दिएको थियो। (प्रस्थ. २२:२८; लेवी १९:३२) के तपाईँको विचारमा समुएल बिहान उठेपछि एलिकहाँ गएर परमेश्‍वरको न्यायको कडा सन्देश सुनाउने आँट गर्न सक्थे होलान्‌? पक्कै सक्दैनथे! हुन पनि बाइबलले बताएअनुसार “आफूले देखेको दर्शनबारे एलिलाई बताउन समुएललाई डर लागिरहेको थियो।” तर परमेश्‍वरले समुएललाई बोलाउनुभएको हो भनेर उहाँले एलिलाई स्पष्ट पार्नुभयो। त्यसपछि एलिले समुएललाई केही नलुकाई सबै कुरा भन्‍न लगाए। उनले समुएललाई यस्तो आज्ञा दिए: ‘परमेश्‍वरले तिमीलाई जे-जे भन्‍नुभयो, मलाई सबै कुरा भन।’ समुएलले एलिको कुरा माने अनि “सबै कुरा भने।”

समुएलको यो कुरा एलिको लागि बिलकुलै अनौठो सन्देश थिएन। किनकि “परमेश्‍वरले पठाउनुभएका एक जना मानिस”-ले प्रधान पुजारी एलिलाई यस्तै सन्देश सुनाइसकेका थिए। (१ समु. २:२७-३६) समुएल र एलिको यो घटनाले यहोवा साँच्चै विचारशील र बुद्धिमान्‌ हुनुहुन्छ भनेर देखाउँछ।

६. समुएल ठिटो छँदा परमेश्‍वरले तिनलाई मदत गर्नुभएको तरिकाबाट हामी कस्ता पाठ सिक्न सक्छौँ?

के तपाईँ सानो उमेरको हुनुहुन्छ? त्यसो हो भने समुएलको कुरा सम्झनुहोस्‌। ठिटो छँदा तिनले गरेको अनुभवले के देखाउँछ भने तपाईँका समस्याहरू र तपाईँको भावना यहोवा बुझ्नुहुन्छ। सायद तपाईँ लजालु स्वभावको हुनुहुन्छ र वयस्कहरूलाई परमेश्‍वरको राज्यको सन्देश सुनाउन वा आफ्ना साथीहरूभन्दा फरक देखिन तपाईँलाई गाह्रो लाग्न सक्छ। त्यसो हो भने यहोवा तपाईँलाई मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। प्रार्थना गरेर यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌। (भज. ६२:८) समुएलजस्ता साना केटाकेटीबारे बाइबलमा पाइने उदाहरणहरू राम्ररी विचार गर्नुहोस्‌। अनि साना-ठूला सबै भाइबहिनीसित कुरा गर्नुहोस्‌, जसले तपाईँले भोगेका जस्तै समस्याहरू पार लगाइसकेका होलान्‌। तिनीहरूलाई यहोवाले कस्ता अवस्थाहरूमा मदत गर्नुभयो अनि कसरी आफूले आसै नगरेको तरिकामा मदत पाए भनेर तिनीहरूले बताउन सक्छन्‌।

मोसाप्रति विचारशील

७, ८. यहोवा मोसाप्रति अत्यन्तै विचारशील हुनुभयो भनेर किन भन्‍न सक्छौँ?

मोसा ८० वर्षको हुँदा यहोवाले तिनलाई असाध्यै कठिन काम अह्राउनुभयो। मोसाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाएर ल्याउनुपर्ने थियो। (प्रस्थ. ३:१०) मोसाले मिद्यानमा ४० वर्षसम्म गोठालोको काम गरेको हुँदा यस्तो काम अह्राइँदा तिनी पक्कै छक्क परेको हुनुपर्छ। तिनले यस्तो प्रश्‍न सोधे: “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउन सक्ने म को हुँ र?” परमेश्‍वरले मोसालाई यस्तो आश्‍वासन दिनुभयो: “म तिमीसँग हुनेछु।” (प्रस्थ. ३:११, १२) उहाँले यस्तो प्रतिज्ञा पनि गर्नुभयो: इस्राएलका नाइकेहरूले “तिम्रो कुरा अवश्‍य सुन्‍नेछन्‌।” तैपनि मोसाले यसो भने: “तिनीहरूले . . . मेरो कुरा सुनेनन्‌ भने के गर्ने?” (प्रस्थ. ३:१८; ४:१) साँच्चै भन्‍ने हो भने, मोसाले परमेश्‍वरको कुरालाई खण्डन गरिरहेका थिए! तर यहोवा धीरजी हुनुभयो। त्यति मात्र कहाँ हो र! उहाँले मोसालाई चमत्कारहरू गर्ने शक्‍ति पनि दिनुभयो! बाइबल विवरण हेर्दा त्यस्तो शक्‍ति पाउने पहिलो मानिस मोसा थिए।—प्रस्थ. ४:२-९, २१.

मोसाले आफू त्यति बोल्न जान्दिनँ भन्दै अझै पनि इन्कार गरे। त्यसपछि परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “म तिमीलाई बोल्न मदत गर्नेछु अनि तिमीले के भन्‍नुपर्ने हो, सो सिकाउनेछु।” परमेश्‍वरले यति भनिसक्नुभएपछि के मोसाले उहाँको कुरा स्विकारे? तिनले स्विकारेनन्‌ जस्तो देखिन्छ किनकि तिनले अरू कसैलाई पठाउनको लागि नम्र हुँदै परमेश्‍वरलाई बिन्ती गरे। अब भने परमेश्‍वर तिनीसित क्रोधित हुनुभयो र त्यो जायज पनि थियो। तर परमेश्‍वरले तिनको कुरा सुन्‍न इन्कार गर्नुभएन। बरु उहाँ फेरि पनि तिनीप्रति विचारशील हुँदै तिनको प्रवक्‍ताको रूपमा हारुनलाई नियुक्‍त गर्नुभयो।—प्रस्थ. ४:१०-१६

९. यहोवा मोसाप्रति धीरजी र विचारशील हुनुभएकोले तिनले आफ्नो जिम्मेवारी पूरा गर्न कस्तो मदत पाए?

यो विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? यहोवा सर्वशक्‍तिमान्‌ हुनुभएकोले उहाँले मोसालाई तर्साएर तुरुन्तै आज्ञा पालन गर्न लगाउन सक्नुहुन्थ्यो। त्यसको विपरीत आफ्नो सीमितता स्विकार्ने नम्र सेवकप्रति यहोवा धीरजी र दयालु हुनुभयो र तिनलाई ढुक्क महसुस गराउन प्रयास गर्नुभयो। के त्यसो गर्दा नतिजा राम्रो भयो? अवश्‍य! मोसा अत्यन्तै असल नाइके साबित भए अनि जसरी परमेश्‍वरले तिनीप्रति विचारशील हुँदै कोमल व्यवहार गर्नुभएको थियो, तिनले पनि अरूसित त्यस्तै व्यवहार गर्न प्रयास गरे।—गन्ती १२:३.

अरूसित व्यवहार गर्दा के तपाईँ यहोवाको अनुकरण गर्नुहुन्छ? (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. यहोवाजस्तै विचारशील भयौँ भने हामीले कस्तो लाभ उठाउनेछौँ?

१० हामीले सिक्न सक्ने पाठहरू: के तपाईँ एक जना पति, आमा या बुबा अथवा मण्डलीको एल्डर हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईँले पनि केही अख्तियार पाउनुभएको छ। त्यसोभए तपाईँले यहोवाको अनुकरण गर्दै आफ्नो निगरानीमा भएकाहरूसित विचारशील, दयालु र धीरजी हुँदै व्यवहार गर्नु कत्ति महत्त्वपूर्ण छ! (कल. ३:१९-२१; १ पत्रु. ५:१-३) यदि तपाईँले यहोवा र महान्‌ मोसा अर्थात्‌ येसु ख्रिष्टको अनुकरण गर्नुभयो भने अरूलाई तपाईँको नजिक आउन सजिलो लाग्नेछ र तपाईँ तिनीहरूको लागि स्फूर्तिको स्रोत हुनुहुनेछ। (मत्ति ११:२८, २९) त्यसका साथै अरूले अनुकरण गर्न सक्ने राम्रो उदाहरण पनि बसालिरहनुभएको हुनेछ।—हिब्रू १३:७.

शक्‍तिशाली तर विचारशील उद्धारक

११, १२. इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउँदा यहोवाले कसरी तिनीहरूलाई ढुक्क र सुरक्षित महसुस गराउनुभयो?

११ ईसापूर्व १५१३ मा इस्राएलीहरू मिश्रबाट निस्कँदा तिनीहरूको सङ्‌ख्या ३० लाखभन्दा धेरै पुगेको हुन सक्थ्यो। त्यो भीडमा इस्राएलीहरूको तीन-चार पुस्ता सँगसँगै भएकोले त्यसमा केटाकेटी, वृद्धवृद्धा र केही कमजोर अनि अशक्‍त मानिसहरू पनि थिए। त्यति ठूलो भीडलाई मिश्रबाट निकालेर ल्याउन तिनीहरूको अवस्था बुझ्ने र तिनीहरूको ख्याल राख्ने नाइके चाहिन्थ्यो। अनि मोसालाई चलाएर यहोवा तिनीहरूको लागि त्यस्तै नाइके साबित हुनुभयो। त्यसैले इस्राएलीहरू मिश्र छोडेर पहिला कतै नगएको भए तापनि ढुक्क भएर जान सके।—भज. ७८:५२, ५३.

१२ यहोवाले कसरी आफ्ना मानिसहरूलाई ढुक्क र सुरक्षित महसुस गराउनुभयो? पहिलो कुरा, उहाँले तिनीहरूलाई “सैन्य दलजस्तो गरी व्यवस्थित तरिकामा” मिश्रबाट निकालेर ल्याउनुभयो। (प्रस्थ. १३:१८) त्यसरी व्यवस्थित तरिकामा यात्रा गर्दा परमेश्‍वरले नै सबै कुराको नेतृत्व लिइरहनुभएको छ भनेर इस्राएलीहरू अझ विश्‍वस्त हुन सके। त्यसका साथै यहोवाले “दिनमा बादल . . . र राती आगोको ज्वाला भएर” आफू इस्राएलीहरूकै माझमा छु भनेर देखाउनुभयो। (भज. ७८:१४) एक अर्थमा यहोवा इस्राएलीहरूलाई यसो भन्दै हुनुहुन्थ्यो: “नडराओ, म तिमीहरूको साथमा छु। म तिमीहरूलाई डोऱ्‍याउनेछु अनि सुरक्षा दिनेछु।” वास्तवमा इस्राएलीहरूलाई अब चाँडै त्यस्तो आश्‍वासन चाहिने थियो!

इस्राएलीहरूप्रति विचारशील हुँदै यहोवाले लाल समुद्रमा के गर्नुभयो? (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३, १४. (क) लाल समुद्रमा यहोवाले इस्राएलीहरूप्रति विचारशील हुँदै के-के गर्नुभयो? (ख) यहोवाले मिश्रीहरूविरुद्ध कसरी आफ्नो शक्‍ति प्रदर्शन गर्नुभयो?

१३ प्रस्थान १४:१९-२२ पढ्‌नुहोस्‌। आफूलाई इस्राएलीहरूसितै भएको कल्पना गर्नुहोस्‌। तपाईँको अघिल्तिर लाल समुद्र छ अनि तपाईँको पछिल्तिर फारोको सेना छ। त्यही बेला परमेश्‍वरले कदम चाल्नुहुन्छ। तपाईँको अगाडि भएको बादलको खामो छाउनीको पछिल्तिर सर्छ अनि मिश्रीहरू भएपट्टि अन्धकार छाउँछ र तिनीहरू इस्राएलीहरूको छाउनीसम्म आउन सक्दैनन्‌। तर अर्कोतर्फ तपाईँ भएपट्टि चाहिँ परमेश्‍वरले चमत्कारपूर्ण तरिकामा जताततै उज्यालो बनाइदिनुभएको छ! त्यसपछि तपाईँकै आँखाको सामुन्‍ने मोसाले समुद्रतिर आफ्नो हात पसार्छन्‌। अनि जोडसित चलेको पूर्वीय बतासले गर्दा समुद्रको बीचमा फराकिलो बाटो बन्छ। अरू सबै इस्राएलीहरूसँगसँगै तपाईँ पनि आफ्नो परिवार र घरपालुवा जनावरहरू लिएर समुद्रपारि जान व्यवस्थित तरिकामा अघि बढ्‌नुहुन्छ। तर समुद्र सुकेर भुईँ ओबानो भएको ठाउँमा पुग्नासाथ तपाईँ केही अचम्मको कुरा याद गर्नुहुन्छ। त्यो ठाउँको भुईँ पटक्कै हिलो छैन अनि चिप्लो पनि छैन बरु त्यो सुख्खा छ अनि त्यहाँ टेक्दा तपाईँको खुट्टा पनि भासिँदैन। त्यसैले तपाईँ सजिलैसँग त्यहाँबाट पारि जान सक्नुहुन्छ। तपाईँ मात्र होइन, बिस्तारै-बिस्तारै हिँड्‌नेहरू पनि आरामले पारि पुग्छन्‌।

१४ प्रस्थान १४:२३, २६-३० पढ्‌नुहोस्‌। त्यसैबेला घमन्डी र मूर्ख फारो भएभरको बल लगाएर इस्राएलीहरूलाई खेद्‌दै समुद्रको बीचतिर आउँछन्‌। मोसाले फेरि आफ्नो हात समुद्रतिर पसार्छन्‌। त्यसपछि चमत्कारपूर्ण तरिकाले बनेको पानीको पर्खाल भत्किन्छ। पानी दुवैतिरबाट उर्लेर आउन थाल्छ, मानौँ दुई विपरित दिशाबाट एकैपटक सुनामी आएजस्तो। फारो र तिनको सेना उम्कने कुनै आसै रहँदैन!—प्रस्थ. १५:८-१०.

१५. यो विवरणबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

१५ यो विवरणबाट हामी यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाउँछौँ। उहाँको यो गुणले गर्दा हामी ढुक्क र सुरक्षित महसुस गर्छौँ। (१ कोरि. १४:३३) यहोवा आफ्ना जनहरूलाई व्यावहारिक तरिकामा मदत गरेर आफू मायालु गोठालो भएको कुरा देखाउनुहुन्छ। उहाँ कोमलतापूर्वक तिनीहरूलाई आफ्नो अङ्‌गालोमा बाँध्नुहुन्छ र शत्रुबाट जोगाउनुहुन्छ। यहोवाबारे यस्तो सत्य थाह पाउँदा हामी कत्ति ढुक्क महसुस गर्छौँ नि, होइन र? किनकि हामी बाँचिरहेको यस युगको अन्त हुनै लागेको छ।—हितो. १:३३.

१६. यहोवाले इस्राएलीहरूको उद्धार गर्नुभएको तरिका विचार गर्दा हामी कस्तो लाभ उठाउँछौँ?

१६ आज पनि यहोवा आफ्ना जनहरूलाई सामूहिक रूपमा जोगाउनुहुन्छ। उहाँ तिनीहरूलाई आध्यात्मिक र शारीरिक हानिबाट जोगाउनुहुन्छ। अब आउनै लागेको महासङ्‌कष्टको दौडान पनि उहाँले त्यसै गर्नुहुनेछ। (प्रका. ७:९, १०) त्यसैले परमेश्‍वरका जनहरू चाहे जवान होऊन्‌ या वृद्ध, तन्दुरुस्त होऊन्‌ या अशक्‍त, तिनीहरू महासङ्‌कष्टको बेला आत्तिनेछैनन्‌ वा डरले मूर्च्छा पर्नेछैनन्‌। * बरु तिनीहरूको प्रतिक्रिया ठीक उल्टो हुनेछ! तिनीहरूले येसु ख्रिष्टले भन्‍नुभएका यी शब्दहरू सम्झनेछन्‌: “खडा भएर आफ्नो शिर उठाओ किनकि तिमीहरूको छुटकारा नजिक आउँदै छ।” (लुका २१:२८) गोग अर्थात्‌ राष्ट्रहरूको गठबन्धन, जुन प्राचीन समयको फारोभन्दा कैयौँ गुणा शक्‍तिशाली छ, त्यसले आक्रमण गर्दा समेत तिनीहरू त्यसरी नै ढुक्क भइरहनेछन्‌। (इज. ३८:२, १४-१६) परमेश्‍वरका जनहरू किन ढुक्क भइरहन सक्नेछन्‌? यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न भनेर तिनीहरूलाई थाह छ। उहाँले फेरि पनि आफूलाई मायालु र विचारशील उद्धारक साबित गर्नुहुनेछ।—यसै. २६:३, २०.

१७. (क) यहोवाले विचारशील हुँदै आफ्ना जनहरूको ख्याल राख्नुभएका विवरणहरूमा मनन गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१७ यहोवाले आफ्ना जनहरूको अवस्था विचार गर्दै अनि दयालु हुँदै तिनीहरूको ख्याल राख्नुहुन्छ, तिनीहरूलाई डोऱ्‍याउनुहुन्छ अनि उद्धार गर्नुहुन्छ भन्‍ने कुराको थुप्रै उदाहरण बाइबलमा पाउँछौँ। तीमध्ये केही हामीले यस लेखमा छलफल गऱ्‍यौँ। त्यस्ता उदाहरणहरूमा मनन गर्दा यहोवाका गुणहरूको विभिन्‍न पक्षहरूमा ध्यान दिनुहोस्‌, जुन सरसरती पढ्‌दा याद नहुन सक्छ। त्यसो गर्नुभयो भने यहोवाका ती सुन्दर गुणहरू तपाईँको मन र दिमागमा ठप्प बस्नेछ अनि त्यसले गर्दा परमेश्‍वरप्रतिको तपाईँको प्रेम र विश्‍वास अझ बलियो हुनेछ। अरूप्रति विचारशील हुने सन्दर्भमा हामी कुन-कुन तरिकामा यहोवाको अनुकरण गर्न सक्छौँ भनेर अर्को लेखमा छलफल गर्नेछौँ। खासगरि परिवारमा, ख्रिष्टियन मण्डलीमा अनि प्रचारकार्यमा हामी कसरी त्यसो गर्न सक्छौँ भनेर बुझ्नेछौँ।

^ अनु. 3 यहुदी इतिहासकार जोसेफसअनुसार त्यतिबेला समुएल १२ वर्षको हुनुपर्छ।

^ अनु. 16 आरमागेडोन पार गर्नेहरूमा केही अशक्‍त मानिसहरू पनि हुनेछन्‌ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ। पृथ्वीमा हुँदा येसुले “हरप्रकारका रोगबिमार” निको पार्नुभयो। जिउँदै आरमागेडोन पार गर्नेहरूमध्ये जो-जो अशक्‍त छन्‌, तिनीहरूलाई येसुले निको पार्नुहुनेछ भन्‍ने कुरा यसले देखाउँछ। (मत्ति ९:३५) पुनर्जीवित भएकाहरू भने स्वस्थ शरीरसहित ब्युँतने भएकोले तिनीहरूलाई निको पारिरहनु आवश्‍यक पर्नेछैन।