सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३५

यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ

यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ

“यहोवा . . . नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ।”—भज. १३८:६.

गीत ४८ दिनहुँ परमेश्‍वरसित हिँडौँ!

परिचय *

१. नम्र मानिसहरूबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ? व्याख्या गर्नुहोस्‌।

नम्र मानिसहरूलाई यहोवा प्रेम गर्नुहुन्छ। जो साँच्चै नम्र छन्‌, त्यस्ता मानिसहरूले मात्र यहोवासित न्यानो अनि व्यक्‍तिगत सम्बन्ध गाँस्न सक्छन्‌। तर “अहङ्‌कारीहरूबाट भने उहाँ टाढै रहनुहुन्छ।” (भज. १३८:६) हामी सबै जना यहोवालाई खुसी बनाउन चाहन्छौँ र उहाँको न्यानो प्रेम महसुस गर्न चाहन्छौँ। त्यसैले आफूमा नम्रता विकास गर्नुपर्ने सशक्‍त कारण हामीसित छ भन्‍न सक्छौँ।

२. यस लेखमा हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौँ?

यस लेखमा हामी यी तीन वटा प्रश्‍नको जवाफ विचार गर्नेछौँ: (१) नम्र हुनु भनेको के हो? (२) हामीले किन नम्रता विकास गर्नुपर्छ? (३) कस्ता परिस्थितिहरूले गर्दा हाम्रो नम्रताको जाँच हुन सक्छ? नम्रता विकास गऱ्‍यौँ भने हामीले यहोवाको हृदयलाई खुसी बनाउनुका साथै आफैलाई पनि लाभ पुऱ्‍याइरहेका हुन्छौँ भनेर यस लेखबाट बुझ्नेछौँ।—हितो. २७:११; यसै. ४८:१७.

नम्र हुनु भनेको के हो?

३. नम्र हुनु भनेको के हो?

नम्र हुनु भनेको आफूलाई अरूभन्दा सानो सम्झनु अनि धन, मान, पद आदिको घमन्ड नहुनु हो। बाइबलले देखाएअनुसार नम्र मानिसले आफ्नो तुलनामा यहोवा कता हो कता महान्‌ हुनुहुन्छ भनेर बुझेको हुन्छ र अरू मानिसको कदर गर्छ। नम्र मानिसले अरूलाई आफूभन्दा कुनै न कुनै तरिकामा श्रेष्ठ ठान्छ।—फिलि. २:३, ४.

४-५. साँचो नम्रता बाहिरबाट देखिने कुरा मात्र होइन भनेर किन भन्‍न सक्छौँ?

केही मानिसहरू बाहिरबाट हेर्दा नम्र छन्‌ जस्तो देखिन सक्छ। तिनीहरू शान्त अनि लजालु स्वभावका हुन सक्छन्‌। अथवा आफ्नो संस्कृति र आमाबुबाबाट पाएको तालिमले गर्दा अरूलाई आदर देखाउन वा शिष्टतापूर्वक व्यवहार गर्न सिकेका हुन सक्छन्‌। तर भित्रभित्रै भने तिनीहरू निकै घमन्डी हुन सक्छन्‌। ढिलो होस्‌ वा चाँडो, त्यस्ता मानिसहरूले आफ्नो मनभित्र वास्तवमा के छ भन्‍ने कुरा प्रकट गरिहाल्छन्‌।—लुका ६:४५.

अर्कोतर्फ नडराइ बोल्ने अनि आफ्नो कुरा धक नमानी बताउने मानिसहरू घमन्डी हुन्छन्‌ भन्‍ने छैन। (युह. १:४६, ४७) तैपनि खुलेर कुरा गर्न सक्ने अनि अरूसित घुलमिल हुन सक्ने मानिसहरू आफ्नो क्षमतामा भर पर्नदेखि होसियार हुनुपर्छ। चाहे हामी खुलेर कुरा गर्ने स्वभावका होऔँ वा शान्त अनि लजालु स्वभावका, हामी सबैले भित्री हृदयदेखि नम्र हुन कडा प्रयत्न गर्नुपर्छ।

प्रेषित पावल नम्र थिए, तिनले आफूलाई उच्च तुल्याएनन्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌) *

६. पहिलो कोरिन्थी १५:१० विचार गर्दा प्रेषित पावलको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

प्रेषित पावलको उदाहरण विचार गरौँ। यहोवाले तिनलाई एकपछि अर्को सहरमा गएर थुप्रै नयाँ मण्डलीहरू स्थापना गर्ने विशेष सुअवसर दिनुभयो। तिनले प्रचारकार्यमा सायद येसु ख्रिष्टका अरू सबै चेलाहरूले भन्दा धेरै टेवा पुऱ्‍याए। तैपनि तिनले आफ्ना भाइहरूसामु आफूलाई उच्च पार्ने कोसिस गरेनन्‌। तिनले नम्र हुँदै यसो भने: “प्रेषितहरूमध्ये म सबैभन्दा सानो हुँ र म प्रेषित भनिन लायक पनि छैनँ किनभने मैले परमेश्‍वरको मण्डलीको खेदो गरेँ।” (१ कोरि. १५:९) त्यसपछि आफ्ना गुणहरूले गर्दा वा आफूले गरेका कामहरूले गर्दा नभई परमेश्‍वरको असीम अनुग्रहले गर्दा उहाँको अनुमोदन पाउन सकेको हुँ भनेर तिनले बताए, जुन सही कुरा थियो। (१ कोरिन्थी १५:१० पढ्‌नुहोस्‌) कोरिन्थको मण्डलीका कसै-कसैले आफूलाई पावलभन्दा उत्कृष्ट साबित गर्न खोजिरहेका थिए। तैपनि पावलले कोरिन्थीहरूलाई लेखेको पत्रमा आफूलाई उच्च देखाउने कोसिस गरेनन्‌। यसबाट हामी नम्र हुनेबारे साँच्चै राम्रो पाठ सिक्न सक्छौँ नि, होइन र?—२ कोरि. १०:१०.

कार्ल एफ. क्लाइन, परिचालक निकायको सदस्यको रूपमा सेवा गर्नुभएका एक नम्र भाइ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. आधुनिक समयका केही प्रख्यात भाइहरूले कसरी नम्रता देखाएका छन्‌? एउटा उदाहरण दिनुहोस्‌।

परिचालक निकायको सदस्यको रूपमा सेवा गर्नुभएका भाइ कार्ल एफ. क्लाइनको जीवनी पढेर थुप्रै भाइबहिनीले प्रोत्साहन पाएका छन्‌। आफ्नो जीवनीमा उहाँले वर्षौँको दौडान आफूलाई सामना गर्न गाह्रो लागेका विभिन्‍न चुनौतीहरूबारे नम्र हुँदै बताउनुभएको छ। उदाहरणको लागि, १९२० को दशकमा घरघरको प्रचार गर्न उहाँलाई एकदमै गाह्रो लागेको थियो र पहिलो पटक प्रचार गएपछि त्यसको लगभग दुई वर्षसम्म प्रचारै नगएको कुरा उहाँले बताउनुभयो। पछि बेथेल सेवाको दौडान निरीक्षकबाट सल्लाह पाउँदा उहाँले केही समयको लागि मनमा रिस पालेर राखिरहेको कुरा पनि स्विकार्नुभयो। त्यसका साथै केही समयको लागि उहाँले आफ्नो मानसिक सन्तुलन गुमाउनुभयो तर पछि उहाँ निको हुनुभयो। तर उहाँले थुप्रै विशेष सुअवसरहरू पनि पाउनुभयो। उहाँजस्तो प्रख्यात भाइलाई सबैसामु आफ्ना कमजोरीहरू स्विकार्न कत्ति ठूलो नम्रता चाहियो होला! थुप्रै भाइबहिनीलाई भाइ कार्ल क्लाइन र उहाँले खुलेर बताउनुभएको जीवनी सम्झँदा खुसी लाग्छ। *

हामीले किन नम्रता विकास गर्नुपर्छ?

८. पहिलो पत्रुस ५:६ ले हामी नम्र हुँदा यहोवा खुसी हुनुहुन्छ भन्‍ने कुरा कसरी देखाउँछ?

हामीले नम्रता विकास गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कारण भनेको यसले यहोवा परमेश्‍वरलाई खुसी बनाउँछ। प्रेषित पत्रुसले यो कुरा स्पष्टसित बताए। (१ पत्रुस ५:६ पढ्‌नुहोस्‌) पत्रुसका यी शब्दहरूबारे “आएर मेरो पछि लाग” (अङ्‌ग्रेजी) किताब यसो भन्छ: “अहङ्‌कार भनेको विषजस्तै हो। यसले भयावह असर पुऱ्‍याउन सक्छ। यो यस्तो दुर्गुण हो, जसले एकदमै क्षमतावान्‌ मानिसलाई पनि परमेश्‍वरको नजरमा बेकम्मा साबित गरिदिन्छ। अर्कोतर्फ नम्रताले भने जतिसुकै तुच्छ देखिने मानिसलाई पनि परमेश्‍वरको नजरमा एकदमै काम लाग्ने साबित गरिदिन्छ। . . . तपाईँले देखाउनुभएको नम्रताको लागि तपाईँलाई इनाम दिन पाउँदा उहाँ रमाउनुहुन्छ।” * यहोवाको हृदयलाई आनन्दित बनाउन पाउनुजस्तो ठूलो कुरा हाम्रो लागि अरू के होला र!—हितो. २३:१५.

९. नम्रताले कसरी अरू मानिसलाई हामीतर्फ आकर्षित गर्छ?

नम्र हुँदा यहोवाको मन खुसी पार्नुका साथै हामीले अरू पनि थुप्रै लाभ उठाउन सक्छौँ। हाम्रो नम्रता देखेर अरू मानिस हामीतर्फ आकर्षित हुन्छन्‌। यसको कारण बुझ्न एकछिन आफूलाई अरूको ठाउँमा राखेर हेर्नुहोस्‌। (मत्ति ७:१२) जहिले पनि आफ्नै कुरामा जिद्दी गर्ने अनि अरूको सल्लाह स्विकार्न नचाहने मानिससित सङ्‌गत गर्न हामीमध्ये कसलाई पो मन पर्छ र! त्यसको विपरीत, हाम्रा सङ्‌गी भाइबहिनीले ‘एकअर्काको पीडा महसुस गर्दा, भ्रातृस्नेह प्रकट गर्दा, कोमलताले भरिएको करुणा देखाउँदा अनि नम्र हुँदा’ हामी स्फूर्ति पाउँछौँ। (१ पत्रु. ३:८) यदि हामी नम्र मानिसहरूतर्फ आकर्षित हुन्छौँ भने हामी नम्र हुँदा अरू पनि पक्कै हामीतर्फ आकर्षित हुन्छन्‌।

१०. नम्र हुँदा हामीलाई जीवन बिताउन कसरी सजिलो हुन्छ?

१० नम्र हुँदा हामीलाई जीवन बिताउन सजिलो हुन्छ। हामी सबैले जीवनमा कहिलेकाहीँ अन्याय भएको वा कुनै कुरा सरासर गलत भएको महसुस गरेका हौँला। बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “नोकरहरू घोडामा सवार भएको तर भारदारहरूचाहिँ नोकरझैँ पैदल हिँडेको मैले देखेको छु।” (उप. १०:७) क्षमतावान्‌ व्यक्‍तिहरूले आफूले पाउनुपर्ने प्रशंसा सधैँ पाउँदैनन्‌। अनि खासै क्षमता नभएका व्यक्‍तिहरूले भने कहिलेकाहीँ आफूले पाउनुपर्नेभन्दा धेरै सम्मान पाउँछन्‌। त्यसो भए तापनि नकारात्मक भावनामा डुबिरहनुको साटो वास्तविकतालाई स्विकार्नु बुद्धिमानी हो भनेर सुलेमानले बताए। (उप. ६:९) यदि हामी नम्र छौँ भने जीवनमा कुनै कुरा आफूले सोचेजस्तो नहुँदा पनि त्यसलाई स्विकार्न तयार हुनेछौँ।

कस्ता परिस्थितिहरूले गर्दा हाम्रो नम्रताको जाँच हुन सक्छ?

यस्ता परिस्थितिहरूमा कसरी हाम्रो नम्रताको जाँच हुन सक्छ? (अनुच्छेद ११-१२ हेर्नुहोस्‌) *

११. सल्लाह पाउँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

११ नम्रता प्रकट गर्ने अनगिन्ती मौकाहरू हामी हरेक दिन पाउँछौँ। केही परिस्थिति विचार गरौँ। सल्लाह पाउँदा। हामीलाई आफू ठीकै छु जस्तो लागे पनि यदि कोही आफ्नो समय निकालेर अनि प्रयास गरेर हामीलाई कुनै सल्लाह दिन आउँछ भने, त्यसको मतलब हामीले सुधार्नुपर्ने कुनै न कुनै कुरा पक्कै छ भनेर मनमा राख्नुपर्छ। त्यस्तो बेला हामीलाई त्यो सल्लाह तुरुन्तै इन्कार गरिहाल्न मन लाग्न सक्छ। अनि सल्लाह दिने व्यक्‍तिको वा तिनले सल्लाह दिएको तरिकाको हामी आलोचना गर्छौँ होला। तर यदि हामी नम्र छौँ भने सही मनोवृत्ति देखाउन प्रयत्न गर्नेछौँ।

१२. हितोपदेश २७:५, ६ अनुसार हामीलाई सल्लाह दिने व्यक्‍तिप्रति हामी किन कृतज्ञ हुनुपर्छ? उदाहरण दिनुहोस्‌।

१२ नम्र व्यक्‍ति सल्लाह पाएकोमा कृतज्ञ हुन्छ। उदाहरणको लागि, आफू सभामा भएको कल्पना गर्नुहोस्‌। केही भाइबहिनीसित कुराकानी गरिसकेपछि एक जनाले तपाईँलाई छेउमा बेलाउँछन्‌ र तपाईँको दाँतमा केही खानेकुरा अड्‌किरहेको छ भनेर खुसुक्क बताउँछन्‌। त्यो सुनेर तपाईँलाई पक्कै अप्ठेरो लाग्छ। तर त्यो कुरा बताइदिएकोमा के तपाईँ तिनीप्रति कृतज्ञ महसुस गर्नुहुन्‍न र? ‘कसैले अगाडि नै बताइदिएको भए पनि हुन्थ्यो नि!’ जस्तो तपाईँलाई लाग्छ होला। त्यसैगरि, हामीलाई चाहिएको बेला सल्लाह दिन साहस देखाउने सङ्‌गी विश्‍वासीप्रति हामीले नम्र हुँदै कृतज्ञता देखाउनुपर्छ। हामी तिनलाई आफ्नो मित्रको रूपमा हेर्छौँ, शत्रुको रूपमा होइन।हितोपदेश २७:५, ६ पढ्‌नुहोस्‌; गला. ४:१६.

अरूले सेवाको सुअवसर पाउँदा त्यसलाई खुसीसाथ स्विकार्न किन नम्रता चाहिन्छ? (अनुच्छेद १३-१४ हेर्नुहोस्‌) *

१३. अरूले सेवाका सुअवसरहरू पाउँदा हामी कसरी नम्रता देखाउन सक्छौँ?

१३ अरूले सेवाका सुअवसरहरू पाउँदा। जेसन नाम गरेका एल्डर यसरी स्विकार्छन्‌: “अरूले पाएका सुअवसरहरू विचार गर्दा त्यसको लागि मलाई किन रोजिएन भन्‍ने सोचाइ कहिलेकाहीँ आउँछ।” के तपाईँलाई पनि कहिल्यै त्यस्तो लागेको छ? थप सुअवसरको लागि ‘अघि बढ्‌नु’ गलत होइन। (१ तिमो. ३:१) तर त्यसबारे कस्तो सोचाइ राख्दै छौँ भनेर हामी होसियार हुनुपर्छ। होसियार भएनौँ भने हामीले घमन्डलाई आफ्नो मनमा जरा गाड्‌न दिइरहेका हुन सक्छौँ। उदाहरणको लागि, कुनै खास जिम्मेवारी सम्हाल्नको लागि आफू सबैभन्दा योग्य छु जस्तो कुनै ख्रिष्टियन पुरुषलाई लाग्न सक्छ। अथवा कुनै ख्रिष्टियन पत्नीले यस्तो सोच्न सक्छिन्‌, ‘फलानो-फलानो भाइभन्दा त मेरो श्रीमान्‌ कता हो कता योग्य हुनुहुन्छ!’ तर हामी साँच्चै नम्र छौँ भने यस्तो घमन्डी सोचाइ राख्नेछैनौँ।

१४. अरूले सुअवसर पाउँदा मोसाले देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौँ?

१४ अरूले सुअवसर पाउँदा मोसाले देखाएको प्रतिक्रियाबाट हामी राम्रो पाठ सिक्न सक्छौँ। इस्राएल राष्ट्रलाई डोऱ्‍याउन आफूले पाएको जिम्मेवारीको मोसा निकै मोल गर्थे। यहोवाले मोसासँगसँगै सेवा गर्न अरूलाई पनि अनुमति दिनुहुँदा तिनले कस्तो प्रतिक्रिया देखाए? तिनी डाही भएनन्‌। (गन्ती ११:२४-२९) मानिसहरूको न्याय गरिदिन आफूले पाएको कार्यभारमध्ये केही अरूलाई सुम्पेर तिनले नम्रता देखाए। (प्रस्थ. १८:१३-२४) त्यसो गर्दा इस्राएलीहरूको मामिला अझै चाँडो छिनोफानो गर्न सकियो। यसरी मोसाले आफ्नो सुअवसरलाई भन्दा अरूको भलाइलाई प्राथमिकता दिए। हाम्रो लागि कत्ति राम्रो उदाहरण! हामी यहोवाको लागि साँच्चै उपयोगी हुन्छौँ कि हुँदैनौ भन्‍ने कुरा हाम्रो क्षमतामा नभई हाम्रो नम्रतामा भर पर्छ भन्‍ने कुरा नबिर्सौँ। किनकि “यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ।”—भज. १३८:६.

१५. थुप्रैले कस्ता नयाँ परिस्थितिहरूको सामना गर्नुपरेको छ?

१५ परिस्थिति परिवर्तन हुँदा। हालैका वर्षहरूमा दशकौँदेखि यहोवाको सेवाको कुनै खास पक्षमा अनुभव हासिल गरेका थुप्रै ख्रिष्टियनको असाइनमेन्ट परिवर्तन भएको छ। उदाहरणको लागि, २०१४ मा जिल्ला निरीक्षक र तिनीहरूका पत्नीहरूलाई पूर्ण-समय सेवाको अर्कै पक्षमा भाग लिन निम्तो दिइयो। त्यही वर्षदेखि, क्षेत्रीय निरीक्षकहरूको उमेर ७० वर्ष पुगेपछि तिनीहरूले त्यो जिम्मेवारी छोड्‌नुपर्ने निर्देशन लागू गरियो। अनि ८० वर्ष वा सोभन्दा बढी उमेरका भाइहरूले अबदेखि मण्डलीको एल्डरहरूको निकायको संयोजकको जिम्मेवारी सम्हाल्दैनन्‌। त्यसबाहेक गएका केही वर्षहरूमा बेथेल परिवारका थुप्रै सदस्यको असाइनमेन्ट परिवर्तन गरियो र इलाकामा सेवा गर्न खटाइयो। अरू केहीले भने स्वास्थ्य समस्या, पारिवारिक दायित्व वा अन्य व्यक्‍तिगत कारणहरूले गर्दा विशेष पूर्ण-समय सेवा छोड्‌नुपरेको छ।

१६. नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्नुपर्दा हाम्रा भाइबहिनीले कसरी नम्रता देखाएका छन्‌?

१६ ती भाइबहिनीलाई त्यस्ता परिवर्तनहरू गर्न सजिलो थिएन। तिनीहरूलाई आफ्नो असाइनमेन्ट पक्कै प्यारो लाग्थ्यो अनि तिनीहरूमध्ये थुप्रैले वर्षौँदेखि रमाउँदै आफ्नो असाइनमेन्ट पूरा गरिरहेका थिए। आफ्नो नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्न सजिलो नभएकोले कतिपय भाइबहिनी केही समयको लागि निराश पनि भए। तर समय बित्दै जाँदा तिनीहरूले छाँटकाँट गर्न सके। तिनीहरू छाँटकाँट गर्न सफल हुनुको मुख्य कारण के थियो? यहोवाप्रतिको तिनीहरूको प्रेम। कुनै काम, ओहदा वा जिम्मेवारीलाई नभई परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको कुरा तिनीहरूलाई थाह थियो। (कल. ३:२३) नम्र हुँदै जुनसुकै तरिकामा यहोवाको सेवा गर्न पाउँदा तिनीहरू खुसी छन्‌। तिनीहरू ‘आफ्नो सारा फिक्री उहाँमाथि बिसाएर’ सेवा गर्छन्‌ किनकि उहाँले तिनीहरूको ख्याल राख्नुहुन्छ भनेर तिनीहरूलाई थाह छ।—१ पत्रु. ५:६, ७.

१७. परमेश्‍वरको वचनले हामीलाई नम्रता विकास गर्न प्रोत्साहन दिएकोमा हामी किन कृतज्ञ छौँ?

१७ परमेश्‍वरको वचनले हामीलाई नम्रता विकास गर्न प्रोत्साहन दिएकोमा के हामी कृतज्ञ छैनौँ र? यो सुन्दर गुण विकास गऱ्‍यौँ भने यसले हामीलाई मात्र होइन, अरूलाई पनि लाभ पुऱ्‍याउँछ। जीवनमा आइपर्ने चुनौतीहरू सामना गर्न यसले हामीलाई अझै सक्षम बनाउँछ। सबैभन्दा ठूलो कुरा, स्वर्गका हाम्रा बुबासित हामी अझ नजिक हुनेछौँ। उहाँ “उच्च र महान्‌” हुनुभए तापनि आफ्ना नम्र सेवकहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको मोल गर्नुहुन्छ भनेर थाह पाउँदा हामी कत्ति खुसी छौँ!—यसै. ५७:१५.

गीत ४५ मेरो चिन्तन

^ अनु. 5 हामीले आफूमा विकास गर्नुपर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण गुण नम्रता हो। नम्र हुनु भनेको के हो? हामीले किन नम्रता विकास गर्नुपर्छ? अनि परिस्थिति परिवर्तन हुँदा कसरी हाम्रो नम्रताको जाँच हुन सक्छ? यस लेखमा यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ विचार गर्नेछौँ।

^ अनु. 7 प्रहरीधरहरा, (अङ्‌ग्रेजी) अक्टोबर १, १९८४ अङ्‌कको “यहोवाले मलाई प्रशस्त आशिष्‌ दिनुभएको छ” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 8 अध्याय ३, अनुच्छेद २३ हेर्नुहोस्‌।

^ अनु. 53 चित्रको व्याख्या: प्रेषित पावल नम्र हुँदै एक जना भाइको घरमा केटाकेटीलगायत अरूसित सङ्‌गत गर्छन्‌।

^ अनु. 57 चित्रको व्याख्या: एक जना भाइ आफूभन्दा जवान भाइले दिएको बाइबलआधारित सल्लाह स्विकार्छन्‌।

^ अनु. 59 चित्रको व्याख्या: ती पाको भाइ आफूभन्दा जवान भाइले मण्डलीमा सुअवसर पाएको देखेर डाह गर्दैनन्‌।