दम्पतीका लागि
४: माफी दिनुहोस्
यसको अर्थ के हो?
माफी दिनु भनेको आफ्नो मनबाट द्वेष र बदलाको भाव हटाउनु हो। माफी दिनु भन्नाले अरूको गल्तीमा आँखा चिम्लिनु वा गल्ती नै नभएको जस्तो भान पार्नुचाहिँ होइन।
बाइबलको सिद्धान्त: “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.
“तपाईँ कसैलाई माया गर्नुहुन्छ भने उसको कमीकमजोरीलाई कोट्ट्याइरहनुहुन्न। बरु ऊ कस्तो व्यक्ति बन्ने प्रयास गर्दै छ, त्यसमा ध्यान दिनुहुन्छ।”—आरोन
यस विषयमा किन चासो राख्नुपर्छ?
मनमा द्वेष भाव राख्दा तपाईँलाई शारीरिक र भावनात्मक रूपमा हानि पुग्छ। यसले तपाईँको वैवाहिक जीवनमा समस्या पनि ल्याउन सक्छ।
“एक चोटि श्रीमान्ले मेरो साह्रै चित्त दुखाउनुभएको थियो। उहाँले माफी पनि माग्नुभयो। तर मलाई माफी दिन असाध्यै गाह्रो लाग्यो। पछि माफी त दिएँ तर पहिल्यै दिनुपर्ने रहेछ भनेर पछुतो लाग्यो। बेकारमा तनाव मात्र भयो।”—जुलिया
तपाईँ के गर्न सक्नुहुन्छ?
आफैलाई सोध्नुहोस्
जीवनसाथीको कुनै कुराले चित्त दुख्दा आफैलाई यी प्रश्नहरू सोध्नुहोस्:
-
‘के म झिनामसिना कुरामा चित्त दुखाइहाल्छु?’
-
‘गल्ती कस्तो खालको हो? मसित माफी नै माग्नुपर्ने खालको हो कि बेवास्ता गरे पनि हुने हो?’
सँगै छलफल गर्नुहोस्
-
एकअर्कालाई माफी दिन प्रायः कति समय लाग्छ?
-
एकअर्कालाई तुरुन्तै माफी दिन दुवैले के गर्न सक्छौँ?
सुझाव
-
चित्त दुख्दा जीवनसाथीप्रति बदला वा घृणाको भाव नराख्नुहोस्।
-
“हामी सबै जना धेरै चोटि चुक्छौँ” भन्ने कुरा सम्झेर आफ्नो जीवनसाथीलाई माफी दिनुहोस्।—याकूब ३:२.
“हामी दुवैले गल्ती गरेका छौँ भने माफी दिन सजिलो हुन्छ। तर आफ्नो जीवनसाथीले मात्र गल्ती गरेका छन् भने चाहिँ गाह्रो हुन्छ। माफी माग्न र दिन साँचो नम्रता चाहिन्छ।”—किम्बर्ली
बाइबलको सिद्धान्त: “तुरुन्तै सम्झौता गरिहाल।”—मत्ती ५:२५.
मनमा द्वेष भाव राख्दा तपाईँलाई शारीरिक र भावनात्मक रूपमा हानि पुग्छ। यसले तपाईँको वैवाहिक जीवनमा समस्या पनि ल्याउन सक्छ