सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३९

कोमलतालाई आफ्नो बल बनाउनुहोस्‌

कोमलतालाई आफ्नो बल बनाउनुहोस्‌

“प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ।”—२ तिमो. २:२४.

गीत १२० ख्रिष्टको नम्रता अनुकरण गरौँ!

परिचय a

१. हामीलाई काममा वा स्कुलमा कस्ता प्रश्‍नहरू सोधिन सक्छ?

 सहकर्मी वा सहपाठीले तपाईँको धर्मबारे सोध्दा तपाईँलाई कस्तो लाग्छ? डर वा चिन्ता लाग्छ कि? हामीमध्ये धेरैलाई त्यस्तै लाग्छ। तर त्यस्तो प्रश्‍नबाट हामी अर्को व्यक्‍तिको सोचाइ वा विश्‍वासबारे थाह पाउन सक्छौँ र तिनलाई सुसमाचार सुनाउने मौका पाउँछौँ। तर कहिलेकाहीँ भने तिनीहरू हामीसित असहमत भएकोले वा वादविवाद गर्न चाहेकोले त्यस्तो प्रश्‍न सोध्छन्‌। यसमा हामी अचम्म मान्दैनौँ। किनकि तिनीहरूले हाम्रो विश्‍वासबारे गलत जानकारी पाएका हुन सक्छन्‌। (प्रेषि. २८:२२) साथै हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ अनि यस समयमा थुप्रै मानिस “कुनै पनि कुरामा सहमत नहुने” र “निष्ठुर” हुन्छन्‌।—२ तिमो. ३:१, ३.

२. हामीले किन कोमलता विकास गर्नुपर्छ?

कसैले तपाईँको विश्‍वासको विषयमा वादविवाद गर्न खोज्यो भने तपाईँलाई शान्त अनि विचारशील हुन केले मदत गर्छ? एकै शब्दमा भन्‍नुपर्दा कोमलताले। कोमल व्यक्‍ति हतपती रिसाउँदैन बरु कसैले रिस उठाउँदा वा कस्तो जवाफ दिने भनेर पक्का नहुँदा आफ्ना भावनाहरूलाई वशमा राख्छ। (हितो. १६:३२) तर तपाईँ सोच्नुहोला, ‘भनेजस्तो गर्न कहाँ सजिलो हुन्छ र?’ त्यसोभए तपाईँ कसरी कोमलता विकास गर्न सक्नुहुन्छ? कसैले तपाईँको विश्‍वासबारे प्रश्‍न उठाउँदा तपाईँ कसरी कोमलतासाथ जवाफ दिन सक्नुहुन्छ? तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई आफ्नो विश्‍वासको पक्षमा कोमलतासाथ बोल्न कसरी सिकाउन सक्नुहुन्छ? आउनुहोस्‌, विचार गरौँ।

हामी कसरी कोमलता विकास गर्न सक्छौँ?

३. कोमलता किन बल हो, कमजोरी होइन? (२ तिमोथि २:२४, २५, फुटनोट)

कोमलता बल हो, कमजोरी होइन। गाह्रो परिस्थितिमा शान्त रहन भित्री बल चाहिन्छ। कोमलता “पवित्र शक्‍तिको फल”-को एउटा पक्ष हो। (गला. ५:२२, २३) “कोमलता” भनेर अनुवाद गरिएको ग्रीक शब्द कहिलेकाहीँ पाल्तु बनाइएको जङ्‌गली घोडालाई बुझाउन प्रयोग गरिन्थ्यो। जङ्‌गली घोडा कस्तो हुन्छ? त्यो शान्त रहे तापनि बलियो हुन्छ। हामी मानिसहरू पनि कसरी कोमल हुनुका साथै बलियो हुन सक्छौँ? आफ्नै भरमा त सक्दैनौँ। हामीले यो सुन्दर गुण विकास गर्न परमेश्‍वरलाई पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ। थुप्रैले कोमल हुन सिकेका छन्‌। जस्तै: अरूले वादविवाद गर्न खोज्दा हाम्रा थुप्रै भाइबहिनीले कोमलता देखाएका छन्‌ र यसले गर्दा अरू मानिसहरूले साक्षीहरूलाई राम्रो नजरले हेर्न सकेका छन्‌। (२ तिमोथि २:२४, २५ र २५ को फुटनोट पढ्‌नुहोस्‌।) तपाईँ कोमलतालाई कसरी आफ्नो बल बनाउन सक्नुहुन्छ?

४. इसहाकको उदाहरणबाट कोमलताबारे के सिक्न सक्छौँ?

कोमलता कत्ति बहुमूल्य गुण हो भनेर देखाउने थुप्रै विवरण बाइबलमा पाइन्छ। इसहाकको उदाहरण विचार गरौँ। तिनी पलिस्तियालीहरूको इलाका गेरारमा बसोबास गर्दा तिनका बुबाका नोकरहरूले खनेको इनार छिमेकीहरूले डाह गरेर माटोले पुरिदिए। आफ्नो हकको लागि लड्‌नुको साटो तिनले आफ्नो घरपरिवारलाई अन्तै सारे र अर्कै इनारहरू खने। (उत्प. २६:१२-१८) तर त्यहाँ पनि पलिस्तियालीहरू आएर ती इनारहरू आफ्नो हो भनेर झगडा गरे। यस्तो अवस्थामा पनि इसहाकले शान्तपूर्वक कदम चाले। (उत्प. २६:१९-२५) अरूले निहुँ खोज्दा समेत तिनले कसरी कोमलता देखाइरहन सके? तिनले पक्कै पनि आफ्नो शान्तिप्रेमी बुबा अब्राहामबाट र “शान्त अनि नम्र मनोभाव”-की आमा साराबाट धेरै कुरा सिकेको हुनुपर्छ।—१ पत्रु. ३:४-६; उत्प. २१:२२-३४.

५. छोराछोरीलाई कोमलताको महत्त्व सिकाउन सकिन्छ भनेर देखाउने एउटा उदाहरण बताउनुहोस्‌।

आमाबुबाहरू हो, तपाईँहरू पनि छोराछोरीलाई कोमलताको महत्त्व सिकाउन सक्नुहुन्छ। सत्र वर्षका म्याक्सको b उदाहरण विचार गरौँ। स्कुल अनि साक्षीकार्यमा तिनको भेट रिसाहा मानिसहरूसँग हुन्थ्यो। तिनका आमाबुबाले धीरजी हुँदै तिनलाई कोमलता विकास गर्न मदत गरे। तिनीहरू भन्छन्‌: “कसैले रिस उठाउँदा झडङ्‌ङ रिसाइहाल्न सजिलो हुन्छ तर शान्त रहन बल चाहिन्छ भनेर म्याक्सले अहिले बुझेको छ।” खुसीको कुरा, कोमलता अहिले म्याक्सको बल भएको छ।

६. कोमलता देखाउने सन्दर्भमा उन्‍नति गर्न प्रार्थनाले कसरी मदत गर्न सक्छ?

कसैले यहोवा वा बाइबलबारे नराम्रो कुरा गर्दा वा निहुँ खोज्दा के गर्न सक्छौँ? कोमलता देखाउन सकौँ भनेर यहोवासित पवित्र शक्‍ति र बुद्धि माग्न सक्छौँ। यदि हामीलाई सही तरिकामा प्रतिक्रिया देखाउन नसकेको कुरा पछि मात्र महसुस भयो भने के गर्न सक्छौँ? त्यसबारे फेरि प्रार्थना गर्न सक्छौँ र अर्को चोटि कसरी राम्रो प्रतिक्रिया देखाउने भनेर सोच्न सक्छौँ। त्यसो गर्दा यहोवाले हामीलाई पवित्र शक्‍ति दिनुहुनेछ अनि हामीले आफ्नो रिसलाई काबूमा राख्न र कोमलता देखाउन सक्नेछौँ।

७. बाइबल पदहरू कण्ठ पारेका छौँ भने आफ्नो बोली र व्यवहारलाई काबूमा राख्न कसरी मदत पाउन सक्छौँ? (हितोपदेश १५:१, १८)

केही बाइबल पदले तनावपूर्ण अवस्थाहरूमा हामीलाई आफ्नो बोलीलाई काबूमा राख्न मदत गर्न सक्छ। पवित्र शक्‍तिले हामीलाई ती पदहरू स्मरण गराउन सक्छ। (युह. १४:२६) जस्तै: हितोपदेशको किताबमा पाइने सिद्धान्तहरूले हामीलाई कोमल हुन मदत गर्न सक्छ। (हितोपदेश १५:१, १८ पढ्‌नुहोस्‌।) तनावपूर्ण अवस्थाहरूमा शान्त रहँदा कस्ता फाइदाहरू हुन्छन्‌ भनेर पनि त्यस किताबमा बताइएको छ।—हितो. १०:१९; १७:२७; २१:२३; २५:१५.

अन्तर्दृष्टिले कोमल हुन कसरी मदत गर्छ?

८. कसैले हाम्रो विश्‍वासबारे प्रश्‍न खडा गर्नुपछाडि कस्तो कारण हुन सक्छ भनेर किन विचार गर्नुपर्छ?

अन्तर्दृष्टिले पनि हामीलाई मदत गर्न सक्छ। (हितो. १९:११) कसैले हाम्रो विश्‍वासबारे प्रश्‍न उठाउँदा अन्तर्दृष्टि भएको व्यक्‍तिले आत्मसंयम देखाउँछ। यो उदाहरण विचार गरौँ। हामीले समुद्रमा तैरिरहेको हिमशिलाको सानो भाग मात्र देख्छौँ। तर त्यसको ठूलो भाग भने पानीमुनि हुन्छ। त्यसैगरि कसैले प्रश्‍न सोध्दा हामीलाई अक्सर तिनले किन त्यस्तो प्रश्‍न सोधे भनेर थाह हुँदैन। जवाफ दिनुअघि यो कुरा मनमा राख्नु बेस हुन्छ।—हितो. १६:२३.

९. गिदोनले एप्रैमका मानिसहरूसित व्यवहार गर्दा कसरी अन्तर्दृष्टि र कोमलता देखाए?

गिदोनले एप्रैमका मानिसहरूलाई कस्तो जवाफ दिए, विचार गरौँ। तिनीहरूले गिदोनलाई इस्राएलका शत्रुहरूसित लड्‌न आफूहरूलाई किन नबोलाएको भनेर रिसाउँदै प्रश्‍न सोधे। तिनीहरू रिसाउनुको कुनै कारण थियो कि? तिनीहरूको आत्मसम्मानमा ठेस लागेको हुन सक्छ। कारण जेसुकै होस्‌, गिदोनले अन्तर्दृष्टि देखाए र तिनीहरू रिसाउनुको कारण बुझ्ने कोसिस गरे अनि कोमलतासाथ जवाफ दिए। नतिजा कस्तो भयो? “गिदोनको . . . कुरा सुनेपछि तिनीहरूको रिस शान्त भयो।”—न्याय. ८:१-३.

१०. कसैले हाम्रो विश्‍वासबारे प्रश्‍न सोध्दा त्यसको जवाफ दिनुअघि कुन कुरा विचार गर्नुपर्छ? (१ पत्रुस ३:१५)

१० सहकर्मी वा सहपाठीले हामी किन बाइबलको स्तरअनुसार चल्छौँ भनेर सोध्न सक्छन्‌। त्यतिबेला हामी तिनलाई बाइबलको स्तरअनुसार जीवन बिताउनु किन सबैभन्दा राम्रो हो भनेर बताउन सक्दो कोसिस गर्छौँ तर तिनको विचारको पनि कदर गर्छौँ। (१ पत्रुस ३:१५ पढ्‌नुहोस्‌।) तिनले हाम्रो आलोचना गर्नको लागि त्यस्तो प्रश्‍न सोधेका हुन्‌ भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। बरु तिनको प्रश्‍नबाट तिनले महत्त्वपूर्ण ठान्‍ने कुरा थाह पाउन सकिन्छ भनेर सोच्नुहोस्‌। कसैले प्रश्‍न सोध्नुको कारण जेसुकै भए तापनि हामीले दयालु तरिकामा जवाफ दिनुपर्छ। हाम्रो जवाफले तिनीहरूलाई आफ्नो विचार फेरि केलाउन उत्प्रेरित गर्न सक्छ। तिनले हामीसित रुखो व्यवहार गरे तापनि वा हाम्रो खिल्ली उडाए तापनि हाम्रो लक्ष्य सधैँ दयालुपूर्वक जवाफ दिने हुनुपर्छ।—रोमी १२:१७.

कसैले जन्मदिनको पार्टीको निम्तो दिनु पछाडिको कारणबारे पहिल्यै विचार गऱ्‍यौँ भने हामीले अझै राम्ररी जवाफ दिन सक्नेछौँ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)

११-१२. कसैले कुनै प्रश्‍न सोध्दा हामीले सुरुमा के गर्नुपर्छ? (तस्बिर पनि हेर्नुहोस्‌।) यसो गर्दा कसरी राम्रो कुराकानी गर्न सकिन्छ, एउटा उदाहरण बताउनुहोस्‌।

११ हाम्रो सहकर्मीले साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌ भन्‍ने जस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌। त्यतिबेला हामी त्यस्तो प्रश्‍न सोध्नु पछाडिको कारण विचार गर्न सक्छौँ। सायद तिनलाई साक्षीहरूले कहिल्यै रमाइलो गर्न मिल्दैन जस्तो लागेको हुन सक्छ। अथवा अफिसको एक जनाले जन्मदिन नमनाइदिँदा काम गर्ने वातावरणै नराम्रो होला जस्तो लागेको हुन सक्छ। हामी तिनको यस्तो चिन्ता कम गर्न केही भन्‍न सक्छौँ। जस्तै: तिनले अरू सहकर्मीको ख्याल राखेकोमा तिनको प्रशंसा गर्न सक्छौँ र हामी पनि रमाइलो वातावरणमा काम गर्न चाहन्छौँ भन्‍ने कुरामा ढुक्क बनाउन सक्छौँ। यसो गर्दा जन्मदिनबारे बाइबलमा सङ्‌केत गरिएको कुरा बताउने मौका पाउन सक्छौँ।

१२ कसैले विवाद हुने अरू विषयमा प्रश्‍न गर्दा पनि यस्तै तरिका अपनाउन सक्छौँ। तपाईँको सहपाठीले यहोवाका साक्षीहरूले समलिङ्‌गीहरूप्रतिको धारणा बदल्नुपर्छ भनेर बताउन सक्छन्‌। त्यतिबेला यस्तो कुरा विचार गर्न सक्छौँ: ‘तिनले यहोवाका साक्षीहरूले समलिङ्‌गीबारे कस्तो धारणा राख्छन्‌ भनेर नबुझेकोले त्यस्तो कुरा भनेका हुन्‌ कि? अथवा तिनको कुनै साथी वा आफन्त समलिङ्‌गी हुन्‌ कि? तिनलाई हामी समलिङ्‌गीहरूलाई घृणा गर्छौँ जस्तो लागेकोले हो कि?’ हामी सबै मानिसलाई प्रेम गर्छौँ र हरेक व्यक्‍तिको निर्णय गर्ने अधिकारको कदर गर्छौँ भनेर बताउन सक्छौँ। c (१ पत्रु. २:१७) त्यसपछि बाइबलको नैतिक स्तरअनुसार जीवन बिताउँदा कसरी सुखी हुन सकिन्छ भनेर पनि बताउन सक्छौँ।

१३. परमेश्‍वरमा विश्‍वास गर्नु मूर्खता हो भन्‍ने व्यक्‍तिलाई तपाईँ कसरी जवाफ दिन सक्नुहुन्छ?

१३ कुनै व्यक्‍ति हाम्रो कुरामा पटक्कै सहमत हुँदैनन्‌ भने तिनी के विश्‍वास गर्छन्‌ भनेर तुरुन्तै अड्‌कल काट्‌नु हुँदैन। (ति. ३:२) जस्तै: तपाईँको सहपाठीले परमेश्‍वरमा विश्‍वास गर्नु मूर्खता हो भन्‍न सक्छन्‌। त्यसोभए के तपाईँले तिनी क्रमविकासमा विश्‍वास गर्छन्‌ र तिनलाई त्यसबारे धेरै कुरा थाह छ भनेर अड्‌कल काट्‌नु ठीक हो? वास्तवमा तिनलाई त्यसबारे धेरै कुरा थाह नहुन सक्छ। तिनलाई क्रमविकास किन गलत हो भनेर बताउन थाल्नुको साटो पढ्‌नको लागि कुनै सामग्री दिन वा सोच्न लगाउने कुनै प्रश्‍न छोड्‌न सक्नुहुन्छ। जस्तै: jw.org मा भएको सृष्टिसम्बन्धी सामग्रीको लिङ्‌क सेयर गर्न सक्नुहुन्छ। आफूले हेरेको कुनै लेख वा भिडियोबारे छलफल गर्न तिनी इच्छुक हुन सक्छन्‌। हो, आदर देखाउँदा तिनलाई बाइबलबारे अझ धेरै कुरा सिक्न मन लाग्न सक्छ।

१४. यहोवाका साक्षीहरूबारे कक्षाको साथीको गलत धारणा हटाउन निलले हाम्रो वेबसाइट कसरी प्रयोग गरे?

१४ किशोरावस्थाका निलले यहोवाका साक्षीहरूबारे मानिसहरूको गलत धारणा हटाउन हाम्रो वेबसाइट प्रयोग गरे। तिनको कक्षाका साथीले तिनलाई अक्सर यसो भन्थे: “तिमी विज्ञानमा विश्‍वास गर्दैनौ किनभने तिमी तथ्यहरूमा विश्‍वास गर्नुको साटो काल्पनिक कुराहरूले भरिएको किताबमा विश्‍वास गर्छौ।” ती साथीले निललाई आफ्नो विश्‍वासबारे बताउने मौका नै दिएनन्‌। त्यसैले निलले उनलाई jw.org को “विज्ञान र बाइबल” भन्‍ने विषयको लिङ्‌क सेयर गरे। ती साथीले हाम्रो वेबसाइट हेरेको कुरा निलले उनको कुराकानीबाट थाह पाए र जीवनको सुरुवातबारे उनीसित कुरा गर्न सके। तपाईँ पनि त्यस्तै नतिजा हासिल गर्न सक्नुहुन्छ।

परिवारै मिलेर तयारी गर्नुहोस्‌

१५. आमाबुबाले छोराछोरीलाई आफ्नो विश्‍वासबारे कोमलतासाथ जवाफ दिन कसरी सिकाउन सक्छन्‌?

१५ आफ्नो विश्‍वासबारे प्रश्‍न सोधिँदा कसरी कोमलतासाथ जवाफ दिने भनेर आमाबुबाले छोराछोरीलाई सिकाउन सक्छन्‌। (याकु. ३:१३) केही आमाबुबाले कसरी जवाफ दिने भनेर पारिवारिक उपासनाको बेला छोराछोरीसित अभ्यास गर्ने गरेका छन्‌। तिनीहरू स्कुलमा कस्ता प्रश्‍नहरू खडा हुन सक्छन्‌ भनेर विचार गर्छन्‌, छलफल गर्छन्‌ र छोराछोरीसित जवाफ दिने तरिका अभ्यास गर्छन्‌। यसरी तिनीहरू छोराछोरीलाई कोमलतासाथ बोल्न सिकाउँछन्‌।—“ अभ्यासले तपाईँको परिवारलाई मदत गर्न सक्छ” भन्‍ने पेटी हेर्नुहोस्‌।

 

१६-१७. अभ्यास गर्दा युवाहरूलाई कस्तो लाभ हुन्छ?

१६ यस्तो अभ्यासबाट युवाहरू बाइबलको शिक्षामा अझै विश्‍वस्त हुन सक्छन्‌ र अरूलाई पनि मनाउन सक्ने तरिकामा तर्कहरू प्रस्तुत गर्न मदत पाउन सक्छन्‌। jw.org को “युवाहरू सोध्छन्‌” शृङ्‌खलामा किशोरकिशोरीका लागि अभ्यास सामग्रीहरू उपलब्ध छन्‌। ती सामग्रीहरू युवाहरूलाई आफ्नो विश्‍वास बलियो बनाउन र आफ्नै शब्दमा जवाफहरू तयार पार्न मदत गर्न बनाइएका हुन्‌। परिवारै मिलेर यी सामग्रीहरू अध्ययन गरेर हामी आफ्नो विश्‍वासको पक्षमा कोमलतासाथ बोल्न सिक्न सक्छौँ।

१७ जवान भाइ म्याथ्युलाई यस्तो अभ्यासले मदत गरेको छ। म्याथ्यु र तिनका आमाबुबा स्कुलमा प्रश्‍न उठ्‌न सक्ने विषयहरूबारे पारिवारिक उपासनामा अनुसन्धान गर्छन्‌। तिनी भन्छन्‌: “हामी स्कुलमा कस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌ भनेर विचार गर्छौँ, त्यसबारे अनुसन्धान गर्छौँ र त्यसको आधारमा कसरी जवाफ दिने भनेर अभ्यास गर्छौँ। बाइबलको शिक्षामा विश्‍वास गर्नुका कारणहरू राम्ररी बुझ्दा मलाई अरूले कस्तो प्रश्‍न सोध्लान्‌ भनेर चिन्ता लाग्दैन। अनि कोमलतासाथ जवाफ दिन अझै सजिलो हुन्छ।”

१८. कलस्सी ४:६ मा कुन कुराको महत्त्वबारे छलफल गरिएको छ?

१८ हामीले आफ्नो विश्‍वासबारे स्पष्ट अनि मनाउन सक्ने तरिकामा बताउँदैमा सबै मानिसले हाम्रो कुरा सुन्छन्‌ भन्‍ने छैन। तर विचार पुऱ्‍याएर अनि कोमलतासाथ बतायौँ भने कसै-कसैले सुन्‍न पनि सक्छन्‌। (कलस्सी ४:६ पढ्‌नुहोस्‌।) आफ्नो विश्‍वासबारे अरूलाई बताउनु भनेको हातले बल पास गर्ने गेम खेल्नुजस्तै हो। हामी बिस्तारै वा बेसरी बल पास गर्न सक्छौँ। बिस्तारै बल पास गर्दा अर्को व्यक्‍तिलाई बल समात्न सजिलो हुन सक्छ र खेल खेलिरहन सक्छौँ। त्यसैगरि हामीले आफ्नो विश्‍वासबारे विचार पुऱ्‍याएर अनि कोमलतासाथ बतायौँ भने मानिसहरूले हाम्रो कुरा सुन्‍ने सम्भावना धेरै हुन्छ र कुराकानी अघि बढ्‌न सक्छ। तर कसैले जित्ने उद्देश्‍यले कुरा गर्छन्‌ वा हाम्रो विश्‍वासको खिल्ली उडाउँछन्‌ भने तिनीहरूसित कुरा अगाडि बढाउनै पर्छ भन्‍ने छैन। (हितो. २६:४) वास्तवमा कोही-कोही मात्र यस्ता खालका हुन्छन्‌, धेरैजसोले भने हाम्रो कुरा सुन्छन्‌।

१९. विश्‍वासको पक्षमा बोल्दा किन कोमल भाव देखाउनुपर्छ?

१९ स्पष्ट छ, कोमल हुने लक्ष्य राख्दा थुप्रै लाभ उठाउन सक्छौँ। कसैले विवाद हुने प्रश्‍न गर्दा वा आलोचना गर्दा तिनीहरूलाई कोमलतासाथ जवाफ दिन सकूँ भनेर यहोवासित बल माग्नुहोस्‌। नबिर्सनुहोस्‌, तपाईँको कोमल मनोभावले मतभिन्‍नतालाई वादविवाद हुने हदसम्म पुऱ्‍याउनदेखि जोगाउँछ। अनि तपाईँले कोमल भएर अनि आदरपूर्वक जवाफ दिनुभयो भने तपाईँको कुरा सुन्‍नेहरूमध्ये कोही-कोही यहोवाका साक्षीहरूप्रति अनि बाइबल सत्यप्रति सकारात्मक हुन सक्छन्‌। कसैले तपाईँको विश्‍वासबारे सोध्यो भने ‘तिनीहरूलाई जवाफ दिन सधैँ तयार हुनुहोस्‌ तर जवाफ दिँदा कोमल भाव र गहिरो आदर देखाउनुहोस्‌।’ (१ पत्रु. ३:१५) कोमलतालाई आफ्नो बल बनाउनुहोस्‌!

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

a यस लेखमा कसैले हामीलाई रिस उठाउँदा वा हाम्रो विश्‍वासबारे प्रश्‍न सोध्दा तिनीहरूलाई कसरी कोमलतासाथ जवाफ दिन सक्छौँ भनेर बताइएको छ।

b नाम परिवर्तन गरिएको छ।

c व्यावहारिक सुझावको लागि ब्यूँझनुहोस्‌! सङ्‌ख्या ३, २०१६ को “समलिङ्‌गी यौनसम्बन्धबारे बाइबल के भन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

d jw.org को “युवाहरू सोध्छन्‌” र “यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरूमा मदतकारी सुझावहरू भेट्टाउन सक्नुहुन्छ।