सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३७

गीत ११८ “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

अन्तसम्म सहन हामीलाई मदत गर्ने एउटा पत्र

अन्तसम्म सहन हामीलाई मदत गर्ने एउटा पत्र

‘हामीले सुरुमा पाएको भरोसालाई अन्तसम्म दह्रोगरि पक्रिराखौँ।’हिब्रू ३:१४.

सिक्न सकिने कुरा

हिब्रू ख्रिष्टियनहरूलाई दिइएको सल्लाहले हामीलाई यस युगको अन्तसम्म सहन र आफ्नो विश्‍वास बलियो बनाइराख्न मदत गर्नेछ।

१-२. (क) प्रेषित पावलले हिब्रू ख्रिष्टियनहरूलाई पत्र लेख्दा यहुदियाको अवस्था कस्तो थियो? (ख) त्यो पत्र किन समय सुहाउँदो थियो?

 येसुको मृत्यु भएपछि यरुसलेम र यहुदियामा बस्ने हिब्रू ख्रिष्टियनहरूले थुप्रै कठिनाइहरू झेल्नुपऱ्‍यो। ख्रिष्टियन मण्डली स्थापना भएको केही समय नबित्दै तिनीहरूले अत्यन्तै खेदो भोग्नुपऱ्‍यो। (प्रेषि. ८:१) त्यसको लगभग २० वर्षपछि यरुसलेममा ठूलो अनिकाल पऱ्‍यो र सायद त्यसले गर्दा ख्रिष्टियनहरूले गम्भीर आर्थिक समस्या पनि झेल्नुपऱ्‍यो। (प्रेषि. ११:२७-३०) तर इस्वी संवत्‌ ६१ तिरको समयमा भने शान्ति छाएको थियो। त्यसको केही समयपछि नै तिनीहरूले अत्यन्तै खेदो भोग्नुपर्ने थियो। त्यही समयतिर प्रेषित पावलले यहोवाको प्रेरणा पाएर ती हिब्रू ख्रिष्टियनहरूलाई एउटा पत्र लेखे। त्यो पत्र साँच्चै समय सुहाउँदो साबित भयो। किन?

किनभने त्यतिबेला छाएको शान्ति लामो समयसम्म रहने थिएन। ती ख्रिष्टियनहरूले अब चाँडै एउटा ठूलो सङ्‌कष्ट भोग्नुपर्ने थियो। येसुले भविष्यवाणी गर्नुभएझैँ यरुसलेमको विनाश हुने समय आउँदै थियो। (लुका २१:२०) पावलको सल्लाहले ती हिब्रू ख्रिष्टियनहरूलाई त्यो गाह्रो अवस्था सहन मदत गर्ने थियो। हुनत त्यो विनाश ठ्याक्क कहिले हुनेछ भनेर न त पावल न यहुदियाका ख्रिष्टियनहरूलाई नै थाह थियो। तर त्यो विनाश नआउन्जेल आफ्नो विश्‍वास र सहनशीलतालाई बढाउँदै लगेर ती ख्रिष्टियनहरू त्यस दिनको लागि तयार रहन सक्थे।—हिब्रू १०:२५; १२:१, २.

३. हिब्रू ख्रिष्टियनहरूलाई लेखिएको पत्र हाम्रो लागि पनि किन मदतकारी छ?

हामीले चाँडै हिब्रू ख्रिष्टियनहरूले भोगेको भन्दा कता हो कता ठूलो सङ्‌कष्ट भोग्नेछौँ। (मत्ति २४:२१; प्रका. १६:१४, १६) त्यसैले आउनुहोस्‌, ती ख्रिष्टियनहरूको लागि मदतकारी साबित भएको सल्लाह विचार गरौँ। किनभने त्यसले हामीलाई पनि मदत गर्नेछ।

“परिपक्वतातर्फ अघि बढौँ”

४. यहुदी ख्रिष्टियनहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो? (चित्र पनि हेर्नुहोस्‌।)

यहुदी पृष्ठभूमिबाट ख्रिष्टियन बनेकाहरूले चुनौतीहरूको सामना गर्नुपऱ्‍यो। कुनै बेला यहुदीहरू यहोवाले रोज्नुभएका जाति थिए। यहोवाले छान्‍नुभएका राजाहरूले यरुसलेमबाट शासन गर्थे र यरुसलेमको मन्दिर शुद्ध उपासनाको केन्द्र थियो। सबै विश्‍वासी यहुदीहरू आफ्ना धर्मगुरुहरूले सिकाएअनुसारै मोसाको व्यवस्था पालन गर्थे। मोसाको व्यवस्थामा खानपान, खतना र अन्यजातिहरूसित गर्ने व्यवहारबारे पनि नियमहरू दिइएका थिए। तर येसुको मृत्युपछि बलिदानहरू चढाउनु आवश्‍यक भएन। त्यसैले यहुदीहरूले मन्दिरमा चढाएका बलिदानहरू यहोवाले स्विकार्नुभएन। मोसाको व्यवस्था पालन गरिरहेका यहुदी ख्रिष्टियनहरूलाई यो परिवर्तन स्विकार्न गाह्रो भयो। (हिब्रू १०:१, ४, १०) प्रेषित पत्रुसजस्ता परिपक्व ख्रिष्टियनहरूलाई पनि यस्ता केही परिवर्तनहरू स्विकार्न गाह्रो भएको थियो। (प्रेषि. १०:९-१४; गला. २:११-१४) ती ख्रिष्टियनहरूले नयाँ विश्‍वास अङ्‌गालेकोले यहुदी धर्मगुरुहरूले तिनीहरूको असाध्यै खेदो गर्न थाले।

यहुदी धर्मगुरुहरूको झूटा तर्कहरूलाई तिरस्कार गरेर ख्रिष्टियनहरूले सत्यलाई दह्रोगरि पक्रिराख्नुपर्थ्यो (अनुच्छेद ४-५ हेर्नुहोस्‌)


५. हिब्रू ख्रिष्टियनहरूले कुन दुइटा समूहबाट विरोध खेप्नुपऱ्‍यो?

हिब्रू ख्रिष्टियनहरूले दुइटा समूहबाट विरोध खेप्नुपऱ्‍यो। एउटा, यहुदी धर्मगुरुहरूबाट। ती हिब्रू ख्रिष्टियनहरूले आफ्नो धर्म छोडेर नयाँ धर्म अङ्‌गालेकोले यहुदी धर्मगुरुहरू तिनीहरूको खेदो गर्थे। दोस्रो, ख्रिष्टियन भइसकेका केही व्यक्‍तिहरूबाटै। उनीहरू मोसाको व्यवस्थाका केही नियमहरू अझै पनि पालन गर्नुपर्छ भनेर अरूलाई कर गर्थे। सायद खेदोबाट उम्कन मात्र उनीहरूले त्यसो गरेका हुन सक्छन्‌। (गला. ६:१२) यस्तो अवस्थामा यहोवाप्रति वफादार रहिरहन ख्रिष्टियनहरूलाई केले मदत गर्ने थियो?

६. पावलले हिब्रू ख्रिष्टियनहरूलाई के गर्न प्रोत्साहन दिए? (हिब्रू ५:१४–६:१)

पावलले हिब्रू ख्रिष्टियनहरूलाई परमेश्‍वरको वचनको गहिरो अध्ययन र मनन गर्न प्रोत्साहन दिए। (हिब्रू ५:१४–६:१ पढ्‌नुहोस्‌।) यहुदी धर्मअनुसार यहोवाको उपासना गर्ने तरिकाभन्दा ख्रिष्टियन तरिका अझ उत्कृष्ट छ भनेर बुझाउन पावलले हिब्रू धर्मशास्त्र प्रयोग गरे। a पावलले ती ख्रिष्टियनहरूलाई धर्मशास्त्रको ज्ञान अझ धेरै लिन र त्यसलाई राम्ररी बुझ्न प्रोत्साहन दिए। यसो गरेको खण्डमा तिनीहरूले झूटा शिक्षाहरूलाई चिन्‍न र त्यसलाई तिरस्कार गर्न सक्ने थिए।

७. अहिले हामी कस्ता चुनौतीहरूको सामना गर्दै छौँ?

आज हाम्रो समयमा पनि कसै-कसैले यहोवाको धार्मिक स्तरसित बाझिने धारणा र निराधार जानकारीहरू फैलाइरहेका छन्‌। विरोधीहरूले नैतिकतासम्बन्धी हाम्रो बाइबलआधारित विश्‍वासमाथि प्रश्‍न उठाउँछन्‌। अनि हामी असाध्यै क्रूर र कट्टर भएको आरोपसमेत लगाउँछन्‌। संसारका मानिसहरूको सोचाइ यहोवाको सोचाइभन्दा झन्‌झन्‌ पतित हुँदै गइरहेको छ। (हितो. १७:१५) त्यसैले गलत शिक्षाहरूलाई चिन्‍नु र त्यसलाई तिरस्कार गर्नु एकदमै महत्त्वपूर्ण छ। त्यसो गऱ्‍यौँ भने विरोधीहरूले जस्तोसुकै दुष्प्रयास गरे तापनि हामी निरुत्साहित हुने वा यहोवाको सेवा गर्न छोड्‌ने हदसम्म पुग्नेछैनौँ।—हिब्रू १३:९.

८. हामी कसरी आध्यात्मिक परिपक्वतातर्फ अघि बढ्‌न सक्छौँ?

पावलले हिब्रू ख्रिष्टियनहरूलाई आध्यात्मिक परिपक्वतातर्फ अघि बढ्‌न सल्लाह दिए। हामीले पनि त्यो सल्लाह पालन गर्नु एकदमै जरुरी छ। त्यसो गर्न हामीले बाइबलको गहिरो अध्ययन गर्नुपर्छ र यहोवाको सोचाइलाई अझ राम्रोसित बुझ्नुपर्छ। समर्पण र बप्तिस्मा गरिसकेपछि पनि हामीले त्यसो गरिरहनुपर्छ। हामी सत्यमा भएको जत्ति नै लामो समय भए तापनि हामीले परमेश्‍वरको वचन नियमित रूपमा पढ्‌नुपर्छ र अध्ययन गर्नुपर्छ। (भज. १:२) परमेश्‍वरको वचन अध्ययन गर्ने राम्रो बानी बसालेका छौँ भने पावलले हिब्रू ख्रिष्टियनहरूलाई लेखेको पत्रमा जोड दिएको एउटा गुणलाई अझ बलियो बनाउँदै लैजान सक्छौँ। त्यो गुण हो: विश्‍वास।—हिब्रू ११:१, ६.

‘विश्‍वास गरेर आफ्नो जीवन बचाऔँ’

९. हिब्रू ख्रिष्टियनहरूसित किन बलियो विश्‍वास हुनुपर्थ्यो?

यहुदियामाथि आउँदै गरेको सङ्‌कष्टबाट बच्न हिब्रू ख्रिष्टियनहरूसित बलियो विश्‍वास हुनुपर्थ्यो। (हिब्रू १०:३७-३९) येसुले आफ्ना चेलाहरूलाई यरुसलेमलाई चारैतिर सैनिकहरूले घेरेको देखेपछि डाँडाहरूतिर भाग्ने आज्ञा दिनुभयो। उहाँको आज्ञा सबै ख्रिष्टियनहरूले पालन गर्नुपर्थ्यो, चाहे तिनीहरू यरुसलेम सहरमा बसोबास गर्नेहरू होऊन्‌ या गाउँमा। (लुका २१:२०-२४) त्यतिबेला मानिसहरू अक्सर शत्रुले आक्रमण गर्न आउँदा यरुसलेमजस्तो चारैतिर पर्खालले घेरिएको सहरभित्र शरण लिन्थे। त्यसकारण डाँडाहरूतिर भाग्नू भन्‍ने आज्ञा अव्यवहारिकजस्तो देखिएको हुन सक्छ। त्यसैले येसुको आज्ञा पालन गर्न तिनीहरूसित बलियो विश्‍वास हुनुपर्थ्यो।

१०. अगुवाइ लिइरहेकाहरूप्रतिको भरोसाले ख्रिष्टियनहरूलाई के गर्न उत्प्रेरित गर्ने थियो? (हिब्रू १३:१७)

१० येसुले मण्डलीमा अगुवाइ लिन प्रयोग गरिरहनुभएका पुरुषहरूलाई पनि हिब्रू ख्रिष्टियनहरूले भरोसा गर्नुपर्थ्यो। ती पुरुषहरूले कहिले भाग्ने अनि व्यवस्थित तरिकामा कसरी भाग्ने भनेर खास निर्देशनहरू दिएका हुन सक्छन्‌। (हिब्रू १३:१७ पढ्‌नुहोस्‌।) हिब्रू १३:१७ मा “आज्ञाकारी होओ” भनेर अनुवाद गरिएको ग्रीक शब्दले निर्देशन दिने व्यक्‍तिलाई भरोसा गरेकोले तिनको आज्ञा पालन गर्न राजी हुनु भन्‍ने अर्थ दिन्छ। त्यसैले निर्देशन दिने व्यक्‍तिसित अख्तियार भएकोले मात्र त्यो निर्देशन पालन गर्नुपर्छ भनेर पावलले भन्‍न खोजिरहेका थिएनन्‌। ती हिब्रू ख्रिष्टियनहरूले सङ्‌कष्ट आउनुअघि नै अगुवाइ लिइरहेकाहरूलाई भरोसा गर्न सिकिसकेको हुनुपर्थ्यो। त्यस्ता ख्रिष्टियनहरूलाई पछि सङ्‌कष्ट आउँदा पनि आज्ञाकारी हुन सजिलो हुने थियो।

११. हाम्रो विश्‍वास किन बलियो हुनुपर्छ?

११ हिब्रू खिष्टियनहरूसित जस्तै हामीसित पनि बलियो विश्‍वास हुनुपर्छ। अहिलेको समयका धेरैजसो मानिसहरू यस दुष्ट युगको अन्त चाँडै हुनेछ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्‌। बाइबलको यस चेतावनीमा हामीले विश्‍वास गरेकोले तिनीहरू हाम्रो गिल्ला गर्छन्‌। (२ पत्रु. ३:३, ४) महासङ्‌कष्टको दौडान के-के हुनेछ भन्‍नेबारे बाइबलमा केही जानकारी दिइएका छन्‌। तर हामीलाई थाह नभएका कुराहरू पनि धेरै छन्‌। यस दुष्ट युगको अन्त यहोवाले तोक्नुभएको समयमा हुनेछ र उहाँले हाम्रो ख्याल राख्नुहुनेछ भन्‍ने कुरामा हामीसित बलियो विश्‍वास हुनुपर्छ।—हब. २:३.

१२. महासङ्‌कष्टको बेला बच्न हामी के गर्न सक्छौँ?

१२ यहोवाले हामीलाई डोऱ्‍याउन “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई प्रयोग गर्दै हुनुहुन्छ भन्‍ने कुरामाथिको विश्‍वासलाई पनि हामीले बलियो बनाउनुपर्छ। (मत्ति २४:४५) रोमी सेनाले घेरा हाल्दा हिब्रू ख्रिष्टियनहरूले विभिन्‍न निर्देशनहरू पाएका हुन सक्छन्‌। त्यसैगरि महासङ्‌कष्ट सुरु हुँदा हामीले पनि महत्त्वपूर्ण निर्देशनहरू पाउन सक्छौँ, जसले हाम्रो ज्यान जोगाउन सक्छ। यहोवाको सङ्‌गठनमा अगुवाइ लिइरहेकाहरूले दिने निर्देशनमाथिको भरोसालाई बलियो बनाउने समय अहिल्यै हो। यदि तिनीहरूले दिएको निर्देशन पालन गर्न हामीलाई अहिले नै गाह्रो लाग्यो भने महासङ्‌कष्टको बेला झन्‌ कत्ति गाह्रो लाग्ला!

१३. हिब्रू १३:५ मा दिइएको सल्लाह किन उपयुक्‍त थियो?

१३ भाग्नुपर्ने समय पर्खँदै गर्दा हिब्रू ख्रिष्टियनहरूले “पैसाको प्रेम”-लाई तिरस्कार गर्नुपर्थ्यो र आफ्नो जीवन सरल बनाउनुपर्थ्यो। (हिब्रू १३:५ पढ्‌नुहोस्‌।) तिनीहरूमध्ये केही ख्रिष्टियन विगतमा अनिकाल र गरिबीको चपेटामा परेका थिए। (हिब्रू १०:३२-३४) हुनत तिनीहरू कुनै समय सुसमाचारको खातिर जस्तोसुकै सङ्‌कष्ट भोग्न तयार थिए। तर तिनीहरूमध्ये केहीलाई आफ्नो सुरक्षाको लागि धनसम्पत्ति नभई हुँदैन जस्तो लाग्न थालेको हुन सक्छ। तर आउँदै गरेको विनाशबाट तिनीहरूलाई धनसम्पत्तिले कुनै हालतमा जोगाउने थिएन। (याकु. ५:३) वास्तवमा भन्‍ने हो भने भौतिक कुराहरूलाई प्रेम गर्नेहरूलाई आफ्नो घर र सबै जायजेथा छोडेर भाग्न झनै गाह्रो हुने थियो।

१४. हामीसित बलियो विश्‍वास छ भने भौतिक कुराहरूप्रति कस्तो दृष्टिकोण राख्नेछौँ?

१४ यस दुष्ट युगको अन्त नजिकै छ भन्‍ने कुरामा हाम्रो विश्‍वास बलियो छ भने भौतिकवादलाई तिरस्कार गर्न हामीले सक्दो प्रयास गर्नेछौँ। महासङ्‌कष्टको दौडान पैसाको कुनै मोल हुनेछैन। मानिसहरूले “आफूसित भएको चाँदी सडकमा फाल्नेछन्‌” किनभने “यहोवाको रिसको दिनमा तिनीहरूको सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन” भनेर तिनीहरूले बुझ्नेछन्‌। (इज. ७:१९) अहिले सकेसम्म धेरै पैसा जम्मा गर्न खोज्नुको साटो हामीले सरल र सन्तुलित जीवन बिताउन मदत गर्ने निर्णयहरू गर्नुपर्छ। यसमा अनावश्‍यक ऋण नलिनु वा भौतिक कुराहरूको हेरचाहमा धेरै समय नबिताउनु समावेश छ। हामी आफूसित भएका सरसम्पत्तिलाई असाध्यै माया गर्नदेखि पनि होसियार हुनुपर्छ। यस दुष्ट युगको अन्त पर्खँदै गर्दा हाम्रो विश्‍वासको जाँच हुन सक्छ। (मत्ति ६:१९, २४) हामीले यहोवामाथि भरोसा राख्ने कि हाम्रो सरसम्पत्तिमा भरोसा राख्ने भनेर छनौट गर्नुपर्ने हुन्छ।

“सहनशील हुनु आवश्‍यक छ”

१५. हिब्रू ख्रिष्टियनहरू किन सहनशील हुनु आवश्‍यक थियो?

१५ हिब्रू ख्रिष्टियनहरूले चाँडै भीषण विरोधको सामना गर्नुपर्ने भएकोले तिनीहरूको विश्‍वासको जाँच हुने थियो। (हिब्रू १०:३६) हुनत केहीले पहिला पनि असाध्यै खेदो भोगिसकेका थिए। तर धेरैजसोले भने भोगेका थिएनन्‌ किनभने तिनीहरूले शान्ति छाएको समयमा सत्य स्विकारेका थिए। केहीले विश्‍वासको जाँच हुने कठिन परीक्षाहरू भोगिसकेको भए तापनि तिनीहरू येसुजस्तै मृत्युसम्मै वफादार रहनु आवश्‍यक छ भनेर पावलले बताए। (हिब्रू १२:४) ख्रिष्टियन धर्म अङ्‌गाल्नेहरूको सङ्‌ख्या बढ्‌दै जाँदा थुप्रै यहुदीहरू रिसले चुर भए अनि तिनीहरूलाई घृणा र खेदो गर्न थाले। हिब्रू ख्रिष्टियनहरूलाई पत्र लेख्नुभन्दा केही वर्षअघि मात्रै पावलले यरुसलेममा सुसमाचार प्रचार गर्दा एउटा ठूलो भीड तिनीमाथि जाइलागेको थियो। चालिस जनाभन्दा धेरै यहुदीले ‘पावललाई नमारेसम्म केही खानपिन नगर्ने कसम खाएका थिए।’ (प्रेषि. २२:२२; २३:१२-१४) यस्तो घृणा र खेदोको बाबजुद ती ख्रिष्टियनहरू उपासना गर्न एक ठाउँमा भेला हुनुपर्थ्यो, तिनीहरूले सुसमाचार सुनाउनुपर्थ्यो र आफ्नो विश्‍वास बलियो बनाइराख्नुपर्थ्यो।

१६. परीक्षाहरू सहँदा हुने लाभमा ध्यान दिन हिब्रूको किताबले हामीलाई कसरी मदत गर्न सक्छ? (हिब्रू १२:७)

१६ हिब्रू ख्रिष्टियनहरूलाई विरोध सहन केले मदत गर्ने थियो? तिनीहरूले परीक्षाहरू सहँदा हुने लाभहरूमा ध्यान दिँदा मदत मिल्नेछ भनेर पावललाई थाह थियो। हामीलाई तालिम दिन परमेश्‍वरले परीक्षाहरू आइपर्न दिनुभएको हुन सक्छ भनेर पावलले बताए। (हिब्रू १२:७ पढ्‌नुहोस्‌।) त्यस्तो तालिमले हामीलाई यहोवालाई मन पर्ने गुणहरू विकास गर्न र त्यसलाई खार्दै लैजान मदत गर्न सक्छ। परीक्षाहरू सहँदा हुने राम्रो नतिजामा ध्यान दिँदा तिनीहरूले परीक्षाहरू सहन बल पाउने थिए।—हिब्रू १२:११.

१७. पावलले खेदो सहने सन्दर्भमा के सिकेका थिए?

१७ पावलले हिब्रू ख्रिष्टियनहरूलाई साहसी भई परीक्षाहरू सहन र हार नमान्‍न आग्रह गरे। तिनले यसो भन्‍न सुहाउँथ्यो किनभने ख्रिष्टियन बन्‍नुअघि तिनी आफैले ख्रिष्टियनहरूको खेदो गरेका थिए र तिनीहरूसित कस्तो क्रूर व्यवहार गरिन्छ भनेर तिनले देखेका थिए। ख्रिष्टियन भइसकेपछि तिनले विभिन्‍न किसिमको विरोध सहनुपऱ्‍यो। (२ कोरि. ११:२३-२५) त्यसैले खेदो आइपर्दा के गर्नुपर्छ भन्‍ने विषयमा पावल निर्धक्क भई बोल्न सक्थे। तिनले ख्रिष्टियनहरूलाई परीक्षाहरू सहँदा आफूमा होइन बरु यहोवामा भर पर्नुपर्छ भनेर सम्झाए। यहोवामाथि भर परेकोले तिनले साहसी भई यसो भन्‍न सके: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ।”—हिब्रू १३:६.

१८. हामीले भविष्यमा कस्तो अवस्थाको सामना गर्नुपर्नेछ र हामी त्यसको लागि कसरी तयार हुन सक्छौँ?

१८ कोही-कोही भाइबहिनीले अहिले खेदो सहिरहेका छन्‌। हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ? हामी तिनीहरूको लागि प्रार्थना गरिदिन सक्छौँ र आवश्‍यक परेको बेला व्यवहारिक मदत पनि दिन सक्छौँ। (हिब्रू १०:३३) बाइबल स्पष्टसित यसो भन्छ: “ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।” (२ तिमो. ३:१२) त्यसकारण हामी सबै जना सङ्‌कष्ट सहन तयार रहनुपर्छ। त्यसैले यहोवामा पूरापूर भरोसा राखौँ अनि जस्तोसुकै परीक्षा आए पनि उहाँले हामीलाई सहन मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क होऔँ। उहाँले ठीक समयमा आफ्ना वफादार उपासकहरूको उद्धार गर्नुहुनेछ।—२ थिस्स. १:७, ८.

१९. महासङ्‌कष्टको लागि तयार रहन हामी के गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१९ पावलले लेखेको पत्रले हिब्रू ख्रिष्टियनहरूलाई सङ्‌कष्टहरू सहन तयार बनायो। पावलले आफ्ना भाइहरूलाई बाइबलको गहिरो अध्ययन गर्न र त्यसलाई अझ राम्ररी बुझ्न आग्रह गरे। त्यसो गर्दा तिनीहरूले झूटा शिक्षाहरूलाई चिन्‍न र त्यसलाई तिरस्कार गर्न सक्ने थिए। किनभने झूटा शिक्षाहरूले तिनीहरूको विश्‍वास कमजोर बनाउन सक्थ्यो। पावलले तिनीहरूलाई आफ्नो विश्‍वास बलियो बनाउन प्रोत्साहन दिए। त्यसो गर्दा तिनीहरूले येसुको र मण्डलीमा अगुवाइ लिइरहेकाहरूको निर्देशन तुरुन्तै पालन गर्न सक्ने थिए। तिनले ती भाइहरूलाई परीक्षाहरू सहँदा हुने लाभहरूमा ध्यान दिन र परीक्षाहरूलाई यहोवाबाट तालिम पाउने मौकाको रूपमा हेर्न प्रोत्साहन दिए। यसो गर्दा तिनीहरू अझ सहनशील हुन सक्ने थिए। हामी पनि बाइबलको यो सल्लाह लागू गरौँ। यसो गऱ्‍यौँ भने हामीले अन्तसम्मै सहन सक्नेछौँ।—हिब्रू ३:१४.

सहनशील भएकोले विश्‍वासी ख्रिष्टियनहरूले आशिष्‌ पाए। यहुदियाबाट भागेपछि पनि तिनीहरू एक ठाउँमा भेला भइरहे। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (अनुच्छेद १९ हेर्नुहोस्‌)

गीत १२६ जागा रहौँ, दह्रो होऔँ र पराक्रमी हुँदै जाऔँ!

a हिब्रूको किताबको पहिलो अध्यायमा पावलले यहोवाको उपासना गर्ने यहुदी तरिकाभन्दा ख्रिष्टियन तरिका अझ उत्कृष्ट छ भनेर बुझाउन सात पटक हिब्रू धर्मशास्त्रबाट उल्लेख गरे।—हिब्रू १:५-१३.