सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३८

शान्ति छाएको समयमा बुद्धिमानी कदम चाल्नुहोस्‌

शान्ति छाएको समयमा बुद्धिमानी कदम चाल्नुहोस्‌

“यहोवा परमेश्‍वरले उनलाई विश्राम दिनुभएको थियो। उनको शासनका ती वर्षहरूमा कोही पनि उनीसित लडाइँ गर्न आएनन्‌; देशमा शान्ति छायो।”—२ इति. १४:६.

गीत ६० जीवन दिने सन्देश

परिचय *

१. कस्तो अवस्थामा यहोवाको सेवा गर्न अझ गाह्रो हुन्छ?

तपाईँको विचारमा कस्तो अवस्थामा यहोवाको सेवा गर्न अझ गाह्रो हुन्छ? जीवनमा थुप्रै समस्याको सामना गर्नुपर्दा कि त्यति धेरै समस्या नहुँदा? समस्याहरूको सामना गर्नुपर्दा हामी स्वतः यहोवामा भर पर्छौँ। तर हाम्रो जीवनमा समस्याहरू नभएकोले शान्ति छाएको समयमा चाहिँ के गर्छौँ? के हामी यहोवाको सेवा गर्नुभन्दा अरू नै कुरामा अलमलिन सक्छौँ? यस्तो हुन सक्छ भनेर यहोवाले इस्राएलीहरूलाई चेतावनी दिनुभयो।—व्यव. ६:१०-१२.

राजा आसाले झूटो उपासनाविरुद्ध निर्णायक कदम चाले (अनुच्छेद २ हेर्नुहोस्‌) *

२. राजा आसाले कस्तो उदाहरण बसाले?

यहोवामा पूरा भरोसा राख्दै बुद्धिमानी कदम चाल्ने सन्दर्भमा राजा आसा हाम्रो लागि एउटा उत्कृष्ट उदाहरण हुन्‌। उनले गाह्रो समयमा मात्र नभई शान्ति छाएको समयमा पनि यहोवाको सेवा गरे। सुरुदेखि नै राजा आसा “पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति वफादार” थिए। (१ राजा १५:१४) राजा आसाले यहोवाप्रति वफादारी देखाएको एउटा तरिका भनेको उनले यहुदाबाट झूटो उपासनालाई पूरै हटाए। बाइबल यसो भन्छ: “उनले विदेशी देवीदेवताका वेदीहरू र अग्ला थानहरू हटाए। अनि पवित्र थामहरू टुक्राटुक्रा पारिदिए र पवित्र खामाहरू पनि ढालिदिए।” (२ इति. १४:३, ५) उनले आफ्नी हजुरआमा माकाहलाई समेत राजमाताको पदबाट हटाइदिए। किन? किनभने माकाहले मानिसहरूलाई मूर्तिपूजा गर्न लगाएर झूटो उपासनालाई बढावा दिएकी थिइन्‌।—१ राजा १५:११-१३.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

आसाले यहुदा राष्ट्रबाट झूटो उपासनालाई हटाउने काम मात्र गरेनन्‌। तिनले त्यहाँका मानिसहरूलाई यहोवातर्फ फर्कन मदत गरेर साँचो उपासनालाई बढावा दिए। यहोवाले आसा र इस्राएलीहरूलाई आशिष्‌ दिनुभएकोले तिनीहरूले शान्ति * अनुभव गरे। आसाको १० वर्षको शासनको दौडान “देशमा शान्ति छायो।” (२ इति. १४:१, ४, ६) आसाले शान्ति छाएको समयको कसरी सदुपयोग गरे भनेर यस लेखमा हामी छलफल गर्नेछौँ। त्यसपछि आसाले जस्तै प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि शान्ति छाएको समयको कसरी सदुपयोग गरे भनेर छलफल गर्नेछौँ। अन्तमा हामी यो प्रश्‍न छलफल गर्नेछौँ: यदि तपाईँ धार्मिक स्वतन्त्रता भएको देशमा बस्दै हुनुहुन्छ भने तपाईँ शान्ति छाएको समयको कसरी सदुपयोग गर्न सक्नुहुन्छ?

आसाले शान्ति छाएको समयको कसरी सदुपयोग गरे?

४. दोस्रो इतिहास १४:२, ६, ७ अनुसार आसाले शान्ति छाएको समयको कसरी सदुपयोग गरे?

दोस्रो इतिहास १४:२, ६, ७ पढ्‌नुहोस्‌। आसाले “चारैतिरबाट शान्ति” दिनुहुने परमेश्‍वर यहोवा नै हुनुहुन्छ भनेर मानिसहरूलाई बताए। आसाले शान्ति छाएको समयलाई आराम गर्ने समयको रूपमा लिएनन्‌। बरु उनले सहरहरू, पर्खालहरू, किल्लाहरू र मूलढोकाहरू बनाउन सुरु गरे। उनले यहुदाका मानिसहरूलाई यसो भने: “उहाँले यो देश हामीलाई अधिकार गर्न दिनुभएको छ।” आसाले के भन्‍न खोज्दै थिए? मानिसहरू स्वतन्त्र भएर परमेश्‍वरले दिनुभएको देशमा हिँडडुल गर्न सक्थे अनि शत्रुहरूबाट विरोध आउने डरविना सहर निर्माण गर्न सक्थे। उनले मानिसहरूलाई शान्ति छाएको समयको सदुपयोग गर्न आग्रह गरे।

५. आसाले किन आफ्नो सेनालाई सुदृढ बनाए?

आसाले शान्ति छाएको समयमा आफ्नो सेनालाई सुदृढ पनि बनाए। (२ इति. १४:८) के यसको मतलब उनी यहोवामाथि भरोसा गर्दैनथे भन्‍ने हो? होइन। बरु भविष्यमा मानिसहरूमाथि आइपर्न सक्ने समस्याहरूको लागि उनीहरूलाई तयार पार्नु राजाको कर्तव्य हो भनेर उनले बुझेका थिए। साथै यहुदाका मानिसहरूले अनुभव गरिरहेको शान्ति सायद सधैँभरि रहनेछैन भन्‍ने कुरा पनि उनलाई थाह थियो अनि साँच्चै त्यस्तै भयो।

प्रथम शताब्दीका ख्रिष्टियनहरूले शान्ति छाएको समयको कसरी सदुपयोग गरे?

६. प्रथम शताब्दीका ख्रिष्टियनहरूले शान्ति छाएको समयको कसरी सदुपयोग गरे?

प्रथम शताब्दीका ख्रिष्टियनहरूले अक्सर खेदो भोग्नुपरे तापनि त्यतिबेला शान्ति छाएको समय पनि थियो। ती चेलाहरूले त्यस्तो समयको कसरी सदुपयोग गरे? ती विश्‍वासी पुरुष र स्त्रीहरूले हार नमानी सुसमाचार घोषणा गरे। प्रेषितको विवरणअनुसार तिनीहरू “परमेश्‍वरको डर” मान्दै हिँडिरहे। तिनीहरूले सुसमाचार घोषणा गरिरहे र परिणामस्वरूप “मण्डलीको वृद्धि हुँदै गयो।” शान्ति छाएको समयमा तिनीहरूले गरेको जोसिलो प्रचारकार्यमाथि यहोवाले आशिष्‌ दिनुभएको कुरा स्पष्टै देखियो।—प्रेषि. ९:२६-३१.

७-८. मौका पाउनेबित्तिकै पावल र तिनका सहकर्मीहरूले के गरे? व्याख्या गर्नुहोस्‌।

प्रथम शताब्दीका ख्रिष्टियनहरूले सुसमाचार फैलाउने हरेक मौकाको सदुपयोग गरे। उदाहरणको लागि, प्रेषित पावलले एफिससमा छँदा आफ्नो निम्ति एउटा ठूलो ढोका खुलेको कुरा बुझे अनि त्यहाँ प्रचार गर्ने र चेला बनाउने मौकाको सदुपयोग गरे।—१ कोरि. १६:८, ९.

इस्वी संवत्‌ ४९ मा खतनाको विवाद सुल्झिएपछि प्रेषित पावल र तिनका सहकर्मीहरूले प्रचार गर्ने अर्को मौका पाए। (प्रेषि. १५:२३-२९) त्यतिबेला गरिएको निर्णयबारे मण्डलीहरूले जानकारी पाइसकेपछि चेलाहरूले जोडतोडले “यहोवा परमेश्‍वरको वचनको सुसमाचार” घोषणा गर्न थाले। (प्रेषि. १५:३०-३५) परिणाम कस्तो भयो? बाइबल यसो भन्छ: “मण्डलीमा हुनेहरूको विश्‍वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्‌ख्या पनि दिनप्रतिदिन बढ्‌दै गयो।”—प्रेषि. १६:४, ५.

अहिले शान्ति छाएको समयको सदुपयोग गर्नुहोस्‌

९. आज थुप्रै देशमा कस्तो अवस्था छ र हामी आफैलाई कस्तो प्रश्‍न सोध्न सक्छौँ?

आज थुप्रै देशमा हामी कुनै रोकटोकविना प्रचार गर्न सक्छौँ। के तपाईँ धार्मिक स्वतन्त्रता भएको देशमा बस्नुहुन्छ? यदि बस्नुहुन्छ भने आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘के म यस्तो स्वतन्त्रताको सदुपयोग गर्दै छु?’ महत्त्वपूर्ण घटनाहरू भइरहेको यस अन्तको दिनमा यहोवाको सङ्‌गठनले संसारमा अहिलेसम्म कहिल्यै नभएको व्यापक प्रचारकार्य र शिक्षणकार्य अघि बढाउँदै छ। (मर्कु. १३:१०) यहोवाको सेवामा हामीसामु थुप्रै मौका खुला छन्‌।

थुप्रैले अर्को देशमा सेवा गरेर वा अर्को भाषा बोल्नेहरूलाई साक्षी दिएर प्रशस्त आशिष्‌ पाएका छन्‌ (अनुच्छेद १०-१२ हेर्नुहोस्‌) *

१०. दोस्रो तिमोथि ४:२ ले हामीलाई के गर्न प्रोत्साहन दिन्छ?

१० तपाईँ शान्ति छाएको समयको कसरी सदुपयोग गर्न सक्नुहुन्छ? (२ तिमोथि ४:२ पढ्‌नुहोस्‌) आफ्नो अवस्था केलाउनुभए कसो होला? तपाईँ वा तपाईँको परिवारको कुनै सदस्यले प्रचारकार्यमा अझ धेरै भाग लिन सक्नुहुन्छ कि? सायद अग्रगामी सेवा नै गर्न सकिन्छ कि? अहिलेको समय धनसम्पत्ति र भौतिक चिजबिज थुपार्ने समय होइन। किनभने महासङ्‌कष्टमा हामी आफूसँगै ती कुरालाई जोगाउन सक्नेछैनौँ।—हितो. ११:४; मत्ति ६:३१-३३; १ युह. २:१५-१७.

११. सकेसम्म धेरै मानिसलाई सुसमाचार सुनाउन केही प्रकाशकले के गरेका छन्‌?

११ थुप्रै प्रकाशकले प्रचार गर्ने र सिकाउने कामलाई विस्तार गर्न नयाँ भाषा सिकेका छन्‌। तिनीहरूलाई सघाउन यहोवाको सङ्‌गठनले पहिलाभन्दा धेरै भाषामा बाइबलआधारित प्रकाशनहरू तयार पारेको छ। उदाहरणको लागि, २०१० मा हाम्रा प्रकाशनहरू लगभग ५०० भाषामा उपलब्ध थियो। अहिले त्यो सङ्‌ख्या बढेर १,००० भन्दा धेरै पुगेको छ।

१२. आफ्नै भाषामा राज्य सन्देश सुन्‍न पाउँदा मानिसहरूले कस्तो अनुभव गर्छन्‌? एउटा उदाहरण बताउनुहोस्‌।

१२ परमेश्‍वरको वचनमा पाइने सत्य आफ्नै भाषामा सुन्‍न पाउँदा मानिसहरूले कस्तो अनुभव गर्छन्‌? अमेरिकाको टेनिसी राज्यको मेम्फिस सहरमा आयोजना गरिएको अधिवेशनबाट लाभ उठाएकी एक जना बहिनीको अनुभव विचार गर्नुहोस्‌। अधिवेशनको कार्यक्रम किन्यारवान्डा भाषामा प्रस्तुत गरिएको थियो, जुन भाषा मुख्यतया रूवाण्डा, कंगो (किन्शासा) र युगाण्डामा बोलिन्छ। अधिवेशन सकिएपछि किन्यारवान्डा भाषा बोल्ने ती बहिनीले यसो भनिन्‌: “अमेरिकामा बसाइँ सरेको १७ वर्षपछि पहिलो पटक मैले आध्यात्मिक कार्यक्रम पूरै बुझ्न सकेँ।” आफ्नै भाषामा प्रस्तुत गरिएको कार्यक्रमले ती बहिनीको मनै छोयो। तपाईँको परिस्थितिले दिन्छ भने के तपाईँ आफ्नो इलाकामा बस्ने मानिसहरूलाई मदत गर्न नयाँ भाषा सिक्न सक्नुहुन्छ? तपाईँको इलाकामा पनि आफ्नै भाषामा बाइबलको सन्देश सुन्‍न पाउँदा अझै चासो देखाउने मानिसहरू छन्‌ कि? तपाईँको यस्तो मेहनत खेर जानेछैन।

१३. रूसका हाम्रा भाइबहिनीले शान्ति छाएको समयको कसरी सदुपयोग गरे?

१३ हाम्रा सबै भाइबहिनीले स्वतन्त्र भएर प्रचार गर्न पाएका छैनन्‌। सरकारी प्रतिबन्धको कारण कुनै-कुनै देशमा पहिला जसरी नै प्रचार गर्न असाध्यै गाह्रो भएको छ। उदाहरणको लागि, रूसका भाइबहिनीलाई विचार गर्नुहोस्‌। दशकौँसम्म खेदो भोगिसकेपछि रूस सरकारले मार्च १९९१ मा हाम्रा भाइबहिनीलाई स्वतन्त्र भएर उपासना गर्न अनुमति दियो। त्यतिबेला त्यहाँ लगभग १६ हजार प्रकाशक थिए। त्यसको २० वर्षपछि त्यो सङ्‌ख्या बढेर १ लाख ६० हजारभन्दा धेरै पुगिसकेको थियो। हाम्रा भाइबहिनीले स्वतन्त्र भई प्रचार गर्ने त्यस मौकामा बुद्धिमानी कदम चालेको कुरा स्पष्ट देखियो। तर शान्ति छाएको त्यो समय धेरैबेर रहेन। अहिले परिस्थिति परिवर्तन भए तापनि यहोवाको उपासना गर्ने तिनीहरूको जोसमा कुनै कमी आएको छैन। तिनीहरू हरेक मौकाको सदुपयोग गर्दै यहोवाको सेवा गरिरहेका छन्‌।

शान्ति छाएको समय धेरैबेर रहनेछैन

राजा आसाले व्यग्र प्रार्थना गरेपछि यहोवाले यहुदा राष्ट्रलाई शत्रुहरूको विशाल सेनामाथि विजयी तुल्याउनुभयो (अनुच्छेद १४-१५ हेर्नुहोस्‌)

१४-१५. आसालाई मदत गर्न यहोवाले कसरी आफ्नो शक्‍ति प्रयोग गर्नुभयो?

१४ आसाको शासनकालमा शान्ति छाएको समय धेरैबेर रहेन। इथियोपियाबाट १० लाख सिपाहीसहितको विशाल सेना आसासित युद्ध गर्न आयो। आफू र आफ्नो सेनाले यहुदालाई परास्त गर्न सक्छौँ भन्‍ने कुरामा इथियोपियाली सेनाका सेनापति जेरह विश्‍वस्त थिए। तर राजा आसाले सिपाहीको सङ्‌ख्यामा नभई यहोवा परमेश्‍वरमाथि भरोसा राखे। आसाले यसरी प्रार्थना गरे: “हे हाम्रा परमेश्‍वर यहोवा, हामीलाई मदत गर्नुहोस्‌ किनकि हामी तपाईँमै भर परेका छौँ। अनि तपाईँको नाममा हामी यो विशाल सेनासित लड्‌न आएका छौँ।”—२ इति. १४:११.

१५ हुनत आसाको भन्दा इथियोपियाली सेनाको सिपाहीको सङ्‌ख्या झन्डै दोब्बर थियो। तैपनि यहोवा शक्‍तिशाली हुनुहुन्छ र उहाँले आफ्ना जनहरूलाई बचाउन सक्नुहुन्छ भन्‍ने कुरा आसाले बुझेका थिए। यहोवाले उनलाई निराश तुल्याउनुभएन; इथियोपियाली सेनाले लज्जास्पद हार बेहोर्नुपऱ्‍यो।—२ इति. १४:८-१३.

१६. शान्ति छाएको समय सधैँभरि रहनेछैन भनेर हामी किन भन्‍न सक्छौँ?

१६ हुनत भविष्यमा हामी प्रत्येकले कस्तो अवस्थाको सामना गर्नुपर्नेछ भनेर हामीलाई एक-एक कुरा थाह छैन। तर अहिले परमेश्‍वरका जनहरू शान्ति छाएको अवस्थामा छन्‌ भने पनि त्यो शान्ति सधैँभरि रहनेछैन भनेर हामीलाई थाह छ। नबिर्सनुहोस्‌, आफ्ना चेलाहरूलाई अन्तको दिनमा “सबै जातिले . . . घृणा गर्नेछन्‌” भनेर येसुले बताउनुभएको थियो। (मत्ति २४:९) प्रेषित पावलले पनि यसो भने: “ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।” (२ तिमो. ३:१२) सैतान “असाध्यै रिसाएको छ” अनि त्यसको रिसबाट आफू कुनै न कुनै तरिकामा उम्कन सक्छु भन्ठान्छौँ भने आफैलाई धोका दिइरहेका हुन्छौँ।—प्रका. १२:१२.

१७. कुन-कुन तरिकामा हाम्रो विश्‍वासको जाँच हुन सक्छ?

१७ निकट भविष्यमा हामी सबैको सत्यनिष्ठाको जाँच हुनेछ। चाँडै “यस्तो महासङ्‌कष्ट हुनेछ, जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन।” (मत्ति २४:२१) त्यतिबेला हाम्रै परिवारका सदस्यहरू हामीविरुद्ध उठ्‌न सक्छन्‌ अनि हाम्रो प्रचारकार्यमाथि प्रतिबन्ध लगाइन सक्छ। (मत्ति १०:३५, ३६) के त्यतिबेला हामी प्रत्येकले आसाले जस्तै मदत र सुरक्षाको लागि यहोवामाथि भरोसा गर्नेछौँ?

१८. हिब्रू १०:३८, ३९ अनुसार भविष्यमा हुने घटनाहरूको लागि तयार रहन हामीलाई केले मदत गर्छ?

१८ यहोवाले हामीलाई भविष्यमा हुने घटनाहरूको लागि आध्यात्मिक रूपमा तयार पार्दै हुनुहुन्छ। हामीलाई बलियो बनाउने पोसिलो आध्यात्मिक भोजन “ठीक समयमा” उपलब्ध गराउन यहोवाले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई डोऱ्‍याइरहनुभएको छ। (मत्ति २४:४५) तर हामीले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्नुपर्छ र यहोवामाथि अटल विश्‍वास राख्नुपर्छ।—हिब्रू १०:३८, ३९ पढ्‌नुहोस्‌।

१९-२०. पहिलो इतिहास २८:९ लाई विचार गर्दा हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ र किन?

१९ राजा आसाले जस्तै हामीले “यहोवाको खोजी” गर्नुपर्छ। (२ इति. १४:४; १५:१, २) यहोवालाई चिनेर अनि बप्तिस्मा गरेर हामी उहाँको खोजी गर्न सुरु गर्छौँ। यहोवाप्रतिको प्रेमलाई अझ बलियो बनाउन हामी हरेक मौकाको सदुपयोग गर्छौँ। यस सन्दर्भमा हामी कस्तो गरिरहेका छौँ भनेर केलाउन आफैलाई यो प्रश्‍न सोध्न सक्छौँ: ‘के म नियमित रूपमा मण्डलीका सभाहरूमा उपस्थित हुन्छु?’ जब हामी यहोवाको सङ्‌गठनले प्रबन्ध गरेका सभाहरूमा उपस्थित हुन्छौँ, तब हामीले उत्थानदायी सङ्‌गतिको साथै साँचो आध्यात्मिक स्फूर्ति पाइरहेका हुन्छौँ। (मत्ति ११:२८) हामी आफैलाई यस्तो प्रश्‍न पनि सोध्न सक्छौँ: ‘के मेरो व्यक्‍तिगत अध्ययन गर्ने राम्रो बानी छ?’ यदि तपाईँ परिवारसित बस्नुहुन्छ भने के तपाईँ हरेक हप्ता पारिवारिक उपासनाको लागि समय छुट्ट्याउनुहुन्छ? अथवा एक्लै बस्नुहुन्छ भने पनि के तपाईँ त्यसरी नै अध्ययनको लागि समय छुट्ट्याउनुहुन्छ? अनि के तपाईँ प्रचार गर्ने र चेला बनाउने काममा यथासक्दो भाग लिनुहुन्छ?

२० हामीले आफैलाई यी प्रश्‍नहरू किन सोध्नुपर्छ? बाइबलमा बताइएअनुसार यहोवाले हाम्रो हृदय र हाम्रो हरेक सोचाइ जाँच्नुहुने भएकोले हामीले पनि त्यसो गर्नुपर्छ। (१ इतिहास २८:९ पढ्‌नुहोस्‌) यदि हामीले आफ्नो लक्ष्य, मनोवृत्ति वा सोचाइमा केही छाँटकाँट गर्नुपर्ने देख्यौँ भने यहोवासँग मदत माग्नुपर्छ। भविष्यमा हुने घटनाहरूको लागि आफूलाई तयार पार्ने समय अहिल्यै हो। त्यसैले शान्ति छाएको समयको सदुपयोग गर्न तपाईँलाई कुनै पनि कुराले नरोकोस्‌!

गीत ६२ नयाँ गीत

^ अनु. 5 के तपाईँ स्वतन्त्र भई यहोवाको उपासना गर्न सक्ने देशमा बस्नुहुन्छ? बस्नुहुन्छ भने तपाईँ शान्ति छाइरहेको समयको कसरी सदुपयोग गर्दै हुनुहुन्छ? तपाईँले यहुदाका राजा आसा र प्रथम शताब्दीका ख्रिष्टियनहरूको कसरी अनुकरण गर्न सक्नुहुन्छ भनेर बुझ्न यस लेखले मदत गर्नेछ। तिनीहरूले शान्ति छाएको समयको बुद्धिमानीपूर्वक सदुपयोग गरे।

^ अनु. 3 थप व्याख्या: “शान्ति” भन्‍ने शब्दले युद्ध नभएको अवस्थालाई मात्र बुझाउँदैन। शान्ति अर्थ लाग्ने हिब्रू शब्दले सुस्वास्थ्य, सुरक्षा र सुखसुविधालाई पनि बुझाउँछ।

^ अनु. 58 चित्रको व्याख्या: राजा आसाले आफ्नी हजुरआमा माकाहलाई राजमाताको पदबाट हटाइदिए किनकि तिनले झूटो उपासनालाई बढावा दिएकी थिइन्‌। आसाका वफादार समर्थकहरूले पनि उनको उदाहरण पछ्याउँदै मूर्तिहरूलाई नष्ट गरे।

^ अनु. 60 चित्रको व्याख्या: एक जोसिलो दम्पतीले प्रकाशकहरूको धेरै आवश्‍यकता भएको ठाउँमा सेवा गर्न आफ्नो जीवन सरल बनाउँदै छ।