सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ?

हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ?

मानिसहरू मरून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थिएन। हाम्रो पहिलो आमाबुबा आदम र हव्वा त्रुटिरहित थिए। तिनीहरूको दिमाग र शरीरमा कुनै खोट थिएन, जसले गर्दा तिनीहरू आजसम्म पनि बाँच्न सक्थे। यहोवाले आदमलाई अदनको बगैँचाको एउटा रूखको फल नखानू भनेर आज्ञा दिनुभएको थियो।

परमेश्‍वरले आदमलाई यसो भन्‍नुभयो, “जुन दिन तिमीले त्यो [रूखको फल] खान्छौ, त्यही दिन तिमी मर्नेछौ।” (उत्पत्ति २:१७) यदि परमेश्‍वरले आदमलाई बूढो हुने अनि मर्ने गरी बनाउनुभएको भए तिनलाई त्यस्तो आज्ञा दिनुको के कुनै अर्थ हुन्थ्यो र? अनि आदमलाई त्यस रूखको फल खाएन भने मर्नु पर्दैन भनेर थाह थियो।

मानिसजाति मरून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थिएन

बाँच्नको लागि आदम र हव्वाले त्यही रूखको फल खानुपर्छ भन्‍ने त थिएन। त्यस बगैँचामा अरू थुप्रै फलफूलका रूख पनि थिए। (उत्पत्ति २:९) त्यो एउटा रूखको फल नखाएर तिनीहरूले आफ्नो सृष्टिकर्ताप्रति आज्ञाकारी भएको देखाउन सक्थे। साथै सही र गलतको स्तर तोक्ने अधिकार परमेश्‍वरसित मात्र छ भन्‍ने कुरा स्विकारेको देखाउन सक्थे।

आदम र हव्वा किन मरे

आदम र हव्वा किन मरे? यसको जवाफ थाह पाउन हामीले एउटा घटनाबारे थाह पाउनुपर्छ, जसले हामी सबैलाई असर गर्छ। सैतान अर्थात्‌ दियाबलले एउटा सर्पलाई चलाएर झूट बोल्यो। बाइबल यसो भन्छ: “यहोवा परमेश्‍वरले बनाउनुभएका सबै जङ्‌गली जनावरमध्ये सर्प सबैभन्दा चनाखो थियो। त्यसले स्त्रीलाई भन्यो: ‘के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्‍नुभएको हो?’”—उत्पत्ति ३:१.

हव्वाले सर्पलाई यसो भनिन्‌: “हामी बगैँचाका सबै रूखका फल खान सक्छौँ। तर बगैँचाको बीचमा भएको रूखबारे भने परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘त्यसको फल खाँदै नखानू, त्यसलाई छुँदा पनि नछुनू नत्र तिमीहरू मर्नेछौ।’” त्यसपछि सर्पले स्त्रीलाई भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ! किनकि परमेश्‍वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌। तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।” यसरी सैतानले यहोवा झूट बोल्नुहुन्छ अनि आदम र हव्वालाई असल कुरादेखि वञ्चित गराउँदै हुनुहुन्छ भन्दै थियो।—उत्पत्ति ३:२-५.

हव्वाले सैतानले भनेको सबै कुरा पत्याइन्‌। उनले त्यो रूखलाई हेरिरहिन्‌। त्यो रूख असाध्यै रहरलाग्दो थियो र उनलाई त्यसको फल खाऊँ-खाऊँ लाग्न थाल्यो। उनी त्यो रूखको नजिक गइन्‌ र त्यसको फल टिपेर खाइन्‌। बाइबल यसो भन्छ: “पछि जब उनका पति उनको साथमा थिए, तब उनले तिनलाई पनि त्यो फल दिइन्‌ र तिनले पनि खाए।”—उत्पत्ति ३:६.

परमेश्‍वरले आदमलाई यसो भन्‍नुभयो: “जुन दिन तिमीले त्यो खान्छौ, त्यही दिन तिमी मर्नेछौ।”—उत्पत्ति २:१७

आफ्ना मायालु छोराछोरीले जानाजानी त्यसरी आज्ञा उल्लङ्‌घन गर्दा परमेश्‍वरलाई कत्ति दुःख लाग्यो होला! उहाँले के गर्नुभयो? यहोवाले आदमलाई यसो भन्‍नुभयो: “तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ। तिमी माटै हौ र माटोमै मिल्नेछौ।” (उत्पत्ति ३:१७-१९) परिणामस्वरूप “आदम जम्मा ९३० वर्ष बाँचे; त्यसपछि तिनी मरे।” (उत्पत्ति ५:५) मरेपछि आदम स्वर्ग अथवा कुनै आत्मिक संसारमा गएनन्‌। यहोवाले आदमलाई माटोबाट सृष्टि गर्नुभन्दा अघि तिनको कुनै अस्तित्व थिएन। त्यसैले जब तिनी मरे, तब तिनी माटोजस्तै निर्जीव भए। यसरी तिनको अस्तित्व मेटियो। कस्तो दुःखलाग्दो कुरा!

हामी किन त्रुटिरहित छैनौँ

जानाजानी अनाज्ञाकारी भएकोले आदम र हव्वाले त्रुटिरहितजीवन अनि सधैँभरि बाँच्ने आशा गुमाए। तिनीहरू त्रुटिपूर्ण र पापी भए, जसले गर्दा तिनीहरू बूढाबूढी हुँदै गए। तर तिनीहरूको अनाज्ञाकारिताले तिनीहरूलाई मात्र असर गरेन। तिनीहरूको पाप तिनीहरूका सन्तानमा पनि सर्दै गयो। यसबारे रोमी ५:१२ यसो भन्छ, “एकै जना मानिसद्वारा [आदमद्वारा] पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।”

बाइबलले पाप र मृत्युलाई “सारा जातिका मानिसहरूलाई ढाकिराखेको कपडा र सबै देशमाथि परेको घुम्टो” भनेर बताउँछ। (यसैया २५:७) मानिसजातिलाई ढाकिराखेको त्यो कपडा जताततै फैलिएको विषालु हावाजस्तै हो, जसबाट कोही पनि उम्कन सक्दैन। साँच्चै, “आदमले गर्दा सबै मर्दै छन्‌।” (१ कोरिन्थी १५:२२) यसले गर्दा हाम्रो मनमा पनि प्रेषित पावलको जस्तै यस्तो प्रश्‍न उठ्‌छ: “मृत्युतर्फ धकेलिँदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला?” हामीलाई मृत्युबाट छुटाउन सक्ने कोही छ? —रोमी ७:२४.