सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४०

पत्रुसजस्तै यहोवाको सेवामा लागिरहनुहोस्‌

पत्रुसजस्तै यहोवाको सेवामा लागिरहनुहोस्‌

“हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्‌।”—लुका ५:८.

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

परिचय a

१. येसुको चमत्कार देखेपछि पत्रुसले कस्तो प्रतिक्रिया देखाए?

 पत्रुसले रातभरि मेहनत गरे पनि एउटै माछा भेट्टाउन सकेका थिएनन्‌। तर येसुले तिनलाई यसो भन्‍नुभयो: “डुङ्‌गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।” (लुका ५:४) पत्रुसलाई एउटा माछा पनि समात्न सकिएला जस्तो लागेको थिएन तर तिनले येसुले भन्‍नुभएजस्तै गरे। त्यसपछि जालहरूमा यत्ति धेरै माछा परे कि तिनीहरूका जालहरू फाट्‌न लागे। येसुले भर्खरै चमत्कार गर्नुभएको हो भनेर बुझेपछि पत्रुस र तिनीसित भएकाहरू “सबै चकित” भए। पत्रुसले यसो भने: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्‌।” (लुका ५:६-९) त्यतिबेला पत्रुसले आफू येसुको छेउमा उभिन समेत लायकको छैन भनेर महसुस गरेका हुन सक्छन्‌।

२. पत्रुसको उदाहरण विचार गर्दा कस्तो लाभ उठाउन सक्छौँ?

“म पापी मानिस हुँ” भनेर पत्रुसले सही कुरा नै भनिरहेका थिए। तिनले कहिलेकाहीँ यस्ता कुराहरू भने र गरे, जसले गर्दा पछि पछुताए। के तपाईँ पनि कहिलेकाहीँ पत्रुसजस्तै महसुस गर्नुहुन्छ? तपाईँ कुनै कमीकमजोरी वा पापी झुकावसित लड्‌दै हुनुहुन्छ कि? हुनुहुन्छ भने पत्रुसको उदाहरणबाट तपाईँले प्रोत्साहन पाउन सक्नुहुन्छ। कसरी? यो कुरा विचार गर्नुहोस्‌: यहोवाले बाइबलमा पत्रुसको कमीकमजोरीबारे लेख्न नलगाउन पनि सक्नुहुन्थ्यो। तर उहाँले हाम्रो शिक्षाको लागि ती लेख्न लगाउनुभयो। (२ तिमो. ३:१६, १७) यहोवा हामीले कुनै गल्ती नै नगरेको आशा गर्नुहुन्‍न भन्‍ने कुरा पत्रुसको उदाहरणबाट सिक्न सक्छौँ। तिनी हामीजस्तै कमीकमजोरी र भावनाहरू भएका मानिस थिए। यहोवा हामी आफ्नो कमीकमजोरीको बाबजुद उहाँको सेवामा लागिरहेको चाहनुहुन्छ।

३. हामी किन हरेस नखाई यहोवाको सेवामा लागिरहनुपर्छ?

हामी किन हरेस नखाई यहोवाको सेवामा लागिरहनुपर्छ? एउटा पुरानो भनाइ छ: अभ्यासले मानिसलाई पूर्ण बनाउँछ। जस्तै: एक जना व्यक्‍ति राम्ररी गितार बजाउन चाहन्छन्‌। त्यसको लागि तिनी धेरै वर्ष लगाएर अभ्यास गर्छन्‌। त्यस दौडान तिनीबाट थुप्रै चोटि गल्ती हुन्छ। तर पोख्त हुन तिनी अभ्यास गरिरहन्छन्‌। राम्ररी गितार बजाउन सिकिसके तापनि कहिलेकाहीँ तिनीबाट गल्ती हुन्छ। तैपनि तिनी हार मान्दैनन्‌ बरु प्रयास गरिरहन्छन्‌। त्यसैगरि हामीलाई आफूले कुनै कमीकमजोरी हटाइसकेको जस्तो लागे पनि हामीबाट फेरि त्यो गल्ती हुन सक्छ। तर हामी आफूलाई सुधार्न मेहनत गरिरहन्छौँ। हामी सबै जना यस्ता कुराहरू भन्छौँ वा गर्छौँ, जसले गर्दा पछि पछुताउँछौँ। तैपनि हरेस खाएनौँ भने यहोवाले हामीलाई प्रगति गरिरहन मदत गर्नुहुनेछ। (१ पत्रु. ५:१०) यहोवाको सेवामा लागिरहने सन्दर्भमा पत्रुसको उदाहरण विचार गरौँ। तिनको कमीकमजोरीको बाबजुद येसुले तिनलाई देखाउनुभएको दयाले हामीलाई यहोवाको सेवामा लागिरहन उत्प्रेरित गर्नेछ।

पत्रुसका सङ्‌घर्षहरू र तिनले पाएका आशिष्‌हरू

पत्रुसले देखेको चमत्कार तपाईँले देख्नुभएको भए कस्तो प्रतिक्रिया देखाउनुहुन्थ्यो? (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. लुका ५:५-१० अनुसार पत्रुसले आफूबारे के भने तर येसुले तिनलाई कस्तो आश्‍वासन दिनुभयो?

 पत्रुसले आफू “पापी मानिस हुँ” भनेर किन भने वा तिनले कस्ता पापहरूबारे सोचिरहेका थिए, बाइबलमा बताइएको छैन। (लुका ५:५-१० पढ्‌नुहोस्‌।) तर तिनले केही गम्भीर गल्ती गरेका हुन सक्छन्‌। पत्रुस डराएका छन्‌ भनेर येसुलाई थाह थियो। अयोग्यताको भावले गर्दा तिनी डराएका हुन सक्छन्‌। त्यसैले उहाँले दयालुपूर्वक पत्रुसलाई “डराउन छोड” भन्‍नुभयो। येसुले पत्रुसमा यस्तो भरोसा देखाउनुभएकोले तिनले आफ्नो जीवनमा ठूलो परिवर्तन गरे। पत्रुस र तिनका भाइ अन्द्रियासले माछा मार्ने व्यवसाय छोडे अनि येसुसँगै पूर्ण-समय सेवामा लागे र थुप्रै आशिष्‌ पाए।—मर्कु. १:१६-१८.

५. डराउन छोडेर येसुको निम्तो स्विकार्दा पत्रुसले कस्ता आशिष्‌हरू पाए?

ख्रिष्टको अनुयायीको रूपमा पत्रुसले थुप्रै रोमाञ्चकारी अनुभव बटुले। येसुले बिरामीहरूलाई निको पार्नुभएको, प्रेतहरूलाई धपाउनुभएको र मरिसकेकाहरूलाई जीवित पार्नुभएको समेत तिनले देखे। b (मत्ति ८:१४-१७; मर्कु. ५:३७, ४१, ४२) साथै तिनले भविष्यसूचक दर्शनमा येसुलाई परमेश्‍वरको राज्यको राजाको रूपमा पनि देखे, जुन दर्शन तिनले कहिल्यै बिर्सेनन्‌। (मर्कु. ९:१-८; २ पत्रु. १:१६-१८) हो, येसुको अनुयायी नभएको भए पत्रुसले यी कुराहरू कहिल्यै देख्ने थिएनन्‌। नकारात्मक भावनाहरू हटाउन सकेकोमा र यस्ता आशिष्‌हरू पाएकोमा तिनी कत्ति खुसी भए होलान्‌!

६. के पत्रुसले आफ्ना कमीकमजोरीहरू तुरुन्तै हटाउन सकेका थिए? व्याख्या गर्नुहोस्‌।

हुनत पत्रुसले येसुले भन्‍नुभएका कुराहरू सुनेका थिए र उहाँले गर्नुभएका चमत्कारहरू देखेका थिए। तैपनि तिनले आफ्ना कमीकमजोरीहरूसित सङ्‌घर्ष गरिरहनुपऱ्‍यो। केही उदाहरण विचार गरौँ। धर्मशास्त्रमा बताइएझैँ मानिसको छोराले दुःख भोग्नु र मारिनु आवश्‍यक छ भनेर येसुले बताउनुहुँदा पत्रुसले उहाँलाई हप्काए। (मर्कु. ८:३१-३३) पत्रुस र अन्य प्रेषितहरूले बारम्बार आफूहरूमध्ये को ठूलो हो भनेर बहस गरे। (मर्कु. ९:३३, ३४) येसुको मृत्युको अघिल्लो रात पत्रुसले आवेगमा आएर एक जना मानिसको कान च्वाट्टै काटिदिए। (युह. १८:१०) सोही रात तिनी मानिसहरूसित डराए र आफ्नो मित्र येसुलाई चिन्‍न तीन चोटि इन्कार गरे। (मर्कु. १४:६६-७२) तर पछि तिनी आफ्नो गल्ती सम्झेर धुरुधुरु रोए।—मत्ति २६:७५.

७. फेरि जीवित हुनुभएपछि येसुले पत्रुसलाई कस्तो मौका दिनुभयो?

येसुले एकदमै निराश भएका पत्रुसलाई त्याग्नुभएन। पुनर्जीवित हुनुभएपछि येसुले पत्रुसलाई उहाँप्रतिको प्रेम फेरि प्रमाणित गर्ने मौका दिनुभयो। उहाँले पत्रुसलाई आफ्ना भेडाहरूको हेरचाह गर्न भन्‍नुभयो। (युह. २१:१५-१७) पत्रुस उहाँले भन्‍नुभएजस्तै गर्न तयार भए। त्यसैले पेन्तिकोसको दिन पहिलो पटक पवित्र शक्‍तिद्वारा अभिषेक हुनेहरूमध्ये तिनी पनि एक थिए।

८. एन्टिओकमा पत्रुसले कस्तो गम्भीर गल्ती गरे?

 पत्रुस अभिषिक्‍त ख्रिष्टियन भइसके तापनि तिनले आफ्ना कमीकमजोरीहरूसित अझै सङ्‌घर्ष गर्नुपऱ्‍यो। इस्वी संवत्‌ ३६ मा परमेश्‍वरले पत्रुसलाई अन्यजातिका कर्निलियसकहाँ पठाउनुभयो र त्यहाँ परमेश्‍वरले कर्निलियसलाई पवित्र शक्‍तिद्वारा अभिषेक गर्नुभयो। यसबाट “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” र अन्यजातिका मानिसहरू पनि ख्रिष्टियन मण्डलीको भाग बन्‍न सक्छन्‌ भन्‍ने कुरा प्रस्ट भयो। (प्रेषि. १०:३४, ४४, ४५) त्यसपछि पत्रुसले अन्यजातिका मानिसहरूसँगै बसेर खान थाले, जुन तिनले पहिला कहिल्यै गरेका थिएनन्‌। (गला. २:१२) तर केही यहुदी ख्रिष्टियनलाई अन्यजातिका मानिसहरूसँगै बसेर खानु अनुचित लाग्थ्यो। त्यसैले यस्तो विचारधारा राख्ने केही यहुदी ख्रिष्टियन एन्टिओक आउँदा पत्रुसले अन्यजातिका भाइहरूसँगै बसेर खान छोडिदिए। सायद तिनलाई यहुदी ख्रिष्टियनहरूले के भन्लान्‌ भनेर डर लागेको थियो। प्रेषित पावलले पत्रुसको यस्तो देखावटी व्यवहार याद गरे र तिनलाई सबैको सामुन्‍ने सच्याए। (गला. २:१३, १४) तर यस्तो गल्तीको बाबजुद पत्रुसले परमेश्‍वरको सेवा गर्न छोडेनन्‌। त्यसो गर्न तिनलाई कुन कुराले मदत गऱ्‍यो?

पत्रुसलाई यहोवाको सेवामा लागिरहन कुन कुराले मदत गऱ्‍यो?

९. युहन्‍ना ६:६८, ६९ बाट पत्रुसको वफादारीबारे के सिक्न सक्छौँ?

जस्तोसुकै चुनौती आइपरे तापनि पत्रुस वफादार थिए। तिनले कहिलेकाहीँ गल्ती गरे तापनि येसुको पछि लाग्न भने छोडेनन्‌। जस्तै: एकचोटि येसुले भन्‍नुभएको कुरा चेलाहरूले बुझ्न सकेनन्‌। थुप्रै चेलाले उहाँको कुराको अर्थ बुझ्ने कोसिस गरेनन्‌ बरु उहाँको पछि लाग्न छोडे। तर पत्रुस भने वफादार रहे। (युहन्‍ना ६:६८, ६९ पढ्‌नुहोस्‌।) येसुसित मात्र “अनन्त जीवनका वचनहरू” छन्‌ भनेर तिनलाई थाह थियो।

येसुले पत्रुसमाथि देखाउनुभएको भरोसाबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो? (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. येसुले पत्रुसमाथि भरोसा गरेको कसरी देखाउनुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

१० येसुले पत्रुसलाई त्याग्नुभएन। आफ्नो मृत्युको अघिल्लो रात येसुलाई पत्रुस र अन्य प्रेषितहरूले त्याग्नेछन्‌ भनेर उहाँलाई थाह थियो। तैपनि उहाँले पत्रुस फर्कनेछन्‌ र वफादार भई सेवा गरिरहनेछन्‌ भन्‍ने कुरामा आफू विश्‍वस्त भएको कुरा व्यक्‍त गर्नुभयो। (लुका २२:३१, ३२) “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ” भनेर येसुले बुझ्नुभएको थियो। (मर्कु. १४:३८) त्यसैले आफूलाई चिन्‍न इन्कार गरे तापनि उहाँले तिनलाई त्याग्नुभएन। फेरि जीवित हुनुभएपछि येसु सम्भवतः पत्रुस एक्लै भएको बेला तिनीकहाँ देखा पर्नुभयो। (मर्कु. १६:७; लुका २४:३४; १ कोरि. १५:५) एकदमै निराश भएका पत्रुस कत्ति प्रोत्साहित भए होलान्‌!

११. येसुले पत्रुसलाई यहोवाले तिनको ख्याल राख्नुहुनेछ भनेर कसरी आश्‍वासन दिनुभयो?

११ येसुले पत्रुसलाई यहोवाले तिनको ख्याल राख्नुहुनेछ भनेर आश्‍वासन दिनुभयो। फेरि जीवित हुनुभएका येसुले पत्रुस र अन्य प्रेषितहरूसामु फेरि अर्को एउटा चमत्कार गर्नुभयो। यसपालि पनि तिनीहरूले थुप्रै माछा समात्न सके। (युह. २१:४-६) यो चमत्कार देखेपछि पत्रुस यहोवाले तिनको भौतिक आवश्‍यकताहरू पूरा गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त भएको हुनुपर्छ। येसुले भन्‍नुभएको यो कुरा पनि पत्रुसले सम्झेको हुनुपर्छ, ‘परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनेहरूको’ भौतिक आवश्‍यकता यहोवाले पूरा गर्नुहुन्छ। (मत्ति ६:३३) त्यसपछि पत्रुसले माछा मार्ने व्यवसायलाई होइन तर सेवाको कामलाई प्राथमिकता दिए। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा तिनले साहसी भई साक्षी दिए र हजारौँले सुसमाचार स्विकारे। (प्रेषि. २:१४, ३७-४१) त्यसपछि तिनले सामरियाका र अन्यजातिका मानिसहरूलाई येसुबारे सिक्न अनि उहाँको पछि लाग्न मदत गरे। (प्रेषि. ८:१४-१७; १०:४४-४८) यहोवाले हर किसिमका मानिसहरूलाई मण्डलीमा ल्याउन पत्रुसलाई थुप्रै तरिकामा प्रयोग गर्नुभयो।

हामी के सिक्न सक्छौँ?

१२. कुनै कमीकमजोरीसित लामो समयदेखि सङ्‌घर्ष गर्दै छौँ भने पत्रुसको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१२ यहोवा हामीलाई उहाँको सेवामा लागिरहन मदत गर्नुहुन्छ। तर हामी कुनै कमीकमजोरीसित लामो समयदेखि सङ्‌घर्ष गर्दै छौँ भने यहोवाको सेवामा लागिरहन सजिलो नहुन सक्छ। कहिलेकाहीँ हामीलाई यस्तो पनि लाग्ला, ‘मेरो कमीकमजोरीको अगाडि पत्रुसको कमीकमजोरी त केही होइन।’ तर यहोवा हामीलाई हरेस नखान मदत दिनुहुन्छ। (भज. ९४:१७-१९) एक जना भाइको उदाहरण विचार गरौँ। तिनले सत्य सिक्नुअघि वर्षौँदेखि समलिङ्‌गी जीवन बिताइरहेका थिए। तर सत्य सिकेपछि तिनले आफ्ना खराब आचरणहरू चटक्कै छोडे। तैपनि कुइच्छाहरूले तिनलाई बेलाबेलामा सताउने गर्छ। तिनलाई हरेस नखान कुन कुराले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “यहोवा मलाई बल दिनुहुन्छ।” तिनी अझै यसो भन्छन्‌: “यहोवाको मदत पाएर . . . सत्यको मार्गमा हिँड्‌न सम्भव छ भनेर मैले सिकेँ। . . . उहाँले मलाई प्रयोग गरिरहनुभएको छ र मेरा कमीकमजोरीहरूसित लड्‌न बल दिइरहनुभएको छ।”

जनवरी १, १९५० मा होर्स्ट हेन्सेलले पूर्ण-समय सेवा सुरु गरे। आफ्नो जीवन यहोवाको सेवामा बिताएकोमा के तिनी पछुताए होलान्‌? (अनुच्छेद १३, १५ हेर्नुहोस्‌) d

१३. प्रेषित ४:१३, २९, ३१ अनुसार हामी कसरी पत्रुसको अनुकरण गर्न सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१३ हामीले माथि सिकेझैँ मानिसको डरको पासोमा परेर पत्रुसले केही गम्भीर गल्ती गरे। तर तिनले बलको लागि परमेश्‍वरलाई प्रार्थना गरे र निडर भई कदम चाल्न सके। (प्रेषित ४:१३, २९, ३१ पढ्‌नुहोस्‌।) हामी पनि आफ्नो डरलाई जित्न सक्छौँ। होर्स्ट भाइको उदाहरण विचार गरौँ। तिनी जवान छँदा जर्मनीमा नाजीहरूले शासन गरिरहेका थिए। तिनले स्कुलमा सर-मिस र साथीहरूको डरले गर्दा केही पटक “हिटलरको जय होस्‌!” भने। तिनका आमाबुबाले तिनलाई गाली गर्नुको सट्टा तिनीसँगै साहसको लागि यहोवालाई प्रार्थना गरे। आमाबुबाको मदत र यहोवामाथिको भरोसाले गर्दा होर्स्ट भाइले विश्‍वासको पक्षमा खडा रहन बल पाए। तिनले यसो भने: “यहोवाले मलाई कहिल्यै त्याग्नुभएन।” c

१४. मायालु गोठालाहरूले निराश भएकाहरूलाई कसरी मदत दिन सक्छन्‌?

१४ यहोवा र येसुले हामीलाई त्याग्नुहुनेछैन। येसुलाई इन्कार गरेपछि पत्रुसले एउटा महत्त्वपूर्ण निर्णय गर्नुपऱ्‍यो: ख्रिष्टको पछि लागिरहने वा पछि लाग्न छोड्‌ने। येसुले पत्रुसको विश्‍वास नडगमगाओस्‌ भनेर परमेश्‍वरलाई उत्कट बिन्ती चढाउनुभएको थियो। येसुले पत्रुसलाई यस प्रार्थनाबारे बताउनुभयो र तिनले पछि आफ्ना भाइहरूलाई बलियो बनाउनेछन्‌ भन्‍ने कुरामा आफू विश्‍वस्त भएको कुरा बताउनुभयो। (लुका २२:३१, ३२) येसुका यी शब्दहरू सम्झँदा पत्रुसले कत्ति हौसला पाए होलान्‌! हामीले पनि पत्रुसले जस्तै जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा यहोवाले मायालु गोठालाहरूमार्फत हामीलाई वफादार रहन मदत गर्न सक्नुहुन्छ। (एफि. ४:८, ११) लामो समयदेखि एल्डरको रूपमा सेवा गरिरहेका पल भाइबहिनीलाई सान्त्वना दिने कोसिस गर्छन्‌। कसै-कसैलाई यहोवाको सेवा गर्न छोडूँ कि जस्तो लाग्न सक्छ। पल त्यस्ता भाइबहिनीलाई यहोवाले तिनीहरूलाई सत्यतर्फ कसरी खिच्नुभयो भनेर सम्झन प्रोत्साहन दिन्छन्‌। त्यसपछि यहोवाको अटल प्रेमले गर्दा उहाँले तिनीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन भनेर आश्‍वासन दिन्छन्‌। तिनी यसो भन्छन्‌: “निराश भएका थुप्रैले यहोवाको मदत पाएर उहाँको सेवामा लागिरहेको मैले देखेको छु।”

१५. पत्रुस र होर्स्ट भाइको उदाहरणले मत्ति ६:३३ मा लेखिएको कुरा सत्य हो भनेर बुझ्न कसरी मदत गर्छ?

१५ पत्रुस र अन्य प्रेषितहरूले जस्तै हामीले पनि साक्षीकार्यलाई पहिलो स्थान दियौँ भने यहोवाले हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुहुनेछ। (मत्ति ६:३३) अगाडि उल्लेख गरिएका होर्स्ट भाइले दोस्रो विश्‍वयुद्ध सकिएपछि अग्रगामी सेवा गर्ने विचार गरे। तर एकदमै गरिब भएकोले तिनलाई पूर्ण-समय साक्षीकार्यमा लाग्न सकिन्छ कि सकिँदैन जस्तो लागेको थियो। तिनले के गरे? तिनले यहोवालाई जाँचेर हेर्ने निर्णय गरे र क्षेत्रीय निरीक्षकको भ्रमणको बेला पूरै हप्ता साक्षीकार्यमा बिताए। त्यस हप्ताको अन्तमा क्षेत्रीय निरीक्षकले तिनलाई एउटा खाम दिए। तर त्यो कसले दिएको भनेर बताएनन्‌। त्यो खाम खोलेर हेर्दा तिनी छक्कै परे किनकि त्यसमा तिनलाई केही महिनासम्म अग्रगामी सेवा गर्न पुग्ने पैसा थियो। यसले गर्दा होर्स्ट भाइ यहोवा तिनको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन सके। त्यसपछि तिनले जीवनभर परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिए।—मला. ३:१०.

१६. पत्रुसको उदाहरण र तिनले लेखेका पत्रहरूमा ध्यान दिनु किन लाभदायी छ?

१६ पत्रुसले एकचोटि येसुलाई “मदेखि टाढा गइहाल्नुहोस्‌” भनेर बिन्ती गरेका थिए। तर उहाँ तिनीदेखि टाढा नजानुभएकोमा तिनी कत्ति खुसी भए होलान्‌! येसुले तिनलाई वफादार प्रेषित बन्‍न र ख्रिष्टियनहरूको निम्ति उत्कृष्ट उदाहरण हुन तालिम दिइरहनुभयो। त्यस तालिमबाट हामी सबैले थुप्रै बहुमूल्य पाठ सिक्न सक्छौँ। पत्रुसले प्रथम शताब्दीका मण्डलीहरूलाई लेखेको दुइटा पत्रमा आफूले सिकेका थुप्रै कुरा समावेश गरेका छन्‌। अर्को लेखमा ती पत्रहरूमा पाइने केही सम्झौटा र ती लागू गर्ने तरिकाबारे छलफल गर्नेछौँ।

गीत १२६ जागा रहौँ, दह्रो होऔँ र पराक्रमी हुँदै जाऔँ!

a यो लेख कमीकमजोरीसित सङ्‌घर्ष गरिरहेकाहरूले त्यसलाई जित्न सक्छन्‌ र यहोवाको सेवामा लागिरहन सक्छन्‌ भन्‍ने कुरामा विश्‍वस्त पार्न तयार पारिएको हो।

b यस लेखमा मर्कुसको किताबबाट थुप्रै शास्त्रपद उल्लेख गरिएका छन्‌। तिनले यस सुसमाचारको किताबमा पत्रुसबाट सुनेका कुराहरू लेखेका हुन सक्छन्‌। पत्रुसले ती कुराहरू आफ्नै आँखाले देखेका थिए।

d तस्बिरको व्याख्या: पुनःअभिनय गरिएको तस्बिरमा देखाइएझैँ होर्स्ट हेन्सेलका आमाबुबाले तिनीसँगै प्रार्थना गरे र तिनले विश्‍वासमा दृढ रहन बल पाए।