आवरण लेख | के संसारको अवस्था कहिल्यै सुध्रिएला?
के संसारको अवस्था कहिल्यै सुध्रिएला वा सुध्रिंदैन?
सन् २०१७ एउटा सनसनीपूर्ण घोषणासँगै सुरु भयो। जनवरीमा वैज्ञानिकहरूको एउटा समूहले संसार अहिलेसम्म कहिल्यै नभएको महाप्रलय वा विनाशको सँघारमै पुगेको कुरा बताए। मानव सभ्यता महाविनाशको कति नजिक छ भनेर सङ्केत गर्ने घडीलाई (यसलाई डुम्स डे क्लक भनिन्छ) वैज्ञानिकहरूले ३० सेकेन्ड अघि सारे। यो विनाशसूचक घडीमा महाविनाशलाई सङ्केत गर्ने समय अर्थात् मध्यरात हुन अब केवल २ मिनेट ३० सेकेन्ड मात्र बाँकी छ। साठी वर्षको दौडान यो घडीले संसार विनाशको यत्ति नजिक पुगेको सङ्केत पहिला कहिल्यै गरेको थिएन!
सन् २०१८ मा वैज्ञानिकहरूले संसार विनाशको कति नजिक पुगेको छ भन्ने कुरालाई पुनर्विचार गर्ने योजना बनाएका छन्। के विनाशसूचक घडीले संसार महाविनाशको झनै नजिक पुगेको सङ्केत गर्ला? तपाईंलाई कस्तो लाग्छ? के संसारको अवस्था कहिल्यै सुध्रिएला? यी प्रश्नहरूको जवाफ दिन त्यत्ति सहज नहोला। वास्तवमा भन्नुपर्दा यस विषयमा विज्ञहरूको धारणा एकआपसमा बाझिन्छ। कोही-कोहीले पृथ्वीको महाविनाश हुने कुरामा त विश्वासै गर्दैनन्।
खासमा लाखौं मानिस हाम्रो भविष्य उज्ज्वल हुनेछ भन्ने कुरामा विश्वास गर्छन्। तिनीहरू मानव सभ्यता र पृथ्वीको अन्त कहिल्यै हुँदैन भनेर दाबी गर्छन् अनि हाम्रो जीवनस्तर पनि सुध्रिनेछ भनी आशा गर्छन्। के यो कुरा साँच्चै भरपर्दो छ? के संसारको अवस्था कहिल्यै सुध्रिएला?