के ईश्वर समानुभूति देखाउनुहुन्छ?
सृष्टिबाट के सिक्न सक्छौँ?
समानुभूति भनेको “आफूलाई अर्को व्यक्तिको ठाउँमा राखेर उसको भावना बुझ्ने वा उसले जस्तै महसुस गर्ने क्षमता हो।” मानसिक स्वास्थ्यका विशेषज्ञ डाक्टर रिक ह्यानसनले समानुभूति देखाउने क्षमता हामीले जन्मजातै पाएका हौँ भनेर बताए।
विचार गर्नुहोस्: अरू कुनै प्राणीमा नभएको समानुभूति देखाउन सक्ने क्षमता हामीमा मात्र किन छ? ईश्वरले मानिसजातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो भनी बाइबल बताउँछ। (उत्पत्ति १:२६) हामी ईश्वरकै स्वरूपमा सृजिएकोले उहाँको जस्तै व्यक्तित्व विकास गर्न सक्छौँ र उहाँमा भएका असल गुणहरू झल्काउन सक्छौँ। त्यसकारण हामी समानुभूतिले भरिएर अरूलाई मदत गर्दा हाम्रो करुणामय सृष्टिकर्ता र ईश्वर यहोवाको देखासिकी गरिरहेका हुन्छौँ।—हितोपदेश १४:३१.
बाइबलले ईश्वरको समानुभूतिबारे के सिकाउँछ?
ईश्वर हामीलाई समानुभूति देखाउनुहुन्छ र हामीले दुःख भोगेको चाहनुहुन्न। प्राचीन इस्राएलका मानिसहरूले मिश्रमा दासको रूपमा दुःखदायी जीवन बिताए अनि ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिए। त्यतिखेर ईश्वरले कस्तो महसुस गर्नुभयो? बाइबल यसो भन्छ: “हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।” (यसैया ६३:९) याद गर्नुहोस्, ईश्वरले तिनीहरूले भोगेको दुःखकष्ट याद मात्र गर्नुभएन तर महसुस पनि गर्नुभयो। उहाँले भन्नुभयो: “तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।” (प्रस्थान ३:७) उहाँ भन्नुहुन्छ: “जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई छुन्छ।” (जकरिया २:८) अरूले हामीलाई दुःख दिँदा उहाँको पनि मन दुख्छ।
कहिलेकाहीँ हाम्रो हृदयले हामीलाई दोषी ठहराउन सक्छ र आफू ईश्वरको समानुभूति पाउन योग्य छैन जस्तो लाग्न सक्छ। बाइबल हामीलाई यस्तो आश्वासन दिन्छ, “परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।” (१ युहन्ना ३:१९, २०) हाम्रो विषयमा हामीलाई भन्दा धेरै कुरा ईश्वरलाई थाह छ। उहाँ हाम्रो परिस्थिति, सोचाइ र भावना राम्रोसित बुझ्नुहुन्छ। उहाँ हामीलाई समानुभूति देखाउनुहुन्छ।
ईश्वर दुःखमा परेकाहरूलाई सहायता दिनुहुन्छ; त्यसैले सान्त्वना, बुद्धि र मदतको लागि हामी ईश्वरमा भर पर्न सक्छौँ
धर्मशास्त्रले यस्तो आश्वासन दिन्छ:
-
“तिमीहरूले यहोवालाई पुकार्नेछौ अनि उहाँले जवाफ दिनुहुनेछ; तिमीहरूले उहाँलाई गुहार्दा उहाँले यसो भन्नुहुनेछ, ‘म यहाँ छु!’”—यसैया ५८:९.
-
“यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्ने चाहन्छु। तिमीहरूले मलाई पुकार्नेछौ, मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको बिन्ती सुन्नेछु।’”—यर्मिया २९:११, १२.
-
“मेरो आँसु तपाईँको मशकमा जम्मा गरिदिनुहोस्। ती तपाईँको पुस्तकमा लेखिएका छैनन् र?”—भजन ५६:८.
ईश्वर हाम्रो अवस्था बुझ्नुहुन्छ, चासो र समानुभूति देखाउनुहुन्छ
ईश्वर हामीलाई समानुभूति देखाउनुहुन्छ भन्ने कुरा थाह पाउँदा के हामी दुःखकष्ट सहने बल पाउँछौँ? मारियाको अनुभव विचार गर्नुहोस्:
“अठार वर्षको लक्का जवान छोरा क्यान्सरले गुमाउनुपर्दा मलाई असह्य पीडा भयो। ऊ दुई वर्षदेखि क्यान्सरबाट पीडित थियो। मेरो जीवन एकदमै कठिन र अन्यायपूर्ण भएको जस्तो लाग्यो। यहोवाले किन यस्तो हुन दिनुभयो? मेरो छोरालाई किन निको पार्नुभएन? मलाई उहाँदेखि रिस उठ्यो।
“त्यसको छ वर्षपछि, एक जना मायालु र दयालु साथीलाई मैले आफ्नो भावना पोखाएँ। यहोवाले मलाई माया नै गर्नुहुन्न भनेर बताएँ। उहाँले घण्टौँसम्म मेरो कुरा ध्यान दिएर सुन्नुभयो। त्यसपछि बाइबलको १ युहन्ना ३:१९, २० मा लेखिएको कुरा बताउनुभयो। त्यसले मेरो मन छोयो। त्यहाँ यस्तो लेखिएको छ, ‘परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।’ यहोवाले हाम्रो दुःख बुझ्नुहुन्छ भनेर तिनले बुझाइन्।
“तैपनि मेरो रिस मरेन! मैले भजन ९४:१९ पढेँ, जहाँ यस्तो लेखिएको छ, ‘जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।’ यो पद मेरै लागि लेखिएको हो भनेर पहिलो पटक महसुस गरेँ! आफ्नो पीडा यहोवालाई पोखाउँदा बल्ल सान्त्वना पाएँ। साँच्चै, उहाँले मेरो कुरा सुन्नुहुन्छ र मेरो अवस्था बुझ्नुहुन्छ भनेर महसुस गरेँ।”
ईश्वर हाम्रो अवस्था बुझ्नुहुन्छ र समानुभूति देखाउनुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ! तर संसारमा किन यति धेरै दुःखकष्ट छ? के ईश्वरले हाम्रो गल्तीको सजाय दिइरहनुभएको हो? के उहाँले दुःखकष्ट हटाउन कदम चाल्नुहुनेछ? यी प्रश्नहरूको जवाफ हामी अर्को लेखमा पाउनेछौँ।