‘धेरै धन-सम्पत्तिभन्दा असल नाउँ उत्तम हो’
असल नाउँ वा इज्जत हामी सबैलाई प्यारो लाग्छ। त्यसैले कुनै-कुनै मुलुकमा मानिसको इज्जत वा प्रतिष्ठामा कुनै आँच नआओस् भनेर कानुन बनाइएका छन्। यसमा कसैको मान हानि (कुनै व्यक्तिको बदनाम गर्ने उद्देश्यले लेख छाप्नु वा टिभी, रेडियो र इन्टरनेट मार्फत प्रसारण गर्नु) र निन्दा (कुनै व्यक्तिबारे भए नभएको कुरा फैलाउँदै हिंड्नु) हुन नदिनु समावेश छ। एउटा पुरानो भनाइ यस्तो छ: “धेरै धन-सम्पत्तिभन्दा असल नाउँको इच्छा गर्नु धेरै उत्तम हो, सुन अथवा चाँदीभन्दा मान-इज्जत अझ असल हो।” (हितोपदेश २२:१) हामी कसरी असल नाम र आदर कमाउन सक्छौं? यस सन्दर्भमा बाइबलमा थुप्रै राम्रा सल्लाह पाइन्छन्।
उदाहरणको लागि, बाइबलको भजन अध्याय १५ मा के बताइएको छ, विचार गरौं। “[परमेश्वरको] पवित्रस्थानमा कसले बास गर्न पाउनेछ?” भन्ने प्रश्नको जवाफमा भजनहारले यस्तो लेखे: ‘त्यो मानिस, जसको चाल निर्दोष छ, जसले हृदयबाट सत्य बोल्छ, निन्दा गर्दैन, आफ्नो छिमेकीको बिगार गर्दैन र आफ्नो साथीभाइको अपवाद फैलाउँदैन। जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बदल्दैन, जसले घूस लिंदैन।’ (भजन १५:१-५, NRV) के तपाईं यी सिद्धान्तअनुसारै जीवन बिताउने व्यक्तिको आदर गर्नुहुन्न र?
त्यस्तैगरि, अरूको आदर कमाउन हामीमा नभई नहुने अर्को गुण नम्रता हो। हितोपदेश १५:३३ यसो भन्छ, “आदरको मार्ग नम्रता हो।” नम्र व्यक्तिहरू आफूमा कस्ता कमीकमजोरी छन् होसियार भई जाँच्छन् र त्यो सुधार्न कदम चाल्छन्। तिनीहरू कसैको चित्त दुखाउँदा माफी माग्न हिचकिचाउँदैनन्। (याकूब ३:२) घमन्डीहरू चाहिं त्यस्तो हुँदैनन्, तिनीहरू सानो कुरामा पनि झनक्क रिसाइहाल्छन्। हितोपदेश १६:१८ यसो भन्छ, “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”
यदि कसैले तपाईंको बारेमा भए नभएको कुरा फैलाउँदै हिंड्यो भने के गर्नुहुन्छ? तपाईं रिसको झोंकमा सोच्दै-नसोची केही गर्नुहुन्छ कि? आफैलाई यस्तो प्रश्न सोध्नुहोस्, ‘आफूलाई निर्दोष साबित गर्ने धुनमा के म त्यो झूटलाई अझै फैलाइरहेको पो हुन्छु कि?’ कहिलेकाहीं कानुनी सहायता लिनुपर्ने हुन सक्छ तर बाइबलमा यस्तो राम्रो सल्लाह दिइएको छ: “तैंले देखेको कुरा बताउन तँ अदालतमा झट्टै नजा।” बरु, “तेरो छिमेकीसितको झगडा तँ आफै छलफल गर्।” (हितोपदेश २५:८, ९) * यसरी सोचविचार गरेर शान्तपूर्वक अवस्थालाई सुल्झाउनुभयो भने तपाईंले अनावश्यक कानुनी झमेला बेहोर्नुपर्ने छैन।
बाइबल केवल धर्मको किताब मात्र होइन। बरु, हाम्रो जीवनमा चाहिने भरपर्दो सल्लाहहरू भएको किताब हो। असल नाम र आदर पाउन चाहिने गुणहरू खेती गर्न हामी सबैले यसमा दिइएका सल्लाहहरू लागू गर्नुपर्छ।
^ अनु. 5 विवाद सुल्झाउने विषयमा बाइबलका थप सिद्धान्तहरू मत्ती ५:२३, २४; १८:१५-१७ मा दिइएका छन्।