गल्तीहरूप्रति उचित दृष्टिकोण राख्नुहोस्
ड्यान र मार्गारेट a घरमा विवाहित छोरी र तिनको परिवार भेटघाट गर्न आएकोमा निकै खुसी छन्। छोरीज्वाइँ र नातिहरूलाई बिदाइ गर्न मार्गारेटले आफ्नो दुई नातिलाई मन पर्ने परिकार, ‘म्याक्रोनी चिज’ b पकाउँछिन्। पहिला प्रोफेसनल कुक भएकीले मार्गारेट पकाउन निकै सिपालु थिइन्।
सबै जना खाना खान बसेपछि मार्गारेटले आफूले पकाएको विशेष परिकार टेबलको बीचमा राखिन् र ढकनी खोलिन्। तिनको अनुहारको रङ्ग नै परिवर्तन भयो। भाँडोमा उम्लिरहेको चिजको सस मात्र थियो। मार्गारेटले मुख्य खाना म्याक्रोनी नै राख्न बिर्सेछिन्!
हाम्रो उमेर वा अनुभव जस्तोसुकै होस् हामी सबैबाट गल्ती हुन्छ। कारण विभिन्न हुन सक्छन्। जस्तै: विचारै नपुऱ्याई बोलेकोले, कुनै काम गलत समयमा गर्दा, हेलचेक्य्राइँ वा बिर्सेकोले। गल्तीहरू किन हुन्छन्? गल्ती भइहाल्यो भने के गर्ने? के गल्तीहरू कम गर्न सकिन्छ? गल्तीहरूप्रति उचित दृष्टिकोण राख्न सिक्यौं भने यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाउन सक्छौं।
गल्तीहरूप्रति हाम्रो अनि परमेश्वरको दृष्टिकोण
राम्रो कामको लागि अरूले प्रशंसा वा सम्मान गर्दा हामी त्यो खुसीसाथ स्वीकार गर्छौ। आफू त्यसको योग्य छु जस्तो लाग्छ। त्यसोभए हामीले अनजानमा गल्ती गर्दा वा कसैले नदेखे पनि आफ्नो गल्ती स्विकार्नु पर्दैन र? त्यसो गर्न हामीमा नम्रता चाहिन्छ।
आफ्नो बारे मात्र धेरै सोच्यौं भने गल्ती लुकाउने, अरूलाई दोष दिने वा गल्ती नै गरेको छैन भनेर झूटो बोल्ने हदसम्म पुग्न सक्छौं। यसो गर्दा प्रायः खराब नतिजा भोग्नुपर्ने हुन्छ। समस्या सुल्झिनुको साटो बढ्दै जान सक्छ अनि कुनै निर्दोष व्यक्तिमाथि विना कारण दोष लाग्न सक्छ। हुन त हामी यस्तै केही गरेर समस्याबाट उम्कौंला तर “हामी सबैले परमेश्वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ” भनेर बिर्सनु हुँदैन।—रोमी १४:१२.
परमेश्वरले मानिसको गल्तीहरूलाई व्यावहारिक भई हेर्नुहुन्छ। भजनको किताबमा परमेश्वर “दयासागर र अनुग्रही” हुनुहुन्छ भनेर बताइएको छ। साथै उहाँ “सधैं हप्काइरहनुहुन्न, नता उहाँले सधैंभरि रिस लिइराख्नुहुन्छ।” मानिसहरू त्रुटिपूर्ण छन् भनेर उहाँलाई थाह छ, मानिस “माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।”—भजन १०३:८, ९, १४.
दयालु बुबाले जस्तै परमेश्वर हामीले पनि गल्तीहरूलाई उहाँले जस्तै हेरेको चाहनुहुन्छ। (भजन १३०:३) आफूले अनि अरूले गल्ती गर्दा सही कदम चाल्न परमेश्वरको वचन बाइबलले व्यावहारिक र उपयोगी सल्लाह दिन्छ।
गल्ती भइहाल्यो भने के गर्ने
प्रायजसो गल्ती गर्दा मानिसहरू अरूमाथि नै दोष थोपर्छन् वा बहाना बनाएर जोगिन खोज्छन्। त्यसो गर्न उनीहरू आफूले सके जति गर्छन्। त्यसो गर्नुको साटो यदि तपाईंले कसैको चित्त दुखाउनु भयो भने माफी माग्नुहोस्, गल्ती सुधार्नुहोस् अनि मित्रता जोगाउनुहोस्। के तपाईंले कहिल्यै गल्ती गरेर आफैलाई वा अरूलाई चोट पुऱ्याउनु भएको अथवा अप्ठ्यारोमा पार्नुभएको छ? त्यस्तो अवस्थामा आफैसँग रिसाउनु वा
अरूलाई नै दोष लगाउनुको साटो गल्ती सच्याउन सक्दो कोसिस गरे कसो होला? गल्ती नस्विकार्नु भनेको आफैले खाल्टो खनेर समस्यालाई बढाउनु जस्तै हो। बरु गल्तीबाट पाठ सिक्नुहोस्, गल्ती नदोहोऱ्याउन होसियार हुनुहोस् र आवश्यक कदम चाल्दै अघि बढ्नुहोस्।अरूले गल्ती गर्दा हामीलाई सजिलै रिस उठ्न सक्छ। यस्तो बेला येशूको सल्लाह पालन गर्नु साँच्चै बुद्धिमानी हुन्छ। उहाँले यस्तो सल्लाह दिनुभयो: “त्यसकारण, मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू, किनकि यही नै व्यवस्था र भविष्यवक्ताहरूको शिक्षाको सार हो।” (मत्ती ७:१२) तपाईंबाट गल्ती हुँदा अरूले तपाईंलाई दया देखाएको र पूर्णतया क्षमा दिएको चाहनुहुन्छ होला। त्यसोभए अरूले गल्ती गर्दा तपाईंले पनि त्यस्तै दया देखाउने कोसिस गर्नु पर्दैन र?—एफिसी ४:३२.
गल्ती कम गर्न मदत गर्ने सिद्धान्तहरू
गल्तीहरू हाम्रो “गलत निर्णय, अज्ञानता वा लापरवाही”-को नतिजा हो भनेर एउटा शब्दकोशले बताउँछ। हामी पनि यस्तै एउटा वा दुइटा कमजोरीले गर्दा गल्ती गर्न पुग्छौं। हामीले बाइबलका केही आधारभूत सिद्धान्तहरूमा ध्यान दियौं भने गल्तीहरू कम गर्न सक्छौं।
एउटा यस्तै सिद्धान्त हितोपदेश १८:१३ मा पाउँछौं, जसले भन्छ: “राम्ररी सुन्नुअघि नै प्रश्नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।” अरूको कुरा ध्यान दिएर सुन्यौं र होसियारी भई कदम चाल्यौं भने हामी अरूको चित्त दुखाउने कुरा वा काम गर्नदेखि जोगिन सक्छौं। अरूको कुरा ध्यान दिएर सुन्दा परिस्थिति राम्रोसँग बुझ्न मदत पाउँछौं। यसले गर्दा हामी सही निर्णय गर्न सक्छौं र गल्तीहरू गर्नदेखि जोगिन्छौं।
बाइबलको अर्को सिद्धान्तले यसो भन्छ: “सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर।” (रोमी १२:१८) हामीले पनि शान्ति र एकता बढाउन सक्दो कोसिस गर्नुपर्छ। अरूसँगै काम गर्दै हुनुहुन्छ भने आदरपूर्ण र विचारशील भई व्यवहार गर्नुहोस्। उनीहरूको कामको प्रशंसा गर्न र प्रोत्साहन दिन नबिर्सनुहोस्। यसो गर्दा एक-अर्काको गल्ती क्षमा दिन सजिलो हुन्छ, कहिलेकाहीं गम्भीर गल्ती गर्दा पनि समस्या सजिलै समाधान हुन सक्छ।
गल्तीहरूबाट पाठ सिक्ने कोसिस गर्नुहोस्। बहानाहरू बनाउनुको साटो त्यो अवस्थालाई राम्रो गुणहरू विकास गर्ने अवसरको रूपमा लिनुहोस्। तपाईंले धैर्यता, दया वा आत्मसंयम जस्ता गुणहरू विकास गर्न बाँकी छ कि? नम्रता, शान्ति र प्रेम जस्ता गुणहरू नि? (गलाती ५:२२, २३) त्यही गल्ती बारम्बार नदोहोऱ्याउन सचेत हुनुहोस्। गल्तीहरूलाई ज्यादै गम्भीरतापूर्वक पनि नलिनुहोस्, नत्र यसले हामीलाई भावनात्मक रूपमा असर गर्न सक्छ। बरु त्यही परिस्थितिलाई रमाइलो बनायौं भने चिन्ता वा तनाव कम हुन्छ।
उचित दृष्टिकोण राख्दा हुने फाइदा
गल्तीहरूप्रति उचित दृष्टिकोण राख्दा सही तरिकामा परिस्थितिलाई सम्हाल्न सक्छौं र अरूसँग शान्तिमा रहन सक्छौं। आफ्नो गल्तीहरूबाट पाठ सिक्ने प्रयास गऱ्यौं भने हामी अझ बुद्धिमान् र अरूको प्यारो व्यक्ति बन्न सक्छौं। गल्ती गर्दा हामी असाध्यै निराश नहुन वा बेकामको महसुस नगर्न पनि मदत पाउँछौं। अरूले पनि आफ्नो गल्तीहरू सुधार्ने प्रयास गर्दै छन् भन्ने कुरा याद गऱ्यौं भने उनीहरूसँग नजिक हुन सक्छौं। त्यसकारण हामीले परमेश्वरको अनुकरण गर्दै अरूलाई प्रेम गर्नुपर्छ र खुल्ला मनले क्षमा दिनुपर्छ। यसो गर्नु साँच्चै महत्त्वपूर्ण छ! यसो गर्दा हामीले प्रशस्त लाभ उठाउन सक्नेछौं।—कलस्सी ३:१३.
सुरुमा उल्लेख गरिएजस्तै, के मार्गारेटको गल्तीले गर्दा त्यो पारिवारिक भेटघाट खल्लो भयो? पटक्कै भएन। मार्गारेटसँगै सबै जना पेट मिचिमिचि हाँसे र त्यो परिकार म्याक्रोनी विना नै खाए! वर्षौंपछि मार्गारेटका नातिहरूले त्यो अविस्मरणीय पारिवारिक भेटघाटबारे आफ्ना छोराहरूलाई बताए र आफ्नो हजुरबुबा अनि हजुरआमासँग बिताएको त्यो क्षण फेरि सम्झिए। हुन पनि मार्गारेटबाट एउटा सानो गल्ती नै त भएको थियो!