सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू पत्रुसको सासूको घरमा जानुभयो र उनलाई निको पार्नुभयो।—मत्ती ८:१४, १५; मर्कू. १:२९-३१

के ख्रीष्टियन अगुवाहरू ब्रह्‍मचारी हुनै पर्छ?

के ख्रीष्टियन अगुवाहरू ब्रह्‍मचारी हुनै पर्छ?

रोमन क्याथोलिक चर्च, अर्थोडक्स चर्च, बौद्धमार्गी र संसारका अन्य धर्महरू आफ्नो धर्मका धर्मगुरु तथा पादरीहरू ब्रह्‍मचारी हुनै पर्छ भन्छन्‌। अरू मानिसहरूचाहिं विभिन्‍न धर्मका धर्मगुरुहरू यौन काण्डमा मुछिनुको मुख्य कारण नै ब्रह्‍मचारी प्रथा हो भन्छन्‌।

त्यसैले यस्तो प्रश्‍न सोध्नु उचितै हो, के ख्रीष्टियन अगुवाहरू ब्रह्‍मचारी हुनै पर्छ? यस प्रश्‍नको जवाफ पाउनुअघि यो चलनको सुरुवात कहिले भयो र यसबारे ईश्‍वरको दृष्टिकोण कस्तो छ, बुझौं।

धार्मिक इतिहासमा ब्रह्‍मचारी प्रथा

इन्साइक्लोपीडिया ब्रिटानिका-ले ब्रह्‍मचारी अवस्थालाई “अविवाहित रहेको अवस्था, धर्मगुरु वा भक्‍त हुनको लागि यौन क्रियाकलापबाट अलग रहेको अवस्था” भनेर वर्णन गरेको छ। सन्‌ २००६ मा रोमन चर्चका अधिकारीहरूलाई सम्बोधन गर्ने क्रममा त्यसबेलाका पोप बेनेडिक्ट सोह्रौंले अनिवार्य रूपमा ब्रह्‍मचारी हुनुपर्ने कुरालाई “प्रेषितहरूको युगभन्दा केही समयपछाडिको चलनसित जोडे।”

तर ब्रह्‍मचारी प्रथा प्रथम शताब्दीका ख्रीष्टियनहरूमाझ व्याप्त धार्मिक प्रथा थिएन। वास्तवमा प्रथम शताब्दीकै प्रेषित पावलले त्यतिबेलाका ख्रीष्टियनहरूलाई “भ्रामक प्रेरित वाणीहरू” बोल्ने र “विवाह गर्न निषेध” गर्ने मानिसहरूदेखि सजग गराए।—१ तिमोथी ४:१-३.

ब्रह्‍मचारी प्रथाले पश्‍चिमी “ख्रीष्टियन” चर्चहरूमा पाइला टेकेको दोस्रो शताब्दीतिर थियो। ब्रह्‍मचारी प्रथासित सम्बन्धित एउटा किताबले a बताएअनुसार “यो चलन रोमी साम्राज्यमा भर्खरै सुरु भएको यौन क्रियाकलापलाई निषेध गरिएको चलनसित मिल्दोजुल्दो थियो।”

त्यसपछिका शताब्दीहरूमा चर्च परिषद्‌ र चर्चका धर्मगुरुहरूले पादरीहरू ब्रह्‍मचारी हुनै पर्छ भन्‍ने विचार अपनाउन थाले। पादरीले पूरा गर्नुपर्ने जिम्मेवारी र यौनसम्बन्ध राख्ने कुरा आपसमा बाझिन्छ र यसले मानिसलाई भ्रष्ट पार्छ भनेर तिनीहरूले सोचे। तथापि, इन्साइक्लोपीडिया ब्रिटानिका-ले बताएअनुसार “दसौं शताब्दीसम्म पनि थुप्रै पादरी र केही विशपहरूको समेत पत्नीहरू थिए।”

सन्‌ ११२३ र ११३९ मा रोममा आयोजित ल्याटरन काउन्सिलपछि मात्र पादरीहरू ब्रह्‍मचारी हुनै पर्ने नियम लादिएको थियो। अनि हालसम्म पनि रोमन क्याथोलिक चर्चमा यो प्रथालाई आधिकारिक रूपमा स्वीकारिएको छ। यो नियम लागू गरेको कारण चर्चको शक्‍ति र पैसा चर्चभित्रै रहेको छ। किनकि यो नियम लागू हुनुअघि विवाहित पादरीहरूले चर्चको सम्पत्ति आफ्ना छोराछोरीहरूलाई दिने गर्थे।

ब्रह्‍मचारी प्रथाबारे ईश्‍वरको दृष्टिकोण

ब्रह्‍मचारी प्रथाबारे ईश्‍वरको दृष्टिकोण कस्तो छ, उहाँको वचन बाइबलमा त्यसबारे स्पष्ट बताइएको छ। येशूले आफूजस्तै अविवाहित रहनेहरूको विषयमा तिनीहरू “स्वर्गको राज्यको खातिर” अविवाहित रहन्छन्‌ भन्‍नुभयो। (मत्ती १९:१२) साथै प्रेषित पावलले पनि “अरूलाई सुसमाचार बाँड्‌न” आफूले जस्तै अविवाहित अवस्थाको फाइदा उठाएका ख्रीष्टियनहरूबारे बताए।—१ कोरिन्थी ७:३७, ३८; ९:२३.

तर येशू वा पावल कसैले पनि ख्रीष्टियन अगुवाहरूलाई ब्रह्‍मचारी हुने आज्ञा दिइरहेका थिएनन्‌। आफ्ना अनुयायीहरूमध्ये सबै जनाले अविवाहित रहने “वरदान” पाएका छैनन्‌ भनेर येशूले भन्‍नुभयो। “कौमार्य अवस्थामा” रहेकाहरूको विषयमा लेख्दा पावलले इमानदार भई यसो भने: “मसित प्रभुले दिनुभएको कुनै आज्ञा छैन। तैपनि . . . म आफ्नो राय दिन्छु।”—मत्ती १९:११; १ कोरिन्थी ७:२५.

अर्कोतर्फ, बाइबलमा प्रेषित पत्रुसजस्ता प्रथम शताब्दीका विवाहित ख्रीष्टियन अगुवाहरूबारे पनि बताइएको छ। (मत्ती ८:१४; मर्कूस १:२९-३१; १ कोरिन्थी ९:५) वास्तवमा त्यतिबेला रोमी साम्राज्यमा यौन अनैतिकता व्याप्त भएकोले पावलले ख्रीष्टियन निरीक्षकहरू विवाहित हुन्‌ भने “तिनी एकै जना स्त्रीको पति” हुनुपर्छ र “तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ” भनेर लेखे।—१ तिमोथी ३:२, ४.

ती विवाहहरू कुमार वा कुमारी रहिरहने खालको विवाह थिएन। किनकि विवाहित दम्पतीहरूलाई बाइबलले स्पष्टसँग यसो भनेको छ, “पतिले आफ्नो पत्नीलाई दिनुपर्ने हक देओस्‌” अनि “तिमीहरू एक-अर्कालाई यस हकबाट वञ्चित नगर।” (१ कोरिन्थी ७:३-५) कुरा स्पष्ट छ, ईश्‍वरले ब्रह्‍मचारी हुनुपर्छ भन्‍नुभएको छैन अनि ख्रीष्टियन अगुवाहरू ब्रह्‍मचारी हुनै पर्छ भन्‍ने छैन।

सुसमाचारको खातिर

ब्रह्‍मचारी हुनु अनिवार्य छैन भने येशू र पावलले किन अविवाहित अवस्थाको फाइदाबारे बताए त? यसको कारण हो, अविवाहित अवस्थाले अरूलाई सुसमाचार बाँड्‌ने अझ धेरै मौका दिन सक्छ। विवाहित व्यक्‍तिहरूले अनुभव गर्ने विभिन्‍न फिक्री अविवाहित व्यक्‍तिलाई नहुने भएकोले उनीहरूले आफूलाई सुसमाचार प्रचार गर्ने काममा अझ धेरै लगाउन सक्छन्‌।—१ कोरि. ७:३२-३५.

डेभिडको उदाहरण विचार गर्नुहोस्‌। तिनले मेक्सिको सिटीमा धेरै पैसा आउने जागिर खाइरहेका थिए तर कोस्टा रिकाको एउटा ग्रामीण इलाकामा गएर अरूलाई बाइबल सत्य सिकाउन त्यो जागिर छोड्‌ने निर्णय गरे। त्यसो गर्न के तिनलाई अविवाहित अवस्थाले मदत गऱ्‍यो? तिनी भन्छन्‌, “एकदमै मदत गऱ्‍यो। नयाँ संस्कृति र भिन्‍नै खालको वातावरणमा घुलमिल हुनु सजिलो थिएन। तर मैले आफ्नो मात्र हेरविचार गरे पुग्ने भएकोले छाँटकाँट गर्न सजिलो भयो।”

सुसमाचार प्रचारकहरूको अझ धेरै आवश्‍यकता भएको ठाउँमा बसाइँ सरेकी अविवाहित ख्रीष्टियन क्लाउडिया यसो भन्छिन्‌, “ईश्‍वरको सेवामा एकदमै आनन्दित छु। उहाँले मेरो हेरविचार गरिरहनुभएको कुरा देख्दा उहाँप्रतिको मेरो विश्‍वास अझ बलियो भएको छ र उहाँसितको सम्बन्ध घनिष्ठ भएको छ।”

“तपाईं चाहे विवाहित हुनुहोस्‌ वा अविवाहित, यहोवालाई आफूसित भएको सबैभन्दा असल कुरा दिनुहुन्छ भने तपाईं खुसी हुनुहुनेछ।”—क्लाउडिया

अविवाहित अवस्था कष्टकर हुन्छ भन्‍ने छैन। क्लाउडिया अझै यसो भन्छिन्‌, “तपाईं चाहे विवाहित हुनुहोस्‌ वा अविवाहित, यहोवालाई आफूसित भएको सबैभन्दा असल कुरा दिनुहुन्छ भने तपाईं खुसी हुनुहुनेछ।”—भज. ११९:१, २.

a Celibacy and Religious Traditions