सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३५

वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहोस्‌

वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहोस्‌

“फुलेको कपाल . . . शोभाको मुकुट हो।”—हितो. १६:३१.

गीत १३८ फुलेको केश—शोभाको मुकुट

परिचय *

१-२. (क) हितोपदेश १६:३१ अनुसार हामीले वफादार वृद्ध भाइबहिनीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (ख) यस लेखमा हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

अमेरिकाको आर्कान्सा राज्यमा एउटा पार्क छ। त्यहाँ घुम्न जानेहरूले जमिनमा हिरा खोज्न सक्छन्‌। तर ती हिराहरू परिष्कृत नभइसकेकोले त्यसमा कुनै चमक हुँदैन र हेर्दा आकर्षक पनि देखिँदैन। त्यसैले थुप्रैले जमिनमा हिरा देखे तापनि तिनीहरूले त्यसलाई चिन्‍न सक्दैनन्‌ र छोडेर हिँड्‌छन्‌।

हाम्रा वफादार वृद्ध भाइबहिनी पनि ती हिराहरूजस्तै बहुमूल्य छन्‌। परमेश्‍वरको वचनमा ती भाइबहिनीको फुलेको कपाललाई मुकुटसित तुलना गरिएको छ। (हितोपदेश १६:३१ पढ्‌नुहोस्‌; २०:२९) तर हामीले ती बहुमूल्य भाइबहिनीलाई बेवास्ता गरिरहेका हुन सक्छौँ। जवानहरूले ती वृद्ध भाइबहिनी कत्ति मूल्यवान्‌ छन्‌ भनेर बुझ्दा उनीहरूले साँच्चैको धनसम्पत्तिभन्दा अझ बहुमूल्य कुरा भेट्टाउँछन्‌। यस लेखमा हामी यी तीन वटा प्रश्‍नको जवाफ पाउनेछौँ: यहोवा वफादार वृद्ध भाइबहिनीलाई किन अनमोल ठान्‍नुहुन्छ? तिनीहरू यहोवाको सङ्‌गठनको लागि किन अनमोल छन्‌? तिनीहरूको उदाहरणबाट पूरापूर लाभ उठाउन हामी के गर्न सक्छौँ?

यहोवा वफादार वृद्ध भाइबहिनीलाई किन अनमोल ठान्‍नुहुन्छ?

वफादार वृद्ध भाइबहिनी यहोवा र उहाँका सेवकहरूको लागि अनमोल छन्‌ (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. भजन ९२:१२-१५ अनुसार यहोवा वफादार वृद्ध भाइबहिनीलाई किन अनमोल ठान्‍नुहुन्छ?

यहोवा वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहुन्छ। तिनीहरूको भित्री व्यक्‍तित्व यहोवालाई थाह छ। उहाँ तिनीहरूमा भएका मनमोहक गुणहरू देख्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। तिनीहरूले वर्षौँको दौडान वफादार भई यहोवाको सेवा गर्दा हासिल गरेका अनुभवहरू जवानहरूलाई बाँडेको देख्दा उहाँलाई खुसी लाग्छ। (अय्यु. १२:१२; हितो. १:१-४) यहोवा तिनीहरूको सहनशीलताको पनि कदर गर्नुहुन्छ। (मला. ३:१६) तिनीहरूले जीवनमा थुप्रै समस्याको सामना गर्नुपरे तापनि यहोवामाथिको तिनीहरूको विश्‍वास कहिल्यै ढलपल भएन। भविष्यको आशामाथि तिनीहरूको विश्‍वास पहिलाभन्दा अझ बलियो भएको छ। यहोवा तिनीहरूलाई माया गर्नुहुन्छ किनकि अहिले “बुढेसकालमा पनि” तिनीहरू उहाँको नामको घोषणा गर्ने काममा लागिरहेका छन्‌।भजन ९२:१२-१५ पढ्‌नुहोस्‌।

४. हाम्रा वृद्ध भाइबहिनीलाई कुन कुराले सान्त्वना दिन्छ?

तपाईँको उमेर ढल्कँदै गइरहेको छ भने विगतमा तपाईँले गर्नुभएका कामहरू यहोवाले बिर्सनुभएको छैन भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (हिब्रू ६:१०) तपाईँले जोसिलो भई साक्षीकार्यमा भाग लिनुभयो। त्यसले स्वर्गमा बस्नुहुने बुबालाई खुसी तुल्याएको छ। तपाईँले थुप्रै परीक्षा सहनुभयो; कुनै-कुनै परीक्षा सहन तपाईँलाई असाध्यै गाह्रो भयो होला। साथै तपाईँ बाइबलका धार्मिक स्तरअनुरूप चल्नुभयो, तपाईँले महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्नुभयो र अरूलाई तालिम पनि दिनुभयो। द्रुत गतिमा अघि बढिरहेको यहोवाको सङ्‌गठनसँगसँगै चल्न तपाईँले सक्दो गर्नुभयो। त्यति मात्र नभई तपाईँले पूर्ण-समय सेवकहरूलाई मदत र प्रोत्साहन दिनुभयो। तपाईँ वफादार हुनुभएकोमा यहोवा तपाईँलाई धेरै माया गर्नुहुन्छ। उहाँले ‘आफ्ना वफादार सेवकहरूलाई कहिल्यै नत्याग्ने’ प्रतिज्ञा गर्नुभएको छ। (भज. ३७:२८) उहाँ तपाईँलाई यस्तो आश्‍वासन दिनुहुन्छ: ‘तिम्रो कपाल फुल्दासम्म पनि म तिमीलाई बोकिरहनेछु।’ (यसै. ४६:४) त्यसैले उमेर ढल्किसकेकोले ‘अब मेरो कुनै काम छैन’ भन्‍ने नसोच्नुहोस्‌। तपाईँ अझै पनि यहोवाको सङ्‌गठनको लागि धेरै कुरा गर्न सक्नुहुन्छ।

यहोवाको सङ्‌गठनमा वृद्ध भाइबहिनीको महत्त्वपूर्ण स्थान छ

५. वृद्ध भाइबहिनीले कुन कुरा मनमा राख्नुपर्छ?

वृद्ध भाइबहिनीले यहोवाको सङ्‌गठनलाई थुप्रै तरिकामा सघाउन सक्छन्‌। हुनत तिनीहरूसित पहिलाको जस्तो बल छैन होला तर तिनीहरूसित वर्षौँको दौडान सँगालेका अनुभवहरू छन्‌। यहोवा तिनीहरूलाई अझै पनि विभिन्‍न तरिकामा प्रयोग गर्न सक्नुहुन्छ भन्‍ने कुरा अब छलफल गरिने विगतका र वर्तमान समयका उदाहरणहरूले देखाउँछ।

६-७. वफादार सेवाको लागि इनाम पाएका बाइबलकालीन समयका वृद्ध व्यक्‍तिहरूको उदाहरण बताउनुहोस्‌।

बाइबलमा वृद्धावस्थामा पनि जोसिलो भई यहोवाको सेवा गरेका वफादार व्यक्‍तिहरूको उदाहरण पाइन्छ। जस्तै, मोसाले यहोवाको भविष्यवक्‍ता र इस्राएल राष्ट्रको प्रतिनिधिको रूपमा काम थाल्दा तिनी लगभग ८० वर्ष पुगिसकेका थिए। त्यसैगरि भविष्यवक्‍ता दानिएल सम्भवतः ९० वर्ष नाघिसक्दा पनि यहोवाले उनलाई आफ्नो प्रवक्‍ताको रूपमा चलाइरहनुभएको थियो। अनि प्रेषित युहन्‍नाले प्रकाशको किताब लेख्ने प्रेरणा पाउँदा सायद तिनी पनि ९० वर्ष नाघिसकेका थिए।

अरू थुप्रै वफादार व्यक्‍तिहरू त्यत्ति चिरपरिचित थिएनन्‌। त्यसैले मानिसहरूले उनीहरूलाई याद गरेनन्‌ होला। तर यहोवाले भने उनीहरूलाई याद गर्नुभयो र उनीहरूको वफादारीको लागि इनाम दिनुभयो। जस्तै, “धर्मी अनि भक्‍त” व्यक्‍ति सिमियोनबारे बाइबलमा छोटो मात्र विवरण पाइन्छ तर यहोवा तिनलाई राम्ररी चिन्‍नुहुन्थ्यो। उहाँले तिनलाई बालक येसुलाई भेट्‌ने अनि येसु र उहाँकी आमाबारे भविष्यवाणी गर्ने सुअवसर दिनुभयो। (लुका २:२२, २५-३५) भविष्यवक्‍ताको रूपमा सेवा गरेकी विधवा हन्‍नाबारे पनि विचार गरौँ। उनी ८४ वर्ष भइसकेकी थिइन्‌ तर “कहिल्यै मन्दिर छोड्‌दिनथिन्‌।” यस्तो वफादार सेवाको लागि यहोवाले उनलाई इनाम दिनुभयो। उनले पनि बालक येसुलाई भेट्‌ने सुअवसर पाइन्‌। सिमियोन र हन्‍ना दुवै जना यहोवाको नजरमा अनमोल थिए।—लुका २:३६-३८.

अहिले ८० वर्ष नाघिसकेकी बहिनी डिडुर वफादार भई यहोवाको सेवा गरिरहेकी छिन्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌)

८-९. विधवा बहिनीहरूले यहोवाको सङ्‌गठनमा कस्तो योगदान दिइरहेका छन्‌?

आधुनिक समयमा पनि थुप्रै वफादार वृद्ध भाइबहिनीले जवानहरूको लागि निकै राम्रो उदाहरण बसालेका छन्‌। बहिनी लोइस डिडुरको अनुभव विचार गरौँ। क्यानाडामा विशेष अग्रगामी सेवा थाल्दा तिनी जम्मा २१ वर्षकी थिइन्‌। त्यसपछि तिनी र तिनका श्रीमान्‌ जोनले परिभ्रमण कार्यमा थुप्रै वर्ष बिताए। पछि तिनीहरूले क्यानाडा बेथेलमा २० वर्षभन्दा लामो समय सेवा गरे। लोइस ५८ वर्षको हुँदा तिनी र जोनलाई युक्रेनमा सेवा गर्न निम्तो दिइयो। तिनीहरूले के गरे? के तिनीहरूले अर्को देशमा गएर सेवा गर्न हाम्रो उमेरले दिँदैन भन्‍ने सोचे? अहँ, सोचेनन्‌। बरु तिनीहरूले त्यो असाइनमेन्ट स्विकारे र जोन शाखा समितिको सदस्य नियुक्‍त भए। सात वर्षपछि जोनको मृत्यु भयो तर लोइसले भने त्यहीँ सेवा गरिरहने निर्णय गरिन्‌। अहिले ८१ वर्ष पुगिसकेकी लोइस युक्रेन बेथेलमा वफादार भई सेवा गर्दै छिन्‌ र बेथेल परिवारका सबैले तिनलाई धेरै माया गर्छन्‌।

हुनत लोइसजस्तै विधवा बहिनीहरूलाई भाइबहिनीले पहिला तिनको श्रीमान्‌ जिउँदो हुँदाजत्तिको याद गर्दैनन्‌ होला तर तिनीहरू अझै पनि अनमोल छन्‌। वर्षौँसम्म आफ्नो श्रीमान्‌लाई साथ दिएका र अहिले पनि वफादार भई सेवा गरिरहेका बहिनीहरूको यहोवा असाध्यै कदर गर्नुहुन्छ। (१ तिमो. ५:३) ती बहिनीहरूले जवानहरूलाई प्रोत्साहन पनि दिन्छन्‌।

१०. टोनीले कस्तो उत्कृष्ट उदाहरण बसालेका छन्‌?

१० थुप्रै वफादार वृद्ध भाइबहिनी घरबाट निस्कन सक्दैनन्‌। तिनीहरू पनि हाम्रो लागि अनमोल छन्‌। टोनी नाम गरेका एक भाइलाई स्याहार केन्द्रमा राखिएको छ। तिनले अगस्त १९४२ मा अमेरिकाको पेन्सिलभेनियामा २० वर्षको उमेरमा बप्तिस्मा गरे। बप्तिस्मा गरेको केही समयमै तिनलाई सेनामा भर्ती हुन आदेश दिइयो तर तिनले त्यसो गर्न इन्कार गरेकोले तिनलाई साढे दुई वर्षको जेल सजाय दिइयो। तिनी र तिनकी श्रीमती हिल्दाले दुई जना छोराछोरीलाई सत्यमा हुर्काए। वर्षौँको दौडान टोनीले तीन वटा मण्डलीमा मण्डलीका अध्यक्ष (अहिले एल्डरहरूको निकायको संयोजक भनिन्छ) र सम्मेलन निरीक्षकको रूपमा सेवा गरे। तिनी सभा सञ्चालन गर्न र कैदीहरूलाई बाइबल अध्ययन गराउन जेलमा पनि जान्थे। अहिले ९८ वर्ष पुगिसक्दा पनि टोनी यहोवाको सेवामा सक्रिय छन्‌। तिनले स्थानीय मण्डलीसितै मिलेर यहोवाको सेवामा सक्दो गर्दै छन्‌।

११. घरबाट निस्कन नसक्ने वृद्ध भाइबहिनीलाई कदर गरेको हामी कसरी देखाउन सक्छौँ?

११ घरबाट निस्कन नसक्ने वृद्ध भाइबहिनीलाई कदर गरेको हामी कसरी देखाउन सक्छौँ? एल्डरहरूले सम्भव भएसम्म तिनीहरूलाई मण्डलीका गतिविधिबाट लाभ उठाउन मदत गर्न सक्छन्‌। तिनीहरूलाई भेट्‌न गएर वा भिडियो च्याट गरेर हामी तिनीहरूलाई व्यक्‍तिगत चासो देखाउन सक्छौँ। होसियार भएनौँ भने हामीले तिनीहरूलाई सजिलै बिर्सन सक्छौँ। तिनीहरूमध्ये कसै-कसैलाई आफ्नो बारेमा कुरा गर्न अप्ठ्यारो लाग्न सक्छ। तर तिनीहरूको मनको कुरा निकाल्ने प्रयास गऱ्‍यौँ र तिनीहरूले यहोवाको सेवामा पाएको आनन्दबारे बताउँदा ध्यान दिएर सुन्यौँ भने हामीले धेरै लाभ उठाउनेछौँ।

१२. हाम्रो आफ्नै मण्डलीमा कस्ता भाइबहिनीहरू हुन सक्छन्‌?

१२ हाम्रो आफ्नै मण्डलीमा उत्कृष्ट उदाहरण बसालेका वफादार वृद्ध भाइबहिनीहरू छन्‌ भनेर थाह पाउँदा हामी छक्क पर्न सक्छौँ। बहिनी ह्‍यारियटले अमेरिकाको न्यु जर्सीमा भएको आफ्नो मण्डलीमा दशकौँसम्म वफादार भई सेवा गरिन्‌। त्यसपछि तिनी छोरीसित बस्न अर्को ठाउँमा बसाइँ सरिन्‌। नयाँ मण्डलीका भाइहरूले तिनलाई अझ राम्ररी चिन्‍ने प्रयास गरे र तिनी मण्डलीको लागि अनमोल छिन्‌ भनेर थाह पाए। तिनले उनीहरूलाई १९२० को दशकमा सत्य सिक्दा साक्षीकार्यमा बटुलेका अनुभवहरू सुनाएर प्रोत्साहन दिइन्‌। त्यो समयमा जतिबेला पनि पक्राउ पर्ने खतरा भएकोले तिनी साक्षीकार्यमा भाग लिँदा टुथब्रस सधैँ साथमै बोक्थिन्‌। तिनी १९३३ मा दुई चोटि पक्राउ परिन्‌ र दुवै चोटि एक हप्ता जेलमा बिताइन्‌। तिनका श्रीमान्‌ यहोवाको साक्षी थिएनन्‌। तैपनि उनले तिनलाई साथ दिए। तिनी जेलमा छँदा तिनका श्रीमान्‌ले तीन जना बच्चाको स्याहार गरे। ह्‍यारियटजस्तै वफादार वृद्ध भाइबहिनीहरू हाम्रो आदर पाउन साँच्चै योग्य छन्‌।

१३. यहोवाको सङ्‌गठनमा वृद्ध भाइबहिनीको स्थानबारे हामीले के सिक्यौँ?

१३ यहोवाको सङ्‌गठनमा हाम्रा वृद्ध भाइबहिनीको महत्त्वपूर्ण भूमिका छ। यहोवाले आफ्नो सङ्‌गठनलाई र तिनीहरूलाई पनि कसरी विभिन्‍न तरिकामा आशिष्‌ दिनुभएको छ भन्‍ने कुरा तिनीहरू आफैले अनुभव गरेका छन्‌। तिनीहरूले आफ्ना गल्तीहरूबाट महत्त्वपूर्ण पाठहरू सिकेका छन्‌। त्यसैले ती भाइबहिनीलाई “बुद्धिको मुहान”-को रूपमा हेर्नुहोस्‌ र तिनीहरूको अनुभवबाट सिक्नुहोस्‌। (हितो. १८:४) तिनीहरूलाई अझ राम्ररी चिन्‍न प्रयास गर्नुभयो भने तपाईँले तिनीहरूबाट थुप्रै कुरा सिक्नुहुनेछ र तपाईँको विश्‍वास बलियो हुनेछ।

वृद्ध भाइबहिनीको उदाहरणबाट पूरापूर लाभ उठाउनुहोस्‌

जसरी एलिसाले एलियासँगै रहेर थुप्रै लाभ उठाउन सके, त्यसरी नै भाइबहिनीले पनि लामो समयदेखि यहोवाको सेवा गरिरहेका वृद्धहरूको अनुभव सुनेर लाभ उठाउन सक्छन्‌ (अनुच्छेद १४-१५ हेर्नुहोस्‌)

१४. व्यवस्था ३२:७ ले जवानहरूलाई के गर्न प्रोत्साहन दिन्छ?

१४ वृद्ध भाइबहिनीसित आफै अग्रसर भएर कुराकानी गर्नुहोस्‌। (व्यवस्था ३२:७ पढ्‌नुहोस्‌।) हुनत तिनीहरूको आँखा धमिलो भइसक्यो होला, तिनीहरू पहिलाजति चलहल गर्न सक्दैनन्‌ होला र तिनीहरूको बोली पनि प्रस्ट छैन होला। तैपनि तिनीहरू यहोवाको सेवामा अझ धेरै गर्न चाहन्छन्‌ र तिनीहरूले यहोवाको नजरमा “असल नाम” कमाएका छन्‌। (उप. ७:१) यहोवा तिनीहरूलाई किन अनमोल ठान्‍नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। तिनीहरूको आदर गरिरहनुहोस्‌। एलिसाजस्तै हुनुहोस्‌। तिनले एलियासँगै बिताएको अन्तिम दिनमा उनीसँगै बस्न जिद्दी गर्दै तीन चोटिसम्म यसो भने: “म तपाईँलाई छोडेर जादिनँ।”—२ राजा २:२, ४, ६.

१५. वृद्ध भाइबहिनीलाई हामी कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ?

१५ वृद्ध भाइबहिनीको हृदयमा भएको कुरा तानेर निकाल्न दयालुपूर्वक प्रश्‍नहरू सोधेर तिनीहरूप्रति निष्कपट चासो देखाउनुहोस्‌। (हितो. १:५; २०:५; १ तिमो. ५:१, २) तिनीहरूलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: “तपाईँ जवान छँदा आफूले सत्य भेट्टाएको कुरामा केले गर्दा विश्‍वस्त हुनुभयो?” “आफूले बटुलेका अनुभवहरूले तपाईँलाई यहोवासित कसरी अझ नजिक बनायो?” “आनन्दित भई यहोवाको सेवा गरिरहन तपाईँलाई केले मदत गरेको छ?” (१ तिमो. ६:६-८) त्यसपछि तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌।

१६. वृद्धहरू र जवानहरूले एकअर्कासित कुराकानी गर्दा तिनीहरू दुवैले कसरी लाभ उठाउन सक्छन्‌?

१६ वृद्धहरू र जवानहरूले एकअर्कासित कुराकानी गर्दा तिनीहरू दुवैले लाभ उठाउन सक्छन्‌। (रोमी १:१२) यहोवा आफ्ना वफादार सेवकहरूको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा जवानहरू अझ पक्का हुन सक्नेछन्‌ र वृद्ध भाइबहिनीले पनि माया पाएको महसुस गर्नेछन्‌। साथै आफूले यहोवाबाट पाएका आशिष्‌हरूबारे तपाईँलाई बताउन पाउँदा तिनीहरू खुसी हुनेछन्‌।

१७. वफादार वृद्ध भाइबहिनी वर्षहरू बित्दै जाँदा यहोवाको नजरमा कसरी झन्‌झन्‌ सुन्दर हुँदै जान्छन्‌?

१७ बाहिरी सुन्दरता अक्सर उमेरसँगै बिलाएर जान्छ तर यहोवाप्रति वफादार रहनेहरू भने वर्षहरू बित्दै जाँदा उहाँको नजरमा झन्‌झन्‌ सुन्दर हुँदै जान्छन्‌। (१ थिस्स. १:२, ३) कसरी? वर्षौँको दौडान पवित्र शक्‍तिको मदत स्विकार्दै तिनीहरू यहोवाले चाहनुभएको आकारमा ढालिन तयार भएका छन्‌ र आफूमा सुन्दर गुणहरू विकास गरेका छन्‌। वृद्ध भाइबहिनीलाई अझ राम्ररी चिन्‍न, तिनीहरूको आदर गर्न र तिनीहरूबाट सिक्न हामी जत्ति धेरै प्रयास गर्छौँ, तिनीहरूलाई त्यत्ति नै अनमोल ठान्‍न सक्नेछौँ।

१८. यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?

१८ जवानहरूले वृद्धहरूलाई मात्र होइन तर वृद्धहरूले पनि जवानहरूलाई अनमोल ठान्दा मण्डली बलियो हुँदै जान्छ। वृद्धहरूले मण्डलीका जवानहरूलाई अनमोल ठानेको कसरी देखाउन सक्छन्‌, त्यसबारे यसपछिको लेखमा छलफल गर्नेछौँ।

गीत १४४ इनाममा दृष्टि राखौँ!

^ अनु. 5 हाम्रा वफादार वृद्ध भाइबहिनी अनमोल छन्‌। यस लेखमा तिनीहरूप्रतिको आफ्नो कृतज्ञता बढाउन प्रोत्साहन दिइएको छ अनि तिनीहरूको बुद्धि र अनुभवबाट हामी कसरी पूरापूर लाभ उठाउन सक्छौँ भनेर छलफल गरिएको छ। यस लेखमा वृद्ध भाइबहिनीलाई तिनीहरूले परमेश्‍वरको सङ्‌गठनमा महत्त्वपूर्ण स्थान पाएका छन्‌ भन्‍ने आश्‍वासन पनि दिइएको छ।