अध्ययन लेख ३७
सिमसोनजस्तै यहोवामा भर पर्नुहोस्
“हे ब्रह्माण्डका मालिक यहोवा! कृपया मलाई सम्झनुहोस् र मलाई बल दिनुहोस्।”—न्याय. १६:२८.
गीत ३० यहोवा नै मेरा बुबा, ईश्वर र साथी
परिचय a
१-२. सिमसोनको विवरण अध्ययन गर्नु किन लाभदायी छ?
सिमसोन भन्ने नाम सुन्नेबित्तिकै तपाईँको दिमागमा के आउँछ? सायद एकदमै बलियो व्यक्तिको चित्र आउँछ होला। हुन पनि सिमसोन त्यस्तै थिए। तर एकचोटि तिनले गलत निर्णय गरे, जसले गर्दा एकदमै पीडादायी नतिजा भोग्नुपऱ्यो। तैपनि यहोवाले तिनको गल्तीमा नभई तिनले उहाँको सेवामा गरेका कामहरूमा ध्यान दिनुभयो अनि तिनको उदाहरण हाम्रो फाइदाको लागि बाइबलमा लेख्न लगाउनुभयो।
२ यहोवाले इस्राएलीहरूलाई मदत गर्न सिमसोनलाई चलाउनुभयो। सिमसोनको मृत्यु भएको सयौँ वर्षपछि यहोवाले प्रेषित पावललाई उल्लेखनीय विश्वास देखाएका पुरुषहरूको सूचीमा सिमसोनको नाम पनि लेख्न लगाउनुभयो। (हिब्रू ११:३२-३४) सिमसोनको उदाहरणबाट हामी प्रोत्साहन पाउन सक्छौँ। चुनौतीपूर्ण अवस्थाहरूमा समेत तिनी यहोवामा भर परे। सिमसोनको उदाहरणबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ र कस्ता व्यावहारिक पाठहरू सिक्न सक्छौँ, आउनुहोस् विचार गरौँ।
सिमसोन यहोवामा भर परे
३. सिमसोनले कस्तो जिम्मेवारी पाएका थिए?
३ सिमसोन जन्मेको समयतिर इस्राएल राष्ट्रमाथि पलिस्तियालीहरूले शासन गरिरहेका थिए। उनीहरूको थिचोमिचोले गर्दा इस्राएलीहरूले निकै दुःख भोगिरहेका थिए। (न्याय. १३:१) यहोवाले ‘इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउन’ सिमसोनलाई रोज्नुभयो। (न्याय. १३:५) यो निकै गाह्रो काम थियो! यो जिम्मेवारी पूरा गर्न सिमसोन यहोवामा भर पर्नुपर्थ्यो।
४. यहोवाले सिमसोनलाई पलिस्तियालीहरूको हातबाट कसरी मुक्त गर्नुभयो? (न्यायकर्ता १५:१४-१६)
४ सिमसोन यहोवा र उहाँले दिनुहुने मदतमा भर परेको एउटा उदाहरण विचार गरौँ। एकपटक पलिस्तियाली सेना सम्भवतः यहुदाको लेहीमा सिमसोनलाई पक्रन आएको थियो। त्यतिबेला यहुदाका मानिसहरू साह्रै डराएकोले तिनीहरूले सिमसोनलाई शत्रुहरूको हातमा सुम्पिदिने निर्णय गरे। सिमसोनका आफ्नै मानिसहरूले तिनलाई दुइटा नयाँ डोरीले कस्सिनेगरि बाँधे र पलिस्तियालीहरूको हातमा सुम्पिदिए। (न्याय. १५:९-१३) तर “तिनीमाथि यहोवा परमेश्वरको पवित्र शक्ति आयो” र तिनले आफूलाई बाँधिएको डोरी धुजाधुजा हुनेगरि चुँडाले। त्यसपछि “तिनले गधाको एउटा आलो बङ्गारा देखे,” त्यो टिपे र त्यसैले हिर्काएर १ हजार पलिस्तियालीलाई मारे।—न्यायकर्ता १५:१४-१६ पढ्नुहोस्।
५. गधाको बङ्गारा प्रयोग गरेको कुराबाट सिमसोन यहोवामा भर परेका थिए भनेर कसरी देखिन्छ?
५ सामान्यतया बङ्गारालाई हतियारको रूपमा प्रयोग गरिँदैन। तैपनि सिमसोनले किन गधाको बङ्गारा प्रयोग गरे? किनभने तिनलाई सफल हुन कुनै हतियारमा होइन, यहोवामा भर पर्नुपर्छ भनेर थाह थियो। त्यसैले यी वफादार पुरुषले यहोवाको इच्छा पूरा गर्न आफूसित जे उपलब्ध थियो, त्यही प्रयोग गरे। स्पष्ट छ, यहोवामा भर परेकोले नै सिमसोनले यत्ति ठूलो जित हासिल गरे।
६. जिम्मेवारीहरू पूरा गर्ने सन्दर्भमा सिमसोनबाट के सिक्न सक्छौँ?
६ कहिलेकाहीँ हामीलाई आफूले पाएको जिम्मेवारी पूरा गर्न सक्दिनँ जस्तो लाग्न सक्छ। तर त्यो जिम्मेवारी पूरा गर्न यहोवा हामीलाई सोच्दै नसोचेको तरिकामा मदत गर्नुहुन्छ। यहोवाको इच्छा पूरा गर्न उहाँमा भर परेसम्म उहाँले सिमसोनलाई जस्तै हामीलाई पनि मदत गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त हुन सक्छौँ।—हितो. १६:३.
७. यहोवामा भर पर्नुको महत्त्व बुझाउने एउटा उदाहरण बताउनुहोस्।
७ निर्माण परियोजनाहरूमा सेवा गर्ने भाइबहिनीले यहोवामा भर परेको देखाएका छन्। विगतमा यहोवाको सेवामा प्रयोग गरिने प्रायजसो भवन भाइहरूले आफै डिजाइन र निर्माण गर्थे। तर त्यस तरिकामा केही छाँटकाँट गर्नुपर्ने आवश्यकता देखियो किनकि यहोवाको सङ्गठनमा थुप्रै मानिस ओइरिरहेका छन्। त्यसैले जिम्मेवार भाइहरूले प्रार्थना गरेर यहोवाको डोऱ्याइ खोजे अनि नयाँ तरिकाहरू अपनाउने कोसिस गरे। जस्तै: निर्माण भइसकेका भवनहरू किन्ने र ती पुनर्निर्माण गर्ने। संसारभरि हालैका वर्षहरूमा विभिन्न परियोजनाहरूमा सेवा गरेका भाइ रोबर्ट यसो भन्छन्: “सुरुमा त केहीलाई यो नयाँ तरिका स्विकार्न त्यत्ति सजिलो भएन। हामीले वर्षौँदेखि काम गरिरहेको तरिका र यो तरिका बिलकुलै फरक छ। तर भाइबहिनीहरू यो नयाँ तरिका अपनाउन तयार हुनुभयो। यस्तो छाँटकाँटमा यहोवाले आशिष् दिनुभएको कुरा पनि हामीले स्पष्टै देखेका छौँ।” आफ्नो इच्छा पूरा गर्न यहोवा हामीलाई डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुराको यो त एउटा उदाहरण मात्र हो। त्यसैले आफैलाई बेलाबेलामा यस्तो प्रश्न सोध्नु बेस हुन्छ: ‘के म यहोवाको डोऱ्याइ खोज्दै छु र सकेसम्म राम्रो तरिकामा उहाँको सेवा गर्न आवश्यक छाँटकाँट गर्न तयार छु?’
सिमसोनले यहोवाका प्रबन्धहरूको सदुपयोग गरे
८. एकचोटि साह्रै तिर्खाएको बेला सिमसोनले के गरे?
८ सिमसोनले अचम्मलाग्दा कामहरू गरेको अरू घटना पनि तपाईँ सम्झनुहुन्छ होला। तिनी एक्लैले सिंहलाई मारे र पछि पलिस्तियालीहरूको सहर अस्कलोनमा ३० जना पुरुषलाई मारे। (न्याय. १४:५, ६, १९) सिमसोनलाई यस्ता कामहरू यहोवाको मदतविना गर्न असम्भव छ भनेर थाह थियो। यो कुरा १ हजार पलिस्तियालीलाई मारेपछि तिनी साह्रै तिर्खाएको बेला प्रस्ट भयो। त्यतिबेला तिनले के गरे? आफै पानी खोज्नुको साटो तिनले मदतको लागि यहोवालाई पुकारे।—न्याय. १५:१८.
९. यहोवाले सिमसोनको प्रार्थनाको जवाफ कसरी दिनुभयो? (न्यायकर्ता १५:१९)
९ यहोवाले सिमसोनको पुकारा सुन्नुभयो र जमिनमा चिरा पारेर चमत्कारपूर्ण ढङ्गमा पानी निकाल्नुभयो। सिमसोनले त्यो “पानी पिएपछि तिनको तागत आयो र तिनी फुर्तिला भए।” (न्यायकर्ता १५:१९ पढ्नुहोस्।) वर्षौँपछि भविष्यवक्ता समुएलले न्यायकर्ताको किताब लेख्ने बेलासम्म पनि पानीको यो नयाँ मूल अस्तित्वमै थियो जस्तो देखिन्छ। त्यस मूलबाट पानी बगिरहेको देख्ने इस्राएलीहरूले यो कुरा सम्झेको हुनुपर्छ: यहोवामा भर पर्दा उहाँले तिनीहरूलाई आवश्यक मदत दिनुहुन्छ।
१०. यहोवाको मदत पाउन हामीले के गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्।)
१० हामीसित जस्तोसुकै खुबी वा क्षमता भए पनि वा यहोवाको सेवामा जस्तोसुकै काम गरेको भए पनि हामीले मदतको लागि उहाँलाई पुकार्नुपर्छ। यहोवामा भर पऱ्यौँ भने मात्र सफल हुन सक्छौँ भनेर हामीले नम्र भई स्विकार्नुपर्छ। उहाँले दिनुभएको पानी पिएपछि सिमसोनले बल पाए। त्यसैगरि यहोवाले गर्नुभएका सबै प्रबन्धको पूरापूर सदुपयोग गऱ्यौँ भने हामीले पनि आध्यात्मिक बल पाउनेछौँ।—मत्ति ११:२८.
११. हामी कसरी मदतको लागि यहोवामा भर पर्न सक्छौँ? एउटा उदाहरण बताउनुहोस्।
११ रूसका एलेक्सेको उदाहरण विचार गरौँ। तिनी घोर खेदोको सामना गर्दै छन्। यस्तो अवस्थामा तिनलाई बलियो भइरहन केले मदत गरेको छ? राम्रो आध्यात्मिक तालिकाले। तिनी भन्छन्: “म व्यक्तिगत अध्ययन र दिनहुँ बाइबल पढ्ने आफ्नो तालिकाअनुसारै चल्ने सक्दो कोसिस गर्छु। हरेक दिन बिहान म र मेरी श्रीमती दैनिक पद छलफल गर्छौँ अनि यहोवालाई प्रार्थना गर्छौँ।” यस अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामी आफैमा भर पर्नुको साटो यहोवामा भर पर्नुपर्छ। कसरी त्यसो गर्न सक्छौँ? विश्वासलाई बलियो बनाउने कामहरू नियमित रूपमा गरेर। जस्तै: परमेश्वरको वचन अध्ययन गरेर, प्रार्थना गरेर, सभाहरूमा उपस्थित भएर र साक्षीकार्यमा भाग लिएर। यसरी यहोवाको सेवा गर्न हामीले गरेको मेहनतमा उहाँले प्रशस्तै आशिष् दिनुहुनेछ। उहाँले सिमसोनलाई जस्तै हामीलाई पनि पक्कै बलियो बनाउनुहुनेछ।
सिमसोनले यहोवाको सेवा गर्न छोडेनन्
१२. सिमसोनले कस्तो गलत निर्णय गरे र त्यो निर्णय गलत थियो भनेर किन भन्न सकिन्छ?
१२ सिमसोन पनि हामीजस्तै त्रुटिपूर्ण थिए। त्यसैले तिनले कहिलेकाहीँ गलत निर्णयहरू गरे। तिनले गरेको एउटा निर्णयले दुःखदायी नतिजा निम्तियो। न्यायकर्ताको रूपमा सेवा गर्न थालेको केही समयपछि “सोरेक बेँसीमा बस्ने दलिला नाम गरेकी केटीसित सिमसोनको माया बस्यो।” (न्याय. १६:४) यसअघि सिमसोनको एक पलिस्तियाली केटीसित मगनी भएको थियो। त्यसको पछाडि “यहोवा परमेश्वरकै हात” थियो किनभने “परमेश्वरले पलिस्तियालीहरूलाई आक्रमण गर्ने मौका खोजिरहनुभएको थियो।” पछि सिमसोन पलिस्तियालीहरूको सहर गाजामा एउटी वेश्याकहाँ गए र त्यहीँ बसे। त्यतिबेला परमेश्वरले सिमसोनलाई पलिस्तियालीहरूको सहरको मूलढोकाका खापाहरू उखेलेर लैजान बल दिनुभयो र सहर असुरक्षित भयो। (न्याय. १४:१-४; १६:१-३) तर दलिला सम्भवतः इस्राएली भएकीले उनीसितको सम्बन्धले पलिस्तियालीहरूसित लडाइँ गर्ने मौका खुल्ने थिएन।
१३. सिमसोनले कसरी आफ्नो शक्ति र यहोवाको अनुमोदन गुमाए?
१३ सिमसोनलाई धोका दिएबापत दलिलाले पलिस्तियालीहरूबाट टन्नै पैसा लिइन्। सायद मायामा अन्धो भएकोले सिमसोनले दलिलाको चाल बुझ्न सकेनन्। दलिलाले सिमसोनलाई दिनदिनै कचकच गरिरहिन् र अन्तमा सिमसोनले आफ्नो शक्तिको स्रोतबारे उनलाई सबै कुरा बताइदिए। दुःखको कुरा, यस्तो गल्ती गरेकोले केही समयको लागि सिमसोनले आफ्नो शक्ति र यहोवाको अनुमोदन गुमाए।—न्याय. १६:१६-२०.
१४. दलिलालाई विश्वास गरेकोले सिमसोनले कस्तो दुःखदायी नतिजा भोग्नुपऱ्यो?
१४ सिमसोनले यहोवालाई नभई दलिलालाई विश्वास गरेकोले दुःखदायी नतिजाहरू भोग्नुपऱ्यो। पलिस्तियालीहरूले तिनलाई पक्रेर लगे र तिनको आँखा निकालिदिए। त्यसपछि तिनलाई गाजामा लगियो, जहाँका मूलढोकाहरू तिनले उखेलिदिएका थिए। त्यहाँ तिनलाई झ्यालखानामा हालियो र दासलाई जस्तो गहुँ पिँध्ने काम गर्न लगाइयो। पलिस्तियालीहरूले आफ्नो देवता दागोनलाई थुप्रै बलि चढाए किनभने उनीहरू दागोनले नै सिमसोनलाई आफ्नो हातमा सुम्पिदिएका हुन् भनेर विश्वास गर्थे। पछि उनीहरूले तिनको ‘रमिता हेर्न’ तिनलाई झ्यालखानाबाट खुसीयाली मनाइरहेको ठाउँमा ल्याए र तिनको अपमान गरे।—न्याय. १६:२१-२५.
१५. सिमसोनले आफू फेरि यहोवामा भर परेको कसरी देखाए? (न्यायकर्ता १६:२८-३०) (आवरण चित्र हेर्नुहोस्।)
१५ सिमसोनले गम्भीर गल्ती गरेका थिए। तैपनि तिनले यहोवाको सेवा गर्न छोडेनन्। तिनले पलिस्तियालीहरूसित युद्ध लड्ने मौका खोजिरहे किनभने त्यो जिम्मेवारी परमेश्वरले तिनलाई दिनुभएको थियो। (न्यायकर्ता १६:२८-३० पढ्नुहोस्।) सिमसोनले यहोवा परमेश्वरलाई यसरी पुकारे: “यी पलिस्तियालीहरूसित . . . बदला लिन सकूँ।” साँचो परमेश्वरले सिमसोनको बिन्ती सुन्नुभयो र तिनलाई फेरि शक्ति दिनुभयो। नतिजास्वरूप तिनले आफ्नो जीवनभर जति जनालाई मारेका थिए, त्योभन्दा धेरैलाई आफ्नो मृत्युको दिनमा मारे।
१६. सिमसोनको गल्तीबाट कस्तो पाठ सिक्न सक्छौँ?
१६ हुनत सिमसोनले आफ्नो गल्तीको कारण दुःखदायी नतिजा भोग्नुपऱ्यो तर तिनी यहोवाको इच्छाअनुसार चल्न छोडेनन्। हामीले पनि गल्ती गरेकोले सुधार पायौँ वा कुनै सुअवसर गुमायौँ भने यहोवाको इच्छाअनुसार चल्न छोड्नु हुँदैन। नबिर्सनुहोस्, यहोवा हामीलाई क्षमा दिन तयार हुनुहुन्छ। (भज. १०३:८-१०) गल्तीहरू गरे तापनि सिमसोनलाई जस्तै यहोवाले हामीलाई पनि उहाँको इच्छाअनुसार चल्न बल दिनुहुनेछ।
१७-१८. माइकलको उदाहरणबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो? (तस्बिर पनि हेर्नुहोस्।)
१७ जवान भाइ माइकलको उदाहरण विचार गरौँ। तिनी यहोवाको सेवामा व्यस्त थिए। तिनी सहायक सेवक र नियमित अग्रगामीको रूपमा सेवा गर्दै थिए। तर दुःखको कुरा, तिनले एउटा गल्ती गरे र मण्डलीमा पाएका सुअवसरहरू गुमाए। तिनी भन्छन्: “म यहोवाको सेवामा निकै व्यस्त थिएँ। तर एउटा गल्तीले गर्दा उहाँको सेवामा केही पनि गर्न नसक्ने अवस्थामा पुगेँ। यहोवाले मलाई त्याग्नुहुन्न भनेर थाह थियो। तर यहोवासितको मेरो सम्बन्ध पहिलाको जस्तै होला कि नहोला अथवा मण्डलीमा फेरि पहिलाको जस्तै जोसिलो भएर सेवा गर्न सकूँला कि नसकूँला जस्तो लाग्यो।”
१८ खुसीको कुरा, माइकलले यहोवाको सेवा गर्न छोडेनन्। तिनी भन्छन्: “मैले यहोवासितको आफ्नो सम्बन्ध सुधार्ने कुरामा ध्यान दिएँ। त्यसको लागि मैले नियमित रूपमा प्रार्थना, अध्ययन र मनन गरेँ।” पछि माइकलले मण्डलीमा फेरि सुअवसरहरू पाए। अहिले तिनी एल्डर र नियमित अग्रगामीको रूपमा सेवा गर्दै छन्। तिनी भन्छन्: “विशेषगरि एल्डरहरूबाट पाएको साथ र प्रोत्साहनबाट यहोवाले मलाई माया गर्न छोड्नुभएको छैन रहेछ भनेर बुझ्न मदत पाएँ। मैले सफा अन्तस्करण राखेर फेरि मण्डलीमा सेवा गर्न सकेको छु। साँचो पश्चात्ताप गर्नेहरूलाई यहोवा क्षमा गर्नुहुन्छ भनेर मैले आफ्नै अनुभवबाट सिकेँ।” गल्तीहरू गरे तापनि ती सच्याउन सक्दो कोसिस गऱ्यौँ र यहोवामा भर परिरह्यौँ भने उहाँले हामीलाई प्रयोग गर्नुहुन्छ र आशिष् दिनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ।—भज. ८६:५; हितो. २८:१३.
१९. सिमसोनको उदाहरणले तपाईँलाई कसरी बलियो बनायो?
१९ यस लेखमा हामीले सिमसोनको जीवनमा घटेका केही रोमाञ्चक घटना छलफल गऱ्यौँ। दलिलाको मायाजालमा फसेपछि तिनले गल्ती गरे तापनि यहोवाको सेवा गर्न भने छोडेनन्। अनि यहोवाले पनि तिनलाई प्रयोग गरिरहनुभयो। परमेश्वरले सिमसोनलाई फेरि बल दिनुभयो र आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्नुभयो। उहाँले तिनलाई उल्लेखनीय विश्वास भएको व्यक्ति ठान्नुभयो र हिब्रू अध्याय ११ मा विश्वासी व्यक्तिहरूको सूचीमा तिनको नाम पनि लेख्न लगाउनुभयो। कमजोर हुँदा हामीलाई बल दिन यहोवा इच्छुक हुनुहुन्छ। यस्तो मायालु परमेश्वरको सेवा गर्न पाउनु कत्ति प्रोत्साहनदायी कुरा! त्यसैले सिमसोनजस्तै हामी पनि यस्तो बिन्ती गरिरहौँ: “कृपया मलाई सम्झनुहोस् र मलाई बल दिनुहोस।”—न्याय. १६:२८.
गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
a थुप्रै मानिसले सिमसोनबारे सुनेका छन्। तिनको कथालाई नाटक, गीत र फिल्ममा देखाइएको छ। तर तिनको जीवनी कुनै काल्पनिक कथा होइन। हामी तिनको बलियो विश्वासबाट धेरै कुरा सिक्न सक्छौँ।