आवरण लेख
सन्तुलित जीवन तर कसरी?
आफूसँग सास फेर्ने फुर्सद पनि छैन जस्तो तपाईंलाई लाग्छ कि? थुप्रैलाई त्यस्तै लाग्छ। एउटा पत्रिकाअनुसार *, “सबै ठाउँमा सबै जना व्यस्त छन्।”
सन् २०१५ मा आठ वटा देशमा गरिएको सर्वेक्षणअनुसार पूर्ण समय काम गर्नेहरूमध्ये धेरैले जागिर र घर-परिवारलाई सन्तुलनमा राख्न नसकेको बताए। त्यसो हुनुको कारण काम गर्ने ठाउँ वा घरमा जिम्मेवारी थपिएकोले, महँगी बढेकोले र काममा धेरै समय खट्नुपर्ने भएकोले हो। उदाहरणको लागि, नेपालमा पूर्ण समय काम गर्नेहरूले हप्तामा लगभग ४८ घण्टा काम गर्छन्। तर कतिपयले भने ७० घण्टा वा सो भन्दा बढी काम गर्छन्।
छत्तीस वटा देशका मानिसहरूसँग गरिएको अर्को सर्वेक्षणमा, एक चौथाइभन्दा बढीले बिदाको समयमा समेत आफू व्यस्त भएको कुरा बताए! केटाकेटीहरूले पनि थोरै समयमा विभिन्न काम गर्नुपर्दा तिनीहरूलाई नकारात्मक असर पर्न सक्छ।
समयले भ्याउने भन्दा धेरै गर्न खोज्यौं भने तनावको सिकार हुन सक्छौं। त्यसोभए सन्तुलित जीवन बिताउन के साँच्चै सम्भव छ त? हाम्रो मूल्यमान्यता, छनौट र लक्ष्यले कस्तो फरक पार्छ? सबैभन्दा पहिला, मानिसहरूलाई सन्तुलित जीवन बिताउन गाह्रो हुनुको चार वटा कारण विचार गरौं।
१ परिवारको लालनपालनमा कुनै कमी नआओस् भन्ने चाहना
ग्यारी यस्तो बताउँछन्, “हप्ताको सातै दिन काम गर्थें। छोराछोरीलाई अझ राम्रो कुराहरू दिन चाहन्थें। मैले पाउन नसकेको कुराहरू मेरा छोराछोरीले चाहिं पाऊन् भन्ने चाहन्थें। त्यसैले दिनरात काममा घोटिएँ।” आमाबुबाले छोराछोरीको खातिर यसो गर्छन् होला तर कुन कुरालाई प्राथमिकता दिनुपर्छ भनेर चाहिं उनीहरूले विचार पुऱ्याउनुपर्छ। केही अध्ययनले देखाएअनुसार पैसा र भौतिक चिजबिजलाई बढ्तै महत्त्व दिने मानिसहरू निराश र असन्तुष्ट हुने सम्भावना बढी हुन्छ। साथै भौतिकवादी सोचाइ नराख्ने मानिसहरूको तुलनामा उनीहरूको स्वास्थ्य कमजोर हुन्छ।
छोराछोरीको भविष्य उज्ज्वल होस् भनेर कुनै-कुनै आमाबुबाले आफू र छोराछोरीको लागि निकै व्यस्त तालिका बनाउँछन्। परिवारको भलो होस् भनेर नै उनीहरूले यसो गरेका हुन्। तर एउटा किताबले * बताएअनुसार यस्तो व्यस्त तालिकाले गर्दा आमाबुबा र छोराछोरी दुवैलाई हानि पुग्छ।
२ ‘जत्ति धेरै त्यत्ति राम्रो’ भन्ने सोचाइ
विज्ञापनहरू हेर्दा बजारमा आएका नयाँ-नयाँ सामानहरू किनेनौं भने आफू केही कुराबाट वञ्चित भइरहेको जस्तो लाग्न सक्छ। एउटा पत्रिका * यसो भन्छ, “बजारमा आएका सामानहरूको छेलोखेलोले मानिसहरूको समय झनै खाइदिएको छ।” आफूसँग भएको थोरै समयमा हामीले “के किन्ने, के हेर्ने अनि के खाने” भनेर छान्नुपर्छ।
सन् १९३० का एक प्रख्यात अर्थविद्ले प्रविधिमा भएको प्रगतिले गर्दा काम छिटो-छिटो गर्न सकिन्छ र समयको बचत हुन्छ भनेर पूर्वानुमान गरेका थिए। तर आज त्यसको ठीक उल्टो भइरहेको छ! एउटा पत्रिकाको * लेखिका एलिजाबेथ कोल्बर्टले यस्तो लेखिन्, ‘चाँडै कामबाट घर फर्किनुको साटो मानिसहरू बजारमा आएका नयाँ-नयाँ सामान किन्न अझै काममा घोटिन्छन्।’
३ अरूलाई रिझाउन खोज्नु
कोही-कोही आफ्नो हाकिमलाई खुसी बनाउनको लागि घण्टौंसम्म काम गर्न पनि तयार हुन्छन्। सहकर्मीहरूले पनि अबेरसम्म काम गर्न दबाब दिन सक्छन्। अनि आर्थिक अस्थिरताको कारणले मानिसहरू अझ लामो समयसम्म काम गर्न वा जुनसुकै समयमा पनि काम गर्न तयार हुन्छन्।
त्यसैगरि आमाबुबाहरू आफ्नो परिवारले पनि अरूले जस्तै सुख-सुविधा पाओस् भन्ने चाहन्छन्। ती आमाबुबाहरूले
छोराछोरीको सबै आवश्यकता पूरा गर्न नसक्दा तिनीहरू “दोषी” महसुस गर्छन्।४ मान सम्मान र आत्म-सन्तुष्टि पाउने चाहना
संयुक्त राज्य अमेरिकामा बस्ने टिमले यसो भने: “मलाई मेरो काम असाध्यै मन पर्थ्यो। सधैं दिलोज्यान लगाएर काम गर्थें। म केही गरेर देखाउन चाहन्थें।”
टिमलाई जस्तै आज थुप्रै मानिसलाई आफू जति व्यस्त भयो त्यत्ति नै सफल भएको महसुस हुन्छ। यसले कस्तो नतिजा निम्त्याएको छ? माथि चर्चा गरिएको एलिजाबेथ कोल्बर्ट यसो भन्छिन्: “आजको समाजमा व्यस्त जीवन बिताउने व्यक्तिलाई नै सफल ठानिन्छ। तपाईं जति व्यस्त हुनुभयो अरूले तपाईंलाई त्यत्ति नै आदर गर्नेछन्।”
सन्तुलित हुन सिक्नुहोस्
बाइबलले हामीलाई कडा परिश्रम गर्न र लगनशील हुन प्रोत्साहन दिएको छ। (हितोपदेश १३:४) तर हामी सन्तुलित हुनु पनि आवश्यक छ। किनभने बाइबल यसो भन्छ: ‘दुई मुठी व्यर्थको परिश्रम भन्दा एक मुठी मनको शान्ति असल हो।’—उपदेशक ४:६.
सन्तुलित भएर जीवन बितायौं भने यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई राम्रो प्रभाव पार्छ। तर काममा ज्यादै समय नदिन वा अति व्यस्त नहुन के साँच्चै सम्भव छ? छ, यी चार तरिका विचार गर्नुहोस्:
१ आफ्नो मूल्य-मान्यता र लक्ष्य केलाउनुहोस्
आफू र आफ्नो परिवारको लागि केही पैसा कमाउने सोच राख्नु राम्रो हो। तर ज्यादै गर्न देखि चाहिं हामी होसियार हुनुपर्छ। धेरै तलब वा धनसम्पत्ति हुँदैमा मानिस सफल हुन्छ भन्ने छैन। अर्कोतर्फ धेरै आराम गर्नु वा मनोरञ्जनमा धेरै समय बिताउनु पनि राम्रो होइन। किनभने यसो गर्दा तपाईंले गर्नुपर्ने काम थुप्रिएर बस्छ अनि पछि तपाईंलाई भ्याइ-नभ्याइ हुन्छ।
अघि चर्चा गरिएको टिम भन्छन्: “म र मेरी श्रीमतीले आफ्नो जीवनशैलीलाई राम्रोसँग केलाएर हेऱ्यौं अनि जीवन सरल बनाउने निर्णय गऱ्यौं। हाम्रो अहिलेको जीवनशैली र त्यसमा सुधार ल्याउनुपर्ने पक्षहरू समावेश गरेर एउटा चार्ट बनायौं। हामीले गरेका निर्णयहरूले ल्याउने नतिजाबारे कुरा गऱ्यौं र आफ्नो लक्ष्यसम्म पुग्न के गर्नुपर्छ भनेर पनि विचार गऱ्यौं।”
२ विज्ञापनजगत्को बहकाउमा नपर्नुहोस्
बाइबलले हामीलाई “आँखाको अभिलाषा”-को वशमा नपर्न सल्लाह दिएको छ। (१ यूहन्ना २:१५-१७) विज्ञापनहरूले त्यस्तो अभिलाषालाई बढावा दिन्छ। मानिसहरू मनोरञ्जनको लागि थुप्रै पैसा खर्च गर्न पनि तयार हुन्छन्। त्यसको लागि धेरै समय काममा बिताउनुपर्ने हुन्छ। हो, हामी विज्ञापन आउने बित्तिकै आँखा चिम्लिन त सक्दैनौं होला तर त्यो सकेसम्म कम हेर्ने बानी बसाल्नु राम्रो हुन्छ। अनि कुनै सामान किन्न मन लाग्दा त्यो तपाईंलाई साँच्चै चाहिएको हो कि होइन पक्का गरेर मात्रै किन्नुहोस्।
नबिर्सनुहोस्, साथी सङ्गतले पनि तपाईंलाई असर गर्न सक्छ। भौतिक चिजबिजलाई ज्यादै महत्त्व दिने मानिसहरूलाई साथी नबनाउनुहोस्। बरु, असल कुराहरूलाई प्राथमिकता दिने साथीहरू बनाउनुहोस्। बाइबल भन्छ: “बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमान् होइन्छ।”—हितोपदेश १३:२०.
३ काममा बढ्तै समय नबिताउनुहोस्
आफ्नो प्राथमिकताबारे हाकिमलाई राम्रोसँग बताउनुहोस्। अनि घर-परिवारसँग समय बिताउँदा समय बर्बाद भयो * यसो भन्छ: “तपाईं काममा नजाँदा कुनै प्रलय नै आउँछ भन्ने छैन।” त्यसैले घर-परिवार र जागिरबीच सन्तुलन कायम राख्नुहोस्।
भनेर नसोच्नुहोस्। एउटा किताबअघि चर्चा गरिएका ग्यारीको आर्थिक अवस्था राम्रो भएकोले उनले जागिरमा छाँटकाँट गर्ने निर्णय गरे। उनी भन्छन्: “मैले आफ्नो परिवारसँग कुरा गरें अनि परिवारै मिलेर जीवनशैली अझ सरल बनाउने निर्णय गऱ्यौं। त्यसपछि निर्णय गरेअनुसार गर्न विभिन्न कदमहरू पनि चाल्यौं। मैले हप्तामा केही दिन मात्र काम गर्न सक्छु कि भनेर हाकिमलाई सोधें। उहाँ राजी हुनुभयो।”
४ परिवारसँग प्रशस्त समय बिताउनुहोस्
पति र पत्नीले एक-अर्कासँग अनि छोराछोरीले आफ्ना आमाबुबासँग समय बिताउनु आवश्यक छ। अरू मानिसहरू व्यस्त भए भन्दैमा आफूले पनि त्यस्तै जीवनशैली बिताउनुपर्छ भन्ने छैन। ग्यारी भन्छन्: “ज्यादै व्यस्त नहुनुहोस्। आराम गर्न र मनोरञ्जन गर्न समय निकाल्नुहोस्। कम महत्त्वपूर्ण कामहरूलाई पाखा लगाउनुहोस्।”
स-परिवार सँगै हुँदाखेरि टि.भी, मोबाइल वा अन्य उपकरणहरू चलाएर छुट्टै नबस्नुहोस्। कम्तीमा दिनको एक पटक सँगै खाना खानुहोस् अनि यो समयलाई परिवारसँग कुराकानी गर्ने मौकाको रूपमा लिनुहोस्। आमाबुबाले यसो गर्दा छोराछोरी खुसी हुन सक्छन् र पढाइमा पनि राम्रो गर्न सक्छन्।
अन्तमा आफैलाई सोध्नुहोस्: ‘म मेरो जीवन कस्तो भएको चाहन्छु? मेरो परिवारलाई कसरी आनन्दित बनाउन सक्छु?’ यदि तपाईं अझ आनन्दित र अर्थपूर्ण जीवन बिताउन चाहनुहुन्छ भने आफ्ना प्राथमिकताहरू तय गर्नुहोस् र बाइबलका राम्रा सल्लाहहरू पालन गर्नुहोस्।