सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबुबाहरू आफ्नो उदाहरणबाट छोराछोरीलाई प्रेम गर्न सिकाउँछन्‌

चुनौती सामना गर्ने एउटा तरिका

नैतिक शिक्षा

नैतिक शिक्षा

शैक्षिक भ्रमणमा जाँदा एक जना केटालाई तिनको स्कुलका अरू केटाहरूले यौन दुर्व्यवहार गरे। तिनीहरू क्यानाडाको नाम चलेको स्कुलका विद्यार्थीहरू थिए। त्यस घटनाबारे ओटावा सिटिजन अखबारमा यस्तो टिप्पणी गरिएको थियो: “राम्रो शिक्षा पाउँदैमा, पढाइलेखाइ राम्रो हुँदैमा र धनी हुँदैमा जवानहरूले खराब काम गर्दै गर्दैनन्‌ भन्‍ने होइन।”

त्यस अखबारमा अझै यस्तो लेखिएको थियो: “छोराछोरीलाई सही र गलत के हो भनेर सिकाउनु आमाबुबाको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हो। तर अहिले आमाबुबाहरू छोराछोरी पढाइमा अब्बल भएको अनि राम्रो जागिर खाएर टन्‍न पैसा कमाएको मात्र चाहन्छन्‌।”

हुनत स्कुलको पढाइ महत्त्वपूर्ण छ। तर मानिसमा भएको खराब इच्छा र चाहना हटाउन स्कुलको शिक्षा मात्र पर्याप्त छैन। त्यसोभए कस्तो शिक्षाले हामीलाई सही र गलत छुट्याउन मदत गर्छ?

नैतिक तथा आध्यात्मिक डोऱ्‍याइ दिने शिक्षा

बाइबल ऐना जस्तै हो। बाइबल पढेपछि हामीले आफ्नो सीमितता र कमजोरी छर्लङ्‌गै देख्न सक्छौँ। (याकुब १:२३-२५) साथै बाइबलले हामीलाई आवश्‍यक परिवर्तन गर्न, शान्ति र एकता कायम राख्न चाहिने गुणहरू विकास गर्न मदत दिन्छ। ती गुणहरू हुन्‌: भलाइ, दया, धीरज, आत्मसंयम र प्रेम। प्रेम “मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।” (कलस्सी ३:१४) प्रेम किन नभई नहुने गुण हो? प्रेमबारे बाइबल यसो भन्छ:

  • “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन। यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन, यसले अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, यो आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन। यो कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ। यसले सबै कुरा खप्छ, . . . सबै कुरा सहन्छ। प्रेम कहिल्यै अन्त हुँदैन।”—१ कोरिन्थी १३:४-८.

  • “प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन।”—रोमी १३:१०.

  • “सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर किनकि प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।”—१ पत्रुस ४:८.

आफूले माया गरेको व्यक्‍तिसित हुँदा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? पक्कै पनि सुरक्षित अनि ढुक्क महसुस गर्नुहुन्छ नि होइन र? किनकि तिनीहरू सधैँ तपाईँको हित चाहन्छन्‌ र कहिल्यै जानाजानी चोट पुऱ्‍याउँदैनन्‌।

प्रेमले मानिसहरूलाई अरूको फाइदाको लागि त्याग गर्न र आफ्नो जीवनशैली समेत परिवर्तन गर्न उत्प्रेरित गर्छ। उदाहरणको लागि भर्खरै हजुरबुबा बनेको जर्जलाई विचार गरौँ। तिनी आफ्नो नातिसित समय बिताउन चाहन्थे। तर तिनको धूम्रपान गर्ने नराम्रो बानी थियो। तिनको ज्वाइँलाई तिनले बच्चाको अगाडि चुरोट खाएको मन पर्दैनथ्यो। जर्जले के गरे? नातिको खातिर तिनले चुरोट खान छाडे। चुरोट खाने बानी परेको ५० वर्ष भइसके तापनि तिनले त्यो बानी त्याग्न सके। साँच्चै, प्रेममा कत्ति शक्‍ति छ!

बाइबलले हामीलाई भलाइ, दया र विशेषगरि प्रेम विकास गर्न मदत गर्छ।

हामीले प्रेम देखाउन सिक्नुपर्छ। छोराछोरीलाई प्रेम गर्न सिकाउने सन्दर्भमा आमाबुबाको महत्त्वपूर्ण भूमिका हुन्छ। तिनीहरूले छोराछोरीको पालनपोषण गर्छन्‌ अनि चोटपटक लाग्दा वा बिरामी हुँदा स्याहार-सुसार गर्छन्‌। असल आमाबुबाहरू छोराछोरीसित कुरा गर्न र तिनीहरूलाई सिकाउन समय निकाल्छन्‌। साथै आमाबुबाले छोराछोरीलाई अनुशासन पनि दिन्छन्‌। अनुशासन दिँदा आमाबुबाले सही काम किन गर्नुपर्छ र गलत काम किन गर्नु हुँदैन भनेर स्पष्टसित बुझाउँछन्‌। असल आमाबुबाले छोराछोरीको लागि राम्रो उदाहरण बसाल्छन्‌।

दुःखको कुरा, थुप्रै आमाबुबाहरू आफ्नो जिम्मेवारी पूरा गर्नदेखि चुकेका छन्‌। त्यसोभए के तिनीहरूका छोराछोरी कहिल्यै राम्रो मान्छे बन्‍न सक्दैनन्‌ त? त्यसो त पक्कै होइन। आमाबुबाबाट माया अनि हेरचाह नपाएर बिग्रेका थुप्रै व्यक्‍तिहरू पनि पछि गएर सुध्रेका छन्‌। तिनीहरू अरूको ख्याल राख्ने र भरोसायोग्य व्यक्‍ति बन्‍न सकेका छन्‌। मानिसहरूको नजरमा सुध्रिन असम्भव जस्तो देखिने व्यक्‍तिहरूको उदाहरण यस पछिको लेखमा चर्चा गरिनेछ।