सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३८

“मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”

“मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”

“हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु।”—मत्ति ११:२८.

गीत १७ “म इच्छा गर्छु”

परिचय *

१. मत्ति ११:२८-३० मा येसुले कस्तो प्रतिज्ञा गर्नुभयो?

येसुले आफ्नो कुरा सुनिरहेको भीडसित एउटा मनमोहक प्रतिज्ञा गर्नुभयो। उहाँले यसो भन्‍नुभयो, “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु।” (मत्ति ११:२८-३० पढ्‌नुहोस्‌) यो प्रतिज्ञा केवल शब्दमा मात्र सीमित थिएन। उदाहरणको लागि, येसुले गम्भीर रोग लागेकी स्त्रीलाई निको पार्नुहुँदाको घटना सम्झनुहोस्‌।

२. येसुले बिरामी स्त्रीको लागि के गरिदिनुभयो?

ती स्त्रीलाई मदतको आवश्‍यकता थियो। निको हुने आशामा तिनी थुप्रै डाक्टरकहाँ गइसकेकी थिइन्‌। तिनलाई रोगले सताएको १२ वर्ष भइसकेको थियो। मोसाको व्यवस्थाअनुसार तिनी अशुद्ध थिइन्‌। (लेवी १५:२५) येसुले बिरामीलाई निको पार्न सक्नुहुन्छ भनेर थाह पाएपछि तिनी उहाँलाई खोज्न निस्किइन्‌। उहाँलाई भेटेपछि तिनले उहाँको लुगाको किनारको फुर्का छोइन्‌ अनि तुरुन्तै निको भइन्‌। येसुले तिनलाई निको मात्र पार्नु भएन तर उहाँले गर्नुभएको व्यवहारले गर्दा तिनले आदर अनि माया पाएको महसुस गरिन्‌। उदाहरणको लागि, तिनीसित बोल्नुहुँदा उहाँले “नानी” भन्‍ने न्यानो र आदरपूर्ण शब्द चलाउनुभयो। यो सुनेर ती स्त्रीले पक्कै पनि स्फूर्ति पाएको महसुस गरिन्‌ होली।—लुका ८:४३-४८.

३. यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे विचार गर्नेछौँ?

येसु ती स्त्रीकहाँ आउनुभएको थिएन। उहाँकहाँ जान सुरुमा तिनले नै प्रयत्न गरेकी थिइन्‌। आज पनि कुरा त्यही हो, हामीले पनि येसुकहाँ ‘जान’ प्रयत्न गर्नुपर्छ। अहिले येसुले आफूकहाँ ‘आउनेहरूको’ रोगबिमार चमत्कारपूर्ण ढङ्‌गमा निको पार्नुहुन्‍न। तर आज पनि उहाँले हामीलाई “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु” भनेर निम्तो दिनुभएको छ। यस लेखमा हामी पाँच वटा प्रश्‍नको जवाफ पाउनेछौँ: हामी कसरी येसुकहाँ ‘जान’ सक्छौँ? “मेरो जुवा बोक” भन्‍नुहुँदा येसुले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? येसुबाट हामी के सिक्न सक्छौँ? उहाँले हामीलाई दिनुभएको काम किन स्फूर्तिदायी छ? येसुको जुवामुनि रहेर हामी कसरी स्फूर्ति पाइरहन सक्छौँ?

“मकहाँ आओ”

४-५. येसुकहाँ ‘जाने’ केही तरिका के-के हुन्‌?

येसुकहाँ ‘जाने’ एउटा तरिका भनेको उहाँले भन्‍नुभएका अनि गर्नुभएका कुराहरूबारे सकेजति धेरै अध्ययन गरेर हो। (लुका १:१-४) यो हाम्रोलागि कसैले गरिदिने कुरा होइन। बप्तिस्मा गरेर येसुको चेला बन्‍ने निर्णय गरेर पनि हामी उहाँकहाँ ‘जान्छौँ।’

येसुकहाँ ‘जाने’ अर्को तरिका, आवश्‍यक पर्दा मण्डलीका एल्डरहरूसँग मदत मागेर हो। आफ्ना भेडाहरूको हेरचाह गर्न येसुले “वरदानको रूपमा पुरुषहरू” प्रयोग गर्नुहुन्छ। (एफि. ४:७, ८, ११; युह. २१:१६; १ पत्रु. ५:१-३) एल्डरहरूसँग मदत माग्नको लागि पहिला हामीले कदम चाल्नुपर्छ। एल्डरहरूले हाम्रो आवश्‍यकता आफै बुझिदिएको हामी आशा गर्न सक्दैनौँ। जुलियन नाम गरेका एक भाइ भन्छन्‌: “स्वास्थ्य समस्याको कारण मैले बेथेल सेवा छोड्‌नुपऱ्‍यो। मेरो एक जना साथीले मलाई एल्डरहरूसँग गोठालो भेटको लागि अनुरोध गर्न सल्लाह दिए। सुरुमा त मलाई त्यसको आवश्‍यकता छैन जस्तो लागेको थियो। तैपनि मैले अनुरोध गरेँ। त्यो भेट मेरो लागि अनमोल उपहार साबित भयो।” जुलियनलाई भेटेका दुई जना वफादार एल्डरहरूले जस्तै अरू एल्डरहरूले पनि हामीलाई “ख्रिष्टको सोचाइ” बुझ्न मदत गर्न सक्छन्‌। अर्थात्‌ उहाँको सोच्ने तरिका र मनोवृत्ति बुझ्न मदत गर्न सक्छन्‌। (१ कोरि. २:१६; १ पत्रु. २:२१) एल्डरहरूको यस्तो मदत हाम्रो लागि अनमोल उपहार साबित हुन सक्छ।

“मेरो जुवा बोक”

६. “मेरो जुवा बोक” भन्‍नुहुँदा येसुले के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

येसुले “मेरो जुवा बोक” भन्‍नुको अर्थ “मेरो अख्तियार स्वीकार” भन्‍नुभएको हुन सक्छ। अथवा उहाँले “मसँगै जुवा बोक अनि हामी सँगै मिलेर यहोवाको सेवा गरौँ” भन्‍नुभएको पनि हुन सक्छ। जेहोस्‌, “जुवा बोक” भन्‍ने अभिव्यक्‍तिले हामीले गर्नुपर्ने कामलाई बुझाउँछ।

७. मत्ति २८:१८-२० अनुसार हामीलाई कुन काम दिइएको छ? अनि हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

यहोवालाई जीवन समर्पण गरेर बप्तिस्मा गर्दा हामीले येसुको निम्तो स्विकारिरहेका हुन्छौँ। येसुले यो निम्तो सबैलाई दिनुभएको छ। वफादार भई परमेश्‍वरको सेवा गर्न चाहने जो केहीलाई पनि उहाँ स्वीकार गर्नुहुन्छ। (युह. ६:३७, ३८) यहोवाले येसुलाई दिनुभएको काममा येसुका सबै चेलाहरूले सघाउने सुअवसर पाएका छन्‌। अनि यो काममा हामीलाई मदत गर्न येसु सधैँ हाम्रो साथमा हुनुहुन्छ भनेर ढुक्क हुन सक्छौँ।मत्ति २८:१८-२० पढ्‌नुहोस्‌।

“मबाट सिक”

येसुले जस्तै अरूलाई स्फूर्ति दिनुहोस्‌ (अनुच्छेद ८-११ हेर्नुहोस्‌) *

८-९. नम्र मानिसहरू किन येसुको नजिक जान रुचाउँथे? हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

नम्र मानिसहरू येसुको नजिक जान रुचाउँथे। (मत्ति १९:१३, १४; लुका ७:३७, ३८) किन? येसु र फरिसीहरूबीच कस्ता भिन्‍नताहरू थिए, विचार गरौँ। ती धर्मगुरुहरू कठोर अनि अहङ्‌कारी थिए। (मत्ति १२:९-१४) तर येसु दयालु अनि नम्र हुनुहुन्थ्यो। फरिसीहरू महत्त्वाकाङ्‌क्षी थिए र आफ्नो उच्च ओहदाको घमन्ड गर्थे। तर येसुले महत्त्वाकाङ्‌क्षी मनोवृत्तिको खण्डन गर्नुभयो र आफूलाई अरूको सेवक ठान्‍न आफ्ना चेलाहरूलाई सिकाउनुभयो। (मत्ति २३:२, ६-११) फरिसीहरू अरूलाई डर अनि धम्की देखाएर दबाउँथे। (युह. ९:१३, २२) तर येसुले कामद्वारा प्रेम देखाएर अनि दयालु शब्दद्वारा स्फूर्ति दिनुभयो।

के तपाईँ येसुको अनुकरण गर्दै हुनुहुन्छ? आफैलाई सोध्नुहोस्‌: ‘के म कोमल स्वभावको अनि नम्र व्यक्‍ति भनेर चिनिन्छु? के म सानो ठानिने काम पनि खुसीसाथ गरेर अरूको सेवा गर्छु? के म अरूप्रति दयालु छु?’

१०. येसुका सहकर्मीहरूलाई उहाँसँग काम गर्न कस्तो लाग्थ्यो?

१० येसुका सहकर्मीहरू उहाँसँग काम गर्न सजिलो मान्थे र उहाँ तिनीहरूलाई खुसीसाथ तालिम दिनुहुन्थ्यो। (लुका १०:१, १९-२१) उहाँ आफ्ना चेलाहरूलाई प्रश्‍न सोध्न हौसला दिनुहुन्थ्यो। साथै उहाँ तिनीहरूलाई प्रश्‍न सोध्नुहुन्थ्यो अनि तिनीहरूको कुरा सुन्‍न इच्छुक हुनुहुन्थ्यो। (मत्ति १६:१३-१६) बिरुवाको राम्ररी हेरचाह गर्दा त्यो मौलाएजस्तै येसुबाट शिक्षा पाएर चेलाहरूले उन्‍नति गरे र असल कामहरू गरेर प्रशस्त फल फलाए।

नजिकिन सजिलो अनि मित्रैलो हुनुहोस्‌

सक्रिय अनि जोसिलो हुनुहोस्‌

नम्र अनि मेहनती हुनुहोस्‌ *

११. हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

११ के तपाईँ अख्तियार पाएको व्यक्‍ति हुनुहुन्छ? यदि हुनुहुन्छ भने, आफैलाई सोध्नुहोस्‌: ‘म काम गर्ने ठाउँमा वा घरमा अरूसित कस्तो व्यवहार गर्छु? के म शान्तिमय वातावरण कायम गर्छु? के म अरूलाई प्रश्‍न सोध्न हौसला दिन्छु र तिनीहरूको विचार सुन्‍न इच्छुक हुन्छु?’ हामी कहिल्यै पनि ती फरिसीहरूजस्तो हुन चाहँदैनौँ, जो मानिसहरूले प्रश्‍न उठाउँदा क्रोधित हुन्थे र उनीहरूको भन्दा फरक विचार व्यक्‍त गर्ने मानिसहरूलाई सताउँथे।—मर्कु. ३:१-६; युह. ९:२९-३४.

“तिमीहरूले स्फूर्ति पाउनेछौ”

१२-१४. येसुले हामीलाई दिनुभएको काम किन स्फूर्तिदायी छ?

१२ येसुले हामीलाई दिनुभएको काम किन स्फूर्तिदायी छ? त्यसका थुप्रै कारण छन्‌, तीमध्ये केही विचार गरौँ।

१३ हामीले सबैभन्दा असल निरीक्षकहरू पाएका छौँ। हाम्रो सर्वोच्च निरीक्षक यहोवा हुनुहुन्छ। उहाँ कृतघ्न अनि क्रूर मालिक हुनुहुन्‍न। हामीले गर्ने कामको उहाँ कदर गर्नुहुन्छ। (हिब्रू ६:१०) आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न उहाँ हामीलाई आवश्‍यक बल दिनुहुन्छ। (२ कोरि. ४:७; गला. ६:५, फुटनोट) हाम्रा राजा येसुले हाम्रो लागि राम्रो नमुना बसाल्नुभएको छ। (युह. १३:१५) साथै हाम्रो हेरचाह गर्ने एल्डरहरू पनि “महान्‌ गोठाला” येसुको नमुना पछ्याउने प्रयास गर्छन्‌। (हिब्रू १३:२०; १ पत्रु. ५:२) तिनीहरू दयालु हुँदै अनि प्रोत्साहन दिँदै हामीलाई सिकाउँछन्‌ र साहसी हुँदै हामीलाई जोगाउन कदम चाल्छन्‌।

१४ हामीले सबैभन्दा असल मित्रहरू पाएका छौँ। हामीले जस्तो अर्थपूर्ण काम अनि हामीले जस्तो माया गर्ने मित्रहरू संसारमा अरू कसैले पनि पाएका छैनन्‌। विचार गर्नुहोस्‌ त, हामीले एकदमै उच्च नैतिक स्तरअनुसार जिउने तर पनि आफूलाई अरूभन्दा धर्मी नठान्‍ने मानिसहरूसित सङ्‌गत गर्ने मौका पाएका छौँ। तिनीहरूसित थुप्रै सीप छ तैपनि तिनीहरू नम्र छन्‌ अनि अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छन्‌। तिनीहरू हामीलाई सहकर्मी मात्र नभई मित्रको रूपमा हेर्छन्‌। अनि त्यो बन्धन यति बलियो छ कि आवश्‍यक परेमा तिनीहरू हाम्रो लागि ज्यान दिन पनि तयार हुन्छन्‌।

१५. आफूले गरिरहेको कामप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

१५ हामीले सबैभन्दा उत्तम काम पाएका छौँ। हामी मानिसहरूलाई यहोवाबारे सत्य कुरा सिकाउँछौँ अनि सैतानले फैलाएको झूटको पर्दाफास गर्छौँ। (युह. ८:४४) सैतानले मानिसहरूलाई निराश तुल्याउने झूटको भार बोकाउँछ। उदाहरणको लागि, यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुन्‍न र उहाँ हामीलाई कहिल्यै प्रेम गर्नुहुन्‍न भन्‍ने झूट हामीले पत्याएको त्यो चाहन्छ। यस्तो झूटले मानिसहरूलाई पक्कै निरुत्साहित बनाउँछ! हामी ख्रिष्टकहाँ ‘जाँदा’ हाम्रा पापहरू क्षमा हुन्छन्‌। अनि साँचो कुरा के हो भने यहोवा हामी सबैलाई धेरै प्रेम गर्नुहुन्छ। (रोमी ८:३२, ३८, ३९) मानिसहरूलाई यहोवामा भर पर्न मदत गर्नु अनि तिनीहरूले आफ्नो जीवनमा उन्‍नति गरेको देख्न पाउनु साँच्चै खुसीको कुरा हो!

येसुको जुवामुनि रहेर स्फूर्ति पाइरहनुहोस्‌

१६. येसुले हामीलाई बोक्न अह्राउनुभएको भारी हामीले बोक्नै पर्ने अरू भारीभन्दा कसरी फरक छ?

१६ येसुले हामीलाई बोक्न अह्राउनुभएको भारी हामीले बोक्नै पर्ने अरू भारीभन्दा फरक छ। उदाहरणको लागि, दिनभरिको कामपछि प्रायः मानिसहरू थकित मात्र नभई असन्तुष्ट पनि महसुस गर्छन्‌। तर त्यसको विपरीत यहोवा र येसुको सेवामा समय बिताएपछि हामी गहिरो सन्तुष्टि महसुस गर्छौँ। सायद दिनभरि काम गरेर थाकेपछि साँझको सभामा जान हामीलाई गाह्रो लाग्न सक्छ। तर सभामा उपस्थित भएपछि हामीले पुनः स्फूर्ति अनि ताजगी पाएको महसुस गर्छौँ। प्रचार गर्ने अनि व्यक्‍तिगत अध्ययन गर्ने सन्दर्भमा पनि कुरा त्यही हो। हामीले पाउने इनाम हामीले खर्च गर्ने शक्‍तिभन्दा कता हो कता धेरै हुन्छ!

१७. हामीले आफ्नो अवस्थाबारे कुन कुरा बिर्सनु हुँदैन अनि कुन कुरामा विचार पुऱ्‍याउनुपर्छ?

१७ हामी प्रत्येकसँग सीमित शक्‍ति हुन्छ भन्‍ने कुरा बिर्सनु हुँदैन। त्यसैले आफ्नो शक्‍ति कुन कुरामा खर्च गर्दै छौँ भनेर हामीले विचार पुऱ्‍याउनुपर्छ। उदाहरणको लागि, भौतिक सरसामान जुटाउनमै हामीले आफ्नो शक्‍ति खर्च गरिरहेका हुन सक्छौँ। “अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?” भनेर सोध्ने धनी जवान मानिसलाई येसुले के भन्‍नुभयो, विचार गर्नुहोस्‌। त्यस जवान मानिसले व्यवस्था पालन गरिरहेको थियो। त्यो जवान मानिस असल व्यक्‍ति भएको हुनुपर्छ किनभने उसलाई देखेर येसुको “मनमा माया पलायो” भनेर मर्कुसको सुसमाचारले तोकेरै बताएको छ। येसुले त्यस जवान मानिसलाई एउटा निम्तो दिनुभयो। ‘आफूसित भएको चिजबिज बेच अनि आएर मेरो पछि लाग’ भनेर येसुले भन्‍नुभयो। त्यो मानिस येसुको पछि लाग्न चाहन्थ्यो तर उसले आफूसँग भएको “धेरै धनसम्पत्ति” छोड्‌न सकेन जस्तो देखिन्छ। (मर्कु. १०:१७-२२) त्यसैले उसले येसुको जुवा बोक्न इन्कार गऱ्‍यो अनि ‘धनसम्पत्तिको’ दास बनिरहने निर्णय गऱ्‍यो। (मत्ति ६:२४) त्यस जवान मानिसको ठाउँमा तपाईँ भएको भए के गर्नुहुने थियो?

१८. हामीले बेला-बेलामा के गर्नुपर्छ र किन?

१८ जीवनमा कुन कुरालाई प्राथमिकता दिइरहेका छौँ भनेर हामीले बेला-बेलामा केलाउनु राम्रो हो। किन? आफूसित भएको शक्‍ति बुद्धिमानी तरिकाले प्रयोग गरिरहेका छौँ कि छैनौँ भनेर पक्का गर्न। मार्क नाम गरेका जवान भाइ यसो भन्छन्‌: “वर्षौँसम्म मलाई आफूले सरल जीवन बिताइरहेको छु जस्तो लाग्थ्यो। म अग्रगामी सेवा गरिरहेको थिएँ तर मेरो ध्यान सधैँ पैसा कमाउने अनि अझै आरामदायी जीवन बिताउने कुरामा केन्द्रित थियो। आफू असन्तुष्ट हुनुको कारण के होला भनेर म थाह पाउन चाहन्थेँ। त्यसपछि मैले के महसुस गरेँ भने, म प्रायजसो आफ्नै इच्छा पूरा गर्ने कुराको पछि लागिरहेको रहेछु अनि बचेखुचेको समय र शक्‍ति मात्रै यहोवालाई दिइरहेको रहेछु।” मार्कले आफ्नो सोचाइ र जीवनशैलीमा छाँटकाँट गरे अनि यहोवाको सेवामा अझ धेरै समय बिताउन थाले। मार्क भन्छन्‌, “मलाई कहिलेकाहीँ चिन्ता त लाग्छ तर यहोवाको मदत अनि येसुको साथ पाएर सही कुरामा ध्यान केन्द्रित गर्न सकेको छु।”

१९. सही दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ?

१९ येसुको जुवामुनि रहेर स्फूर्ति पाइरहन हामीलाई तीन वटा कुराले मदत गर्छ: पहिलो, सही दृष्टिकोण राख्नुहोस्‌। हामी यहोवाको काम गरिरहेका छौँ त्यसैले त्यो काम उहाँकै तरिकाअनुसार गर्नुपर्छ। हामी सेवक हौँ अनि यहोवा मालिक हुनुहुन्छ। (लुका १७:१०) यदि हामी उहाँको काम आफ्नै तरिकाले गर्छौँ भने उहाँको जुवाविरुद्ध गइरहेका हुन्छौँ। शक्‍तिशाली साँढेले पनि आफ्नो मालिकप्रति अटेरी हुँदै जुवामुनि नबसी आफूलाई जता मन लाग्यो त्यता जान खोजिरह्‍यो भने त्यसलाई चोट लाग्न सक्छ अनि छिटै थाक्न सक्छ। तर अर्कोतर्फ, यदि यहोवाको डोऱ्‍याइअनुसार चल्यौँ भने आफूलाई असम्भवजस्तो लागेका कामहरू पनि गर्न सक्नेछौँ अनि जस्तोसुकै बाधा-अवरोध पनि पार गर्न सक्नेछौँ। उहाँले सोच्नुभएको कुरा पूरा हुनदेखि कसैले पनि रोक्न सक्दैन भन्‍ने कुरा सधैँ याद राख्नुहोस्‌।—रोमी ८:३१; १ युह. ४:४.

२०. हामी येसुको जुवामुनि आउनुको मनसाय के हुनुपर्छ?

२० दोस्रो, सही मनसाय राखेर काम गर्नुहोस्‌। हाम्रो उद्देश्‍य भनेको हाम्रो मायालु बुबा यहोवाको प्रशंसा गर्नु हो। स्वार्थी चाहनाले येसुको पछि लागेका प्रथम शताब्दीका मानिसहरू छिट्टै निराश भए अनि येसुको जुवा त्यागे। (युह. ६:२५-२७, ५१, ६०, ६६; फिलि. ३:१८, १९) तर त्यसको विपरीत, परमेश्‍वरप्रतिको र छिमेकीप्रतिको निःस्वार्थ प्रेमले उत्प्रेरित भएका मानिसहरूले खुसीसाथ जीवनभर त्यो जुवा बोके अनि ख्रीष्टसँगै स्वर्गमा सेवा गर्ने आशा पाए। सही मनसाय राखेर येसुको जुवा बोक्यौँ भने तिनीहरूजस्तै हामी पनि खुसी भइरहनेछौँ।

२१. मत्ति ६:३१-३३ अनुसार हामी यहोवाबाट कस्तो आशा गर्न सक्छौँ?

२१ तेस्रो, उचित किसिमको आशा गर्नुहोस्‌। हामीले रोजेको जीवन आत्म-त्याग र परिश्रमको जीवन हो। हामीले खेदोको सामना गर्नुपर्नेछ भनेर येसुले चेतावनी दिनुभएको थियो। तर जस्तोसुकै चुनौतीको सामना गर्न यहोवाले बल दिनुहुनेछ भनेर हामी आशा गर्न सक्छौँ। हामी जति धेरै सहन्छौँ, त्यति नै बलियो हुनेछौँ। (याकु. १:२-४) साथै यहोवाले हाम्रा आवश्‍यकताहरू पूरा गरिदिनुहुनेछ, येसुले गोठालोलेझैँ हाम्रो हेरविचार गर्नुहुनेछ अनि हाम्रा दाजुभाइ दिदीबहिनीले हामीलाई प्रोत्साहन दिनेछन्‌ भनेर पनि हामी आशा गर्न सक्छौँ। (मत्ति ६:३१-३३ पढ्‌नुहोस्‌; युह. १०:१४; १ थिस्स. ५:११) हामीलाई अरू के नै चाहिन्छ र!

२२. हामी केको लागि आनन्दित हुन सक्छौँ?

२२ येसुले निको पार्नुभएको बिरामी स्त्रीले आफू निको भएकै दिन स्फूर्ति पाइन्‌। तर ती स्त्री येसुको वफादार चेला बनेकी भए मात्रै सधैँभरि स्फूर्ति पाइरहने थिइन्‌। ती स्त्रीले के गरिन्‌ जस्तो तपाईँलाई लाग्छ? येसुको जुवामुनि आउने निर्णय गरेकी भए उनले कति ठूलो इनाम पाउने थिइन्‌, कल्पना गर्नुहोस्‌। उनले येसुसँगै स्वर्गमा सेवा गर्ने सुअवसर पाउने थिइन्‌! येसुको चेला बन्‍न उनले गरेको कुनै पनि त्याग त्यस आशिष्‌को अगाडि केही मोलको हुने थिएन। हाम्रो आशा चाहे स्वर्गमा सधैँभरि बाँच्ने होस्‌ वा पृथ्वीमा, येसुले “मकहाँ आओ” भनेर दिनुभएको निम्तो स्विकारेकोमा अपार आनन्द महसुस गर्न सक्छौँ!

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

^ अनु. 5 येसुले हामीलाई उहाँकहाँ आउन निम्तो दिनुभएको छ। उहाँको निम्तो स्विकार्नुमा के-के समावेश छ? यस लेखले यस प्रश्‍नको जवाफ दिनेछ अनि येसुको निर्देशनअनुसार चल्दा हामीले कसरी स्फूर्ति पाउन सक्छौँ भनेर बताउनेछ।

^ अनु. 60 चित्रको व्याख्या: येसुले अरूलाई थुप्रै तरिकामा स्फूर्ति दिनुभयो।

^ अनु. 66 चित्रको व्याख्या: येसुजस्तै एक भाइ अरूको लागि विभिन्‍न तरिकामा स्फूर्तिको स्रोत बन्छन्‌।