सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३७

खुसीसाथ यहोवाको अधीनमा बस्नुहोस्‌—किन र कसरी?

खुसीसाथ यहोवाको अधीनमा बस्नुहोस्‌—किन र कसरी?

“हामी . . . बुबाको झन्‌ अधीनमा बस्नुपर्दैन र?”—हिब्रू १२:९.

गीत ९ यहोवा हाम्रा राजा!

परिचय *

१. हामी किन यहोवाको अधीनमा बस्नुपर्छ?

यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले हामी उहाँको अधीनमा * बस्नुपर्छ। हाम्रो सृष्टिकर्ताको हैसियतमा उहाँसित हाम्रो लागि स्तरहरू तोक्ने अधिकार छ। (प्रका. ४:११) उहाँको आज्ञा पालन गर्न हामीलाई उत्प्रेरित गर्ने अर्को कारण पनि छ—उहाँको शासन गर्ने तरिका सबैभन्दा उत्तम छ। मानव इतिहास केलाउने हो भने थुप्रै मानव शासकले अरूमाथि केही हदसम्म अख्तियार र प्रभुत्व जमाउँदै आएका छन्‌। ती शासकहरूको तुलनामा यहोवा सबैभन्दा बुद्धिमान्‌ अनि सबैभन्दा मायालु, कृपालु र दयालु शासक हुनुहुन्छ।—प्रस्थ. ३४:६; रोमी १६:२७; १ युह. ४:८.

२. हिब्रू १२:९-११ मा हामी यहोवाको अधीनमा बस्नुपर्ने कस्ता कारणहरू पाउँछौँ?

यहोवाको डरले गर्दा नभई उहाँलाई प्रेम गरेकोले अनि आफ्नो मायालु बुबा ठानेकोले हामीले उहाँको आज्ञा पालन गरेको उहाँ चाहनुहुन्छ। हामी ‘बुबाको अधीनमा बस्नुपर्छ’ किनकि उहाँले “हाम्रै फाइदाको लागि” हामीलाई तालिम दिनुहुन्छ भनेर प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रमा बताए।हिब्रू १२:९-११ पढ्‌नुहोस्‌।

३. (क) यहोवाको अधीनमा बसेको कुरा हामी कसरी देखाउँछौँ? (ख) हामी कुन-कुन प्रश्‍नको जवाफ केलाउनेछौँ?

जीवनको हर क्षेत्रमा उहाँको आज्ञा पालन गर्न सकेजति कोसिस गरेर अनि आफ्नै बुद्धिमा भर पर्ने झुकावविरुद्ध लडेर हामी यहोवाको अधीनमा बस्छौँ। (हितो. ३:५) यहोवाका सुन्दर गुणहरूबारे सिक्दै जाँदा हामीलाई उहाँको अधीनमा बस्न अझै सजिलो लाग्न थाल्छ। किन? किनकि उहाँले गर्नुहुने हरेक काममा ती सुन्दर गुणहरू झल्किन्छ। (भज. १४५:९) हामी यहोवाबारे जति धेरै सिक्छौँ, त्यति नै उहाँलाई प्रेम गर्न थाल्छौँ। अनि यहोवालाई प्रेम गर्न थालेपछि हामीलाई के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्‍ने कुराको लामो सूची चाहिँदैन। हामी जे असल छ, त्यसैअनुरूप आफ्नो सोचाइ र भावनालाई ढाल्ने कोसिस गर्छौँ अनि जे खराब छ, त्यसबाट अलग रहने कोसिस गर्छौँ। (भज. ९७:१०) तर कहिलेकाहीँ हामीलाई यहोवाको आज्ञा पालन गर्न गाह्रो लाग्न सक्छ। किन? साथै एल्डरहरू, बुबाहरू अनि आमाहरूले राज्यपाल नहेम्याह, राजा दाउद अनि येसुकी आमा मरियमको उदाहरणबाट के सिक्न सक्छन्‌? यस लेखले यी प्रश्‍नहरूले जवाफ दिनेछ।

यहोवाको अधीनमा बस्न किन गाह्रो हुन सक्छ?

४-५. रोमी ७:२१-२३ अनुसार यहोवाको अधीनमा बस्न किन गाह्रो हुन सक्छ?

यहोवाको अधीनमा बस्न हामीलाई गाह्रो बनाउन सक्ने एउटा कुरा भनेको हामी सबै जन्मजात पापी र त्रुटिपूर्ण छौँ। त्यसैले हामीसित परमेश्‍वरको अधीनमा बस्न नचाहने झुकाव छ। आदम र हव्वाले परमेश्‍वरको विद्रोह गर्दै उहाँले निषेध गर्नुभएको फल खाएर आफ्नो लागि आफै स्तर तोक्ने निर्णय गरे। (उत्प. ३:२२) आज पनि अधिकांश मानिसहरू यहोवालाई बेवास्ता गर्ने अनि आफ्नो लागि के असल हो र के खराब हो भनेर आफैले निर्णय गर्ने छनौट गर्छन्‌।

यहोवालाई चिन्‍ने र उहाँलाई प्रेम गर्नेहरूलाई समेत पूर्णतया उहाँको अधीनमा बस्न गाह्रो हुन सक्छ। प्रेषित पावलले पनि यस्तै अनुभव गरे। (रोमी ७:२१-२३ पढ्‌नुहोस्‌) पावलजस्तै हामी पनि यहोवाको नजरमा जे सही छ, त्यही गर्न चाहन्छौँ। तर हामी गलत काम गर्ने झुकावविरुद्ध निरन्तर लडिरहनुपर्छ।

६-७. यहोवाको अधीनमा बस्न हामीलाई गाह्रो बनाउन सक्ने अर्को कुरा के हो? एउटा उदाहरण दिनुहोस्‌।

हामी हुर्किएको समाजले पारेको प्रभावले गर्दा पनि हामीलाई यहोवाको अधीनमा बस्न गाह्रो हुन सक्छ। धेरैजसो मानव सोचाइ परमेश्‍वरको इच्छासित बाझिन्छ त्यसैले आम मानिसहरूको जस्तो सोचाइ नराख्न हामीले निरन्तर सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ। यसको एउटा उदाहरण विचार गरौँ।

कुनै-कुनै ठाउँमा युवाहरूलाई अक्सर प्रशस्त धनसम्पत्ति कमाउनुलाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाउन दबाब दिइन्छ। अनिता * नाम गरेकी बहिनीले यस्तै चुनौती सामना गरिन्‌। यहोवाबारे सिक्नुअघि उनी आफ्नो देशको एकदमै नाम चलेको विद्यालयमा पढ्‌ने गर्थिन्‌। अनितालाई उनको परिवारले प्रशस्त नाम-दाम कमाउने पेसा अपनाउन दबाब दियो। सुरुमा तिनको इच्छा पनि त्यस्तै थियो। तर यहोवाबारे सिकेर उहाँलाई प्रेम गर्न थालेपछि भने तिनले आफ्ना लक्ष्यहरू परिवर्तन गरिन्‌। तैपनि तिनी यसो भन्छिन्‌: “कहिलेकाहीँ प्रशस्त कमाइ हुने व्यापार गर्ने मौका आउँछ तर त्यसले आध्यात्मिक तालिकामा भने बाधा पुऱ्‍याउँछ। मेरो पृष्ठभूमिले गर्दा मलाई त्यस्ता अवसरहरू इन्कार गर्न अझै पनि गाह्रो लाग्छ। म यहोवालाई व्यग्र प्रार्थना गर्छु र उहाँको सेवामा बाधा पुऱ्‍याउने किसिमको काम स्विकार्ने प्रलोभन आउँदा त्यसलाई तिरस्कार गर्न मदत माग्छु।”—मत्ति ६:२४.

८. अब हामी कुन कुरा विचार गर्नेछौँ?

यहोवाको अधीनमा बस्दा हाम्रै भलाइ हुन्छ। तर यहोवाबाट केही अख्तियार पाएकाहरू, जस्तै एल्डरहरू, बुबाहरू र आमाहरूसित यहोवाको निर्देशन पछ्याउनुपर्ने थप कारण छ: तिनीहरूले अरूलाई मदत गर्ने सुअवसर पाएका छन्‌। यहोवाबाट पाएको अख्तियार उहाँलाई खुसी पार्ने तरिकामा कसरी चलाउने भनेर बुझ्न मदत गर्ने बाइबलका केही उदाहरण विचार गरौँ।

एल्डरहरूले नहेम्याहबाट के सिक्न सक्छन्‌?

जसरी नहेम्याहले यरुसलेमको पुनर्निर्माण गर्ने काममा आफैले भाग लिएका थिए, त्यसैगरि एल्डरहरू राज्यभवनमा गरिने कामहरूमा भाग लिन्छन्‌ (अनुच्छेद ९-११ हेर्नुहोस्‌) *

९. नहेम्याहले कस्ता चुनौतीहरू सामना गरे?

यहोवाले आफ्ना जनहरूलाई गोठालोले झैँ हेरचाह गर्ने महत्त्वपूर्ण जिम्मेवारी एल्डरहरूलाई सुम्पनुभएको छ। (१ पत्रु. ५:२) नहेम्याहले यहोवाका जनहरूसित गरेको व्यवहारबाट एल्डरहरूले थुप्रै कुरा सिक्न सक्छन्‌। यहुदाको राज्यपालको रूपमा नहेम्याहले ठूलो अख्तियार पाएका थिए। (नहे. १:११; २:७, ८; ५:१४) नहेम्याहले सामना गर्नुपरेका केही चुनौतीहरूबारे विचार गर्नुहोस्‌। मानिसहरूले मन्दिरलाई अपवित्र पारेका थिए अनि व्यवस्थामा आज्ञा गरिएबमोजिम मानिसहरूले लेवीहरूलाई कुनै भौतिक मदत दिइरहेका थिएनन्‌। यहुदीहरू विश्रामदिन उल्लङ्‌घन गरिरहेका थिए अनि केही पुरुषले विदेशी स्त्रीहरूसित विवाह गरेका थिए। राज्यपाल नहेम्याहले यस्तो जटिल परिस्थिति सम्हाल्नुपरेको थियो।—नहे. १३:४-३०.

१०. आफूले सामना गर्नुपरेका चुनौतीहरूप्रति नहेम्याहले कस्तो प्रतिक्रिया देखाए?

१० नहेम्याहले परमेश्‍वरका जनहरूमाथि आफ्नै स्तरहरू थोपरेर अख्तियारको दुरुपयोग गरेनन्‌। त्यसको विपरीत तिनले यहोवालाई व्यग्र प्रार्थना गरेर उहाँको डोऱ्‍याइ खोजे अनि मानिसहरूलाई यहोवाको व्यवस्था सिकाए। (नहे. १:४-१०; १३:१-३) साथै नहेम्याहले नम्र हुँदै आफ्ना दाजुभाइहरूलाई यरुसलेमको पर्खाल पुनर्निर्माण गर्ने काममा समेत सघाए।—नहे. ४:१५.

११. पहिलो थिस्सलोनिकी २:७, ८ अनुसार एल्डरहरूले मण्डलीका भाइबहिनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ?

११ एल्डरहरूले नहेम्याहको जस्तो चुनौतीहरू त सामना गर्नुपर्दैन होला तर तिनीहरूले थुप्रै तरिकामा तिनको अनुकरण गर्न सक्छन्‌। उदाहरणको लागि, तिनीहरू आफ्ना भाइबहिनीलाई मदत गर्न निकै मेहनत गर्छन्‌। अनि आफूले पाएको अख्तियारको कारण तिनीहरू आफूलाई अरूभन्दा उच्च सम्झँदैनन्‌। बरु तिनीहरू मण्डलीका भाइबहिनीहरूसित कोमल व्यवहार गर्छन्‌। (१ थिस्सलोनिकी २:७, ८ पढ्‌नुहोस्‌) तिनीहरू भाइबहिनीप्रतिको गहिरो प्रेम र नम्र मनोभावले उत्प्रेरित भएर उनीहरूसित दयालु तरिकामा कुराकानी गर्छन्‌। अरुण नाम गरेका एक अनुभवी एल्डर यसो भन्छन्‌: “कुनै एल्डरले मनैदेखि दयालु व्यवहार गर्दा अनि न्यानोपना व्यक्‍त गर्दा त्यसले अक्सर भाइबहिनीको मन छुन्छ भनेर मैले महसुस गरेको छु। अनि एल्डरहरूले देखाउने त्यस्ता गुणहरूले मण्डलीलाई एल्डरहरूसित हातेमालो गर्दै सेवा गर्न उत्प्रेरित गर्छ।” लामो समयदेखि एल्डरको रूपमा सेवा गरेका अर्का भाइ सुमन भन्छन्‌: “म फिलिप्पी २:३ मा दिइएको सल्लाह लागू गर्न प्रयास गर्दै अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍न प्रयत्न गरिरहन्छु। त्यसले मलाई भाइबहिनीसित तानासाहले जस्तो व्यवहार नगर्न सधैँ सजग बनाइरहन्छ।”

१२. एल्डरहरू नम्र हुनु किन जरुरी छ?

१२ यहोवाजस्तै एल्डरहरू पनि नम्र हुनुपर्छ। यहोवा ब्रह्‍माण्डका सार्वभौम शासक हुनुभए तापनि “उहाँ दीनदुःखीलाई धुलोबाट” उठाउन “निहुरिनुहुन्छ।” (भज. १८:३५; ११३:६, ७) वास्तवमा यहोवा घमन्डी र अहङ्‌कारीहरूलाई घृणा गर्नुहुन्छ।—हितो. १६:५.

१३. एल्डरहरूले किन ‘आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउनुपर्छ?’

१३ यहोवाको अधीनमा बस्ने एल्डरले ‘आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउनुपर्छ।’ नत्र अरूले तिनको आदर गर्न चुक्दा तिनले कठोर बोली बोल्न सक्छन्‌। (याकु. १:२६; गला. ५:१४, १५) अगाडि उल्लेख गरिएका अरुण भन्छन्‌: “कुनै भाइ वा बहिनीले मसित अनादरपूर्ण व्यवहार गरेको जस्तो लाग्दा कहिलेकाहीँ उनीहरूलाई कठोर जवाफ दिऊँ जस्तो लाग्छ। तर बाइबलमा उल्लेख गरिएका वफादार व्यक्‍तिहरूको उदाहरणमा मनन गर्दा त्यसले मलाई नम्र हुनुको महत्त्व बुझ्न मदत गरेको छ।” सङ्‌गी एल्डरलगायत मण्डलीका अरू सबैसित मायालु अनि दयालु तरिकाले कुरा गरेर एल्डरहरू यहोवाको अधीनमा बसेको कुरा देखाउँछन्‌।—कल. ४:६.

बुबाहरूले राजा दाउदबाट के सिक्न सक्छन्‌?

१४. यहोवाले बुबाहरूलाई कस्तो जिम्मेवारी दिनुभएको छ र तिनीहरूले के गरेको उहाँ चाहनुहुन्छ?

१४ यहोवाले बुबाहरूलाई परिवारको शिरको रूपमा नियुक्‍त गर्नुभएको छ र तिनले आफ्ना छोराछोरीलाई तालिम र अनुशासन दिएको उहाँ चाहनुहुन्छ। (१ कोरि. ११:३; एफि. ६:४) तर परिवारमा बुबाको अख्तियारको एउटा सीमा छ—तिनले यहोवालाई लेखा दिनुपर्छ, जसद्वारा “हरेक परिवारले नाम पाएको छ।” (एफि. ३:१४, १५) यहोवालाई खुसी लाग्ने तरिकामा आफ्नो अख्तियार प्रयोग गरेर बुबाहरूले यहोवाको अधीनमा बसेको कुरा देखाउँछन्‌। राजा दाउदको जीवनबारे अध्ययन गरेर बुबाहरूले थुप्रै कुरा सिक्न सक्छन्‌।

ख्रिष्टियन बुबाले गर्ने प्रार्थनाबाट तिनी नम्र छन्‌ भन्‍ने कुरा प्रकट हुनुपर्छ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌) *

१५. राजा दाउदले बुबाहरूका लागि राम्रो उदाहरण बसाले भनेर किन भन्‍न सक्छौँ?

१५ यहोवाले दाउदलाई तिनको परिवारको मात्र होइन, सारा इस्राएल राष्ट्रको शिरको रूपमा नियुक्‍त गर्नुभयो। राजाको रूपमा दाउदले निकै अख्तियार पाएका थिए। कहिलेकाहीँ तिनले त्यो अख्तियारको दुरुपयोग गरेर गम्भीर गल्तीहरू गरे। (२ समु. ११:१४, १५) तर यहोवाको अनुशासन स्विकारेर तिनले उहाँको अधीनमा बसेको कुरा देखाए। तिनले प्रार्थनामा यहोवालाई आफ्नो मनको बह पोखे। अनि यहोवाले दिनुभएको सल्लाह लागू गर्न तिनले भरमग्दुर प्रयास गरे। (भज. ५१:१-४) साथै तिनले पुरुषहरूबाट मात्र नभई स्त्रीहरूबाट पाएका राम्रा सुझावहरू पनि लागू गरेर आफू नम्र भएको देखाए। (१ समु. १९:११, १२; २५:३२, ३३) आफूले गरेका गल्तीहरूबाट दाउदले पाठ सिके र यहोवाको सेवालाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बनाए।

१६. बुबाहरूले दाउदबाट कस्ता पाठहरू सिक्न सक्छन्‌?

१६ बुबाहरूले राजा दाउदबाट सिक्न सक्ने केही पाठहरू विचार गरौँ। यहोवाले तपाईँलाई दिनुभएको अख्तियारको दुरुपयोग नगर्नुहोस्‌। आफूबाट गल्ती हुँदा त्यो मानिलिनुहोस्‌ र अरूले दिएको बाइबलआधारित सल्लाह स्विकार्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँको नम्रता देखेर परिवारका सदस्यहरूले तपाईँलाई आदर गर्नेछन्‌। परिवारसँगै मिलेर प्रार्थना गर्दा आफ्नो मनको बह यहोवालाई पोखाउनुहोस्‌। यसो गर्दा तपाईँ उहाँमा कत्ति धेरै भर पर्नुहुन्छ भनेर तिनीहरूले सुन्‍नेछन्‌। अनि मुख्य कुरा, यहोवाको सेवालाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बनाउनुहोस्‌। (व्यव. ६:६-९) तपाईँले आफ्नो परिवारलाई दिन सक्ने एउटा उत्तम उपहार भनेको तपाईँको राम्रो उदाहरण हो।

आमाहरूले मरियमबाट के सिक्न सक्छन्‌?

१७. यहोवाले आमाहरूलाई कस्तो भूमिका दिनुभएको छ?

१७ यहोवाले आमाहरूलाई परिवारमा मर्यादित भूमिका दिनुभएको छ। अनि उहाँले तिनीहरूलाई आफ्ना छोराछोरीमाथि केही अख्तियार पनि दिनुभएको छ। (हितो. ६:२०) वास्तवमा आमाले आफ्ना छोराछोरीमा गहिरो प्रभाव पार्न सक्छिन्‌ र त्यो तिनीहरूमा जीवनभर रहिरहन सक्छ। (हितो. २२:६) येसुकी आमा मरियमबाट आमाहरूले के सिक्न सक्छन्‌, विचार गर्नुहोस्‌।

१८-१९. मरियमको उदाहरणबाट आमाहरूले के सिक्न सक्छन्‌?

१८ मरियमलाई धर्मशास्त्रका कुराहरू राम्ररी थाह थियो। तिनले आफ्नो मनमा यहोवाप्रतिको गहिरो आदर विकास गरेकी थिइन्‌ र उहाँसित व्यक्‍तिगत रूपमा घनिष्ठ मित्रता गाँसेकी थिइन्‌। यहोवाको निर्देशनअनुसार चल्दा आफ्नो पूरै जीवन परिवर्तन गर्नुपर्ने भए तापनि तिनी त्यसो गर्न तयार भइन्‌।—लुका १:३५-३८, ४६-५५.

थकाइ लागेको बेला वा रिस उठेको बेला एउटी आमाले आफ्नो परिवारका सदस्यहरूलाई प्रेम देखाउन निकै प्रयत्न गर्नुपर्ने हुन सक्छ (अनुच्छेद १९ हेर्नुहोस्‌) *

१९ आमाहरू हो, तपाईँहरू थुप्रै तरिकामा मरियमको अनुकरण गर्न सक्नुहुन्छ। कसरी? पहिलो तरिका, व्यक्‍तिगत बाइबल पढाइ अनि व्यक्‍तिगत प्रार्थनाद्वारा यहोवासितको आफ्नो मित्रता बलियो बनाइराखेर। दोस्रो तरिका, यहोवालाई खुसी पार्न आफ्नो जीवनमा छाँटकाँट गर्न तयार भएर। उदाहरणको लागि, तपाईँका आमाबुबा तुरुन्तै रिसाइहाल्ने स्वभावका थिए होलान्‌ वा तपाईँसित रुखो बोली बोल्ने गर्थे होलान्‌ अनि तपाईँ त्यस्तै वातावरणमा हुर्कनुभयो होला। त्यसैले छोराछोरीसित त्यसरी नै व्यवहार गर्नुपर्छ जस्तो तपाईँलाई लाग्न सक्छ। यहोवाका स्तरहरूबारे सिकिसकेपछि पनि तपाईँलाई आफ्ना छोराछोरीसित शान्त अनि धीरजी हुँदै व्यवहार गर्न गाह्रो लाग्न सक्छ। तपाईँ थकित भएको बेलामा छोराछोरी अट्टेरी भए भने त्यसो गर्न झनै गाह्रो हुन सक्छ। (एफि. ४:३१) त्यस्ता अवस्थाहरूमा तपाईँ यहोवामा भर पर्नु एकदमै महत्त्वपूर्ण छ। लिला नाम गरेकी एउटी आमा यसो भन्छिन्‌: “कहिलेकाहीँ छोराले मैले भनेको नमान्दा ऊसित नझर्किनको लागि मैले व्यग्र प्रार्थना गर्नुपरेको छ। कहिलेकाहीँ त छोरासित बोल्दा-बोल्दै बीचैमा रोकिएर मनमनै यहोवालाई प्रार्थना गरेर उहाँसित मदत मागेकी छु। प्रार्थना गर्दा म शान्त रहन मदत पाउँछु।”—भज. ३७:५.

२०. केही आमाहरूले कस्तो चुनौतीको सामना गर्छन्‌ अनि त्यसलाई कसरी पार लगाउन सकिन्छ?

२० केही आमाहरूले भने अर्कै किसिमको चुनौती सामना गर्छन्‌। तिनीहरूलाई आफ्ना छोराछोरीप्रतिको प्रेम व्यक्‍त गर्न गाह्रो लाग्छ। (ति. २:३, ४) केही आमाहरू आमाबुबा र छोराछोरीबीच न्यानो पारिवारिक सम्बन्ध नभएको परिवारमा हुर्केका हुन्छन्‌। यदि तपाईँ पनि त्यस्तै परिवारमा हुर्कनुभएको थियो भने आफ्ना आमाबुबाले गरेको गल्तीलाई तपाईँले पनि दोहोऱ्‍याउनु पर्छ भन्‍ने छैन। यहोवाको अधीनमा बस्ने आमाले आफ्ना छोराछोरीप्रतिको प्रेम कसरी व्यक्‍त गर्ने भनेर सिक्नुपर्ने हुन सक्छ। तिनलाई आफ्नो सोचाइ, भावना अनि काममा परिवर्तन ल्याउन गाह्रो लाग्न सक्छ। तर त्यसो गर्न असम्भव छैन अनि त्यस्तो परिवर्तन गर्दा तिनले र तिनको परिवारले लाभ उठाउनेछ।

यहोवाको अधीनमा बसिरहनुहोस्‌

२१-२२. यसैया ६५:१३, १४ अनुसार यहोवाको अधीनमा बस्दा हामीलाई कस्ता फाइदाहरू हुन्छन्‌?

२१ यहोवाको अधीनमा बस्नु किन फाइदाजनक छ भनेर राजा दाउदलाई थाह थियो। तिनले यस्तो लेखे: “यहोवाको आदेश न्यायी छ, त्यसले मनलाई आनन्दित बनाउँछ। यहोवाको आज्ञा चोखो छ, त्यसले आँखालाई चमक दिन्छ। यीबाटै तपाईँको दासले चेतावनी पाउँछ; यी पालन गरे प्रशस्तै इनाम पाइन्छ।” (भज. १९:८, ११) आज हामी यहोवाको अधीनमा बस्नेहरू अनि उहाँको मायालु सल्लाहलाई तिरस्कार गर्नेहरूबीचको भिन्‍नता देख्न सक्छौँ। यहोवाको अधीनमा बस्नेहरूको ‘मन खुसी हुन्छ र तिनीहरूले जयजयकार गर्छन्‌।’यसैया ६५:१३, १४ पढ्‌नुहोस्‌।

२२ एल्डरहरू, बुबाहरू र आमाहरू खुसीसाथ यहोवाको अधीनमा बस्दा तिनीहरूको जीवन अझ राम्रो हुन्छ, तिनीहरूको परिवार अझै आनन्दित हुन्छ अनि पूरै मण्डलीको एकता अझै बलियो हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले यहोवाको हृदयलाई खुसी बनाइरहेका हुन्छन्‌। (हितो. २७:११) योभन्दा ठूलो आशिष्‌ अरू के होला र!

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

^ अनु. 5 हामी किन यहोवाको अधीनमा बस्नुपर्छ भनेर यस लेखमा छलफल गर्नेछौँ। साथै एल्डरहरू, बुबाहरू र आमाहरू, जसले यहोवाबाट केही अख्तियार पाएका छन्‌, उनीहरूले राज्यपाल नहेम्याह, राजा दाउद र येसुकी आमा मरियमबाट के सिक्न सक्छन्‌ भनेर पनि विचार गर्नेछौँ।

^ अनु. 1 थप व्याख्या: बाध्यताले कसैको आज्ञा पालन गर्नुपरेका मानिसहरूले अधीनमा बस्नु अधीनता शब्दलाई नकारात्मक अर्थमा लिन सक्छन्‌। तर परमेश्‍वरका जनहरू भने स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन्‌। त्यसैले अधीनमा बस्ने धारणालाई तिनीहरू नकारात्मक अर्थमा लिँदैनन्‌।

^ अनु. 7 यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

^ अनु. 62 चित्रको व्याख्या: जसरी नहेम्याहले यरुसलेमको पर्खाल पुनर्निर्माण गर्ने काममा आफैले भाग लिएका थिए, त्यसैगरि एक जना एल्डर आफ्नो छोरासँगै मिलेर राज्यभवन मर्मतकार्यमा भाग लिन्छन्‌।

^ अनु. 64 चित्रको व्याख्या: एक जना बुबा आफ्नो परिवारको तर्फबाट यहोवालाई मनैदेखि प्रार्थना गर्छन्‌।

^ अनु. 66 चित्रको व्याख्या: एउटा केटो घण्टौँसम्म भिडियो गेम खेल्छ। उसले आफ्नो काम र स्कुलको होमवर्क सिध्याएको छैन। उसकी आमा दिनभरिको कामले थाकेकी छिन्‌ तैपनि तिनी नझर्कीकन अनि कठोर बोली नबोलीकन उसलाई अनुशासन दिन्छिन्‌।