जीवनी
मलाई यहोवाबारे सिक्न र सिकाउन रमाइलो लाग्छ
म अमेरिकाको पेन्सिलभेनियाको इस्टनमा हुर्केँ। म विश्वविद्यालयमा राम्रो गरेर भविष्यमा केही बन्न चाहन्थेँ। मलाई गणित र विज्ञान विषय मन पर्थ्यो अनि त्यसमा राम्रै गरिरहेको थिएँ। सन् १९५६ मा मैले काला जातिका विद्यार्थीहरूमध्ये सबैभन्दा धेरै अङ्क ल्याएकोले नागरिक अधिकारसम्बन्धी सङ्गठनले मलाई २५ डलर दियो। पछि मेरो लक्ष्य परिवर्तन भयो। किन?
मैले यहोवाबारे कसरी सिकेँ?
सन् १९४० को दशकको सुरु-सुरुतिर मेरो आमाबुबाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन थाल्नुभयो। पछि उहाँहरूले अध्ययन छोड्नुभयो तर आमाले प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका भने लिइरहनुहुन्थ्यो। सन् १९५० मा न्यु योर्कमा अन्तरराष्ट्रिय अधिवेशन भएको थियो। हामी सपरिवार त्यस अधिवेशनमा गयौँ।
त्यसको केही समयपछि लरेन्स जेफ्रिज दाइ हाम्रो घरमा आउन थाल्नुभयो। उहाँले मलाई बाइबलको सत्य सिकाउनुभयो। यहोवाका साक्षीहरू राजनीति र युद्धमा भाग लिँदैनन् भन्ने कुरा सुरुमा त मलाई चित्तै बुझेन। अमेरिकाको कोही पनि युद्धमा नजाने हो भने शत्रुहरूले आक्रमण गरेर पूरै देश कब्जा गरिहाल्छ नि भनेर मैले भनेँ। जेफ्रिज दाइले धैर्य गर्दै यसरी तर्क गर्नुभयो: “तिमीलाई कस्तो लाग्छ, अमेरिकाको सबै जनता यहोवाको सेवा गर्छन् र तिनीहरूमाथि शत्रुहरूले आक्रमण गरे भने यहोवा परमेश्वरले हेरेर बस्नुहोला र?” यो अनि अन्य विषयमा उहाँले बताउनुभएको कुरा सुनेर मैले आफ्नो कुरा आधारहीन रहेछ भनेर बुझेँ। त्यसपछि बाइबल सत्यमा मेरो चासो जाग्न थाल्यो।
आमाले थन्काएर राख्नुभएको पुरानो अङ्कको प्रहरीधरहरा र ब्यूँझनुहोस्! म घण्टौँ पढ्ने गर्थेँ। आफूले पढिरहेको कुरा सत्य हो भनेर मैले महसुस गरेँ। त्यसैले जेफ्रिज दाइसँग बाइबल अध्ययन गर्न म राजी भएँ। नियमित रूपमा सभाहरू पनि जान थालेँ। सत्यप्रतिको मेरो प्रेम बढ्दै गयो र म प्रकाशक भएँ। “यहोवाको महान् दिन नजिकै छ” भन्ने कुरा बुझेपछि मेरो लक्ष्य परिवर्तन भयो। (सप. १:१४) अब म विश्वविद्यालयको शिक्षा हासिल गर्ने लक्ष्य त्यागेर मानिसहरूलाई बाइबलको सत्य सिकाउन चाहन्थेँ।
जून १३, १९५६ मा स्कुलको पढाइ सकियो र त्यसको तीन दिनपछि मैले क्षेत्रीय सम्मेलनमा बप्तिस्मा गरेँ।
यहोवाबारे सिक्न र सिकाउन आफ्नो पूरै समय दिँदा यत्ति धेरै आशिष् पाइन्छ भनेर मैले सोचेको पनि थिइनँ।अग्रगामीको रूपमा सिक्दै र सिकाउँदै
बप्तिस्मा गरेको छ महिनापछि मैले नियमित अग्रगामी सेवा सुरु गरेँ। डिसेम्बर १९५६ को राज्य सेवा-मा (अङ्ग्रेजी) “के तपाईँ आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न सक्नुहुन्छ?” भन्ने लेख छापिएको थियो। त्यो प्रश्न मलाई नै सोधिएको जस्तो लाग्यो। म प्रकाशकहरू थोरै भएको ठाउँमा गएर सेवा गर्न चाहन्थेँ।—मत्ति २४:१४.
म साउथ क्यारोलिनाको एजफिल्डमा सरेँ। त्यहाँको मण्डलीमा जम्मा चार जना प्रकाशक थिए। म गएपछि पाँच जना भयो। हामी एक जना भाइको घरमा सभा गर्थ्यौँ। हरेक महिना म क्षेत्र सेवामा १०० घण्टा बिताउँथेँ। क्षेत्र सेवामा नेतृत्व लिने अनि सभाका भागहरू सञ्चालन गर्ने काममा म व्यस्त हुन्थेँ। म जत्ति धेरै मण्डलीको काममा व्यस्त भएँ, यहोवाबारे त्यत्ति नै धेरै सिकेँ।
नजिकैको सहर जोनस्टनमा एक जना दिदी अन्त्येष्टि गृह चलाउनुहुन्थ्यो। म उहाँलाई बाइबल अध्ययन गराउँथेँ। त्यतिबेला मलाई पार्ट-टाइम कामको एकदमै खाँचो थियो। उहाँले मलाई काम दिनुभयो र सभाको लागि एउटा सानो भवन पनि चलाउन दिनुभयो।
मलाई अध्ययन गराउनुभएको जेफ्रिज दाइको छोरा जोलि ब्रुक्लिनबाट एजफिल्डमा सरे। हामीले सँगै अग्रगामी सेवा गऱ्यौँ। एक जना भाइले हामीलाई बस्नको लागि सानो ट्रेलर (गाडीले तानेर यताउता लैजान मिल्ने सानो घर) दिनुभयो।
अमेरिकाको दक्षिणी भागमा पारिश्रमिक निकै कम पाइन्थ्यो। हामी दिनको दुई-तीन डलर मात्र कमाउँथ्यौँ। एकचोटि एउटा किराना पसलमा केही खानेकुरा किन्दा मसँग बाँकी भएको केही पैसा पनि सकियो। त्यहाँबाट निस्कँदै गर्दा एक जना मानिसले मलाई यस्तो सोधे: “तिमीलाई काम चाहिन्छ? घण्टाको एक डलर दिन्छु।” त्यसपछि ती मानिसले निर्माणस्थलमा सरसफाइ गर्ने तीन दिनको काम दिए। यहोवा म एजफिल्डमै रहेर सेवा गरेको चाहनुहुन्छ भन्ने कुरा यसबाट स्पष्ट भयो। यस्तो अवस्थामा पनि म १९५८ मा न्यु योर्कमा भएको अन्तरराष्ट्रिय अधिवेशनमा जान सकेँ।
अधिवेशनको दोस्रो दिन एउटा विशेष कुरा भयो। मैले रुबी वाड्लिङ्टनलाई भेटेँ। तिनी टेनिसीको ग्यालटनमा नियमित अग्रगामीको रूपमा सेवा गर्दै थिइन्। हामी दुवैको मिसनरी सेवा गर्ने इच्छा भएकोले अधिवेशनमा हुने गिलियड सभामा बस्यौँ। पछि हामीले एकअर्कालाई चिठी लेख्न थाल्यौँ। एकचोटि मलाई ग्यालटनमा जनभाषण दिन बोलाइयो। यस मौकामा मैले रुबीलाई विवाह प्रस्ताव राखेँ। म तिनको मण्डलीमा सरेँ र हामीले १९५९ मा विवाह गऱ्यौँ।
मण्डलीमा सिक्दै र सिकाउँदै
म २३ वर्षको हुँदा ग्यालटनमा मण्डली सेवकको (अहिले एल्डरहरूको निकायको संयोजक भनिन्छ) रूपमा नियुक्त भएँ। चार्ल्स थम्पसन क्षेत्रीय निरीक्षक हुनुभएपछि सबैभन्दा पहिला हाम्रो मण्डलीमा भ्रमणको लागि आउनुभयो। उहाँ अनुभवी हुनुहुन्थ्यो तैपनि उहाँ भाइबहिनीको आवश्यकता के हो अनि अरू क्षेत्रीय
निरीक्षकहरूले तिनीहरूलाई कसरी मदत गर्नुहुन्थ्यो भनेर मलाई सोध्नुहुन्थ्यो। मैले उहाँबाट प्रश्नहरू सोध्नु र कुनै निर्णय गर्नुअघि सबै तथ्य बुझ्नु राम्रो हो भनेर सिकेँ।मैले मे १९६४ मा न्यु योर्कको साउथ लानसिङमा आयोजना हुने एक महिने राज्य सेवा स्कुलमा उपस्थित हुने निम्तो पाएँ। स्कुलमा सिकेका कुराहरूले मलाई यहोवाबारे अझ धेरै सिक्न र उहाँसित अझै घनिष्ठ हुन उत्प्रेरित गऱ्यो।
क्षेत्रीय र जिल्ला निरीक्षकको रूपमा सिक्दै र सिकाउँदै
मैले जनवरी १९६५ मा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने निम्तो पाएँ। हामीलाई टेनेसीको नक्सभिलेदेखि भर्जिनियाको रिच्मोन्डसम्मको ठूलो इलाकामा खटाइयो। यसमा नर्थ क्यारोलिना, केन्टकी र वेस्ट भर्जिनियाका मण्डलीहरू पनि पर्थे। त्यतिबेला अमेरिकाको दक्षिणी भागमा काला जाति र गोरा जातिहरू एक ठाउँमा भेला हुन निषेध गरिएकोले म काला जातिका मण्डलीहरूमा मात्रै भ्रमणको लागि जान्थेँ। त्यहाँका भाइबहिनीहरू गरिब हुनुहुन्थ्यो। हामीले आफूसित भएको कुरा खाँचोमा परेका भाइबहिनीसित बाँडचुँड गर्न सिक्यौँ। लामो समयदेखि क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नुभएको दाइले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउनुभयो: “मण्डलीमा हाकिमको रूपमा होइन, एक जना भाइको रूपमा जानुहोस्। उहाँहरूले तपाईँलाई आफ्नो भाइ सम्झनुभयो भने मात्र तपाईँले तिनीहरूलाई मदत गर्न सक्नुहुनेछ।”
एउटा सानो मण्डलीको भ्रमणमा जाँदा रुबीले एक युवतीसित बाइबल अध्ययन सुरु गरिन्। तिनको एक वर्षकी छोरी थिई। तिनलाई अध्ययन गराउन मण्डलीमा कोही उपलब्ध नहुँदा रुबीले तिनलाई चिठीबाट अध्ययन गराउँथिन्। अर्को भ्रमणमा ती युवती सबै सभामा उपस्थित भइन्। त्यस मण्डलीमा दुई जना विशेष अग्रगामी बहिनी सरेर आएपछि तिनीहरूले ती युवतीलाई नियमित रूपमा अध्ययन गराउन थाले र तिनले चाँडै बप्तिस्मा पनि गरिन्। त्यसको लगभग ३० वर्षपछि १९९५ मा प्याटर्सन बेथेलमा एक जवान बहिनी रुबीसित कुरा गर्न आइन्। ती बहिनी तिनै युवतीकी छोरी थिइन्। उनी र उनका श्रीमान् गिलियड स्कुलको १०० औँ कक्षाका विद्यार्थी थिए।
हामीले सेवा गरेको दोस्रो क्षेत्र मध्य फ्लोरिडा थियो। त्यस क्षेत्रमा सेवा गर्न हामीलाई एउटा कारको खाँचो पऱ्यो। त्यसैले हामीले एकदमै सस्तो मूल्यमा एउटा कार किन्यौँ। तर किनेको पहिलो हप्तामै त्यसको वाटर पम्प बिग्रियो। हामीसँग कार मर्मत गर्ने पैसा पनि थिएन। हामीलाई मदत गर्न सक्ने एक जना भाइलाई मैले फोन गरेँ। ती भाइले आफ्नो कामदारलाई हाम्रो कार बनाउन लगाउनुभयो र पैसा पनि लिन मान्नुभएन। उहाँले “केही दिइराख्नुपर्दैन!” मात्र भन्नुभयो। उल्टै उहाँले हामीलाई उपहारको रूपमा केही पैसा दिनुभयो। यहोवा आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो। यस घटनाले हामीलाई अरूप्रति उदार हुनुपर्छ भन्ने कुरा सम्झायो।
हामी भ्रमणमा जाँदा भाइबहिनीको घरमा बस्ने गर्थ्यौँ। यसले गर्दा हामीले थुप्रै असल साथी बनाउन सक्यौँ। एकदिन म टाइपराइटरमा मण्डलीको रिपोर्ट तयार पार्दै थिएँ। तर केही काम परेकोले म त्यो काम बीचैमा छोडेर बाहिर निस्केँ। साँझ घर फर्कँदा त त्यस परिवारको तीन वर्षको छोराले जथाभाबी टाइप गरेर पूरै काम सकाइदिसकेको रहेछ! म वर्षौँसम्म पनि त्यही कुरा भनेर उसलाई जिस्काउने गर्थेँ।
सन् १९७१ मा मलाई न्यु योर्कमा जिल्ला निरीक्षकको रूपमा खटाइएको पत्र पाएँ। हामी छक्क पऱ्यौँ। हामी त्यहाँ सर्दा म ३४ वर्षको मात्र थिएँ। त्यहाँका भाइबहिनीले मलाई न्यानो स्वागत गर्नुभयो। म त्यहाँ सेवा गर्ने काला जातिको पहिलो जिल्ला निरीक्षक थिएँ।
जिल्ला निरीक्षकको रूपमा हरेक सप्ताहन्तमा क्षेत्रीय सम्मेलनमा यहोवाबारे सिकाउन पाउँदा मलाई रमाइलो लाग्थ्यो। अरू थुप्रै क्षेत्रीय निरीक्षक मभन्दा निकै अनुभवी हुनुहुन्थ्यो। एक जनाले त मेरो बप्तिस्मा भाषण दिनुभएको थियो। अर्को दाइ थिओडर जारास हुनुहुन्थ्यो, जो पछि परिचालक निकायको सदस्य हुनुभयो। साथै ब्रुक्लिन बेथेलमा सेवा गर्ने थुप्रै अनुभवी भाइ पनि हुनुहुन्थ्यो। क्षेत्रीय निरीक्षकहरू र बेथेलमा सेवा गर्नुहुने भाइहरूले मलाई सजिलो महसुस गराउनुभएकोमा म उहाँहरूप्रति निकै आभारी छु। यस्ता मायालु गोठालाहरू यहोवाको वचनमा भर परेको र उहाँहरूले सङ्गठनलाई वफादार भई समर्थन गरेको म आफैले देख्न सकेँ। उहाँहरूको नम्रताले गर्दा जिल्ला निरीक्षकको रूपमा सेवा गर्न मलाई सजिलो भयो।
फेरि क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्दै
सन् १९७४ मा परिचालक निकायले क्षेत्रीय निरीक्षकको अर्को समूहलाई जिल्ला निरीक्षकको रूपमा खटायो र मलाई क्षेत्रीय निरीक्षककै रूपमा साउथ क्यारोलिनामा सेवा गर्न भनियो। यतिबेलासम्म अमेरिकाको दक्षिणी भागमा गोरा जाति र काला जाति एकै ठाउँमा भेला हुन नपाउने नियम हटिसकेको थियो। यसले गर्दा भाइबहिनी निकै खुसी थिए।
सन् १९७६ को अन्ततिर मलाई एटलान्टा र कोलम्बसको बीचमा पर्ने जर्जिया क्षेत्रमा खटाइयो। त्यहाँ काला जातिको एउटा परिवारको घरमा केही मानिसले आगो लगाइदिएका थिए। त्यस परिवारको पाँचै जना छोराछोरीको अन्त्येष्टि भाषण दिएको दिन म अझै पनि झलझली सम्झन्छु। तिनीहरूकी आमा भने घाइते भएकोले अस्पतालमा भर्ना गरिएको थियो। उनी अस्पतालमा छउन्जेल उनलाई सान्त्वना दिन काला र गोरा दुवै जातिका भाइबहिनी आउने क्रम रोकिएन। भाइबहिनीबीचको प्रेम कत्ति प्रगाढ हुन्छ भनेर मैले आफ्नै आँखाले देख्न सकेँ। यस्तो माया पाउँदा परमेश्वरका सेवकहरूले एकदमै गाह्रो अवस्था पनि सहन सक्छन्।
बेथेलमा सिक्दै र सिकाउँदै
सन् १९७७ मा हामीलाई एउटा काममा सघाउन केही महिनाको लागि ब्रुक्लिन बेथेलमा बोलाइयो। त्यो काम सकिनै लाग्दा परिचालक निकायका दुई जना सदस्यले मलाई भेट्नुभयो अनि स्थायी रूपमा बेथेल सेवा गर्न हामी इच्छुक छौँ कि भनेर सोध्नुभयो। हामीले त्यो निम्तो स्विकाऱ्यौँ।
मैले २४ वर्ष सेवा विभागमा काम गरेँ। यस विभागले अक्सर संवेदनशील र जटिल प्रश्नहरू प्राप्त गर्छ। वर्षौँको दौडान परिचालक निकायले बाइबल सिद्धान्तहरूमा आधारित निर्देशन दिएको छ र ती निर्देशनहरूको आधारमा सेवा विभागले त्यस्ता प्रश्नहरूको जवाफ दिने गर्छ। साथै ती निर्देशनहरू क्षेत्रीय निरीक्षक, एल्डर र अग्रगामीहरूलाई तालिम दिन पनि प्रयोग गरिन्छ। यस्ता तालिमहरूले थुप्रैलाई आध्यात्मिक रूपमा बलियो हुन मदत गरेको छ, जसले गर्दा यहोवाको सङ्गठन अझ सुदृढ भएको छ।
मैले १९९५ देखि २०१८ सम्म मुख्यालय प्रतिनिधिको रूपमा (पहिला प्रान्तीय निरीक्षक भनिन्थ्यो) विभिन्न शाखा कार्यालयको भ्रमण गरेँ। मैले शाखा समितिहरू, बेथेल सेवकहरू र मिसनरीहरूलाई भेटेर प्रोत्साहन दिएँ र उहाँहरूको चिन्ताको विषय सुनेर आवश्यक मदत दिएँ। रुबी र मैले यस्ता भेटहरूमा सुनेका अनुभवहरूबाट सधैँ प्रोत्साहन पाउँथ्यौँ। उदाहरणको लागि, हामी सन् २००० मा रुवाण्डा गएका थियौँ। सन् १९९४ मा भएको नरसंहारमा त्यहाँका भाइबहिनीहरू र बेथेल परिवार कसरी बच्न सके भनेर सुन्दा हाम्रो मनै छोयो। थुप्रैले आफ्नो प्रियजन गुमाएका थिए। यस्तो गाह्रो अवस्थाको बाबजुद ती भाइबहिनीले आफ्नो विश्वास, आशा र आनन्द गुमाएनन्।
अहिले हामी ८० वर्ष नाघिसक्यौँ। म विगत २० वर्षदेखि अमेरिका शाखा समितिमा सेवा गर्दै छु। मैले विश्वविद्यालयको शिक्षा लिइनँ तर यहोवा र उहाँको सङ्गठनबाट मैले सर्वोत्कृष्ट शिक्षा पाएको छु। यसले मलाई सधैँभरि लाभ पुऱ्याउने बाइबल सत्य सिकाउन सुसज्जित पारेको छ। (२ कोरि. ३:५; २ तिमो. २:२) बाइबलको सन्देशले मानिसहरूको जीवन अझ राम्रो बनाएको र सृष्टिकर्तासित सम्बन्ध विकास गर्न मदत गरेको मैले देखेको छु। (याकु. ४:८) हामी अरूलाई यहोवाबारे सिक्ने र बाइबल सत्य सिकाउने सुअवसरको मोल गर्न प्रोत्साहन दिने गर्छौँ। यो नै यहोवाका सेवकहरूले पाउन सक्ने सबैभन्दा ठूलो सुअवसर हो!