सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४०

‘थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्‍याइनेछ’

‘थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्‍याइनेछ’

“थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्‍याउनेहरूचाहिँ सदासर्वदा ताराजस्तै चम्किनेछन्‌।”—दानि. १२:३.

गीत १५१ जिउनेछन्‌ मृतक फेरि

परिचय *

१. हजार वर्षीय शासनको दौडान कस्ता रोमाञ्चकारी घटनाहरू हुनेछन्‌?

 ख्रिष्टको हजार वर्षीय शासनको दौडान पृथ्वीमा मानिसहरूलाई फेरि जीवित पार्ने काम सुरु हुनेछ। त्यो क्षण कत्ति रमाइलो हुनेछ, कल्पना गर्नुहोस्‌ त! मानिसहरू आफूले गुमाएका प्रियजनहरूलाई फेरि भेट्‌ने तीव्र इच्छा गर्छन्‌। यहोवा परमेश्‍वर पनि त्यस्तै इच्छा गर्नुहुन्छ। (अय्यु. १४:१५) प्रियजनहरूसित पुनर्मिलन हुँदा मानिसहरू कत्ति खुसी हुनेछन्‌! हामीले अघिल्लो लेखमा सिकेझैँ जीवनको पुस्तकमा नाम लेखिएका ‘धर्मीहरू’ “जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌।” (प्रेषि. २४:१५; युह. ५:२९) सायद हाम्रा प्रियजनमध्ये धेरैजसो आरमागेडोनको केही समयपछि नै फेरि जीवित हुनेछन्‌। * साथै ‘अधर्मीहरू,’ जस्तै: यहोवाबारे सिक्ने पर्याप्त मौका नपाएका र मृत्युअघि उहाँको सेवा गर्न नपाएकाहरू “न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌।”

२-३. (क) यसैया ११:९, १० मा सङ्‌केत गरिएअनुसार बृहत्‌ शैक्षिक कार्यक्रम किन आयोजना गरिनेछ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

फेरि जीवित भएका मानिसहरूले धेरै कुरा सिक्नुपर्नेछ। (यसै. २६:९; ६१:११) त्यसैले त्यतिबेला मानव इतिहासकै सबैभन्दा ठूलो शैक्षिक कार्यक्रम आयोजना गर्नुपर्नेछ। (यसैया ११:९, १० पढ्‌नुहोस्‌।) किन? एउटा कारण, फेरि जीवित भएका अधर्मीहरूले येसु ख्रिष्ट, परमेश्‍वरको राज्य, फिरौतीको बलिदान अनि यहोवाको नाम र सार्वभौमिकता मुछिएको विवादबारे सिक्नुपर्नेछ। धर्मीहरूले पनि यहोवाले आफ्नो उद्देश्‍यबारे क्रमिक रूपमा प्रकट गर्नुभएका कुराहरू थाह पाउनुपर्नेछ। तिनीहरूमध्ये केही वफादार सेवक सम्पूर्ण बाइबल लेखेर सकिनुभन्दा धेरै समयअघि नै मरिसकेका थिए। त्यसैले धर्मी र अधर्मी दुवैले धेरै कुरा सिक्नुपर्नेछ।

यस लेखमा हामी यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ: नयाँ संसारमा बृहत्‌ शैक्षिक कार्यक्रम कसरी सञ्चालन गरिनेछ? अनि त्यतिबेला सिकेको कुरा लागू गर्ने र नगर्नेहरूलाई के हुनेछ? हामीले यी प्रश्‍नहरूको जवाफ पाउनु महत्त्वपूर्ण छ। दानिएल र प्रकाशको किताबमा उल्लेख गरिएका केही रोचक भविष्यवाणीले मरेका मानिसहरू फेरि जीवित हुँदा के हुनेछ भनेर अझ स्पष्टसित बुझ्न मदत गर्नेछ। सुरुमा दानिएल १२:१, २ मा भविष्यवाणी गरिएका रोचक घटनाहरूबारे छलफल गरौँ।

“माटोमा मिलिसकेका थुप्रै मानिस ब्युँतनेछन्‌”

४-५. अन्तको समयबारे दानिएल १२:१ मा के बताइएको छ?

दानिएल १२:१ पढ्‌नुहोस्‌। दानिएलको किताबले अन्तको समयको दौडान हुने रोमाञ्चकारी घटनाहरू कुन क्रममा हुनेछन्‌ भनेर प्रकट गर्छ। जस्तै, दानिएल १२:१ ले माइकल अर्थात्‌ येसु ख्रिष्ट परमेश्‍वरका मानिसहरूको ‘पक्ष लिन खडा हुनेछन्‌’ भनेर बताउँछ। येसु १९१४ मा स्वर्गीय राज्यको राजा नियुक्‍त हुनुहुँदा भविष्यवाणीको यो भाग पूरा हुन थाल्यो।

तर दानिएलले ‘राष्ट्रहरू बनेदेखि अहिलेसम्म कहिल्यै नआएको सङ्‌कटको समयको’ दौडान येसु “खडा” हुनुहुनेछ भनेर पनि बताए। यो “सङ्‌कटको समय” मत्ति २४:२१ मा उल्लेख गरिएको “महासङ्‌कष्ट” हो। येसु सङ्‌कटको समयको अन्तमा अर्थात्‌ आरमागेडोनमा परमेश्‍वरका मानिसहरूको पक्षमा खडा हुनुहुनेछ। प्रकाशको किताबमा तिनीहरूलाई ‘महासङ्‌कष्ट पार गरेर आएको’ ठूलो भीडको रूपमा चित्रण गरिएको छ।—प्रका. ७:९, १४.

६. ठूलो भीडले महासङ्‌कष्ट पार गरेपछि के हुनेछ? व्याख्या गर्नुहोस्‌। (पृथ्वीमा फेरि जीवित हुनेहरूबारे चर्चा गरिएको यस अङ्‌कको “पाठकहरूको प्रश्‍न” पनि हेर्नुहोस्‌।)

दानिएल १२:२ पढ्‌नुहोस्‌। ठूलो भीडले यस सङ्‌कटको समय पार गरेपछि के हुनेछ? हाम्रो पहिलाको बुझाइ यस भविष्यवाणीले अन्तको दिनको दौडान परमेश्‍वरका मानिसहरू प्रतीकात्मक वा आध्यात्मिक रूपमा फेरि जीवित हुने कुरालाई बुझाउँछ भन्‍ने थियो। तर यी शब्दहरूले नयाँ संसारमा मरेकाहरूलाई फेरि जीवित पारिने कुरालाई बुझाउँछ। * हामी किन यस्तो निष्कर्षमा पुग्न सक्छौँ? अय्युब १७:१६ मा “माटो” शब्द “चिहान”-लाई बुझाउन पनि प्रयोग गरिएको छ। त्यसैले दानिएल १२:२ ले अन्तको दिन र आरमागेडोन सकिएपछि मरेकाहरू जीवित हुने कुरालाई बुझाउँछ भन्‍ने निष्कर्षमा पुग्न सक्छौँ।

७. (क) केही मानिस कुन अर्थमा “अनन्त जीवन पाउन” फेरि जीवित हुनेछन्‌? (ख) तिनीहरूको पुनर्जीवन कुन अर्थमा “उत्तम” हुनेछ?

दानिएल १२:२ मा केही मानिस “अनन्त जीवन पाउन” फेरि जीवित हुनेछन्‌ भनिएको छ। यसको अर्थ के हो? यसको अर्थ हजार वर्षको दौडान फेरि जीवित भएकाहरूमध्ये जसले यहोवा र येसुलाई चिन्छन्‌ वा चिन्‍ने प्रयास गरिरहन्छन्‌ अनि उहाँहरूको आज्ञा पालन गर्छन्‌, तिनीहरूले अन्ततः अनन्त जीवन पाउनेछन्‌। (युह. १७:३) विगतमा फेरि जीवित पारिएकाहरूको भन्दा तिनीहरूको पुनर्जीवन “उत्तम” हुनेछ। (हिब्रू ११:३५) किनभने विगतका ती त्रुटिपूर्ण मानिसहरू फेरि मरे।

८. केही मानिस कुन अर्थमा “बेइज्जती र अनन्त घृणा सहन ब्युँतनेछन्‌”?

तर फेरि जीवित भएर आएकाहरूमध्ये केही मानिसले यहोवाको शिक्षा सिक्न चाहनेछैनन्‌। दानिएलले गरेको भविष्यवाणीअनुसार केही मानिस “बेइज्जती र अनन्त घृणा सहन ब्युँतनेछन्‌।” ती मानिसहरूले विद्रोही मनोभाव देखाउनेछन्‌। त्यसैले तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिनेछैन र तिनीहरूले अनन्त जीवन पनि पाउनेछैनन्‌। बरु तिनीहरूले “अनन्त घृणा” अर्थात्‌ विनाश भोग्नेछन्‌। त्यसैले दानिएल १२:२ मा पाइने शब्दहरूले मानिसहरूले फेरि जीवित भएपछि जस्तो काम गर्छन्‌, त्यसको आधारमा भोग्ने अन्तिम नतिजालाई बुझाउँछ। * (प्रका. २०:१२) तिनीहरूमध्ये केहीले अनन्त जीवन पाउनेछन्‌ भने केहीले पाउनेछैनन्‌।

‘थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्‍याइनेछ’

९-१०. महासङ्‌कष्टपछि अरू के हुनेछ र “आकाश मण्डलको चमकजस्तै चम्किने” मानिसहरू को हुन्‌?

दानिएल १२:३ पढ्‌नुहोस्‌। “सङ्‌कटको समय”-पछि अरू के हुनेछ? दानिएल १२:२ मा जस्तै पद ३ मा पनि महासङ्‌कष्टपछि हुने कुराबारे बताइएको छ।

१० “आकाश मण्डलको चमकजस्तै चम्किने” मानिसहरू को हुन्‌? येसुले मत्ति १३:४३ मा भन्‍नुभएको कुरामा ती मानिसहरू को हुन्‌ भन्‍ने सङ्‌केत पाइन्छ। उहाँले यसो भन्‍नुभयो: “धर्मीहरू भने त्यसबेला आफ्ना बुबाको राज्यमा सूर्यझैँ चम्किनेछन्‌।” यस पदको प्रसङ्‌ग हेर्ने हो भने येसुले “राज्यका सन्तान” अर्थात्‌ अभिषिक्‍त जनहरूबारे कुरा गर्दै हुनुहुन्थ्यो, जसले स्वर्गको राज्यमा उहाँसँगै शासन गर्नेछन्‌। (मत्ति १३:३८) त्यसैले दानिएल १२:३ ले अभिषिक्‍त जनहरू र हजार वर्षीय शासनको दौडान तिनीहरूले गर्ने कामलाई सङ्‌केत गरेको हुनुपर्छ।

एक लाख ४४ हजारले येसुलाई हजार वर्षको दौडान हुने शैक्षिक कार्यक्रममा सघाउनेछन्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११-१२. हजार वर्षको दौडान १ लाख ४४ हजारले कस्ता कामहरू गर्नेछन्‌?

११ अभिषिक्‍त जनहरूले कसरी ‘थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्‍याउनेछन्‌?’ तिनीहरूले हजार वर्षीय शासनको दौडान पृथ्वीमा सञ्चालन गरिने शैक्षिक कार्यक्रममा येसु ख्रिष्टलाई सघाउनेछन्‌। ती १ लाख ४४ हजारले शासकको रूपमा मात्र नभई पुजारीको रूपमा पनि सेवा गर्नेछन्‌। (प्रका. १:६; ५:१०; २०:६) तिनीहरूले “जातिजातिका मानिसहरूलाई निको” पार्ने काममा सघाउनेछन्‌ अर्थात्‌ मानिसहरूलाई बिस्तारै त्रुटिरहित अवस्थामा पुग्न मदत गर्नेछन्‌। (प्रका. २२:१, २; इज. ४७:१२) यस्ता कामहरूमा सघाउन पाउँदा अभिषिक्‍त जनहरू कत्ति खुसी हुनेछन्‌!

१२ धार्मिकताको बाटोमा डोऱ्‍याइने “थुप्रै”-मा को-को पर्छन्‌? मृत्युबाट फेरि जीवित भएकाहरू, जिउँदै आरमागेडोन पार गरेकाहरू र नयाँ संसारमा जन्मन सक्ने केटाकेटीहरू। हजार वर्षको अन्तसम्ममा पृथ्वीका सबै मानिस त्रुटिरहित हुनेछन्‌। त्यसोभए तिनीहरूको नाम जीवनको पुस्तकमा कहिल्यै नमेटिने गरी कहिले लेखिनेछ?

अन्तिम जाँच

१३-१४. सबै त्रुटिरहित मानिसले अनन्त जीवन पाउन के गर्नुपर्नेछ?

१३ मानिसहरू त्रुटिरहित हुँदैमा तिनीहरूले स्वतः अनन्त जीवन पाउनेछन्‌ भन्‍ने होइन। आदम र हव्वालाई विचार गरौँ। तिनीहरू त्रुटिरहित थिए तर अनन्त जीवन पाउनको लागि तिनीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गर्नुपर्थ्यो। तर दुःखको कुरा, तिनीहरूले जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे।—रोमी ५:१२.

१४ हजार वर्षको अन्तसम्ममा पृथ्वीका मानिसहरूको अवस्था कस्तो हुनेछ? सबै मानिस त्रुटिरहित अवस्थामा पुगिसकेका हुनेछन्‌। के सबै त्रुटिरहित मानिसले सधैँभरि परमेश्‍वरको शासनलाई समर्थन गर्नेछन्‌? अथवा त्रुटिरहित भए तापनि कोही-कोही आदम र हव्वाजस्तै परमेश्‍वरप्रति अवफादार हुनेछन्‌? आउनुहोस्‌, यसबारे विचार गरौँ।

१५-१६. (क) सबै मानिसले यहोवाप्रति वफादारी देखाउने मौका कहिले पाउनेछन्‌? (ख) यस जाँचको अन्तिम नतिजा के हुनेछ?

१५ सैतानलाई हजार वर्षसम्म कैदमा राखिनेछ। त्यतिबेला त्यसले कसैलाई पनि बहकाउन सक्नेछैन। तर हजार वर्षको अन्तमा सैतानलाई कैदबाट मुक्‍त गरिनेछ। त्यसपछि त्यसले त्रुटिरहित मानिसहरूलाई बहकाउन खोज्नेछ। त्यस जाँचको समयमा सबै त्रुटिरहित मानिसले परमेश्‍वरको नाम र सार्वभौमिकताको विवादमा आफू कसको पक्षमा छु भनेर देखाउने मौका पाउनेछन्‌। (प्रका. २०:७-१०) सैतानले बहकाउँदा हामीले कस्तो प्रतिक्रिया देखाउनेछौँ, त्यसले नै हाम्रो नाम जीवनको पुस्तकमा कहिल्यै नमेटिने गरी लेखिनेछ कि छैन भन्‍ने कुरा निर्धारण गर्नेछ।

१६ केही मानिसले आदम र हव्वाले जस्तै यहोवा परमेश्‍वरको शासनलाई तिरस्कार गर्नेछन्‌। ती विद्रोही मानिसहरूलाई के हुनेछ? प्रकाश २०:१५ यसो भन्छ: “ज-जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन, तिनीहरूलाई . . . अग्निकुण्डमा हुर्ऱ्याइयो।” हो, ती विद्रोहीहरूले अनन्त विनाश भोग्नेछन्‌। तर धेरैजसो त्रुटिरहित मानिस विश्‍वासको अन्तिम जाँचमा पास हुनेछन्‌। त्यसपछि मात्र जीवनको पुस्तकमा तिनीहरूको नाम कहिल्यै नमेटिने गरी लेखिनेछ।

“अन्तको समय”-मा

१७. अन्तको समयबारे स्वर्गदूतले दानिएललाई के बताए? (दानिएल १२:४, ८-१०)

१७ भविष्यमा हुने यी घटनाहरूबारे सोच्दा हामी कत्ति उत्साहित हुन्छौँ! एक जना स्वर्गदूतले दानिएललाई हामी बाँचिरहेको अन्तको समयबारे केही महत्त्वपूर्ण कुरा बताए। (दानिएल १२:४, ८-१० पढ्‌नुहोस्‌; २ तिमो. ३:१-५) ती स्वर्गदूतले दानिएललाई “साँचो ज्ञान प्रशस्त हुनेछ” भनेर बताए। हो, अन्तको समयमा दानिएलको किताबका भविष्यवाणीहरू परमेश्‍वरका मानिसहरूले अझ राम्ररी बुझ्ने थिए। यस समयबारे ती स्वर्गदूतले यसो पनि भने: “दुष्टहरूचाहिँ दुष्ट काममै लागिरहनेछन्‌; तिनीहरू कसैले पनि यी वचनहरू बुझ्नेछैनन्‌।”

१८. अब चाँडै दुष्टहरूलाई के हुनेछ?

१८ आज दुष्ट मानिसहरूले तिनीहरूको दुष्ट कामको सजाय नपाएको जस्तो देखिएला। (मला. ३:१४, १५) तर चाँडै येसुले बाख्राखाले मानिसहरूलाई भेडाखाले नम्र मानिसहरूबाट छुट्ट्याउनुहुनेछ। (मत्ति २५:३१-३३) ती दुष्ट मानिसहरू महासङ्‌कष्टमा बच्नेछैनन्‌ र तिनीहरू नयाँ संसारमा फेरि जीवित पनि हुनेछैनन्‌। तिनीहरूको नाम मलाकि ३:१६ मा बताइएको ‘सम्झनाको पुस्तकमा’ हुनेछैन।

१९. अहिले के गर्ने समय हो र किन? (मलाकि ३:१६-१८)

१९ हामी दुष्ट मानिसहरू होइनौँ भनेर आफ्नो आचरणद्वारा देखाउने समय अहिल्यै हो। (मलाकि ३:१६-१८ पढ्‌नुहोस्‌।) यहोवा अहिले आफ्ना मानिसहरूलाई जम्मा गर्दै हुनुहुन्छ, जसलाई उहाँ “विशेष सम्पत्ति” ठान्‍नुहुन्छ। हामी पक्कै पनि ती मानिसहरूमध्ये हुन चाहन्छौँ।

दानिएल, हाम्रा प्रियजनहरू र अरू थुप्रै मानिस नयाँ संसारमा आफ्नो भाग पाउन “खडा” भएको देख्न पाउँदा हामी कत्ति खुसी हुनेछौँ! (अनुच्छेद २० हेर्नुहोस्‌)

२०. यहोवाले दानिएलसित कुन अन्तिम प्रतिज्ञा गर्नुभयो र तपाईँ त्यो प्रतिज्ञा पूरा भएको हेर्न किन उत्सुकतासाथ प्रतीक्षा गर्नुहुन्छ?

२० हामी रोमाञ्चकारी समयमा बाँचिरहेका छौँ। तर हामीले अझै आश्‍चर्यलाग्दा घटनाहरू देख्न बाँकी नै छ। हामीले सबै दुष्ट नाश भएको देख्नेछौँ। त्यसपछि यहोवाले दानिएलसित गर्नुभएको यो प्रतिज्ञा पूरा भएको हामी देख्नेछौँ: “तोकिएको समय आएपछि तिमी आफ्नो भाग पाउन खडा हुनेछौ।” (दानि. १२:१३) के तपाईँ दानिएल र आफ्ना प्रियजनहरू फेरि “खडा” भएको हेर्ने दिनको उत्सुकतासाथ प्रतीक्षा गर्नुहुन्छ? गर्नुहुन्छ भने वफादार रहिरहन सक्दो प्रयास गर्नुहोस्‌। यसो गर्नुभयो भने जीवनको पुस्तकमा तपाईँको नाम रहिरहनेछ।

गीत ८० ‘चाखेर हेर यहोवा छन्‌ भलो’

^ यस लेखमा दानिएल १२:२, ३ मा बताइएको बृहत्‌ शैक्षिक कार्यक्रमबारे हाम्रो बुझाइमा गरिएको छाँटकाँटबारे छलफल गरिएको छ। यो कार्यक्रम कहिले हुनेछ र यसमा क-कसले भाग लिनेछन्‌ भनेर हामी बुझ्नेछौँ। ख्रिष्टको हजार वर्षीय शासनको अन्तमा हुने अन्तिम जाँचको लागि यस कार्यक्रमले पृथ्वीमा रहेकाहरूलाई कसरी तयार पार्नेछ भनेर पनि बुझ्नेछौँ।

^ अन्तको दिनको दौडान वफादार भएर मरेकाहरूदेखि सुरु गरेर उल्टो क्रममा एकपछि अर्को पुस्ता गर्दै मृतकहरूलाई जीवित पारिन सक्छ। यदि त्यसो हुने हो भने प्रत्येक पुस्ताले आफूले चिनेकाहरूलाई स्वागत गर्ने मौका पाउनेछन्‌। बाइबलमा स्वर्ग जान फेरि जीवित हुनेहरू “क्रमअनुसार” जीवित हुनेछन्‌ भनेर बताइएको छ। त्यसैले पृथ्वीमा पनि मृतकहरूलाई त्यसरी नै क्रमअनुसार व्यवस्थित तरिकामा जीवित पारिनेछ भनेर हामी अनुमान लगाउन सक्छौँ।—१ कोरि. १४:३३; १५:२३.

^ यो हाम्रो बुझाइमा गरिएको छाँटकाँट हो। पहिलाको बुझाइ दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! किताबको अध्याय १७जुलाई १, १९८७ अङ्‌कको प्रहरीधरहरा, (अङ्‌ग्रेजी) पृष्ठ २१-२५ मा पाइन्छ।

^ तर प्रेषित २४:१५ मा उल्लेख गरिएको “धर्मी” र “अधर्मी” भन्‍ने शब्द अनि युहन्‍ना ५:२९ मा चलाइएको “ज-जसले असल काम गरे” र “ज-जसले खराब काम गरे” भन्‍ने अभिव्यक्‍तिले भने फेरि जीवित भएकाहरूले आफ्नो मृत्युअघि गरेको कामलाई बुझाउँछ।