अध्ययन लेख ३९
गीत १२५ ‘आनन्दित हुन् कृपालुहरू!’
अरूलाई दिँदा तपाईँ आनन्दित हुन सक्नुहुन्छ
“लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषि. २०:३५.
सिक्न सकिने कुरा
अरूलाई दिँदा हामी कसरी आफ्नो आनन्दलाई कायम राख्न र बढाउन सक्छौँ?
१-२. यहोवाले हामीलाई कसरी बनाउनुभएको छ र किन?
यहोवाले मानिसलाई अरूबाट कुनै कुरा पाउँदा भन्दा अरूलाई केही कुरा दिँदा अझै आनन्दित हुने किसिमले बनाउनुभएको छ। (प्रेषि. २०:३५) तर के यसको अर्थ कुनै कुरा पाउँदा हामी आनन्दित हुन सक्दैनौँ भन्ने हो? त्यसो त होइन। किनभने हामी आफैले अनुभव गरेका छौँ, कुनै उपहार पाउँदा हामीलाई खुसी लाग्छ। तर हामीले कसैलाई केही कुरा दिँदा हामी अझै आनन्दित हुन्छौँ। हो, यहोवाले हाम्रै भलाइको लागि त्यस्तो किसिमले बनाउनुभयो। हामी किन त्यसो भन्न सक्छौँ?
२ यहोवाले हामीलाई यस्तो तरिकामा बनाउनुभएकोले हामी आफ्नो आनन्द आफै बढाउन सक्छौँ। अरूलाई दिने मौकाहरू खोजेर हामी आफ्नो आनन्द बढाउन सक्छौँ। यहोवाले हामीलाई साँच्चै अचम्मलाग्दो तरिकामा बनाउनुभएको छ।—भज. १३९:१४.
३. बाइबलमा यहोवालाई किन “आनन्दित परमेश्वर” भनिएको छ?
३ बाइबलले दिनुमा आनन्द छ भनेर बताउँछ। त्यसैले बाइबलमा यहोवालाई “आनन्दित परमेश्वर” भनिनु कुनै अचम्मलाग्दो कुरा होइन। (१ तिमो. १:११) अरूलाई केही दिने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्छ र उहाँ महान् दाता हुनुहुन्छ। “उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ।” (प्रेषि. १७:२८) वास्तवमा हामीलाई “हरेक असल वरदान र हरेक उत्तम उपहार” उहाँले नै दिनुभएको हो।—याकु. १:१७.
४. हामी कसरी अझै आनन्दित हुन सक्छौँ?
४ हामी अरूलाई दिँदा पाइने आनन्दलाई अझै बढाउन चाहन्छौँ। यहोवाको उदारता अनुकरण गरेर हामी त्यसो गर्न सक्छौँ। (एफि. ५:१) यस लेखमा हामी यहोवाको उदारताबारे छलफल गर्नेछौँ। साथै कसैले कृतज्ञता नदेखाउँदा के गर्न सक्छौँ, त्यसबारे पनि सिक्नेछौँ। यस लेखमा सिक्ने कुराहरूले हामीलाई दिँदा पाइने आनन्दलाई कायम राख्न र त्यसलाई अझै बढाउन मदत गर्नेछ।
यहोवाजस्तै उदार हुनुहोस्
५. यहोवाले हामीलाई कस्ता कुराहरू दिनुभएको छ?
५ यहोवाले हामीलाई कुन-कुन तरिकामा उदारता देखाउनुभएको छ? केही उदाहरण विचार गरौँ। यहोवाले हामीलाई भौतिक कुराहरू दिनुभएको छ। हाम्रो जीवन सधैँ आरामदायी नहोला तर यहोवाले हाम्रो आवश्यकता पूरा गरिदिनुभएको छ। जस्तै: उहाँले हामीलाई गाँस, बास र कपास दिनुभएको छ। (भज. ४:८; मत्ति ६:३१-३३; १ तिमो. ६:६-८) के उहाँ कर्तव्यबोधले गर्दा मात्र हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ? त्यसो त होइन। त्यसोभए उहाँ हाम्रो आवश्यकताहरू किन पूरा गर्नुहुन्छ?
६. मत्ति ६:२५, २६ बाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
६ सरल शब्दमा भन्नुपर्दा यहोवा हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ किनभने उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। येसुले मत्ति ६:२५, २६ मा बताउनुभएको कुरा विचार गरौँ। (पढ्नुहोस्।) उहाँले सृष्टिका कुराहरूबारे बताउनुभयो। चराहरूबारे उहाँले यसो भन्नुभयो: “तिनीहरू न बीउ छर्छन् न कटनी गर्छन् न त भण्डारमै जम्मा गर्छन्।” तर त्यसपछि उहाँले के भन्नुभयो, याद गर्नुहोस्। “स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ।” त्यसपछि उहाँले यस्तो प्रश्न सोध्नुभयो: “के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ?” यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यहोवा आफ्ना उपासकहरूलाई जीवजन्तुलाई भन्दा बहुमूल्य ठान्नुहुन्छ। उहाँले जीवजन्तुको आवश्यकता त पूरा गर्नुहुन्छ भने हाम्रो आवश्यकता पनि पक्कै पूरा गर्नुहुनेछ। एक जना मायालु बुबाले परिवारको ख्याल राखेजस्तै प्रेमले उत्प्रेरित भएर यहोवा हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ।—भज. १४५:१६; मत्ति ६:३२.
७. हामी कसरी यहोवाजस्तै उदार हुन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
७ यहोवाले जस्तै प्रेमले उत्प्रेरित भएर हामी पनि अरूलाई भौतिक कुरा दिन सक्छौँ। जस्तै: के तपाईँ लुगाफाटा वा खानेकुराको खाँचोमा परेको कुनै भाइबहिनीलाई चिन्नुहुन्छ? यहोवाले तपाईँलाई तिनको त्यो आवश्यकता पूरा गर्न प्रयोग गर्न सक्नुहुन्छ। यहोवाका जनहरू विशेषगरि प्रकोपको बेला मदत गर्न अग्रसर हुने व्यक्तिहरू भनेर चिनिन्छन्। जस्तै: कोभिड-१९ महामारीको बेला भाइबहिनीहरूले खाँचोमा परेकाहरूलाई खानेकुरा, लत्ताकपडा र अरू आवश्यक कुराहरू दिए। थुप्रैले विश्वव्यापी कार्यको लागि उदार भएर अनुदान पनि दिए। त्यही अनुदानले गर्दा संसारभरिका भाइबहिनीलाई मदत गर्न सम्भव भयो। तिनीहरूले हिब्रू १३:१६ मा लेखिएको यो कुरा लागू गरे: “भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।”
८. यहोवाको शक्ति पाएपछि हामी के गर्न सक्छौँ? (फिलिप्पी २:१३)
८ यहोवा हामीलाई शक्ति दिनुहुन्छ। यहोवासित अथाह शक्ति छ र उहाँ त्यो शक्ति आफ्ना वफादार उपासकहरूलाई खुसीसाथ दिनुहुन्छ। (फिलिप्पी २:१३ पढ्नुहोस्।) के तपाईँले प्रलोभनको प्रतिरोध गर्न वा गाह्रो परीक्षाको सामना गर्न उहाँसित बल माग्नुभएको छ? अथवा एकदमै गाह्रो भइरहेको बेला आजको एक दिन पनि उहाँको इच्छाअनुसार बिताउन सकूँ भनेर उहाँसित बल माग्नुभएको छ कि? तपाईँले यस्ता प्रार्थनाहरूको जवाफ पाउँदा प्रेषित पावलले जस्तै महसुस गर्नुभयो होला। तिनले यसो भने: “जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलि. ४:१३.
९. हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
९ हामीसित यहोवाको जस्तो अथाह शक्ति छैन। अनि हामी अरूलाई आफ्नो शक्ति दिन सक्दैनौँ। तर अरूलाई मदत गर्न आफ्नो शक्ति प्रयोग गरेर हामी उहाँको अनुकरण गर्न सक्छौँ। जस्तै: हामी वृद्ध वा अशक्त भाइबहिनीको लागि किनमेल गरिदिन वा तिनको घरायसी कामकुरा गरिदिन सक्छौँ। परिस्थितिले दिन्छ भने हामी सभाभवनको सरसफाइ र स्याहारसम्भार गर्ने काममा मदत गर्न सक्छौँ। आफ्नो शक्ति प्रयोग गर्दा हामीले भाइबहिनीको हित हुने काम गरिरहेका हुन्छौँ।
१०. हामी आफ्नो बोलीले अरूलाई कसरी बलियो बनाउन सक्छौँ?
१० बोलीमा शक्ति हुन्छ भन्ने कुरा पनि नबिर्सनुहोस्। तपाईँको मनैदेखिको प्रशंसा सुनेर प्रोत्साहन पाउन सक्ने व्यक्ति कोही छन् कि, सोच्नुहोस्। अथवा सान्त्वना चाहिएको कोही छन् कि? त्यस्तो भाइ वा बहिनीसित कुरा गर्न आफै अग्रसर हुनुभए कसो होला? तपाईँ तिनलाई भेट्न, फोन गर्न वा कार्ड, इमेल वा मेसेज पठाउन सक्नुहुन्छ। तपाईँले भन्ने कुरा चिटिक्क मिलेको हुनुपर्छ भन्ने छैन। बरु तपाईँले मायाले दुईचार शब्द मात्र बोल्नुभए पनि पर्याप्त हुन सक्छ। त्यसले तिनलाई वफादार रहन वा सकारात्मक भई अघि बढ्न मदत गर्न सक्छ।—हितो. १२:२५; एफि. ४:२९.
११. यहोवा हामीलाई के दिनुहुन्छ र कसरी?
११ यहोवा हामीलाई बुद्धि दिनुहुन्छ। चेला याकुबले यस्तो लेखे: “यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्वरसित मागिरहोस् र उसलाई त्यो दिइनेछ किनकि उहाँले सबैलाई उदारचित्तले अनि गल्ती नखोजीकन दिनुहुन्छ।” (याकु. १:५, फुटनोट) यी शब्दहरूबाट यहोवा आफ्नो बुद्धि आफैमा सीमित राख्नुहुन्न बरु उदारचित्तले अरूलाई दिनुहुन्छ भनेर बुझ्न सक्छौँ। यो कुरा पनि याद गर्नुहोस्, यहोवा हामीलाई “नझर्कीकन” वा “गल्ती नखोजीकन” बुद्धि दिनुहुन्छ। उहाँको डोऱ्याइ चाहिन्छ भनेर स्विकार्दा उहाँले हामीलाई केही गर्न नसक्ने बेकामको मानिस ठान्नुहुन्न। किनभने बुद्धि माग्न उहाँ आफैले हामीलाई प्रोत्साहन दिनुभएको छ।—हितो. २:१-६.
१२. हामीसित बुद्धिका कुराहरू बाँड्ने कस्ता मौकाहरू छन्?
१२ हामी कसरी यहोवाले जस्तै बुद्धिका कुराहरू अरूलाई बाँड्न सक्छौँ? (भज. ३२:८) हामीसित आफूले सिकेका कुराहरू बाँड्ने थुप्रै मौका छन्। जस्तै: हामी नयाँ प्रकाशकहरूलाई साक्षीकार्यसम्बन्धी विभिन्न कुरा सिकाउँछौँ। एल्डरहरूले सहायक सेवक र बप्तिस्मा गरेका भाइहरूलाई विभिन्न जिम्मेवारीहरू सम्हाल्न धीरजी भई तालिम दिन्छन्। अनि उपासनास्थलको निर्माण र स्याहारसम्भारसम्बन्धी अनुभव भएका भाइबहिनीले कम अनुभवीहरूलाई तालिम दिन्छन्।
१३. अरूलाई सिकाउने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ?
१३ अरूलाई सिकाउँदा यहोवाको अनुकरण गर्ने कोसिस गर्नुहोस्। नबिर्सनुहोस्, यहोवा हामीलाई उदारचित्तले बुद्धि दिनुहुन्छ। त्यसैगरि हामी पनि आफूले सिकाइरहेको व्यक्तिसित आफ्नो ज्ञान अनि अनुभव कुनै कन्जुस्याईँ नगरी बाँड्न चाहन्छौँ। सिकिरहेको व्यक्तिले ‘मेरो ठाउँ लेला’ भन्ने डरले हामी कुनै-कुनै कुरा नसिकाउने गर्दैनौँ। हामी यस्तो सोचाइ पनि राख्दैनौँ: ‘मलाई त कसैले सिकाएन, आफै सिकेँ। उसले पनि आफै सिकोस्।’ यहोवाका मानिसहरूले यस्तो सोचाइ राख्न पटक्कै सुहाउँदैन। बरु हामी खुसीसाथ आफ्नो ज्ञान बाँड्न मात्र होइन, एक अर्थमा “आफ्नो ज्यान दिन समेत” तयार हुन्छौँ। (१ थिस्स. २:८) यसरी सिकाउँदा तिनीहरू पनि “अरूलाई सिकाउन योग्य हुन सकून्” भन्ने हामी चाहन्छौँ। (२ तिमो. २:१, २) हामीले अरूलाई उदारचित्त भएर सिकाउँदा त्यो व्यक्ति पनि अरूलाई त्यसरी नै सिकाउन उत्प्रेरित हुन्छन् र यो चक्र चलिरहन्छ। अनि सिक्ने र सिकाउने दुवै आनन्दित हुन्छन् र यो चक्र पनि चलिरहन्छ।
अरूले कृतज्ञता नदेखाएको जस्तो लाग्दा
१४. तपाईँले अरूको लागि केही गरिदिँदा तिनीहरूले अक्सर कस्तो प्रतिक्रिया देखाउँछन्?
१४ हामीले कसैलाई केही दिँदा वा तिनीहरूको लागि केही गरिदिँदा तिनीहरूले अक्सर कृतज्ञता व्यक्त गर्छन्। तिनीहरूले धन्यवाद दिन कार्ड पठाउन सक्छन् वा अरू कुनै तरिकामा कृतज्ञता व्यक्त गर्न सक्छन्। (कल. ३:१५) यसरी कसैले कृतज्ञता व्यक्त गर्दा हामी अझै आनन्दित हुन्छौँ।
१५. अरूले कृतज्ञता व्यक्त नगर्दा हामीले कुन कुरा सम्झनुपर्छ?
१५ कहिलेकाहीँ कसै-कसैले कृतज्ञता नदेखाउन सक्छन्। हामीले आफ्नो समय, शक्ति वा स्रोतसाधन अरूको लागि प्रयोग गर्दा तिनीहरूले त्यसको कुनै कदर नगरेको जस्तो हामीलाई लाग्न सक्छ। त्यस्तो बेला हामीलाई आफ्नो आनन्द नगुमाउन वा नरिसाउन कुन कुराले मदत गर्नेछ? यस लेखको मूल शास्त्रपद प्रेषित २०:३५ सम्झनुहोस्। हाम्रो आनन्द अरूको प्रतिक्रियामा निर्भर हुँदैन। अरूले कृतज्ञता नदेखाएको जस्तो लागे पनि हामी अरूलाई खुसीसाथ दिइरहन सक्छौँ। कसरी? केही तरिका विचार गरौँ।
१६. अरूलाई दिँदा हामीले के गरिरहेका हुन्छौँ?
१६ हामीले अरूलाई दिँदा यहोवाको अनुकरण गरिरहेका हुन्छौँ भनेर नबिर्सनुहोस्। मानिसहरूले कृतज्ञता देखाए पनि नदेखाए पनि उहाँले तिनीहरूलाई असल कुरा दिइरहनुभएको छ। (मत्ति ५:४३-४८) यहोवाले जस्तै “केही फिर्ता पाउने आशा नगरी” दिँदा उहाँले हामीलाई “ठूलो इनाम” दिनुहुनेछ। (लुका ६:३५) “केही फिर्ता पाउने आशा” नगर्नुमा कृतज्ञताको आशा नगर्नु पनि समावेश छ। अरूले कृतज्ञता देखाए पनि नदेखाए पनि अरूलाई मदत गर्दा र ‘खुसीसाथ दिँदा’ यहोवाले हामीलाई सधैँ इनाम दिनुहुनेछ।—हितो. १९:१७; २ कोरि. ९:७.
१७. अरूलाई दिँदा हाम्रो मनसाय कस्तो हुनुपर्छ? (लुका १४:१२-१४)
१७ सही मनसायले दिनुको महत्त्वलाई लुका १४:१२-१४ मा पाइने सिद्धान्तले जोड दिएको छ। (पढ्नुहोस्।) हामीलाई अतिथि-सत्कार गर्न सक्ने वा केही दिन सक्नेहरूलाई अतिथि-सत्कार गर्नु वा केही दिनुमा कुनै खराबी छैन। तर हामीले धेरैजसो केही पाउने आशाले दिइरहेका छौँ भने नि? त्यस्तो बेला हामीले येसुले दिनुभएको सल्लाह पालन गर्ने कोसिस गर्नुपर्छ। हामीलाई अतिथि-सत्कार गर्न नसक्नेहरूलाई हामी अतिथि-सत्कार गर्न सक्छौँ। त्यसो गर्दा हामी आनन्दित हुनेछौँ किनभने हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ। यस्तो मनोवृत्ति राख्यौँ भने अरूले कृतज्ञता व्यक्त नगर्दा पनि हामी आनन्दित भइरहन सक्नेछौँ।
१८. अरूको मनसायमा शङ्का नगर्न केले मदत गर्छ?
१८ अरूको मनसायमा शङ्का नगर्नुहोस्। (१ कोरि. १३:७) अरूले कृतज्ञता व्यक्त नगर्दा हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौँ: ‘के तिनीहरू साँच्चै कृतज्ञ नभएका हुन् अथवा त्यो व्यक्त गर्न बिर्सेका मात्र हुन् कि?’ अरूले हामीलाई कृतज्ञता देखाउनेछन् भनेर हामीले आशा गरेका थियौँ होला तर तिनीहरूले त्यसो नगर्नुका अरू कारणहरू हुन सक्छन्। जस्तै: कसैले कृतज्ञ महसुस गरेका हुन सक्छन् तर त्यो व्यक्त गर्न भने अप्ठ्यारो लागेको हुन सक्छ। तिनीहरूलाई अरूको मदत स्विकार्न लाज लाग्न सक्छ, विशेषगरि विगतमा तिनीहरूले अरूलाई मदत गरिरहेका थिए भने। जेहोस्, यदि हामी भाइबहिनीलाई मनैदेखि प्रेम गर्छौँ भने तिनीहरूबारे नकारात्मक कुरा सोच्नेछैनौँ बरु खुसीसाथ दिइरहनेछौँ।—एफि. ४:२.
१९-२०. हामीले किन धैर्य गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्।)
१९ धैर्य गर्नुहोस्। उदार हुने सन्दर्भमा बुद्धिमान् राजा सुलेमानले यस्तो लेखे: “आफ्नो रोटी पानीमा फालिदेऊ किनकि धेरै दिनपछि तिमीले त्यो फिर्ता पाउनेछौ।” (उप. ११:१) यी शब्दहरूले सङ्केत गरेझैँ कसै-कसैले “धेरै दिनपछि” अर्थात् लामो समयपछि कृतज्ञता देखाउन सक्छन्। यस्तै एउटा अनुभव विचार गरौँ।
२० धेरै वर्षअघिको कुरा हो, एक जना क्षेत्रीय निरीक्षककी श्रीमतीले भर्खरै बप्तिस्मा गरेकी स्यान्ड्रालाई एउटा चिठी लेखेकी थिइन्। त्यस चिठीमा उनले यहोवाप्रति वफादार रहिरहनुको महत्त्वबारे बताएकी थिइन्। त्यसको लगभग आठ वर्षपछि स्यान्ड्राले ती क्षेत्रीय निरीक्षककी श्रीमतीलाई कृतज्ञता देखाउँदै चिठी लेखिन्। त्यसमा यस्तो लेखिएको थियो: “तपाईँले दिनुभएको चिठीले मलाई आजसम्म कत्ति बल दिइरहेको छ भनेर तपाईँलाई बताउन चाहन्छु। . . . तपाईँको चिठीबाट मैले निकै प्रोत्साहन पाएँ। तपाईँले लेख्नुभएको शास्त्रपदले मेरो मनै छोयो। म त्यो शास्त्रपद कहिल्यै बिर्सन सक्दिनँ।” a आफूले सामना गरेका केही चुनौतीहरूबारे बताएपछि स्यान्ड्राले अझै यस्तो लेखिन्: “कहिलेकाहीँ मलाई सबै कुरा छोडेर केही नगरी बसूँ जस्तो लागेको थियो। यहोवाको सेवा गर्नै छोडिदिऊँ जस्तो पनि लागेको थियो। तर त्यो शास्त्रपदले मलाई झकझकाइरह्यो; मैले हार नमान्न बल पाएँ।” तिनले अझै यसो भनिन्: “गएको आठ वर्षको दौडान तपाईँले लेख्नुभएको चिठीले जत्तिको प्रोत्साहन मैले अरू कुनै कुराबाट पाइनँ।” “धेरै दिनपछि” त्यो चिठी पाउँदा क्षेत्रीय निरीक्षककी श्रीमती कत्ति खुसी भइन् होला! कहिलेकाहीँ हामीलाई पनि अरूले लामो समयपछि कृतज्ञता व्यक्त गर्न सक्छन्।
२१. तपाईँ किन यहोवाजस्तै उदार भइरहन चाहनुहुन्छ?
२१ यहोवाले हामीलाई अरूबाट पाउँदा भन्दा अरूलाई दिँदा अझै आनन्दित हुने किसिमले बनाउनुभएको छ। भाइबहिनीलाई मदत गर्न पाउँदा हामीलाई खुसी लाग्छ अनि तिनीहरूले कृतज्ञता व्यक्त गर्दा हामी आनन्दित हुन्छौँ। तर अरूले कृतज्ञता व्यक्त गरे पनि नगरे पनि सही कुरा गरेकोमा हामी खुसी हुन सक्छौँ। तपाईँ अरूलाई जति दिनुहुन्छ, “यहोवा परमेश्वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ” भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्। (२ इति. २५:९) हामी अरूलाई यहोवाले भन्दा धेरै कहिल्यै दिन सक्दैनौँ। यहोवाबाट इनाम पाउँदा जत्तिको आनन्द अरू कुनै कुराले दिन सक्दैन। त्यसैले हाम्रो उदार बुबा यहोवाको अनुकरण गरिरहौँ!
गीत १७ “म इच्छा गर्छु”
a ती बहिनीलाई क्षेत्रीय निरीक्षककी श्रीमतीले लेखेको शास्त्रपद २ युहन्ना ८ थियो, जहाँ यस्तो लेखिएको छ: “होसियार बस ताकि हामीले परिश्रम गरेर तिमीहरूमा फलाएको कुरा तिमीहरूले गुमाउन नपरोस् बरु तिमीहरूले पूरा इनाम पाउन सक।”
b चित्रको व्याख्या: यस पुनःअभिनय गरिएको चित्रमा क्षेत्रीय निरीक्षककी श्रीमती उदार भई एक बहिनीको लागि प्रोत्साहनका शब्दहरू लेख्दै छिन्। वर्षौँपछि ती क्षेत्रीय निरीक्षककी श्रीमतीले कृतज्ञता व्यक्त गरिएको चिठी पाउँछिन्।