सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अपराधको दुनियाँबाट आशाको संसारमा

अपराधको दुनियाँबाट आशाको संसारमा

अपराधको दुनियाँबाट आशाको संसारमा

कोस्टा कुलापेसको वृत्तान्तमा आधारित

जेलको फोहर कोठरीका भित्ताहरूमा टोलिंदै, अहिले फसिरहेको अपराधको दुनियाँबाट निस्केर नयाँ जीवन सुरु गर्न ठूलो धनराशि आफ्नो हात पार्ने संकल्प गरें।

निराश र दुःखित हुँदै मैले पोहोर साल मरेका मेरा ११ जना साथीहरू सम्झें। एक जनालाई हत्याको अभियोगमा झुन्ड्याएर मारिएको थियो, एक जनाले हत्याको मुद्दा निर्णय हुनुअघि नै आत्महत्या गरे, तीन जना लागू पदार्थको मात्रा बढी भएर मरे, दुई जना सडकमा भएको झगडामा मर्ने गरी नै कुटाइ खाएर मरे अनि चार जना सवारी दुर्घटनामा मरे। साथै मेरो अन्य कतिपय साथीहरू अन्य गम्भीर अपराधहरूको कारण विभिन्‍न जेलहरूमा सजाय भोगिरहेका थिए।

त्यसैले जेलको अँध्यारो कोठरीमा बस्दै मैले परमेश्‍वर जोसुकै भए तापनि अपराधको दुनियाँबाट बाहिर निस्कन बाटो देखाइदिनुहोस्‌ भनी व्यग्र प्रार्थना गरें। तर यस प्रार्थनाको जवाफ मैले केही समयपछि मात्र पाएँ। त्यति नै बेला गम्भीर शारीरिक चोट पुऱ्‍याउने हेतुले कुटपिट गरेको अभियोगबाट जसोतसो म बच्न सकें। कम सजाय पाऊँ भन्‍ने निवेदन स्वीकृत भयो र मैले कम सजाय पाउनुका साथै अभियोग पनि हल्का गरियो। तर म यस्तो गतिमा कसरी पुगें, पहिला बताउँछु।

मेरो जन्म १९४४ मा दक्षिण अफ्रिकाको प्रिटोरिया भन्‍ने ठाउँमा भएको थियो र त्यहीं हुर्कें। मेरो बाल्यकाल दुःखमय थियो र त्यसमाथि बुबाको नराम्रो हिंस्रक रिस तथा बारम्बार मात्तिने बानीले हाम्रो पारिवारिक जीवन दयनीय थियो। उहाँ एक नम्बरको जुवाडे पनि हुनुहुन्थ्यो अनि उहाँको मूड परिवर्तन हुँदा हामी सबैले र अझ विशेष गरी आमाले कठोर मौखिक तथा शारीरिक दुर्व्यवहार भोग्नुपर्थ्यो। घरमा सधैं हुने झगडाबाट भाग्न म सडकका बच्चाहरूसित बरालिन थालें।

अपराधको दुनियाँतर्फ

फलस्वरूप म सानै उमेरमा सांसारिक कामकुराहरूमा जान्‍नेसुन्‍ने भएँ। उदाहरणका लागि, आठ वर्षको हुँदा मैले दुइटा पाठ सिकें। पहिलो पाठ छिमेकीको घरबाट खेलौना चोरेर ल्याउँदा सिकें। त्यतिबेला बुबाले मलाई असाध्यै पिट्‌नुभयो। उहाँले रिसाउँदै मलाई तर्साउनुभएको मलाई अझै याद छ: “अब फेरि तैंले चोरेको भेट्टाएँ भने तँलाई मार्छु!” मैले फेरि नचोर्ने होइन तर फेरि कहिल्यै पक्राउ नपर्ने निर्णय गरें। मैले मनमनै विचार गरें: ‘अर्कोपालि म कसैले थाह नपाउने गरी चोर्छु।’

सानै हुँदा मैले सिकेको दोस्रो पाठ अपराधसित सम्बन्धित थिएन। धर्मशास्त्र छलफल गरिने कक्षामा हाम्रो शिक्षकले परमेश्‍वरको व्यक्‍तिगत नाउँ छ भनेर सिकाउनुभएको थियो। उहाँले “परमेश्‍वरको नाउँ यहोवा हो र हामीले उहाँको पुत्रको नाउँमा गरेको प्रार्थना सुन्‍नुहुन्छ” भन्‍नुहुँदा हामी छक्क पऱ्‍यौं। मेरो कलिलो मनमा यसले गहिरो छाप पारे तापनि मलाई अपराधको दुनियाँमा लाग्नदेखि रोकेन। वास्तवमा म हाई स्कूल पुगुञ्जेल पसल र घरहरूमा गएर चोर्न खप्पिस भइसकेको थिएँ। मेरा स्कूलका साथीहरू पनि उस्तै थिए किनभने तिनीहरूमध्ये थुप्रै विभिन्‍न अपराधको कारण बाल अपराधीहरूलाई सुधार्ने स्कूलमा परिसकेका थिए।

समय बित्दै जाँदा मलाई अपराध गर्ने बानी परिसकेको थियो। किशोरावस्था पुग्नुअघि नै म लुट्‌ने, डाँका मार्ने, गाडी चोर्ने र हिंस्रक गतिविधिमा धेरै चोटि फसिसकेको थिएँ। म जत्तिखेर पनि बिलियार्ड खेल्ने ठाउँ र बारहरूमा हल्लिरहने, दलाल, वेश्‍या र अपराधीहरूको निम्ति काम गरिदिने भएकोले प्राविधिक शिक्षाको पहिलो वर्ष पनि पूरा गर्न सकिनँ।

आफूलाई धोका दिने जो सुकै भए पनि अंगभंग गर्न पछि नपर्ने अपराधिक गतिविधिमा खग्गू भइसकेकाहरूसित मेरो संगत भइरहन्थ्यो। आफ्नो मुख नखोल्ने र आफ्ना उपलब्धि तथा पैसाको धाक कहिल्यै नदिनु भनेर पनि मैले सिकें। त्यस्तो गर्नु भनेको अपराध गरेको कुरा प्रचारप्रसार गर्नु मात्र हुनेछ र यसले गर्दा प्रहरीको ध्यान पुग्नसक्छ अनि केरकारमा पर्ने सम्भावना हुन्छ। अझ त्यसभन्दा पनि खराब त आफ्नो कामबाट फाइदा उठाउन चाहने अपराधीहरू भेट्‌न आउनसक्छन्‌।

यसरी होसियार हुँदा हुँदै पनि कहिलेकाहीं गैरकानुनी गतिविधिमा सम्मिलित भएको शंकामा प्रहरीको ध्यान ममाथि पर्थ्यो। तर अपराधसित मेरो सम्बन्ध नगाँस्न वा म दोषी साबित हुनसक्ने केही पनि सामान आफूसित नराख्न विशेष ध्यान दिन्थें। एक चोटि प्रहरीले बिहान तीन बजे हाम्रो घरमा छापा माऱ्‍यो। हालै एक जना थोक व्यापारीको घरबाट इलेक्ट्रिक सामान चोरी भएको हुँदा मेरो घर पूरै दुई चोटि खानतलास गरियो। तर केही पनि भेट्टाएनन्‌। औंठाछापको निम्ति मलाई प्रहरी थाना लगियो तर कुनै अभियोग लगाइएन।

लागू औषध व्यापारमा

मैले १२ वर्षको उमेरदेखि मन भुलिने लागू पदार्थहरू नियमित तवरमा लिन थालें। त्यस्तो दुरुपयोगको कारण मेरो स्वास्थ्यलाई नराम्रो प्रभाव पर्न थाल्यो र कति चोटि त मात्रा बढी भएर झन्डै ज्यान गएको थियो। धेरै समय नबित्दै मेरो चिनजान, गैर कानुनी गिरोहसित राम्रो सम्बन्ध भएको एक जना चिकित्सकसित भयो। यसले गर्दा म लागू पदार्थको व्यापारी भएँ र केही वितरकहरूलाई माल पुऱ्‍याइदिंदा मलाई त्यति खतरा नहुने कुरा थाह पाएँ किनभने म नै अघि सरेर खतरा मोल्नुपर्ने थिएन।

दुःखको कुरा मैले लागू पदार्थको व्यापार गरेको कतिपय मानिसहरू मात्रा बढी भएर मरे भने कसैले लागू पदार्थको सुरमा गम्भीर अपराधहरू गरे। एक जना “साथी”-ले त नाउँ चलेको डाक्टरको हत्या समेत गरिदियो। यसले पूरा देशभरि नै सनसनी फैलियो। उसले मलाई फसाउन खोज्यो तर मैले यस घटनाबारे प्रहरी मेरो घरमा केरकार गर्न आएपछि मात्र थाह पाएँ। वास्तवमा, प्रहरी समय समयमा मकहाँ विभिन्‍न अपराधहरूबारे केरकार गर्न आउँथे।

तथापि, एक दिन मैले असाध्यै मूर्ख काम गरें। हप्ताभरि लागू पदार्थ र रक्सीको अनियन्त्रित वशमा परेको बेला मैले कुरा नबुझिकनै दुई जना मानिसलाई रिसको झोंकमा आक्रमण गरें र तिनीहरू नराम्रोसित घाइते भए। भोलिपल्ट बिहान तिनीहरूको आक्रमणकारी म नै हुँ भनी बताए र घातक शारीरिक दुर्व्यवहार गरेको दोषमा म पक्राउमा परें। म झ्यालखानामा परेको कथा यही हो।

पहिला धन कमाऊ, अनि सोझो बाटो लाग

झ्यालखानाबाट निस्केपछि मैले एउटा औषधी कम्पनीमा जागिर पाइन्छ रे भन्‍ने कुरा सुनें। मैले आवेदन भरें र हाकिमलाई म यस कामको लागि योग्य छु भनी विश्‍वास दिलाएँ। त्यही कम्पनीमा काम गर्ने एक जना साथीको सिफारिसमा मैले काम पाएँ। म मालामाल हुने तरिका यही हो र पछि अर्कै ठाउँमा गएर सोझो बाटोमा लाग्नेछु भन्‍ने सोचें। त्यसैले मैले व्यापारको सबै पक्ष सकेसम्म चाँडो सिक्ने प्रयास गरें र सबै औषधीको नाउँ थाह पाउन राती अबेरसम्म पढ्‌थें। मेरो नयाँ जीवनको मार्ग यही नै हो भनी म पक्का थिएँ।

मेरो योजना थियो, हाकिमको भरोसा जित्ने। अनि मौका मिलेपछि कालो बजारमा राम्रो पैसा पाउने औषधीहरू धेरै मात्रामा गोदामबाट चोरेर बेच्ने र रातारात धनी हुने थियो। मेरो स्वतन्त्रता र नयाँ जीवन सुनिश्‍चित बनाउन मैले एउटा एउटा कुरा सबै राम्ररी विचार गरेको थिएँ।

अब मेरो योजनाअनुसार काम गर्ने समय आयो। एक रात बडो होसियारी साथ गोदामभित्र छिरें र हजारौं डलर मूल्यको औषधीहरू देखें। अनि मैले अपराध र हिंसाबाट मुक्‍त जीवन बिताउनसक्ने मौका देखें। तर जिन्दगीमा पहिलो पल्ट मलाई आफ्नो अन्तस्करणले घोच्न थाल्यो। मेरो पनि अन्तस्करण छ भनी बिर्सिसकेको समयमा कसरी मेरो अन्तस्करणले अकस्मात्‌ घोच्न थाल्यो? कसरी भयो, म तपाईंहरूलाई बताउनेछु।

योभन्दा केही समयअघि म्यानेजर र मैले जीवनको अर्थ के हो भन्‍ने विषयमा छलफल गरेका थियौं। तिनले भनेको एउटा कुराको जवाफमा केही नलागेर मैले प्रार्थना गर्न सकिन्छ भने। तिनले “कसलाई?” भनी प्रश्‍न गरे। मैले भने, “परमेश्‍वरलाई।” अनि तिनले यसो भने, “तर मानिसहरूले त थुप्रै देउताहरूलाई प्रार्थना गर्छन्‌ नि, तपाईं चाहिं कुन परमेश्‍वरलाई प्रार्थना गर्नुहुन्छ?” मैले भने, “सर्वोच्च परमेश्‍वरलाई।” तिनले अझ यसो भने, “त्यसोभए उहाँको नाउँ के हो?” मैले प्रश्‍न गरें, “के भन्‍न खोज्नुभएको?” तिनले जवाफमा यसो भने, “तपाईं हामी सबैको जस्तै सर्वोच्च परमेश्‍वरको पनि व्यक्‍तिगत नाउँ छ।” मलाई त्यो कुरा तार्किक लागे तापनि रिस उठ्‌न थालिसकेको थियो। त्यसैले मैले रिसाउँदै प्रश्‍न गरें, “त्यसोभए उहाँको नाउँ के हो त?” तिनले यस्तो भने, “सर्वोच्च परमेश्‍वरको नाउँ यहोवा हो!”

अनि मैले आफू आठ वर्षको हुँदा कक्षा कोठामा पढेको पाठ झल्याँस्स सम्झें। म्यानेजरसितको त्यो छलफलले मलाई यत्तिको गहिरो प्रभाव पारेको देखेर म आफै छक्क परें। गहन कुराहरूबारे छलफल गरेर घण्टौं बित्यो। भोलिपल्ट तिनले मलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य नामक पुस्तक ल्याइदिए। a त्यसै रात मैले पूरा पुस्तक पढें अनि सत्य र जीवनको साँचो अर्थ यही हो भनी म निर्धक्क भएँ। अर्को दुई हप्तासम्म हामीले त्यस अत्यन्तै राम्रो नीलो पुस्तकबाट विभिन्‍न विषयहरूमा छलफल गर्नेबाहेक अरू केही गरेनौं।

त्यसैले म अँध्यारो गोदाममा चुपचाप बस्दा मेरो अन्तस्करणले औषधीहरू चोरेर बेच्ने मेरो योजना सबै गलत हो भन्यो। म चुपचाप त्यहाँबाट निस्केर घर गएँ। अबदेखि कहिल्यै नचोर्ने संकल्प गरें।

आमूल परिवर्तन

त्यसपछिका दिनहरूमा मेरो परिवारलाई मैले नयाँ जीवन बिताउने मेरो निर्णय बताएँ र मैले सिकेका केही बाइबल सत्यहरू बताउन थालें। बुबा त मलाई घरबाट निकाल्न चाहनुहुन्थ्यो। तर मेरो भाइ जोनले मेरो पक्षमा बोल्दै बुबालाई यसो भन्यो: “जिन्दगीमा पहिलो चोटि कोस्टा अपराधसित सम्बन्धित नभएको गतिविधिमा लाग्न लागेको छ र तपाईंचाहिं उसलाई घरबाट निकाल्न चाहनुहुन्छ? म पनि यसबारे अझ बढी बुझ्नेछु।” जोनले मसित बाइबल अध्ययन गर्ने कुरा बताउँदा म छक्क परें। त्यसबेलादेखि लागू पदार्थको निम्ति मकहाँ आउने सबै व्यक्‍तिले बरु सत्य पुस्तक बोकेर घर जान्थे! त्यस पुस्तकको मदत लिएर मैले ११ वटा बाइबल अध्ययन सञ्चालन गर्न थालें।

त्यस कम्पनीको म्यानेजर आफै साक्षी होइन रहेछ भनेर मैले पछि मात्र थाह पाएँ। तिनको श्रीमती साक्षी भएको झन्डै १८ वर्ष भइसकेको रहेछ तर तिनले चाहिं “सत्यको लागि केही गर्न फुर्सतै निकाल्न पाएका रहेनछन्‌।” त्यसैले तिनले मसित नियमित बाइबल अध्ययन गर्न एक अनुभवी साक्षी मिलाइदिए। जीवनका अन्य पक्षहरूमा पनि मैले छाँटकाँट गर्नुपर्नेछ भनेर बुझ्न मलाई धेरै समय लागेन र परमेश्‍वरको वचनले मलाई सांसारिक तौरतरिकाहरूबाट मुक्‍त पाऱ्‍यो।—यूहन्‍ना ८:३२.

तर, केही हप्ताभित्रै मेरो जीवनमा भएका घटनाहरूबाट म भावविह्वल भएँ। मैले आमूल परिवर्तनहरू गर्नुपर्ने थियो र मैले बाइबल अध्ययनले औंल्याएझैं निर्देशनहरू पछ्याउने हो भने शरीर र आत्माबीच धेरै युद्ध लड्‌नुपर्ने महसुस गरें। अर्कोतर्फ, मैले अहिलेसम्म बिताउँदै आएको जीवनशैली नै पछ्याउने हो भने मृत्यु वा धेरै वर्ष झ्यालखानामा बिताउनुपर्ने थियो। त्यसैले निकै विचार र व्यग्र प्रार्थना गरेपछि मैले सत्यको मार्ग पछ्याउने निर्णय गरें। मैले छ महिनापछि, अप्रिल ४, १९७१ मा पानीको बप्तिस्माद्वारा यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरें।

सरल जीवन बिताउँदाका इनामहरू

आफ्ना विगतका दिनहरू र अपराधको जीवन त्याग्ने निर्णय गरेदेखि प्राप्त गरेको आशिष्‌हरू सम्झँदा म भावविह्वल हुन्छु। सुरु सुरुका गञ्जागोलपूर्ण केही हप्तामा मैले अध्ययन गरेको ११ जना व्यक्‍तिमध्ये ५ जना अझै सत्यको मार्गमा हिंडिरहेका छन्‌। मेरी आमाले पनि बाइबल अध्ययन गर्नुभयो र बप्तिस्मा प्राप्त साक्षी हुनुभयो। अनि उहाँको १९९१ मा मृत्यु नहोउञ्जेल विश्‍वासीभई परमेश्‍वरको सेवा गर्नुभयो। मेरा दुई भाइहरूले पनि परमेश्‍वरप्रति आफ्नो जीवन समर्पण गरे र अहिले प्राचीनको हैसियतमा सेवा गर्दैछन्‌। मैले आफ्नो सानी आमालाई पनि सत्य सिक्न मदत गरें र उहाँले पूर्ण-समय सेवा गरिरहनुभएको १५ वर्ष भइसक्यो।

मैले काम गरेको औषधी कम्पनीको म्यानेजर पनि मेरो जीवनमा भएको परिवर्तन देखेर दंग परे अनि बाइबल सत्यलाई अलि गम्भीरता साथ लिन थाले। मैले बप्तिस्मा लिएको एक वर्षपछि तिनले पनि पानीको बप्तिस्माद्वारा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरे। पछि यहोवाका साक्षीहरूको प्रिटोरियास्थित एउटा मण्डलीमा प्राचीनको हैसियतमा निकै वर्ष सेवा गरे।

एउटी समर्पित मसीही बहिनीसित मेरो विवाह भएको छ। लियोनी र म, १९७८ मा अस्ट्रेलिया बसाइँ सऱ्‍यौं। त्यहाँ हाम्रो दुई छोरा, एलाइजा र पल जन्मिए। मेरो लागि मेरो परिवारको प्रोत्साहन नै साँच्चै बलको स्रोत भएको छ। अहिले अस्ट्रेलियाको राजधानी कानेबेरामा प्राचीनको हैसियतमा सेवा गर्ने सुअवसर पाएको छु। दुःख र मृत्युतर्फ धकल्ने खोक्रो अपराधको दुनियाँबाट मलाई उद्धार गर्नुभएकोमा म प्रत्येक दिन यहोवालाई कृतज्ञता जाहेर गर्छु। अझ त्यसभन्दा पनि ठूलो कुरा उहाँले मलाई र मेरा प्रिय जनहरूलाई साँचो आशा दिनुभएर जीवनको अर्थ प्रदान गर्नुभयो।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ १८-मा भएको चित्र]

म १२ वर्षको हुँदा

[पृष्ठ १८-मा भएको चित्र]

आज, मेरी श्रीमती र दुई छोराहरूसित