सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३९

‘हेर! ठूलो भीड’

‘हेर! ठूलो भीड’

“हेर! कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड . . . सिंहासन र पाठोको अगाडि उभिरहेका थिए।”—प्रका. ७:९.

गीत ६० जीवन दिने सन्देश

परिचय *

१. इस्वी संवत्‌ प्रथम शताब्दीको अन्ततिर प्रेषित युहन्‍ना कस्तो परिस्थितिमा थिए?

इस्वी संवत्‌ प्रथम शताब्दीको अन्ततिर प्रेषित युहन्‍ना कठिन परिस्थितिमा थिए। तिनी वृद्ध भइसकेका थिए अनि पत्मोस टापुमा निर्वासित जीवन बिताइरहेका थिए। त्यतिबेला प्रेषितहरूमध्ये सायद तिनी मात्र जीवित थिए। (प्रका. १:९) विरोधीहरूले मण्डलीहरूलाई बहकाइरहेका छन्‌ र त्यसले गर्दा ख्रिष्टियनहरूमाझ फूट भइरहेको छ भनेर तिनलाई थाह थियो। त्यसैले थोरै सङ्‌ख्यामा रहेका ख्रिष्टियनहरू पनि बिलाएर जाने पो हुन्‌ कि जस्तो देखिन्थ्यो।—यहु. ४; प्रका. २:१५, २०; ३:१, १७.

प्रेषित युहन्‍नाले सेता लुगा लगाएका र हातमा खजुरका हाँगा लिएका मानिसहरूको “एउटा ठूलो भीड” देखे (अध्ययन लेख ३९, अनुच्छेद २ हेर्नुहोस्‌)

२. प्रकाश ७:९-१४ अनुसार युहन्‍नाले भविष्यमा पूरा हुने कस्तो रोचक दर्शन देखे? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

तर यस्तो कठिन परिस्थितिमा युहन्‍नाले भविष्यमा पूरा हुने एउटा रोचक दर्शन देखे। त्यस दर्शनमा परमेश्‍वरका दासहरूको एउटा समूहलाई अन्तिम छाप नलगाएसम्म महासङ्‌कष्टको विनाशकारी बतासलाई थामिराख्न स्वर्गदूतहरूलाई भनियो। (प्रका. ७:१-३) त्यो समूह येसुसँगै स्वर्गमा शासन गर्ने १ लाख ४४ हजार जना मिलेर बनेको छ। (लुका १२:३२; प्रका. ७:४) त्यसपछि युहन्‍नाले अर्को समूहबारे बताए, जुन अत्यन्तै ठूलो थियो। आसै नगरेको कुरा देखेझैँ गरी अचम्म मान्दै तिनी भन्छन्‌: “हेर!” युहन्‍नाले के देखे? तिनी भन्छन्‌, “कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड मैले देखेँ। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए। तिनीहरू . . . सिंहासन र पाठोको अगाडि उभिरहेका थिए।” (प्रकाश ७:९-१४ पढ्‌नुहोस्‌) भविष्यमा जाति जातिका असङ्‌ख्य मानिसहरूले साँचो उपासनामा भाग लिनेछन्‌ भनेर थाह पाउँदा युहन्‍ना कत्ति खुसी भए होलान्‌, कल्पना गर्नुहोस्‌।

३. (क) युहन्‍नाले देखेको दर्शनले किन हाम्रो विश्‍वास अझै बलियो बनाउनेछ? (ख) यस लेखमा हामी के सिक्नेछौँ?

त्यो दर्शन देखेर युहन्‍नाको विश्‍वास पक्कै बलियो भयो। त्यो दर्शन पूरा भइरहेको समयमा बाँचिरहेकोले त्यसले हाम्रो विश्‍वास झन्‌ कत्ति बलियो बनाउँछ! जिउँदै महासङ्‌कष्ट पार गरेर पृथ्वीमा सधैँभरि जीवन बिताउने आशा पाएका लाखौँ मानिस अहिले जम्मा भइरहेको हामीले देखेका छौँ। यहोवाले कसरी ८० वर्षभन्दा अगाडि त्यस ठूलो भीडको विषयमा स्पष्टसित बुझ्न आफ्ना जनहरूलाई मदत गर्नुभयो भनेर यस लेखमा हामी थाह पाउनेछौँ। त्यसपछि हामी त्यो भीडको दुई वटा पक्षबारे विचार गर्नेछौँ: (१) त्यसको सङ्‌ख्या र (२) त्यसको विविधता। यी बुँदाहरूले यो समूहमा पर्ने आशा राखेका सबैको विश्‍वास बलियो बनाउनेछ।

ठूलो भीड कहाँ बस्नेछ?

४. चर्चजगत्‌ले कस्तो बाइबल सत्य बुझेको छैन र यस सन्दर्भमा बाइबल विद्यार्थीहरू कसरी भिन्‍न थिए?

एक दिन आज्ञाकारी मानिसहरू सधैँभरि यसै पृथ्वीमा बाँच्नेछन्‌ भन्‍ने बाइबल सत्य चर्चजगत्‌ले सिकाउँदैन। (२ कोरि. ४:३, ४) धेरैजसो चर्चले सबै असल मानिस मरेपछि स्वर्ग जान्छन्‌ भनेर सिकाउँछ। तर १८ औँ शताब्दीको अन्ततिर प्रहरीधरहरा प्रकाशित गरिरहेका बाइबल विद्यार्थीहरूको (अहिले यहोवाका साक्षीहरू भनिन्छ) सानो समूहको बुझाइ भने फरक थियो। परमेश्‍वरले पृथ्वीलाई फेरि प्रमोदवन बनाउनुहुनेछ र लाखौँ आज्ञाकारी मानिसहरू स्वर्गमा नभई यसै पृथ्वीमा बाँच्नेछन्‌ भनेर उनीहरूले बुझेका थिए। तर यी आज्ञाकारी मानिसहरूमा को-को पर्छन्‌ भन्‍ने कुरा राम्ररी बुझ्न भने तिनीहरूलाई समय लाग्यो।—मत्ति ६:१०.

५. बाइबल विद्यार्थीहरू १ लाख ४४ हजारको विषयमा के विश्‍वास गर्थे?

“पृथ्वीबाट किनिएका” केही मानिसहरूले येसुसँगै स्वर्गबाट शासन गर्नेछन्‌ भन्‍ने कुरा पनि बाइबल विद्यार्थीहरूले धर्मशास्त्रबाट बुझेका थिए। (प्रका. १४:३) त्यो समूह पृथ्वीमा छँदा जोसिलो र समर्पित भई परमेश्‍वरको सेवा गरेका १ लाख ४४ हजार वफादार ख्रिष्टियनहरू मिलेर बन्‍ने थियो। त्यसोभए ठूलो भीडको विषयमा चाहिँ बाइबल विद्यार्थीहरूको बुझाइ कस्तो थियो?

६. ठूलो भीडको विषयमा बाइबल विद्यार्थीहरू के विश्‍वास गर्थे?

युहन्‍नाले दर्शनमा ठूलो भीड “सिंहासन र पाठोको अगाडि उभिरहेका” देखे। (प्रका. ७:९) यसले गर्दा १ लाख ४४ हजारजस्तै ठूलो भीड पनि स्वर्ग जानेछ भन्‍ने निष्कर्षमा बाइबल विद्यार्थीहरू पुगे। यदि यी दुवै समूह स्वर्ग जाने हुन्‌ भने तिनीहरू कसरी फरक हुने थिए? पृथ्वीमा छँदा परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी नभएका ख्रिष्टियनहरू मिलेर ठूलो भीड बनेको हुनुपर्छ भनेर बाइबल विद्यार्थीहरूले सोचेका थिए। मतलब बाइबलका नैतिक स्तरहरू पालन गरेका भए पनि तिनीहरूमध्ये केही अझै पनि चर्चकै सदस्य भइरहेका हुन सक्थे। तिनीहरूले परमेश्‍वरलाई केही हदसम्म प्रेम गरेको भए तापनि येसुसँगै शासन गर्न त्यो प्रेम पर्याप्त थिएन भन्‍ने निष्कर्षमा बाइबल विद्यार्थीहरू पुगे। परमेश्‍वरप्रति तिनीहरूको प्रेम अपुग भएकोले तिनीहरू स्वर्गमा सिंहासनको अगाडि उभिने थिए तर सिंहासनमा बस्ने भने थिएनन्‌।

७. बाइबल विद्यार्थीहरू येसुको हजार वर्षीय शासनको दौडान पृथ्वीमा को बाँच्नेछ भनेर विश्‍वास गर्थे? पहिलेका वफादार जनहरूबारे तिनीहरू के विश्‍वास गर्थे?

त्यसोभए पृथ्वीमा चाहिँ को बस्ने थिए? सबै १ लाख ४४ हजार वफादार जनहरू र ठूलो भीडलाई स्वर्ग लगिसकेपछि येसुको हजार वर्षीय शासनको दौडान अरू लाखौँ मानिस भने पृथ्वीमा आनन्दित भई बाँच्नेछन्‌ भनेर बाइबल विद्यार्थीहरू विश्‍वास गर्थे। येसुको शासन सुरु हुनुअघि यी मानिसहरूले परमेश्‍वरको सेवा गर्छन्‌ भनेर बाइबल विद्यार्थीहरूले आशा गरेका थिएनन्‌। बरु यिनीहरूलाई येसुको हजार वर्षीय शासन सुरु भएपछि यहोवाका स्तरहरूबारे सिकाइनेछ भनेर सोचेका थिए। त्यसपछि यहोवाको स्तरअनुसार जीवन बिताउने छनौट गर्नेहरूले अनन्त जीवन पाउने थिए भने उहाँको स्तर नस्विकार्नेहरूचाहिँ नाश हुने थिए। साथै त्यतिबेला पृथ्वीमा “शासक”-को रूपमा सेवा गरिरहेका मानिसहरू हजार वर्षको अन्तमा स्वर्गमा लगिनेछन्‌ भन्‍ने तिनीहरूलाई लाग्थ्यो। ती “शासक”-हरूको समूहमा येसु पृथ्वीमा आउनुअघि मरेर फेरि जीवित भएका वफादार जनहरू पनि पर्छन्‌ भनेर तिनीहरू सोच्थे।—भज. ४५:१६.

८. बाइबल विद्यार्थीहरूको विचारमा परमेश्‍वरले राख्नुभएको उद्देश्‍यमा कुन तीन समूह पर्थे?

यसरी बाइबल विद्यार्थीले तीन वटा समूह छन्‌ भनेर सोचेका थिए: (१) स्वर्गमा येसुसँगै शासन गर्ने १ लाख ४४ हजार वफादार जनहरू (२) स्वर्गमा येसुको सिंहासनअगाडि उभिने कम जोसिला ख्रिष्टियनहरूको ठूलो भीड (३) येसुको हजार वर्षीय शासनको दौडान यहोवाका स्तरहरूबारे सिकाइने अरू लाखौँ मानिसहरू। * तर यहोवाले आफ्नो समयमा सत्यको ज्योति झन्‌झनै चहकिलो बनाउनुभयो।—हितो. ४:१८.

सत्यको ज्योति झन्‌झनै चहकिलो भयो

सन्‌ १९३५ को अधिवेशनमा पृथ्वीमा जिउने आशा राख्दै थुप्रैले बप्तिस्मा गरे (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. (क) पृथ्वीमा रहेको ठूलो भीड कुन अर्थमा “सिंहासन र पाठोको अगाडि” उभिने थियो? (ख) प्रकाश ७:९ को यो बुझाइ किन तर्कसङ्‌गत छ?

युहन्‍नाले दर्शनमा देखेको ठूलो भीडको अर्थ सन्‌ १९३५ मा स्पष्ट पारियो। ठूलो भीडका सदस्यहरू “सिंहासन र पाठोको अगाडि” उभिन तिनीहरू प्रत्यक्ष रूपमा स्वर्गमा उपस्थित हुनु आवश्‍यक छैन भनेर यहोवाका साक्षीहरूले बुझे। बरु तिनीहरू लाक्षणिक अर्थमा “सिंहासन र पाठोको अगाडि” उभिने थिए। पृथ्वीमा रहे तापनि यहोवाको अख्तियारको अधीनमा रहेर अनि उहाँको सार्वभौमिकता स्विकारेर तिनीहरू ‘सिंहासनको अगाडि’ उभिने थिए। (यसै. ६६:१) साथै येसुले दिनुभएको फिरौतीको बलिदानमा विश्‍वास गरेर तिनीहरू “पाठोको अगाडि” उभिने थिए। त्यसैगरि, मत्ति २५:३१, ३२ मा गौरवशाली सिंहासनमा बसिरहनुभएका येसुको अगाडि “सबै जाति भेला गराइनेछन्‌” भनेर बताइएको छ र यसमा दुष्टहरू पनि समावेश छन्‌। तर यी सबै जाति स्वर्गमा नभई पृथ्वीमै छन्‌। त्यसैले ठूलो भीडको बुझाइबारे गरिएको यो छाँटकाँट तर्कसङ्‌गत छ। बाइबलले किन ठूलो भीडलाई स्वर्ग लगिने कुरा बताएको छैन भनेर बुझ्न यसले मदत गर्छ। एउटै समूह अर्थात्‌ १ लाख ४४ हजारलाई मात्रै स्वर्गमा अनन्त जीवन दिइने प्रतिज्ञा गरिएको छ, जसले येसुसँगै “राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।”—प्रका. ५:१०.

१०. ठूलो भीडले किन येसुको हजार वर्षीय शासन सुरु हुनुअघि नै यहोवाका स्तरहरूबारे सिकिसकेको हुनुपर्ने थियो?

१० सन्‌ १९३५ देखि यहोवाका साक्षीहरूले के कुरा बुझे भने, युहन्‍नाले दर्शनमा देखेको ठूलो भीड पृथ्वीमा सधैँभरि बाँच्ने आशा भएका वफादार ख्रिष्टियनहरू मिलेर बनेको छ। महासङ्‌कष्ट पार गर्न ठूलो भीडले येसुको हजार वर्षीय शासन सुरु हुनुअघि नै यहोवाका स्तरहरूबारे सिकेर ती पालन गरेको हुनुपर्ने थियो। येसुको हजार वर्षीय शासनअघि हुने “टार्नै नसकिने . . . कुराहरूबाट उम्कन” तिनीहरूले बलियो विश्‍वास प्रकट गर्नुपर्ने थियो।—लुका २१:३४-३६.

११. ख्रिष्टको हजार वर्षीय शासनपछि केहीलाई स्वर्गमा लगिने सम्भावना छ भनेर बाइबल विद्यार्थीहरूले किन सोचेका हुन सक्छन्‌?

११ पृथ्वीमा भएका केही उदाहरणीय विश्‍वासी जनहरूलाई ख्रिष्टको हजार वर्षीय शासनपछि स्वर्ग लगिने कुरा नि? फेब्रुअरी १५, १९१३ अङ्‌कको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) त्यस सम्भावनाबारे चर्चा गरिएको थियो। तर त्यो कुरा विचार गर्दा यस्तो प्रश्‍न उठ्‌न सक्थ्यो: ‘प्राचीन समयका वफादार जनहरूले चाहिँ केवल पृथ्वीमा जीवन पाउने तर परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी नभएका ख्रिष्टियनहरूले भने स्वर्गीय जीवनको इनाम पाउने कुरा तर्कसङ्‌गत छ र?’ वास्तवमा दुई वटा गलत बुझाइले गर्दा त्यस्तो प्रश्‍न उठ्‌न सक्थ्यो: (१) ठूलो भीड स्वर्गमा बस्नेछ भन्‍ने बुझाइ र (२) ठूलो भीड कम जोसिला ख्रिष्टियनहरू मिलेर बन्‍नेछ भन्‍ने बुझाइ।

१२-१३. आफूले पाउने इनामबारे अभिषिक्‍त ख्रिष्टियन र ठूलो भीडका सदस्यहरू दुवैले कुन कुरा बुझेका छन्‌?

१२ तर हामीले विचार गरेझैँ, आरमागेडोन पार गर्नेहरू नै युहन्‍नाले दर्शनमा देखेको ठूलो भीड हुन्‌ भनेर सन्‌ १९३५ देखि यहोवाका साक्षीहरूले स्पष्टसित बुझिसकेका छन्‌। तिनीहरू “महासङ्‌कष्ट पार गरेर” यसै पृथ्वीमा रहन्छन्‌ अनि “तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्‌: ‘सिंहासनमा बस्नुहुने हाम्रा परमेश्‍वरबाट अनि पाठोबाट हामीले उद्धार पाउँछौँ।’” (प्रका. ७:१०, १४) साथै, फेरि जीवित भएर स्वर्गमा जीवन पाउनेहरूले प्राचीन समयका वफादार जनहरूले भन्दा “अझ उत्तम कुरा” पाउँछन्‌ भनेर बाइबल बताउँछ। (हिब्रू ११:४०) यो कुरा बुझेपछि पृथ्वीमा सधैँभरि बाँच्ने आशा राख्दै यहोवाको सेवा गर्न हाम्रा दाजुभाइ दिदीबहिनीहरूले मानिसहरूलाई उत्साहित हुँदै निम्तो दिन थाले।

१३ ठूलो भीडका सदस्यहरू आफूले पाएको आशामा रमाउँछन्‌। यहोवाका वफादार सेवकहरूले स्वर्गमा रहेर उहाँको सेवा गर्ने हुन्‌ वा पृथ्वीमा, त्यो कुराको निर्णय उहाँले नै गर्नुहुन्छ भनी तिनीहरूले बुझेका छन्‌। येसु ख्रिष्टको फिरौतीद्वारा परमेश्‍वरले देखाउनुभएको असीम अनुग्रहले गर्दा मात्रै इनाम पाउन सम्भव भएको हो भन्‍ने कुरा अभिषिक्‍त ख्रिष्टियन र ठूलो भीडका सदस्यहरू दुवैले बुझेका छन्‌।—रोमी ३:२४.

ठूलो सङ्‌ख्या

१४. सन्‌ १९३५ पछि ठूलो भीडबारे गरिएको भविष्यवाणी कसरी पूरा होला भनेर थुप्रैले सोच्नुको कारण के थियो?

१४ सन्‌ १९३५ मा यहोवाका जनहरूको बुझाइमा छाँटकाँट भएपछि पनि थुप्रैको मनमा एउटा प्रश्‍न बाँकी थियो: ‘पृथ्वीमै जिउने आशा भएकाहरूको सङ्‌ख्या कसरी ठूलो होला र?’ उदाहरणको लागि, ठूलो भीडको अर्थ स्पष्ट पारिँदा रोनाल्ड पार्किन १२ वर्षका थिए। तिनी भन्छन्‌: “त्यसबेला संसारभरि लगभग ५६ हजार प्रकाशक थिए अनि तीमध्ये धेरैजसो त अभिषिक्‍त ख्रिष्टियन थिए। त्यसैले ठूलो भीड त्यति ठूलो देखिँदैन थियो।”

१५. ठूलो भीड जम्मा गर्ने काम कसरी निरन्तर अघि बढिरहेको छ?

१५ तर त्यसपछिका दशकहरूमा थुप्रै देशहरूमा मिसनरीहरू पठाइयो अनि यहोवाका साक्षीहरूको सङ्‌ख्यामा निरन्तर वृद्धि भइरह्‍यो। त्यसपछि १९६८ मा अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्‌ग्रेजी) किताबबाट बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइयो। त्यस किताबमा बाइबल सत्यलाई सरल तरिकाले बुझाइएको थियो र त्यसले पहिलेभन्दा पनि अझ धेरै नम्र मानिसहरूलाई सत्यतर्फ आकर्षित गऱ्‍यो। चार वर्षभित्र पाँच लाखभन्दा धेरै चेलाहरूले बप्तिस्मा गरे। दक्षिण अमेरिका र अरू देशहरूमा क्याथोलिक चर्चको पकड कमजोर हुँदै गएपछि अनि पूर्वी युरोप र अफ्रिकाका केही देशहरूमा हाम्रो काममाथि लागेका प्रतिबन्धहरू हटाइएपछि अरू लाखौँले पनि बप्तिस्मा गरे। (यसै. ६०:२२) हालैका वर्षहरूमा यहोवाको सङ्‌गठनले मानिसहरूलाई बाइबलको कुरा सिकाउन अरू पनि थुप्रै प्रभावकारी साधन उपलब्ध गराएको छ। हो, एउटा ठूलो भीड जम्मा भएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। अहिले त्यस भीडमा ८० लाखभन्दा धेरै मानिसहरू छन्‌।

ठूलो भीडको विविधता

१६. ठूलो भीड कसरी जम्मा भइरहेको छ?

१६ युहन्‍नाले देखेको दर्शनअनुसार ठूलो भीडका सदस्यहरू “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” हुने थिए। भविष्यवक्‍ता जकरियाले पनि पहिला त्यस्तै भविष्यवाणी गरेका थिए। तिनले यस्तो लेखे: “ती दिनहरूमा विभिन्‍न भाषा बोल्ने जातिजातिका दस जना मानिसले एक जना यहुदीको लुगा च्याप्प समात्नेछन्‌ र यसो भन्‍नेछन्‌: ‘हामी तपाईँहरूसितै जान्छौँ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।’”—जक. ८:२३.

१७. सबै राष्ट्र र भाषाका मानिसहरूलाई प्रचार गर्न अहिले कस्तो काम भइरहेको छ?

१७ विभिन्‍न भाषा बोल्ने मानिसहरूलाई जम्मा गर्न थुप्रै भाषामा सुसमाचार प्रचार गर्नुपर्ने हुन्छ भनेर यहोवाका साक्षीहरूले बुझेका छन्‌। यहोवाको सङ्‌गठनले विगत १३० वर्षभन्दा लामो समयदेखि बाइबल अध्ययन सामग्रीहरू अनुवाद गर्दै आइरहेको छ र अहिले इतिहासमै सबैभन्दा व्यापक रूपमा सयौँ भाषामा अनुवादको काम भइरहेको छ। यो आधुनिक समयमा यहोवाले गर्नुभएको चमत्कार हो भन्‍ने कुरामा दुई मत छैन। हो, उहाँले सबै राष्ट्रबाट एउटा ठूलो भीड जम्मा गर्दै हुनुहुन्छ! आध्यात्मिक भोजन दिनदिनै अझ धेरै भाषामा उपलब्ध भइरहेको छ; त्यसैले ठूलो भीडका सदस्यहरू संसारभरि छरिएर रहेको भए तापनि एकताबद्ध भई यहोवाको उपासना गरिरहेका छन्‌। यहोवाका साक्षीहरू जोसका साथ प्रचार गर्ने र आफ्ना दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्ने मानिसहरू भनेर चिनिन्छन्‌। यी कुराहरू विचार गर्दा हाम्रो विश्‍वास पक्कै बलियो हुन्छ।—मत्ति २४:१४; युह. १३:३५.

यस दर्शनले हाम्रो लागि कस्तो अर्थ राख्छ?

१८. (क) यसैया ४६:१०, ११ अनुसार यहोवाले ठूलो भीडबारे गरिएको भविष्यवाणी पूरा गर्नुभएकोमा हामी किन छक्क पर्दैनौँ? (ख) पृथ्वीमा जीवन पाउने आशा भएकाहरू किन आफू कुनै कुराबाट वञ्चित भएको महसुस गर्दैनन्‌?

१८ ठूलो भीडबारे गरिएको भविष्यवाणी विचार गर्दा हामी साँच्चै उत्साहित छौँ। यहोवाले यो भविष्यवाणी अद्‌भुत तरिकामा पूरा गर्नुभएको देख्दा हामी छक्क पर्दैनौँ। (यसैया ४६:१०, ११ पढ्‌नुहोस्‌) ठूलो भीडका सदस्यहरू यहोवाले दिनुभएको आशाको लागि एकदमै कृतज्ञ छन्‌। येसुसँगै स्वर्गमा शासन गर्नको लागि अभिषिक्‍त नभएकोमा ठूलो भीडका सदस्यहरू आफू कुनै कुराबाट वञ्चित भएको महसुस गर्दैनन्‌। बाइबलमा हामी पवित्र शक्‍तिको डोऱ्‍याइ पाएर ठूलठूला काम गरेका थुप्रै विश्‍वासी पुरुष र स्त्रीबारे लेखिएको पाउँछौँ तर तिनीहरू १ लाख ४४ हजारमध्ये पर्दैनन्‌। यसको एउटा उदाहरण बप्तिस्मा गराउने युहन्‍ना हुन्‌। (मत्ति ११:११) अर्का उदाहरण दाउद हुन्‌। (प्रेषि. २:३४) यी र अरू थुप्रै मानिस प्रमोदवनमा परिणत भएको यसै पृथ्वीमा जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌। त्यतिबेला तिनीहरू सबैले ठूलो भीडसँगै यहोवाको अख्तियारको अधीनमा बस्ने र उहाँको सार्वभौमिकता स्विकारेर उहाँप्रति वफादारी देखाउने मौका पाउनेछन्‌।

१९. युहन्‍नाले देखेको ठूलो भीडको दर्शन अहिले पूरा भइरहेको कुरा विचार गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौँ?

१९ यसअघि मानव इतिहासमा परमेश्‍वरले कहिल्यै पनि सबै राष्ट्रका लाखौँ मानिसलाई जम्मा गर्नुभएको थिएन। चाहे हाम्रो आशा स्वर्गमा जिउने होस्‌ वा पृथ्वीमा, हामीले सकेसम्म धेरै मानिसलाई “अरू भेडा”-को ठूलो भीडमा सामेल हुन मदत गर्नुपर्छ। (युह. १०:१६) यहोवाले भविष्यवाणी गर्नुभएअनुसारै चाँडै उहाँले महासङ्‌कष्ट ल्याउनुहुनेछ, जसले मानिसजातिलाई पिरोलिरहेको मानव सरकार र धर्महरूलाई नाश गर्नेछ। ठूलो भीडका सबै सदस्यले पृथ्वीमा रहेर सधैँभरि यहोवाको सेवा गर्ने सुअवसर पाउनेछन्‌!—प्रका. ७:१४.

गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!

^ अनु. 5 “ठूलो भीड”-लाई जम्मा गर्ने विषयमा युहन्‍नाले देखेको दर्शनबारे यस लेखमा छलफल गरिनेछ। यसले पृथ्वीमा सधैँभरि बाँच्ने सुन्दर आशा पाएकाहरूको विश्‍वास पक्कै बलियो बनाउनेछ।

^ अनु. 8 यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी) पृष्ठ १५९-१६३ हेर्नुहोस्‌।