सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३८

युवाहरू हो, तपाईँ आफ्नो भविष्य कस्तो भएको चाहनुहुन्छ?

युवाहरू हो, तपाईँ आफ्नो भविष्य कस्तो भएको चाहनुहुन्छ?

“समझशक्‍तिले तिमीलाई जोगाउनेछ।”—हितो. २:११.

गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान्‌ होऊ”

परिचय a

१. यहोआस, उज्जियाह र योसियाहले कस्तो गाह्रो अवस्थाको सामना गरे?

 तपाईँ सानैमा वा किशोरावस्थामा परमेश्‍वरका जनहरूको राजा भएको कल्पना गर्नुहोस्‌। तपाईँले आफ्नो शक्‍ति र अख्तियार कसरी प्रयोग गर्नुहुने थियो? बाइबलमा सानै उमेरमा यहुदाको राजा भएका केही व्यक्‍तिबारे बताइएको छ। जस्तै: यहोआस ७ वर्षमा, उज्जियाह १६ वर्षमा र योसियाह ८ वर्षको उमेरमा राजा भए। तिनीहरूलाई त्यो जिम्मेवारी पूरा गर्न पक्कै गाह्रो भएको हुनुपर्छ। तर जत्ति नै गाह्रो भए पनि तिनीहरूले यहोवा र अरूको मदत पाएर थुप्रै असल काम गरे।

२. हामीले किन यहोआस, उज्जियाह र योसियाहको उदाहरणमा ध्यान दिनुपर्छ?

हुनत हामी राजा वा रानी होइनौँ तर यी तीन बाइबल पात्रबाट बहुमूल्य पाठहरू सिक्न सक्छौँ। तिनीहरूले सधैँ सही निर्णयहरू मात्र गरेनन्‌, कहिलेकाहीँ गलत निर्णयहरू पनि गरे। तिनीहरूको उदाहरणबाट किन असल साथीहरू रोज्नुपर्छ, नम्र भइरहनुपर्छ र यहोवाको खोजी गरिरहनुपर्छ भनेर सिक्नेछौँ।

असल साथीहरू रोज्नुहोस्‌

यहोआसले जस्तै असल साथीहरूको सल्लाह सुन्‍नुहोस्‌ (अनुच्छेद ३, ७ हेर्नुहोस्‌) c

३. प्रधानपुजारी यहोयादाले सल्लाह दिँदा राजा यहोआसले कस्तो प्रतिक्रिया देखाए?

यहोआसले जस्तै बुद्धिमानी निर्णय गर्नुहोस्‌। यहोआस सानै छँदा तिनको बुबाको मृत्यु भएको थियो। त्यसैले प्रधानपुजारी यहोयादाले तिनलाई आफ्नै छोरालाई जस्तै हुर्काए र यहोवाबारे सिकाए। तिनी बुद्धिमान्‌ थिए किनकि तिनले यहोयादाको सल्लाह सुने। यहोयादाको उदाहरण पछ्याउँदै यहोआसले यहोवाको उपासना गर्ने र अरू मानिसहरूलाई पनि त्यसै गर्न मदत दिने निर्णय गरे। तिनले यहोवाको मन्दिरको मर्मतसम्भार गर्ने प्रबन्ध पनि मिलाए।—२ इति. २४:१, २, ४, १३, १४.

४. यहोवाका आज्ञाहरूलाई अनमोल ठानेर ती पालन गर्दा कस्ता लाभहरू उठाउन सक्छौँ? (हितोपदेश २:१, १०-१२)

तपाईँको आमाबुबा वा अरू कसैले तपाईँलाई यहोवालाई प्रेम गर्न र उहाँको स्तरबमोजिम जीवन बिताउन सिकाउँदै छ भने तपाईँले बहुमूल्य उपहार पाउनुभएको छ। (हितोपदेश २:१, १०-१२ पढ्‌नुहोस्‌।) आमाबुबाले छोराछोरीलाई विभिन्‍न तरिकामा तालिम दिन सक्छन्‌। कात्या बहिनीलाई तिनका बुबाले सही निर्णय गर्न कसरी मदत गरे, विचार गरौँ। हरेक दिन स्कुल पुऱ्‍याउन जाँदा तिनका बुबा तिनीसित दैनिक पद छलफल गर्थे। तिनी भन्छिन्‌: “त्यस्तो छलफलले मलाई दिनभरि आइपर्ने विभिन्‍न गाह्रो परिस्थितिको सामना गर्न मदत गऱ्‍यो।” तपाईँको आमाबुबाले बाइबलआधारित नियमहरू बनाएका हुन सक्छन्‌ तर तपाईँलाई चाहिँ ती नियमहरूले गर्दा आफूले चाहेको कुरा गर्न नपाएको जस्तो लाग्ला। त्यसो हो भने ती नियमहरू पालन गर्न तपाईँलाई केले मदत गर्न सक्छ? आनास्तासियाका आमाबुबाले तिनलाई विभिन्‍न नियम बनाउनुको कारण राम्ररी बुझाए। तिनी भन्छिन्‌: “उहाँहरूले त्यसरी बुझाउनुभएकोले मलाई बढ्‌तै कडिकडाउ गर्नुभएको जस्तो लागेन बरु ती मेरै सुरक्षाका लागि हुन्‌ भनेर बुझेँ। किनभने उहाँहरू मलाई धेरै माया गर्नुहुन्छ।”

५. तपाईँले बाइबलआधारित सल्लाह पालन गर्दा आमाबुबा र यहोवालाई कस्तो लाग्छ? (हितोपदेश २२:६; २३:१५, २४, २५)

आमाबुबाले दिएको बाइबलआधारित सल्लाह पालन गर्नुभयो भने उहाँहरू खुसी हुनुहुनेछ। अझ महत्त्वपूर्ण कुरा, यहोवा खुसी हुनुहुनेछ र उहाँसितको तपाईँको सम्बन्ध अझ बलियो हुनेछ। (हितोपदेश २२:६; २३:१५, २४, २५ पढ्‌नुहोस्‌।) जवान यहोआसको अनुकरण गर्नुपर्ने कत्ति राम्रो कारण!

६. यहोआसले कसको सल्लाह सुन्‍न थाले र नतिजा कस्तो भयो? (२ इतिहास २४:१७, १८)

यहोआसका गलत निर्णयहरूबाट सिक्नुहोस्‌। यहोयादाको मृत्युपछि यहोआसले खराब साथीहरू रोजे। (२ इतिहास २४:१७, १८ पढ्‌नुहोस्‌।) तिनले यहुदाका भारदारहरूको कुरा सुन्‍ने निर्णय गरे। यहोआस तिनीहरूदेखि टाढै रहनुपर्थ्यो किनभने तिनीहरू यहोवालाई प्रेम गर्दैनथे। (हितो. १:१०) हुनत यहोआसलाई तिनको फुपूका छोरा जकरियाले सच्याउने कोसिस गरेका थिए तर यहोआसले उनको हत्या गर्न लगाए। (२ इति. २४:२०, २१; मत्ति २३:३५) कत्ति क्रूर अनि मूर्ख कदम! तिनको शासनकालको सुरु-सुरुतिर सबै कुरा राम्रै चलिरहेको थियो। तर दुःखको कुरा, पछि तिनी धर्मत्यागी र हत्यारा भए। पछि गएर तिनका आफ्नै सेवकहरूले तिनको हत्या गरे। (२ इति. २४:२२-२५) तिनले यहोवा र उहाँलाई प्रेम गर्नेहरूको कुरा सुन्‍न नछोडेको भए तिनको जीवन कत्ति राम्रो हुने थियो! तिनको उदाहरणबाट तपाईँले कस्तो पाठ सिक्नुभयो?

७. तपाईँले कसलाई साथी बनाउनुपर्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

यहोआसको गलत निर्णयबाट सिक्न सकिने एउटा पाठ भनेको हामीले यहोवालाई प्रेम गर्ने र उहाँलाई खुसी बनाउन चाहनेहरूलाई साथी बनाउनुपर्छ। त्यस्ता साथीहरूले हामीलाई असल काम गर्न उत्प्रेरित गर्छन्‌। हामीले आफ्नै उमेरकाहरूलाई मात्र साथी बनाउनुपर्छ भन्‍ने छैन। नबिर्सनुहोस्‌, यहोआस आफ्नो साथी यहोयादाभन्दा निकै साना थिए। साथी रोज्ने सन्दर्भमा आफैलाई सोध्नुहोस्‌: ‘के तिनीहरूले यहोवामाथिको मेरो भरोसालाई बलियो बनाउन मदत गर्छन्‌? के तिनीहरू मलाई उहाँको स्तरअनुसार जीवन बिताउन प्रोत्साहन दिन्छन्‌? के तिनीहरू यहोवा र उहाँका बहुमूल्य सत्यबारे कुरा गर्छन्‌? के तिनीहरू उहाँका स्तरहरूको कदर गर्छन्‌? के तिनीहरू मलाई सुन्‍न मन लाग्ने कुरा मात्रै भन्छन्‌ या आवश्‍यक परेको बेला सच्याउँछन्‌?’ (हितो. २७:५, ६, १७) यदि तिनीहरू यहोवालाई प्रेम गर्दैनन्‌ भने तिनीहरूसित मित्रता कायम राखिराख्नु उचित हो र? तर तिनीहरू यहोवालाई प्रेम गर्छन्‌ भने तिनीहरूसितको मित्रतालाई कायम राख्नुहोस्‌; तिनीहरूले तपाईँलाई सधैँ मदत गर्नेछन्‌।—हितो. १३:२०.

८. सामाजिक सञ्जाल चलाउँदा हामीले कस्तो कुरा विचार गर्नुपर्छ?

सामाजिक सञ्जालले गर्दा परिवार अनि साथीभाइसित सम्पर्कमा रहन सजिलो भएको छ। तर थुप्रै मानिस अरूको ध्यान आफूतर्फ खिच्न आफूले किनेको सरसामान वा आफ्नो विभिन्‍न कामकुराको फोटो र भिडियो पोस्ट गर्छन्‌। तपाईँ सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘के मेरो उद्देश्‍य अरूको वाहवाही पाउनु हो? के म अरूसित केही असल कुरा बाँड्‌न चाहन्छु वा अरूले मेरो प्रशंसा गरेको चाहन्छु? के सामाजिक सञ्जालले मेरो सोचाइ, बोली र आनीबानीमा नकारात्मक असर पारिरहेको छ?’ परिचालक निकायका सदस्यको रूपमा सेवा गरेका भाइ नेथन नोरले यस्तो सुझाव दिनुभयो: “मानिसलाई खुसी पार्ने कोसिस नगर्नुहोस्‌। तपाईँहरूले आखिर कसैलाई पनि खुसी पार्न सक्नुहुन्‍न। यहोवालाई खुसी पार्नुहोस्‌ र यहोवालाई प्रेम गर्नेहरू सबैलाई तपाईँहरूले खुसी पार्नुहुनेछ।”

हामी नम्र भइरहनुपर्छ

९. यहोवाले उज्जियाहलाई के गर्न मदत गर्नुभयो? (२ इतिहास २६:१-५)

उज्जियाहले जस्तै सही निर्णय गर्नुहोस्‌। जवान छँदा राजा उज्जियाह नम्र थिए। तिनले “साँचो परमेश्‍वरको भय मान्‍न” सिकेका थिए। तिनी ६८ वर्षसम्म बाँचे र तिनले यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो। (२ इतिहास २६:१-५ पढ्‌नुहोस्‌।) उज्जियाहले थुप्रै शत्रु राष्ट्रलाई हराए र यरुसलेमको सुरक्षा प्रणालीलाई बलियो बनाए। (२ इति. २६:६-१५) उज्जियाहले गरेका विभिन्‍न काममा परमेश्‍वरले मदत दिनुभएकोले तिनी पक्कै खुसी थिए।—उप. ३:१२, १३.

१०. उज्जियाहलाई के भयो?

१० उज्जियाहले गरेका गलत निर्णयहरूबाट सिक्नुहोस्‌। राजा उज्जियाह अरूलाई विभिन्‍न सल्लाह-सुझाव दिने गर्थे। त्यसैले तिनलाई आफूले यहोवाका आज्ञाहरू पालन गर्नुपर्दैन भन्‍ने लागेको हुन सक्छ। एकदिन उज्जियाह यहोवाको मन्दिरभित्र गए र अहङ्‌कारी हुँदै धूप बाल्ने वेदीमा धूप बाल्न खोजे, जुन काम गर्न राजाहरूलाई निषेध गरिएको थियो। (२ इति. २६:१६-१८) प्रधानपुजारी अजर्याहले तिनलाई रोक्न खोजे तर तिनी रिसले चूर भए। दुःखको कुरा, उज्जियाह यहोवाप्रति अवफादार भए र उहाँले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो। (२ इति. २६:१९-२१) तिनी नम्र भइरहेका भए तिनको जीवन कत्ति राम्रो हुने थियो!

आफूले हासिल गरेका उपलब्धिहरूमा घमन्ड गर्नुको साटो त्यसको श्रेय यहोवालाई दिनुपर्छ (अनुच्छेद ११ हेर्नुहोस्‌) d

११. हामीलाई नम्र भइरहन केले मदत गर्न सक्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

११ उज्जियाह शक्‍तिशाली भएपछि तिनले आफ्नो शक्‍ति र समृद्धिको स्रोत यहोवा हुनुहुन्छ भनेर बिर्से। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आफूले पाएका आशिष्‌हरू र सुअवसरहरू यहोवाले नै दिनुभएको हो भनेर हामीले बिर्सनु हुँदैन। आफूले हासिल गरेका उपलब्धिहरूमा घमन्ड गर्नुको साटो त्यसको श्रेय यहोवालाई दिनुपर्छ। b (१ कोरि. ४:७) हामीबाट गल्ती हुन्छ र बेलाबेलामा अनुशासन चाहिन्छ भनेर नम्र भई स्विकार्नुपर्छ। साठी वर्ष पुग्न लागेका एक भाइले यस्तो लेखे: “अरूले मेरा गल्तीहरू याद गर्दा ज्यादै निराश हुनु हुँदैन भनेर मैले सिकेको छु। मूर्ख निर्णयहरू गरेकोले अनुशासन पाउँदा म आफ्नो गल्ती सुधार्ने र यहोवालाई सबैभन्दा उत्तम कुरा दिइरहने कोसिस गर्छु।” हामीले यहोवाको डर मानिरह्‍यौँ र नम्र भइरह्‍यौँ भने हाम्रो जीवन कत्ति राम्रो हुनेछ!—हितो. २२:४.

यहोवाको खोजी गरिरहनुहोस्‌

१२. योसियाहले युवावस्थामा कसरी यहोवाको खोजी गरे? (२ इतिहास ३४:१-३)

१२ योसियाहले जस्तै सही निर्णय गर्नुहोस्‌। यहोवाको खोजी गर्न थाल्दा तिनी १६ वर्षका थिए। तिनी यहोवा र उहाँको इच्छाबारे सिक्न चाहन्थे। तर यी जवान राजाको जीवन सजिलो भने थिएन। त्यतिबेला थुप्रै मानिस झूटो देवीदेवताको उपासना गर्थे। त्यसैले तिनीहरूलाई रोक्न योसियाह साहसी हुनुपर्थ्यो। अनि तिनले साँच्चै साहस देखाए! बीस वर्ष नपुग्दै तिनले यहुदा र यरुसलेमबाट झूटो उपासना हटाउन थाले।—२ इतिहास ३४:१-३ पढ्‌नुहोस्‌।

१३. समर्पण गरेपछि तपाईँले कसरी जीवन बिताउनुपर्छ?

१३ तपाईँ कलिलै उमेरको हुनुहुन्छ भने पनि योसियाहले जस्तै यहोवा र उहाँका गुणहरूबारे अझ धेरै सिक्ने छनौट गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईँ आफ्नो जीवन उहाँलाई समर्पण गर्न उत्प्रेरित हुनुहुनेछ। समर्पण गरेपछि तपाईँले कसरी जीवन बिताउनुपर्छ? लुक भाइले १४ वर्षको उमेरमा बप्तिस्मा गरे। तिनले यहोवालाई आफ्नो जीवन समर्पण गरेको दिन यसो भने: “अबदेखि म यहोवाको सेवालाई पहिलो स्थान दिन्छु र उहाँलाई खुसी बनाउने कोसिस गर्छु।” (मर्कु. १२:३०) तपाईँ पनि यस्तै गर्न इच्छुक हुनुभयो भने त्यो तपाईँको लागि आशिष्‌ साबित हुनेछ!

१४. केही युवाले कसरी राजा योसियाहको अनुकरण गरिरहेका छन्‌?

१४ तपाईँ युवाहरूले कस्ता चुनौतीहरूको सामना गर्दै हुनुहुन्छ? आउनुहोस्‌, केही युवाको अनुभव विचार गरौँ। बाह्र वर्षको उमेरमा बप्तिस्मा गरेका जोहानलाई स्कुलका साथीहरूले भेपिङ गर्ने अर्थात्‌ इलेक्ट्रोनिक चुरोट पिउने दबाब दिन्थे। त्यस्तो दबाबको प्रतिरोध गर्न जोहान त्यसले आफ्नो स्वास्थ्यमा र यहोवासितको सम्बन्धमा पार्ने नकारात्मक प्रभावबारे सोच्छन्‌। चौध वर्षको उमेरमा बप्तिस्मा गरेकी रेचल स्कुलमा आइपर्ने चुनौतीहरूको सामना गर्न केले मदत गऱ्‍यो भनेर बताउँछिन्‌। तिनी भन्छिन्‌: “म आफूले देख्ने कुराहरूलाई बाइबल अनि यहोवासित जोड्‌ने कोसिस गर्छु। जस्तै: इतिहासको कक्षामा पढेको कुरा बाइबलको कुनै विवरण वा भविष्यवाणीसित सम्बन्धित छ कि भनेर सम्झने कोसिस गर्छु। अथवा स्कुलमा कसैसित कुराकानी गर्दा तिनलाई कुन बाइबल पद देखाउँदा राम्रो होला भनेर सोच्ने गर्छु।” तपाईँले सामना गर्ने चुनौतीहरू राजा योसियाहको भन्दा फरक हुन सक्छ। तैपनि तपाईँ तिनीजस्तै बुद्धिमान्‌ र वफादार हुन सक्नुहुन्छ। युवावस्थामा परीक्षाहरूको सामना गर्दा त्यसले तपाईँलाई भविष्यमा अरू चुनौतीहरूको सामना गर्न तयार बनाउनेछ।

१५. योसियाहलाई वफादार भई यहोवाको सेवा गर्न केले मदत गऱ्‍यो? (२ इतिहास ३४:१४, १८-२१)

१५ छब्बीस वर्षको हुँदा राजा योसियाहले यहोवाको भवन मर्मतसम्भार गर्न थाले। त्यतिबेला “यहोवा परमेश्‍वरले मोसामार्फत दिनुभएको व्यवस्थाको पुस्तक” भेटियो। त्यसमा लेखिएको कुरा सुनेपछि राजा योसियाहले कदम चालिहाले। (२ इतिहास ३४:१४, १८-२१ पढ्‌नुहोस्‌।) के तपाईँलाई दिनहुँ बाइबल पढ्‌न मन पर्छ? तपाईँ त्यसो गर्ने कोसिस गर्दै हुनुहुन्छ भने तपाईँको पढाइ कस्तो हुँदै छ? के तपाईँ आफूलाई मदत गर्ने बाइबल पदहरू लेखेर राख्नुहुन्छ? अघि उल्लेख गरिएका लुक आफूलाई रोचक लागेका कुराहरू लेखेर राख्छन्‌। यो वा अन्य तरिका अपनाउँदा बाइबल पदहरू वा त्यसबाट सिकेका पाठहरू सम्झन सजिलो हुनेछ। तपाईँ परमेश्‍वरको वचनसित जत्ति धेरै परिचित हुनुभयो र त्यसप्रतिको प्रेमलाई जत्ति धेरै बढाउनुभयो, यहोवाको सेवा गर्ने तपाईँको इच्छा त्यत्ति नै बढ्‌नेछ। परमेश्‍वरको वचनले राजा योसियाहलाई जस्तै तपाईँलाई पनि जे सही छ, त्यही गर्न उत्प्रेरित गर्नेछ।

१६. योसियाहले किन गम्भीर गल्ती गरे र यसबाट कस्तो पाठ सिक्न सक्छौँ?

१६ योसियाहका गलत निर्णयहरूबाट पाठ सिक्नुहोस्‌। लगभग ३९ वर्षको हुँदा तिनले एउटा गम्भीर गल्ती गरे र आफ्नो ज्यान गुमाए। तिनले यहोवाको डोऱ्‍याइ खोज्नुको साटो आफैमाथि भरोसा गरे। (२ इति. ३५:२०-२५) यसबाट हामी एउटा पाठ सिक्न सक्छौँ। हामी उमेरमा जत्ति नै पाको भए पनि वा परमेश्‍वरको वचन अध्ययन गर्न थालेको जत्ति नै लामो समय भए पनि हामीले यहोवाको खोजी गरिरहनुपर्छ। यसमा नियमित रूपमा डोऱ्‍याइको लागि उहाँलाई प्रार्थना गर्नु, उहाँको वचन अध्ययन गर्नु र परिपक्व ख्रिष्टियनहरूको सल्लाह सुन्‍नु समावेश छ। यसो गऱ्‍यौँ भने हामीबाट गम्भीर गल्ती हुने सम्भावना कम हुनेछ र हामी अझ आनन्दित हुन सक्नेछौँ।—याकु. १:२५.

युवाहरू हो, तपाईँ आनन्दित हुन सक्नुहुन्छ

१७. यहुदाका तीन जना राजाबाट कस्ता महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ?

१७ युवावस्थामा असल काम गर्ने थुप्रै मौका हुन्छ। यहोआस, उज्जियाह र योसियाहको उदाहरणले देखाएझैँ युवाहरूले बुद्धिमानी छनौट गर्न सक्छन्‌ र यहोवालाई खुसी बनाउने तरिकामा जीवन बिताउन सक्छन्‌। हो, ती युवा राजाहरूले गल्तीहरू गरे र नराम्रा नतिजाहरू भोगे। तर तिनीहरूले गरेका असल कामहरूको अनुकरण गर्नुभयो र गल्तीहरू गर्नदेखि जोगिनुभयो भने तपाईँ आनन्दित हुन सक्नुहुनेछ।

जवान दाउद यहोवासित घनिष्ठ भए। तिनले यहोवालाई खुसी बनाए र तिनी आफै पनि आनन्दित भए (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. तपाईँ आनन्दित हुन सक्नुहुन्छ भनेर कस्ता उदाहरणहरूले देखाउँछ? (चित्र पनि हेर्नुहोस्‌।)

१८ बाइबलमा यहोवासित नजिक भएका, उहाँको अनुमोदन पाएका र आनन्दित जीवन बिताएका अरू युवाहरूको विवरण पनि पाउँछौँ। दाउद पनि तिनीहरूमध्ये एक थिए। तिनले कलिलै उमेरमा यहोवाको उपासना गर्ने छनौट गरे र पछि वफादार राजा भए। हुनत तिनले गल्तीहरू गरे तैपनि यहोवाले तिनलाई वफादार सेवकको रूपमा हेर्नुभयो। (१ राजा ३:६; ९:४, ५; १४:८) दाउदबारे अध्ययन गर्दा तपाईँले वफादार भई यहोवाको सेवा गर्न प्रोत्साहन पाउनुहुनेछ। अथवा तपाईँ मर्कुस वा तिमोथिबारे अध्ययन गर्न सक्नुहुन्छ। तिनीहरूले युवावस्थामै यहोवाको सेवा गर्न थाले र वफादार भई उहाँको सेवा गरिरहे। तिनीहरूको यस्तो निर्णयले यहोवालाई खुसी बनायो र तिनीहरू आफै पनि आनन्दित भए।

१९. तपाईँको भविष्य कस्तो हुन सक्छ?

१९ तपाईँको भविष्य तपाईँ अहिले जे गर्नुहुन्छ, त्यसैमा निर्भर हुन्छ। तपाईँ आफैमा होइन, यहोवामा भर पर्नुभयो भने उहाँले तपाईँलाई बुद्धिमानी निर्णय गर्न मदत गर्नुहुनेछ। (हितो. २०:२४) अनि तपाईँको जीवन आनन्दित र इनामदायी हुनेछ। नबिर्सनुहोस्‌, तपाईँ यहोवाको लागि जे-जति गर्नुहुन्छ, उहाँ त्यसको मोल गर्नुहुन्छ। हाम्रो मायालु बुबाको सेवा गर्नु नै जीवन बिताउने सबैभन्दा राम्रो तरिका हो!

गीत १४४ इनाममा दृष्टि राखौँ!

a युवाहरू हो, तपाईँहरूलाई सही कुरा गर्न र यहोवासितको मित्रतालाई कायम राख्न कहिलेकाहीँ गाह्रो हुन्छ भनेर उहाँलाई थाह छ। तपाईँ स्वर्गमा बस्नुहुने बुबालाई खुसी तुल्याउने निर्णयहरू कसरी गर्न सक्नुहुन्छ? हामी सानैमा यहुदाका राजा भएका तीन जना युवकको उदाहरण विचार गरौँ। तिनीहरूले गरेका निर्णयहरूबाट के सिक्न सक्छौँ, त्यो पनि विचार गरौँ।

b jw.org मा “मलाई अझ धेरै फलोअर र लाइक चाहिन्छ!” भन्‍ने लेखमा “धाक लगाउनदेखि होसियार हुनुहोस्‌” भन्‍ने पेटी हेर्नुहोस्‌।

c तस्बिरको व्याख्या: एक परिपक्व बहिनी आफूभन्दा सानो उमेरकी बहिनीलाई बुद्धिमानी सल्लाह दिँदै छिन्‌।

d तस्बिरको व्याख्या: एउटी बहिनी सम्मेलनमा अन्तरवार्ता दिन यहोवामा भर पर्छिन्‌ र त्यसको श्रेय उहाँलाई नै दिन्छिन्‌।