सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल जीवनको खोजीमा

असल जीवनको खोजीमा

असल जीवनको खोजीमा

“यो २० औं शताब्दी बित्दै जाँदा धेरै मानिसहरूको दिनचर्या . . . वैज्ञानिक तथा प्राविधिक उन्‍नतिको कारण परिवर्तन हुँदै गयो।”– बीसौं शताब्दीको अक्सफोर्ड इतिहास।

यस युगमा भएको सबैभन्दा ठूलो परिवर्तनहरूमध्ये एउटा जनसंख्या हो। अरू कुनै पनि शताब्दीमा जनसंख्या वृद्धि यो दरमा भएको छैन। सन्‌ १८०० को सुरुतिर जनसंख्या झन्डै एक अरब पुगेको थियो भने १९०० सम्ममा झन्डै १.६ अरब पुग्यो। सन्‌ १९९९ मा विश्‍व जनसंख्या छ अरब पुग्यो! अनि यस बढ्‌दो जनसंख्या सबैले नै जीवनमा राम्रा राम्रा कुराहरू चाहन्छन्‌।

चिकित्सा क्षेत्रको प्रगति र स्वास्थ्य सेवा उपलभ्य भएको कारण यस्तो जनसंख्या वृद्धि भएको हो। अस्ट्रेलिया, जर्मनी, जापान, संयुक्‍त राज्य जस्ता ठाउँहरूमा यस शताब्दीको सुरुमा मानिसहरूको सरदर आयु ५० वर्षभन्दा कम थियो भने अहिले बढेर ७० वर्षभन्दा बढी भएको छ। तथापि, अन्य कतिपय ठाउँहरूमा यस्तो वृद्धि त्यत्तिको देखिएको छैन। कम्तीमा पनि २५ वटा देशका मानिसहरूको आयु ५० वर्ष वा त्योभन्दा कम छ।

‘पहिला अवस्था कस्तो थियो . . . ?’

जवानहरू कहिलेकाहीं अहिले सामान्य ठानिने र धनी देशका मानिसहरूले त अत्यावश्‍यक समेत ठान्‍ने वस्तुहरू जस्तै हवाईजहाज, कम्प्युटर, टेलिभिजनबिना आफ्ना बाजेबराज्युहरूले कसरी काम चलाउँथे होला भनी कल्पनासमेत गर्न सक्दैनन्‌। उदाहरणका लागि, मोटरगाडीले कसरी हाम्रो जीवन परिवर्तन गरेको छ विचार गर्नुहोस्‌। यो १९ औं शताब्दीको अन्ततिर आविष्कार गरिएको थियो तर टाइम-ले हालै यस्तो टिप्पणी गऱ्‍यो: “२० औं शताब्दीको चिनारीस्वरूप यसको सुरुदेखि अन्तसम्मै भएको आविष्कार मोटरगाडीको हो।”

युरोपमा अकस्मात्‌ मोटरगाडीहरू बेपत्ता हुने हो भने हरेक दस जना युरोपेली कामदारमध्ये एक जना बेरोजगार हुनेछ भनी १९७५ मा अनुमान गरिएको थियो। मोटरगाडी उद्योगमा पर्ने प्रत्यक्ष प्रभावबाहेक बैंक, ठूलठूला पसलहरू, गाडीबाट ननिस्कि खानाहरू अर्डर गर्न मिल्ने रेस्टुराँहरू तथा गाडीबाटै कामकुराहरू गर्ने ग्राहकहरूमा निर्भर अन्य व्यापारिक संस्थाहरूले पनि ठूलो नोक्सानी बेहोर्नु पर्नेछ। किसानहरूले आफ्नो उब्जनी बजारमा पुऱ्‍याउन सकेनन्‌ भने खाद्यान्‍न वितरण प्रणाली नै ठप्प हुनेछ। शहरभन्दा टाढा बस्ने मानिसहरू जागिर धाउन सक्नेछैनन्‌। ती ठूलठूला राजमार्गहरू बेकार हुनेछन्‌।

मोटरगाडीको उत्पादनमा अझ वृद्धि गर्न र खर्च घटाउन, अहिले अधिकांश उद्योगहरूमा सामान्य ठानिने असेम्ब्ली लाइन यस शताब्दीको सुरुतिर थालिएको हो। (असेम्ब्ली लाइनको कारण भान्छाका भाँडाकुँडा जस्ता अन्य चीजहरू पनि धेरै मात्रामा उत्पादन गर्न सम्भव भयो।) यस शताब्दीको सुरुमा घोडाबिनाको बग्गी थोरै देशहरूमा धनाढ्यहरूमा मात्र सीमित थियो तर अहिले संसारको अधिकांश भागमा सर्वसाधारणसित आफ्नै यातायातको साधन छ। एक लेखकले भनेझैं “यस २० औं शताब्दीको अन्ततिर मोटरगाडीबिनाको जीवन कल्पनासमेत गर्न सकिंदैन।”

मोजमज्जाको खोजीमा

पहिला पहिला यात्रा गर्नुको अर्थ आफू जहाँ जानुपर्छ, त्यहीं जानु मात्र थियो। तर २० औं शताब्दीको दौडान विशेष गरी विकसित देशहरूमा अवस्था अर्कै भयो। जसै राम्रो तलब पाउने जागिरहरू सजिलै उपलब्ध हुँदै गयो र हप्तामा काम गर्नुपर्ने घण्टा पनि ४० वा त्योभन्दा पनि कम भयो मानिसहरूसित यात्रा गर्न पैसा र समय दुवै भयो। अब यात्रा गर्नुको अर्थ आफूलाई जहाँ मनलाग्छ त्यहाँ जाने हुन थाल्यो। मोटर, बस र हवाईजहाजको कारण टाढा टाढा गएर पनि मोजमस्ती गर्न सम्भव भयो। आम पर्यटन एउटा ठूलो व्यापार भयो।

बीसौं शताब्दीको टाइम्स एट्‌लास-अनुसार पर्यटनले “अतिथि देश र पर्यटकहरूको आफ्नो देश दुवैमा ठूलो प्रभाव पाऱ्‍यो।” कुनै कुनै नकारात्मक प्रभाव पनि परेको छ। पर्यटकहरू आफू जुन कुरा हेर्न आकर्षित भएका थिए, तिनीहरूले पछि त्यही कुरालाई बिगारेका पनि छन्‌।

अब मानिसहरूसित खेलकुदमा लाग्न पनि बढी समय भयो। थुप्रै आफै खेलमा सहभागी हुन्छन्‌ भने कतिपयचाहिं केवल उत्साहित दर्शक हुन्छन्‌ र कहिलेकाहीं आफ्नो मनपर्ने टोली र खेलाडीहरूका हुल्याहा समर्थक हुन्छन्‌। टेलिभिजनको कारण प्रायजसो सबै मानिसहरूले खेल हेर्नसक्ने भए। स्थानीय तथा अन्तरराष्ट्रिय खेलहरूले करोडौं उत्साही टेलिभिजन दर्शकहरूलाई आकर्षित गऱ्‍यो।

“विस्तृत तवरमा फैलिएको मनोरञ्जनजगत्‌को आधार नै खेलकुद र चलचित्र क्षेत्र भएको छ। र यो क्षेत्र नै अहिले विश्‍वको सबैभन्दा ठूलो जागिरदाता र आम्दानी गर्ने ठाउँ भएको छ” भनी बीसौं शताब्दीको टाइम्स एट्‌लास बताउँछ। मानिसहरूले मनोरञ्जनलगायत थुप्रैलाई मन पर्ने जुवामा वर्षेनी अरबौं डलर खर्च गर्छन्‌। उदाहरणका लागि, १९९१ मा गरिएको अध्ययनअनुसार युरोपेली समुदायमा सबैभन्दा ठूलो उद्योगहरूमध्ये जुवा १२ औं स्थानमा पर्छ र वर्षेनी कम्तीमा पनि ५७ अरब डलर आम्दानी हुन्छ।

त्यस्ता मनोरञ्जनहरू सामान्य हुँदै गएपछि मानिसहरूले अन्य रोमाञ्चकारी कुराहरूको खोजी गर्न थाले। जस्तै, १९९० दशकको बीचतिर लागू पदार्थको प्रयोग यति व्याप्त भयो कि लागू पदार्थको गैरकानुनी व्यापार ५ खरब अमेरिकी डलरको हुन्थ्यो र एउटा स्रोतले बताएअनुसार यो “संसारको सबैभन्दा बढी मुनाफा भएको व्यापार” थियो।

“चुर्लुम्मै डुबेका”

प्रविधिको कारण संसार एउटा सानो गाउँजस्तै भएको छ। राजनीतिक, आर्थिक र सांस्कृतिक परिवर्तनहरूले विश्‍वभरिका मानिसहरूलाई तुरुन्तै असर गर्छ। “स्पष्टतः अन्य समयहरूमा पनि उथलपुथलहरू नभएको होइन” भनी १९७० मा फ्युचर शक-का लेखक अनि प्राध्यापक, आल्भिन टफ्लरले बताए। तिनले अझ यसो पनि भने: “तर ती संकट तथा उथलपुथलहरूले एउटा समूह वा सीमा सँगसँगैका अन्य केही समुदायहरूलाई मात्र असर गर्थ्यो। यसबाहेक अरूमाथि प्रभाव पर्न पुस्तौं वा शताब्दीयौं समेत लाग्यो। . . . आज समाज आपसमा यस्तो गरी जकडिएको छ कि कुनै ठाउँमा कुनै घटना भएमा तुरुन्तै त्यसको प्रभाव संसारभरि महसुस गरिन्छ।” मानिसहरूलाई यो हदसम्म प्रभाव पार्न भूउपग्रह टेलिभिजन र इन्टरनेटले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

कसै कसैले टेलिभिजन यस २० औं शताब्दीको सबैभन्दा प्रभावकारी माध्यम हो भन्छन्‌। एक जना लेखकले यस्तो टिप्पणी गरे: “केही मानिसहरूले टेलिभिजनमा देखाइने कुराहरूको आलोचना गर्छन्‌ तर टेलिभिजनको प्रभावकारिताबारे कसैले वादविवाद गर्दैनन्‌।” तर टेलिभिजन कार्यक्रमहरू यसका उत्पादकहरूभन्दा राम्रा हुनसक्दैनन्‌। त्यसैले टेलिभिजनले राम्रो नराम्रो दुवै असर पार्छ। हिंसा र अनैतिकताले भरिएको खोक्रो कार्यक्रमहरूमा थुप्रैले आफूले खोजेका कुराहरू हेर्न पाइरहेका छन्‌ तर त्यस्ता कार्यक्रमहरूले मानव सम्बन्ध राम्रो गर्न सकेको छैन, बरु झनै बिगारेको छ।

खतरनाक अवस्थासम्मै मनोरञ्जन नामक पुस्तकमा नील पोस्टम्यानले अर्को एउटा खतराबारे उल्लेख गर्दै यसो भने: “टेलिभिजनले हामीलाई मनोरञ्जनात्मक कुराहरू देखाउनु समस्या होइन तर सबै विषय मनोरञ्जनात्मक ढंगमा देखाइन्छ। . . . जस्तोसुकै किसिमले प्रस्तुत गरिएको किन नहोस्‌, सामान्यतया हाम्रो मनोरञ्जन र मजाको लागि देखाइएको हो भन्‍ने भान पारिन्छ।”

मानिसहरूले मोजमज्जालाई बढी महत्त्व दिन थालेपछि आध्यात्मिक मूल्यमान्यता तथा नैतिकता ह्रास हुँदै गयो। “२० औं शताब्दीको दौडान संसारभरि नै संगठित धर्महरू कम प्रभावकारी हुन थालेका छन्‌” भनी बीसौं शताब्दीको टाइम्स एट्‌लास बताउँछ। आध्यात्मिकता ह्रास हुँदै गएपछि मोजमज्जाले बढी प्राथमिकता पाउन थाल्यो।

“सबै चम्किलो कुरा . . .”

बीसौं शताब्दीमा थुप्रै राम्रा परिवर्तनहरू पनि भए तर “सबै चम्किलो कुरा सुन नै हुँदैन।” लामो आयुले गर्दा मानिसहरूलाई फाइदा भए तापनि विश्‍व जनसंख्या वृद्धिले नयाँ प्रकारका भयानक समस्याहरू खडा गरेको छ। नेशनल जियोग्राफिक पत्रिकाले हालै यस्तो टिप्पणी गऱ्‍यो: “नयाँ सहस्र वर्षको सबैभन्दा ठूलो समस्या नै जनसंख्या वृद्धि होला।”

सवारीसाधनहरू मदतकारी र उपयोगी भए तापनि यसको खतरा पनि छ भन्‍ने प्रमाण विश्‍वभरि वर्षेनी सवारी दुर्घटनाको कारण हुने अनुमानित २.५ लाख मृत्युबाट देख्न सक्छौं। अनि प्रदूषणको प्रमुख कारण गाडीहरू नै हुन्‌। पृथ्वी जोगाउन ५००० दिन पुस्तकका लेखकहरू यसो भन्छन्‌, प्रदुषण “अब विश्‍वव्यापी समस्या भइसक्यो र यसले उत्तरी गोलार्द्धदेखि दक्षिणी गोलार्द्धसम्मको पर्यावरणलाई बिगार्नुका साथै खत्तम पारिरहेको छ।” तिनीहरू भन्छन्‌: “हामीले पर्यावरणलाई मात्र बिगारिरहेको होइन तर उच्च प्राणीहरूका लागि पृथ्वी अनुपयुक्‍त ठाउँ बनाइरहेका छौं।”

बीसौं शताब्दीअघि थाहै नभएको प्रदुषणको समस्या अहिले प्रमुख समस्या भइरहेको छ। नेशनल जियोग्राफिक यसो भन्छ, “मानिसहरूको कामले यस्तो विश्‍वव्यापी असर गर्ला भनेर कसैले सोचेकै थिएन। कोही कोही वैज्ञानिकहरूको विचारमा इतिहासमा पहिलो चोटि यस्ता परिवर्तनहरू भइरहेका छन्‌।” त्यस पुस्तकले अझ यस्तो चेताउनी दिन्छ: “मानिसहरूले समष्टिगत रूपमा पारेको प्रभावलाई हेर्ने हो भने एउटा मानव पुस्ताभित्र प्राणी र वनस्पतिको आमसंहार हुनसक्छ।”

साँच्चै, यो २० औं शताब्दीजस्तो अरू कुनै छैन। असल जीवन पाउन थुप्रै मौका पाइरहेका मानिसहरूको जीवनै खतरामा छ!

[पृष्ठ ८, ९-मा भएको तालिका/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

१९०१

मार्कोनी आन्द्रमहासागर पार पहिलो रेडियो सन्देश पठाउँछन्‌

१९०५

आइन्स्टाइनले सापेक्षताबारे विशेष सिद्धान्त प्रकाशित गर्छन्‌

१९१३

फोर्डले मोडेल-टि गाडीको असेम्ब्ली लाइन सुरु गर्छन्‌

१९४१

व्यापारिक टिभीको सुरुआत

१९६९

मानिस चन्द्रमामा पुग्छ

आम पर्यटन एउटा ठूलो व्यापार हुन्छ

इन्टरनेटको लोकप्रियता बढ्‌छ

१९९९

विश्‍व जनसंख्या छ अरब पुग्छ