सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ संसारमा जीवन बिताउन तपाईँ के गर्न सक्नुहुन्छ?

नयाँ संसारमा जीवन बिताउन तपाईँ के गर्न सक्नुहुन्छ?

यसअघिका लेखहरूबाट ईश्‍वरले चाँडै यस दुष्ट संसार र यसमा भएका सबै समस्यालाई अन्त गर्नुहुनेछ भनेर बुझ्यौँ। यी सबै हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ। किन? किनभने परमेश्‍वरको वचन बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ:

“संसार बितेर जाँदै छ।”—१ युहन्‍ना २:१७.

यस संसारको विनाश हुँदा जोगिनेहरू पनि हुनेछन्‌ भनेर हामी पक्का हुन सक्छौँ किनभने माथि उल्लेख गरिएको बाइबल पदमा यस्तो प्रतिज्ञा पनि गरिएको छ:

“जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैँभरि रहिरहन्छ।”

त्यसैले बच्न चाहन्छौँ भने हामीले परमेश्‍वरको इच्छाअनुसार गर्नै पर्छ। उहाँको इच्छा के हो भनेर बुझ्न हामीले पहिला उहाँलाई चिन्‍नुपर्छ।

ईश्‍वरलाई ‘चिन्‍नुहोस्‌’ र जोगिनुहोस्‌

येसुले यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई . . . चिन्‍नुपर्छ।” (युहन्‍ना १७:३) संसारको विनाश हुँदा जोगिन र सधैँभरि बाँच्न हामीले ईश्‍वरलाई “चिन्‍नुपर्छ।” उहाँलाई चिन्‍नु भनेको ईश्‍वरको अस्तित्व छ भनेर मानिलिनु अनि उहाँबारे एउटा-दुइटा कुरा थाह पाउनु मात्र होइन। हामीले उहाँसित मित्रता गाँस्नुपर्छ। कोही व्यक्‍तिसितको मित्रतालाई बलियो बनाउन चाहन्छौँ भने हामीले तिनीसित समय बिताउनुपर्छ। ईश्‍वरसितको मित्रताको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। आउनुहोस्‌, बाइबलबाट केही महत्त्वपूर्ण सत्य विचार गरौँ, जसले हामीलाई ईश्‍वरसित मित्रता विकास गर्न र त्यसलाई कायम राख्न मदत गर्नेछ।

बाइबल दिनहुँ पढ्‌नुहोस्‌

मदतको लागि ईश्‍वरलाई प्रार्थना गरेर र उहाँको इच्छाअनुसार जीवन बिताएर तपाईँ यस संसारको विनाश हुँदा जोगिन सक्नुहुन्छ

जिउनको लागि हामी हरेक दिन खानेकुरा खान्छौँ। येसुले यसो भन्‍नुभयो: “मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।”—मत्ति ४:४.

ईश्‍वरले भन्‍नुभएका कुराहरू बाइबलका पानाहरूमा पाइन्छन्‌। यो पवित्र किताब पढ्‌नुहुँदा ईश्‍वरले हाम्रो लागि विगतमा के गर्नुभयो, अहिले के गर्दै हुनुहुन्छ र भविष्यमा के गर्नुहुनेछ भनेर थाह पाउन सक्नुहुन्छ।

मदतको लागि ईश्‍वरलाई प्रार्थना गर्नुहोस्‌

तपाईँ ईश्‍वरको निर्देशनअनुसार जीवन बिताउन चाहनुहुन्छ तर उहाँले खराब भन्‍नुभएका कुराहरू छोड्‌न गाह्रो भइरहेको छ भने के गर्न सक्नुहुन्छ? तपाईँले ईश्‍वरलाई साँच्चै राम्ररी चिन्‍नुभएको छ भने यस्तो अवस्थामा मदत पाउन सक्नुहुन्छ।

साकुरा नाम गरेकी एक बहिनीको अनुभव विचार गर्नुहोस्‌। उनी अनैतिक जीवन बिताउँथिन्‌। बाइबल अध्ययन गर्न थालेपछि उनले “अवैध यौनसम्बन्धदेखि भाग” भन्‍ने ईश्‍वरको आज्ञाबारे थाह पाइन्‌। (१ कोरिन्थी ६:१८) साकुराले बलको लागि ईश्‍वरलाई प्रार्थना गरिन्‌ र यस खराब आचरणबाट मुक्‍त हुन सकिन्‌। तर उनी अझै पनि प्रलोभनहरूसित सङ्‌घर्ष गर्छिन्‌। उनी भन्छिन्‌: “अनैतिक विचारहरूले सताउन थाल्यो भने म यहोवालाई सबै कुरा पोखाउँछु किनकि म यो सङ्‌घर्ष आफ्नै बलमा जित्न सक्दिनँ। प्रार्थनाले गर्दा म यहोवासित अझ नजिक हुन सकेकी छु।” साकुराले जस्तै अरू लाखौँ मानिसले ईश्‍वरलाई चिन्‍न सकेका छन्‌। आफ्नो जीवनमा परिवर्तन गर्न र उहाँको इच्छाअनुसार जीवन बिताउन ईश्‍वर तिनीहरूलाई बल दिनुहुन्छ।—फिलिप्पी ४:१३.

तपाईँ ईश्‍वरलाई जति राम्ररी चिन्‍नुहुन्छ, उहाँले तपाईँलाई पनि त्यति नै घनिष्ठ साथीको रूपमा ‘चिन्‍नुहुनेछ।’ (गलाती ४:९; भजन २५:१४) त्यसपछि तपाईँ ईश्‍वरले ल्याउनुहुने नयाँ संसारको लागि योग्य हुनुहुनेछ। तर नयाँ संसार कस्तो हुनेछ? यसबारे यसपछिको लेखमा छलफल गरिनेछ।

a यहोवा बाइबलमा उल्लेख गरिएको ईश्‍वरको नाम हो।